Tag: प्रतिकुल माैसम

  • यास चक्रपातको असर अझै केहि दिन, शनिबारदेखि क्रमिक सुधार हुने

    यास चक्रपातको असर अझै केहि दिन, शनिबारदेखि क्रमिक सुधार हुने

    काठमाडौं । बंगालको खाडीबाट विकसित भएको यास चक्रपातका कारण नेपालमा तीन दिनदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार यास चक्रपात पश्चिमउत्तरबाट पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मौसम कमजोर भइ वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर वर्षा हुनेछ । शुक्रबार भारी बर्षाको सम्भावना छ भने शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । यद्यपि शनिबार र आइतबार पनि देशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य सबै क्षेत्रमा वर्षा, उच्च बेगको हावाहुरी, पहाजी जिल्लामा मध्यम हिमपात र हिमालमा भारी हिमपातको सम्भावना छ ।

    शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । शनिबार देशभरको मौसम बदली रहने र हावाहुरीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षा हुनेछ ।

    आइतबार बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना छ । चट्याङ र मेघगर्जनसहितको वर्षा हुनेछ ।

  • समयमा पानी नपर्दा यस वर्ष चिया उत्पादन घट्यो, निकासीमा कोरोना झमेला

    समयमा पानी नपर्दा यस वर्ष चिया उत्पादन घट्यो, निकासीमा कोरोना झमेला

    इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन ।

    चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो ।

    गत वर्ष तीन हजार किलो हरियोपत्ती संकलन गरेका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादन घट्यो। सायद फागुनमा पानी परेको भए यो समस्या हुन्थेन,’ उनले भने ।

    चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन ।

    अघिल्ला वर्षमा पनि यही सिजनको पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले बताए ।

    ‘पानीको त मुख्य समस्या नै भयो तर मल अभाव हुँदा पनि चिया घटेको छ,’ कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु प¥यो ।

    निकासीमा उस्तै लफडा

    उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन ।

    कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि सङ्ख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुन्थ्यो,’ सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’

    चिया लैजानु पूर्व एकपटक चियाको नमूना लैजानु पर्छ तर यसपटक पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिले नै ‘स्याम्पल’का रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन ।

    देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरिदकर्ताले चाहेको समयमा चिया पु¥याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७–०७८ मा ९ हजार ५ सय ७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ ।

    गत आर्थिक वर्ष ०७६र०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट दुई अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

    रासस