Tag: बजेट अधिवेशन

  • विपक्षीले अवरोध गरे लुम्बिनी सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

    विपक्षीले अवरोध गरे लुम्बिनी सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बजेट निर्माण र विनियोजन प्रक्रियामा विपक्षीले अवरोध गरे अध्यादेशमार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा गरेको छ ।

    १९ जेठदेखि सुरु भएको बजेट अधिवेशन २ दिन निरन्तर बसेर जेठ २५ गते दिउँसो १ बजे बोलाइएको छ ।

    अधिवेशन शुरु भएको पहिलो दिन नै विपक्षी सांसदहरूले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका थिए ।

    अधिवेशनको दोस्रो दिन २० जेठमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । दोस्रो दिन पनि विपक्षी दलहरूले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि भन्दा संसद नछली नीति तथा कार्यक्रम, बजेट प्रदेशसभाबाटै पास गराउन आग्रह गरेका थिए ।

    सरकारले २५ जेठमा प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम पास गर्दै बहुमतले बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, सरकारलाई बजेट पास गराउन चुनौतीपूर्ण रहेको विपक्षीको दावी छ ।

    विपक्षी गठबन्धन नीति तथा कार्यक्रम र बजेट फेल गराएर सरकारलाई नैतिक संकटमा पार्ने योजनामा छन् । सत्ता पक्षले सरकार बहुमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट संसदबाट नै ल्याइने बताउंँदै आएको छ । प्रदेशसभाले संविधान विपरित अविश्वासको प्रस्तावका विषयलाई अगाडि बढाएमा एमालेले सदन बहिस्कार गरी सरकारले अध्यादेशबाट बजेट ल्याउने संकेत एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले गरिसकेका छन् ।

    विपक्षी गठबन्धनले शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारलाई अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने दावी गर्दै आएका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन भए पनि सरकार सञ्चालन उपधारा २ अनुसार भएकाले विश्वासको मत लिनुपर्ने विपक्षी गठबन्धनले माग गरिरहेका छन् । तर सत्तारुढ नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन भएकाले विश्वासको मत लिन आवश्यक नभएको दावी गर्दै आएको छ ।

    सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको विपक्षी गठबन्धनले नीति तथा कार्यक्रम र बजेट फेल गराउनसक्ने भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउनसक्ने बहस पनि शुरु भएको छ ।

    सत्तारुढ दल नेकपा (एमाले) ले भने सदनबाट बजेट ल्याउने÷नल्याउने विषय विपक्षीको गतिविधिमा भर पर्ने बताएको छ । एमाले सचेतक भूमिश्वर ढकालले नीति तथा कार्यक्रम र बजेट फेल गराउने, संविधानलाई अपव्याख्या गरी मुख्यमन्त्रीलाई विश्वासको मत ल्याउन दबाब दिने जस्ता गतिविधि विपक्षी गठबन्धनबाट भएकाले अहिल्यै नै बजेट कसरी आउँछ भन्न नसकिने बताए ।

    ‘सरकार अहिले संसदबाटै बजेट पास गर्ने पक्षमा रहे पनि विपक्षी दलहरूले प्रदेशसभाभित्र संविधानलाई नाघ्ने, उल्लंघन गर्ने जस्ता अलोकतान्त्रिक गतिविधि भए अध्यादेशबाट पनि बजेट आउनसक्छ, यो हाम्रो रहर होइन,’ ढकालले भने ।

    विपक्षी गठबन्धन भने नियमित सदन सञ्चालनमा दबाब दिँदै सदनबाटै सरकारको वैधानिकता खोज्ने रणनीतिमा छ ।

    माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले सत्तारुढ एमालेले संसद छल्न नपाओस् भनेर सदन सञ्चालन गर्न दिइएको बताउँदै सदनबाटै बहुमतमा नीति तथा कार्यक्रम र बजेट पास गराउन सरकारलाई आग्रह गर्छन् । सरकारले अध्यादेशबाट बजेट ल्याउन सक्ने छनक आफूहरूले पाएको घर्तीले बताए ।

    माओवादी केन्द्रका सांसद सुदर्शन बरालले सरकारले संसद छलेर बजेट र नीति तथा कार्यक्रम अध्यादेशबाट ल्याए दुर्घटना हुनसक्ने दावी गरेका छन् ।

    ‘मुठभेडमा जान दिन हुन्न, बजेटअघि कि मुख्यमन्त्रीले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्छ, नभए विश्वासको मत लिनुपर्छ,’ बरालले भने । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा भएको मतदानले वर्तमान सरकार अल्पमतमा परेको तर्क गरेको छ । सो निर्वाचनमा गठबन्धनमा ४२ मत, एमाले उम्मेदारलाई ४० मत र एक मत बदर भएको थियो । विपक्षीको यो तर्कप्रति सरकारका प्रवक्ता बैजनाथ चौधरीले उता भएको मतदानले प्रदेशसभामा असर नपर्ने दावी गर्दछन् ।

    ‘हामीसँग एमालेको ३८ र सरकारमा सहभागी ४ जना जसपाको सांसदहरु हुनुहुन्छ, प्रदेशसभामा अहिले ८३ जनाको नामावली छ, कसैले लुकाउनुपर्दैन बहुमत कता छ भनेर तर संविधानअनुसार धारा १६८ को १ अनुसार सरकार गठन भएकाले विश्वासको मत लिने विषयमा प्रवेश नै हुँदैन,’ प्रवक्ता चौधरीले भने, ‘दाङको चुनाव गोप्य थियो, कसरी क्रस भयो भनेर हामी गम्भीर ढंगले अनुसन्धान गरेका छौं, यहाँ खुला हुन्छ होही दायाँबायाँ हुँदैन ।’

    नयाँ बजेट आउनअघि अघिल्लो वर्षको खर्च गर्ने चिन्ता

    कोरोना महामारीलाई कारण देखाउँदै यो वर्ष पनि लुम्बिनी प्रदेश सरकारले धेरै बजेट खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्ष सकिन अब १ महिना एक सातामात्र रहेको छ । तर प्रदेश सरकारको धेरै बजेट खर्च हुन बाँकी नै रहेको छ । यसअघिका वर्षमा कर्मचारी व्यवस्गापन समयमा हुन नसकेका कारण बजेट खर्च हुन नसकोको यो प्रदेशमा अहिले कर्मचारी संख्या बढेको, प्रदेश संरचनाको स्पष्ट खाका तयार भए पनि बजेट समयमै खर्च भएन ।

    सरकारी तथ्यांकलाई आधार मानेर हेर्ने हो भने पनि बैशाख महिना सकिँदा ५० प्रतिशत मात्र बजेट खर्च भएको र जेठ पनि सकिन थालेकाले गतवर्षजस्तै बजेट खर्च नहुने अनुमान गर्न सकिन्छ ।

    लुम्बिनी प्रदेशमा गतवर्ष ७५ प्रतिशतभन्दा बढी बजेट खर्च भएको थियो ।

    लुम्बिनी प्रदेशको कुल बजेट ३७ अर्ब ४५ करोड २५ लाख रहेकोमा चालूतर्फ १७ अर्ब २१ करोड बजेटमध्ये ९ अर्ब १८ करोड अर्थात् ५३ दशमवल ३६ प्रतिशत खर्च भएको छ । पूँजीगततर्फ छुट्याइएको २० अर्ब २४ करोड विकास बजेटमध्ये बैशाख मसान्तसम्म ९ अर्ब ३४ करोड ४६ लाख खर्च भएको छ ।

    बैशाख मसान्तसम्मको १० महिना अवधिमा कुल १८ अर्ब ५२ करोड ९५ लाखमात्र खर्च भएको छ । प्रदेश लेखा कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार चालू आर्थिक वर्षका १० महिनामा प्रदेश सरकारले कुल बजेटको ४९ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको छ ।

    सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले कोभिड–१९ ले हरेक क्षेत्रलाई प्रभावित पारेकाले बजेट खर्चमा केही कमी देखिएको बताए । यद्यपि गतवर्षको तुलनामा धेरै नै काम भएको उनको दाबी छ ।

    उनले भने, ‘खासगरी प्रदेशमा भौतिक पूर्वाधारका काम धेरै भएका छन्, सिँचाई, खानेपानी, सडकका क्षेत्रमा उल्लेख्य काम भए पनि प्रायः आर्थिक वर्षको अन्तिमतिर बिल पास हुने भएकोले अहिले खर्च कम देखिएको हो ।’

    आर्थिक वर्ष सकिने बेलासम्म खर्चको अनुपात बढ्ने सरकार पक्षको दाबी छ । लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमध्ये पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले सर्वाधिक बजेट खर्च गरेको छ । उक्त मन्त्रालयले २ अर्ब ९१ करोड बजेटमध्ये १० महिनामा १ अर्ब ५० करोड अर्थात ५१.६८ प्रतिशत खर्च गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भने सर्वाधिक कम खर्च गरेको छ । समीक्षा अवधिमा उक्त मन्त्रालयको बजेट खर्च दर जम्मा २१.३१ प्रतिशत छ । मन्त्रालयले १० महिनामा जम्मा ७६ करोड बजेट खर्च गरेको छ ।

    सबैभन्दा धेरै बजेट परेको मन्त्रालय भौतिक पूर्वाधार हो । १५ अर्ब ९७ करोडभन्दा बढी विकास बजेट रहेको यो मन्त्रालयले १० महिनामा ४९ प्रतिशतको हाराहारीमा अर्थात ७ अर्ब ८२ करोड बजेट खर्चेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैशाख मसान्तसम्म २१.३१ प्रतिशतमात्र बजेट खर्च गरेको छ । सो मन्त्रालयले ३ अर्ब ५८ करोडमध्ये जम्मा ७६ करोड बजेट खर्च गरेको हो ।

    सामाजिक विकास मन्त्रालयले १० महिनामा २ अर्ब ५१ करोड खर्च गरेको छ । उसको कुल बजेट ५ अर्ब ९३ करोड हो । मन्त्रालयको खर्चदर ४२.३४ प्रतिशत रहेको लेखा कार्यालयले जनाएको छ ।

    कोभिड–१९ का कारण प्रदेश सरकारको प्राथमिकतामा स्वास्थ्यका पूर्वाधार तथा जनशक्ति व्यवस्थापन परेकाले तुलनात्मक रुपमा यसपाली सामाजिक विकास मन्त्रालयले बजेट बढी पाएको थियो । तर स्वास्थ्य पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान नदिँदा बजेट खर्च कम हुनका साथै स्वास्थ्य पूर्वाधार, जनशक्ति तथा उपकरण नहुँदा प्रदेशका जनताले उपचारै नपाएर मृत्युवरण गर्नु परिरहेको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

    उनले सरकारले विभिन्न अस्पतालमा कोभिडका बिरामीलाई निःशुल्क उपचार दिने भनेर प्रचार गरेपनि बिरामीले त्यो पाउन नसकेको, निजी अस्पतालले रकम नभई उपचार नै शुरु नगरेकाले सरकारको सस्तो प्रचारबाजी भएको बताए ।

  • प्रदेश-२ को बजेट अधिवेशन आजदेखि, जसपाका महन्थ पक्षले वैठकमा अवरोध गर्न सक्ने

    प्रदेश-२ को बजेट अधिवेशन आजदेखि, जसपाका महन्थ पक्षले वैठकमा अवरोध गर्न सक्ने

    जनकपुरधाम । प्रदेश–२ प्रदेशसभाको छैटौं अधिवेशन (बजेट अधिवेशन) आजबाट सुरु हुँदैछ । प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले आज दिउँसो १ बजे प्रदेशसभाको छैटौं अधिवेशन आह्वान गरेका छन् ।

    आजको बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रि-बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची छ ।

    प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)को सरकार छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले हिजो आइतबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश संसदीय दलका नेता बनाए । हिजै राति महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनन र तीन राज्यमन्त्रीलाई बर्खास्त गरियो ।

    महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएका कारण उनी पक्षाीय सांसदले प्रदेशसभा बैठक अवरुद्ध पार्ने सम्भावना देखिएको छ । प्रदेश सरकारले जेठ २७ मा नीति तथा कार्यक्रम र अगामी असार १ मा बजेट ल्याउने तयारीमा जुटेको छ ।

  • कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

    कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

    सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठक दिउँसो दुई बजे बस्दैछ । यो बजेट अधिवेशन पनि हो ।

    सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको वैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरु पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको वैठकले निर्धारण गरेको छ ।

    यसका अलावा सरकारले जारी गरेको आर्थिक अध्यादेश प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सुची तय भएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए ।

  • लुम्बिनी प्रदेश : एकमतले विपक्षीको सामना गर्ने एमालेको निर्णय

    लुम्बिनी प्रदेश : एकमतले विपक्षीको सामना गर्ने एमालेको निर्णय

    रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले सरकारका नीति तथा कार्यक्रम र बजेटमा सबै सांसदहरु एकसाथ एकढिक्का भएर जाने निर्णय गरेको छ । आज दिउँसो १ बजे शुरु हुने प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अगाडि दलको धारणा बनाउन बैठक बसेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

    मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभामा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापका विरुद्धमा सबै सांसदहरु एकसाथ उभिने निर्णय भएको ढकालले बताए ।

    अधिवेशनको पहिलो दिनको कार्यसूचीमा प्रदेश प्रमुख कार्यालयबाट आएका पत्रबारे जानकारी दिने र दलका प्रमुखहरुले औपचारिकरुपमा शुभकामना दिने कार्यसूचि कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको छ ।

    तर विपक्षी गठबन्धन दलका नेताहरुले सभामुख पूर्णबहादुर घर्तीलाई अविश्वासको प्रस्ताव पेश गर्न लगाउने आशंकाका समाचार बाहिरिएपछि सत्तारुढ एमालेले यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

    प्रमुख सचेतक ढकालले कानुन विपरीत दर्ता भएको अविश्वासको प्रस्तावका विषय अगाडि सारिए तत्काल बहिस्कार गर्ने र सरकारलाई अध्यादेशबाट नीति तथा कार्यक्रम र बजेट ल्याउन सिफारिस गर्ने बताए । उनका अनुसार प्रतिपक्षीले बाध्य बनाएर संसद अन्त्य गर्ने वातावरण नआओस् भन्ने आफूहरुले चाहेको बताए ।

  • जेठ २४ मा बजेट अधिवेशन आव्हानका लागि प्रदेश २ सरकारको सिफारिस

    जेठ २४ मा बजेट अधिवेशन आव्हानका लागि प्रदेश २ सरकारको सिफारिस

    जनकपुरधाम । प्रदेश २ सरकारले चालु पाँचौं अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

    गत चैत ३० मा पाँचौं अधिवेशन सुरु भएको थियो । पाँचौं अधिवेशनको दोस्रो बैठक वैशाख १० मा बस्यो तर तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि अन्तिम समयमा स्थगित गरियो ।

    कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै प्रदेशसभा बैठक स्थगित गरिएदेखि पुनः बस्न सकेन । प्रदेशसभा बैठक लामो समयदेखि नबस्दा प्रतिपक्षी दल सरकारको आलोचना गरिरहेका छन् ।

  • गण्डकीको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस

    गण्डकीको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस

    पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ ।

    मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

    पोखरा सभागृहमा आइतबार दिउँसो १ बजेदेखि बैठक शुरू हुनेछ ।

    मन्त्रिपरिषद्को बैठकले अधिवेशन डाक्न सिफारिससहित सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृतिसमेत लिने निर्णयसमेत गरिएको प्रवक्ता बस्नेतले बताएका छन् ।

    ‘भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयको सडक सम्बन्धी विधेयक निर्माणको सैद्धान्तिक स्वीकृति लिएर बैठक समापन भएको छ,’ उनले भने ।

  • बजेट अधिवेशनका लागि यस्तो छ संसद सचिवालयको तयारी

    बजेट अधिवेशनका लागि यस्तो छ संसद सचिवालयको तयारी

    काठमाडौं । संघीय संसद सचिवालयले बजेट अधिवेशन संञ्चालनका लागि आवश्यक सम्पुर्ण तयारी गरेको छ ।

    संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्छ । तर अहिले सम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन ।

    यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अबस्थामा बसेको छ । सचिवालले अब भने समय घर्किसकेकाले प्रि बजेट माथि छलफल चलाउन नसकिने बताएको छ ।

    प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलिय सहमति गरि छलफल छोटो बनाएर काम गर्न सकिने भएपनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताए ।

    उनले भने, ‘प्रि–बजेटलाई त संभव देखिएन । १५ दिन अगाडि भन्ने छ । जेठ १५ को अगाडि । त्यो हामीले समय गुजारीसकेका छौ । अब नीति तथा कार्यक्रम र बजेटका कुरा छन् । त्यसको लागि १ /२ दिन भित्रै यदि बैठक आव्हान भईहाल्यो भने , बैठकलाई छोटो तरिकाले सञ्चालन गरेर सिमित सख्यामा माननीय सदस्यहरुलाई समय उपलब्ध गराएर, दलिय प्रतिनिधित्वको हिसाबले सहमति गरेर सञ्चालन गर्ने हो भने त्यति ठूलो समस्या छैन । यो १५ दिनको अवधिमा हामी त्यो काम गर्न सक्छौ ।’

    प्रवक्ता पाण्डेले कोभिड १९ को महामारी तिब्र ढंगले बढ्दै गएकाले भर्चुअल बैठक संञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ । तर भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने उनले बताए ।

    संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रुपमा उपस्थित भएर बैठक संञ्चालन गर्ने कुरालाई मात्रै आधिकारीक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको उनले बताए ।  तर त्यस किसिमको अवस्था आएमा प्राविधिक रुपमा सचिवालय दुरुस्त रहेको उनले बताए ।