Tag: प्रकाशमान-विमलेन्द्र-शशांक

  • तीन नेताको तीन छाक खाना तर अपूरै छ मिल्ने चाहना

    तीन नेताको तीन छाक खाना तर अपूरै छ मिल्ने चाहना

    काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र नेताहरूबीच भेटवार्ताले तीव्रता पाएको छ ।

    सभापति शेरबहादुर देउवाले एक कार्यकाल दोहोरिने इच्छासहित केन्द्रीय सदस्यहरूसँग प्रदेशगत रूपमा छलफल गरेपछि बाक्लिएको कांग्रेस नेताहरूको भेटवार्ताको क्रम बढेको छ ।

    सभापतिमा दावी गरिरहेका सबैजसो नेताहरू दिनहुँ भेटवार्तामा व्यस्त छन् । सोमबार बिहानै नेता कृष्णप्रसाद सिटौंलाले पार्टीका युवा नेताहरूसँग छलफल गरे भने दिउँसो सुजाता कोइराला निवासमा वरिष्ठ रामचन्द्र पौडेलसहित छलफलमा जुटे । वरिष्ठ नेता पौडेलले सुजाता निवास जानुअघि आफ्नै निवासमा डा. शेखर कोइरालासँग छलफल गरिसकेका थिए भने साँझ प्रकाशमान सिंहसँग पनि संवाद भएको थियो । मंगलबार उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले तेस्रो ‘लञ्च मिटिङ’गरे ।

    उनीहरूबीच असार ७ गते सोमबार निधि निवास र असार ११ गते शुक्रबार कोइराला निवासमा दुई चरण ‘लञ्च मिटिङ’ भइसकेको थियो । कांग्रेसको पुराना नेताहरूका पुत्र भएका कारण नेतात्रयको बैठकलाई कांग्रेसवृत्तमा चासोका साथ हेरिएको छ । तर परिणामका दृष्टिले नेतात्रयको ३ छाक खानाको बैठक उपलब्धीपूर्ण देखिँदैन ।

    निधि, कोइराला र सिंह तीनैजनाले आसन्न महाधिवेशनमा सभापति लड्ने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा कोइराला र सिंह रामचन्द्र पौडेल नेतृत्वको समूहमा थिए भने निधि सभापति शेरबहादुर देउवा नेतृत्वको समूहमा थिए । अहिले पनि आफूलाई संस्थापन तर्फकै उम्मेदवार बनाउन निधिको प्रयास जारी छ । यद्यपि सभापति देउवाले ‘निधिलाई पनि सभापति लड्ने अधिकार रहेको’ बताएपछि संस्थापनभित्र निधिको उम्मेदवारीबारे नयाँ कोर्स सिर्जना भएको छैन ।

    नेताहरुबीच निरन्तर संवाद हुनु स्वभाविक हो । यद्यपि महाधिवेशनको बेला संवाद बढ्दै जाने तर सहमति टर्दै जाने हो भने उपलब्धी शून्य हुने सम्भावना बढी रहन्छ ।

    ‘शेरबहादुर दाइले म नै लड्छु भनिसकेपछि कसैले विरोध गरेको अवस्था छैन । निधिलाई पनि मिलाएर लैजान सुझाव दिएका थियौं तर त्यसमा सभापतिको रुची देखिएन’,देउवानिकट एक नेताले भने । ती नेताका अनुसार महाधिवेशनको अन्तिम चरणसम्म निधिलाई मनाउने वा निधि रिक्तता पौडेल समूहका नेतालाई ‘रिझाएर’ पूर्ति गर्ने देउवाको योजना छ ।

    यता सभापतिमा उम्मेदवार बनेका तीन नेता भने आपसी बैठकमै व्यस्त छन् । तीन पटकको लञ्च बैठकमा समसामयिक राजनीतिको समिक्षा , महाधिवेशन तयारी र सबैसँग सल्लाह गर्ने बाहेकका औपचारिक धारणा नेतात्रयले सार्वजनिक गरेका छैंनन् । यद्यपि आफूहरुको बैठकले कार्यकर्तामा उत्साह भरेको उनीहरुको दावी छ ।

    ‘हामीले छलफल थालेको पार्टीभित्र सहमति, सहकार्य र एकतालाई बल पुर्‍याउन हो । देशभरका नेता कार्यकर्ताले यसलाई सकरात्मक रुपमा लिनुभएको छ । त्यसैले हामीले छलफलको दायरा बढाएर अरुसँग पनि परामर्श गर्दैछौं’,पूर्वमहामन्त्री सिंहको भनाइ छ । नेतात्रयले शुक्रबार टोखामा पार्टीका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । भेलामा पार्टीको महाधिवेशन सफल बनाउने र अधिकतम एकता कायम गर्ने भन्नेमा छलफल हुनेछ ।

    नेतात्रयको बैठकका औपचारिक विषय सार्वजनिक हुँदा आम कार्यकर्ताको चासो भने नेतृत्वमै छ । तीनजना मिलेर जान्छन् वा को सभापतिको उम्मेदवार बन्छ ? भन्नेमा धेरैको चासो छ । नेताहरु भने अहिले नै फल नपाकेको बताउँछन् । ‘सभापतिको उम्मेदवार हुनकै लागि हामीले छलफल गरिरहेका हौं । हामी तीन जनाले निर्णय गर्दैमा हुने पनि होइन नि । यसबारे सबैसँग छलफल हुनै बाँकी छ । अहिले पाकिसकेको छैन, काँचो फल खान नि भएन नि’, सिंहले भने ।

    नेतात्रयबीच निरन्तर छलफल भएपनि न्यूनतम सहमति बनिसकेको छैन । खासगरी एकले अर्काको नेतृत्व स्वीकार्ने स्थिति अझै बनिसकेको देखिँदैन । ‘तीनैजनाले मै सभापति लड्छु भनेपछि यस्तो छलफलबाट के निष्कर्ष निस्कन्छ र । यो त पोलिटिकल सन्देश दिने कुरा हो’, नेतात्रयनिकट एक नेताले भने । नेतात्रयको श्रृखंलाबद्ध छलफललाई अन्य नेताहरूले पनि चासोका साथ हेरेका छन् ।

    पौडेल पक्षको बैठकमा केही केन्द्रीय सदस्यहरूले बैठकबारे जानकारी गराउन अनुरोध नै गरेका थिए । वरिष्ठ नेता पौडेलले त सार्वजनिक रुपमै सभापति देउवाको कमजोरीका सारथी निधि पनि भएकोले निधिसंगको सहकार्यबारे विचार गर्न कोइराला र सिंहलाई सचेत गराएका छन् । कोइरालाले आफूहरुले थालेको प्रयास कसैका विरुद्ध नभई पार्टी एकताको पक्षमा रहेको बताउने गरेका छन् । ‘हामी कसैको विरुद्धमा छैनौं । पार्टीभित्र कसरी अधिकतम सहमति बनाउने भनेर हामीले छलफलमात्रै गरेका हौं । सबै कुरा मिल्यो भने महाधिवेशनमा सहकार्य हुन्छ’, कोइरालाको भनाइ छ । यद्यपि महाधिवेशनसम्म सहकार्यको सम्भावनाको ढोका खुलिसकेको देखिँदैन ।

    कांग्रेस नेताहरूसँग लामो संगत गरेका विश्लेषक पुरञ्जन आचार्य निधि, कोइराला र सिंहको संवाद श्रृखंला ‘लञ्च’मै सीमित हुने दावी गर्छन् । ‘तीनैजनाको आकांक्षा र तयारी हेर्दा एकले अर्कालाई स्वीकार्ने अवस्था रहँदैन । अन्तिमम आ-आफ्नै बाटो लाग्ने सम्भावना बढी देख्छु’, आचार्यले नेपाल प्रेससँग भने । उपसभापति निधि १२ औं महाधिवेशनमा महामन्त्रीमा सिंहसँग पराजित भएका थिए ।

    सिंहले २०७४ को निर्वाचनपछि संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गरेका थिए । सो प्रतिस्पर्धाका दौरान सिंहले कोइरालाबाट पर्याप्त सहयोग भएको महसुस गरेनन् । यस्तै व्यक्तिगत कारणहरुले पनि हालसम्म नेतात्रयलाई सहज राजनीतिक सहकार्य गर्न रोकिरहेको थियो । आपसमा सल्लाह गरेर पार्टीभित्र प्रभाव बढाउन नयाँ प्रयत्न गर्न खोजिएपनि कसको नेतृत्वमा अगाडि बढ्ने भन्नेमै द्विविधा देखिन्छ । यहीकारण शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएर नेतात्रयले महाधिवेशनबारे छलफल गर्दैछन् । ‘उहाँहरू कांग्रेसको सम्मानित नेताहरू हुनुहुन्छ तर तीनजनाले लञ्च गर्दैमा कांग्रेसको कायापलट हुन्छ भन्ने ठान्नु कमजोरी हुनेछ’, नेतात्रयको क्रियाशीलताप्रति कटाक्ष गर्दै एक नेताले भने ।

    नेताहरुबीच निरन्तर संवाद हुनु स्वभाविक हो । यद्यपि महाधिवेशनको बेला संवाद बढ्दै जाने तर सहमति टर्दै जाने हो भने उपलब्धी शून्य हुने सम्भावना बढी रहन्छ ।

  • नेतात्रयको लञ्च मिटिङ : शुक्रबार केन्द्रीय सदस्यहरूको भेला डाकियो

    नेतात्रयको लञ्च मिटिङ : शुक्रबार केन्द्रीय सदस्यहरूको भेला डाकियो

    काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरू भेटघाट र छलफलको दौडधुप बढेको छ । यही क्रममा ३ प्रभावशाली नेताहरू आज पनि छलफलमा जुटेका छन् ।

    काठमाडौं । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा जुटेका तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् ।

    उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला आज बिहान सिंहको घरमा ‘लञ्ज मिटिङ’मा बसेका थिए । महाधिवेशनमा केन्द्रित भई छलफल गर्न टोखास्थित कोइराला निवासमा केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय भएको पूर्वमहामन्त्री सिंहले जानकारी दिए ।

    नेताहरू रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग पनि छुट्टै छलफल गर्ने निष्कर्षका साथ नेताहरू उठेका छन् । साथै १३ औं महाधिवेशनमा नेतृत्वका आकांक्षीहरूसँग पनि छलफल थाल्ने बताइएको छ ।

  • प्रकाशमान निवासमा विमलेन्द्र र शशांकसहितको ‘लञ्च मिटिङ’

    प्रकाशमान निवासमा विमलेन्द्र र शशांकसहितको ‘लञ्च मिटिङ’

    काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरू भेटघाट र छलफलको दौडधुप बढेको छ । यही क्रममा ३ प्रभावशाली नेताहरू आज पनि छलफलमा जुटेका छन् ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला ‘लञ्ज मिटिङ’ मा बसेका छन् ।

    कांग्रेसभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका उनीहरूबीच महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि दुईपटक नेतात्रयबीच छलफल भइसकेको छ ।