Tag: बाढीपहिरो प्रभावित

  • सिन्धुपाल्चोकमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गरिने

    सिन्धुपाल्चोकमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गरिने

    काठमाडौं । सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले सो निर्णय गरेको हो ।

    यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए । उनले भने, ‘हजारौं हजार विस्थापित मेलम्ची क्षेत्रका जनताको जनजीवनलाई सहज बनाउनका लागि चारवटा यान्त्रिक पुल तत्काल निर्माण गर्ने निर्णय गरिएको छ । त्यसका लागि आर्थिक संयोजन प्राधिकरण आफैले गर्ने र नेपाली सेनाले सो पुलको निर्माण गर्नेछ ।’

    बैठकले बाढी र पहिरोको चपेटामा परेका मनाङ, गोरखा र बाजुरालगायतका ठाउँहरुमा खाद्यान्न र अस्थायी आवासको आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । खाद्यान्न, अस्थायी आवास, औषधिलगायतका अत्यावश्यक सेवाहरु हेलिकप्टरमार्फत् तत्काल ती क्षेत्रहरुमा लैजाने काम पनि बुधबार (भोली) बिहानैबाट सुरु गर्ने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए ।

    बैठकमा प्रधानमन्त्री एवम् प्राधिकरणका अध्यक्ष देउवाले बाढी, पहिरो लगायतका विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि प्रभावकारी ढंगले काम गर्न सम्बन्धित सबै निकायलाई सचेत गराएका थिए । त्यस अवसरमा प्राधिकरणका पदाधिकारीहरुले बाढी, पहिरो र डुबानबाट देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

  • बाढीपहिरो प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

    बाढीपहिरो प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

    सिन्धुपाल्चोक । मेलम्ची-इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीले आर्थिक सहयोग जुटाएका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा त्यहाँ रहेका ३५ जनाबाट पाँच लाख ७७ हजार रुपैयाँ सङ्कलन गरिएको थियो ।

    सो रकम आज रामकृष्णकी सुपुत्री सुजता श्रेष्ठ सहित दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले मेलाम्ची नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरे । यस रकममध्येबाट रेडियो मेलम्चीलाई ७७ हजार रुपैयाँ प्रदान गरिएको छ । रकम बुझ्दै नगर प्रमुख अर्यालले सबैको सहयोगले मात्र बाढी प्रभावितलाई व्यवस्थापन गर्न सकिने र सहयोगका हात जारी राख्न आह्वान गरे ।

    रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताए । वाग्गमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची-११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि सहभागिता रहेको थियो ।