Tag: पृथ्वीजयन्ती

  • जनकपुरमा रथयात्रा निकालेर मनाइयो पृथ्वी जयन्ती

    जनकपुरमा रथयात्रा निकालेर मनाइयो पृथ्वी जयन्ती

    जनकपुरधाम । नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले ३००औं पृथ्वी जयन्तीको अवसरमा जनकपुरधाममा आज बिहान ब्याण्डबाजासहित रथयात्रा निकालेको छ ।

    सिंगारिएको रथमा पृथ्वीनारायण शाहको ठूलो तस्बिर राखेर जनकपुरधामको विभिन्न भागमा परिक्रमा गरिएको छ । समाजका अध्यक्ष प्रकाश राणाको नेतृत्वमा रहेको रथयात्राका सहभागीले ‘हिन्दू राष्ट्र कायम गर’, ‘राजा आऊ हिन्दू धर्म बचाऊ’, ‘हिन्दू धर्मको रक्षा गर’ जस्ता नारा लगाएका छन् ।

    अध्यक्ष राणाले सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा नदिएकोमा आपत्ति जनाए ।

  • पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

    पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

    काठमाडौं । तीन सयौँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८ मनाउन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ ।

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीनओटै प्रज्ञा-प्रतिष्ठानका उपकुलपतिहरू क्रमशः जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान र ललितकला प्रज्ञा-प्रतिष्ठानका सचिवहरू क्रमशः श्यामप्रकाश तमोट र विपिन घिमिरे एवं सांस्कृतिक संस्थानका अध्यक्ष र महाप्रबन्धक क्रमशः प्रेमनाथ अधिकारी र अशोक प्यासी राई सदस्य तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका सचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ सदस्य सचिव रहेको मूल व्यवस्थापन समिति गठन भएको हो ।

    प्रतिष्ठानका अनुसार बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ‘पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार-गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सांस्कृतिक कार्यक्रम संयुक्तरूपमा आयोजना गर्ने निर्णय गरेको छ ।

    रासस

  • यसरी मनाइयो एकता दिवस (फोटो फिचर)

    यसरी मनाइयो एकता दिवस (फोटो फिचर)

    काठमाडौं । सोमबार राजधानीमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । झाँकी, धिमे बाजागाजासहित रत्नपार्कदेखि सुरु भएको एकता र्‍याली सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिक अगाडि आइपुगेको थियो । र्‍यालीमा सहभागी ले शालिकमा मालार्पण गर्दै पृथ्वीनारायण शाहको योगदानको चर्चा गरे ।

       

    र्‍यालीमा राजसंस्था समर्थकको बाहुल्य थियो । र्‍याली भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि आउन लाग्दा प्रहरीले रोकेपछि सामान्य झडप समेत भएको थियो । उक्त अवसरमा आयोजित भेलामा बोल्दै अभिनेत्री मनिषा कोइराले राष्ट्रिय एकतामा शाहको योगदान उच्च रहेको भन्दै इतिहास र संस्कृतिलाई सम्मान गर्नुपर्ने बताइन् । उनले इतिहासलाई सम्मान गर्नु नागरिकको कर्तव्य भएको बताउँदै सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।

    राष्ट्रिय एकता दिवस मूल समारोहको आयोजनामा भएको उक्त र्‍यालीमा राष्ट्रिय झन्डा र पोशाक लगाएर सहभागि थिए ।

            
    
  • जंगी अड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ स्थापना

    जंगी अड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ स्थापना

    काठमाडौं । नेपाली सेनाका संस्थापक समेत मानिने तत्कालीन राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीका अवसरमा नेपाली सेनाको जंगी अड्डामा सलामी तथा सम्मान अर्पण गरिएको छ ।

    जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरेको सेनाले जनाएको छ ।

    अध्ययन केन्द्रमा पृथ्वीनारायण शाहका दिव्योपदेशदेखि नेपाल एकीकरणसम्बन्धी विभिन्न लडाइसँग जोडिएका सामग्री रहनेछन् ।

    पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधान सेनापतिले जंगी अड्डास्थित शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

    सेनाले पृथ्वीजयन्तीकै अवसरमा गोरखादेखि काठमाडौंसम्म पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको बाटोमा पदयात्रा गरेको थियो । पदयात्राको टोली आइतबार काठमाडौं आइपुगेको थियो ।

  • पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्न मनिषा कोइरालाको आह्वान

    पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्न मनिषा कोइरालाको आह्वान

    काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ आंै जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आह्वान गरेकी छन् ।

    नागरिकस्तरबाट गठित राष्ट्रिय एकता दिवस समारोह समितिमा समेत रहेकी कोइरालाले स्वाभिमानी नेपाली नागरिकलाई पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्न आग्रह गरेकी हुन् ।

    पुस २७ गते शाहवंशीय राजतन्त्रका संस्थापक वडा महाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जयन्ती हो । गणतन्त्रप्रति पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन छाडिए पनि पछिल्लो समय नागरिकस्तरबाट पृथ्वी जयन्तीमा विदा दिन र पर्वका रुपमा मनाउन दबाब बढिरहेको छ ।

    भोलि विहान ११ बजे शान्तिवाटिका रत्नपार्कमा भेला भएर पञ्चेबाजा र धिमे वाजागाजाको झाँकी सहित पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको कोइरालाले बताएकी छन् ।

    उनले भनेकी छन्– ‘उहाँको अतुलनीय योगदानका निमित्त यही पौष २७ गते दिनको ठीक ११ बजे शान्तिवाटिका रत्नपार्कमा भेला भएर, हाम्रो मौलिक पहिचान पन्चेबाजा , झांकी, धीमे वाजागाजासहित सिंघदरवार स्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै उहाँप्रति सम्मान प्रकट गर्न समस्त स्वाभिमानी नेपाली नागरिकहरुमा हार्दिक आव्हान गर्दछु ।’

  • गोरखामा तीन दिन पृथ्वीजयन्ती मनाइने, पुस २७ मा बिदा

    गोरखामा तीन दिन पृथ्वीजयन्ती मनाइने, पुस २७ मा बिदा

    गोरखा । गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

    नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उनको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाइमा सरसफाइ, खेलकूद, दीप प्रज्वलनलगायत कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । कार्यक्रमअन्तर्गत पुस २६ गते नगरपालिकाभित्रका सबै वडामा सरसफाइ कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए ।

    ‘नेपाल चेम्बर अफ कर्मससँगको सहकार्यमा सोही दिन गोरखा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि गरिनेछ’, उनले भने, ‘पुस २७ गते गोरखा युथ क्लबको संयोजनमा द्रव्य शाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुला दौड प्रतियोगिताको आयोजना गर्ने तय भएको छ ।’

    त्यस्तै पुस २७ गते सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए । दिवसका अवसरमा पुस २८ गते गोरखा जेसिसको अगुवाइमा वक्तृत्वकला प्रतियोगितासहित खेलाडी सम्मान र पुरस्कार वितरण कार्यक्रम गरिने उनको भनाइ छ ।

    नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते एक दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिए । रासस