Tag: प्रमुख जिल्ला अधिकारी

  • सिता परियार बनिन् पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी

    सिता परियार बनिन् पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी

    काठमाडौं । सिता परियार  दलित महिलाबाट पहिलो प्रमुख जिल्ला अधिकारी बनेकी छन् । नेपाल सरकारको राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव सरहकी परियारले हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएसँगै दलित महिलाबाट पहिलाे प्रमुख जिल्ला अधिकारी बन्ने अवसर प्राप्त गरेकी हुन् ।

    बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गर्दै परियारलाई हुम्लाको प्रमुख जिल्लाको जिम्मेवारी दिएका छन् । परियार यसअघि भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिईन । दलित महिलाबाट सहायक प्रमुख जिल्ला अधिकारी बन्ने अवसर पनि उनैले पाएकी थिईन ।

    करिव ६ महिना गत भदौ महिनादेखि उनले भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालदै आएकी थिईन । परियारसँग उपसचिव भइसकेपछि तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको अनुभव छ ।

    परियार यसअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिइन् । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउनुअघि उनले संवैधानिक आयोगका रुपमा रहेको मुस्लिम आयोगको प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन् ।

    प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहनुअघि उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बालसंरक्षण तथा विकास शाखाको प्रमुखको रुपमा काम गरेकी थिइन् । संघीय संरचनाअघि भने परियार तत्कालीन जिल्ला विकास समिति भोजपुरको स्थानीय विकास अधिकारी थिइन् । उनी नेपालमा निजामती सेवाको इतिहासमा नेपाल सरकारको राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसम्म पुग्ने पनि पहिलो दलित महिला हुन् ।

    परियार शाखा अधिकृतबाट उपसचिव बढुवा भएको ८ वर्ष पुगेको छ । रुपा गाउँपालिका १ कास्की स्थायी घर भएकी परियार शाखा अधिकृतबाट निजामती सेवामा छिरेको १० वर्ष पुरा भएको छ ।

  • सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

    सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौंबासीलाई आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन आग्रह गरेका हुन् ।

    ‘शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठन पाठन गर्न र गराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारी सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ ।’ प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा भनिएको छ ।

    कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन, जम्मान नहुन, भीडभाड नगर्न, सभा जुलुस नगर्न, जात्रा महोत्सव, भोज आदि नगर्न आदेशमार्फत आग्रह गरिएको छ । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजे र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भनिएको छ ।

    यस्तै अभिभावक तथा सरोकारवालाको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने आदेशमा भनिएको छ ।

  • १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

    १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

    काठमाडौं । गृहमन्त्रालयले १२ जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ३ जनालाई मन्त्रालयमा तानिएको छ ।

    मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

    त्यस्तै गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । मोरङका सीडीओ कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् । दीपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा ठापइएको छ ।

    यस्तै टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ । त्यस्तै टेकराज निरौलालाई दोलखा, वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गरिएको छ ।

    हेर्नुस् सरुवा भएका प्रमुख जिल्ला अधिकारीको सूची:

  • आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न सबै प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । मन्त्रालयले शुक्रबार ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेज यारी अवस्थामा राख्न परिपत्र मार्फत निर्देशन दिएको हो ।

    कोरोनाको पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पताल अहिले स्थगित गरिएकाले सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै अहिले अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको भन्दै मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको मन्त्रालयका एक सहसचिवले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सूचीकृत अस्पतालको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि भनिएको छ ।

    यस्तै सूचीकृत अस्पतालमा संक्रमितको तथ्यांक र विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई भनेको छ । मासिक अद्यावधिक विवरण यकिन गरी त्यसै अनुसार निःशुल्क उपचार भएका संक्रमितको विवरण सम्बन्धित अस्पताललाई सोधभर्ना गर्ने प्रयोजनको लागि मन्त्रालयमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले सूचीकृत अस्पतालको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि परिपत्रमार्फत नै निर्देशन दिएको छ ।

  • रोल्पामा भाेलिदेखि लागू हुनेगरी १५ दिनसम्म निषेधाज्ञा जारी

    रोल्पामा भाेलिदेखि लागू हुनेगरी १५ दिनसम्म निषेधाज्ञा जारी

    रोल्पा । बैशाख २२ गते बुधबार अर्थात भोलिदेखि लागू हुनेगरी रोल्पामा पनि १५ दिनसम्म निषेधाज्ञा जारी भएको छ । सोमबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्नेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २२ गते बिहान ६ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जारी गरेको आदेशमा भनिएको छ ।

    रोल्पामा कोरोनाले अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गंगादेव गाउँपालिकामा १ महिला, त्रिवेणी गाउँपालिकामा १ पुरुष, सुनीलस्मृति गाउँपालिकामा १ पुरुष र माडी गाउँपालिकाका १ पुरुषको मृत्यु भएको हो। संक्रमितलाई विभिन्न अस्पतालमा उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनस्वास्थ्य प्रमुख नोखराज पोखरेलले जानकारी दिए ।

    रोल्पामा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमित संख्या ९७ जना छन् । पश्चिमी रोल्पाको गंगादेव गाउँपालिकामा ४५ छन् । त्यससँगै रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, सुनीलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिकालगायतमा कोरोना संक्रमण फैलिएको हो ।

    डीसीसीएमसीका अनुसार कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा त्यसबाट जोगिन निषेधाज्ञा जारी गर्नुपरेको डीसीसीएमसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । निषेधाज्ञाको अवधिमा अस्पताल, स्वास्थ्य सामग्री र औषधि पसल २४ घण्टा नै खुला रहने छ । खाद्यवस्तु, ग्यास, दूग्धजन्य पदार्थ, तरकारी, खाद्यवस्तु, ग्यास, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसलले भने पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।

    सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गर्ने तर पूर्वाधार निर्माणका काम जारी राख्ने निषेधाज्ञामा उल्लेख छ । शंकास्पद स्थान र व्यक्तिलाई निगरानी राख्ने र बाहिरबाट आएकालाई कम्तीमा १० दिन होम क्वारेन्टाइनमा बसाल्ने पनि भनिएको छ।