Tag: पुल

  • सिरहाको त्रिशुली नदीमाथि बन्ने भयो पुल, स्थानीय खुसी

    सिरहाको त्रिशुली नदीमाथि बन्ने भयो पुल, स्थानीय खुसी

    जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका– ३ स्थित त्रिशुली नदीमा पुल निर्माण हुने भएको छ । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्राललयले पुल निर्माण कार्य अगाडि बढाएको हो ।

    प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र बरियापट्टी गाउँपालिकाका प्रमुख सन्तोष महतोले संयुक्त रुपमा शुक्रबार पुलको शिलान्यास गरेका हुन् । मापदण्डअनुसार तोकिएको समयमै पुल निर्माण गर्न मन्त्री यादवले ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

    पुल निर्माणको ठेक्का रसुवा रोषण जेभी जनकपुरले लिएको छ । सो कम्पनीले ६ करोड ९१ लाख ८६ हजार २३६ रुपैयाँ ५४ पैसामा पुल निर्माणको ठेक्का पाएको हो । २० महिनाभित्र निर्माण सक्ने सम्झौता उक्त कम्पनीले गरेको छ ।

    बलुवा र श्रीपुर जोड्ने त्रिशुली नदीमा पुल नहुँदा बर्षायाममा बाटो अवरुद्ध हुँदै आएको थियो । नदीमा बाढी आएपछि जोखिम मालेर आवातजावत गर्ने स्थानीय पुल निर्माण हुने भएपछि खुशी भएका छन् ।

  • कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो

    कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो

    जनकपुरधाम । हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । कमला नदीको पुल निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो ।

    नदीमा बाढी आएको बेला आज विहान पूर्वबाट पश्चिमको दोस्रो स्पान –पिलर) भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । उनका अनुसार पुलमा १२ वटा स्पान रहेको छ । जसमध्ये एउटा एक फिट भासिएको छ ।

    उनले भने, ‘पुलको स्पान भासिनुको दुइटा कारण हुनसक्छ । पहिलो डिजाइन नै गलत भएको र दोस्रो डिजाइन अनुसार काम नै नभएको ।’ यो विषयमा छानविनका लागि सरकारलाई प्रतिवेदन पनि बुझाइसेको उनको भनाई छ ।

    ४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो । सुरुमा पप्पुले मात्र काम गरे । करिब ३५ प्रतिशत काम सकेका पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिके । त्यसपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको थियो ।

    भासिएको स्पान निर्माणको काम पप्पुले नै गराएको थियो । यो कुरा सिरहाका प्रजिअ कणेलले पनि बताए । उनका अनुसार लुम्बिनी बिल्डर्सले माथिको काम मात्र गराएको छ ।

    पुल मात्र ४२ महिनामा निर्माण हुनुपर्ने थियो । तर झण्डै १० वर्षपछि निर्माण पुरा भएपछि अब आवत–जावत गर्न सहज हुने स्थानीयमा विश्वास जागेको थियो । तर पुलको स्पान भासिएपछि स्थानीय पुनः चिन्तित बनेका छन् ।

  • बाढीले पूर्वीनवलपरासीमा दुई पुल बगायो

    बाढीले पूर्वीनवलपरासीमा दुई पुल बगायो

    रुपन्देही । तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले पूर्वीनवलपरासीको बौदिकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाएको छ ।

    बौदीकाली गाउँपालिका- १ मा निर्माणाधीन पक्की पुल बगाएको छ । त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए ।

    गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा वडा नम्बर १ मा पुल निर्माण भइरहेको थियो । ढलानको काम मात्र बाँकी रहेका बेला बाढीले पुल बगाएको प्रमुख सुवेदीले बताए । स्थानीयहरूलाई सहजरूपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो । पुल बगाएपछि सदरमुकामसँगको सीधा आवतजावत टुटेको छ । सदरमुकाम पुग्न स्थानीयलाई ४५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ । यसले उपचारका लागि जानुपर्नेलाई समस्या भएको छ ।

    त्यसैगरी गाउँपालिकाको वडा नम्बर २ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ । यो पुल हुँदै स्थानीयहरु भिमाद निस्केर पोखरा पुग्ने गरेका थिए । भिमाद पुग्न पनि स्थानीयले अब १ दिन पैदल घुम्नुपर्नेछ ।

  • राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा

    राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा

  • पेश्की लिएर ठेकेदारले काम नगरेपछि ३ वर्षदेखि बनेन पुल

    पेश्की लिएर ठेकेदारले काम नगरेपछि ३ वर्षदेखि बनेन पुल

    सुर्खेत । ठेकेदारको लापरवाहीले दैलेखको खिड्कीज्यूलामा तीन वर्षदेखि पुल बन्न नसक्दा सर्वसाधरणले दुख पाएका छन् ।
    साविकको पिपलकोट गाविस जोडने खिड्कीज्यूलामा पुल बनाउनका लागि ठेकेदार कम्पनीले पुल निर्माण थाल्नु अघि नै रकम लिइसकेको थियो ।

    यस क्षेत्रका नागरिकले सास्ती नपाउ भन्नको लागि भनेर पुल निर्माणका लागि सभामुख शाहीले एक करोड बजेट आर्थिक वर्ष २०७५÷०७६ मा नै पारेका थिए । खिड्कीज्यूला सिंहासैन मोटरबाटो पनि सोही वर्ष बजेट परेका कारण निर्माण सुरु भएको थियो ।

    खिड्कीज्यूलाका स्थानीय गोरख पुरी भन्छन्, ‘सडक निर्माण भइसक्न लाग्दा पनि पुल बन्ने छाँटकाँट छैन । पुल नबन्दा पिपलकोटवासीलाई ठूलो सास्ती खेप्नु परेको छ ।’

    ठेकेदारले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति देखिएको भन्दै स्थानीय आक्रोसित भएका छन् । ठेकेदारले पुल नबनउँदा सडक निर्माणको काम समेत रोकिएको छ ।

    पूर्वाधार विकास कार्यालय दैलेखका अनुसार उक्त मोटरेबल पुल गत वर्ष नै सम्पन्न भइसक्नुपर्ने भएपनि कोभिडका कारण थप समयावधी कम्पनीले पाएको थियो । तर कम्पनीले दुई करोड २५ लाख रुपैंयामा पुल निर्माण गर्ने भनेपनि खोलामा केही पनि काम गर्न सुरु गरेको छैन ।

    ‘कार्यालयले बारम्बार ताकेता गरेको गर्‍यैं छ । तरपनि निर्माण कम्पनीले आज भोलि भन्दै दिन धकेलिरहेको छ ।’ कार्यालय स्रोत भन्छ, ‘कम्पनीले १९ लाख रुपैंया पेश्की समेत लिइसकेको छ तर काम गर्ने छाँटकाँट भने देखाएकै छैन ।’

    हाम्रो निर्माण सेवाका सञ्चालक खगेन्द्र रानाले एक हप्तामा काम सुरु गर्ने प्रतिवद्धता जनाए । ‘यसअघि अर्को व्यक्तिलाई जिम्मा दिएको थिएँ । उहाँहरुले काम गर्नु भएन । अबको एक हप्तामा काम सुरु गर्छौं ।’ उनी भन्छन्, ‘यो वर्ष पिल्लर ठड्याउने काम हामी गर्र्छौं ।’ उनले पेश्कीवापत १९ लाख लिइएको बताउँदै अन्यत्र पुलको काम गरिरहेका कारण पनि केहि ढिला भएको बताए ।

    पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख ई. वालदिप शर्माले मोटरेबल पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग बारम्बार कुरा भइरहेको बताए । ‘हामीले तत्काल काम गर्न निर्देशन दिइसकेका छौं । उहाँहरुले काम चाँडै सुरु गर्ने कुरा गर्नु भएको छ ।’ उनी भन्छन्, ‘उहाँहरुले काम सुरु नगरे अन्य प्रक्रिया त छदैंछ नि ।’

     

  • पुल तर्न २० रुपैयाँ कर

    पुल तर्न २० रुपैयाँ कर

    बाग्लुङ । बाग्लुङ–पर्वत जोड्ने झोलुङ्गे पुल प्रयोग गरेवापत बाग्लुङ नगरपालिकाले स्थानीयसँग कर असुली गर्न थालेको छ ।

    नगरपालिकाले बाग्लुङ नगरपालिकाको बाङ्गेचौर र कुस्मा नगरपालिकाको अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल तरेवापत रु २० पूर्वाधार कर असुल गर्न थालेको हो । स‌ंघीय सरकारले निर्माण गरेको उक्त पुल नेपालकै लामो दावी गरिँदै आएको छ ।

    नगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई प्रतिव्यक्ति रु १० र अन्य व्यक्तिलाई रु २० कर लिने निर्णय भएको बाग्लुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताए ।

    बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । पुलमार्फत ओहरदोहर गर्ने कर तिर्नु पर्ने भएपछि सामाजिक सञ्जालमा नगरपालिकाको आलोचना भएको छ ।

  • प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै पुलको शिलालेख तोडफोड

    प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै पुलको शिलालेख तोडफोड

    रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड गरिएको छ ।

    नेपालको दोस्रो लामो पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको हो । शिलालेख किन र कसले तोडफोड गरेको हो भन्ने खुलेको छैन ।

    ‘साँझसम्म ठिकै थियो, राति तोडफोड गरिएको छ’ , राप्ती गाउँपालिका वडाध्यक्ष विद्याशरण चौधरीले टेलिफोन सम्पर्कमा भने ।

    इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले तोडफोडबारे अनुसन्धान शुरू भएको नेपाल प्रेसलाई बताए ।

    महदेवा क्षेत्रमा बनेको पुलको शिलालेखमा सिसहनियाँ पुल लेखिएको भन्दै स्थानीयले शुरूमा गुनासो गरेका थिए । यही विषयमा असन्तुष्टि राखेका स्थानीयले तोडफोड गरे वा राजनीतिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फरक मत राख्नेले उनको नामहटाउन शिलालेख तोडफोड गरे भन्ने विषय नखुलेको बताइएको छ ।

    महदेवाको नाम थपेर नयाँ शिला राख्ने तयारी गरिएको पुल निर्माण सहयोग समन्वय समितिका अध्यक्ष नन्दकुमार चौधरीले जानकारी दिए । ‘शिला तयार पार्दा महदेवाको नाम छुट्न गएछ । त्यसमा थप्ने कुरा भएको थियो, उनले भने नयाँ शिलालेख तयार नहुँदासम्म नहटाउनुपर्ने थियो । अब नाम सच्चाएर नयाँ शिला राखिनेछ’, चौधरीले भने ।

    गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शिलालेख तोडफोडले राम्रो सन्देश नगएको बताउँदै विकासमा अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।

    २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गरेका थिए । करिब एक अर्ब रूपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

    तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो । पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ ।