Tag: पूर्वराजा ज्ञानेन्द्र शाह

  • पूर्वराजाको अभिव्यक्तिसँग किन तर्सन्छन् गणतन्त्रवादी ?

    पूर्वराजाको अभिव्यक्तिसँग किन तर्सन्छन् गणतन्त्रवादी ?

    काठमाडौं । देशलाई दसैंले छपक्क छोपेका बेला सामाजिक सञ्जाललाई गफिने ताजा विषय मिलेको छ । पूर्वराजा ज्ञानेन्दको दसैं शुभकामनामा राजनीतिक धारणाहरु अभिव्यक्त भएपछि गणतन्त्रवादीहरु उत्ताउलो प्रतिक्रिया जनाइरहेका छन् ।

    पूर्वराजाले आफ्नो भिडियो सन्देशमा भनेका थिए– ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी वहन गर्न वाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक नहुने आबोध हामीलाई भएको छ ।’

    यो अभिव्यक्तिमा खुलस्त तवरबाट देशको राजनीतिक प्रणालीप्रति उनको अरुची जाहेर मात्र भएको छैन कि नेपालमा राजसंस्थाको अपरिहार्यतालाई उनले जोड दिएका छन् । ‘परिस्थितिजन्य कारणले’ आफू राजगद्दी छोड्न वाध्य बनेको असन्तोष भाव पूर्वराजाबाट व्यक्त भएको छ । ‘नेपालजस्तो मुलुक भनेर’ उनले देशको भू–राजनीतिक अवस्थालाई ईंगित गरेका हुन् ।

    राजाको सन्देशमा अरु कुराहरु पनि छन् । उनले वर्तमान राजनीतिप्रति रोष व्यक्त गर्दै भनेका छन्– (नेपालको) राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट–उपगुटमा अल्झिएको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पुर्‍याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ । सर्वभौमिकता राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म–संस्कृति संकटमा पार्ने, राष्ट्रहितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौति थपिएकाले हाम्रो मन पालेको छ ।’

    पूर्वराजाले सन्देशमा आफूलाई राजसंस्थाकै रुपमा पेश गरेका छन् ।

    उनी भन्छन्, ‘हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ । राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन, त्यो हाम्रूो मान्यता पनि होइन, न त परम्परा । शाहबंशीय राजपद्दतिको इतिहासले स्पष्ट गरेको छ, राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिरबाट कुनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि ।’

    ०००

    डेढ दशकअघि नेपालमा राजतन्त्र उन्मूलन भएर गणतन्त्र आएसँगै राजा ज्ञानेन्द्र वीरविक्रम शाह नागरिकमा परिणत भए । दोस्रो जनआन्दोलनको रापताप थाम्न नसकेपछि उनले ‘जनताको नासो जनतालाई नै फिर्ता दिने’ भन्दै चुपचाप नारायणहिटीबाट बहिर्गमन गरेका थिए । त्यसयता आफ्नो गुमेको राजगद्दीमा फर्किनका निम्ति उनले देखिनेगरी कुनै प्रयास गरेका छैनन् । यद्यपि, बेलाबखत ‘फेरि राजा बन्ने’ मनोकांक्षा उनका अभिव्यक्तिमा प्रकट हुने गरेको छ । अहिलेको सन्देशमा चाहिँ उनी अलि बढी खुलेका आएका छन् ।

    आफूले खाइपाइ खाएको सुख–सुविधा अचानक हरण हुँदा जोकसैलाई पीडा हुन्छ । यो त राजसंस्था नै समाप्त भएर गद्दी त्याग्नुपरेको युगान्तकारी घटना थियो । ज्ञानेन्द्रले अपेक्षितभन्दा सहजरुपमा गद्दी त्याग गरेर भीषण रक्तपात टारेकै हुन् । त्यसयता उनी एउटा सामान्य नागरिककै रुपमा जीवनयापन गरिरहेका छन् । कुनै राजनीतिक गतिविधिमा संलग्न छैनन् ।

    यता जनतामा भने पूर्वराजसंस्थाप्रति झुकाव राख्ने जमात बढ्दो छ । गत वर्ष सडकमा ‘राजा आउ देश बचाउ’ को बाक्लै नारा लाग्यो । स्वतस्फूर्त तरुपमा राजसंस्थाको पक्षमा जनता सडकमा निस्किएका थिए । यद्यपि, नेतृत्वविहीनता र कोरोनाका कारण त्यो आन्दोलन यत्तिकै मत्थर भयो । बाहिर कुनै प्रतिक्रिया नदिए पनि पूर्वराजालाई त्यो आन्दोलनले भित्रभित्र सन्तोष मिलेकै थियो ।

    केही महिना अगाडि छिमेकी देश भारतले ज्ञानेन्द्रलाई ‘हिन्दू सम्राट’ को मान्यता दिँदै कुम्भमेलामा प्रमुख अतिथि बनायो । त्यहाँ पाएको मानसम्मानले पूर्वराजा ज्ञानेन्द्र थप हौसिएका थिए । यसपालीको शुभकामना सन्देशमा आएको अन्तरवस्तु यीनै दुई परिपेक्षको नतिजा हुन सक्छन् । देशभित्रको जनदवाव र छिमेकी भारतको सहयोगले राजगद्दीमा पुनःस्थापित हुने महत्वाकांक्षा उनमा पलाएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

    यद्यपि, यथार्थमा देश फेरि राजतन्त्रमा फर्किने सम्भावना निकट भविष्यमा देखिएको छैन । एकपटक हातबाट फुत्किएको चरा फेरि समात्नुजत्तिकै कठिन छ पूर्वराजाका लागि गुमेको गद्दी पुनः हासिल गर्नु । देशको राजनीतिक व्यवस्था नै उल्टाउनका लागि आन्दोलनको ठूलै आँधिबेरी सिर्जना हुनुपर्छ । त्यस्तो परिस्थिति अहिले बनेको छैन । भारतले पूर्वराजालाई गरेको प्रोत्साहनको निहित उद्देश्य नेपालमा अस्थिरता फैलाउने मात्र हो भन्ने स्पष्ट नै छ ।

    ०००

    पूर्वराजाको सन्देशमा राजनीतिकर्मीतर्फबाट पहिलो प्रतिक्रिया डा. बाबुराम भट्टराईको आयो, जुन अपेक्षित नै थियो । उनले राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नुलाई ‘भ्रमको खेति’ संज्ञा दिएका छन् ।

    ‘जनतालाई तातो वरफ वा सिंगसहितको खरायो खोज्न लगाउनुजस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,’ उनी ट्विटरमा लेख्छन्, ‘पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने छ ।’

    दशैंको माहोलले गर्दा होला गगन थापादेखि खगेन्द्र संग्रौलासम्मका चर्का गणतन्त्रवादीहरुले चाहिँ प्रतिक्रिया जनाउन भ्याएका छैनन् । यद्यपि, मझौला स्तरका गणतन्त्रवादीहरुले सामाजिक सञ्जालमा पूर्वराजामाथि आक्रमण गरिरहेका छन् । मानौं पूर्वराजाले त्यति बोल्नासाथ राजतन्त्र फर्किहाल्छ कि झैं गरी गणतन्त्रवादी समुह अत्तालिएको देखिन्छ ।

    सबैले मनन गर्नुपर्ने विषय के हो भने आज देशमा निरंकुश शासन छैन । हरेक जनतालाई आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार संविधानले दिएको छ । यस्तो अभिव्यक्ति देशको राष्ट्रियता र सार्वभौमिकताको खिलाफ हुनु भएन, त्यत्ति हो । एउटा नागरिकका रुपमा ज्ञानेन्द्र शाहसँग पनि विचार अभिव्यक्तिको स्वतन्त्रता छ । बोल्ने मात्र होइन, उनले चाहेको खण्डमा राजतन्त्रको पक्षमा शान्तिपूर्ण राजनीतिक अभियान पनि चलाउन सक्छन् । गणतन्त्रवादीहरुले राजतन्त्रभन्दा गणतन्त्र यसकारणले ठिक छ भनेर तर्क गर्नु एउटा कुरा हो, तर बोल्यो कि पोल्यो जसरी बुरुक्क उफ्रिहाल्नु उचित होइन । यसले नेपालमा गणतन्त्रको जग कति कमजोर छ भन्ने पनि स्पष्ट हुन्छ ।

    ०००

    पूर्वराजालाई गाली गरेर गणतन्त्र बलियो हुने होइन । गणतन्त्र बलियो बनाउने एक मात्रै उपाय भनेको जनविश्वास जित्नु हो । राजनीतिक दलहरुले आफ्ना क्रियाकलापमार्फत गणतन्त्र सुन्दर व्यवस्था हो भन्ने जनतालाई महसुस गराउन सक्नुपर्छ । सरकारले डेलिभरी दिन सक्नुपर्छ । यस्तो केही भइरहेको छैन ।

    फलतः योभन्दा त राजतन्त्र नै ठिक थियो भन्ने जनभावना दिनप्रतिदिन प्रवल हुँदैछ । उल्लेखनीय पक्ष के छ भने राजतन्त्रको खोजी गरिरहेको जमातमा युवापुस्ताका धेरै छन् । देशको राजनीतिसँग चासो नराख्ने युवायुवतीहरुप्रति पूर्वराजसंस्थाप्रति नजानिदो आकर्षण बढ्दोरुपमा देख्न सकिन्छ ।

    आजको यथार्थ के हो भने गणतान्त्रिक व्यवस्थाले जनतालाई खुशी तुल्याउन सकेको छैन । गणतन्त्र आएयता निरन्तर राजनीति अस्थिरता र वैदेशिक हस्तक्षेपको चक्रब्यूहमा मुलुक जकडिएको छ । विकास–समृद्धिका सपनाहरु अधुरै छन् । राजनीतिक दलहरु सत्ताको छिनाझप्टिमै व्यस्त छन् । ‘जनताको छोराछोरी पनि देशको सर्वोच्च पदमा पुग्न पाउने अवसर’ बाहेक राजाको ठाउँमा राष्ट्रपति आएर कुनै फरक देखिएको छैन । बरु अहिलेको व्यवस्थाले टोलटोलमा छोटेराजाहरु जन्माएको जनगुनासो व्याप्त छ । यसर्थ देशको जनसंख्याको एउटा ठूलो हिस्साले राजसस्था खोज्न थालिसकेको छ । उनीहरुको आवाजले मुलधारमा स्थान नपाएको मात्रै हो ।

    यदि राजनीतिक दलहरुको यही र यस्तै प्रवित्तिले निरन्तरता पायो भने जनताको धैर्य टुट्ने निश्चित छ । त्यो अवस्थामा यो गणतन्त्र जोगिएला भनेर कसैले ग्यारेन्टी गर्न सक्दैन । प्रजातन्त्र भनेको जनचाहनाका आधारमा चल्ने व्यवस्था हो । जनताले चाहे भने जे पनि सम्भव छ । त्यसैले पूर्वराजालाई दुत्कार्नेभन्दा जनताको मन कसरी जित्ने भन्नेतर्फ दलहरुको ध्यान जावस ।

  • पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको अवस्था सुधारोन्मुख

    पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको अवस्था सुधारोन्मुख

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । बुधबार राति ८ बजे अस्पतालबाट पूर्वराजा डिस्चार्ज भएको नर्भिक इन्टरनेशनल अस्पतालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

    पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमण भई १९ दिनअघि पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो ।

    लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षण हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

    अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्तालले जनाएको छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि स्वास्थ्य अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उनको स्वास्थ्य अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको जनाइएको छ ।

    पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँगै अस्पतालमा रहेकी छन् । पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न रहेको जनाइएको छ । अस्पतालको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।

  • पूर्वराजाको स्वागतमा विमानस्थलमा यसरी उत्रिए समर्थक

    पूर्वराजाको स्वागतमा विमानस्थलमा यसरी उत्रिए समर्थक

    काठमाडौं । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह केही बेरअघि स्वदेश फर्किएका छन् ।

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो । विमानस्थलको भित्री गेटसम्म पुगेका समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा लगाएका थिए ।

    विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । त्यस्तै विमानस्थल परिसरभित्रै पञ्चेवाजासमेत घन्काइएको छ ।

    विमानस्थलको बाहिरी गेटमा पनि समर्थकहरू जम्मा भएका थिए । धेरैको हातमा राष्ट्रिय झण्डा बोकेका थिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • पूर्वराजा स्वदेश फर्किए, विमानस्थलभित्रै ‘हाम्रो राजा हाम्रो देश’ को नारा

    पूर्वराजा स्वदेश फर्किए, विमानस्थलभित्रै ‘हाम्रो राजा हाम्रो देश’ को नारा

    काठमाडौं । १० दिन लामो भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह आज स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको छ ।

    भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा भाग लिएर फर्केका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा ठूलो भीड जम्मा भएको छ । एउटा समूह विमानस्थलको भित्री गेटसम्म नै पुगेको थियो । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको छ ।

    अर्को ठूलो समूह विमानस्थलको बाहिरी गेटमा जम्मा भएको छ । समर्थकहरूले राजसंस्थाको समर्थनमा नारावाजी गरेका छन् । धेरैको हातमा नेपालको राष्ट्रिय झण्डा छ । विमानस्थलमा र बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

  • पूर्वराजा सहभागी मेलामा सयौंलाई कोरोना पुष्टि, भारतमा बिहीबार २ लाख संक्रमित

    पूर्वराजा सहभागी मेलामा सयौंलाई कोरोना पुष्टि, भारतमा बिहीबार २ लाख संक्रमित

    दिल्ली । भारतमा विहिबार एकैदिन झन्डै २ लाख जना मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको कूल संक्रमित संख्या १ करोड ४० लाख पुगेको छ ।

    विहिबार २ लाख ७३९ जना संक्रमित थपिएका हुन् । ९३ हजार ५२८ जना निको भएका छन् । १४ लाख ७१ हजार सक्रिय संक्रमित छन् । विहिबार एकैदिन भेटिएको यो संख्या महामारीयताकै सक्रिय संक्रमित संख्या हो ।

    महाराष्ट्र, उत्तर प्रदेश, छत्तिसगढ, दिल्ली, मध्यप्रदेश, कर्नाटका, केरला, तामिलनाडु, गुजरात र राजस्थान सबैभन्दा बढी प्रभावित छन् । राजधानी दिल्लीमा मात्र १७,२८२ संक्रमित थपिएका छन् । संक्रमित राज्यमध्ये महाराष्ट्रमा मात्र ६३ प्रतिशत रहेको जनाइएको छ ।

    पूर्वराजा सहभागी कुम्भमेलामा सयौं संक्रमित

    नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागि हरिद्धारको कुम्भमेलामा नौ बरिष्ठ सन्तसहित सयौं भक्तजनमा कोरोना संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    शाहले उक्त मेलामा मंगलबार गंगा नदीमै डुबेर शाहीस्नान समेत गरेका थिए । उक्त मेलामा सामाजिक दूरी पालना गर्न व्यवहारिकरुपमा कठिनाइ भएको र सयौं संक्रमित पाइएको स्थानीय प्रहरीले जनाएको छ ।

    दुई दिनसम्म चलेको उक्त मेलामा ३० लाखभन्दा बढीले गंगास्नान गरेको जनाइएको छ । भारतमा भाइरसको संक्रमण ह्वात्तै बढिरहँदा गंगास्नान आयोजना गरिएको भन्दै सरकारको आलोचना भैरहेको छ ।

    पूर्वराजाले स्नानपछि हरिद्वार पुगेर बाबा रामदेवलाई भेटेका थिए ।

  • हरिद्वारको कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्रको ‘शाही स्नान’ हुँदै

    हरिद्वारको कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्रको ‘शाही स्नान’ हुँदै

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा आज ‘शाही स्नान’ मा सहभागी भएका छन् । उनले भाग लिएको शाही स्नान यस वर्षको दोस्रो हो ।

    यसअघि गत ११ मार्चमा महाशिवरात्रीको दिन पहिलो शाही स्नान भएको थियो । दोस्रो शाही स्नान आज भइरहेको छ भने तेस्रो पर्सि बुधबार हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कुम्भ मेलामा शाही स्नान निकै महत्वपूर्ण मानिन्छ ।

    भारतमा कोरोना महामारी अनियन्त्रितरूपमा फैलिइहरँदा ठूलो भीडभाडसहित कुम्भमेला आयोजना भइरहेको छ ।

    यो मेलालाई संसारभरकै धेरै मानिसहरू एकैचोटि भेला हुने स्थलका रूपमा प्रचारित गर्ने गरिएको थियो । यसपाली मेलामा आउनेहरूलाई पीसीआर टेस्ट अनिवार्य गरिएको छ ।

  • हरिद्वारमा पूर्वराजाको नेपालीमा सम्बोधन: हामीले हाम्रो धर्म बचाउनु छ

    हरिद्वारमा पूर्वराजाको नेपालीमा सम्बोधन: हामीले हाम्रो धर्म बचाउनु छ

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै बाह्य प्रभावले पूर्वीय दर्शन र धर्म–संस्कृतिमा ह्रास आउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

    हजारौं वर्ष अघिदेखिको हाम्रो सभ्यता, धर्म परम्परा तथा सनातनिक संस्कृति विश्वमै वेजोड रहेको उनले बताए ।

    शाहले सम्बोधनमा भने, ‘हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थशास्त्रसबै नै महत्वपुर्ण छन् । तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्दति, आचरण र अनूशिलन आफैमा गहन छन् ।

    पूर्वराजाले नेपालका महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘के नेपाल सानो छ’ लाई पनि उद्दरण गरेका थिए । उक्त निवन्ध आफूले पढेको र त्यसमा चिन्ताका साथ आर्य सभ्यताको महत्व खिईँदै गएको उल्लेख गरिएको शाहले जनाएका छन् ।

    ‘हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पुर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो,’ उनले भने ।
    पूर्वराजाको संवोधनको पूर्ण पाठः

    ‘यो विशाल, यो पूण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवं सांस्कृतिक समारोहको आयोजक– यहाँ पाल्नू भएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषि एवं समस्त सन्त, महन्त, साधकहरू,
    म सबै सबैलाई नमन गर्दछु । दुई कर जोडी बन्दन गर्दछु ।

    गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पूण्य कार्य र यो विशाल समारोहमा म यहाँहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनमा सरिक छु । यहाँहरूको श्रद्धायूक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु । यहाँहरू सबैप्रति साधुवाद ।
    हाम्रा वेद र शास्त्रहरुको मत र मान्यता मुताविक मैले सुने–बुझेअनूसार कूम्भ अमृत तत्वले भरिपुर्ण घडा हो । सत्य यूगमा समून्द्र मन्थनबाट उत्पन्न अमृतका घडाहरू पहिले दानवहरूद्वारा लुटिएका थिए ।

    ती घटाहरू पछि गरुडद्वारा खोजी गरी ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोही परम्परा अनूरुप हरेक बाह्र बर्षमा लाग्ने कूम्भ मेलाको विशिष्ट महत्व रहन गएको देखिन्छ । अमृतका तिनै कूम्भ घडाहरूबाट थोपा–थोपा गरी विभिन्न नदिमा प्रभाहित भएकाले नै पुर्वीय दर्शनमा हाम्रा नद नदिहरुको, हाम्रा पर्वतीय घाटीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृति पुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।

    जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको आजको प्रदूषषणयूक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कूम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपुर्ण ढंगले बूझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद नदि तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषणमुक्त बनाउने आजको विश्वव्यापी अभियानमा कूम्भ मेलाजस्ता हाम्रा यस्ता धार्मिक अनूष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुन्छन् भन्ने मेरो दृष्टिकोण छ ।

    भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भुखण्ड, हाम्रा यी हिम श्रृंखला, हाम्रा यी अनेकौं नद नदिको महत्व महान छ । हजारौं वर्ष अघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म परम्परा तथा सनातनिक संस्कृति विश्व मै वेजोड छ ।
    हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थशास्त्र सबै सबै नै महत्वपुर्ण छन् । तिनको मननीय स्थान, हाम्रा विधि–व्यवहार, जीवन पद्दति, आचरण र अनूशिलन आफैमा गहन छन् ।

    नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता छन् जसले सदैव ‘सर्वे भवन्तू सूखिन’ को विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौं रितिस्थितिलाई के कति बूझ्छन् कुन्नि, तर सारभुतरूपमा भन्नु पर्दा हाम्रो धर्म सभ्यता, संस्कृतिका अनेक आदर्शहरू विश्वकै मानवीय मुल्यलाई डोर्‍याउँदैछन् ।

    सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ रु भन्ने निबन्ध पढेको थिएँ । बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिँइदै गएको कुरा उहाँले उक्त निबन्धमा लेख्नुभएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पुर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कूरा सांचो हो ।

    अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ । हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू छ । हाम्रा गंगा नद नदिहरूको प्रवाह स्वच्छ पार्नुछ । भगवान रामले भन्नुभएको थियो, ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी’ भन्ने सत्यूक्तिको ख्याल हामीले राख्नै पर्दछ ।
    यिनै प्रयोजन हेतू यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहां उपस्थित सबै विद्वान, विदूषि, सन्त महात्माहरूको ध्यान पूगोस्– यही अवधारणा छ मेरो ।

  • पूर्वराजारानी भारत जाँदै, हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुने

    पूर्वराजारानी भारत जाँदै, हरिद्वारको महाकुम्भ मेलामा सहभागी हुने

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल आउँदो चैत्र २६ गते भारत भ्रमणमा जाने भएका छन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेलामा सहभागी हुन उनीहरु त्यहाँ जान लागेको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ ।

    सचिवालयका अनुसार पूर्वराज दम्पत्तिलाई महाकुम्भ मेला २०२१ विशेष समितिबाट सहभागिताका लागि आमन्त्रण प्राप्त भएको थियो ।

  • आज माघ १९, राजनीतिमा ‘कालो दिन’को स्मरण गरिंदै

    आज माघ १९, राजनीतिमा ‘कालो दिन’को स्मरण गरिंदै

    काठमाडौं । आज माघ १९, पूर्व राजा ज्ञानेन्द्र शाहले तत्कालीन सरकारलाई खारेजको निर्णयसहित राजनीतिक ‘कु’ मार्फत शासनसत्ता हातमा लिएको दिन । आफैंले प्रत्यक्ष शासन सुरु गरेको दिन ।

    २०६१ साल माघ १९ गते शेरबहादुर देउवा नेतृत्वको तत्कालीन मन्त्रिमण्डललाई बर्खास्त गरी प्रजातान्त्रिक व्यवस्थालाई सक्रिय बनाउने भन्दै शाही सम्वोधनमार्फत शासनसत्ता आफ्नो हातमा लिएका थिए ।

    राजतन्त्रात्मक व्यवस्थाको खारेजी र संघीय गणतन्त्रात्मक व्यवस्थाको सुरुआतका लागि पूर्वराजा ज्ञानेन्द्रको यो ‘कु’ निकै नै महत्वपूर्ण रहेको मानिन्छ ।

    राजाले आफ्नो नेतृत्वमा मन्त्रिमण्डल गठन गरी मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरे । त्यतिबेला टेलिफोन लाइनसमेत काटिएको थियो र सञ्चारगृहमा सेना परिचालन गरिएको थियो ।