काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाली खेलकुदमा बजेट पर्याप्त नभएको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को १३औं साधारण सभालाई सम्बोधन गर्दै पौडेलले ‘बजेटको विषयमा गरिँदै छ’ भन्ने कुरा नबुझेको उनले बताए ।
“बजेटको क्षेत्रमा हेर्ने हो भने, हामी खेलकुदमा के गर्दैछौं मैले बुझ्न सकेको छैन,” उनले भने, “म खेलकुद मन्त्री हुँदा २०७० सालमा त्यो मन्त्रालयको कूल बजेट ७९ करोडको हाराहारीमा थियो । म १७ महिना मन्त्री भएर निस्किँदा ३ अरब १४ करोड पुगेको थियो ।”
नेपालमा मन्त्रालय वा कुनै पनि क्षेत्रको बजेट प्रत्येक वर्ष १० प्रतिशत वृद्धि हुँदै जाने चलन रहेको उनले बताए । तर, खेलकुद मन्त्रालयको बजेट खुम्चिँदै आइरहेको उनले गुनासो गरे ।
“२०७२ सालमा ३ अरब हाराहारीमा पुगेको बजेट अहिले डेढ अरबमा झरेको छ,” उनले भने, “यो के गर्दैछौं हामी ? खेलकुदलाई कसरी बुझ्दै छौं हामी ?”सरकारले खेलकुद क्षेत्रको मागलाई बुझ्न नसकेको उनले बताए ।
“खेलकुद क्षेत्रको माग, भोल्युम हेर्नुस्, खेलकुद क्षेत्रकाे व्यापकता हेरौं, खेलकुद क्षेत्रको ग्ल्यामर हेरौं, यति धेरै आकर्षण पैदा भएको छ, तर, बजेट खुम्चिँदै–खुम्चिँदै आइरहेको छ, यो आश्चर्य जनक ठाउँमा आइपुगेको छ,” उनले भने, “यस्तो तरिकाले खेलकुदको विकास हुन सक्दैन । हाम्रो खेलकुद नेतृत्वले इच्छाशक्तिमा वृद्धि गर्नुपर्छ र कम्तिमा पनि एक प्रतिशत बजेट खेलकुदमा लगानी गर्नुपर्छ ।”
नेपालको कूल बजेटको एक प्रतिशत मात्रै लगानी गर्ने हो भने पनि १२÷१५ अर्ब हुने र त्यसले खेलकुदमा चमत्कारी विकास हुने उनले बताए । त्यसो गर्ने हो भने फुटबल मात्रै होइन, भलिबल, मार्सल आर्ट्स र अन्य खेल पनि व्यवसायिक हुनसक्ने र पूर्वाधारमा पनि चमत्कारी विकास हुने उनले विश्वास व्यक्त गरे ।
तर, सरोकारवालाले खेलकुद बुझ्न नसकेको तितो यथार्थ रहेको उनले गुनासो गरे । “हामीले खेलकुद भनेको केही पूर्वाधार बुझ्छौं, पूर्वाधारले मात्रै फुटबलको विकास हुन्छ ? हुँदैन ,” उनले भने, “विकासका लागि खेलाडी उत्पादन गर्नुपर्छ, तिनीहरुलाई दक्षता विकास गराउनु पर्यो, तालिम दिनुपर्यो, प्रतियोगितामा खेलाउनु पर्यो, अन्तर्राष्ट्रिय स्तरमा खेल्न पठाउनु पर्यो, अनि मात्रै खेलकुदको विकास हुन्छ । तर, त्यसका लागि बजेटको आवश्यकता पर्छ ।”
खेलकुदको विकासका लागि इच्छाशक्ति पछि दोस्रो महत्त्वपूर्ण कुरा रहने उनले बताए ।
