Tag: फेवाताल

  • फेवाताल पुरानै सौन्दर्यमा फर्कियो, तालको आकार पनि बढ्यो

    फेवाताल पुरानै सौन्दर्यमा फर्कियो, तालको आकार पनि बढ्यो

    पोखरा । बाँध मर्मतपछि फेवाताल पुरानै सौन्दर्यमा फर्किएको छ । तालको बाँध मर्मतका लागि पाँच महिनाअघि घटाइएको पानी पुनः भरिएपछि अहिले फेवाताल पूर्वावस्थामा फर्किएको छ ।

    नयाँ स्वरुपमा फर्किएपछि फेवातालको आकार ठूलो हुने जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख किरण आचार्यका अनुसार फेवातालले शनिबारदेखि आफ्नो आकार लिएको छ र अहिले ९९३.१५ आर एल रिड्युस तहमा पुगेको छ ।

    फेवातालको तह अझै बढ्ने र ९९४.७ सम्म लैजान सकिने उनले जनाए । ‘त्यतिबेला फेवातालले पूर्ण आकार लिन्छ, पहिलो देखेभन्दा ठूलो हुन्छ’ उनले भने ।

    उनले भने, ‘सेतीको पानी ल्याएर रिचार्ज गर्ने भनिएको थियो, यतिबेला सिंचाइको समय पनि नभएको र हतार पनि नभएकोले नेचुरल हिसाबले भरिन दियौं । मर्मतको काम दुई महिना अघि सकिएको थियो । चर्किएको ठाउँमा मर्मत गरिएको छ । आयुको हिसाबले एक पटक बनाएको ड्याम एक वर्षलाई टिक्छ, तर समयसमयमा मर्मत गर्नुपर्छ ।’

    फेवातालमा जम्मा भएको फोहोर निकाल्ने काम भने हुन सकेको छैन । आचार्य बताउँछन्, ‘ फेवाताल सफा गर्न शुरु गरेका थियौं, बजेट विनियोजन नहुँदा खोजिएको काम हुन सकेन अलिअलि मात्र भयो ।’

    भारतको सहयोगमा २०१८ सालमा फेवातालको बाँध निर्माण भएको थियो । बाँध मर्मतका लागि सरकारले एक करोड बजेट छुट्याएको थियो ।

  • फेवा मुहान खोलाको बालुवा २४ वर्षका लागि निजी कम्पनीलाई दिँदै पोखरा महानगर

    फेवा मुहान खोलाको बालुवा २४ वर्षका लागि निजी कम्पनीलाई दिँदै पोखरा महानगर

    पोखरा । फेवाताल मुहानका रुपमा रहेका हर्पन, बेत्यानी, घाँटीछिना, र लौरुक खोलाबाट बगेर आएका गेग्य्रान सिधै तालमा मिसिँदै तालको आकार बर्सेनी घट्दै गएको तथ्यांक छ । तथ्यांकअनुसार फेवातालमा वर्षेनी १ लाख ४२ हजार मेट्रिक टन गेग्य्रान जम्मा हुँदै आएको छ ।

    पोखरा महानगरले फेवातालको ‘आयू’ बचाउने भन्दै २ वर्षअघि तालका ती मुहान खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनायो । ०७६ पुस महिनादेखि सुरु गरेको बाँध बनाउने काम १५ महिनाभित्र सक्ने गरी सम्झौता भएको थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा ती ड्याम बनेका हुन् ।

    ०७६ पुस महिनामा बेत्यानी खोलामा २ वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा १÷१ गरी ५ वटा ड्याम बनाउने गरी पोखरा २४ स्थित बेतयानी खोलामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा मेयर मानबहादुर जिसीले शिलान्यास गरेका थिए ।

    बनेका ५ ड्याममध्ये बेत्यानी खोलाका २ ड्याम श्री गीता र जय नेपाल ईश्वर जेभी र लौरुक, अँधेरी खोला तथा हर्पन खोलामा खड्का कृष्ण, पिके जेभीले जिम्मा लिएका थिए । ड्यामले बर्सेनी तालमा थुप्रिने लाखौं मेट्रिक टन गेग्य्रान रोक्ने र थुप्रिएका गेग्य्रानबाट आम्दानी गर्ने दुवै सरकारको योजना थियो ।

    ड्याममा बर्सेनी १ लाख ४२ हजार मेट्रिक टन बालुवा तथा माटो थुप्रिने र जसमध्ये हर्पन र खहरे खोलाबाटमात्रै १ लाख मेट्रिक टन बढी गेग्य्रान जम्मा हुने त्यतिबेलाको तथ्यांक निकालिएको थियो । प्रदेश र महानगर दुवैले सिल्ट्रेसन ड्याममा जम्मा भएका बालुवा बेचेर वार्षिक २३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो ।

    तर, बाँध यति कमजोर बन्यो बनाउन थालेको करिब २ महिनामै भत्किन सुरु ग¥यो । ड्याम गुणस्तरहीन भएकै कारण सामान्य हातले छुँदामात्रै पनि प्लास्टर भत्किएर जाने स्थिति थियो । बनिनसक्दै भत्कन सुरु भएपछि यसबारे ठूलै विवाद पनि सिर्जना भएको थियो ।

    निर्माण सम्पन्न भएको एक वर्षमै लगानी फिर्ता ल्याउने गरी उक्त प्रोजेक्ट बनाइएको थियो । २८ करोडमा बनेको त्यो योजनाले महानगरलाई वार्षिक ३८ करोड रुपैयाँ आम्दानी दिन सक्ने गरी योजना तयार पारिएको थियो । सबैको विश्वास थियो, ‘प्राजेक्ट महानगरले नै चलाउने छ । र, प्राकृतिक स्रोतको सदुपयोग गर्ने छ ।’

    तर, अहिले महानगर सार्वजनिक निजी साझेदारी (सानिसा) योजनाअन्तर्गत फेवा सिरानमा रहेका ती सिल्ट्रेसन ड्याममा जम्मा हुने बालुवा तथा गिटी २४ वर्षका लागि एक निजी कम्पनीलाई दिने भएको छ । उक्त निर्णय पोखरा महानगरको ४९ औं कार्यपालिका बैठकले पारित गरेको हो ।

    पोखरा महानगर प्रवक्ता धनबहादुर नेपालीका अनुसार बाँधबाट गिटी तथा बालुवा बेचबिखन गर्न ‘फेवा सिल्ट्रेसन प्रालि’ नामक कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको छ । उक्त महानगरको निर्णयमा भनिएको छ, ‘…दुबै पक्ष बीचको सहमतिको मस्यौदा अनुमोदनसहित उक्त आयोजनाको सम्झौता प्रकृया अगाडि बढाउने निर्णय गरियो ।’

    प्रवक्ता नेपालीले सानिसा समितिले दिएकै सुझावअनुसार उक्त निर्णय गरिएको बताए । ‘फेवातालसम्बन्त्री काम गर्ने हामीलाई एउटा संस्था चाहिएको थियो । त्यहीअनुसार फेवा कम्पनी ईच्छुक भएकाले दिने निर्णय गरेका हौं,’ उनले भने ।

    फेवा सिल्ट्रेसन अनुभवी कम्पनी पनि होइन । महानगर उच्च स्रोतका अनुसार उक्त कम्पनी महानगरकै मिलेमतोमा परियोजना हात पार्नमात्रै स्थापना भएको कम्पनी हो । महानगर प्रवक्ता नेपालीले फेवालाई २४ वर्षका लागि जिम्मा दिने निर्णय गरिएको भएपनि कति मूल्यमा सम्झौता गरिएको खुलाउन चाहेनन् ।

    ‘कम्पनीले २४ वर्षमा इन्जिनियरिङ खर्च ३८ करोड लाग्ने भनेको छ । त्यहीअनुसार सानिसा समितिले अध्ययन गरेपछि बाँकी प्रक्रिया अघि बढ्छ । अहिले भन्न सकिन्न,’ प्रवक्ता नेपालीले भने, ‘सबै काम पूरा इन्जिनियरिङ मोडेलमा अघि बढ्ने हो ।’

    महानगरले सार्वजनिक निजी साझेदारीका नाममा प्राकृतिक स्रोत लामो समयका लागि निजी कम्पनीलाई सुम्पिन लागेको यो पहिलो घटना भने होइन । यसअघिको कार्यपालिका बैठकले पोखराकै सेती गर्ज र पातले छाँगो एक निजी कम्पनीलाई दिने निर्णय गरिसकेको छ । सेती गर्जमा र पातले छाँगोलाई ४० वर्षका लागि महानगरले सेती क्यानोन नामक कम्पनीलाई दिने निर्णय गरिसकेको छ ।
    महानगरले सेती नदी र पातले छाँगो ४० वर्षका लागि र सेती नदीकै रामघाटमा ढुंगा, बालुवा उत्खनन् गरेर बेच्न ३५ वर्षका लागि सुम्पिने यसअघिको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । रामघाट द रिभर माइनिङ नामक कम्पनीलाई दिने निर्णय गरेको छ ।

    प्राकृतिक स्रोत र साधनको उपभोग गर्दा त्यसले पार्ने वातावरणीय प्रभाव र डिपिआरसमेत पछिमात्रै गरिने गरी महानगरले निजी कम्पनीलाई योजना सुम्पिन लागेको हो । तर, कार्यपालिकाबाटै निर्णय भएर सम्झौता प्रक्रिया अघि बढ्दासमेत महानगरले निर्णय सार्वजनिक गरेको छैन ।

    पोखरा नै सिध्याउन लागियो- संरक्षणकर्मी

    राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीले सानिसाको नाममा पोखरा नै भाडामा दिन लागेको बताएका छन् । उनले लामो समयका लागि प्राकृतिक स्रोत भाडामा दिँदा त्यसले पार्ने प्राकृतिक र सांस्कृतिक असर मूल्यांकनबिनै व्यापारीलाई पोस्न लागेको बताए ।

    ‘यो लामो समय दिन ठूलो आर्थिक चलखेल भएको छ । त्यसै पनि प्राकृतिक स्रोत उपभोग गर्दा हिसाब अपादर्शी हुने भएकाले मनोमानीतन्त्रमा गएको छ,’ सम्पदा संरक्षणकर्मी अधिकारी भन्छन्, ‘अहिले नै यति लामो समयका लागि भाडामा दिइयो भने भोलिको हाम्रो सन्तानले के हेर्ने ? दिनै परे पनि अध्ययन, अनुसन्धान गर्न सम्बन्धित विज्ञसँग छलफल गर्नुपर्दैन ?’

    अधिकारीले पोखरा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ भएकाले पोखराको प्राकृतिक भण्डार दोहनको खेलमा राजनीतिकर्मी लागेको बताए । ‘मुख्यमुख्य पोखरा भाडामा दिँदैछन् । पोखरा नै भाडामा लगाउने दाउ भयो,’ उनले भने, ‘यसले पोखराको पर्यावरण, वातावरण र संस्कृतिलाई पनि ठूलो असर पर्छ ।’

    पोखरासँग प्रकृतिमात्रै नभएर सभ्यता, संस्कार जोडिएकाले त्यसलाई पनि दीर्घकालीन असर पु¥याउने अधिकारीको ठहर छ । भन्छन्, ‘प्रकृतिको मात्रै होइन । यस निर्णयले मानव अधिकार पनि हनन् हुन्छ । बस्तीलाई पनि असर त छँदैछ । यो प्राकृतिक मात्रै नभएर सांस्कृतिक प्रहार पनि हो ।’

    वातावरण संरक्षणकर्मी तथा वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता कोरोना महामारीको समयमा महानगरले गैरजिम्मेवारपूर्ण निर्णय गरेको बताए । उनले राज्य सत्तामा आसिन वर्गबाटै प्राकृतिक स्रोतको दोहन गर्ने काम भइरहेको जिकिर गरे ।

    ‘सत्तामा बस्नेबाटै दोहन श्रृंखला तीव्र भएको छ । विभिन्न नाममा कहिले सेती बेच्ने, कहिले पातले छाँगो बेच्ने, अहिले फेवा किनारको गिटी, बालुवा बेच्ने काम भइरहेको छ,’ पराजुलीले भने, ‘राज्यले संरक्षण गरेर अघि बढ्नेबेला झन सिध्याउने जोखिम बढ्यो ।’ उनले फेवा सिरान सीमसार क्षेत्र पनि पर्ने भएकाले सम्झौता खारेज हुनुपर्ने माग राखे ।

  • फेवाताल : नापियो ताल, कार्यान्वयन बेताल !

    फेवाताल : नापियो ताल, कार्यान्वयन बेताल !

    पोखरा । फेवाताल मापदण्डसम्बन्धी विवाद लामै समयदेखि चर्किंदै आएको छ । तालको मापदण्डबारे पटकपटक मुद्दा पनि परे । पछिल्लो पटक फेवातालले नयाँ क्षेत्रफल पाएको छ, ५.७६ वर्ग किलामिटर ।

    प्रदेश सरकारको सिफारिसमा नेपाल सरकारद्वारा पुण्य  पाैडेलको संयोजकत्वमा गठित फेवातालको ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फागुन १६ गते उक्त क्षेत्रफल सार्वजनिक गरेको हो । केन्द्रीय मन्त्रिपरिषद्ले फागुन ११ गते पारित गरेको नयाँ क्षेत्रफल प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका थिए ।

    सार्वजनिक भएको नयाँ क्षेत्रफल पनि २०६४ सालमा विश्वप्रकाश लामिछानेको नेतृत्वको ‘लामिछाने प्रतिवेदन’ ले ६.५४ वर्ग किलोटिर देखाएको थियो । अघिल्लोभन्दा क्षेत्रफल घटाएर ४ किल्ला तोकिएपछि सरोकारवाला निकायले विरोध गर्दै आएका छन् ।

    ४ किल्ला तोकिए पनि मापदण्डबारे समिति अहिलेसम्म मौन छ । समिति संयोजक पौडेलले ३ महिनाभित्र मापदण्ड तोक्ने बताएका थिए । तर, अहिलेसम्म कुनै सुरुआत गरिएको छैन । जबकी यसअघि फेवा वरपर ६५ मिटर मापदण्ड कायम गरिएको छ ।

    उक्त मापदण्डभित्र पर्ने सम्पूर्ण संरचना हटाएर अघि बढ्ने महानगर प्रमुख मानबहादुर जिसीले पटक पटक बताउँदै आएका छन् । तर, फेवाको ४ किल्ला सार्वजनिक भइसक्दा पनि न मापदण्ड लागू गरिएको छ न त संरचना नै हटाइएको छ । बरु, ताल वरपर मापदण्ड मिच्दै नयाँ संरचना बन्ने कार्य रोकिएको छैन ।

    प्रदेश तथा पोखरा महानगर फेवातालको मापदण्ड कार्यान्वयन गर्न नसकेर आलोचित बनिरहेकै बेला पोखराको लेखनाथ क्षेत्रमा पर्ने तालहरुको मापदण्डबारे अध्ययन बुझाइएको छ । महानगरद्वारा डा. सोमनाथ सापकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको लेखनाथस्थित तालहरुको मापदण्डसम्बन्धी अध्ययन प्रतिवेदन आइतबार महानगर प्रमुख मानबहादुर जिसीलाई बुझाएको हो । प्रतिवेदनमा कुन तालको कति मापदण्ड भन्नेबारे भने संयोजक सापकोटाले खुलाएका छैनन् ।

    ‘अहिले महानगरलाईमात्रै प्रतिवेदन बुझाएका हौं । महानगरमा यसबारे छलफल र प्रतिवेदन स्वीकृत गरिसकेपछिमात्रै थाहा हुन्छ,’ संयोजक सापकोटाले भने, ‘जे होस् ताल र ताल वरिपरि विकास गर्न सकिने गरी प्रतिवेदन तयार पारेका छौं ।’

    लेखनाथ क्षेत्रमा ७ वटा ताल छन् । ती तालमध्ये रुपा र बेगनास तालमा यसअघि नै सय मिटर मापदण्ड निर्धारण गरिएको थियो भने बाँकी ५ वटा तालमा ५० मिटर कायम गरिएको थियो ।

    तत्कालीन लेखनाथ नगरपालिकाले इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचरको प्रतिवेदनका आधारमा ती तालको मापदण्ड कायम गरेको थियो । तर, उक्त मापदण्डसमेत फेवातालकोभन्दा बढी तोकिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

    समितिले ५ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको संयोजक सापकोटा बताउँछन् । ‘तालको मापदण्ड, विशेषताअनुसार सौन्दर्यकरण र तालको दीर्घकालीन संरक्षणलाई जोड दिने गरी हामीलाई जिम्मेवारी दिइएको थियो । त्यही अनुसार काम गरेका छौं,’ उनले भने ।

    संयोजक सापकोटाले लेखनाथ क्षेत्रमा रहेका ७ तालमध्ये ५ तालकोमात्रै आफूहरुले अध्ययन गरेको जानकारी दिए । ‘अध्ययनका लागि बेगनास र रुपामा केन्द्रीय सरकारकै खर्बौं रुप्पे लगानी छ । अरु साना तालको अध्ययन गर्न मात्र महानगरले बजेट छुट्याएको थियो,’ उनले भने । पोखरा महानगरले ती तालको अध्ययनका लागि २० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

    तालको अध्ययन गर्दा सबै तालको क्षेत्रफल साविकको भन्दा बढेको पाइएको सापकोटाले बताए । उनले भने, ‘अहिले स्थानीयमा पनि तालको संरक्षण गर्नुपर्छ भन्ने भान भएको छ । साविक भन्दा तालका क्षेत्रफल घटेका छैनन्, बढेको देखियो ।’

    उनका अनुसार तालको अहिलेको अवस्थाकै नक्सांकन कायम गर्न सुझाइएको र वरिपरिको जग्गाको यथास्थितिबारे पनि जानकारी राखिएको छ । ‘आआफ्नो विशेषताअनुसार कुनै ताललाई पार्क, बाटिका, हनिमुनस्थल आदि बनाउन सुझाव पेश गरेका छौं’, उनले भने ।

    सापकोटा संयोजकत्वमा बनेको समिति सदस्यमा खिमलाल गौतम, हरिबहादुर भुजेल, अनुप गुरुङ, आमन्त्रित सदस्य गगन ढकाल, जगन्नाथ कोइराला र सदस्य सचिवमा आशोककुमार सुनार छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशहरु ओमप्रकाश मिश्र र सपना प्रधान मल्लले २०७५ साल वैशाख १६ गते दिएको परमादेशको आदेश फेवातालसँग सम्बन्धित भएपनि सबै ताल संरक्षण गर्ने दायित्व सरकारकै भएको उल्लेख गरिएको छ ।

    फेवासहित कास्कीका बेगनास, रुपा, खास्टे, न्यूरेनी, दिपाङ, मैदी, गुँदे र कमलपोखरी रामसार क्षेत्रमा पर्छन् । २०७२ सालको माघ महिनामा फेवाताल किनारामा आयोजित भव्य समारोहमा फेवासहित कास्कीका ८ वटा तालहरुलाई रामसार क्षेत्र घोषणा गरिएको थियो ।

    सरकारले २०७१ साल वैशाख १७ गते नै कास्कीका तालहरुलाई रामसार क्षेत्र घोषित गरिसकेको थियो । कमलपोखरीबाहेक ८ वटा तालमा पानीले ओगटेको ९ सय २४ हेक्टर र तालसँग जोडिएको सेती जलाधार क्षेत्रको २६ हजार १ सय १० हेक्टर क्षेत्र रामसार क्षेत्रभित्र पारिएको थियो ।

    नेपालमा इलामको माईपोखरी, सोलुखुम्बुको गोक्यो ताल, सुनसरीको कोशीटप्पु, रसुवाको गोसाइँकुण्ड, चितवनको बीसहजारी, कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडी ताल, मुगुको राराताल, डोल्पाको शे फोक्सुण्डोताल र कास्कीको फेवासिहतका १० वटा क्षेत्रहरु रामसारमा सूचिकृत छन् । जमिन नलुक्ने र पानी नसुक्ने क्षेत्रलाई सिमसार भनिन्छ ।

    सबै रामसार क्षेत्र सिमसार हुन् तर सबै सिमसारहरु रामसार क्षेत्र हैनन् । दुर्लभ हुँदै गएका पंक्षीहरु आश्रित सिमसार क्षेत्रलाई रामसार क्षेत्र घोषणा गर्ने चलन छ । नेपालले रामसार महासन्धि १९७१ र जैविक विविधिता महासन्धिमा हस्ताक्षर गरेको छ । सन् १९८७ मा रामसार महासन्धिमा समेत नेपालले हस्ताक्षर गरेको छ ।

     

  • फेवातालमा पानी भरिन थाल्यो, गेग्य्रान निकाल्न ढिलाइ

    फेवातालमा पानी भरिन थाल्यो, गेग्य्रान निकाल्न ढिलाइ

    पोखरा । बाँध तथा नहर मर्मत गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले माघको अन्तिम साता फेवातालको पानी घटायो । एक मिटर पानी घटाउँदा तालबाट करिब ६ करोड लिटर पानी बगेर गयो ।

    ठूलो मात्रामा पानी बगेर गएपछि तालको आधा भूभाग बगरमा परिणत भएको छ । पानी घटेर बगर भएकै मौकामा त्यहाँ जम्मा भएको गेग्य्रान निकाल्न सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । नागरिक समाज पोखराले आफैं डोजर लगेर सांकेतिक दबाबसमेत दिएको थियो ।

    पानी घटेको बेला त्यहाँ जम्मा भएको गेग्य्रान निकाल्न र तालको सौन्दर्यकरण गर्न सरोकारवाला निकायले ध्यानाकर्षण गराएपछि प्रदेश सरकारले गतहप्ता समिति नै गठन गर्‍यो । गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।

    तर, बाँध तथा नहर मर्मत भएर तालको पानी पुरानै अवस्थामा फर्किन शुरु गरिसक्दा पनि समितिले प्रभावकारी ढंगले काम अघि बढाउन सकेको छैन । बजेट अभाव देखाउँदै समिति तालबाट गेग्य्रान झिक्ने योजनामा अलमलमै छ ।

    एक मिटर घटाइएको पानीमा अहिले ५० सेन्टिमिटर पानी जम्मा भइसकेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका प्रमुख किरण आचार्य बताउँछन् ।

    ‘गेटको मर्मत पूरा भइसक्यो । यो भइसकेपछि बाँध खोलिरहनु पर्दैन । यसो हुँदा तालमा पानी जम्मा हुन सुरु भइसकेको छ’ आचार्यले नेपाल प्रेससँग भने, ‘अब डाउनस्टिमतिरको काम बाँकी छ । ग्राउडिङको मात्रै थोरै काम बाँकी छ ।’ ग्राउडिङ गर्दा चर्किएका ठाउँमा मेसिनले सिमेन्ट भर्ने मात्रै काम बाँकी रहेको उनले जानकारी दिए ।

    फागुन महिनाभित्र ताल तथा नहरको सम्पूर्ण भाग मर्मत सक्ने गरी काम भइरहेको र त्यसपछि झनै तीव्र रूपमा तालमा पानी भरिने आचार्यको भनाइ छ ।

    आचार्यको भनाइअनुसार फागुन महिनाभित्रै तालमा थुप्रिएका गेग्य्रान माटो निकालिसक्नुपर्ने हुन्छ । आचार्य स्वयं समितिको सदस्य छन् ।
    तर, त्यहाँको माटो तथा गेग्य्रान निकाल्न गठित समितिले काम अघि बढाउन सकेको छैन । समितिले फेवातालको माटो झिक्ने योजना ‘अपर्झट’ बनेको र त्यसका लागि बजेट अभाव रहेकाले काम अघि बढाउन नसकेको जनाएको छ ।

    तालबाट माटो तथा गेग्य्रान निकाल्न करिब डेढ करोडसम्म लाग्ने देखिएको तर, आफूहरूसँग पर्याप्त रकम नभएको समिति संयोजक रामकाजी श्रेष्ठ बताउँछन् ।

    ‘तालको पानी घटेको बेला बनेको योजना भएर हामीसँग बजेट अभाव छ’ उनले भने, ‘समितिमा भएका निकायकै बजेटबाट कटौती गरेर तालबाट माटो निकाल्ने भनेका छौं ।’ उनले सरोकारवाला निकायसँग बजेट माग गरिरहेको जानकारी दिए ।

    जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय, कास्कीले तालको माटो निकाल्न व्यक्तिको संलग्नता भए १ करोड ३० लाख र मेसिनको मात्रै प्रयोग भए २५ लाख लाग्ने अनुमान गरेको श्रेष्ठले जानकारी दिए । समितिका अनुसार तालबाट करिब १५ हजार घनमिटर माटो निकाल्ने योजना छ ।

    गेग्य्रान निकाल्ने जिम्मा उपभोक्ता समितिलाई

    कोमागाने पार्क क्षेत्रको तालको गेग्य्रान निकाल्न ताल संरक्षण तथा विकास प्राधिकरण पार्क सौन्दर्यकरणका नाममा विनियोजित २० लाख बजेटबाट ५ लाख रुपैयाँ छुट्याएको छ । समितिले उक्त क्षेत्रको माटो निकाल्ने जिम्मा प्राधिकरणलाई नै दिएको छ ।

    प्राधिकरणले विनियोजित ५ लाख रुपैयाँबाट सोमबार पर्यटनमन्त्री विकास लम्सालको उपस्थितिमा ‘केही’ माटो समेत निकाल्यो । तर, त्यो कामले समेत गति लिन नसकेको सरोकारवालाले गुनासो गरेका छन् ।

    समितिले तालको माटो निकाल्ने जिम्मा भने उपभोक्ता समितिलाई दिएको जनाएको छ । ‘पार्क सौन्दर्यकरण गर्न उपभोक्ता समिति गठन गरिएको थियो । अहिले त्यही समितिलाई नै माटो निकाल्ने जिम्मा दिएका छौं’ प्राधिकरण प्रमुख अनुप गुरुङले नेपाल प्रेससँग भने, ‘सीमित बजेटमा धेरै काम गर्नुपरेकाले पनि माटो निकाल्न ढिलाइ भएराखेको हो ।’

    ‘बजेटको अभाव र डोजरको तालमेल’ मिलाउँदा योजनामुताबिक तालको माटो निकाल्न नसकिएको गुरुङको भनाइ छ । ‘अहिले फेरि सम्बन्धित निकायमा बजेट माग गरेका छौं । थोरै पैसाले धेरै कामको तालमेल मिलाउनु पर्‍यो । त्यसमाथि डोजर पनि पाउनै गाह्रो’, उनले भने ।

    फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निर्माण गरिएको थियो । पछि २०३१ सालमा उक्त बाँध फुटेर गएको थियो ।

    पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्रसंघको सहयोगमा निर्माण गरिएको हो । बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । त्यसयता हालसम्मकै सबैभन्दा ठूलो मर्मत गर्न लागिएको हो ।

    मन्त्रिपरिषद्ले हालै मात्र नयाँ क्षेत्रफल ५.७२६ किलोमिटर कायम गरेको छ । फेवातालको चार किल्ला निर्धारण, सिमांकन तथा नक्शांकन गर्न सरकारले गठन गरेको समितिको सिफारिसका आधारमा नयाँ क्षेत्रफल कायम भएको हो ।

  • फेवातालको तोकियो चार किल्ला, स्थानीयवासीको उठिबास हुन नदिने महानगरकाे प्रतिवद्धता

    फेवातालको तोकियो चार किल्ला, स्थानीयवासीको उठिबास हुन नदिने महानगरकाे प्रतिवद्धता

    पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ ।

    सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

    समितिले तालको क्षेत्रफल यकीन गरी सङ्घीय सरकारलाई सिफारिस गरेकामा गत फागुन ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सो सम्बन्धमा निर्णय गरेपछि गण्डकी प्रदेश सरकारले आज समितिको प्रतिवेदन पोखरामा सार्वजनिक गरेको हो ।

    नयाँ सीमाङ्कनअनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुनेछ । फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ ।

    यसैगरी फेवातालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौँदी, लामीडाँडा, अनदुसमेतको क्षेत्र) मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मान्नेछ  ।

    फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटी छिना मोटरबाटोसम्म कायम गरिएको समितिका संयोजक पुण्यप्रसाद पौडेलले जानकारी दिए ।

    विश्वका १३ औँ सुन्दर तालमा पर्ने फेवाताल प्राकृतिक तथा मानवीय कारणबाट बर्सेनि अतिक्रमित हुँदै गएकाले तालको संरक्षणका लागि सर्वोच्च अदालतले पटकपटक सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो ।

    सर्वोच्चको आदेश कार्यान्वयनका लागि सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापतिसमेत रहनुभएका पौडेलेको संयोजकत्वमा गत कात्तिकमा चार किल्ला निर्धारण तथा सीमाङ्कन समिति गठन गरेको थियो ।

    फेवातालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन गर्न तथा दीर्घकालीन संरक्षण तथा समुचित प्रयोग गर्न सुझावसमेत दिन गठित सो समितिले गत कात्तिक २८ गतेदेखि काम शुरु गरेकामा निर्धारित समयभित्रमा काम सम्पन्न गरी प्रदेश सरकारलाई प्रतिवदेन बुझाएको थियो ।

    यही फागुन २ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समितिले आफूलाई पेश गरेको प्रतिवेदन सङ्घीय मन्त्रिपरिषद्बाट निर्णयका लागि हस्तान्तरण गरेका थिए ।

    यसअघि पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोकत्वमा गठित आयोगले विसं २०६९ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई फेवातालको क्षेत्रफल छ दशमलव ५४ वर्ग किमी ९१२ हजार ८७४ रोपनी० रहेको अध्ययन प्रतिवेदन बुझाएको थियो । यसैगरी विसं २०३८ मा युएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल पाँच दशमलव आठ ११ हजार ४०० रोपनी देखाएको थियो ।

    चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिका संयोजक पौडेलले समितिले कुनै एक मात्र आधारमा केन्द्रीत रहेर फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन गर्न सम्भव नदेखिएकाले विभिन्न आधारलाई लिएर काम गरेको बताए ।

    फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल, तालका सम्बन्धमा हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण, ताल वरपर रहेका जनप्रतिनिधि स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकसँगको अन्तक्र्रिया, फेवातालमा मिसिन आउने खोलाको अवस्थिति र आकार तथा दूर संवेदना तथा भू–भौतिक (इलेक्ट्रिकल रेसिसटिभिटी टोमोग्राफी) अध्ययनका आधारमा हालसम्मकै सबैभन्दा वैज्ञानिक तवरबाट नक्साङ्कन र सीमाङ्कन गरिएको समितिका सदस्य सचिव एवं जिल्ला नापी कार्यालय कास्कीका प्रमुख इन्जिनीयर खिमलाल गौतमले बताए ।

    वर्षौँदेखि फेवातालका बारेमा धेरै चिन्ता र चासो व्यक्त भएर संरक्षणका आवाज उठेका थिए । तालको अध्यन अनुसन्धानका लागि स्वदेशी तथा विदेशी सङ्घ संस्थाले पनि काम गरेका थिए ।

    मुलुक सङ्घीयता गएर प्रदेश सरकार गठन भएपछि गण्डकी प्रदेश सरकारले फेवातालको मुद्दालाई संवेदनशील मात्रै ठहर्याएर प्राथमिकतामा राखेकाले अहिले ऐतिहासिक काम गर्न सफल भएको गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बताए ।

    फेवातालको संरक्षण र विकासका लागि सबैभन्दा पहिलो तथा अपरिहार्य आवश्यकता यसको चार किल्ला निर्धारण र नक्साङ्कनको काम रहेकामा प्रदेश सरकारको अग्रसरतामा त्यसलाई पूरा गर्न सम्भव भएको उनको भनाइ छ ।

    मुख्यमन्त्री गुरुङले भने, ‘फेवातालको चार किल्ला निर्धारण र सीमाङ्कनको काम फेवाताल, पोखरा, गण्डकी प्रदेश वा यो मुलुकका लागि मात्रै नभई विश्व पर्यावरणकै क्षेत्रमा एउटा उल्लेखनीय कोसेढुङ्गा होे, अब यसको दिगो संरक्षण र व्यवस्थापनका लागि काम हुन्छ ।’

    समितिले पहिलो चरणको कार्य सम्पन्न गरे पनि अब दोस्रो चरणमा विभिन्न काम गर्न बाँकी रहेकाले सो कार्य पनि तोकिएको समयभित्रमा सम्पन्न गर्न सरकारको तर्फबाट निर्देशन दिइएको मुख्यमन्त्री गुरुङले बताए।

    समितिले दोस्रो चरणमा नेपाल सरकारबाट पारित भएको फेवातालको सिमाना अङ्कित भएको नक्सा, विभिन्न निकायबाट तय भएका मापदण्ड, सर्वोच्च अदालतको फैसलाअनुुसार मापदण्ड तय गर्नका लागि पोखरा महानगरपालिकालाई निर्देशन गर्नेछ ।

    यसैगरी समितिले आगामी तीन महिनाभित्रमा फेवातालभित्र परेका तथा दूषित दर्ता भएका जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गाको दर्ता बदर गरी सरकारको नाममा ल्याउन सिफारिस गर्ने, ताल संरक्षणका लागि दीर्घकालीन योजना बनाउने र सो कार्यका लागि थप जग्गा आवश्यक पर्ने भएमा यकीन गरी सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।

    पोखरा महानगर प्रमुख मानबहादुर जिसीले तालको सीमाङ्कनपछि सबैले देख्ने गरी किल्ला गाडिने जानकारी दिँदै तालको पनि संरक्षण हुने र स्थानीयवासीको समेत उठिबास नहुने गरी काम गरिने बताए ।

    उनले भने, ‘ताल जोगाउने नाममा स्थानीयवासीको उठिबास हुन दिँदैनौँ, स्थानीयवासीलाई पनि मर्का नपर्ने गरी सङ्घ, प्रदेश र महानगरले के के काम गर्ने भनेर गुुरुयोजना तयार गर्छौँ । तालको समेत संरक्षण हुने गरी अबको काम अघि बढ्छ ।’ रासस

  • फेवातालको नयाँ क्षेत्रफल ११ हजार रोपनी !

    फेवातालको नयाँ क्षेत्रफल ११ हजार रोपनी !

    पोखरा । फेवातालको नयाँ क्षेत्रफल ११ हजार रोपनी कायम गर्न प्रधानमन्त्री कार्यालयलाई सिफारिस गरिएको छ । फेवातालको सीमांकन तथा नक्सांकन गर्न गठित समितिले आइतबार प्रधानमन्त्री कार्यालयललाई उक्त प्रतिवेदन बुझाएको हो ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखराका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, सीमांकन समितिका संयोजक पौडेल, सदस्य सचिव खिमलाल गौतमसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तालको नयाँ सीमांकन गर्न सिफारिस गरेका बुझाएका हुन् ।

    फेवाताल नक्सांकन तथा सीमांकन समिति संयोजक पुण्य पौडेलले तालको स्थलगत अध्ययन, सरोकारवाला निकायसँग छलफल र तालबारे अहिलेसम्म प्राप्त भएका प्रतिवेदनलाई आधार मानेर नयाँ सीमांकन गरिएको बताए ।

    ‘अहिले हामीले सीमांकनमात्रै गरेर प्रधानमन्त्रीलाई बुझाएका छौं । यसबारे मन्त्रिपरिषद्ले फेरि निर्णय गर्नुपर्ने हुन्छ,’ संयोजक पौडेलले भने, ‘यो भनेको करिब ५.३ वर्ग किलोमिटर क्षेत्रफल हुन जान्छ ।’ २०६४ सालमा लामिछाने आयोगले बुझाएको प्रतिवेदनमा फेवातालको क्षेत्रफल ५.०६ वर्ग किलोमिटर भनिएको थियो । सोही क्षेत्रफललाई आधार मानेर सर्वोच्चले फैसला गरेको थियो ।

    संयोजक पौडेलले सीमांकनको काम अहिले सकिए पनि नक्सांकनको काम भइरहेको र त्यसको प्रतिवेदन अर्को चरणमा बुझाउने जानकारी दिए । उनले मन्त्रिपरिषद्बाट प्रतिवेदन पारित भई सार्वजनिक भएको ३ महिनाभित्र तोकिएको क्षेत्रफलभित्र जग्गाको नक्सांकन तयार पारी पुनः सरकारलाई बुझाउने बताए ।

    समितिले प्रधानमन्त्रीलाई बुझाएको उक्त सीमांकन प्रतिवेदन मन्त्रीपरिषद्बाट निर्णय भएमा फेवातालको क्षेत्रफल ११ हजार २५५ रोपनी कायम हुनेछ । फेवातालसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायले पटक पटक अध्यनअनुसन्धान गर्दै आएका छन् ।

    हालै प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनसहित अहिलेसम्म फेवातालबारे ११ वटा प्रतिवेदन नै तयार भइसकेका छन् । तर, प्रत्येक प्रतिवेदनले फेवातालको फरकफरक सीमांकन ‘तथ्य’ देखाउँदै आएका छन् ।

    विभिन्न समयमा तयार पारिएका विभिन्न प्रतिवेदनले ३ देखि १० वर्ग किलोमिटरसम्म फेवातालको सीमा क्षेत्र उल्लेख गरेका छन् । सन् १९२५/२६ मा ब्रिटिश सर्भे अफ इन्डियाले पहिलो पटक गरेको अध्ययनमा फेवातालको क्षेत्रफल ३.४३ वर्ग किलोमिटरमात्रै देखाएको थियो ।

    तर, विसं २०१८ सालमा नेपाल भारत सहयोग मिसनको रिपोर्टअनुसार फेवातालको क्षेत्रफल १० वर्ग किलोमिटर उल्लेख छ । हालसालै मात्र पोखरा महानगरले गरेको अध्ययनले भने फेवातालको क्षेत्रफल ५.०८ वर्ग किलोमिटर भएको प्रतिवेदन तयार पारेको छ ।

    फेवाताल विवादबारे सर्वोच्चमा परेका सम्पूर्ण रिटहरुको ०७५ बैशाख १६ मा एकमुष्ट फैसला गरेको थियो । उक्त फैसलालो ६ महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ४ किल्ला छुट्याउन र प्रदेश सरकारको समन्वयमा ६५ मिटरभित्र परेका संरचना हटाउन आदेश दिएको थियो ।

    तर, सर्वोच्चले आदेश दिएको करिब २ वर्ष बितिसक्न लाग्दा पनि तोकिएका सरकारले जिम्मेवारी पूरा नगरेपछि उदालतको अवहेलना मुद्धासमेत परेको थियो । सर्वोच्चको फैसला कार्यान्वयन नगरेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले अवहेलना मुद्धा दर्ता गरेका थिए ।

    तोकिएको समयमा जिम्मेवारी पूरा नगरेपछि प्रधानमन्त्री केपी ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतले अदालतको अपहेलना मुद्धा खेप्नुपरेको थियो ।

    अदालतको अवहेलना मुद्धा खेप्नुपरेपछि कात्तिक २० गते पूण्य गौतमको संयोजकत्वमा समिति गठन भएको थियो । समितिलाई ३ महिनाभित्र फेवातालको नक्सांकन, सीमांकन सक्न समयसीमा तोकिएको थियो । समितिलाई तोकिएको समयमा भने माघ २७ मै सकिएको थियो ।

    कुनै समय ३५ मिटर गहिराई भएको ताल हाल १८.३ मिटर गहिराइमा आइपुगेको तथ्यांकहरुले देखाएका छन् । हाल बाँध तथा नहर मर्मत गर्न भन्दै तालको पानी घटाइएको छ । तालबाट करिब ६ करोड लिटर पानी घटाउँदा अधिकांश भाग बगरमा परिणत भएको छ ।

    तालको पानी घटेको समयमै तालमा थुप्रिएका फोहोर र गेग्य्रान व्यवस्थापन गर्न आइतबार समिति गठन भएको छ । समितिले फागुन र चैत महिनामा तालको प्रकृति नबिग्रिने गरी त्यहाँ थुप्रिएका ढुंगा, माटो र फोहोर निकाल्ने जनाएको छ ।

    फेवातालसम्बन्धी हालसम्म भएका प्रतिवेदनहरु

    ब्रिटिश सर्भे अफ इन्डिया- सन्- १९२५/२५ ३.४६
    सर्भे अफ इन्डिया सन्- १९५७- ४.३९
    नेपाल भारत सहयोग मिसन रिपोर्ट विसं- २०१८- १०.३५
    पहिलो कित्ता नापी विसं- २०३२- ४.४३
    युएनडिपी र नेपाल सरकार संयुक्त अध्ययन प्रतिवेदन विसं- २०३८- ५.८०
    आयुसिएनको रिपोर्ट विसं- २०५२- ४.४९
    जिविस कास्की विसं- २०५८- ४.२५
    लामिछाने आयोग प्रतिवेदन विसं- २०६४- ५.०६
    भूमिसुधार मन्त्रालय विसं- २०६९- ६.५
    पोखरा महानगरपालिका विसं- २०७७- ५.०८

  • फेवातालको गेग्य्रान निकाल्न समिति गठन

    फेवातालको गेग्य्रान निकाल्न समिति गठन

    पोखरा । फेवातालमा थुप्रिएको गेग्र्यान निकाल्न गण्डकी सरकारले समिति गठन गरेको छ । पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

    समितिको सदस्यमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, पोखरा महानगर सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्य, बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे लगायत छन् ।

    समिति संयोजक श्रेष्ठले नागरिकस्तरबाटै ताल संरक्षणका लागि डोजर लिएर पुगेपछि सोही अभियानलाई सघाउन समिति गठन गरिएको बताए । समितिले आइतबारै गेग्य्रान निकाल्न तालको ड्यामसाइडदेखि किनाराको निरीक्षणसमेत गरेको छ ।

    ‘कहाँ कति माटो निकाल्ने र कहाँ व्यवस्थापन गर्ने भन्नेबारे जानकारी राख्न आजै (आइतबार) ताल किनारको हेरेका छौं,’ संयोजक श्रेष्ठले नेपाल प्रेससँग भने, ‘अवलोकन पछि २, ३ दिनमै काम सुरु गर्नेगरी योजना बनाएका छौं ।’

    तालको बाँध तथा नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले गत शुक्रबारदेखि पानी घटाउन सुरु गरेको हो । २ करोड रुपैयाँमा मर्मत हुन लागेको बाँध करिब एक महिनामामात्रै मर्मत कार्य पूरा हुने डिभिजन कार्यालयले जनाएको छ ।

    फेवातालको बाँध तथा नहर मर्मत गर्न अहिले एक मिटर पानी घटाइएको छ । तालबाट करिब ५ करोड ८० लाख लिटर पानी घटाउँदा तालको अधिकांश भाग बगरमा परिणत भएको छ । यस सम्बन्धी समाचार नेपाल प्रेसले लगातार फलोअप गरिरहेको थियो ।

    पानी घटेको समयमा तालमा थुप्रिएका गेग्य्रान, फोहोर निकाल्न उपयुक्त हुने भन्दै सरोकारवालाले माग गर्दै आएका थिए । शनिबार बिहानमात्रै पोखरा पर्यटन परिषद्ले पोखरा महानगरलाई ध्यानाकर्षण गराएको थियो ।

    शनिबार बिहानमात्रै पोखरा उपत्यका सरसफाई अभियान चलाइरहेको नागरिक समाज कास्कीले तालको फोहोरमैला तथा गेग्य्रान निकाल्न भन्दै डोजर चलाएको थियो । महानगर तथा प्रदेशलाई फेवातालको संरक्षणमा ध्यान दिन सांकेतिक रुपमा दबाब दिएको बताएको थियो ।

    सुरुमा २ मिटर पानी घटाइने भनिए पनि पर्यटक तथा सरोकारवाला निकायको विरोधमा एक मिटर पानीमात्रै घटाइएको थियो । ठूलो मात्रामा पानी घटेका कारण अहिले तालको आधा भाग बगरमा परिणत भएको छ । बाँध, नहर मर्मत पूरा भइसकेपछि पनि ताल पुरानै स्वरुपमा फर्किन केही समय लाग्ने डिभिजन कार्यालय जनाएको छ ।

    तालका विभिन्न क्षेत्रमा थुप्रिएका गेग्रान निकाल्न बैठकले विभिन्न कार्यालयलाई कार्यक्षेत्र नै तोकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार ड्यामसाइडस्थित बाँधदेखि फिर्केखोलासम्म पर्न ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरण, बाराहीघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु (गैराको चौतारा) सम्म ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालयले काम गर्ने जिम्मा तोकिएको छ ।

    फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निमाण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।

    पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्र संघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।

    पोखरा महानगरले प्रधानमन्त्री कार्यालयलाई बुझाएको पछिल्लो रिपोर्टमा फेवातालको क्षेत्रफल १० हजार रोपनी छ । तर, पनि तालको सीमांकन र नक्सांकनमा विवाद हुँदै आएकाले पछिल्लो पटक समिति नै गठन गरेर तालको पुनः सीसांकन, नक्सांकन भइरहेको छ । समितिले तालको सीमांकन सकिएर नक्सांकन भइरहेको र चाँडै तथ्यांक सार्वजनिक गर्ने जनाएको छ ।

    ०००

    यो पनि पढ्नुहोस् ।

    जब फेवाताल सुक्यो !

    जब फेवाताल सुक्यो !

    फेवातालबाट बग्यो ६ करोड लिटर पानी, सुख्खा तालमा बाटो खन्ने पक्राउ

    सुकेको फेवातालमा नागरिक समाजको डोजर !

     

  • सुकेको फेवातालमा नागरिक समाजको डोजर !

    सुकेको फेवातालमा नागरिक समाजको डोजर !

    पोखरा । फेवातालको ड्याम मर्मत गर्न भन्दै अहिले एक मिटर पानी घटाइएको छ । फेवातालबाट एक मिटर पानी घटाउँदा करिब ५ लाख ८० हजार लिटर पानी बगेर गएको छ ।

    तालको बाँध तथा नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले गत शुक्रबारदेखि पानी घटाउन सुरु गरेको हो । २ करोड रुपैयाँमा मर्मत हुन लागेको बाँध करिब एक महिनामा मात्रै मर्मत कार्य पूरा हुने डिभिजन कार्यालयले जनाएको छ ।

    सुरुमा २ मिटर पानी घटाइने भनिए पनि पर्यटक तथा सरोकारवाला निकायको विरोधमा एक मिटर पानी मात्रै घटाइएको थियो । ठूलो मात्रामा पानी घटेका कारण अहिले तालको आधा भाग बगरमा परिणत भएको छ ।

    बाँध, नहर मर्मत पूरा भइसकेपछि पनि ताल पुरानै स्वरुपमा फर्किन केही समय लाग्ने डिभिजन कार्यालय बताउँछ ।

    ताल पुरानै स्वरुपमा फर्किन केही समय लाग्छ । बाँध मर्मत एक महिनामै सकिन्छ । त्यसपछि तालको नाममा पर्यटकहरुले सुकेको फेवाताल हेर्दै बस्ने हो त ? सरोकारवाला भन्छन्–तालमा थुप्रै माटो र गेग्य्रान भरिएको छ । ताल सुकेको मौका पारेर माटो निकालेर सुन्दरता र आयु दुवै बढाउन सकिन्छ ।’

    विभिन्न प्रतिवेदन अनुसार तालमा वर्षेनि १ लाख ४२ हजार टन गेग्य्रान थुप्रिने गरेको तथ्यांक छ । प्रतिवेदनअनुसार त्यसरी तालमा वर्षेनि थुप्रिने गेग्य्रानकै कारण ताल ४० देखि ५० वर्षको अवधिमै ५० प्रतिशत पुरिएको तथ्य देखाएका छन् । प्रतिवेदनहरुमा गेग्य्रानलाई व्यवस्थापन गर्न नसक्ने हो भने दुई सय वर्षमै तालको अस्तित्व नामेट हुने चेतावनीसमेत विज्ञले दिइसकेका छन् ।

    यसअघि पनि तालमा थुप्रिएका ढुंगामाटो (गेग्य्रान) निकाल्न सरोकारवाला निकायले पटकपटक पोखरा महानगरलाई सुझाउँदै आएका थिए । थुप्रिएको गेग्य्रान निकाल्न महानगरले चासो नदेखाएको भने होइन । गत वर्ष महानगरले करिब २८ हजार घनमिटर माटो फेवातालबाट निकाल्यो । तर, उक्त काम अहिले रोकिएको छ ।

    तालमा गेग्य्रान रोक्न महानगरले प्रदेशसँगको सहकार्यमा तालका मुहान खोलामा सिल्ट्रेसन ड्याम पनि बनाएको छ । विभिन्न ५ ठाउँमा बनेका ती ड्यामबाट महानगरले वार्षिक ५ लाख मेट्रिक टन गेग्य्रान निकाल्ने र त्यसलाई बेचेर आम्दानी गर्नेसमेत योजना बनाएको छ ।

    तालमा नागरिक समाजको डोजर

    ताल सरोकारवालाले सम्बन्धित निकायलाई ध्यानाकर्षण मात्रै गरिराखेका छैनन्, शनिबार तालमा डोजरै लिएर पुगेका छन् । पोखरा उपत्यका बृहत् सरसफाइ अभियान चलाइरहेको नागरिक समाज, कास्कीले गेग्य्रान निकाल्न महानगरकै स्वीकृतिमा शनिबार तालमै पुगेर डोजर चलाएको हो ।

    ‘पानी सुकेको बेला तालको सफाइ गर्ने ठूलो मौका मिलेको छ । योबेला पनि हामीले तालबाट ढुंगा, माटो र फोहोर निकाल्न सकेनौं भने धेरै पछि पर्छौ’ नागरिक समाज, कास्कीका अगुवा रामबहादुर पौडेलले नेपाल प्रेससँग भने, ‘फेवातालमा डोजर लगेको महानगर र प्रदेशलाई सकारात्मक सन्देश दिनका लागि मात्रै हो, सांकेतिक दबाब दिएका हौं ।’

    पोखरा बृहत् सरसफाइ अन्तर्गत फेवाताल सरसफाइ अभियान चलिरहेको छ । सोही अभियान अन्तर्गत आफूहरुले गाईघाटमा डोजर चलाएरै केही माटो र फोहोर पन्छाएको पौडेल जनाउँछन् । ‘कोमागाने पार्कमा ठूलो ठाउँ खाली छ । त्यो ठाउँमा तालबाट निकालेको गेग्य्रान व्यवस्थापन गर्न सकिन्छ’ उनले भने ।

    तालको पानी घटेको समयमा त्यहाँ थुप्रिएको गेग्य्रान हटाएर तालको आयु बढाउन पोखरा पर्यटन परिषदले पनि पोखरा महानगरलाई ध्यानाकर्षण गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले फेवाताल मुहानबाट बगेर आउने गेग्य्रानले तालको सौन्दर्य र आयु दुवै घटाएकाले महानगरले ढिलाइ गर्न नहुने बताउँछन् ।

    ‘तालको सिरान र मुहानबाट आएको गेग्य्रानले तालको आयु घट्दै गएको छ । फेवाताल पोखराको गहना पनि हो । तालको सौन्दर्यकरणमा ध्यान दिंदै यसको दीर्घकालीन संरक्षण र सम्बर्धनमा ध्यान दिन जरुरी छ’ उनले भने, ‘अहिले सही समय हो जनस्तरबाट पनि तालमा देखिएको माटो फाल्नुपर्छ भनिरहेका छन् ।’

    पोखरा महानगरले पनि तालको गेग्य्रान निकाल्नेबारे आफूहरुले ‘सोचिरहेको’ जनाएको छ ।

    ‘अहिले सबैतिरबाट फेवातालको ढुंगामाटो निकाल्नुपर्छ भन्ने कुरा आइरहेको छ । हामी पनि त्यसबारे सोचिरहेका छौं । केही साथीहरुले निकाल्न पनि सुरु गरिसक्नु भो’ महानगर प्रमुख मानबहादुर जिसीले नेपाल प्रेससँग भने, ‘महानगर पनि चाँडै त्यहाँ थुप्रिएका ढुंगा, माटो निकाल्नुपर्छ भन्ने पक्षमा छ ।’

    फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निर्माण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।

    पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्रसंघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।

    पोखरा महानगरले प्रधानमन्त्री कार्यालयलाई बुझाएको पछिल्लो रिपोर्टमा फेवातालको क्षेत्रफल १० हजार रोपनी छ । तर, पनि तालको सीमांकन र नक्सांकनमा विवाद हुँदै आएकाले पछिल्लो पटक समिति नै गठन गरेर तालको पुनः सीमांकन, नक्सांकन भइरहेको छ । समितिले तालको सीमांकन सकिएर नक्सांकन भइरहेको र चाँडै तथ्यांक सार्वजनिक गर्ने जनाएको छ ।

    यो पनि पढ्नुहोस् ।

    जब फेवाताल सुक्यो !

    फेवातालबाट बग्यो झन्डै ६ करोड लिटर पानी !

  • फेवातालबाट बग्यो ६ करोड लिटर पानी, सुख्खा तालमा बाटो खन्ने पक्राउ

    फेवातालबाट बग्यो ६ करोड लिटर पानी, सुख्खा तालमा बाटो खन्ने पक्राउ

    पोखरा । बाँध तथा नहर निर्माण गर्न भन्दै फेवातालको पानी एक मिटर घटाइएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका अनुसार तालबाट सोमबारसम्म ५ करोड ८० लाख पानी बगाइएको छ ।

    कार्यालयले सुरुमा दुई मिटरसम्म पानी घटाउने लक्ष्य राखे पनि एक मिटरमै बाँधको ढोका बन्द गरेको हो । फेवातालबाट ठूलो मात्रामा पानीको सतह घटेकाले अहिले तालको आधा भागसम्म दलदल र माटोको लेदो जम्मा भएको छ । ठूलो मात्रामा पानीको सतह घटेपछि अहिले फेवातालको धेरै भाग बगर जस्तै देखिन पुगेको छ ।

    ‘शुक्रबार साँझबाट बाँध खोलेर पानी घटाउन थालेका हौं । अहिले आवश्यक पानी घटिसकेकाले बाँधको ढोका फेरि बन्द गरेका छौं’ जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीका प्रमुख किरण आचार्यले नेपाल प्रेससँग भने, ‘सुरुमा दुई मिटर भने पनि अहिले एक मिटर मात्रै पानी घटाएका हौं ।’

    आचार्यले तालको पानी घटिसकेपछि बाँध तथा नहर मर्मत कार्य सुरु भइसकेको जानकारी दिए । ‘मर्मत सम्भारको काम सुरु भइसकेको छ । अब पानी फेरि घटाउनु पर्दैन । एक महिनामै मर्मतकाे काम सक्छौं’, उनले भने ।

    फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट अग्लाे बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निर्माण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा फुटेर गएको थियो ।

    पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्रसंघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको हो ।

    जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँध निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

    ‘ताल सुरुकै अवस्थामा फर्किने अनिश्चित छ’

    तालबाट करिब ६ करोड लिटर पानी बगेर गइसकेपछि आधा भाग खण्डहरमा परिणत भएको छ । ठूलो मात्रामा पानी बहेर गएकाले पुरानै स्वरुपमा ताल कहिले फर्किन्छ भन्ने अनिश्चित छ ।

    ५.८ किलोमिटर क्षेत्रफलमा फैलिएको ताल भने पुरानै अवस्थामा फर्किन केही समय लाग्ने कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

    ‘बाँधको ढोका बन्द गरिसकेका छौं । पानी जम्मा हुन सुरु गरिसकेको छ’ उनले भने, ‘तर ठूलो मात्रामा पानी बगेर गइसकेकाले पुरानै आकारमा फर्किन भने केही समय लाग्छ ।’

    तालको मुख्य मुहान हर्पन, खहरे खोला हो । त्यसबाहेक अन्य ससाना खोला तथा नहरबाट समेत तालमा पानी जम्मा हुने गर्दछ ।

    ‘एक महिनामा मात्रै बाँध र नहर मर्मत गरिसक्छौं । त्यसबेलासम्म पानी कति जम्मा हुन्छ । त्यसपछि मात्रै तालको पुरानै स्वरुपमा कहिले फर्किन्छ भन्ने थाहा हुन्छ’, उनले भने ।

    पानी घटेकै बेला बाटो खनियो, दुई जना प्रहरी नियन्त्रणमा

    बाँध तथा नहर मर्मत गर्न पानीको मात्रा घटाइएकै क्रममा पोखरा १८ घाँटीछिनामा बाटो खनिएको छ । स्थानीय हुमबहादुर थापा र सन्तोष थापाले आइतबार राति विना इजाजत बाटो खनेको पाइएपछि नियन्त्रणमा लिइएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

    ‘राति करिब ८ बजेतिर उनीहरुले डोजर प्रयोग गरेर बाटो नै खनिसकेछन् । हामीले बिहान मात्रै थाहा पायौं’, वडाध्यक्ष थापाले भने, ‘पछि उनीहरुलाई बैदाम प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ ।’

    उनीहरुलाई थप कारबाही गर्न महानगरलाई पनि जानकारी दिइसकेको वडाध्यक्षले जानकारी दिएका छन् ।

    उनीहरुले बाटो खन्दा सार्वजनिक बाटोको पिच नै भत्काएको वडाध्यक्ष थापाले जानकारी दिए । ‘बाटो बनाउँदा अर्को बाटोको पिच नै भत्काएका छन् । पिच भत्किँदा करिब ३ लाख ११ हजार रुपैयाँ नोक्सान हुन गएको देखिएको छ’, उनले भने, ‘सो रकम उनीहरुबाटै जफत गर्ने गरी कारबाही गर्ने तयारी गर्दैछौं ।’

    यो पनि पढ्नुहोस्

    जब फेवाताल सुक्यो !

  • जब फेवाताल सुक्यो !

    जब फेवाताल सुक्यो !

    पोखरा -पोखरा फेवाताल हेर्न आएका पर्यटकहरु शनिबार पानीबिनाको तालअघि उभिएर छक्क परे । तालमा पानीको मात्रा एकदमै कम थियो र पानी सुकेका कारण टाढासम्म हिलो माटोको लेदोमात्रै बाँकी थियो ।

    पानी सुकेको हो कि सुकाइएको हो उनीहरुले भेउ नै पाएनन् । यद्यपि पानी सुकेर तालको बीच भागसम्म पुगेको जमिनबाटै भएपनि पर्यटकहरु बाराही मन्दिर गइरहेका थिए । सुकेको फेवातालमा माछा मार्नेको ठूलो समूह पनि थियो । कोही हिलाम्मे तालमै सेल्फी खिचिरहेका थिए ।

    तर ताल भने आफैं सुकेको होइन, सुकाइएको हो । तालको बाँध र नहर मर्मत गर्ने भन्दै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले शनिबार ठूलो मात्रामा पानी घटाएको हो । फेवातालको मुन्तिर रहेको बाँध खोलेर पानी घटाइएको र २ मिटरसम्म पानी घटाइने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ ।

    फेवातालमा २०१८ सालमा भारतीय सहयोग मिसनको सहयोगमा पहिलो पटक ४६ फिट बाँध निर्माण गरिएको थियो । बाँध बाँधेर कुल १५ हजार रोपनी क्षेत्रफलमा सिंचाइका लागि नहर निमाण गरिएको थियो । पछि उक्त बाँध २०३१ सालमा बाँध फुटेर गएको थियो ।

    पछि २०३४ कात्तिक १८ गते पुनः नयाँ बाँधको शिलान्यास गरिएको थियो । उक्त बाँध संयुक्त राष्ट्र संघको सहयोगमा निर्माण गरिएको हो । उक्त बाँध निर्माण कार्य २०३५ सालमा आएर सम्पन्न भएको थियो । ३५ सालमा बाँध निर्माण भएयता हालसम्मकै सबैभन्दा ठूलो मर्मतसम्भार गर्न लागिएको कार्यालय प्रमुख किरण आचार्यले जानकारी दिए ।

    ‘आज (शनिबार) पहिलो चरणमा बाँध खोलेर केही पानी घटायौं, साँझ बाँध बन्द गर्छौं,’ उनले भने, ‘भोलि बिहान फेरि पानीको मात्रा हेरिसकेपछि पानी घटाउने या के गर्ने थाहा हुन्छ ।’ उनले पानीको मात्रा बढीमा २ मिटरसम्ममात्रै घटाउने लक्ष्य रहेको जानकारी दिए ।

    जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका अनुसार बाँध निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । जसमध्ये १ करोड रुपैयाँ बाँध मर्मतका लागि र १ करोड रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन् ।

    आचार्यले पानीको मात्रा घटिसकेपछि बाँध बन्द गरिने र फेरि पानीको मात्रा सुरुकै अवस्थामा फर्किने जानकारी दिए । ‘बाँध बाँधेपछि फेरि पानी भरिन थाल्छ । समस्या पर्दैन,’ उनले भने । उनले बाँध तथा नहर मर्मत सम्भार गर्न भने १ महिना लाग्ने जानकारी दिए ।

    फेवाताल सीमांकन तथा नक्सांकन समिति संयोजक पुण्य पौडेलले फेवातालको पानीको मात्रा बाँध तथा नहर मर्मतका लागिमात्रै घटाइएकाले सीमांकनमा कुनै असर नपर्ने बताए । उनले भने, ‘पानी घटेपछि पनि फेरि केही दिनमै पुरानै स्वरुपमा फर्किन्छ । यसले नक्सांकनमा कुनै असर गर्दैन ।’