Tag: प्रदेश-२

  • नामाकरणमा सहमति नजुटेपछि प्रदेश २ मा मतदानको तयारी

    नामाकरणमा सहमति नजुटेपछि प्रदेश २ मा मतदानको तयारी

    जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउने प्रयास असफल भएको छ ।

    प्रदेशसभाबाट सभामुख सरोज यादवको अध्यक्षतामा गठित विशेष समितिले समेत प्रदेशको नाम र राजधानीको टुंगो लगाउन सकेन । आज बसेको समितिको बैठकमा सहमति नजुटेपछि अब मतदानको संभावना बढेको छ ।

    प्रमुख सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश नाम राख्नुपर्ने अडानमा छन् । तर, सत्तारुढभित्रकै नेपाली कांग्रेसले मिथिला-भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा एस भने जानकी प्रदेशको पक्षमा छन् ।

    विशेष समितिका अध्यक्ष एवं सभामुख यादवले कांग्रेस भोजपुरा त्याग्न तयार रहे पनि मधेशअगाडि मिथिला थप्नुपर्ने भन्दै सहमतिनजिक आउको बताए । कांग्रेसको प्रस्तावमा नेकपा एसले पनि सहमति जनाएको तर मधेशवादी दलले अस्वीकार गरेपछि मतदान हुने संभावना बढेको उनको भनाइ छ ।

    उनका अनुसार माघ २ गते प्रदेशसभा बैठक बोलाउने सहमति भएको छ । त्यसअघि सहमति भयो भने ठिक छ । होइन भने नाम र राजधानी दुवै विषयमा माघ ३ मा मतदान हुन्छ ।

    हुन त यसअघि पनि नाम र राजधानी विषयमा मतदान भइसकेको छ । तर, दुई-तिहाई बहुमत आवश्यक पर्ने भएकाले कुनै प्रस्ताव पारित भएन ।

    मधेश प्रदेशको पक्षमा रहेको जसपा, लोसपा र माओवादी केन्द्रको ६३ सांसदमात्र पुग्छन् । दुई तिहाईका लागि ७ सांसद अपुग छ ।

    जानकी प्रदेशको पक्षमा एमाले र नेकपा एकीकृत समाजवादीका २१ सांसद छन् । यस्तै मिथिला भोजपुराको पक्षमा कांग्रेसका १८ जना छन् ।

    कांग्रेसकै सांसद राजेश्वरप्रसाद साह मधेशको पक्षमा उभिएका छन् । वीरगञ्जका केही सांसद भने राजधानी वीरगञ्जलाई बनाउनुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

  • प्रदेश २ की राज्यमन्त्री कर्ण सवार गाडी पल्टियो

    प्रदेश २ की राज्यमन्त्री कर्ण सवार गाडी पल्टियो

    जनकपुरधाम । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवार गाडी सप्तरीको छिनमस्ता गाउँपालिका १ मा दुर्घटनामा परेको छ ।

    प्रहरीका अनुसार जोलहनिया पुल नजिक उनी सवार ज १ झ ४०६ नम्बरको गाडी पल्टेको हो । उक्त गाडीमा राज्यमन्त्री कर्णको सुरक्षा गार्ड र चालकसहित ६ जना सवार थिए ।

    गाडी पल्टेपछि गाडीमा सवार राज्यमन्त्री कर्ण, सुरक्षा गार्ड तुलसी प्रसाद साह, चालक विकेक मण्डल र अन्य तीन जना समेत घाईते भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार राज्यमन्त्री कर्णको छाती र हातमा चोट लागेर छ ।

    राज्यमन्त्री कर्ण, सुरक्षा गार्ड र चाललकसहित घाईते सबैको उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पताल लगिएको छ । गाडी कसरी पल्टियो भन्ने कुरा खुल्न सकेका छैन ।

  • प्रदेश २ को नाम र राजधानीको सहमतिका लागि लोसपाले बनायो वार्ता टोली

    प्रदेश २ को नाम र राजधानीको सहमतिका लागि लोसपाले बनायो वार्ता टोली

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलले प्रदेशको नामाकरण र राजधानीमा लागि सहमति जुटाउन अन्य राजनीतिक दलहरूसँग वार्ता गर्ने भएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्न लोसपाको प्रस्ताव छ ।

    लोसपाको वार्ता टोली संयोजकमा सांसद रानी शर्मा छिन् । ७ सदस्यीय टोलीमा सांसदहरू परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रल्हाद गिरी सदस्य छन् ।

    पार्टीको निर्णय बमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतीका लागि वार्ता टोली गठन गरेको लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए ।

    अगामी पुस ८ मा बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेस गर्ने तयारी छ । राजधानी जनकपुरधाम तोक्न सबै दल सहमत छन् । तर, प्रदेशको नामाकरण विषयमा विवाद देखिएको छ ।

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश राख्ने प्रस्ताव गरिसकेका छन् । नेकपा एसले समेत मधेस प्रदेशमा सहमत हुने सम्भावना रहेको प्रमुख सत्तारुढ दल जसपाका नेताहरूको दाबी छ ।

    कांग्रेस र नेकपा एमाले भने मधेश प्रदेश नामको विपक्षमा छन् ।

  • प्रदेश २ मा माओवादी विवाद अझै मिलेन, बन्दसत्र प्रभावित हुनसक्ने

    प्रदेश २ मा माओवादी विवाद अझै मिलेन, बन्दसत्र प्रभावित हुनसक्ने

    जनकपुरधाम । प्रदेश २ का धेरै पालिकाको अधिवेशन विवादित बनेपछि नेकपा मओवादी केन्द्रको प्रदेश अधिवेशन प्रभावित हुने भएको छ ।

    माओवादी प्रदेश २ को अधिवेशन अन्तर्गत उद्घाटनसत्र मंसिर २५ मै जनकपुरधाममा सम्पन्न भयो । भोलिदेखि सर्लाहीको लालबन्दीमा प्रदेश अधिवेशनको बन्दसत्र हुने भनिएको छ । तर धेरै पालिकामा विवाद नमिलेपछि प्रदेशको बन्दसत्र प्रभावित हुने देखिएको छ ।

    प्रदेश अधिवेशनको उद्घाटनसत्रका बेला माओवादी प्रदेश इन्चार्ज प्रह्लाद बुढाथोकीले १३६ मध्ये ३० पालिकामा मात्र अधिवेशन गर्न बाँकी रहेको बताएका थिए । ती पालिकाहरुको विवाद भने अझै समाधान हुन सकेका छैन । आज बेलुकासम्म अधिवेशन सकेर प्रदेश प्रतिनिधिको नाम नपठाएपनि बन्दसत्र अगाडि बढाउने प्रदेश इन्चार्ज बुढाथोकीले बताए ।

    उनका अनुसार सप्तरीका सबै पालिका, धनुषाको सबैला र पर्साको वीरगञ्ज महानगरपालिकामा मात्र विवाद देखिएको छ । अन्य पालिकाको अधिवेशन आजै बेलुवासम्म सकिन्छ । ‘विवादका कारण अधिवेशन नहुने पालिकालाई छाडेर भएपनि बन्दसत्र अगाडि बढाइन्छ,’ उनले भने ।

    यस प्रदेशमा नारायणकाजी श्रेष्ठ र मातृका यादव समूह सक्रिय छन् । दुवै नेताले प्रायः हरेक पालिकाको नेतृत्व र प्रतिनिधिमा बर्चश्व कायम गर्न खोजेपछि विवाद भएको छ । मातृका यादवकै गाउँ सबैला नगरपालिकाको अधिवेशन समेत हुन सकेका छैन । विवादकै कारण सबैलामा दुईवटा नगर कमिटी बनेको छ ।

    सप्तरीमा पूर्वमन्त्री उमेश यादव र अमर मण्डलबीच विवाद देखिएको छ । उमेशविरुद्ध मातृका यादवले मण्डललाई सक्रिय पारेको स्रोतको दाबी छ । मण्डलले सप्तरीका सबै पालिका र जिल्लामा समेत समानान्तर कमिटी बनाएका छन् । बिहीबारसाँझ केन्द्रीय नेताहरुले मण्डललाई ५५ र यादवलाई ४५ प्रतिशत प्रतिनिधि दिनेगरी सहमतिको प्रयास गरेपनि सफल नभएको बुझिएको छ ।

    को–को छन् अध्यक्षका आकांक्षी ?

    माओवादी प्रदेश अध्यक्ष र अन्य पदाधिकारीका लागि अहिलेसम्म कुनै नेताले पनि औपचारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । अध्यक्षका आकांक्षी भने आधा दर्जन बढी नेता छन् ।

    प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, प्रदेश सचिव श्रवण बरबरिया र प्रदेश सांसद जगत यादव प्रदेश अध्यक्षका आकांक्षी रहेको बताइएको छ । तर उनीहरुमध्ये प्रदेश मन्त्री साह र पूर्वमन्त्री शर्माले प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने एक नेताले बताए ।

    ती नेताका अनुसार प्रदेश मन्त्री साहलाई मातृका यादवले प्रदेश अध्यक्ष बनाउन चाहेका छन् । यादवबाहेकका नेताको साथ पूर्वमन्त्री शर्मालाई छ । नारायणकाजी श्रेष्ठले पनि शर्मालाई नै साथ दिएका छन् । साह र शर्मा प्यानल खडा गरेर प्रतिस्पर्धामा उत्रने सम्भावना छ ।

  • प्रदेश २ः लोसपाको असहमतिबीच प्रदेशसभामा दुई अध्यादेश पेश

    प्रदेश २ः लोसपाको असहमतिबीच प्रदेशसभामा दुई अध्यादेश पेश

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को विरोधका बाबजुद प्रदेश २ को प्रदेशसभामा दुई अध्यादेश पेश गरिएको छ ।

    सामाजिक विकासमन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधि विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका हुन् । उक्त दुई अध्यादेश सरकारले प्रदेशसभा छलेर ल्याएको भन्दै फिर्ता लिनुपर्ने माग राख्दै लोसपाका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए ।

    लोसपाका सांसदहरुको अवरोधका कारण सभामुख सरोजकुमार यादवले बैठक १५ मिनेट स्थगित गरेका थिए । पछि पुनः बसेको बैठकमा मन्त्री साहले अध्यादेश पेश गरेपनि लोसपा सांसदहरुले विरोध जनाएनन् ।

    लोसपाका सचेतक प्रमेश्वर साहले संघीयतालाई जोगाउनुपर्ने भएकाले आफूहरु कडा नभएर नरम रुपमा प्रस्तुत भएको बताए । उनले भने– दोस्रो बैठकमा अवरोध गर्दा मार्सल लगाएर भएपनि अध्यादेश पेश हुन्थ्यो, त्यसैले कडा रुपमा प्रस्तुत भएनौं ।

    लामो समयपछि बसेको प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्ने कार्यसूची पनि थियो । तर सभामुख यादवले उक्त विषय कार्यसूचीबाट हटाए । उनले अगामी बैठक पुस ८ गते दिउँसो १ बजे बस्ने बताए ।

    मुख्यमन्त्री लालबाबु राउतले भने चार वर्ष बित्दा पनि प्रदेशको नाम र राजधानी टुंगो लगाउन नसक्नुलाई आफ्नै कमजोरी बताएका थिए । उनले आजबाट आरम्भ भएको प्रदेशसभाको आठौं अधिवेशनमा नाम र राजधानी टुंगो लगाउन सबै दलसँग विशेष अनुरोध गरेका छन् ।

  • प्रदेश २ः लोसपाको विरोधपछि १५ मिनेट प्रदेशसभा बैठक स्थगित

    प्रदेश २ः लोसपाको विरोधपछि १५ मिनेट प्रदेशसभा बैठक स्थगित

    जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अवरुद्ध गरेको छ । सरकारले ल्याएको दुई विश्वविद्यालयसम्बन्धी अध्यादेश टेबल गर्न लागेकाले लोसपाका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।

    सभामुख सरोजकुमार यादवले कृषि विश्वविद्यालयसम्बन्धी अध्यादेश टेबल गर्न सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई रोस्टममा बोलाएपछि लोसपाका सांसदहरुले उठेका विरोध जनाएका थिए । लोसपाका सचेतक प्रमेश्वर साहले सदन छलेर अध्यादेश ल्याएको र उद्देश्य स्पष्ट नरहेकाले टेबल गर्न नदिने बताए ।

    सभामुख यादवले पटक–पटक बस्न गरेको आग्रह लोसपा सांसदहरुले नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ । संसद अवरुद्ध गर्नुअगाडि लोसपा संसदीय दलका नेता जीतेन्द्र सोनलले पनि प्रदेशसभा छलेर ल्याएको अध्यादेश फिर्ता लिन माग गरेका थिए ।

  • राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री राउतलाई लोसपाको सुझाव

    राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री राउतलाई लोसपाको सुझाव

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जीतेन्द्र सोनलले राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री लालबाबु राउतलाई सुझाएका छन् ।

    लामो समयपछि बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी लोसपा संसदीय दलका नेता सोनलले ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको अख्तियारको पहिलो चरणको अनुसन्धानले ठहर गरिसकेकाले राजीनामा दिन भनेका हुन् ।

    उनले कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय सम्बन्धी जारी अध्यादेश फिर्ता लिन प्रदेश सरकारसँग माग गरेका छन् ।

    अध्यादेश फिर्ता लिन माग गरेका हुन् । लोकतान्त्रिक मूल्य मान्यताविपरीत प्रदेशसभा छलेर सरकारले अध्यादेश जारी गरेकोमा उनले विरोध गरे ।

    ‘हाउस बन्द गरेर अध्यादेश ल्याउनु लोकतन्त्र र गणतान्त्रिक व्यवस्थाको अबमुल्यन गर्नु हो’, उनले भने, ‘सरकारले सिस्टम नै ब्रेक गर्न खोजेको देखियो ।’ कृषि र प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक सदनमा आएको भए र छलफल भएर पास भएको भए प्रदेशबासी खुसी हुने उनको भनाइ छ ।

  • माओवादीको प्रदेश २ अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ गते बन्दसत्र

    माओवादीको प्रदेश २ अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ गते बन्दसत्र

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को अधिवेशन जनकपुरधाममा गर्ने भएको छ । पार्टीका प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनबारे जानकारी गराएका हुन् ।

    अधिकांश पालिकामा माओवादी केन्द्रको अधिवेशन सकिएको छैन । तर भोलि नै प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको छ । प्रदेश संयोजक बुढाथोकीले भोलि प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गते बन्दसत्र गर्ने बताए ।

    उनका अनुसार प्रदेशका १३६ स्थानीय तहमध्ये ३० पालिकाको अधिवेशन बाँकी छ । बाँकी रहेका पालिकामा भोलिसम्म अधिवेशन सम्पन्न हुनेछ । प्रदेश अधिवेशनमा १३६ पालिकाबाट ६ सय तथा आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि सहभागी हुनेछन् ।

    अधिवेशनबाट चयन गरिने २७१ सदस्यीय प्रदेश २ को कमिटीमा ९ जना पदाधिकारी हुनेछन् । सकभर सहमतिमै नेतृत्व चयन गरिने प्रदेश संयोजक बुढाथोकीको भनाइ छ ।

    उनका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंबाटै भर्चुअल माध्यमबाट प्रदेश २ सहित सातवटै प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन् ।

    यस्तै पार्टीका स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव र गणेश साहलगायतले पनि अधिवेशनको सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

  • नवनियुक्त मन्त्री महतोले भने- भ्रष्टाचारले प्रदेशको बदनाम भयो, सुशासन कायम गर्छु

    नवनियुक्त मन्त्री महतोले भने- भ्रष्टाचारले प्रदेशको बदनाम भयो, सुशासन कायम गर्छु

    जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा एसबाट मन्त्री बनेका दुईजनाले कार्यभार सम्हालेका छन् ।

    सपथ लिएलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश मामिला मन्त्री प्रमोद यादवले जनकपुरको मधेस भवनस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

    मन्त्री यादवले प्रमाणिकरण भइसकेको पदकसम्बन्धी ऐन राजपत्रमा प्रकाशित गर्नेबारेको फाइलमा हस्ताक्षर गरे ।

    यस्तै मन्त्री महतोले चुरे संरक्षणलाई पहिलो प्राथमिकता दिने बताए । भ्रष्टाचारलगायतका कुराले प्रदेश बदनाम भइरहेको भन्दै सुशासन कायम गर्ने उनको जिकिर छ ।

    प्रदेशको राजधानी र नाम टुंगो लगाउने काम गर्ने महतोले प्रतिबद्धता जनाए ।

    पदभार ग्रहण गरेपछि पार्टी कार्यालय पुगेका मन्त्रीद्वयलाई नेकपा एसका नेता पूर्वमन्त्रीद्वय धर्मनाथ साह, रामचन्द्र झालगायतले बधाई दिएका थिए ।

  • प्रदेश २ सरकारमा सहभागी भयो नेकपा एस, २ मन्त्रीले लिए शपथ (भिडिओ)

    प्रदेश २ सरकारमा सहभागी भयो नेकपा एस, २ मन्त्रीले लिए शपथ (भिडिओ)

    जनकपुरधाम । प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एस पनि सहभागी भएको छ । आज नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका हुन् ।

    महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतवार विहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराए ।

    नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसको प्रदेशसभामा १३ सांसद छन् । यसअघि नै नेकपा एसलाई सरकारमा ल्याउने प्रयास भएको थियो । तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा नेकपा एस सरकारमा गएको थिएन । सहमति जुटाउन नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट्न मुख्यमन्त्री लालबाबु राउत काठमाडौं नै पुगेका थिए ।

    काठमाडौंमा भएको सहमति अनुसार नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री राउतले मन्त्री रामनरेश रायलाई पदबाट हटाएका थिए । तत्कालीन राजपाको कोटाबाट मन्त्री बनेका राय जसपा फुटेर लोसपा बने पनि पद जोगाउनकै लागि उनी जसपामै बसेको चर्चा थियो । तर अन्ततः उनले पद गुमाउनु परेको छ ।

    जसपाले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । जसपा विभाजन भएपछि तत्कालीन राजपाको तर्फबाट बनेका मन्त्री र राज्यमन्त्रीहरुलाई हटाएर कांग्रेस, माओवादी र नेकपा एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउत बाध्य भएका हुन् ।

  • प्रदेश २ मा नेकपा एसबाट दुईजना मन्त्री बन्दै, आइतबार सपथ

    प्रदेश २ मा नेकपा एसबाट दुईजना मन्त्री बन्दै, आइतबार सपथ

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय लिएर नेकपा एस सरकारमा जाने भएको हो ।

    यसअघिदेखि नै सरकारमा जाने भने पनि मन्त्रालय भागबण्डा नटुंगिदा नेकपा एस सरकारमा सहभागिता अन्योल बनिरहेको थियो । मन्त्रालयको टुंगो लागेपछि नेकपा एसले संसदीय दलका नेता शत्रुधन महतो (धनुषा) र सांसद प्रमोद यादव (सिरहा) लाई मन्त्री बनाउने निर्णय गरेको छ ।

    महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्री बनाउने निर्णय भएको छ । यसको पुष्टि मन्त्री बन्न लागेका संसदीय दलका नेता महतोले गरेका छन् ।

    एउटा राज्यमन्त्री दिने सहमती भए पनि तत्काल सपथग्रहण नहुने बुझिएको छ । मंसिर ५ गते आइतबार दिउँसो २ बजे नयाँ मन्त्रीको सपथग्रहण समारोह राखिएको प्रदेश सरकार स्रोतले जनायो ।

    मुख्यमन्त्री लालबाबु राउतले नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई तीन दिन अगाडी बर्खास्त गरेका थिए ।

  • कार्यकर्ताको हातपात प्रयासपछि भागेर प्रहरीमा पुगे मन्त्री

    कार्यकर्ताको हातपात प्रयासपछि भागेर प्रहरीमा पुगे मन्त्री

    जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवमाथि आफ्नै गाउँमा नेपाली काँग्रेसकै कार्यकर्ताद्वारा हातपातको प्रयास भएको छ ।

    मन्त्री यादव नेपाली काँग्रेसको वडा अधिवेशनका लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका पुगेका थिए । वडा अधिवेशनमा हस्तक्षेपको प्रयास गर्दा कार्यकर्ताहरु हातपातको प्रयास गरेको स्थानीय एक नेताले बताए ।

    ती नेताका अनुसार हातपातको प्रयास भएपछि मन्त्री यादव भागेर प्रहरी चौकी बहेडाबेला पुगेका हुन् । हातपातमा उत्रेका कार्यकर्ताहरुले र पार्टी उपसभापति विमलेन्द्र निधिको समर्थनमा नाराबाजी समेत गरेका छन् ।

    घटनाबारे बुझ्न खोज्दा यादवसँग सम्पर्क हुन सकेन । उनका सल्लाहकार जीवनाथ चौधरीले मन्त्रीमाथि हातपात नभएको दाबी गरे । उनले भने, ‘मन्त्रीज्यूको भतिजासँग ठेलमठेल भएको छ । मन्त्रीमाथि हातपातको कुरा गलत हो ।’

    काँग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव विगतमा उपसभापति निधिनिकट नै थिए । अहिले निधीको साथ छाडेका छन् ।

  • मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा

    मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि माधव नेपाल मनाउन मुख्यमन्त्री राउत काठमाडौंमा

    जनकपुरधाम । प्रदेश २ मा मन्त्रालय बाँडफाँटको कुरा नमिलेपछि सरकारमा नेकपा एसको सहभागिता अनिश्चित बनेको छ ।

    एमालेका २१ सांसदमध्ये १३ जनाले भदौको अन्तिम साता नेकपा एस रोजेलगत्तै प्रदेश सरकारमा जाने बताएका थिए । मन्त्रालय भागबण्डामा पटकपटक छलफल भए पनि सहमति जुटेको छैन ।

    नेकपा एसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउत तयार रहेको बताइएको छ ।

    अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव छन् । तत्कालीन राजपाको सांसद उनी मन्त्री पद जोगाउनकै लागि महन्थ ठाकुरको साथ छाडेर जसपामा बसे । तर, उक्त मन्त्रालय नेकपा एसलाई दिने मुख्यमन्त्री राउतको संकेतपछि यादव असन्तुष्ट छन् ।

    यता, नेकपा एस प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतो अर्थ र सामाजिक विकास मन्त्रालय मागेको बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय दिने कुरा गरे पनि हामीले मानेका छैनौं ।’

    जसपाले मन्त्रालयको भागबण्डा टुंगो लगाउने जिम्मा मुख्यमन्त्री राउतलाई दिएको छ । अहिले प्रदेश सरकारमा जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्रमात्र सहभागी छन् । नेकपा एस प्रदेश संसदीय दलका नेतासँग कुरा नमिल्दा मुख्यमन्त्री राउत अध्यक्ष माधवकुमार नेपालसँगै छलफल गर्न काठमाडौं पुगेको स्रोतले बतायो ।

    नेकपा एस संसदीय दलका नेता महतोले मन्त्रालयको टुंगो लाग्नेबित्तिकै मन्त्रीको टुंगो लगाउने बताए ।

    ‘सहमति जुटेमा संसदीय दलका नेताको हैसियतले महतो मन्त्री बन्ने पक्का छ,’ नेकपा एसका एक सांसदले भने, ‘सहमतिको आधारमा अर्का एक मन्त्रीको नाम टुंगो लगाइनेछ ।’

  • प्रदेश २ का सबै जिल्लामा माओवादीले तोक्यो संयोजक (सूचीसहित)

    प्रदेश २ का सबै जिल्लामा माओवादीले तोक्यो संयोजक (सूचीसहित)

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का आठै जिल्लामा जिल्ला समन्वय समितिका संयोजक तोकेको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा काठमाडौंमा बसेको प्रदेश पदाधिकारीको बैठकले सप्तरीमा उमेशकुमार यादव, धनुषामा दीपक यादव, महोत्तरीमा तुलसी ढुंगाना, सिरहामा रामकुमार यादव, सर्लाहीमा कमल बुढाथोकी, रौतहटमा देवेन्द्र पटेल, बारामा अनिल श्रेष्ठ र पर्सामा रामदरेश कुशवाहालाई संयोजक तोकेको हो ।

    सप्तरी र सिरहाका संयोजक यादवद्वय पूर्वमन्त्री हुन् । सिरहा संयोजक बनेका यादव अहिले प्रदेश संसद पनि छन् ।

    प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जको संयोजकमा रहबर अन्सारीलाई बनाउने निर्णय गरिएको छ । सर्लाहीको सह-इन्चार्ज लोचन धिमाल र रामपृत राय एवं धनुषाका सह-इन्चार्ज झल्कु यादवलाई दिएको छ । अन्य जिल्लामा भने सह-इन्चार्ज तोक्न बाँकी छ ।

    बैठकले पार्टीको प्रदेश २ सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रदेश विभाग, जनवर्गीय संगठन र मोर्चा संगठनहरू यथाशीघ्र गठन गर्ने निर्णय पनि भएको माओवादी प्रदेश २ का अध्यक्ष प्रल्हाद बुढाथोकी र सचिव जोगकुमार बरबरियाले संयुक्त विज्ञप्तिमार्फत जनाएका छन् ।

  • अघिल्ला प्रदेश प्रमुखले दुईपटक फिर्ता पठाएका दुई विधेयक पारित, छलफलसमेत गरिएन

    जनकपुरधाम । तत्कालीन प्रदेश प्रमुख राजेश अहिराजले दुईपटक फिर्ता पठाएको दुई विधेयक प्रदेशसभाबाट पारित भएको छ ।

    प्रदेशसभामा छलफल समेत नगरी ‘प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित भएको हो ।

    प्रदेश प्रमुख झाले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने धेरै विषयवस्तु छुटेको भन्दै स्वास्थ्यसम्बन्धी विधेयक र कृषि प्रधान देशमा किसानलाई छाडेको भन्दै पदकसम्बन्धी विधेयक फिर्ता पठाएका थिए ।

    आजको प्रदेशसभा बैठकको कार्यसूचीमा उक्त दुबै विधेयकमाथि सम्बन्धित मन्त्रीले छलफलको प्रस्ताव राख्ने र त्यसपछि पारित गर्ने कार्यसूची थियो । तर सत्तापक्षका सांसदले छलफल गर्न आवश्यक नरहेको बताएपछि विधेयक पारित गरिएको छ ।

    सत्तारुढ नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले तत्कालीन प्रदेश प्रमुख झाले प्रदेशसभाकै अपमान गरेको भन्दै विधेयक छलफल नगरी पारित गर्नुपर्ने बताएका थिए ।

  • मुख्यमन्त्री लालबाबुले पाए विश्वासको मत, सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत

    मुख्यमन्त्री लालबाबुले पाए विश्वासको मत, सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत

    काठमाडौं । प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जसपा विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।

    राउतलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादीबाहेक अन्य दलले समर्थन गरेका कारण उनको सरकार सुरक्षित भएको हो । प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत प्राप्त गरेका छन् । विपक्षमा २३ मत परेको छ । १०४ सदस्यीय प्रदेश सभामा ४ जना सांसद भने अनुपस्थित भएका छन् । 

    प्रदेश नम्बर २ को प्रदेशसभा जम्मा १०८ सदस्यीय रहेकामा चार जना माओवादी सांसदले एमाले रोजेर कारवाहीमा हाल १०४ सांसदमात्र छन् । तीमध्ये ४ जना अनुपस्थित हुँदा राउतको पक्षमा दुई तिहाई वहुमत आएको हो । उनको पक्षमा जसपा,कांग्रेस,नेकपा एस उभिएका छन् ।

  • प्रदेशसभा बैठक साढे तीन बजेसम्मका लागि स्थगित, लोसपाको विरोधबीच मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

    जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । अर्को बैठक आजै साढे तीन बजेका लागि बोलाइएको छ । आजकै बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी छ ।

    जसपाबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ । भदौ ९ मा निर्वाचन आयोगमा लोसपा दर्ता भएको थियो । तर प्रदेश सांसदलाई दल रोज्ने समय आयोगले भदौ २२ गतेसम्मका लागि तोकेका कारण त्यसलाई आधार बनाएर संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्रै मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

    १०४ सांसद रहको प्रदेशसभामा मुख्यमन्त्री राउतको पक्षमा स्पष्ट बहुमत छ । प्रमुख सत्तारुढ जसपाका ३८, सत्तारुढ दलहरु नेपाली कांग्रेसका १९ र नेकपा माओवादी केन्द्रका ८ सांसद छन् । सरकारमा सहभागी हुन तयार अवस्थामा रहेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका १३ सांसद र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद पनि सरकारको पक्षमै रहेका छन् । यो हिसाबले मुख्यमन्त्री राउतले ७९ मत पाउने देखिन्छ ।

    सरकारको विपक्षमा नवगठित लोसपा र नेकपा एमाले मात्र छन् । लोसपाका १६ र एमालेका ८ सांसद रहेका छन् ।

  • मुख्यमन्त्री राउतको प्रश्न- हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार किन पस्यो ? (भिडिओ)

    मुख्यमन्त्री राउतको प्रश्न- हामी प्रदेशका सिंहदरबार हौं, मलाई नसोधी अख्तियार किन पस्यो ? (भिडिओ)

    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धानप्रति आक्रोश व्यक्त गरेका छन् । उनले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।

    प्रदेशसभाको वैठकमा बोल्दै मुख्यमन्त्री राउतले यस विषयमा स्पष्टीकरण दिन लामै समय खर्चिएका थिए । मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै उनले आफूलाई नसोधी अख्तियारले कारवाही गर्न नसक्ने दावी गरे ।

    ‘मलाई जानकारी गराएको भए म जे माग्नुहुन्छ त्यो दिन तयार थिएँ । प्रमुख सचिवलाई पनि जानकारी गराइएको छैन । प्रदेश सरकारलाई बदनाम गराउन षडयन्त्रपूर्वक हामीमाथि अट्याक गरिएको छ,’ उनले भने ।

    आफूले अख्तियारका प्रमुखसँग पनि आफूले कुरा गरेको उनले बताए ।

    उनले थपे, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट र कर्मचारी भए पनि प्रदेशको आफ्नो गरिमा हुन्छ ।’

    ‘अहिले पनि म उहाँहरूलाई सम्मान नै गर्छु । तर, संघीयतालाई समाप्त गर्ने खेल भइरहेको छ । मानिसलाई गलत सन्देश दिने काम भइरहेको छ । यो संस्थामाथिको आक्रमण हो,’ राउतले भने ।

     

  • संघ सरकारले प्रदेश २ लाई बजेटमा विभेद गर्‍यो : मुख्यमन्त्री राउत (भिडिओ)

    संघ सरकारले प्रदेश २ लाई बजेटमा विभेद गर्‍यो : मुख्यमन्त्री राउत (भिडिओ)

    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफूहरूलाई सहयोग नगरेको गुनासो गरेका छन् । अन्य प्रदेशभन्दा कम अनुदान प्रदेश २ लाई संघीय सरकारबाट प्राप्त भएको उनले बताए ।

    आज बसेको प्रदेशसभा बैठकमा सम्वोधन गर्दै मुख्यमन्त्री राउतले संघ सरकारसँग गुनासो गरेका हुन् ।

    उनले भने, ‘अन्य प्रदेशको हकमा आर्थिकदेखि अन्य शीर्षकमा जे-जस्तो विशेष, समपुरक अनुदान सहयोग संघ सरकारबाट भएको छ, त्यो हामीले पाएनौं ।’

    उनले प्रदेश सरकारले बनाएका ऐन-नियमको कार्यान्वयनमा विभिन्न व्यवधान उत्पन्न भइरहेको पनि सुनाए । संघ सरकारका कर्मचारीहरू प्रदेश २ प्रति पूर्वाग्रही बनेको उनको आरोप छ ।

     

  • लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

    लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् ।

    ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।

    पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

    आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत राउतले बताए ।

  • श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न यातायातलाई प्रदेश सांसदको पत्र

    श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न यातायातलाई प्रदेश सांसदको पत्र

    जनकपुरधाम । आफ्नो श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न प्रदेश २ की सांसद प्रमिला यादवले यातायात कार्यालय लहानलाई निवेदन लेखेको खुलासा भएको छ । सप्तरीको राजविराज नगरपालिका-२ घर भएकी यादव माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । उनले श्रीमानलाई आफ्नो स्वकीय सचिव बनाएकी छन् ।

    श्रीमान् अशोक यादव चढ्ने स. ३ प. ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सम्मको कर छुट गरिदिन प्रमिलाले यातायातमा निवेदन लेखेकी थिइन् । निवेदन लिएर १५ दिनअघि अशोक यातायात कार्यालय पुगेका थिए । तर, यातायातका प्रमुख मीन भट्टराईले कर छुटका लागि मन्त्रीस्तरकै निर्णय हुनुपर्ने भनेर पन्छाएकाे स्रोतले बतायो । त्यसदिन अशाेक इन्स्योरेन्स नविकरण मात्र गराएर फर्केका थिए ।

    कर मिनाहा नपाएपछि प्रदेश सांसदले थप जोडबल भने गरिनन् । १५ दिनपछि उनका श्रीमान् फेरि यातायात कार्यालय पुगेर कर चुक्ता गरेर फर्केको बुझिएको छ ।

    सांसद यादवले भने मोटरसाइकलको कर छुट गरिदिन आफूले पत्र नलेखेको दावी गरेकी छन् ।

    उनले नेपाल प्रेससँग भनिन्, ‘३/४ हजार रूपैयाँका लागि यस्तो घटिया काम किन गर्छु ? मेरो श्रीमान्‌ले आफैं करवापतको रकम तिर्नुभएको छ ।’

    ‘१५ दिन अगाडी श्रीमान् मोटरसाइकलको कर र इन्स्योरेन्स गराउन लहान यातायात कार्यालय पुग्नुभएको थियो,’ उनले भनिन्, ‘त्यो दिन इन्स्योरेन्स गराउनुभयो । कर पनि तिरिसक्नुभएको छ ।’

  • प्रदेश २ मा संसदीय दलको नेता छान्न लोसपाले बोलायो बैठक

    प्रदेश २ मा संसदीय दलको नेता छान्न लोसपाले बोलायो बैठक

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर नयाँ दर्ता गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठक बोलाइएको छ ।

    आइतबार दिउँसो २ बजे बोलाइएको बैठकमा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी हुने सांसद प्रमेश्वर साहले जानकारी दिए । बैठकले दलका नेता चयन गर्नेछ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितिबारेको छलफल मुख्य एजेण्डा छ ।

    प्रदेश २ का जसपाका ५५ सांसदमध्ये १६ सांसदले लोसपा रोजेका छन् । संसदीय दलको नेतृत्वको लागि जीतेन्द्र सोनल, सरिता साह र उपेन्द्र महतो दौडधुपमा छन् ।

    सोनल तत्कालीन जसपा संसदीय दलका नेता थिए । महन्थ ठाकुर पक्षमा रहेको भन्दै उनलाई प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रीबाट वर्खास्त गरेको थियो । उनको सम्भावना बलियो छ ।

    लोसपा गठन भएपछि संसदीय दलका नेताको आकांक्षी बढेको र उनीहरू लोकतान्त्रिक प्रक्रियाबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठाएपछि विधान बनाइएको छ । सहमति नजुटे विधानअनुसार चुनावबाटै दलका नेता चयन गरिने नेताहरूले बताएका छन् ।

  • प्रदेश २ : नेकपा एस संसदीय दलको नेतामा शत्रुधन महतो

    प्रदेश २ : नेकपा एस संसदीय दलको नेतामा शत्रुधन महतो

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरिएको छ ।

    प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सनाखत गरेलगत्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए । उनकाअनुसार दलका उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी छ ।

    नेकपा एमालेका संसदीय दलका नेता पनि महतो नै थिए । महतो नेकपा एसमा पुगेपछि एमालेले संसदीय दलका नेता भने चयन गरेका छैन । एमालेले सांसद सत्यनारायण मण्डललाई संसदीय दलका नेता चयन गर्ने चर्चा छ ।

    केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको नेकपा एसले जनाएको छ । तर, कहिले र कतिवटा मन्त्रालयमा सहमति हुने भन्ने टुंगो लाग्न बाँकी रहेको सांसद यादवले जानकारी दिए ।

    प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा एस रोजेका थिए ।

  • प्रदेश २ मा थप एक सांसदको सनाखत, लोसपाका सांसद संख्या १६ पुग्यो

    प्रदेश २ मा थप एक सांसदको सनाखत, लोसपाका सांसद संख्या १६ पुग्यो

    जनकपुरधाम । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनलले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    तत्कालीन राजपाबाट निर्वाचित सांसद सोनल जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् । महन्थ ठाकुर पक्षको रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेका थिए ।

    उनको सनाखतसँगै लोसपाको पक्षका प्रदेशसभा सांसद संख्या १६ पुगेको छ । अब जसपामा २८ सांसद बांकी छन् ।

  • प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत, जसपा छाड्ने सांसद १५ पुगे

    प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत, जसपा छाड्ने सांसद १५ पुगे

    जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसदहरु रानी शर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् ।

    उनीहरुलाई सनाखत गराउन प्रदेशका पूर्वमंत्री एवं सांसद जितेन्द्र सोनल निर्वाचन कार्यालय पुगेका थिए । तर उनले अझै सनाखत गराएका छैनन् ।

    तत्कालीन राजपाकी सांसद शर्मा उपेन्द्र यादव समूहमा गएकी थिइन् । लोसपा अध्यक्ष महन्थ ठाकुर उनलाई आफ्नो पार्टीमा सनाखत गराउन सफल भएका छन् ।

    यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब लोसपामा १५ सांसद पुगेका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका सांसद सोनलले पनि लोसपाकै पक्षमा सनाखत गर्नेछन् ।

  • प्रदेश २ मा एकीकृत समाजवादीका सांसद १३ पुगे, विश्वकर्मा र गुरुङ पनि गरे सनाखत

    प्रदेश २ मा एकीकृत समाजवादीका सांसद १३ पुगे, विश्वकर्मा र गुरुङ पनि गरे सनाखत

    जनकपुरधाम । नेकपा एमालेका सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

    दुवै सांसदले आज जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरुलाई सांसद शत्रुधन महतोले निर्वाचन कार्यालय लगेका थिए ।

    प्रदेश २ मा एमालेका २१ सांसद थिए । जसमध्ये ११ जनाले शुक्रबार नै एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्।

    यस प्रदेशमा एमालेका ८ सांसद बाँकी छन् ।

  • प्रदेश २ मा एमालेका ११ सांसदको एकीकृत समाजवादीमा सनाखत (सूचीसहित)

    प्रदेश २ मा एमालेका ११ सांसदको एकीकृत समाजवादीमा सनाखत (सूचीसहित)

    जनकपुरधाम । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

    जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । १० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने डिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गरेका छन् ।

    सांसद शत्रुधन महतोले भने, ‘जसरी झलनाथ खनाल कमरेड दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि सनाखत भएको छ ।’

    प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । माधव पक्षका भनिएका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले भने सनाखत गराएनन् । उनीहरु अहिले काठमाडौंमा छन् । महतोले उनीहरुको भोलिसम्ममा सनाखत हुने बताए ।

    आज सनाखत गराउने सांसदहरु

    १) शत्रुधन महतो
    २) अशोक यादव
    ३) प्रमोद यादव
    ४) मदनसेन श्रीवास्तव
    ५) नागेन्द्र यादव
    ६) गोविन्द न्यौपाने
    ७) रवीन्द्र बैठा
    ८) मञ्जु यादव
    ९) हसिना खातुन
    १०) बेची लुङ्गेली
    ११) डिल्ली उप्रेती

  • प्रदेश २ मा लोसपा रोज्ने सांसद १२ पुगे, थप दुईको सनाखत

    प्रदेश २ मा लोसपा रोज्ने सांसद १२ पुगे, थप दुईको सनाखत

    जनकपुरधाम । जसपाका साँसदद्वय डिम्पल झा र प्रल्हाद गिरी ‘गोस्वामी’ ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    महन्थ ठाकुरनिकट सांसद जितेन्द्र सोनलले दुवै सांसदलाई जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय लगेर सनाखत गराएका हुन् । गिरी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हुन् भने झा तत्कालीन राजपाको समानुपातिकतर्फका सांसद हुन् ।

    साँसद झा लोसपा नेता अनिल झाका श्रीमती हुन् । महन्थ ठाकुर पक्षमा रहेको भन्दै मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट उनलाई बर्खास्त गरेको थियो ।

    उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरमबाट यस प्रदेशमा २९ जना निर्वाचित भएका थिए । राजपाका २५ सांसद थिए ।

    यसअघि हिजो जसपाका १० सांसदले लोसपाको पक्षमा सनाखत गराएका थिए । आज झा र गिरीको सनाखतपछि लोसपामा १२ सांसद पुगेका छन् । सोनल, उपेन्द्र महतो, अभिराम शर्मालगायतले सनाखत गर्न बाँकी छ ।

  • नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने, मन्त्रालय बाँडफाँटको जिम्मा केन्द्रलाई

    नेकपा एस प्रदेश २ सरकारमा सहभागी हुने, मन्त्रालय बाँडफाँटको जिम्मा केन्द्रलाई

    जनकपुरधाम । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा एक साताभित्रै सहभागी हुने भएको छ ।

    निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधिलाई भदौ २२ सम्मको समय दिएको छ । सो समयभित्र दल रोजेर नेकपा एकीकृत समाजवादीले प्रदेश २ सरकारमा सहभागी हुने बताएको छ ।

    नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतो छन् । उनी भन्छन्, ‘अहिले त एमालेमै छु । निर्वाचन आयोगमा सनाखत गरी एकीकृत समाजवादी पार्टी रोज्छौं । त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागी हुन्छौं ।’

    ‘सबै प्रदेश सरकारमा सहभागी हुने कुरा पार्टी अध्यक्ष माधव नेपाल कमरेड नै भनिसक्नुभएको छ’, उनले भने, ‘तर कहिले जाने भन्ने कुराको टुङ्गो अहिले लागेका छैन ।’ मन्त्रालय बाँडफाँटको कुरा केन्द्रले नै मिलाउने उनले बताए ।

    प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जना माधव नेपाल नेपालनिकट हुन् । उनीहरू सबैजना निर्वाचन आयोगमा सनाखत गरेर एकीकृत समाजवादी रोज्ने दावी गरिएको छ ।

    माधव नेपाल गुटमा रहेका कतिपय सांसद कुन दल रोज्ने विषयमा बोल्न मानेका छैन । सांसद सुन्दरबहादुर विश्वकर्माले भने, ‘भदौ २१ गते सनाखत गर्छु । त्यसपछि थाहा पाइहाल्नुहुन्छ ।’

    स्रोतका अनुसार कतिपय सांसद एमालेमै रहन छलफलमा छन् ।

  • पदभारलगत्तै अर्थमन्त्री साहले गरे ४ प्रतिबद्धता

    पदभारलगत्तै अर्थमन्त्री साहले गरे ४ प्रतिबद्धता

    जनकपुरधाम । अबदेखि यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको राजस्व उठाइने भएको छ । नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले सोसम्बन्धी नीतिगत निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् ।

    मन्त्रालयका सचिव काशिराज दाहालका अनुसार ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्यांकनको राजस्व लिने र पहिले राखिएको धितो मुल्यांकनको राजस्व फिर्ता गर्ने नीतिगत निर्णय भएको छ ।्

    प्रदेश सरकारको सञ्चित कोषमा रकम बढाउने उद्देश्यले ऋण बढोत्तरी गर्दा धितो मूल्यांकनको थप राजस्व असुल गरिनेछ । निर्णयअनुसार राजस्व उठाउन सम्बन्धित कार्यालयलाई सोमबार पत्राचार गरिने बताइएको छ ।

    अर्थमन्त्री साहले वित्तीय अनुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन् । उनको थप चार प्रतिबद्धता यस्तो छ-

    – अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब हुँदैन । शीघ्रातिशीघ्र विनियोजित बजेट निकासा हुन्छ ।

    – कुनै पनि मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गरिनेछ ।

    – योजना कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।

    – मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकता दिइनेछ । कृषिमा आधारित अर्थतन्त्रको विकास गरिनेछ ।

  • अर्थमा ‘सरुवा’ भएका मन्त्री साहले जिम्मेवारी सम्हाले

    अर्थमा ‘सरुवा’ भएका मन्त्री साहले जिम्मेवारी सम्हाले

    जनकपुरधाम । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा ‘सरुवा’ भएका मन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरे ।

    आज बिहान कृषि मन्त्रालयमा पुगेका मन्त्री साहलाई कर्मचारीहरूले बिदाई गरेका थिए । लगत्तै उनले मधेस भवनभित्रै रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    यता, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री विजयकुमार यादवले भने भोलि वा पर्सिमात्र पदभार ग्रहण गर्ने बुझिएको छ ।

    मन्त्री यादवनिकट एक नेताले भने, ‘मिडियामा राजीनामा दिने हल्ला फैलाइएको छ । त्यसमा कुनै सत्यता छैन । पार्टीको निर्णय अनुसार मन्त्रालय हेरफेर गरिएको छ ।’ कृषि मन्त्रालयमा मन्त्री साहको कार्यसम्पादन मूल्यांकन कमजोर देखिएकाले माथि उकास्न मन्त्री यादवलाई पठाएको ती नेताको दावी छ ।

    मन्त्रालय हेरफेर गरिएका दुवै मन्त्री जनता समाजवादी पार्टी (जसपा) का हुन् । यादव सिरहा र साह सप्तरीमा अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

  • नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई स्वागत गर्न जनकपुरधाममा नेता-कार्यकर्ताको प्रतिस्पर्धा

    नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई स्वागत गर्न जनकपुरधाममा नेता-कार्यकर्ताको प्रतिस्पर्धा

    जनकपुरधाम । नवनियुक्त प्रदेश-२ का प्रमुख हरिशंकर मिश्र काठमाडौंबाट जनकपुरधाम आएपछि विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    मिश्रलाई स्वागत गर्न ठूलो संख्यामा नेपाली काँग्रेसका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए । माला लगाउन नेता कार्यकर्ताहरूबीच प्रतिस्पर्था नै चल्यो । भीडबाट प्रदेश प्रमुख मिश्रलाई निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

    सोमबार शेरबहादुर देउवा सरकारले प्रदेश प्रमुख डा राजेश अहिराजलाई पदमुक्त गरी मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका नवनियुक्त प्रदेश प्रमुख मिश्र आज मधेस भवन पुगेर पदभार ग्रहण गरे । महोत्तरी निवासी मिश्र नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद पनि हुन् ।

  • प्रदेशमन्त्री यादवले ‘ब्याक डेट’ मा गरे सल्लाहकार नियुक्त

    प्रदेशमन्त्री यादवले ‘ब्याक डेट’ मा गरे सल्लाहकार नियुक्त

    जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जीवनाथ चौधरीलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।

    मन्त्री यादवले असार २० गते नै चौधरीलाई सल्लाहकारमा नियुक्त गरेको नियुक्तिपत्र सार्वजनिक भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधीनिकट उनलाई मन्त्री यादवले ‘ब्याक डेट’मा नियुक्त गरेको स्रोतले जनाएको छ ।

    चौधरी जनकपुरको रामानन्द चोकमा रहेको होटल सीता प्यालेसका संचालक र मैथिली विकास कोषका अध्यक्षसमेत हुन् । उनी तत्कालीन जिल्ला विकास समितिका सह-लेखापाल थिए ।

    नेपाली कांग्रेसका संसदीय दलका नेता यादव जेठ २६ मा मन्त्री बनेका हुन् । उनी मन्त्री भएलगत्तै चौधरी अध्यक्ष रहेको मैथिली विकास कोषको भवन निर्माण तथा अन्य निर्माण कार्यका लागि ९० लाख बजेट उपलब्ध गराएको छ ।

  • प्रदेश २ सरकारमा माओवादी पनि सहभागी, भोली दुई मन्त्रीको शपथग्रहण

    प्रदेश २ सरकारमा माओवादी पनि सहभागी, भोली दुई मन्त्रीको शपथग्रहण

    जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने निश्चित भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो ।

    अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमती भएपछि सरकारमा जान लागेको माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए । उनका अनुसार दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय पनि भइसकेको छ । भोली ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर ठूला दुई मन्त्रालय मागेपछि सहमति नबन्दा माओवादी सरकारमा सहभागी भएको थिएन ।

  • प्रदेश २: बजेटमा भएको त्रुटि सच्याउने मुख्यमन्त्रीको प्रतिवद्धता, प्रदेशसभा बैठक सुचारु

    प्रदेश २: बजेटमा भएको त्रुटि सच्याउने मुख्यमन्त्रीको प्रतिवद्धता, प्रदेशसभा बैठक सुचारु

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अगामी आर्थिक वर्षको बजेटमा त्रुटि स्वीकार गर्दै सच्याउने प्रतिवद्धता जनाएपछि प्रदेशसभा बैठक सुचारु भएको छ ।

    प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निरन्तर संसद अवरुद्ध गर्न थालेपछि प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले जवाफ दिँदै बजेट सच्याउने प्रतिवद्धता जनाएका हुन् । उनले भने, ‘आवश्यक समन्वय अभावमा बजेटमा सबैको आकांक्षा बमोजिम योजनाहरु समावेश भएको छैन । म विश्वास दिलाउन चाहन्छु कि मन्त्रीपरिषदबाट सुधार गर्छौ ।’

    बजेटमा करिब साढे ५ अर्ब रुपैयाँ अबण्डा रकम राखिएको विषयमा उनले पारदर्शी रुपमा बण्डा गरिने बताए । ‘अबण्डा रकम गलत ढंगले वितरण गरिने छैन’ उनले प्रतिपक्षी दललाई विश्वास दिलाए । उनले बजेट सर्वसम्मत रुपमा पास गर्न पनि अनुरोध गरेका छन् ।

    मुख्यमन्त्री राउतले संसद पुनःस्थापना गर्ने अदालतको फैसलालाई सदनमै स्वागत समेत गरे ।