Tag: बजेट निर्माण

  • गण्डकी सरकारले सुरु गर्‍यो बजेट निर्माणमा छलफल

    गण्डकी सरकारले सुरु गर्‍यो बजेट निर्माणमा छलफल

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणका लागि विज्ञहरुसँग सुझाव लिएको छ । कोरोना संक्रमणका कारण आर्थिक संकटमा रहेको सरकारले संघ सरकारको अनुदानमै केन्द्रित भएर बजेट ल्याउन लागेको हो । यसअघि ३० अर्बको बजेट ल्याएको सरकारले अहिले बजेटको आकार अझै घट्न सक्ने संकेत गरेको छ ।

    यसपटक विज्ञहरुले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाएका छन् । कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्दै नेपालमा उत्पादन हुने बस्तु तथा सेवामा विशेष जोड दिन उनीहरुको आग्रह छ । अहिले पनि अर्बौको उत्पादन नेपाल आयात हुने गरेको भन्दै त्यसलाई रोक्ने गरी आत्मनिर्भर अर्थतन्त्रमा ध्यान दिन उनीहरुको सुझाव छ ।

    नेपालको माटो सुहाउँदो बस्तु तथा सेवा उत्पादन गर्न बाँझो जमिनलाई भूमि बैंकको रुपमा प्रयोग गरी ठूलो मात्रमा उत्पादन हुने र त्यस्ता ठूला फार्मलाई अनुदानको व्यबस्था गर्नुपर्ने सुझाव दिइएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठले सरकारले बजेट खर्च गर्न नसकेका कारण देशमा आर्थिक तरलता बढेको बताए ।

    प्रदेश र स्थानीय सरकारको साढे ३ खर्ब सरकारी बैंकमै रहेको उनले जानकारी दिए । ‘सरकारी पैसा खर्च भएको छैन । ३ खर्बको कृषि बस्तु आयात भएको छ,’ उनले भने, ‘एकातिर खर्च नहुने अर्कोतिर आयात बढ्ने त राम्रो भएन ।’

    उनले अधिकांश बजेट खर्चमा जोड दिन सुझाव दिएका छन् । कोरोना र हालको अर्थतन्त्रलाई चलायमान बनाउन छोटो समयमा ठूलो नतिजा ल्याउन प्रोडक्ट, प्रोसेस र मोडेल कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ ।

    राष्ट्रिय योजना आयोगका सदस्य डा।पुष्परमण वाग्लेले प्रदेशमा टुक्रे योजना बढेको र बजेट मागसमेत बढ्दै गएको बताए । प्रदेशमा ३ हजार योजनाको माग भएको २५ अर्बको बजेट आवश्यक पर्ने उनको भनाई छ । कूल ७८ अर्ब लाग्नेमा २५ अर्ब सिलिङ रहेको वाग्लेले जानकारी दिए । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले ८५ गाँउपालिकामा सुपथ मुल्यका पसल सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जग्गा प्राप्तिको समस्याले गौरवका योजनामा अवरोध भएको बताए । संविधानले प्रदेशलाई कम अधिकार दिएकोले आफूहरुले चाहेर पनि धेरै काम गर्न नसकेको उनको भनाई छ ।

    ‘डेढ बर्ष पहिला प्रतिपक्ष दलको नेता हुँदा यही समस्या थियो । अहिले मुख्यमन्त्री हुँदा पनि त्यही समस्या छ,’ उनले भने । अर्थमन्त्री रामजी प्रसाद बरालले विज्ञहरुको सुझाव अनुसार बजेट र नीति तथा कार्यक्रम बनाउने बताए । नयाँपन दिनुपर्ने, अनिवार्य दायित्व र बहुवर्षीय योजनालाई प्रथामिकता दिने उनको प्रतिबद्धता छ ।

     

  • स्थानीय तहलाई लक्षित वर्गमा प्रत्यक्ष योगदान पुग्ने कार्यक्रम तर्जुमा गर्न सरकारको परिपत्र

    स्थानीय तहलाई लक्षित वर्गमा प्रत्यक्ष योगदान पुग्ने कार्यक्रम तर्जुमा गर्न सरकारको परिपत्र

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा लक्षित वर्ग र समुदायलाई प्रत्यक्ष योगदान पुग्ने कार्यक्रम तर्जुमा गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै आगामि आर्थिक वर्ष २०७८–०७९ को कार्यक्रम एवम बजेट निर्माण गर्दा लक्षित वर्ग र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि प्रत्यक्षरुमा योगदान हुने कार्यक्रम तर्जुमा गरी निश्चित प्रतिशत बजेट विनियोजना गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।

    महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, किशोरकिशोरी लगायतलाई विकासको मूलप्रवाहमा ल्याई समावेशी र समतामूलक राष्ट्रको निर्माण गर्ने चालू पन्ध्रौ योजनाको संकल्प पनि रहेकाले यतातिर ध्यान दिन मन्त्रालयले आग्रह गरेको हो ।

    मन्त्रालयले स्थानीयस्तर समेतबाट महिला, दलित, आदिवासी जनजाती, मधेशी, मुस्लिम, पिछडिएको समुदाय, बालबालिका, जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्ति, सामाजिक, आर्थिक शैक्षिकरुपमा पछाडि परेका व्यक्ति तथा समुदाय लगायतलाई विकासको समग्र प्रक्रिया तथा प्रतिफलको हिस्सेदारीमा मूलप्रवाहिकरण गर्नका लागि बजेट तथा कार्यक्रममार्फत विधि प्रयास गरिएको पनि स्मरण गराएको छ ।

  • सांसदलाई थाहै नदिई ‘विचौलिया’का योजना छान्दै कर्णाली सरकार !

    सांसदलाई थाहै नदिई ‘विचौलिया’का योजना छान्दै कर्णाली सरकार !

    सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट निर्माण तीव्र पारिरहँदा मन्त्रालयकाे योजना छनाेटमा ‘विचौलिया’ हावी भएकाे आरोप सांसदहरुले लगाएका छन् । सम्वन्धित जिल्लाका सांसदलाई थाहै नभएका योजनाहरु मन्त्रालयमा जाने र मन्त्रीले सुटुक्क छनोट गर्ने गरेको गुनासो उनीहरुको छ । यतिसम्म कि जुम्ला जिल्लामै मात्र यो समयमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई भेटेर विचौलियाले ३ सय ६० योजना हस्तान्तरण गरिसकेका छन् ।

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘सुकिला–मुकिला’हरुलाई योजना नदिने भन्दै बारम्बार सार्वजनिक रुपमा नै वक्तव्यबाजी गर्दै आएको भए पनि पछिल्लो समयमा योजना माग गर्नेहरुको जात्रा नै लाग्ने गरेको छ । कोरोनमा महामारीको समयमा प्रदेशका विभिन्न स्थानीय तहलेसमेत सके आफैं नसके विचौलियामार्फथ प्रभावमा पारेर आफ्ना क्षेत्रका योजना राख्न दबाब दिइरहेका छन् ।

    जुम्ला जिल्लाको प्रदेश क्षेत्र (ख) का सांसद पदमबहादुर रोकायाले स्थानीय तहमात्र होइन टोलटोलबाटै योजना माग्न वीरेन्द्रनगर आउने परिपाटी बढेको बताउँछन् । ‘जिल्ला जिल्लाबाट विकास माग्न आइराखेका छन् । सरकारले आफ्नो–आफ्नो मान्छेबाट योजना संकलन गरिरहेको छ । जसले प्रदेश सांसद कामविहीन जस्तै छौं,’ उनी भन्छन्, ‘जुम्लाका नेकपा माओबादी केन्द्र र माधव नेपाल निकट नेताहरुले ३ सय ६० योजना पेस गरिसकेका छन् ।’

    उनले गाउँपालिकाको खर्चमा धमाधम मन्त्रालयहरुमा डेलिगेसनमा आउनेको भिडभाड नै बढेको बताए । ‘यसमा मेरो विरोध हुनेछ,’ सांसद रोकायाले भने ,‘पहिले सांसदको सिफारीस बिना योजना हाल्दैनथ्ये । अहिले सोध्न त के योजना समेत मागिएको छैन । यो सरासर गलत हो ।’

    उनले कुन गाउँमा के समस्या छ भन्ने बारेमा प्रणालीमार्फत योजना आउनुपर्नेमा जोड दिए । ‘पहँचका भरमा विकास माग्न प्रदेश राजधानी धाउनुपर्ने अवस्था हो भने संघीयताको के काम ? बाहिरबाट आएका योजना धमाधम समावेश हुने हुन् भने हामी जनप्रतिनिधिको के अर्थ ?’

    जुम्लाबाट मात्रै हिमा गाउँपालिका, तातोपानी र चन्दननाथ नगरपालिकाबाट विकास माग्न जनप्रतिनिधिको टोली बीरेन्द्रनगरमा पुगेको छ ।

    यो उदाहरण मात्रै हो । वीरेन्द्रनगरमा अहिले योजना माग्न आउने कार्यकर्ताहरुको लामो भीड देख्न पाइन्छ । राप्रपा सांसद सोशीला शाहीले आफूहरुसँग सरकारले छलफल नगरेको बताइन । उनी भन्छिन्, ‘नेता कार्यकर्ताहरु पार्टीका नेता मन्त्री भएको भन्दै भेट्न जाने र योजना टिपाउने काम भइरहेको भन्ने सुनेको छु । यसले कसैलाई पनि राम्रो गर्दैन । यस्ता बजेटले फेरि पनि विचौलिया हावी हुने र भ्रष्टाचार गाउँ-गाउँमा मौलाउने पक्का छ ।’

    सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, मुगु, रुकुम पीश्चम, सल्यान, डोल्पा लगायतका जिल्लाबाट प्रदेशमा बजेट माग्न आउनेहरुलाई बजेट र योजना दिने भन्दै मन्त्रीले आश्वासन दिने गरेका छन् ।

    यता, सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले विचौलिया आफूकहाँ योजना माग्न नआएको बताए । ‘अन्यत्र आए नआएको मलाई थाहा छैन म कहाँ कोही पनि विचौलिया आएका छैनन्,’ उनी भन्छन्, ‘हामी औपचारिक वा अनौपचारीक रुपमा सबैका कुरा सुन्छौं । दलाल नै आएको भए पनि उसका कुरा पनि सन्छौं तर बजेट हामी हाम्रै हिसाबमा बनाउँछौं । सरकारको सोच र लक्ष्य अनुसार नै बनाउँछौं ।’

    उनले बजेट निर्माण गर्ने कुरा कर्णाली बनाउने कुरा भएको बताउँदै खल्तीका योजना छनोट नगरिने प्रष्ट पारे ।

    सभामुखको क्षेत्रमा यही वर्षभित्र विजुली पुग्ने

    कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको निर्वाचन क्षेत्रमा एक वर्षभित्रै विजुली बल्ने भएको छ । दैलेखको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा विजुली बाल्नका लागि प्रदेशबाट ४० करोड विनियोजन भइ कार्यान्वयनको चरणमा रहेको छ ।

    खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका कार्यालय प्रमुख अशोक गौतमका अनुसार तीन वटै पालिकामा विधुतिकरणको कार्य पहिलो प्राथमिकतामा रहेको बताए ।

    दुई वर्ष अगाडि नै ५ करोड रुपैयाँका पोलहरु ल्याइसकिएको छ । यो वर्ष ६७ किलोमिटर लामो ११ केभीए प्रशारणलाई विस्तारका लागि सम्झौता हुन लागेको छ । ‘यो काम छिट्टै सुरु हुनेछ । त्यसबाहेकका कामका लागि २५ करोड बजेट सुनिश्चित भएको छ । उक्त बजेटले चार सय भोल्टको लाइन तान्ने, ट्रान्सफर्मर राख्ने, मिटर जडान गर्ने लगायतका सबैकाम गर्नकालागि भदौसम्ममा ठेक्का आव्हान गर्दैछौं’ कार्यालय प्रमुख गौतमले यही वर्षभित्र तीनवटै स्थानीय तहका सबै वडाबासीले विजुली पाउने आशा व्यक्त गरे ।

    ‘यो काममा स्थानीय तहबाट पनि हामीलाई उत्तिकै समन्वयको खाँचो रहन्छ । उहाँहरुले सहयोग गर्नुभएन भने हामीले निर्धारित समयमा काम सम्पन्न गर्न सक्दैनौं । दुई वर्षसम्म लाग्नसक्छ,’ गौतमले भने, ‘सभामुख ज्यूले बारम्बार हामीलाई निर्देशन दिइरहनुभएको छ । यहि वर्षको अन्त्यतिर तपाईले विजुली बलेको हेर्न पाउने गरी काममा तीव्रता दिइरहेका छौं ।’

    नेपाल विद्युत प्राधिकरणले ३३ केभीएप्रसारण लाइनमार्फत कालिकोटमा विजुली बलिसकेका कारण अब एघार केभीएको लाइन विस्तार, ४ सय भोल्टको लाइन विस्तार र तीन वटा स्थानमा तत्कालका लागि ट्रान्सफर्मर राख्ने तयारी अघि बढेको छ ।