Tag: फोहोर व्यवस्थापन

  • फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

    फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

    काठमाडौं । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका काठमाडौंका मेयर बालेन्द्र साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।

    त्यस्तै उनले फोहोरबाट इन्धन निकाल्न करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मल बनाउने गरी योजना बनाएको पनि सुनाए ।

    कुहिने र नकुहिने फोहोर छुट्याउन काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।

    मेयर साहले स्थानीयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताएका छन् ।

    मेयर साह र उपमेयर सनिता डंगोल आज बिहानै सिसडोल गएका हुन् । उनीहरुले हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका थिए ।

  • जनकपुरका वडाध्यक्ष आन्दोलित, मेयरकै घर अगाडि फोहोर थुपारियो (भिडिओसहित)

    जनकपुरका वडाध्यक्ष आन्दोलित, मेयरकै घर अगाडि फोहोर थुपारियो (भिडिओसहित)

    जनकपुरधाम । नेपालीहरुको ठूलोमध्येको चाड तिहारको पूर्वसन्ध्यामा पनि फोहोर नउठेपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु आन्दोलित बनेका छन् ।

    पटक–पटक फोहोर व्यवस्थापन गर्न ध्यानकर्षण गराए पनि चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले आज बिहान आन्दोलनस्वरुप मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

    वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफैं ट्याक्टर चलाएर फोहोर थुपार्न मेयर साहको घरमा पुगेका थिए ।

    उनको साथमा वडाध्यक्षहरु दिपेन्द्र साह, सुदर्शन सिंह र शत्रुधन साह पनि थिए । जनकपुरधाम उपमहानगरको कार्यालयमा फोहोर फाल्न पुगेका उनीहरुलाई प्रहरीले रोकेपछि मेयर साहको घर अगाडि थुपारेका हुन् ।

    उपमहानगरपालिका कार्यालयमा फोहोर थुपार्न नदिएपछि वडाध्यक्षहरु सडकमै ट्याक्टर तेर्साएर धर्ना बसेका थिए ।

    सडकमा धर्ना बसेका वडाध्यक्ष दिपेन्द्र साहले तिहारका बेला पनि फोहोर नउठाएपछि मेयरविरुद्ध आन्दोलन गर्नुपरेको सुनाए । उनले भने, ‘वडाबासीले फोन गरेर हैरान पारेका छन् । फोनले सुत्न पाएको छैन । बाध्य भएर आफैं आन्दोलन गर्न सडकमा आउनुपर्यो ।’

    अर्का वडाध्यक्ष शत्रुधन साहले मेयरको बदमासीका कारण जनकपुरधाम कुरुप बनेको गुनासो गरे । उनले भने, ‘जनकपुरधाम एउटा धार्मिक केन्द्र हो । तर यहाँ आउनेहरु फोहोर देखेर तर्सिन्छन् । अहिले दीपावली र छठ नजिकै आइसक्यो । तर पनि मेयरले फोहोर उठान चासो देखाएका छैन ।’

    निर्वाचित भएको ४ वर्ष बित्दा पनि मेयर साहले डम्पिङ साइट बनाउन नसकेको वडाध्यक्ष जानकीराम साहले गुनासो गरे । उनका अनुसार डम्पिङ साइट निर्माणका लागि आएको ४८ करोड रुपैयाँ फ्रिज भएको छ ।

    वडाध्यक्ष साहले फोहोर उठाउन चासो नदेखाए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । उनले भने, ‘सुरक्षा निकाय, प्रशासन र जनप्रतिनिधिको संयुक्त बैठक हुनुपर्छ । त्यस बैठकमा मेयर साहले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता जनाउनुपर्छ, होइन भने हामी आन्दोलन जारी राख्छौं ।’

    यसअघि पनि पटक–पटक फोहोर व्यवस्थापनको विषयमा आन्दोलन भएको छ । केही दिनअघि मात्र स्थानीय युवाहरुले पनि मेयर साहको घर अगाडि फोहोर थुपारेका थिए । तर मेयरले फोहोर व्यवस्थापन गर्नेतर्फ कुनै चासो देखाएका छैनन् ।
    अहिले मेयर साह काठमाडौंमा र प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुमार खड्का पनि विदामा छन् ।

  • गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ, राजधानीमा उठेन फोहर

    गुह्येश्वरी क्षेत्रको वाग्मती सफाइ, राजधानीमा उठेन फोहर

    काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४३५औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइ गरिएको छ ।

    वाग्मती किनारमा जम्मा भएको फोहर विगत दुई महिनाअघि देखि उठ्न नसक्दा नदीको बहाव क्षेत्र प्रदूषित हुने खतरा अझै बढेको छ । फोहर नउठ्दा आज सफाइ गरेर थुपारेको फोहर फेरि नदीमै मिसिन थालको छ । अभियानकर्मीले सफाइ गरेर फोहर थुपार्ने तर उठाएर व्यवस्थापन नहुने क्रम चलेकाले नदी क्षेत्र प्रदूषित हुन थालेको हो ।

    पानी परेका दिन बाढी फोहर बगाएर लैजाने गरे पनि नपरेका दिन नदीमा फोहर देखिन थालेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिए ।

    अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र अभियानकर्मीको सक्रियतामा गुह्येश्वरी क्षेत्रको नदी किनारमा सफाइ गरिएको हो । सफाइमा कर्मचारी र अभियानकर्मी गरी १०० जनाभन्दा बढी सक्रियता थियो । सफाइबाट जम्मा भएको फोहर आज पनि किनारमै थुपारेर राखिएको छ ।

    सफाइ महाअभियानले जम्मा पारेको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएकामा विगत दुई महिनाभन्दा लामो समयदेखि सिस्डोल जाने सडक बिग्रिएको भन्दै उठेको छैन । दुई हप्ताअघि फोहर फेरि लैजान थालिएको भनिए पनि राजधानीका चोक, फुटपाथ, नदी किनारमा थुप्रो फोहर भेटिन्छ ।

    फोहरको थुप्रोबाट निस्किएको दुर्गन्धले हिँड्न नसकिने अवस्था भएको पैदल यात्रु रणेन्द्र श्रेष्ठको गुनासो छ । पुतलीसडकको फुटपाथमा फोहर थुपारिएकाले सडकबाट हिँड्नु परेको उनले गुनासो गरे । वाग्मती सफाइ महाअभियानले सफाइप्रति चेतना जागृत गरे पनि काठमाडौँ उपत्यकाका नदी अझै सफा हुन सकेको छैन । वर्षामा बाढीका कारण सफाइ देखिए पनि हिउँदमा नदी क्षेत्र दुर्गन्धित हुने गरेको छ ।

    उपलब्धि कम भए पनि आठ वर्षदेखि सफाइ महाअभियान आज निरन्तर जारी छ । बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सफाइ अभियान जारी छ । चाडपर्व, वर्षा, जाडो, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ अभियान हुँदै आएको छ ।

    वाग्मती सफाइ महाअभियान सुरु भएसँगै यसका सहायक नदी सफाइ पनि जारी छ । उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । वाग्मतीसँगै आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तरी र पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ भएको छ ।

    रासस

  • फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको पत्र

    फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थालेका छन् ।

    आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक रहेको मेयर शाक्यले बताए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । त्यही कारण केही दिनदेखि पूर्णरूपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्रीसँगको भेटपछि शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौं । उहाँले त्यहीँबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’

    प्रमुख शाक्यले प्रधानमन्त्रीले बोलाएर भन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैंले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको भन्दै बाटो निर्माण हुनेबितिक्कै तुरुन्तै फोहोर उठाउन सकिने बताए । ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो ।’

    प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो ।

    शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराएका छन् । सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन । जसका कारण उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।

  • सिसडोल भरिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या, उठाउन अझै केही साता लाग्ने

    सिसडोल भरिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या, उठाउन अझै केही साता लाग्ने

    काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो ।

    महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । ‘विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहर उत्पादन हुने गर्दछ, सकेसम्म कम फोहर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु’, महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने ।

    उनका अनुसार सिसडोल भरिएको र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेको भए पनि अझै केही दिन लाग्छ । निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न केही असहज भएको उनले बताए । महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ ।

    सामान्य समयमा हरेक दिन २०० गाडीले फोहर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ ।

    यसरी निरन्तर फोहर नउठ्दा काठमाडौँका सडक किनारामा जताततै फोहर हुँदा दुर्घन्ध फैलिएको छ । महानगरले दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन गर्दै आएको छ ।

    हाल फोहर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि समय–समयमा फोहर व्यवस्थापनमा समस्या आइरहेको छ ।

  • जनकपुरधामका मेयरको घर अगाडि फोहोर थुपारियो

    जनकपुरधामका मेयरको घर अगाडि फोहोर थुपारियो

    जनकपुरधाम । जनकपुरधाम उपमहानगर-४ स्थित मेयर लालकिशोर साहको घर अगाडि युवाहरूले आज बिहान फोहोर थुपारेका छन् ।

    जनकपुरधाम धार्मिक नगरी भए पनि फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीय मनिष पासवानको नेतृत्वमा युवाहरूले सडकको फोहोर उठाएर मेयर साहको घर अगाडि थुपारेका हुन् ।

    उनीहरूले मेयर साह र उपमेयर रिता मिश्रविरुद्ध नाराबाजीसमेत गरे ।

    ‘जनकपुर सन पावन नगरी, एकरा बना देली कचरा के डगरी’, ‘कतबो करबे बापरे बाप, कर परतौ तोरे साफ’लगायतका नारा समेत युवाहरूले लगाएका छन् ।

    फोहोर नउठ्दा शहरी क्षेत्र नै कुरूप बनेको र आतंक मच्चाएको लामखुट्टे नियन्त्रणमा चासो नदेखाएपछि विरोध स्वरूप मेयर साहको घर अगाडि फोहोर फालेको युवाहरूले बताएका छन् ।

  • फोहोर व्यवस्थापनमा सहयोग गरिदिन सिसडोलवासीसँग काठमाडौं महानगरको अनुरोध

    फोहोर व्यवस्थापनमा सहयोग गरिदिन सिसडोलवासीसँग काठमाडौं महानगरको अनुरोध

    काठमाडौं । फोहोर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।

    महानगरवातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो ।

    स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहोर व्यवस्थापन कार्य प्रभावित पारेका छन् । विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो ।

    विभागका प्रमुख हरिकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भनिएको छ, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।’

    अहिले साइटमा फोहर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहरलाई सङ्कलन गर्ने गाडी आएपछि पठाउन आग्रह कामपाले गरेको छ ।

    फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर फोहर लैजान अवरोध गरेको छ ।

    काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।

    उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी महानगरबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ ।

    हरेक दिन उपत्यकाबाट निजी र महानगरको गरी २०० गाडी फोहोर लगिने गरिएको छ । दीर्घकालीन ल्याण्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बन्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन ।

    सिसडोलवासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेको र यसलाई सकारात्मक रूपमा लिएर सहयोग हुने अपेक्षा महानगरको छ । यदि निरन्तर अवरोध भयो भने फोहर विसर्जन कार्यका लागि थप कदम चाल्ने महानगरको भनाइ छ ।