Tag: बर्ड फ्लु

  • बर्ड फ्लु पुष्टि भएको किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका टर्की तथा कुखुरा नष्ट

    बर्ड फ्लु पुष्टि भएको किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका टर्की तथा कुखुरा नष्ट

    काठमाडौ । सरकारले बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन रोग देखिएको क्षेत्रमा रहेका टर्की तथा कुखुरा नष्ट गरेको छ । पशु सेवा विभागले काठमाडौंको किर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ का कृषकले पालेका टर्कीमा २ दिन अघि बर्ड फ्लु पुष्टि भएपछि विभागले घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरेको जनाएको हो ।

    जसमा ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई २० हाँस, १ सय ७८ अण्डा र ९ सय किलो दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकिएको र रोग देखा परेको क्षेत्रलाई पुर्ण निःसंक्रमण समेत गरिसकिएको विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिइन । उनका अनुसार रोगको निगरानीको क्रममा देशका विभिन्न भागबाट नमूना संकलन गरी परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

    गत माघ महिनापछि काठमाडौं, सुर्खेत, जाजरकोट र ललितपुरमा देखा परेको बर्ड फ्लु रोग तत्काल नियन्त्रण गरी त्यस क्षेत्रमा सघन निगरानी कार्यलाई नियमित रुपमा सञ्चालन गर्दै आएको थियो । निगरानीकै क्रममा नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा २ दिन अघि पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु रोग एचफाइभ एनएट प्रमाणित पशु सेवा विभागले एक विज्ञप्ती जारी गर्दै बुधबार साँझ जानकारी गराएको हो ।

    रोग पूर्ण रुपमा नियन्त्रणमा रहेको र निगरानी कार्यलाई निरन्तरता दिइएको हुदाँ आम उपभोक्तालाई सुनिश्चित हुन अनुरोध गर्दै रोगलाई पूर्ण नियन्त्रणमा राख्ने काममा सघाउन विभागले विज्ञप्तीमार्फत अपिल गरेको छ ।

  • जाजरकोटमा पनि भेटियो बर्ड फ्लु

    जाजरकोटमा पनि भेटियो बर्ड फ्लु

    काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको हो ।

    बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

    पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए ।

    योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो ।

    बर्ड फ्लु देखिएको क्षेत्रका रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । उनका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३०० ब्वायलर कुखुरा, ३३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना, २०० वटा अण्डाको केटसमेत नष्ट गरिएको छ ।

    विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको उनले बताए। विभागले बर्ड फ्लु रोगको सघन निगरानी कार्यलाई नियमित सञ्चालन गर्दै आइरहेको छ । यसअघि पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।