Tag: प्रभुराम शर्मा

  • प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

    प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् ।

    प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाल र भारतबीच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

    प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

  • प्रधान सेनापति र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूतबीच भेटवार्ता

    प्रधान सेनापति र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूतबीच भेटवार्ता

    काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

    बिहीबार प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

    यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।

  • प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : राष्ट्र हित र स्वार्थको संरक्षण गर्न सधै तयार छु (भिडियाेसहित)

    प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : राष्ट्र हित र स्वार्थको संरक्षण गर्न सधै तयार छु (भिडियाेसहित)

    काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले जस्तो सुकै जटिल परिस्थितिमा पनि संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवद्र्धनन गर्नका लागि सधै तयार रहेको प्रतिवद्धता जनाएको छ । शुक्रबार नवनियुक्त प्रधान सेनापति शर्माले जंगी अड्डामा सकलदर्जालाई पहिलो सम्बोधन गर्ने क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपालको संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना आफुलाई जिम्मेवारी सुम्पिएको उनले बताए ।

    ४ मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने
    नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न चार मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने योजना अघि सारेका छन् । जसमा पहिलो नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्ध रहने, दोस्रो सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना गर्ने, तेस्रो विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्ने र चौथो ‘बहुजन हिताय बहुजन सुखाय’ अनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार गर्ने रहेका छन् ।

    प्रधान सेनापतिको भिजन : ३ जोड १ कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिने
    ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गरिनेछ’ । प्रधानसेनापतिको भिजनमा उल्लेख छ । यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गर्ने उनले उल्लेख गरेका छन् ।

    उक्त ‘भिजन’लाई मूर्तरूप दिन राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्ति विकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्य केन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन– २०७८ जारी गरिएको जनाइएको छ । नेपाल सरकारद्वारा जारी भएको ‘राष्ट्रिय सुरक्षा नीति’ र ‘राष्ट्रिय प्रतिरक्षा नीति’ अनुरूपको ‘राष्ट्रिय सैनिक रणनीति’ को निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूलग्रन्थ पुनरावलोकन गरिने पनि उनले प्रतिवद्धता जनाएका छन् । यिनै नीति, रणनीति र मूलग्रन्थलाई आधार मानेर ३ जोड १ कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिने उनले बताएका छन् ।

    कुनै पनि किसिमका पदीय मर्यादा र आचरणविपरीतका गतिविधि क्षम्य नहुने
    नेपाली सेना ऐतिहासिक कालखण्डदेखि नै पद्धति र प्रणालीमा आधारित संगठन रहेको र यसमा सेना सदैव कटिबद्ध रहने प्रधानसेनापति शर्माले बताए । साथै संगठन सामूहिक भावनाबाट चल्ने भएकोले संगठनलाई सुदृढ र सशक्त बनाउन सामूहिक भावनाअनुरुप निर्णय गरिने उल्लेख गरेका छन् । त्यसैगरी नेपाली सेनाले चेन अफ कमाण्डलाई पूर्णरुपमा अबलम्बन गर्दै कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने जस्ता अवाञ्छित गतिविधि किमार्थः क्षम्य नहुने पनि प्रतिवद्धता जनाएका छन् ।

    प्रधान सेनापति छात्रवृत्तिदेखि कल्याणकारी छात्रवृत्ति दिने घोषणा
    नेपाली सेनाका सकलदर्जा र हिताधिकारीको कल्याणकारी कार्यको लागि विभिन्न सेवा सुविधा बिस्तार गर्ने पहिलो सम्बोधनमा नै सार्वजनिक गरेका छन् । जसमा शिक्षा क्षेत्रमा प्रधान सेनापति छात्रवृत्ति र कल्याणकारी छात्रवृत्ति (स्वदेश)को लागि आफ्नै व्यवस्थापनमा अध्ययन गरिरहेका हिताधिकारीका एकजना सन्ततीलाई कक्षा ६ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजारका दरले सैनिक कल्याणकारी छात्रवृत्ति उपलब्ध गराउदै आईरहेकोमा २०७९ वैशाखको शैक्षिक सत्रदेखि कक्षा ४ र ५ मा अध्ययन गरिरहेका हिताधिकारीका सन्ततीलाई समेत बार्षिक २० हजार प्रदान गरिनेछ । त्यसैगरी लुम्बिनी प्रदेशको उपयुक्त स्थानमा सैनिक महाविद्यालय स्थापना गरी शैक्षिक सत्र २०८० बाट संचालन गर्ने घोषणा गरेका छन् ।

    स्वास्थ्य क्षेत्रमा सेवा बिस्तारको लागि लुम्बिनी प्रदेशमा २५ शैयाको फिल्ड अस्पताल स्थापना गरी सेना दिवस २०७९ बाट संचालन गरिनेछ भने वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि क्याथ ल्यावको स्थापना गरिनेछ । साथै श्री त्रिचन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै वीरेन्द्र अस्पताल र उपत्यका बाहिर अक्सिजन प्लाण्टको स्थापना गरिनेछ ।

    ६० बर्ष पुरा गरेका भूतपूर्व सैनिक तथा नीवृत्तिभरणमा वार्षिक ५ हजारले वृद्धि
    कल्याणकारी निवृत्तिभरणमा पुनरावलोकन गरी ६० बर्ष उमेर पुगेका भूतपूर्व सैनिक तथा पारिवारिक नीवृत्तिभरणमा रहेकालाई वार्षिक रुपमा ५ हजारमा वृद्धि गरी २०७८ असोज १ गतेदेखि बार्षिक १२ हजार उपलब्ध गराइने बताएका छन् । त्यसैगरी विगतको द्वन्दमा ज्यान गुमाउने तथा कर्तव्यपालनाको सिलसिलामा मृत्यु हुने सकलदर्जाका पारिवारिक निवृत्तिभरणमा रहेका करिब ८ सय जना एकल महिलाको निवृत्तिभरण रकममा मासिक ५ हजारका दरले थप गरी क्रमशः ३५ सय र २५ सय उपलब्ध गराइने भएको छ । साथै द्वन्दमा घाईते तथा अपाङ्गता भएका सकलदर्जालाई चारपाङ्ग्रे स्कुटर उपलब्ध गराईनेछ ।

    दश वर्ष वा सो भन्दा बढी सेवा अवधि पुरा गरेका सकलदर्जालाई आवास निर्माणको लागि २५ लाखसम्म सहुलियतपूर्ण व्याजदरमा आवास कर्जा उपलब्ध गराईनेछ । त्यसैगरी कल्याणकारी यातायात सुविधा प्रदान गर्न वहालवाला सकलदर्जालाई बर्षमा एक पटक घर विदा जाँदा निःशुल्क यातायात सुविधा उपलब्ध गराईनेछ भने सकल दर्जाको लागि परिवार आवासको बिस्तार गरिनेछ ।

    सैनिक कमाण्ड तथा स्टाफ तालिमको शिक्षार्थी कोटा पुनरावलोकन गरी उक्त तालिमको लागि २०७८ सालको प्रवेश परीक्षाबाट लागु हुने गरी हालको प्रावधान अनुसार नेपाली सेनाको शिक्षार्थी संख्या ५७ जनामा शिक्षार्थी संख्या २० थप गरी जम्मा ७७ बनाईनेछ । अन्य सुरक्षा निकायको हकमा ३ वटा र विभिन्न मित्रराष्टको लागि राखिएको १२ वटा कोटा यथावत राखिनेछ । यसरी कोटा थप गरेपछि कमाण्ड तथा स्टाफ तालिमको अधिकतम शिक्षार्थी संख्या ९२ कायम हुनेछ ।

    नेपाली सेनाको प्रतिष्ठा, जनविश्वास र राष्ट्र विकासमा योगदान पुर्याउन रणनीतिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई र मधेस द्रुतमार्ग निर्माण कार्यलाई निर्धारित समयमा सम्पन्न गर्न विशेष पहल गरिनेछ । त्यसैगरी, नेपाली सेनालाई जिम्मेवारी प्राप्त अन्य महत्त्वपूर्ण करिडोर निर्माणका कार्यहरुलाई पनि समयमै सम्पन्न गरिनेछ ।

    संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाको गुणात्मक सहभागिता वृद्धि गर्दै नेपाललाई भरपर्दो र विश्वसनीयका रूपमा विकास गरिनेछ भने शान्ति सेनामा सकलदर्जाको समतामूलक सहभागिताको लागि थप प्रयासहरुसमेत गरिनेछ । आमसञ्चार माध्यमबाट नेपाली सेनालाई प्राप्त साथ र सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाली सेना र आमसञ्चार माध्यमबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउँदै लगिनेछ । साथै आगामी दिनमा रक्षा मन्त्रालय र नेपाली सेनाबिचको व्यावसायिक सम्बन्ध थप प्रगाढ र सुदृढ बनाउन प्रयास गरिने छ ।

    सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकता र आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन पनि दिएका छन् । सम्बोधन कार्यक्रमपछि उनले “Leaders’ Reading Clloection-2078” संग्रहको विमोचन गर्दै भई उक्त संग्रहको उत्कृष्ट लेखकलाई पुरस्कार तथा प्रमाण–पत्र समेत वितरण गरेका छन् । उक्त सम्बोधन पूर्व पदबहालीको शुभ अवसरमा जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भिन्न क्षमता भएका नेपाली सेनाका सवारी चालक अनुमति प्राप्त ७ जना सकलदर्जालाई चारपाङ्ग्रे स्कुटर तथा सवारी चालक अनुमति नभएका १९ जनालाई जनही एक लाख ४० हजारका दरले आर्थिक राहत समेत वितरण गरिएको छ ।

  • प्रभुराम शर्मा आजबाट नयाँ प्रधानसेनापति

    प्रभुराम शर्मा आजबाट नयाँ प्रधानसेनापति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिए । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

    समारोहमा रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिकारूपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन् ।

    राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी हुन् । नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजाअर्चना गर्नेछन् । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदवहाली, रथीबृन्दलाई सम्बोधन र सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

    यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्षे कार्यकाल आजै सकिएको छ । 

    महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाईल्याण्ड र पाकिस्तानबाट प्रतीरक्षा तथा बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गरेका छन् ।

    युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशन अन्तरगत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका थिए ।

    रासस

  • प्रभुरामले प्रधानसेनापतिको नियुक्ति पत्र बुझे

    प्रभुरामले प्रधानसेनापतिको नियुक्ति पत्र बुझे

    काठमाडौं । नेपाली सेनाका कायममुकायम रथी प्रभुराम शर्माले प्रधानसेनापतिको नियुक्ति पत्र बुझेका छन् ।

    रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई नियुक्ति पत्र प्रदान गरे । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ बाट लागू हुने गरी शर्मालाई सेनापतिमा नियुक्त गरेकी थिइन् ।

    नियुक्ति पत्र दिँदै रक्षासचिव पौड्यालले शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    अहिलेका सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा हाल बिदामा छन् ।

  • प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

    प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

    काठमाडौं । नयाँ सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ देखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

    भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् ।

    अहिलेका सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा हाल बिदामा छन् ।

  • प्रभुरामलाई सेनापति नियुक्त गर्न सरकारको सिफारिस

    प्रभुरामलाई सेनापति नियुक्त गर्न सरकारको सिफारिस

    काठमाडौं । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् ।

    महारथी दर्जामा पदोन्नति गरेर शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

    अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा साउन २५ देखि बिदा बसेका थिए ।

  • शर्मा कामु प्रधानसेनापति तोकिए, थापा अर्को सातादेखि घर बिदामा

    शर्मा कामु प्रधानसेनापति तोकिए, थापा अर्को सातादेखि घर बिदामा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायम मुकायम प्रधान सेनापतिमा प्रभुराम शर्मालाई जिम्मेवारी दिएकी छन् ।

    नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि सकिएर भदौ ५ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि कायम मुकाय प्रधानसेनापतिमा शर्मालाई जिम्मेवारी दिएकी हुन् ।

    ज्येष्ठता क्रममा रहेका व्य.नं १३५३ बलाधिकृत रथी  शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्ले सिफारिस गरिएको हो । कायम मुकायम प्रधान सेनापति शर्माले २६ गतेदेखि लागू हुनेगरी पदभार समाल्ने छन् ।

    हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट बिदा बस्ने तयारी गरेका थिए ।

    ४४ औं प्रधानसेनापति बन्न लागेका शर्माले युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए । उनले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।