Tag: पूजा

  • पानी माग्दै पूजा !

    पानी माग्दै पूजा !

    बागलुङ । सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार ‘टापु’ पुगे । पानी परोस् भनेर प्रकृति र देउता पुजे ।

    दुई हजार ३४० मिटर उचाइमा टापु पर्छ । त्यसलाई जङ्गलले घेरेको छ । बीचमा एउटा अजङ्ग परेको ठिन्केको रुख छ । त्यसको वरिपरि नौ वटा थान छन् । यसमा भीमसेन, इन्द्र देउतासहित प्रकृतिको पूजा हुन्छ । लामो खडेरी प¥यो र अन्नपात खेतबारीमै सुक्ने स्थिति आउँदा गाउँलेले टापुको पूजालाई महत्व दिन्छन् । अहिलेको बेला ठ्याक्कै त्यस्तै छ । खडेरी लम्बिएपछि प्रकृतिसँग पानी माग्न पूजा गरिएको स्थानीयवासी बताउँछन् ।

    वडा सदस्य लोकबहादुर थापाले बाउबाजेका पालादेखि नै ‘टापु पूजा’को चलन बसेको बताए । ‘वर्षेनी जसो यो पूजा चल्छ, खडेरी पर्दाको वर्ष त झन् महत्व दिएर गर्ने चलन छ’, उनले भने ।

    मङ्गलबार तीन जना पण्डितले टापुको पूजा उम्काए । तल नेटामा रहेको शिवको मन्दिरमा दुई जनाले पाठ गरेको र एक जनाले टापुमा पूजा चलाएको सदस्य थापाले जानकारी र्दिए । ‘टापुमा पूजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने मान्यता छ, गाउँको पराम्पराजस्तो रहिआएकाले पूजाको चलन अझै छ’, उनले भने ।

    कतिपयले भने यस्तो मान्यतालाई अन्धविश्वासका रूपमा अथ्र्याउँछन् । पानी पर्ने–नपर्नेमा वैज्ञानिक कारण हुने भएकाले पूजा गर्दैमा प्रकृतिले पानी नदिने उनीहरुको तर्क छ । स्थानीयवासी मीना दर्जीले आफू सानै हुँदादेखि नै टापुको पूजाबारे थाहा पाएको बताए।

    पौराणिककालमा टापु नजिकैको पाण्डवखानी भन्ने ठाउँमा पाँच पाण्डव बसेको किंवदन्ती छ । सोही कारण पाँच पाण्डवमध्येका एक भाइ भीमसेनको थान बनाएर टापुमा पूजा गर्ने चलन बसालिएको हो । थानमा कुनै काटमार नगरी रोट, फूलप्रसादीले मात्र पूज्ने चलन छ । पूजाको खर्चपर्च पनि स्थानीयवासी आफैँले व्यहोर्छन् । रासस

  • विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइँदै (भिडियो)

    विद्याकी देवीको आराधना गरी सरस्वती पूजा मनाइँदै (भिडियो)

    काठमाडौं । आज सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पंचमीका दिन मनाइने श्रीपंचमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजा गरिंदैछ ।

    वसन्त ऋतुको शुरुआत हुने भएकाले वसन्त पंचमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

    विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।

    आजको दिन आफैंमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।

    उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ ।

  • पूजा गर्नेले गरुन्, केको माथापच्ची ?

    पूजा गर्नेले गरुन्, केको माथापच्ची ?

    नखानु मासु खाइसकेपछि जेको खाए पनि भै’गो नि ! जुन जनावरको भए पनि हत्या नै हुने हो । त्यसको रगत, मुटु, कलेजो, छाला, खुट्टा, कानलाई पोलेर उसिनेर, साँधेर लुछ्ने/चुस्ने नै हो ।

    माथ्लाे घरको तामाङलाई भैंसीको मासु मीठो लाग्ला, पल्लो घरको राईलाई च्वाचेको चाम्रो मासु स्वादिलो लाग्ला, तल्लो घरको बाहुन खसीको सुपमा बढी आनन्द मान्ला । समुद्री किनारमा बस्नेलाई गँगटो मन पर्ला, कोरियन तथा चाइनिजलाई कुकुरको स्वादले तान्ला, मुसहरलाई मुसा मनपर्ला ! जसलाई जे मन परे पनि मान्छेले आफ्नो स्वादअनुसार जनावरको हत्या गरेर इन्जोइ गरिरहेकै छ । हो, नखानु मासु खाइसकेपछि जेको खाए पनि भै’गो नि !

    त्यस्तै, नपुज्नु पुज्न परेपछि जे–जे पुजे पनि भै’गो नि ! कम्युनिष्ट नेता पुष्पकमल दाहाललाई भैंसी पूजनीय लाग्यो, कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथको पूजा गर्न मन लाग्यो । के बिग्रियो ?

    कोहीले रुख, कोहीले ढुंगा, कोहीले पानी, कोहीले मान्छे, कोहीले कुकुर पुजेकै छन् । जसलाई जेको पूजा गर्न मन लाग्छ, पुजे भै’गो नि ! पूजा गरेकै विषयमा किन रोइलो गर्न पर्यो र ?

    तर, पूजा कसले केको गर्यो भन्दा पनि कसले किन गर्यो भन्ने कुराले अर्थ राख्छ । पूजा गर्नु भनेको प्राविधिक विषय मात्रै होइन, त्यो आदर्श, मान्यता र स्वार्थबाट प्रेरित हुन्छ ।

    पुजिनेको भन्दा पूजा गर्नेको चर्चा

    यो पूजाको मौसम हो । हिन्दू धर्मावलम्बीले ब्रत बसेर स्वस्थानीकथाको किताब र नदी पूजा गरिरहेका छन् । त्यो कथा कति काल्पनिक, कति तथ्यपरक हो ? बेग्लै बहसको विषय छ । स्वस्थानीको कथा कति समतामूलक र पूर्वाग्रही छ ? त्यो पनि बेग्लै कुरा हो । तर, पूजा गर्न मन लाग्नेले पूजा गरिरहेकै छन्, उछितो काढ्नेले पनि छाडेका छैनन् । अहिले त यस्तो भएको छ कि, पुजिने स्वस्थानीकथा भन्दा पूजा गर्ने र नगर्नेहरुको चर्चा बढी छ ।

    नपुज्नु पूज्न परेपछि जे–जे पुजे पनि भै’गो नि ! कम्युनिष्ट नेता पुष्पकमल दाहाललाई भैंसी पूजनीय लाग्यो, कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथको पूजा गर्न मन लाग्यो । के बिग्रियो ?

    जातैपिच्छे, धर्मैपिच्छे पूजा गर्ने वस्तु र मान्यता फरक–फरक छन् । पूजा गर्नेहरुले पुजिने वस्तु र मान्यतालाई आफूअनुकूल ब्याख्या गरेकै छन्, मिलाएर । अर्को पक्षले जानी/नजानी तर्क/कुतर्क/टिप्पणी गरिरहेकै छन्, वर्षौदेखि । तर, यहाँ पुजिने भन्दा पूजा गर्नेकै चर्चा धेरै छ ।

    तर अहिले स्वस्थानीकथाको किताब वा अरु कुनै पूजाभन्दा प्रधानमन्त्री केपी ओली पशुपतिनाथमा पूजा गरेको विषयसँगै प्रचण्डले भैंसी पूजा गरेको सन्दर्भले सामाजिकसँगै राजनीतिक माहोल तातेको छ ।

    धर्म, राजनीति र निरपेक्षता

    मूलतः निरपेक्ष भन्ने नै हुँदैन । अझ कम्युनिष्ट विचार राख्नेले निरपेक्षताको कुरा गर्नु नसुहाउँदो विषय हो । पदार्थ परिवर्तन भएसँगै गुण परिवर्तन हुन्छ र हरेक चिज परिवर्तनशील छ भन्ने मान्यता बोक्ने कम्युनिष्टले धर्मचाहिं निरपेक्ष हुनुपर्छ भन्नु वाहियात हो ।

    समाज सापेक्ष छ । यहाँ हरेक कुरा सापेक्ष छन् । धर्मचाहिं कसरी निरपेक्ष हुनसक्छ ? यो विषयमा विस्तारै बहस गर्दै जाउँला ।

    संविधानमा नै नेपाल धर्मनिरपेक्ष मुलुक भएको उल्लेख छ । क्रान्ति गरेर आएकाहरुले मुलुक धर्मनिरपेक्ष बनाउनुलाई क्रान्तिकारी उपलब्धि मानेका छन् । धर्म निरपेक्षताबारे धेरै कुरा गर्न सकिएला । तर, अहिलेको प्रधान प्रश्न, धर्म निरपेक्ष हुनु भनेको कसैले कुनै धर्म मान्दा वा पूजा गर्दा संविधान विरोधी हुनु हो ?

    सारमा धर्म निरपेक्षताको आशय राज्यको आफ्नै धर्म हुँदैन, तर नागरिकले जुन धर्म पनि मान्न पाउँछन् भन्ने हो । यसअर्थमा प्रधानमन्त्री ओलीले पशुपतिमा व्यक्तिगत स्तरमा पूजा गर्नु अतिसामान्य र स्वाभाविक कुरा हो ।

    खासमा धूपबाती बालेर, अबीर–केसरी दलेर गर्ने पूजा त ढोङ मात्रै हो । तर, पूजाको सम्बन्ध आस्था, विचार र चिन्तनसँग जोडिएको हुन्छ ।

    केही ‘अतिअगुवा’ नागरिकले प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्नु संविधानविपरीत भएको भाषण ठोके । ठिक्कका अगुवाहरुले उनको कुरामा ताली ठोके । प्रधानमन्त्री पक्षकाले उनीहरुलाई सत्तोसराप गरे । जुन विषय सामाजिक सञ्जालमा भाइरल भयो ।

    एक हिसाबमा प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्नु एउटा स्वाभाविक कर्म हो । त्यो उनको व्यक्तिगत आस्था र चाहना पनि हो । संविधानले कसैलाई कुनै मन्दिर, मस्जिद, चर्च जान निषेध गरेको छैन । जसले जसलाई, जेलाई पुज्न पनि छुट दिएको छ । त्यसैले यो कुनै बहस वा विवादको विषय नै होइन ।

    तर, प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्नुसँग अवश्य पनि राजनीतिक विषय जोडिएको छ । यो उनले हिन्दू समर्थकको सेन्टिमेन्ट क्याच गर्न अपनाएको एउटा तरिका हुनसक्छ । राजनीति गर्नेले अनेक तिगडम गर्छ नै !

    यसअघि उग्रकान्तिकारी प्रचण्डले शक्तिआर्जनकै लागि भैंसी पुजेकै हुन् । कतिपयले अहिले ओलीले पशुपतिमा पूजा गर्नुलाई प्रचण्डको भैंसी पूजासँग जोडेका छन् । तर यो जोडिरहनुपर्ने विषय पनि होइन । किनकि, जसले जे पूजा गरे पनि आस्थाका आधारमा शक्ति आर्जन गर्ने स्वार्थबाटै गरेका हुन् ।

    प्रचण्डको बैठक कोठाभरि बुद्धको फोटो सजिएको देखिएकै छ । शेरबहादुर देउवा ज्योतिषसामु लम्पसार गर्छन् । माधव नेपाल अर्को प्रपन्नाचार्यकोमा धाउँछन् । भारत–नेपालको राजनीतिमा योगी तथा जोगीहरुको प्रभाव प्रष्ट नै छ ।

    कम्युनिष्ट भएर पूजा ?

    भनिन्छ, कम्युनिष्टले धर्म मान्दैन । अब प्रश्न उठ्छ, धर्म भनेको के हो ? धर्म कुनै सिद्धान्त वा आदर्श होला, तर पूजा भनेको भक्ति हो, स्तुति हो । धर्म नमान्नु र स्तुति नमान्नु फरक कुरा हो ।

    एकहिसाबमा कम्युनिष्टको आफ्नै धर्म हुन्छ । जुन धर्मअनुसार कुनै पनि पदार्थको आस्थाका आधारमा पूजा हुँदैन । वस्तु, गुण, परिमाण र परिणामको वस्तुगत परिवर्तन मान्ने कम्युनिष्टले अन्धभक्तिलाई अस्वीकार गर्छ । तर नेपालका कम्युनिष्टहरु अन्धभक्तकै अनुसरण गर्दै पूजा गर्नमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    त्यसैले नेपालमा खास त्यस्तो कोही कम्युनिष्ट नै छैन, जसको कम्युनिष्टको धर्म मानोस् । यहाँ त नागरिकको दिमाग भुट्न, आफू सत्ता र शक्तिमा पुग्न धर्म वा पूजाआरधनालाई हतियार बनाएका छन् । त्यो ओलीले होस् या प्रचण्डले ।

    उनीहरुसँग कुनै धार्मिक तथा नैतिक बल छैन । जे गर्दा सत्तानजिक हुने बाटो सजिलो हुन्छ, त्यो नै गर्ने हुन् । त्यसैले ‘कम्युनिष्ट भएर पनि पूजा गर्ने ?’ टाइपका तर्क नगरेकै ठीक ।

    खासमा धूपबाती बालेर, अबीर–केसरी दलेर गर्ने पूजा त ढोङ मात्रै हो । तर, पूजाको सम्बन्ध आस्था, विचार र चिन्तनसँग जोडिएको हुन्छ ।