Tag: फिल्मकर्मी

  • प्रदेश १ सरकारलाई फिल्मकर्मीको १२ बुँदे मागपत्र : बजेटमा सम्बोधन गर्न माग

    प्रदेश १ सरकारलाई फिल्मकर्मीको १२ बुँदे मागपत्र : बजेटमा सम्बोधन गर्न माग

    काठमाडौं । नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ ले प्रदेश सरकारलाई १२ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रदेशमा नेपाल फिल्मको प्रवर्द्धन गर्दै फिल्म नगरीको रुपमा विकास गर्न विभिन्न माग सहित चलचित्रकर्मी संघले ज्ञापान पत्र बुझाएको हो ।

    सङ्घका अध्यक्ष केवल तामाङले प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री उषाकला राई र आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ्ग (लिम्बु)लाई सम्बन्धित मन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएका हुन ।

    ज्ञापन पत्रमा प्रदेश सरकारले आगामी बजेटमा चलचित्र उद्योगका लागि समेट्नु पर्ने कामका बारेमा ध्यानाकर्षण गराएको बताइएको छ । सङ्घका अध्यक्ष केवल तामाङ र सचिव रमेश तिवारीद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गरिनु पर्ने, चलचित्र विकास बोर्ड र प्रदेश सरकारको समन्वयमा बराह क्षेत्र नगरपालिकामा निर्माण हुन लागेको प्रदेश नम्बर १ को चलचित्र छायाङ्कन स्थललाई उचित बजेट विनियोजन गरी प्राथमिकताका साथ काम अघि बढाउनु पर्ने माग गरिएको छ ।

    साथै, अत्याधुनिक तथा पूर्ण वैज्ञानिक पद्धतिमा निर्माण भएको बक्सअफिस लागु गरिनुपर्ने, न्यून शुल्कमा प्रयोग गर्न सकिने गरी राज्यले नै सर्भरसाथै कोडिङ प्रणालीको निर्माण गर्दै चलचित्र निर्माताको संरक्षण गरिनु पर्ने माग पनि छ ।

    कोरोना महामारीको कारण चलचित्र उद्योग धराशायी हुन गएकोले कम्तीमा ३ वर्षसम्म नेपाली चलचित्रमा लाग्ने कर छुट गर्ने व्यवस्था गरिनु पर्ने, प्रदेश नम्बर १ मा रहेका उचित पर्यटकीय स्थलहरूको पहिचान गरी प्राकृतिक चलचित्र स्टुडियोको रुपमा विकास गर्न यथाशीघ्र बजेट विनियोजन गरिनु पर्ने, निजी क्षेत्र तथा तथा सरकारको संयुक्त लगानीमा आवश्यक स्थानमा फिल्म हल निर्माण र प्रवर्द्धन गरिनु पर्ने, विदेशी चलचित्रको हकमा बढीमा २० वटा मात्र देखाउन सकिने कोटा प्रणालीको व्यवस्था गरिनु पर्ने माग पनि छ ।

    विदेशी चलचित्रलाई कम्तीमा २५ प्रतिशत कर लगाई स्वदेशी चलचित्रलाई प्रोत्साहन गरिनु पर्ने, नेपाली दूतावास भएको देशमा सांस्कृतिक सहचारी दूत नियुक्त गरी चलचित्र उद्योगको प्रर्वद्वन क्षेत्र विस्तार गरिनु पर्ने माग पनि समेटिएको छ । विभिन्न मातृभाषामा बन्ने चलचित्र निर्माणका लागि उत्कृष्ट कथाको आधारमा प्रोत्साहन गर्न प्रदेश प्रदेश सरकारको तर्फबाट ५० प्रतिशतसम्म लगानी गर्ने व्यवस्था मिलाउनका साथै चलचित्र भवनमा प्रदर्शनका लागि उचित व्यवस्था मिलाउनु पर्ने पनि छ ।

    प्रदेश १ को सबैभन्दा पहिलो फिल्मसँग सम्बन्धित संस्था भएको हिसाबले हामलिे निरन्तर फिल्म क्षेत्रको विकास प्रवर्द्धनको लागि सरकारसँग सहकार्य गरिरहेको अध्यक्ष तामाङले बताएका छन् ।

    सोमबार प्रदेश १ ले बजेट प्रस्तुत गर्दैछ । बजेटमा फिल्म क्षेत्रलाई समेट्ने प्रयास सरकारको छ । चलचित्रकर्मी संघका अध्यक्ष तामाङका अनुसार कार्यालय खोलेर फिल्मकर्मीको लागि निरन्तर काम गर्दै आएको संघले नेपाल फिल्मको प्रवर्द्धनको लागि समेत काम गरिरहेको बताएका छन् । हाल संघले प्रदेश १ भित्र रहेका कलाकारहरुलाई राहत वितरण पनि गरिरहेको छ ।

  • सरकारसँग फिल्मकर्मीका १० बुँदे माग : विदेशी मुलुकसँग सह-निर्माणदेखि फिल्म फेस्टिभलसम्म

    सरकारसँग फिल्मकर्मीका १० बुँदे माग : विदेशी मुलुकसँग सह-निर्माणदेखि फिल्म फेस्टिभलसम्म

    काठमाडौं । नेपाली फिल्मकर्मीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने फिल्म निर्माणसहितका १० बुँदे सरकारसँग राखेका छन् ।

    उनीहरुले सोमबार चलचित्र विकास बोर्डलाई ती मागपत्र पेश गरे । फिल्मकर्मीले कोभिड-१९ पछिको परिस्थितिमा नयाँ नीति बनाउन सकेमात्र फिल्म उद्योगले गति लिने भन्दै बोर्डलाई प्रस्ताव गरेका हुन् ।

    उनीहरुले राज्यको सहयोगविना नेपाली फिल्मको विकास हुन नसक्ने समेत बताएका छन् । प्रस्तुत १० बुँदे मागमा नेपालले सह–निर्माणका लागि आवश्यक सन्धि गर्नुपर्ने, नेपाली फिल्म निर्माणलाई एकद्धार प्रणालीमा लैजानुपर्ने, पर्ने, अनुसन्धान तथा विकास विभाग खोल्नुपर्ने माग छन् ।

    साथै, बक्सअफिस प्रणालीलाई रियल टाइमको तथ्यांक दिनुपर्ने, सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गर्नुपर्ने, स्टोरी बैंकको बजेट बढाउनुपर्ने, फिल्म दर्तामा विभिन्न संस्थाको अनिवार्य सिफारिस बन्द गर्नुपर्ने, सेन्सरको ग्रेडिङ प्रणाली पालना गर्नुपर्ने लगायत माग गरेका छन् ।

    ३४ जना फिल्ममेकरको हस्ताक्षर रहेको ज्ञापनपत्रमा छिरिङरितार शेर्पा, दीपक रौनियार, रामकृष्ण पोखरेल, मीनबहादुर भाम, अविरल थापा, प्रज्वल शमशेर जबरा, सुवर्ण थापा, प्रविण कार्की, सरोज शर्मा सापकोटा, नवनिधि दाहाल, जीतेन्द्र खतिवडा, गोविन्द पराजुली आदिले हस्ताक्षर गरेका छन् ।