Tag: बाबुराम भट्टराई

  • नारायणकाजीले गरे बाबुरामको स्वास्थ्यलाभको कामना

    नारायणकाजीले गरे बाबुरामको स्वास्थ्यलाभको कामना

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य लाभको कामना गरेका छन्।

    न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा भट्टराई उपचारका लागि आइतबार दिल्ली प्रस्थान गरेका थिए।

    ‘पूर्वप्रधानमन्त्री एवं जसपाको संघीय परिषदका अध्यक्ष मित्र डा. बाबुराम भट्टराइको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

    २०७४ प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ र भट्टराई गोरखाको एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । निर्वाचनमा भट्टराई विजयी भएका थिए।

    दुवै नेताको गृहजिल्ला एउटै भएकाले जिल्लामा को हाबी हुने भन्ने प्रतिष्पर्धा उनीहरूबीच छ। दुवैजनाले बेला-बेलामा एकअर्काप्रति कटाक्ष पनि गर्ने गरेका पनि छन् ।

  • स्वास्थ्य उपचारका लागि पूर्वप्रधानमन्त्री भट्टराई दिल्ली प्रस्थान

    स्वास्थ्य उपचारका लागि पूर्वप्रधानमन्त्री भट्टराई दिल्ली प्रस्थान

    काठमाडौं । स्वास्थ्य उपचारका लागि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई नयाँ दिल्ली प्रस्थान गरेका छन्।

    भट्टराई नेपाल वायुसेवाको जहाजबाट परिवारका केही सदस्यसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे गएका हुन् ।

    भट्टराईको सचिवालयका अनुसार उनको समयदेखि काठमाडौंको निदान अस्पतालमा उनको पेटमा देखिएको समस्याको परीक्षण हुँदै आएको थियो ।

    चिकित्सकहरुले न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी उपचारका लागि दिल्ली जान सुझाएकाले उपचारका लागि भारत रोजिएको उनको सचिवालयको भनाइ छ ।

    दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा उनको उपचार हुनेछ ।

  • महान जनयुद्धको सही इतिहास लेखिएन, मिडिया पनि पूर्वाग्रही : बाबुराम भट्टराई

    महान जनयुद्धको सही इतिहास लेखिएन, मिडिया पनि पूर्वाग्रही : बाबुराम भट्टराई

    जनयुद्ध गलत, बेठिक थियो भन्ने कुरामा कहिले पनि सहमत हुन सकिँदैन । किनकी त्यो नेपाली समाजको आवश्यकता थियो । भलै माओवादी विचार, बिम्ब पनि समयानुकुल विकास गर्नुपर्छ । त्यसलाई त्यही रुपमा राखिराख्नु आवश्यक पनि छैन । त्यसले हामीलाई खास फाइदा पनि गर्दैन ।

    त्यतिवेला निरंकुश राजतन्त्र थियो र, यता पुँजीवादको पनि विकास नभएको अवस्था थियो । त्यहाँ एकचोटी धक्का नदिइकन हुँदैनथ्यो । त्यसकारण हामीले त्यसलाई धक्काकै रुपमा अगाडि बढाएका थियौं ।

    माओवादी जनयुद्धबारे हामी सबैले एउटा साझा बुझाइ बनाउनु जरुरी छ । आधुनिक नेपाली इतिहास (सुगौली सन्धीदेखि यता) को सबैभन्दा ठूलो राजनीतिक परिघटना भनेकै दश वर्षीय जनयुद्ध हो । यति ठूलो परिघटना नेपालको इतिहासमा भएकै थिएन । हो, त्यसमा केही कमिकमजोरी भए । कयौंको ज्यान गयो । अप्रिय कुरा थियो । कतिपयमा हाम्रो ढंग पुगेन होला, कतिपय ठाउँमा पार्टीको निर्देशनअनुसार पनि गएन होला । त्यो एउटा पार्टो हो । तर, त्यति ठूलो एउटा परिघटना भयो । त्यसकै जगमा अहिलेको परिवर्तन आएको हो ।

    पुरकको रुपमा मधेश जनविद्रोह भयो । किनकी संघीयता भन्ने शब्द अनेक प्रयत्न गर्दा पनि राख्न दिइएन र हामीले पनि अलि लचिलो भएर छोड्यौं । पछि उपेन्द्र यादवजीहरूले त्यसलाई जुन ढंगले उठानुभयो, मधेश विद्रोहले संघीयतालाई साँच्चै नै अगाडि ल्यायो । त्यो एउटा पुरकको रुपमा थियो भन्ने कुरा म ठान्छु ।

    त्यसैले जनजाती आन्दोलन, मधेश विद्रोह, थारु आन्दोलन लगायतका जुन आन्दोलन भए, ती मुलतः जनुयद्धको जगमै पुरकका रुपमा आएका हुन् । मूल हाँगो जनयुद्ध हो र अरु त्यसका सहायक हाँगा हुन् ।

    जनयुद्ध अहिले अलपत्र जस्तो बनेको छ । जनयुद्धको एउटा आधिकारिक इतिहास पनि छैन । मानिसहरुलाई जनयुद्ध शब्द उच्चारण गर्न अप्रिय लाग्छ भने जनक्रान्ति भन्न सकिन्छ । तर, त्यतिबेला जनयुद्ध भनेका थियौं । त्यो एउटा फौजी राजनीतिक विचार थियो । अहिलेको सन्दर्भमा त्यसलाई फरक ढंगले बुझ्न र व्याख्या गर्न सकिन्छ । तर, त्यसको इतिहासलाई नै नकार्ने, त्यो एउटा अपराध नै थियो भन्ने ढंगले बुझिदिने ? हामी जनयुद्धमा लागेर यत्रो क्रान्ति गरेर आएका मान्छेहरु पनि साहसपूवर्क, शिर ठाडो पारेर त्यसको रक्षा गर्न नसक्ने । हामीले साँच्चै नै अपराधै गरिएछ क्यारे भने जस्तो । हाम्रा मुलधारका मिडिया पनि अहिले के भन्छन् भने शान्ति प्रक्रियाको मुल उपलब्धी भनेकै माओवादीलाई मुलधारमा ल्यायो रे ।

    यही मुलधार भन्ने शब्दमै १२ बुँदे सहमति गर्दा हामीले कत्रो झगडा गरेका थियौं । तपाईंहरूको मुलधार गइसक्यो, अब नयाँ मुलधारमा आउने हो भनेर १२ बुदेँ सहमतिमै हामीले नयाँ मुलधार लेखेका छौं । त्यो बहस भएरै लेखिएको छ । तपाईंहरूको मुलधारमा पनि जाने होइन, हाम्रो जनवादमा पनि जाने होइन । नयाँ मुलधारमा हामी आउने हो भनेर नै १२ बुँदे सहमति शुरु भएको छ ।

    वृहद् शान्ति सम्झौतायताका सबै परिघटनाहरुमा त हामी सबैको स्वामित्व छ नि । जनयुद्धलाई भलै शान्ति सम्झौता गर्दा त्यही रुपमा स्थापित गर्न सकिएन होला । तर, त्यसयता त हामी सबैको सामूहिक स्वामित्व हो । जनयुद्ध केही पनि थिएन, शान्ति सम्झौता भनेको माओवादीको निशस्त्रीकरण मात्रै थियो, आत्मसर्मपण मात्रै थियो भन्न खोजिन्छ । हाम्रो मिडियाले पनि त्यही भनेको भन्यै गर्ने । मिडियामा पछिल्लो पुस्तालाई त्यसबारे राम्रोसँग थाहा पनि छैन । जसले इतिहासको सही मुल्याकंन गर्न सक्दैन, जसले इतिहासलाई बिर्सिन्छ, त्यसले वर्तमान र भविष्यलाई सही बनाउन सक्दैन ।

    माओवादी जनयुद्धले जुन उपलब्धी हासिल भएको थियो, त्योभन्दा अगाडि जान सम्भव थिएन भनेर नै हामी शान्ति सम्झौतामा आएका थियौं । तर, त्यसबाट प्राप्त गरेका उपलब्धी महान थिए । त्यसमा टेकेर नै अगाडि जाने हो । अब त्यसको अर्थ माओवादी जनयुद्धका कुनै उपलब्धी थिएनन्, त्यो पुरै गिलास खाली थियो भन्नेतिर जानतिर खोजिएको छ, त्यो सही छैन ।

    हामी त मरेर जाउला, अजम्बरी हामी छैनौं । तर, नेपाली इतिहासमाथि ठूलो घात हुन्छ । ७०/८० वर्षदेखि लडेर ल्याएको उपलब्धीलाई हामीले उच्च तहमा ल्याएर संविधानसभाबाट संविधान लेखियो, त्यसमा जनयुद्धको जुन भूमिका रह्यो, त्यसलाई पछि शान्ति सम्झौताले स्वीकार पनि गरेको छ । त्यो कुराको सही इतिहास लेखिएन । त्यो ढंगले बुझिएन, बुझाइएन ।

    सडकमा निस्केको जुन नयाँ पुस्ता छ, त्यो देख्दा मलाई बडो खुसी पनि लाग्छ । तर, जनुयद्धबारे उहाँहरूलाई केही पनि थाहा छैन । उहाँहरूले त्यो कुरा बुझ्नु भएन भने यसमा टेकेर उहाँहरू कसरी जानुहुन्छ ? त्यसैले जनुद्धको आधिकारिक इतिहास लेखिनुपर्‍यो भन्छु म । राजामहाराजले त इतिहास संसोधन मण्डल भन्ने बनाएर नयाँ इतिहास आफैं लेखाए भने हामी आधुनिक इतिहासको एउटा लोकतान्त्रिक आन्दोलनको इतिहास लेखौं न । विज्ञहरूलाई राखेर ०९७ सालदेखिको लोकतन्त्रको इतिहास लेखौं । त्यसमा २००७ सालदेखि २०४६ साल, माओवादी जनयुद्ध, मधेश विद्रोह लगायतको एकिकृत प्रकारको इतिहास लेखौं भन्ने मेरो एउटा आग्रह हो । त्यसको निम्ति हामीले एउटा संग्राहालय बनाउने भन्ने थियो, त्यो पनि त्यो ढंगले बन्न सकेन ।

    हामी कुनै पनि आवेगमा नआइकन, हामी सबैले अहिलेसम्मका उपलब्धीको एकिकृत इतिहास लेखिनुपर्‍यो । विश्वविद्यालयमा त्यो पढाइ होस् । आउने पुस्ताले त्यो बुझुन । र, अन्तर्राष्ट्रिय रुपमा पनि त्यो स्थापित होस् ।

    तर, बिडम्बना के छ भने हामी जिउँदो छँदाछँदै हुँदै नभएको कुरा आविष्कार गरेर, मान्नुहोस् यो जनयुद्ध त कुनै बैदेशिक शक्तिले गराइदिएको थियो । १२ बुँदे बाहिरबाट गराइएको थियो भन्ने कुरा लेखिदिने । म अहिले नाम लिन चाहान्न, एकजना अत्यन्तै स्थापित एकजना सम्पादकले किताब लेख्नु भएको छ । मैले उहाँलाई पटक-पटक भने, व्याख्या गर्ने कुरा तपाईंको अधिकारको कुरा हो तर तपाईंले तथ्य नै गलत लेखिराख्नु भएको छ । माओवादीलाई भारतीय सेनाले तालिम दिइरहेको छ भनेर दरबारको एउटा जर्नेलले लेखिदियो । त्यसलाई उहाँले आफ्नो किताबामा ‘कोट’ गरिदिनुभयो । त्यो अहिले अंग्रेजीमा समेत अनुवाद भएर छापिएको छ । र, अहिले सबै अन्तर्राष्ट्रिय जगतले के लेख्छ भने माओवादी जनयुद्ध र १२ बुँदे भारतले गराएको थियो । यस्तो अन्याय त गर्न पाइएन नि ।

    त्यो नगर्नुहोस्, आफ्नोे तथ्यगत कमजोरी सच्याउनुहोस् भनेर पनि मैले लेखेर दिएँ । तर, उहाँले अहिले पनि त्यो सच्याइराख्नु भएको छैन । थुप्रै किताबमा त्यसैलाई आधिकारिक मानेर ‘कोट’ गरिदैछ । यसरी इतिहास कसरी बन्छ ? हामी त मरेर जाउला, तर तपाईंले असत्य कुराको विष पिलाउनुभयो । नयाँ पुस्तालाई त्यही बिष खुवाउनुभयो भने त्यसले के संस्कार निर्माण गर्छ ? के ज्ञान निर्माण गर्छ ? अनि समाज कसरी अगाडि बढ्छ ?

    हामीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस भनेर मनाइरहेका छौं । त्यसमा पनि एकरुपता ल्याउनु पर्छ । फागुन १ गते जुन जनयुद्ध शुरुवात भएको थियो, त्यसलाई पनि कुनै दिवसका रुपमा मनाउँ । के दिवस भन्ने हो ? जनयुद्ध भन्दा त्यो युद्धकै शब्द त्यति रुचिकर हुँदैन भने जनक्रान्ति दिवस भनेर हामीले साझा रुपमा मनाउनुपर्‍यो । त्यत्रो मधेश विद्रोह भयो । माघ ५ गते मधेश बलिदानी दिवस भनेर मनाइन्छ । त्यसलाई मधेशी दलले मात्रै किन मनाउने ? त्यसलाई सबै राष्ट्रको किन नबाउने ? त्यही विद्रोहले संघीयता अन्तरिम संविधानमा लेखियो र यहाँसम्म आइयो भने त्यसलाई पनि कुनै एउटा दिवस राखौं । राष्ट्रिय रुपमै यी दिवसहरूको पनि मुल्यांकन गरियोस् । त्यसो हुन सक्यो भने इतिहासप्रति न्याय हुन्छ ।

    (आफैंले लेखेको ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको लोकार्पणमा भट्टराईले व्यक्त गरेका विचारको सम्पादित अंश ।)

  • लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    जनकपुरधाम । जनता समाजवादी पार्टीका एक प्रमुख नेता  उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने प्रस्ताव राखेका छन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई हटाउने उपेन्द्रको प्रस्तावले जसपामा नयाँ बहस सिर्जना गरेको छ ।

    यादवले नै मुख्यमन्त्री बनाएका राउतलाई हटाउने कुरा बाबुराम भट्टराईले अहिले रोकेका छन् । भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्ने हो भने पनि पहिले पार्टी र सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने भनेर ‘होल्ड’ गरेको उनीनिकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, ‘उपेन्द्रजीले मुख्यमन्त्री परिवर्तन गर्ने प्रस्ताव पहिले नै राख्नुभएको हो । बाबुरामले प्रदेशमा पार्टीको नेतृत्व साविक जसपा र समाजवादीमध्ये एउटाले गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने मोडालिटीमा सहमति गरौं भनेर रोकिएको हो ।’

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएको ९ महिना बितिसक्दा पनि प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गरिएको छैन । मुख्यमन्त्री राउत अहिले पनि तत्कालीन समाजवादी पार्टीको दलको नेताको हैसियतमा छन् ।

    दलको नेता चयन प्रक्रियामै विवाद भएकाले मुख्यमन्त्री फेर्ने उपेन्द्रको प्रयासले मूर्तरूप भने पाएको छैन । प्रतिनिधिसभा विघटनपछि पार्टी आन्दोलनमा केन्द्रित रहेकाले दलको नेता चयनमा ढिलाइ भएको जसपाका सांसद विन्देश्वर यादवले बताए ।

    नेपालप्रेससँग कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्रीले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् उनलाई हटाउनुपर्छ भन्ने कुरा हो । तर, संसद विघटनका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । पहिले यसलाई बचाउनुपर्छ । त्यसैले यसतर्फ केन्द्रित भएपछि मुख्यमन्त्री फेर्नुपर्ने छलफल पनि बन्द भएको हो ।’

    दलको नेता राउत नै बन्न सकेनन् भने मुख्यमन्त्री फेरिने निश्चित छ । संसदीय दलको नेता चयन गर्नका लागि पार्टीले पाँच सदस्यीय समिति समेत बनाएको छ । समितिमा सांसदहरू मनिष सुमन, रामाशिष यादव, रानी शर्मा तिवारी, उपेन्द्र महतो र परमेश्वर साह छन् । समितिलाई विधान बनाउन जिम्मेवारी तोकिएको थियो ।

    तर, मनिष सुमनले एक्लै विधान बनाएर मुख्यमन्त्री राउतलाई बुझाए । समितिमा रहेका अन्य चार सांसदसँग सल्लाहसमेत नगरी सुमन एक्लैले विधान बनाएपछि समिति निस्क्रिय रहेको समितिका सदस्य रामाशिषले बताए ।

    पार्टी एकता भए पनि प्रदेशसभामा अहिले राजपा र समाजवादी अलग-अलग दल अस्तित्वमा छन् । १०-१५ दिनपछि दलको नेता चयन प्रक्रिया शुरू हुने मनिष सुमनले बताए ।

    संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमनलगायतको नाम चर्चामा छ ।

    मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टी र मन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेता हुन् । उपेन्द्रले भने राउतलाई हटाएर विजय यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।

    राउत पार्टीभित्रको पछिल्लो विवादमा इस्तियाक राई पक्षमा लागेको बुझाइ उपेन्द्रको छ । रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूले गत वैशाखमा समाजवादी पार्टी फुटाएर अलग दल दर्ता गर्न खोजेका थिए ।

    त्यसका लागि सहज बनाउन प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेशसमेत ल्याएका थिए । तर, चौतर्फी विरोधपछि अध्यादेश फिर्ता भएर सांसदको संख्या समेत गडबड भएपछि उनीहरूको प्रयास असफल भएको थियो ।

  • नारायणकाजीप्रति बाबुरामको कटाक्षः रून्चेपिन्चे कुरा गरेर प्रतिगमन सच्याउन सकिन्नँ

    नारायणकाजीप्रति बाबुरामको कटाक्षः रून्चेपिन्चे कुरा गरेर प्रतिगमन सच्याउन सकिन्नँ

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सच्याउन कठिन भएको बताएका छन्।

    प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले शुक्रबार राष्ट्रियसभामा बोलेका कुराप्रति लक्षित गर्दै भट्टराईले ‘रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसकिने’ टिप्पणी गरेका छन्।

    ‘ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा पार्टी एकता हुनसक्छ, सँगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हिटलरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठूलो भूमिका थियो भन्ने नबिर्सौं । इतिहास नदोहोरिओस्।’

    श्रेष्ठले राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा ओलीदेखि ठूला दलका ठूला नेताहरुले आत्मालोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

    उनको भनाइ थियो– अझै केही बिग्रिसकेको छैन । प्रतिनिधिसभा विघटन गर्ने निर्णय प्रधानमन्त्रीले सच्याए मिलेर अघि बढ्न सकिन्छ ।

  • बाबुरामको टिप्पणीः ओलीले ज्ञानेन्द्रकै सिको गरे

    बाबुरामको टिप्पणीः ओलीले ज्ञानेन्द्रकै सिको गरे

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रकै सिको गरेको आरोप लगाएका छन् । संसद विघटन गरी ‘सडकबाट टिपेर’ मन्त्री बनाएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि ट्वीटरमार्फत प्रतिक्रिया दिंदै उनले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलबाड भइरहँदा चूप लागेर बस्न नसकिने बताएका छन् । उनले ट्वीटमा प्रधानमन्त्री र ज्ञानेन्द्रको शैलीमा फरक नभएको उल्लेख गरेका छन् ।

    आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने ? यो कहाँको विधि र परम्परा हो ?’ उनले प्रश्न गरेका छन्, ‘सत्ता अकन्टक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान र लोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चूप बस्ने हामी कि ओली मूर्ख ?’