Tag: पल शाह

  • जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै, आजै मुद्दा दर्ता गर्ने

    जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै, आजै मुद्दा दर्ता गर्ने

    तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ ।

    पलका पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।

    पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखे पनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानूनी व्यवस्थाअनुसार पुनरावेदन दिँदैछौँ,ु उनले भने ।

    घटना भएको लामो समयपछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरबाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानूनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ ।

    जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।

    ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

    गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

    अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मासर्मपण गरेका थिए ।

  • पल शाह प्रकरणको अन्तरकुन्तर : बलात्कारविरुद्धको कानूनमा समीक्षा जरुरी

    पल शाह प्रकरणको अन्तरकुन्तर : बलात्कारविरुद्धको कानूनमा समीक्षा जरुरी

    काठमाडौं । ‘समाचार चैं नलेख्नु है’ भन्दै गत असोज महिनाको दोस्रो सातातिर एक सेलिब्रिटीले सनसनी खबर सुनाए । खबर त्यही थियो, जुन अहिले झांगिएर घर-घरमा, पल-पलमा समीक्षाको विषय बनिरहेको छ ।

    ‘यस्तो-यस्तो भएको रहेछ नि,’ भन्दै उनले घटनाको फेहरिस्त सुनाउँदा अलि अपत्यारिलो लागेको थियो । नाबालिग कलाकार जोडिएको संवेदनशील विषय भएको हुँदा ‘गसिप’ कै रूपमा पनि लेखिहाल्न उचित थिएन । तर, पनि देशका दुई चर्चित कलाकार जोडिएको स्क्यान्डललाई यत्तिकै बिर्सिदिने कुरा पनि आएन ।

    त्यसको एक साताभित्र दुवै कलाकारसँग नजिक केही सेलिब्रिटीहरूसँग बुझ्दा उनीहरू यो विषयमा पहिल्यै जानकार पाइए । उनीहरूले पनि ‘समाचार चैं नलेख्नु’ भन्दै हुबहु उही कथा सुनाए । तर, ‘रियल हिरो’ को उपमा पाएको सेलिब्रिटीले भर्खरकी उदीयमान गायिकालाई ‘युज एन्ड थ्रो’ गरेको विषय बाहिर ल्याउनैपर्ने आवश्यकता महसुस भयो । त्यतिञ्जेलसम्म मुलधारका मिडिया मात्र होइन, सेलिब्रिटीका बेडरुम र ट्वाइलेटसम्म पुगेर भिडिओ खिच्ने ल्याकत भएका युट्यूवरहरूले समेत यो प्रकरणलाई छुने ‘रिस्क’ लिएका थिएनन् ।

    गत कात्तिक ५ गते पहिलोपटक यो प्रकरणबारे नेपाल प्रेसमा ‘गसीपमा पल-समीक्षाः प्रेम विवाद र समझदारीको अन्तरकथा’ शीर्षकमा समाचार प्रकाशित भयो । समाचारमा पलले नाबालिग गायिकासँग केही समय रिलेसनसीपमा बसेर पछि छोड्न खोज्दा गायिकाले कानूनी उपचारको चेतावनी दिएपश्चात परिवारको रोहबरमा दुई वर्षपछि विवाह गर्ने सहमति भएको उल्लेख थियो ।

    सेलिब्रिटीहरूबीच अफेयरका मसिना हल्लाहरू पनि तुरुन्तै मिडियामा भाइरल हुने गरेका छन् । तर, पल र नाबालिग गायिकाको यति ठूलो स्क्यान्डल आश्चर्यजनकरूपमा लामो समयसम्म गुचपचुप रह्यो । कलाकार र चलचित्र पत्रकारहरूबीच व्यापक चर्चाको विषय भइसक्दा पनि यो समाचार बन्न सकेको थिएन ।

    यो समाचारमा पल शाहको पनि स्पष्टीकरण समावेश थियो, जसमा उनले गायिकासँग प्रेमसम्बन्ध रहेको अस्वीकार गरेका थिए । गायिकाले भने यस विषयमा हामीसँग बोल्न चाहेकी थिइनन् ।

    नेपाल प्रेसमा प्रकाशित उक्त समाचार विभिन्न अनलाइनहरूले कपि गरेर छ्याप्छ्याप्ति बनाए । दुई दिनपछि पल र गायिका दुवैका फेसबुकबाट समाचारको खण्डन गरियो । पलले ती गायिकालाई फकाएर आफैंले पठाएको खण्डन हाल्न लगाएका थिए । तर, उक्त समाचार ढिलो-चाँडो सत्य प्रमाणित हुनु नै थियो ।

    गायिकाकै फेसबुकबाट खण्डन हाल्न सफल भएपछि पललाई हाइसञ्चो भयो । त्यसपछि उनी गायिकासँग फेरि टाढिने प्रयासमा लागे । उनले गायिकालाई ठाडै भने- ‘तिमीले नै सम्बन्ध छैन भनेर लेखिसक्यौ, त्यसैले अब तिमी आफ्नो बाटो, म आफ्नो बाटो ।’

    त्यसपछि गायिका अप्ठेरोमा परिन् । आफ्नै फेसबुक स्टाटस उनका लागि घाँडो भयो । अन्ततः उनले आफ्नो त्यो खण्डनलाई नै खण्डन गरेर गत माघ ६ गते अर्को स्टाटस लेखिन् । त्यसमा उनले पहिले लेखेको स्टाटस वास्तविकताभन्दा टाढा भएको भन्दै उनले चाँडै यथार्थ सार्वजनिक चेतावनी दिएकी थिइन् ।

    गायिका उमेरले अपरिपक्व छिन् नै, मानसिकरूपमा झनै अपरिपक्व देखिइन् । जब पल आफूबाट टाढिन्थे, उनी कानूनी उपचारका लागि तम्सिन्थिन् । त्यो थाहा पाएपछि तुरुन्तै पलले उनलाई विभिन्न आश्वासन दिएर फकाउँथे । उनी सहजै फकिन्थिन् । यही सिलसिला चल्दै गयो ।

    करिब डेढ महिनाअघि पनि उनी जिप्रका कास्कीमा पलविरुद्ध जाहेरी दिन पुगेकी थिइन् । वकिललाई जाहेरी लेखाईवरी सबै कुरा रेडी थियो । तर, प्रहरीले अन्तिमपटक बारदात भएको स्थान तनहुँमा नै गएर जाहेरी दिन सुझाव दियो । त्यसपछि तनहुँ जाने सुर गर्दा पलले सुइँको पाए र उनलाई फेरि थामथुम पारे ।

    तर, फेरि पनि पलले उनीसँग पुरानै व्यवहार दोहोर्‍याए । उनी कसैगरी पनि यो सम्बन्धबाट उम्किन चाहन्थे किनकी उनले गायिकाभन्दा अगाडि अर्की एक युवतीसँग पनि विवाहको कुरा छिनेका थिए । निकटस्थहरूका अनुसार जनजाति परिवारकी ती युवतीसँग पल अलि डराउँथे । ती युवती पलले आफूलाई बिहे गर्नेमा ढुक्क थिइन् ।

    दुई साताअघि पलका मल्टिपस अफेयर्सबारे हामीलाई विभिन्न प्रमाणहरू स्रोतले दियो । सबै प्रमाणहरू केलाउँदा पलको कम्तीमा चारजना युवतीहरूसँग समानान्तर सम्बन्ध रहेको स्पष्ट भयो । उनका अरु पनि थुप्रै अफेयरहरूबारे अपुष्ट तर विश्वसनीय विवरणहरू प्राप्त भए । आफूसँग फ्यानको रूपमा नजिकिएका वा कला क्षेत्रमा नवआगन्तुक युवतीहरूलाई उनले मिसयुज गरिरहेको निस्कर्षमा पुग्न कठिन भएन ।

    पीडित कमजोर पृष्ठभूमिबाट माथि उठेकी कलाकार हुन् । विशिष्ट प्रतिभाका कारण कलिलै उमेरमा ख्याति आर्जन गरिन् । तर, करिअरमा फोकस गर्नुपर्ने बेला अफेयरहरूमा जेलिन पुग्नु र फिजिकल रिलेसनसीपबाट जोगिन नसक्नु उनको कमजोरी भयो । उनले आफ्नै भ्यालु नबुझेर पललाई पाउन मरिहत्ते गरिरहिन् । फलस्वरूप बारम्बार ‘म्यानुपुलेट’ भइरहिन् ।

    लाखौं युवायुवतीले पछ्याइरहेका फिल्मी हिरोको यस्तो दूषित जीवनशैली अपाच्य थियो । त्यसमाथि उमेरले नाबालिग किशोरीसँग राखिएको सम्बन्ध नैतिकरूपमा मात्र नभएर कानूनीरूपमा पनि गलत थियो । कलाकार जतिसुकै लोकप्रिय किन नहोस, यदि गलत बाटोमा हिँडेको छ भने मिडियाले खबरदारी गर्नैपर्ने हुन्छ । त्यसो त उनीजस्ता प्लेव्वाइहरू फिल्म इन्डष्ट्रीमा मात्र नभएर अरु क्षेत्रमा पनि कयौं होलान् । सबैका लागि पाठ होस् भनेर समाचार लेख्ने निधो गर्‍यौं ।

    गत फागुन ७ गते ‘रियल हिरो कि प्लेब्वाई’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । हामीसँग रहेका प्रमाणमध्ये उक्त समाचारमा म्यासेन्जरका दुईवटा स्क्रिनसट मात्रै प्रयोग गरेका थियौं । अडिओको विवरण लेखे पनि त्यसलाई सार्वजनिक गरेका थिएनौं । गायिकाले दुई दिनअगाडि मात्रै महिला अधिकारकर्मी जश्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको याचना गरेको अडिओ पनि हामीसँग सुरक्षित थियो ।

    समाचारले तत्काल भाइब्रेसन ल्याइहाल्यो । पहिलेझैं पल शाहले तुरुन्तै गायिकालाई प्रभावमा पारिहाले । दुवैले सँगै बसेर एउटा युट्यूव च्यानलमार्फत नेपाल प्रेसको समाचार खण्डन गरे । गायिकाले पलसँग आफू रिलेसनसीपमा नरहेको बताइन् ।

    अदालती भाषामा एउटा शब्दावली चर्चित छ- होस्टाइल । यो भनेको कुनै पिडितलाई धाकधम्की, दबाब वा प्रभावमा पारेर बयान फेर्न लगाउनु वा पीडकको पक्षमा उभिन लगाउने काम हो । आफू पल शाहबाट पिडित भएँ भनेर दुख पोखेको दुईदिनपछि नै अन्तर्वार्ता दिएर पीडितले केही नभएको अभिनय गर्दा उनलाई होस्टाइल बनाइएको प्रष्ट भयो । उक्त अन्तरवार्ताले हाम्रो समाचारको विश्वसनीयतमा प्रश्न उठ्यो नै, त्योभन्दा पनि पिडितमाथि थप शोषण हुन सक्ने खतरा देखियो । यसर्थ सम्पादकीय टिममा लामो छलफलपश्चात हामीले अडिओ सार्वजनिक गर्ने निर्णय गर्‍यौं ।

    सेलिब्रिटीहरूको अघिपछि छायाँ झैं दौडिने युट्यूवरहरू अस्तिसम्म पल प्रकरण थाहा नपाएझैं गरिरहेका थिए । तर, पलविरुद्ध जाहेरी परेदेखि उनको बचाउमा युट्यूवर व्यापक सल्बलाएका छन् । तनहुँ जिप्रका अगाडि बसेर पल-पलको अपडेट दिइरहेका छन् । नयाँ-नयाँ ‘खुलासा’ गरिरहेका छन् । विभिन्न पात्रहरूलाई उभ्याएर पीडितको विगत खोतल्दै उनको बदनामी गर्ने काम भइरहेको छ ।

    फागुन ९ गते ‘समीक्षा अधिकारीको बयानः पल शाहबाट यसरी पीडित भएँ’ शीर्षकमा समाचार र अडिओहरू सार्वजनिक गरियो । समाचार पोष्ट भएको आधा घण्टापछि गायिकाले फोन गर्दै अडिओ हटाइदिन बिलौना गरिन् । आफूलाई अप्ठेरो पर्ने भन्दै पीडितले नै आग्रह गरेपछि अडिओ‌ हटाउन कर लाग्यो । पीडितको बयान र पल शाहले पीडितसँग सम्बन्धको स्वीकारोक्ति गरेको अर्को अडिओ दुवै हामीले हटायौं । तर, यसबीचमा धेरैले नेपाल प्रेसबाट डाउनलोड गर्न भ्याइसकेका थिए । केही घण्टामै अडिओ भाइरल भयो । त्यसपश्चात नै पल काण्डले उग्ररूप लिएको हो ।

    अडिओ भाइरल भएपछि पल शाहले स्टाटस लेख्दै आफूविरुद्ध केही व्यक्तिहरूले गायिकालाई प्रयोग गरेको आरोप लगाए । अडिओमा सुनिएको आवाज आफ्नो भएकोमा समेत उनले आशंका व्यक्त गरे । पलको सो स्टाटस आएपश्चात गायिकाले फेरि एकपटक कानूनी लडाइँमा जाने निर्णय लिएकी हुन् । यसपटकको निर्णय चाहिँ साँच्चिकै निर्णायक बन्यो ।

    नायिका पुजा शर्मा बलत्कारको मुद्दा खेपिरहेका व्यक्तिको तस्बिर अंकित टिसर्ट लगाएर हल-हलमा पुगिन् र रुवाबासी गरिन् । वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा पललाई सहानुभूति दिँदै लेखिन्- बलियो बन, तिम्रो साथमा भगवान् हुनुहुन्छ । तनहुँमा युवा-युवतीहरूले पल शाहलाई न्याय देऊ भन्दै र्‍याली नै निकालिरहेका छन् । लाजमर्दा दृष्यहरू हुन् यी ।

    गत फागुन १० गते पीडित मोबाइल स्वीच अफ गरिवरी आफ्ना दिदी-भिनाजुसहित काठमाडौंबाट हायस चढेर जाहेरी दिन जान हिँडेको सूचना प्राप्त भयो । राति करिब नौ बजे उनीहरू जिप्रका तनहुँ पुगेका थिए । तर, प्रहरीले बुबाको पनि सनाखत हुनुपर्ने बताएर फर्काइदियो । भोलिपल्ट कास्कीबाट गायिकाका बुबा आए । यसअघि कास्की प्रहरीमा दिन तयार गरेको जाहेरीलाई नै थोरै सम्पादन गरेर त्यसमा बुबालाई हस्ताक्षर गराइयो । छोरीमाथि जबर्जस्ती करणीको विवरण पढेर एक बाबुले कसरी जाहेरीमा हस्ताक्षर गरे होलान्, कल्पना गर्दा पनि मुटु चिसो हुन्छ ।

    पीडितले जाहेरी दर्ता गरेसँगै यस प्रकरणले ठूलो ट्वीस्ट लियो । पक्राउ पुर्जी जारी भएपश्चात केही दिन फरार भएका पल शाहले अन्ततः प्रहरीमा आत्मसमर्पण गरिसकेका छन् । र, यतिबेला समाज उनको पक्ष र विपक्षमा विभाजित छ । देशको राजनीतिक उथलपुथललाई नै ओझेल पार्ने गरी पल शाह प्रकरण चर्चामा आएको छ । टिकटक हेर्ने हो भने त ८० प्रतिशत कन्टेन्टहरू उनीहरूमाथि केन्द्रित छन् ।

    दबाइएको समाचार र आरोपीको बचाउ

    सेलिब्रिटीहरूबीच अफेयरका मसिना हल्लाहरू पनि तुरुन्तै मिडियामा भाइरल हुने गरेका छन् । तर, पल र नाबालिग गायिकाको यति ठूलो स्क्यान्डल आश्चर्यजनकरूपमा लामो समयसम्म गुचपचुप रह्यो । कलाकार र चलचित्र पत्रकारहरूबीच व्यापक चर्चाको विषय भइसक्दा पनि यो समाचार बन्न सकेको थिएन ।

    अहिले गायिकाको पक्षमा कडा पैरवी गरिरहेका सञ्चारमाध्यमका समाचारकक्षभित्रै दबाइएको थियो यो प्रकरण । मनोरञ्जन क्षेत्रमा कलम चलाउने वा टेलिभिजनमा फलाक्ने पत्रकारहरू गायिकाको जाहेरी पर्नुअघिसम्म समाचार लुकाउन तल्लिन थिए । वास्तवमा नेपालका फिल्म पत्रकार पत्रकारिताबाहेक सबैचिज गर्दारहेछ र समाचारबाहेक सबैथोक लेख्दारहेछन् । सबै पत्रकारलाई भन्न खोजिएको होइन, तर मुल प्रवृत्ति यही नै देखियो ।

    युट्यूवरहरूको त झन् के कुरा गर्ने ? सेलिब्रिटीहरूको अघिपछि छायाँ झैं दौडिने युट्यूवरहरू अस्तिसम्म पल प्रकरण थाहा नपाएझैं गरिरहेका थिए । तर, पलविरुद्ध जाहेरी परेदेखि उनको बचाउमा युट्यूवर व्यापक सल्बलाएका छन् । तनहुँ जिप्रका अगाडि बसेर पल-पलको अपडेट दिइरहेका छन् । नयाँ-नयाँ ‘खुलासा’ गरिरहेका छन् । विभिन्न पात्रहरूलाई उभ्याएर पीडितको विगत खोतल्दै उनको बदनामी गर्ने काम भइरहेको छ ।

    यस्तै कन्टेन्ट हेरे आमदर्शकले पनि पीडितलाई गाली वर्षाइरहेका छन् । गायिकामाथि नानाथरिका लाञ्छनाहरू लगाउन थालिएको छ । खासगरि टिकटकमा उनलाई लाञ्छित गरी अत्यन्तै आपत्तिजनक भिडिओहरू पोष्ट भइरहेका छन् । पिडितका लागि होइन, पीडकका लागि न्यायको माग भइरहेको छ । पलले लत्याएकी अर्की एक पूर्वप्रेमिकाले पनि ‘जस्टिस फर पल शाह’ भन्दै पोष्ट गरेको भेटियो ।

    पल शाह गलत देखिँदादेखिँदै पनि धरै मानिसहरू उनीप्रति सहानभूति किन दर्शाइरहेका छन् ? यो विचारणीय प्रश्न हो । पलको पक्षमा बोलिरहेका सबै उनका डाइहार्ड फ्यान हुन् भन्न पनि मिल्दैन । पहिले उनको नामै नसुनेकाहरू धेरैले अहिले उनीप्रति सहानुभूति देखाइरहेको पाइन्छ । यसका खासगरी दुई कारण छन् । पहिलो पुरुषवादी चिन्तन र दोस्रो नेपालको त्रुटीपूर्ण कानूनी व्यवस्था । पुरुषवादी चिन्तन नयाँ कुरा होइन र रातारात परिवर्तन गर्न सम्भव पनि छैन । तर, कानूनी व्यवस्थाका सन्दर्भमा चाहिँ तत्काल विमर्श आवश्यक छ ।

    नायिका पुजा शर्मा बलत्कारको मुद्दा खेपिरहेका व्यक्तिको तस्बिर अंकित टिसर्ट लगाएर हल-हलमा पुगिन् र रुवाबासी गरिन् । वरिष्ठ अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा पललाई सहानुभूति दिँदै लेखिन्- बलियो बन, तिम्रो साथमा भगवान् हुनुहुन्छ । तनहुँमा युवा-युवतीहरूले पल शाहलाई न्याय देऊ भन्दै र्‍याली नै निकालिरहेका छन् ।

    लाजमर्दा दृष्यहरू हुन् यी । अदालतमा पुगिसकेको मुद्दामा आरोपिकै पक्षमा न्याय मागिनु दुर्लभ घटना पनि हो । फ्यानहरूले दर्शाउने सहानुभूतिलाई नजरअन्दाज गर्न सकिएला, तर चर्चित सेलिब्रिटीहरूले नै अदालतको फैसला आउनुअघि आरोपीप्रति सार्वजनिक पक्षधरता देखाउनुलाई विडम्बना नै मान्नुपर्ने हुन्छ ।

    पीडितविरुद्धका ‘प्रमाण’

    आफूमाथि जाहेरी दर्ता भएसँगै पलले सामाजिक सञ्जालमा केही अडिओहरू सार्वजनिक गरे । पीडितलाई केही व्यक्तिहरूले प्रयोग गरेको ती अडिओबाट पुष्टि हुने उनको दाबी छ ।

    पलले सार्वजनिक गरेको अडिओमा गायिकालाई दुर्गेश थापा, सरोज वलीलगायतका व्यक्तिहरूले ‘गाइड’ गर्दै विभिन्न छलफल गरिरहेको सुनिएको छ । शारीरिक सम्बन्धको प्रमाण सिर्जना गरेर पीडितसँग विवाह गर्न पललाई वाध्य पार्ने रणनीतिमा त्यो छलफल केन्द्रित देखिन्छ । पलका फ्यानहरूले यसलाई आफ्नै साथीले पललाई पिठ्यूँबाट छुरा घोपेको अर्थमा व्याख्या गरिरहेका छन् ।

    पलभन्दा अगाडि पनि गायिका एक पुरुषसँग रिलेसनसीपमा रहेको भन्दै विभिन्न व्यक्तिका अन्तर्वार्ता आएका छन् । एकसाथ ६ वटा गर्लफ्रेन्ड बनाउने पलको बचाउमा उभिनेहरूले नै गायिका पहिले पनि अफेयरमा रहेको कुरालाई उछाल्न खोजेका छन् ।

    यद्यपि सार्वजनिक भएका अडिओ वा ‘खुलासा’ हरूले पलमाथि लागेको आरोप भने पखालिने होइन । न त यसले उनलाई कानूनीरूपमा नै बलियो बनाउँछ । यो मुद्दामा अदालतले हेर्ने भनेको दुईवटा मात्रै पक्ष छन् । पहिलो पीडित नाबालिग हुन् कि होइनन् । दोस्रो पलले पीडितसँग शारीरिक सम्बन्ध राखेका हुन् या होइनन् । यी दुवै पक्षबाट पीडितको मुद्दा बलियो छ ।

    पछिल्लो समय पलनिकटका व्यक्तिहरूले उनको उमेरमा प्रश्न उठाउन थालेका छन् । नागरिकतामा पीडितको जन्ममिति २०६२ साल, साउन ३ गते उल्लेख छ । त्यस आधारमा उनी १७ वर्ष मात्र भएकी छन् । घटना हुँदा उनी १६ वर्षकी थिइन् । यदि पलका वकिलले नागरिकतामा उल्लेखित मिति झूटो रहेको र सहमतिमै सम्बन्ध राखेको प्रमाणित गर्न सकेको खण्डमा मात्रै पललाई उन्मुक्ति मिल्न सक्छ ।

    नाबालिगको उमेर हद पनि बहसको विषय हो । सामान्यतया ‘टिन एज’ काटिसकेकाहरुले ‘यौन सम्वन्ध’ को अर्थ र महत्व राम्ररी बुझेका हुन्छन् । आजकाल १८ वर्षपुग्दासम्म धेरै किशोर-किशोरीहरू प्रेममा परिसकेको पाइन्छ । उनीहरूमध्ये थुप्रैले आपसी सहमतिमा शारीरिक सम्बन्ध पनि राख्छन् । यद्यपि कानूनले कुनै पनि पुरुषलाई १८ वर्षमुनिको महिलासँग सेक्स गर्ने छुट दिएको छैन ।

    अभियोगबाट बच्ने अर्को उपाय भनेको शारीरिक सम्बन्ध नै नभएको पुष्टि गर्नु हो । यो पलका निम्ति झन् चुनौतिपूर्ण छ । सार्वजनिक भएका अडिओबाटै शारीरिक सम्बन्ध लगभग पुष्टि हुन्छ । अदालतले अडिओलाई पनि प्रमाणका रूपमा स्वीकार्छ नै ।

    पलका लागि तेस्रो र अन्तिम उपाय भनेको पीडितलाई फेरि प्रभावमा लिएर अदालतमा बयान बदल्न लगाउने हो । गायिकाले अदालतमा बयान फेरेर आफूहरूबीच शारीरिक सम्बन्ध नरहेको बताइन् भने पललाई केही राहत मिल्न सक्छ । तर, यस्तो मुद्दामा बयान फेर्दा जाहेरीकर्तामाथि नै सजाय हुन सक्ने कानूनका जानकारहरू बताउँछन् । पीडितको तर्फबाट बुबाले जाहेरी दिएको हुँदा अदालतले उनलाई झूटो जाहेरी दिएको आरोपमा सजाय सुनाउन सक्छ ।

    गायिकाले मोलेको ‘जोखिम’

    १७ वर्षकै उमेरमा गायिकाले निकै कठीन परीक्षा दिनुपरेको छ । वास्तवमा भन्नुपर्दा पलविरुद्ध जाहेरी दिने निर्णय लिँदा उनी आफ्नो उर्बर करिअर नै दाउमा लगाउने जोखिम मोलेकी छन् । कलाकारितामा उनका निम्ति आगामी दिनहरू कठिन हुन सक्छन् । उनको चरित्रलाई पनि निकै ड्यामेज गरिएको छ । यस्तो बेला उनलाई परिवार, आफन्त मात्र होइन, समाजले दिने साथ पनि निकै महत्वपूर्ण हुन्छ । मानसिकरूपमा बलियो भइनन् भने यो परिस्थितिसँग डटेर मुकाबिला गर्न सक्ने छैनन् ।

    पीडित कमजोर पृष्ठभूमिबाट माथि उठेकी कलाकार हुन् । विशिष्ट प्रतिभाका कारण कलिलै उमेरमा ख्याति आर्जन गरिन् । तर, करिअरमा फोकस गर्नुपर्ने बेला अफेयरहरूमा जेलिन पुग्नु र फिजिकल रिलेसनसीपबाट जोगिन नसक्नु उनको कमजोरी भयो । पलसँगको प्रेममा पनि उनी अत्यधिक क्रेजी बनिन् । रूप र कलाले भरिपूर्ण उनी जोसुकैका लागि ड्रिम गर्ल हुन सक्छिन् । तर, उनले आफ्नै भ्यालु नबुझेर पललाई पाउन मरिहत्ते गरिरहिन् । फलस्वरूप बारम्बार ‘म्यानुपुलेट’ भइरहिन् ।

    आफूलाई माया गर्दैन भनेर बुझिसकेपछि उसँग जबर्जस्ती सम्बन्ध गाँसेर के प्राप्त हुन्छ ? विश्वास तोडिइसकेको अवस्थामा कागजले जोड्ने सम्बन्धले के उनी खुशी रहन सक्थिन् ? यो न उनले बुझिन् न अरुले बुझाइदिए । दुर्गेश र सरोज वलीहरूले उनलाई पलसँग जबर्जस्ती जोडिनभन्दा पनि अलग हुन प्रेरित गरेको भए हुन्थ्यो । अफेयरमा भन्दा करिअरमा फोकस गर्न सल्लाह दिएको भए हुन्थ्यो ।

    कानूनमा समीक्षा आवश्यक

    पल शाह गलत देखिँदादेखिँदै पनि धरै मानिसहरू उनीप्रति सहानभूति किन दर्शाइरहेका छन् ? यो विचारणीय प्रश्न हो । पलको पक्षमा बोलिरहेका सबै उनका डाइहार्ड फ्यान हुन् भन्न पनि मिल्दैन । पहिले उनको नामै नसुनेकाहरू धेरैले अहिले उनीप्रति सहानुभूति देखाइरहेको पाइन्छ । यसका खासगरी दुई कारण छन् । पहिलो पुरुषवादी चिन्तन र दोस्रो नेपालको त्रुटीपूर्ण कानूनी व्यवस्था । पुरुषवादी चिन्तन नयाँ कुरा होइन र रातारात परिवर्तन गर्न सम्भव पनि छैन । तर, कानूनी व्यवस्थाका सन्दर्भमा चाहिँ तत्काल विमर्श आवश्यक छ ।

    पछिल्ला धेरै घटनाक्रमहरूले नेपालको बलात्कारसम्बन्धी कानूनमा पुनरावलोकनको खाँचो देखाएका छन् । बलात्कार एउटा ठूलो अपराध हो र यसमा कडा कानून चाहिन्छ भन्नेमा दुईमत छैन । तर, अपराधको गम्भीरताअनुसार सजायको व्यवस्था हुनुपर्छ । कसैलाई प्रेममा पारेर, सहमतिमा सम्बन्ध राख्नु र भौतिक बल प्रयोग गरी जबर्जस्ती सम्वन्ध राख्नु धेरै फरक कुरा हुन् । सहमतिमा गरिएको सहवास पनि जबर्जस्ती करणीको रूपमा स्थापित हुन सक्ने विद्यमान कानून त्रुटीपूर्ण रहेको विज्ञहरू बताउँछन् ।

    ‘अहिलेको कानूनअनुसार एउटी महिलाले कुनै पुरुषलाई आफ्नै प्रस्तावमा यौन सम्वन्ध राखेर पछि बलात्कारको मुद्दामा जेल हालिदिन सक्छिन्,’ दुई दशकदेखि वकालत गरिरहेका एक कानूनव्यवसायीले पंतिकारसँग भने ।

    हालैमात्र एउटा सामूहिक बलात्कार काण्ड मिडियामा आएको थियो । काठमाडौंमा नै आफूलाई केही युवकले सामूहिक बलात्कार गरेको भनेर प्रहरीमा जाहेरी दिइन् र युवकहरू पक्राउ परे । जबकि ती महिला पेशेवर यौनकर्मी भएको र पैसाका लागि सम्वन्ध राखेको प्रहरी अनुसन्धानले देखाएको छ । तर, कानूनअनुसार ती युवाहरू १५ वर्ष जेल जानसक्ने सम्भावना छ । अहिले उनीहरू पुर्पक्षका लागि थुनामा छन् । क्षणिक मोजमस्तीका लागि महिलासँगको सहमतिमा नै यौनसम्वन्ध राख्दा उनीहरूको जीवन तहसनहस भएको छ । विदेश जान काठमाडौं आएका उनीहरू जेलमा सड्न पुगेका छन् ।

    नाबालिगको उमेर हद पनि बहसको विषय हो । सामान्यतया ‘टिन एज’ काटिसकेकाहरुले ‘यौन सम्वन्ध’ को अर्थ र महत्व राम्ररी बुझेका हुन्छन् । आजकाल १८ वर्षपुग्दासम्म धेरै किशोर-किशोरीहरू प्रेममा परिसकेको पाइन्छ । उनीहरूमध्ये थुप्रैले आपसी सहमतिमा शारीरिक सम्बन्ध पनि राख्छन् । यद्यपि कानूनले कुनै पनि पुरुषलाई १८ वर्षमुनिको महिलासँग सेक्स गर्ने छुट दिएको छैन । त्यो सीधै बलात्कारमा दर्ज हुन्छ । मुलुकी अपराध संहिता २०७४ ले १८ वर्षमुनिको किशोरीसँग सहमतिमै गरिएको सहवासलाई पनि बलात्कार मान्छ । यस्तोमा प्रेम टुटेसँगै महिलाले चाहिन् भने पुरुषलाई सहजै बलत्कारमा फसाउन सक्छिन् । ‘मन मिलुञ्जेल चमत्कार छुट्टिएपछि बलात्कार’ को भाष्य जबरजस्त स्थापित हुनुको कारण यही हो ।

    पल शाहको प्रकरणले समग्र नेपाली कलाकारिता क्षेत्रलाई नै क्षति पुर्‍याउन सक्ने खतरा देखिएको छ । पछिल्लो समय कलाकारितामा शिक्षित र सम्भ्रान्त परिवारका युवा-युवतीहरूको बढ्दो आकर्षण थियो । तर, अब भविष्यमा धेरै बाबुआमाहरूले आफ्ना सन्तानलाई यो क्षेत्रमा लाग्न निरुत्साहित गर्न सक्ने चिन्ता बढेको छ ।

    ‘आपसी सहमतिमा र जबर्जस्ती राखिएको सम्बन्धमा उही सजाय हुने व्यवस्था गरिनु हास्यास्पद हो,’ एक कानूनविद् भन्छन्, ‘यसमा तत्काल सुधार आवश्यक छ ।’

    २०२० आएको मुलुकी ऐनमा नाबालिगको उमेरहद १४ वर्ष थियो । २०३४ सालमा उक्त मुलुकी ऐनमा संसोधन गरी उमेरहद १६ वर्ष पुर्‍याइयो । २०७२ सालमा नयाँ संविधान आएसँगै २०७४ सालमा ल्याइएको मुलुकी अपराध संहितले अनावश्यकरुपमा अझै २ वर्ष बढाएर १८ वर्ष कायम गरेको हो । कानून कडा बनाउने नाममा उमेरहद बढाउँदै जाँदा धेरै युवाहरू सानो गल्तीका कारण जेलमा सड्न थालेका छन् ।

    जाहेरीको हदम्याद अर्को बहसको विषय हो । बलात्कारजस्तो घटनामा तत्काल जाहेरी दिन कानूनले प्रोत्साहन गर्नुपर्छ । बारदात भएको लामो समयपछि पनि जाहेरी दिन सकिने व्यवस्था उचित होइन ।

    यस्तो कानूनी प्रावधानले बलात्कारका घटनामा ब्ल्याकमेलिङदेखि मिलापत्रसम्मका सम्भावनाहरुलाई बढावा दिएको छ । खराब नियत भएका महिलाले सँधैभरि पुरुषलाई ब्ल्याकमेलिङ गरिरहन सक्ने भए । अनि वास्तविक बलात्कारमा पुरुषले प्रमाण मेटाउनका लागि यथेष्ट समय हुने भयो । धेरै समयअगाडि भएको घटनामा प्रहरीलाई अनुसन्धान गर्न पनि कठिन हुन्छ ।

    पल शाहको हकमा कुरा गर्दा उनको ‘प्लेब्वाई’ चरित्र उदांगो भइसकेको छ । उनले विवाहको आश्वासन दिएर धेरै युवतीसँग सम्वन्ध राखेको देखिन्छ । तर, बाहिरिएका सबै प्रमाणहरु हेर्दा पल र गायिकाबीच सहमतिमा नै सम्वन्ध कायम भएको धेरैले अनुमान गरेका छन् । त्यही भएर उनलाई ‘प्ले व्वाई’ माने पनि ‘बलात्कारी’ कै संज्ञा दिन चाहिँ धेरै मानिसहरु तयार छैनन् । कानूनले जे परिभाषा गरे पनि आम बुझाइमा ‘बलात्कार’ भनेको भौतिक बल प्रयोगबाट जबरजस्ती राखिने यौनसम्वन्ध नै हो । ललाइफकाइ गरेर, प्रेममा पारेर वा अन्य प्रलोभन देखाएर राखिएको सम्वन्धलाई बलात्कार मान्न नेपाली समाज हिच्किचाइरहेको छ ।

    न्यायको सिद्दान्त के पनि हो भने, गल्ती जति हो त्यति नै सजायको व्यवस्था हुनुपर्छ । पलका हकमा यदि १-२ वर्षको मात्र जेल सजाय पाउनसक्ने सम्भावना रहेको भए सायद उनको पक्षमा यति ठूलो सहानुभूति उर्लिने थिएन । तर, १२ वर्षको जेल सजाय उनको गल्तीको तुलनामा चर्को हुने धेरैले महसुस गरेका छन् । सफलताको शिखर उक्लिरहेका बेला १२ सम्म वर्ष जेलमा बिताउनुपर्यो भने उनको करिअर समाप्त हुने, परिवार विचल्लीमा पर्ने कुराले पनि धेरैलाई भावुक बनाएको हुनसक्छ ।

    कानून संशोधन नहुँदासम्म विद्यमान कानूनकै आधारमा अदालतले फैसला गर्ने हो । कानूनमा स्पष्ट सजाय किटान गरिएको हुँदा यसमा न्यायमूर्तिहरूले स्व:विवेक प्रयोग गर्ने ठाउँ पनि खासै हुँदैन । त्यसैले पल शाहले कम्तीमा १० वर्ष जेलजीवन बिताउनुपर्ने सम्भावना टड्कारो देखिन्छ ।

    कलाकारिता क्षेत्रमा नलागोस् दाग

    पल शाहको प्रकरणले समग्र नेपाली कलाकारिता क्षेत्रलाई नै क्षति पुर्‍याउन सक्ने खतरा देखिएको छ । पछिल्लो समय कलाकारितामा शिक्षित र सम्भ्रान्त परिवारका युवा-युवतीहरूको बढ्दो आकर्षण थियो । तर, अब भविष्यमा धेरै बाबुआमाहरूले आफ्ना सन्तानलाई यो क्षेत्रमा लाग्न निरुत्साहित गर्न सक्ने चिन्ता बढेको छ ।

    खराब र असल पात्रहरू त हरेक क्षेत्रमा हुन्छन् नै । फरक यत्ति हो कि कलाकारिता क्षेत्रलाई धेरैले पछ्याउने भएकाले यहाँभित्रका विकृतिहरू पारदर्शी हुन्छन् । सबैले थाहा पाउँछन् । तर, यदि आफू असल छ र सही बाटोमा हिँडेको छ भने तपाईंलाई कसैले पनि हिलो छ्याप्न सक्दैन । यही घटनाका आधारमा सिंगै कलाकारिता क्षेत्र विकृत छ भन्ने आमबुझाइ नबनोस् । नारायण गोपालदेखि मह जोडीसम्म यही क्षेत्रले जन्माएको हो ।

  • पल शाहविरुद्ध गायिकाले नवलपरासीमा दिइन् अर्को जाहेरी

    पल शाहविरुद्ध गायिकाले नवलपरासीमा दिइन् अर्को जाहेरी

    काठमाडौं । नायक पल शाहविरुद्ध जबरजस्ती करणीमा नाबालिग गायिकाको अर्को जाहेरी परेको छ । इलाका प्रहरी कार्यालय नवलपुरमा पुगेर गायिकाले जाहेरी दिएकी हुन् ।

    यसअघि तनहुँ प्रहरीमा गत फागुन ११ गते पलविरुद्ध पहिलो जाहेरी परेको थियो । मुद्दा बलियो बनाउनका लागि बारदात भएको अर्को स्थानमा पनि जाहेरी दर्ता गरिएको बुझिएको छ । नाबालिग गायिकाको तर्फबाट उनका बुवाले जाहेरीमा हस्ताक्षर गरेका छन् ।

    नायक शाहलाई आजै तनहुँ प्रहरीले पक्राउ गरिसकेको छ । शाहले आफैं तनहुँ पुगेर गिरफ्तारी दिएका हुन् ।

  • तनहुँ प्रहरीमा उपस्थित हुनुअघि कहाँ थिए पल ?

    तनहुँ प्रहरीमा उपस्थित हुनुअघि कहाँ थिए पल ?

    काठमाडौं । जबर्जस्ती करणीसम्बन्धी एक नाबालिकाको उजुरीपछि तीव्र खोजी भइरहेका नायक पल शाह आइतबार अपराह्न तनहुँ प्रहरीमा उपस्थित भएका छन्। प्रहरीले अब शाहलाई अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गर्नेछ।

    आइतबार बिहान शाहले आइतबार प्रहरीमा आफैं उपस्थित हुने सामाजिक सन्जालमार्फत जानकारी दिएका थिए। प्रहरीका अनुसार तनहुँ जिल्ला पुगेपछि उनले फागुन ११ गते एक नाबालिकाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै बुबामार्फत तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि शाह फरार भएका थिए। त्यसयता शाहल‍े तीनपटक मोबाइल नम्बर प्रयोग गरेको अनुसन्धान अधिकारी बताउँछन्।

    फागुन ११ गते मध्यरातमा उनले बोक्दै आएको नम्बरको लोकेसन ललितपुरको बालकुमारीमा देखिएको थियो। केही छिनपछि उक्त नम्बर प्रयोग भएको मोबाइल स्वीच अफ भएको थियो। फागुन १२ गते राति उक्त नम्बरको लोकेसन ठमेल क्षेत्रमा देखिएको थियो। तर केही बेरमै मोबाइल स्वीच अफ भएको थियो।

    फागुन १३ गते राति उनी नयाँ नम्बरबाट मन्डिखाटारमा देखिएका थिए। उक्त नम्बर प्रयोग भएको मोबाइल पनि केहीबेरमा स्वीच अफ गरिएको थियो। आइतबार बिहान शाहले तनहुँमा पुगेर फेसबुक स्टाटस राख्दा पनि अर्कै नम्बरको प्रयोग भएको अनुसन्धान अधिकारी बताउँछन्।

    प्रहरीले यसबीचमा शाहसँग सम्पर्कमा आउनसक्ने विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि उनी पक्राउ पर्न सकेका थिएनन्।

  • बलत्कारविरुद्धको कानुन नबुझेका ‘पलवादी’ हरु

    बलत्कारविरुद्धको कानुन नबुझेका ‘पलवादी’ हरु

    नायक पल शाहविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीपछि सामाजिक सञ्जालमा एउटा जबर्जस्त भाष्य निर्माण गर्न खोजिएको छ– ‘मन मिले चमत्कार नत्र बलात्कार !’ । लाग्दैछ, ती पलहरुको परिभाषाभित्र बलात्कार भनेको अपहरण गरेर, नाक–मुखमा पट्टी लगाइदिएर, हात–खुट्टा बाँधेर एउटा क्रुर पुराना हिन्दी फिल्ममा देखाउने सिन मात्र पर्छ ।

    हाम्रो समाज र कथित प्रगतिशील युवापुस्ताले बनाएको यो बलात्कारको परिभाषाभित्र कतिसम्मको सीमित, संकुचित र अनुदार परिभाषा छ भन्ने कुरा पिडित नाबालिकाको चरित्रमाथि सामाजिक सञ्जालका माध्यमबाट उठिरहेको प्रश्नले नै प्रष्ट हुन्छ ।

    सायद उनीहरुले सक्थे भने मुलुकी अपराध संहिताको दफा २१९ लाई नै संसोधन गरेर बलात्कारको परिभाषामा कम्तिमा माथिका विषयवस्तु उनीहरु राख्थे । सकेनन्, सायद त्यही भएर होला सामाजिक सञ्जालमा एउटा डर र आक्रोसको मनोवृत्ति स्ट्याटस र ट्विट्सहरुमा झल्किन्थ्यो ।

    ‘भित्र रहुञ्जेल चमत्कार अनि कुरा नमिलेपछि बलात्कार ?’ ‘मर्जीले आएपछि कसले छोड्छ त ?’ भन्नेजस्ता अभद्र प्रश्न कसरी एउटा मानिसको मानसपटलमा आउँछन् ? अचम्म छ ।

    हुन त म कानुनको विद्यार्थी हुँ, तर म यहाँ कानुनी दफाको व्याख्यामा धेरै समय खर्चिन्न । किनकी कानुनले स्पष्टसँग १८ वर्षमुनिको व्यक्तिलाई नावालिग भन्छ । त्यसैले सहमति–असहमतिको कुरा छोड्दिनुस्, जेसुकै होस् त्यो जबरजस्ती करणी नै हो । प्रमाणित भएमा १० देखि १२ वर्ष जेल सजाय छ । अहिले त झन् जरीवानासमेत थप गर्ने कानुनको चर्चा छ ।

    विवाहपूर्वको सहवासमा हाम्रो सांस्कृतिक मुल्य–मान्यता, प्रजनन् स्वास्थ्यसम्बन्धी विश्वव्यापी दृष्टिकोण, किशोर मनोविज्ञान, सही र वेठिक भन्ने विषयमा निर्णय लिन सक्ने स्वविवेक, भावनाले बहकिने पक्षहरु माथिको आत्मनिर्णय र सम्भावित परिणामहरु माथिको विश्लेषणको परिपक्वता आदिको आधारमा १८ वर्षभन्दा कम उमेरमा चेतना नहुने भएकोले सो राखिएको हो ।

    त्यसैले १८ भन्दा मुनि लिएको सहमतिलाई शारीरिक स्वास्थ्यको दृष्टिकोणले मात्र नभई मनोवैज्ञानिक तवरबाट पनि न्यायोचित मान्न नसकिने भएरै यस्तो कानुन बनाइएको स्पष्ट छ । तर पनि शारिरिक रुपले नाबालिगको उमेर १८ वर्ष धेरै भयो, १६ भए उपयुक्त हुन्थ्यो भन्ने बहस ठिक होला, तर नावालिग मात्र नभएर जोसुकै वयस्कले पनि तत्काल कुनै प्रभोलनमा परेर मुन्टो हल्लाएको आधारमा मानेको सहमतिलाई सहमति मानिदिनुपर्ने भन्ने हुन्न ।

    भारतीय अदालतले स्टेट अफ युपीविरुद्ध नौसदको मुद्दामा विवाहको प्रभोलन देखाएर गरेको यौन सम्पर्कलाई बलात्कार ठानेको छ । उक्त मुद्दामा केटीपक्ष फार्मेसीको विद्यार्थी हुन्छिन् र केटा भने जुनियर डाक्टर हुन्छन् । विवाहको प्रभोलनमा लामो समयको प्रेमसहित यौन सम्पर्क हुन्छ ।

    तर केटा पक्षले यौनसम्पर्क पश्चात विवाहमा इन्कार गरेपछि केटीपक्षले हालेको मुद्दामा अदालतले केटालाई बलात्कारकै अभियोगमा दोषी ठहर गर्छ । नेपालको सर्वोच्च अदालतले भने यो प्रसङ्गमा खासै बोलेको नजिर भेटिदैन । हल्का केही अंश गीताकुमारी (परिवर्तित नाम) विरुद्ध अर्जुन कोइरालाको मुद्दामा बलात्कार नै भन्न नमिल्ने भन्ने आशय भेटिन्छ । सहर्ष स्विकारेको पाईदैन ।

    तर अहिलेका ‘पलवादी’ चिन्तन बोकेको समाजको यो रफ्तारले अब बोल्नुपर्ने आवश्यक ठान्दछु । मुलुकी अपराध संहिताको दफा २१९ कै २(क) मा अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भन्ने उल्लेख छ । जसमा ‘झुक्यान’ शब्दलाई अदालतले व्याख्या गर्न सक्ने स्पेस छ ।

    अब सामाजिक कुरा गरौँ । हामीले जाहेरी फेहरिस्त पढ्यौँ । वेवसाइटमा छरिएका अडियो क्लिपहरु सुन्यौँ । हामीले पल शाहको तर्फबाट सेयर भएका अडियो क्लिपहरु पनि सुन्यौँ । जहाँ पल शाहले आफूलाई षडयन्त्र गरेर फसाइएको आरोप लगाएका छन् । तर त्यो अडियोले पनि उनको आफूभन्दा आधा उमेरकी किशोरीसँग भएको करणीलाई निर्दोष सावित गर्दैन, बरु थप पुष्टाईँ गरेको छ ।

    उनका साथीहरुद्वारा उनलाई बदनाम गराउन खोजेको देखिए पनि करणीको बिषयमा भने साथीहरुले समिक्षालाई न्याय नै दिलाउन खोजेको देखिन्छ । जाहेरी, अनुसन्धान, अभियोजन, सुनुवाइ र फैसला आदि विचाराधीन बिषयमा अदालतको निर्णय नआई पुर्वाग्रही भएर कसैलाई अपराधी घोषित गर्नु र कसैलाई पिडित भन्नु न्यायोचित हुदैन ।

    तर ‘भित्र रहुञ्जेल चमत्कार अनि कुरा नमिलेपछि बलात्कार ?’ ‘मर्जीले आएपछि कसले छोड्छ त ?’ भन्नेजस्ता अभद्र प्रश्न कसरी एउटा मानिसको मानसपटलमा आउँछन् ? अचम्म छ । पिडितलाई थप सामाजिक वहिष्कार गर्ने र अपराधीको मनोवल बढाउने काम गर्छन् यस्ता कुराहरुले ।

    प्रेममा परेपछि आफ्नै उमेर बराबरको समेतले झुटको सहारामा उक्त कार्य तत्कालीन सहमतिमा गरेको रैछ भने पनि त त्यसले दिने पीडा असिमित हुन्छ । यसकै कारण थुप्रैले आत्महत्याको साहारा लिएको भेटिन्छ ।

    शारीरिक बल प्रयोग गरेर, शारीरिक हिंसाद्वारा जबर्जस्ती यौनक्रियालाई मात्र बलात्कार बुझ्नु हुँदैन । हाम्रो समाजको यो रुपले महिलाको भएभरको इज्जत उसको योनिमा राखिदिने दुष्प्रयास गरिरहेको छ । पुरुषको आफ्नो शारीरिक बलको प्रयोगले महिलालाई सधै दबाउने, हिंसा र दासतामा राखिराख्ने, महिलालाई आफ्नो लिङ्गको शक्तिले सधैभरी शासित बनाइराख्ने मानसिकताको उपज हो यो ।

    उक्त कार्यद्वारा समाजमा सँधै महिलालाई सामाजिक वहिष्कार गराउने चिन्तन हो । १८ बर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध राखे पनि त्यसलाई जवर्जस्ति करणी मानिनेछ भन्ने प्रावधान किन राखियो र यसको आशय के हो भन्ने कुरामा कानून र पलहरुको समाजको बुझाइमा तालमेल मिलेको देखिएन ।

    पल शाह र पिडित नावालिगको जाहेरी अनुसारको घटनालाई एउटा सामान्य जवर्जस्ती करणीको घटनाको रुपमा लिन मिल्दैन । यो समाजको यथार्थ ऐना हो । तितो यथार्थ हो । पलहरुले विहेको प्रभोलनमा यौन चाहना मेट्ने दुस्साहस हो ।

    यदि पिडित महिला १८ बर्षभन्दा बढी उमेरको भएपनी एउटा उच्च पदको मान्छेको प्रशंसक भएको फाइदा उठाएर माया र विहे गर्ने आश देखाएर प्रस्ताव राख्छ भने त्यस्तो प्रशंसकले इन्कार गर्न गाह्रो पर्छ । किनकी यौन चाहना हुनु उमेरको प्रभाव हो ।

    कला क्षेत्र मात्र होइन, जुनसुकै क्षेत्रमा पनि अनावश्यक प्रभाव र त्यस्तो प्रभावको फाइदा उठाएर पलहरुले केही सिक्न भनेर पछि लागेकालाई यौन दुर्व्यवहार गर्नु भनेको सामान्य विषय होइन । ती काउन्टर स्ट्याटस र ट्विट्सहरु र त्यसमा हुने गरेको कमेन्टले यो काम हुने गरेको डरलाग्दो वास्तविकता देखाउँछ ।

    यसले वलात्कारलाई सामान्यीकरण मात्रै गर्दैन, समाजमा महिलाहरु वस्तुकरण हुँदै गएको देखाउँछ । किनकी यहाँ अपराधीलाई ध्यान दिनुभन्दा भएभरको दोष पिडित माथि दिइनुले समाजको यो मानसिकता कस्तो छ भन्ने बुझ्न सकिन्छ ।

    एउटा नावालिग मात्र नभनौँ, के सही के गलत थाहा भएको वयस्कलाई पनि त विभिन्न प्रलोभन देखाइ लिएको सहमति कति वास्तविक सहमति थियो भन्ने विश्लेषण आम सर्वसाधारणबाट हुन सकिरहेको छैन । यसले हाम्रो समाजमा बलात्कार र हिंसामा आम बुझाइ कति सामान्य छ भन्ने देखाउँछ । यौन तृष्णाले पैसा, पहुँच र शक्तिको अगाडि वास्तविक सम्बन्धहरु कति सस्तो छन् भन्ने बुझ्न सकिन्छ ।

    हो, थुप्रै घटना आजकल यो कानुनको सहाराले गलत प्रयोग भएको हुनसक्छ । थुप्रै मुद्दाहरु भेटिन्छन् । तर कुनै स्वार्थ प्रेरित नारीहरुले कुनै घटना घटाए भन्दैमा आम सम्पुर्ण नारीमा उही चश्माले हेरेर यो बिषयमा पिडितलाई ‘डिमोरलाईज’ गर्ने काम घिनलाग्दो छ ।

    फेसबुक ट्रायलको माध्यमबाट आरोपितलाई चोखो र पिडितलाई थप कलंकित बनाउने कार्यले हाम्रो समाजमा अझै पनि नारीलाई दबाउने र पुरुषत्व हावी गराउने चिन्तनले गहिरो रुपले ग्रस्त छ भन्ने सहजै बुझ्न सकिन्छ ।

    प्रेममा परेपछि आफ्नै उमेर बराबरको समेतले झुटको सहारामा उक्त कार्य तत्कालीन सहमतिमा गरेको रैछ भने पनि त त्यसले दिने पीडा असिमित हुन्छ । यसकै कारण थुप्रैले आत्महत्याको साहारा लिएको भेटिन्छ । कयौँ साथीहरु डिप्रेस्ड भएको अनौपचारिक कुराकानीमा हामी भेट्छौँ । किनकी हाम्रो समाजले विहेपूर्वको सहवासलाई अझै पनि स्विकार्दैन । यहाँ त आफूभन्दा दोब्बर जेठोले फसाँउदा समेत चेलीको चरित्र माथि गिद्देदृष्टि देख्दा त अचम्म लाग्छ ।

    त्यसैले मलाई यहाँ समाजको संवेदनाहीन प्रसङ्गमा बोल्न मन लाग्यो । आरोप लगाउने पलहरुले किन पिडितको बुबाको बारेमा सोचेनन् ? कुन ह्रदयले, कुन तहको हिम्मतले उनी जाहरी लिएर गए ? आफ्नी अविवाहित छोरीलाई कसैले करणी गर्यो भन्ने विवरणमा सही गर्न कसरी सके होलान् ? जाहेरी दिनुपुर्व के के सोचे होलान् ?सानी छोरीलाई यस्ता कुरा नसिकाउनु उनको कमजोरी हो र ?

    बहुमतको सोच यस्तै पल शाहजस्तो किन नहोस ? सम्झाएर कसरी सकियोस ? अलिकति फोहोर भए पो सफाइ गर्न सकिएला, अब फोहोरको पहाड नै भएपछि नाक थुनेर हिँड्ने त हो ।

    तर यहाँ त पिडित बहिनी र परिवारले देखाएको साहसलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । भविष्यमा यस्तै पिडितहरुले यसरी नै अनुसन्धान, न्याय र अदालतसम्म जाने हिम्मत जुटाउने नजिर बनाउनुपर्छ । समाजले पिडितलाई कलंकित होइन न्याय दिनुपर्छ । भारतमा आइसकेको तर नेपालमा यो विषयमा अझै नबनिसकेको फौजदारी बिधिशास्त्र बन्नुपर्छ ।

    त्यसैले पिडितले आफ्नो करिअर दाउमा राखेर जुन निर्णय लिइन् यो समाजको लागि एउटा शिक्षा हो । विहेको प्रभोलनले पाएको वा दिएको भनेको सहमति सहमति हैन । अनैतिक कार्य हो । अदालतले न्याय गरोस् ।

     

  • नायक पल शाहविरुद्ध जबरजस्ती करणीकाे आरोपमा जाहेरी

    नायक पल शाहविरुद्ध जबरजस्ती करणीकाे आरोपमा जाहेरी

    काठमाडौं । ‘रियल हिरो’ को उपमा पाएका नायक पल शाहविरुद्ध नाबालिगमाथि जवरजस्ती करणी गरेको आरोपमा जाहेरी परेको छ ।

    एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् । गायिकाकाे तर्फबाट उनका बुबाले जाहेरीमा हस्ताक्षर गरेका छन् ।

    नायक पलले एउटा कुराकानीमा उनीसँग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । ती गायिका उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।

    पल र ती गायिकाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् । उनले हिजो सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका थिए । सार्वजनिक भएको अडिओ नै ‘फेक’ हुन सक्ने उनको दाबी छ ।

    यस्तै, ती गायिकाले एक महिला अधिकारकर्मीसँगको कुराकानीमा पलसँगको सम्बन्धबारे बयान गरेको अडिओ सार्वजनिक भएको थियो । पलले आफ्ना पुरुष साथीहरूले उनलाई उक्साएको आरोप लगाएका छन् । पलको यस्तो आरोपपछि उनीमाथि जाहेरी दिने निष्कर्षमा उनी पुगेकी हुन् ।

    हिजो काठमाडौंबाट दिदी-भिनाजुसहित उनी तनहुँको दमौली पुगेकी थिइन् । राति नै जाहेरी दिने तयारी गरिए पनि प्रहरीले उनको बुबाआमाको पनि हस्ताक्षर चाहिने भनेपछि हिजो जाहेरी दर्ता भएन । आज बुबाआमासमेत आएर जाहेरीमा सनाखत गरेको प्रहरी स्रोतले बतायो ।

    जाहेरीमा उनले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ-फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् । कानूनबमोजिम शाहलाई कडा सजायको माग उनले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

    जाहेरी दर्ता गर्नुअघि प्रहरीले उनको अडिओ/भिडिओ बयानसमेत लिएको थियो ।

    यसअघि पनि उनले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले ती गायिकालाई बिहेको आश्वासन दिएर थामथुम पारेपछि उनी रोकिएकी थिइन् ।

    अपराध संहिता २०७४ अनुसार १६ देखि १८ वर्षको किशोरीलाई करणी गर्दा १० देखि १२ वर्षको जेल सजाय हुन सक्छ । यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ । उनले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । त्यसैले पललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न सक्ने सम्भावना देखिएको छ । कानूनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

    पल र ती गायिकाको सम्बन्धबारे नेपाल प्रेसले पहिलोपटक खुलासा गरेको थियो । ‘रियल हिरो कि प्लेवाई’ शीर्षकमा गत शनिबार समाचार प्रकाशित भएपछि पलको समूहले ती गायिकालाई होस्टाइल बनाएर उक्त समाचार खण्डन गर्न लगाएका थिए । अहिले उनी उक्त समूहको चंगुलबाट बाहिर निस्केर प्रहरीमा पुगेकी हुन् ।

    यो पनि पढ्नुस् : ‘रियल हिरो’ कि प्ले-ब्वाई ?

    यो पनि पढ्नुस् : समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ

  • समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ

    समीक्षा अधिकारीको बयान : पलबाट यसरी पीडित भएँ

    काठमाडौं । मीठो आवाजकी धनी समीक्षा अधिकारी अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जनको विषय ठान्छन् ।

    समीक्षाको स्वरका लाखौं प्रशंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकारलाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धोका खानुपर्छ, जस्तो समीक्षालाई भइरहेको छ ।

    नेपाली चलचित्रका ‘प्ले व्वाई’ का रूपमा परिचित पल शाहसँग एक वर्षअघिदेखि समीक्षाको रिलेसनसीप सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको सम्वन्धमा तीव्र उतारचढाव आइरहेको छ । केही समय प्रेमपछि पलले समीक्षालाई पन्छाउन खोजे । समीक्षाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फकाए । समीक्षा ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे । समीक्षा फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए । यस्तै सिलसिला चलिरहेको छ ।

    पछिल्लो दिनको कुरा गर्ने हो भने पल र समीक्षा फेरि मिलेका छन् । नेपाल प्रेसले पलका ‘मल्टिपल रिलेसनसीप’ बारे शनिबार समाचार प्रकाशन गरेसँगै पलले समीक्षालाई अर्को एक राउण्ड फकाएका छन् । उनीहरूले आफूनिकट एउटा युट्यूव च्यानलमार्फत अन्तर्वार्ता दिएर समाचार खण्डन गरे । आफूहरूबीच असल मित्रता मात्रै भएको भन्दै उनीहरूले एकस्वरमा भने- अफेयरको कुरा झुट्टा हो ।

    एकोहोरो प्रेममा परेकी नाबालिग समीक्षालाई पलको समूहले ‘होस्टाइल’ बनाइरहेको छ । होस्टाइल भन्ने शब्द अदालती भाषामा प्रयोग हुन्छ । त्यो भनेको कुनै पीडितलाई दबाब, प्रभाव वा धाकधम्की दिएर बयान फेर्न बाध्य पार्ने वा पीडकको पक्षमा उभिन लगाउने काम हो । समीक्षाका यसबीचका फेसबुक स्टाटस र उनले यो अडिओमा बोलेका कुरा सुन्दा उनी होस्टाइल भएको पुष्टि हुन्छ ।

    यो पनि पढ्नुहोस् : ‘रियल हिरो’ कि प्ले-ब्वाई ?

    त्यसो त केही समयअघि उनी पलविरुद्ध जाहेरी दिन कास्की प्रहरीको शरणमा पुगेकी थिइन् । उनले यो अडिओमा पनि आफूलाई एसपीले छोरीजस्तै व्यवहार गरेर कानूनी लडाइँको लागि हौसला र आइडिया दिएको बताएकी छन् । तर, जाहेरी लिनका लागि कास्की प्रहरीको कार्यक्षेत्र नभएकाले उनलाई तनहुँ जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । तर, पलले उनलाई पुनः होस्टाइल बनाएर कानूनी कारबाहीबाट जोगिएका थिए । नाबालिगसँगको सम्बन्धलाई कानूनले सहमतिमै भए पनि दण्डनीय अपराध मान्छ, त्यसका लागि पीडितले नै जाहेरी दिनु पनि पर्दैन ।

    पाँच दिनअघिसम्म समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन् । गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन् । जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ नेपाल प्रेसलाई प्राप्त भएको छ । समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी छन् ।

    समीक्षाले पलबाट पीडित बनेको भन्दै आफूले चिनेका केही मिडियाकर्मीहरूसँग पहिलेदेखि सहयोग मागेकी थिइन् । तर, नेपालको मनोरञ्जन पत्रकारितामा एक प्रकारको सिन्डिकेट छ । पलले मुलधारका थुप्रै मनोरञ्जन पत्रकार र युट्यूवर गोजीमै राखेका छन् । आर्थिक वा अन्य प्रभावमा परेर यस्ता पत्रकारले अहिले पनि पलको महिमा गाउँदै बोलिरहेको/लेखिरहेको पाइन्छ ।

    धेरै पत्रकारले पलका विरुद्ध प्रशस्त प्रमाण भेटेर पनि कार्पेटमुनि लुकाएका थिए । त्यसैले यो सिन्डिकेटभन्दा बाहिर निस्किएर आफ्नो वास्तविकता बाहिर ल्याउन समीक्षालाई निकै सकस भइरहेको थियो । नेपाल प्रेसले गत ५ कात्तिकमा समाचार प्रकाशित गरेपछि यो विषय पहिलोपटक बाहिर आएको हो ।

    शनिबार ‘रियल हिरो कि प्ले व्वाई’ शीर्षकको अर्को समाचार प्रकाशित भएपछि पल र उनको गोजीका पत्रकारबीच खैलाबैला मच्चिएको छ । समाचारलाई झूटो सावित गर्न उनीहरू जति लागिपरे पनि सत्य सत्य नै हुन्छ । हामी बिनाआधार-प्रमाणका काल्पनिक कथा छाप्ने ‘मनोरम कहानियाँ’ होइनौं । समाचार प्रकाशित भएपछि पलका थप दुई प्रेमिकाहरूबारे हामीलाई जानकारी प्राप्त भएको छ । यद्यपि, उनका प्रेमिकाहरू गनेर बस्नेभन्दा पनि ‘पल प्रवृत्ति’ लाई एक्सपोज गर्ने मात्रै हाम्रो ध्येय भएकाले धेरै खोजीनीति गरिएन ।

    अधिकारकर्मी ओझासँगको कुराकानीमा समीक्षाले पलबाट आफू अन्याय परेको भन्दै उनलाई सजाय दिन चाहेको स्पष्ट शब्दमा बताएकी छन् । न्यायका लागि लड्ने समझदारीका आधारमा समीक्षाले उक्त कुराकानी गरेकी थिइन् । तर, समीक्षाको पछिल्लो अन्तर्वार्ताले ओझा आश्चर्यमा परेकी छन् ।

    उनी भन्छिन्, ‘मैले समीक्षा बहिनीसँग कुरा गर्दा हिंसामा परेको महसुस गरेकी थिएँ । तर, दुई दिनपछि नै बयान फेरिनुमा उनलाई दबाब र प्रभावमा पारिएको हुनसक्छ । यस विषयमा महिला र मानवअधिकारमा काम गर्ने निकायहरूको ध्यान जानुपर्छ ।’

    (समीक्षाको आग्रहमा अडिओ हटाइएको छ । असुविधाका लागि क्षमाप्रार्थी छौं । )

  • महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    काठमाडौं । कोरोनाभाइरस महामारीको बीचमा नायक पल शाह तीन कारणले ट्रेन्डिङमा छन् । पहिलो– उनी अभिनित म्युजिक भिडिओ ‘को होला त्यो’ यूट्युवको शीर्ष स्थानमा छ । दोस्रो– अक्सिजनका सिलिन्डर र खाना बोकेर उनी सुदूर भूगोलहरुमा पुगिरहेका छन् । तेस्रो– उनले हालै एक टेलिभिजन कार्यक्रमबाट रियल हिरोको उपाधि पाएका छन् ।

    दाङका पूर्णविक्रम शाह काठमाडौंको मायानगरीमा आउँदा कसरी पल शाहमा रुपान्तरण भए र मध्यमवर्गीय समाज किन उनलाई ‘आदर्श’ मान्छ भन्ने जान्न यी तीन ‘ट्रेन्डिङ टपिक’ भित्र पस्नुपर्ने हुन्छ । पलले एकैसाथ रिल, रियल र सेलेव्रिटीहुडको भूमिका निर्वाह गरिरहेका छन् ।

    सन् २०१२ मा सुनिल गिरीद्वारा स्वरबद्ध ‘को होला त्यो’ मेल भर्सनको म्युजिक भिडियोमा डेब्यु गरेका पल अहिलेसम्म आइपुग्दा नेपाली मनोरञ्जन ल्यान्डस्केपमा ठूलो परिवर्तनका साक्षी बने । त्यसयता म्युजिक भिडियो बजारमा उनले आफ्नो निकै ठूलो स्पेस बनाएका छन् । २०७३ सालमा रिलिज भएको विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट उनको फिल्मी करिअर सुरु भयो । केही हिट फिल्ममार्फत उनको स्टारडम थप मजबुत बन्दै थियो ।

    ‘म यस्तो गीत गाउँछुको रोमान्टिक चरित्रदेखि जोनी जेन्टलम्यानको लडाकु चरित्रलाई दर्शकले बिर्सेका छैनन् । तर, कोरोनाका कारण फिल्म क्षेत्र सुनसान बनेपछि फेरि उनी म्युजिक भिडियोमा केन्द्रित छन् । उनका धेरै म्युजिक भिडियोहरु ट्रेन्डिङमा आइरहेका छन् । महामारीपछि पनि व्यस्त हुने थोरै सेलिब्रिटीमा पर्छन् पल ।

    ३० वर्षिय पलको करिअरले बल्ल पालुवा हाल्दैछ । नेपाली फिल्ममा मल्टिप्लेक्स कल्चर विकास भएको र म्युजिक भिडिओमा भिडिओ साझेदारी साइट युट्युवको प्रभुत्व विकास सुरु हुने छेकोमा उदाएका हुन् उनी । महामारी सुरु भएयता उनको चर्चा यतिसम्म चुलिएको छ कि सामाजिक सञ्जालमा सर्वाधिक पछ्याइने सेलेव्रिटीमा उनी पर्छन् । पछिल्लो समय फिल्ममा उनको प्रतिस्पर्धा फिल्ममा अनमोल केसी र प्रदीप खड्कासँग थियो । म्युजिक भिडिओमा भने उनको एकछत्र राज छ । एउटा फिल्म खेलेबापत उनी १५ देखि १८ लाख रुपैयाँ लिन्छन् भने एउटा म्युजिक भिडियोमा ‘फिचर्ड’ गरेको डेढ लाखसम्म ।

    १० वर्षअघि तराई टेलिभिजनको भिजुअल एडिटरबाट काठमाडौंमा जागिर सुरु गरेको ठिटोले कलाकारितामा हासिल गरेको सफलता लोभलाग्दो नै छ । यसका अतिरिक्त उनले आफूलाई समाजसेवामा पनि चिनाउन खोजेका छन् । कोरोना महामारीमाले सबै सेलेव्रिटी फुर्सदिलो बनेको बेला पलले ‘हाम्रो टीम नेपाल’ र पल शाह फाउन्डेसनमार्फत समाजसेवामा सक्रियता देखाएका छन् । यही सक्रियतालाई ध्यानमा राख्दै गत सोमबार रजतपट नामक टेलिभिजन कार्यक्रमले उनलाई ‘रियल हिरो’को उपाधि प्रदान ग¥यो ।

    के ‘रियल हिरो’ नै हुन् ?

    कोरोना महामारी सुरु भएपछि धेरै कलाकार घरमै सुतेर बसे । केही ख्यातिप्राप्त कलाकारहरुको निस्क्रियतालाई लिएर प्रश्न पनि उठ्यो । पल भने सुरुदेखि नै राहत वितरणमा जुर्मुराए ।

    कोरोनाको पहिलो लहरको लकडाउनमा रोजगारी गुमाएका फिल्म प्राविधिकलाई उनले ५ लाख बराबरको खाद्य तथा नगद सहयोग प्रदान गरे । दोस्रो लहरमा समेत उनले विपन्न फिल्म प्राविधिकलाई राहत र खाद्यान्न बाँडिरहेका छन् । काठमाडौंसहित तराईका विभिन्न जिल्ला पुगेर राहत लकडाउन र बाढीले थलिएका नागरिकलाई राहत वितरणमा सक्रिय भए ।

    हाम्रो टीम नेपाल र पल शाह फाउन्डेसन नामक सामाजिक संस्थाबाट उनले खाद्यन्नसहित अक्सिजन सिलिन्डर वितरण गरेका छन् । अक्सिजन सिलिन्डर बोकेर उनी केही साताअघि कर्णालीको कालिकोटस्थित रास्कोट सामुदायिक अस्पताल पुगेका थिए ।

    महामारीमा योगदान दिएको भन्दै गत सोमबार रजतपट टीमले उनलाई रियल हिरोको उपाधिले सम्मान गरेको हो । उनी यो उपाधिका लायक हुन् कि होइनन् भन्ने कोणबाट बहस भइरहेको छ । तर, जुन कार्यक्रमले उनलाई उपाधि दिए, त्यो पछिल्लो समय चलचित्रकर्मीका बीच निकै विवादित छ । रजतपट कार्यक्रम र यसका प्रस्तोता चलचित्र क्षेत्रमा अलोकप्रिय बनिरहेका छन् । त्यसले यो उपाधिलाई दर्शकले मात्र नभएर चलचित्रकर्मीले नै महत्व दिएका छैनन् । यद्यपि, चलचित्रकर्मीहरु यसबारे खुलेर भने बोल्दैनन् ।

    स्मरणीय के छ भने यही रजतपटले नै यसअघि राजेश हमाललाई ‘महानायक’ उपाधि दिएको थियो । त्यसबेला यो कार्यक्रम खासै विवादमा थिएन । त्यसैले राजेश हमाल महानायककै रुपमा दर्शकमाझ स्थापित भए । पल शाहलाई उपाधि दिनेबेलासम्म आइपुग्दा भने ‘रजतपट’को साख रसातलमा पुगिसकेको छ ।

    चलचित्रकर्मी के भन्छन् ?

    पललाई ‘रियल हिरो’ मान्ने वा नमान्नेबारे चलचित्रकर्मीको मत विभाजित छ । कतिपयले सेलेव्रिटी हुनुको दायित्व उनले महामारीको कालखण्डमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन् । कतिपयले अरुबाट उठाएको पैसा बाँडेर अभियन्ता बन्न खोजेको आरोप पनि लगाएका छन् ।

    हालैको एक टेलिभिजन अन्तर्वार्तामा पलसँग कुनैबेला नाम जोडिएकी अभिनेत्री आँचल शर्माले पल रियल हिरो नै भएको बताएकी थिइन् । साथै, उनले राजेश हमालको साटो पल महानायकभन्दा माथि रहेको भन्दै प्रशंसा गरेकी थिइन् । पलले जोखिम उठाएर महामारीमा काम गरेको भन्दै उनले प्रशंसा गुथेकी थिइन् । पललाई रियल हिरोको उपाधि दिने कार्यक्रममा समेत आँचलको उपस्थिती थियो ।

    फिल्म लेखक प्रदीप भारद्धाज अभिनयभन्दा पनि महामारीमा बाहिर निस्किएर समाजसेवामा सक्रिय भएकाले पललाई रियल हिरो भनिएको हुनसक्ने बताउँछन् ।

    ‘आफ्नै बलुबुतामा खटेका हुन् भने उनी रियल हुन् तर, अरु कसैको बलबुतामा सक्रिय भएका हुन् भने उनीमाथि प्रश्न उठाउने ठाउँ हुन्छ’ भारद्धाजले नेपाल प्रेसलाई भने, ‘कतिपयले सेलेव्रिटीले सहयोग गरेर पनि मिडियामा नआएका हुनसक्छन् ।’

    देश दुःखेको बेला मल्हम लगाउने जोसुकै पनि रियल हिरो हुने तर्क गर्दै भारद्धाज महामारीको बेला देखाएको सामाजिक योगदानको कारण उनलाई महामारीपछि पनि करिअरमा फाइदा पुग्ने बताउँछन् ।

    ‘उनको अहिलेको हिरोगिरी महामारीपछि उनको करियरमा लाभदायक हुनेछ’ भारद्धाजको विश्लेषण छ, ‘मान्छेको नजरमा देखिने गरी काम गरेको हुनाले पल हिरो बनेका हुनसक्छन् । उनी एक्टिङभन्दा पनि एक्टिभिज्म कार्यमा हिट भएका हुन् ।’

    पललाई विभिन्न फिल्ममा निर्देशन गरिसकेका निर्देशक सुदर्शन थापा पल रियल हिरोका लागि योग्य भएको दाबी गर्छन् ।

    ‘विरोधका लागि विरोध हुनु राम्रो होइन । तर, जुन इमान्दारितापूर्वक उनले महामारीको समयमा योगदान दिएका छन्, सोहीअनुसार उनी रियल हिरोका लागि योग्य छन्’ थापा भन्छन्, ‘फिल्म खेलेर मात्र भएन, कलाकारले सामाजिक दायित्व निर्वाह गर्न सक्नुपर्छ, जुन दायित्व पलले गरेका छन् । जसले समाजलाई योगदान दिन्छ, उसलाई उपाधि दिइनुलाई अन्यथा लिन मिल्दैन ।’

    समाजसेवामा अझै सक्रिय हुन्छु: पल

    रियल हिरोको उपाधि लिइसकेपछि पलले यसलाई लाइफटाइम अवार्डभन्दा पनि ठूलो सम्मान भएको बताएका छन् । आफू फिल्म करियरसँगै समाजसेवामा पनि उत्तिकै रुपमा सक्रिय हुने उनको प्रतिवद्धता छ ।

    ‘मैले अझै समाजसेवा गर्नुछ । मेरो खुशीको लागि पनि अझै धेरै जनतासँग नजिक हुनुछ । यसकारण यो सम्मान मेरा लागि लाइफटाइम अवार्डभन्दा पनि महत्वपूर्ण कुरा हो,’ उनले भने ।

    समाजसेवा व्यक्तिगत रुचिको कुरा भएकाले कसैले दबाब दिन नमिल्ने र फेसबुकमा फोटो राख्नको लागि समाजसेवा गर्न नहुने तर्क कतिपयको छ । अभिनेता प्रदीप खड्काले चर्चामा आउनैका लागि आफूले समाजसेवा नगर्ने टिप्पणी गत साता फेसबुकमा गरेका थिए । उनको यो टिप्पणीको कतिपयले समर्थन र कतिपयले विरोध गरे ।

    ‘कतिपयले मिडियामा नआएर पनि सहयोग गरेका हुनसक्छन्,’ फिल्म लेखक भारद्धाज भन्छन्, ‘सहयोग गर्ने भन्ने कुुरा नितान्त व्यक्तिगत रुचिको कुरा हो । कसैलाई दबाब दिन मिल्दैन ।’

    पल समाजसेवामा सक्रिय भएपछि उनका प्रतिस्पर्धी मानिने अभिनेताहरु अनमोल केसी र प्रदीप खड्कामाथि पनि पनि मानसिक दवाव परेको छ । महानायक भन्ने गरेका राजेश हमालले पनि महामारीमा कुनै योगदान नदिएको भन्दै विरोध समेत हुने गरेको छ । फिल्म लेखक भारद्धाज सेलेव्रिटी पर्दामा जस्तै सामाजिक रुपमा पनि आदर्शवान बन्नुपर्ने बताउँछन् ।

  • आँचलको नजरमा पल शाह रियल हिरो, भन्छिन् : देशलाई अक्सिजन बाँड्ने मान्छे महानायकभन्दा माथि

    आँचलको नजरमा पल शाह रियल हिरो, भन्छिन् : देशलाई अक्सिजन बाँड्ने मान्छे महानायकभन्दा माथि

    काठमाडौं । विहेअघि आँचल शर्मा र पल शाहको नाम रिल र रियल लाइफमा जोडियो । अफस्क्रिनमा पनि उनीहरुको केमेस्ट्री मिलेको देखिन्थ्यो । यी दुईबीच प्रेम सम्बन्ध रहेको पनि चर्चा चल्यो ।

    विहेपछि पनि पलप्रति आँचलको मायामा पनि कमी भएको देखिएको छैन । यसैसाता एक टेलिभिजनसँगको अन्तर्वार्तामा आँचलले पलको खुलेर प्रशंसा गरेकी छिन् । पललाई उनले महानायककै संज्ञा दिएकी छिन् ।

    कोरोना महामारीमा पलको समाजसेवाको प्रशंसा गर्दै आँचलले उनी समाजका लागि वास्तविक नायक भएको बताइन् । ‘यस्तो विषम परिस्थितीमा पनि पलजी खट्नुभएको छ । देशका लागि उहाँको चिन्ता देखिन्छ । उहाँ महानायकभन्दा पनि बढी हो’ आँचलले प्रशंसा गरेकी छिन् ।

    ‘ग्ल्यामर गफ्’ नामक टकसोमा पललाई लिएर सोधिएका प्रश्नमा समेत आँचल पजेटिभ सुनिइन् । कोरोना भाइरस महामारी साम्य भए फिल्म निर्माण गर्ने बताउँदै आँचलले फिल्म क्षेत्रको दुःख बुझ्ने संचारमन्त्री नियुक्त हुनु जरुरी भएको बताइन् ।

  • पल शाहले थाले निःशुल्क अक्सिजन वितरण, भन्छन् : कसैले पनि उपचार र खान नपाएर ज्यान गुमाउन नपरोस्

    पल शाहले थाले निःशुल्क अक्सिजन वितरण, भन्छन् : कसैले पनि उपचार र खान नपाएर ज्यान गुमाउन नपरोस्

    काठमाडौं । अभिनेता पल शाह अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण गरेका थिए ।

    कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन् । यसपटक भने उनले निःशुल्क अक्सिजन वितरण सुरु गरेका छन् ।

    ‘आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनैपनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भनेर निःशुल्क अक्सिजन सेवाका लागि हामी तयारीमा छौं’ पलले नेपाल प्रेससँग भने ।

    विषम परिस्थितीमा निम्न वर्गका नेपालीले उपचार र खाना अभाव मर्न नपरोस् भनेर आफूले सेवा थालेको पलले जनाएका छन् । पछिल्लो साता नेपालका स्वास्थ्य संस्थामा अक्सिजनको माग उच्च छ ।

  • पल र उषा प्रेममा समर्पण खोज्दै (भिडियो)

    पल र उषा प्रेममा समर्पण खोज्दै (भिडियो)

    काठमाडौं- गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत छ ।

    सार्वजनिक गीतले प्रेमी-प्रेमिकाविचको प्रेम र समर्पण चित्रण गरेको छ ।

    गीतको भिडियोमा पल शाह र उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशिनुको कथा उठान गरेका छन् ।

    उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधानले कलरफूल बनाएका छन् । पल र उषाको जोडी भिडियोमा सुहाएको छ ।

    हेर्नूस भिडियो :

  • अस्मिताको गीतले राख्यो युट्युव रेकर्ड, १५ दिनमै करोड पटक हेरियो

    अस्मिताको गीतले राख्यो युट्युव रेकर्ड, १५ दिनमै करोड पटक हेरियो

    काठमाडौं । पछिल्लो समय भिडियो साझेदारी साइट युट्युवलाई सांगीतिक लोकप्रियताको मापन गर्ने सूचकको रुपमा लिन थालिएको छ ।

    संगीतकर्मीबीच युट्युव ट्रेन्डिङदेखि सर्वाधिक पटक हेरिने मापदण्डमा प्रतिस्पर्धा हुन थालेको छ । मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको ‘फुलबुट्टे सारी’लाई रिलिज भएको १८ दिनमा करोडभन्दा बढीले हेरे ।

    उक्त गीतलाई अब भने पल शाह र मलिका महतले अभिनय गरेको ‘टाढा भएपनि’ म्युजिक भिडियोले उछिनेको छ । १५ दिनमै यो गीतलाई एक करोडभन्दा बढी पटक हेरिएको छ ।

    गायिका अस्मिता अधिकारी ।

    अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युट्युवमा १५ दिनमै १ करोड पटक हेरिएको हो । अभिनेता शाहले आफू अभिनित गीतले रेकर्ड राखेको भन्दै सामाजिक संजालमार्फत खुशि व्यक्त गरेका छन् ।

    यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार पटक हेरिएको छ ।

  • कुटपिट गरेको आरोपमा पल शाहमाथि प्रहरीमा उजुरी

    कुटपिट गरेको आरोपमा पल शाहमाथि प्रहरीमा उजुरी

    धरान- मोडल तथा नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनी अहिले म्युजिक भिडियो सुटिङका लागि धरानमा छन्।

    आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै फिल्मकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । उजुरी परेपछि दुवैपक्षलाई प्रहरीले छलफलका लागि बोलाएको छ।

    प्रधानको निवेदन परेपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।

    कुटपिट अघि दुव्यर्वहार गरेका साहले होटल ज्वाई खानामा रहेका बेला ८/१० जनाको टोली नै बोलाएको प्रधानले बताए । ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्यवहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८/१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीले आक्रमण गरे ।’

    आफूमाथि आक्रमण भएपछि उजुरी गरेको उनले बताए । ‘म्युजिक भिडियोको सुटिङका लागि आउनुभएको थियो, लोकेसन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आक्रमण भएपछि उजुरी दिए ।’

    यता, पल शाहले भने खाना खाने क्रममा अरुण प्रधान लगायतले आफूलाई दुब्र्यहार गरेको बताएका छन् । सोही क्रममा भनाभन भएपछि म्यानेजर जोशी र अरुणबीच धकेलाधकेल भएको समेत पलले जनाए । म्यानेजरसँग कुरा गर्नूस भन्दा अरुणले आफूलाई घमण्ड देखाएको आरोप लगाएको समेत पलले जनाए ।

  • राजेश र अनुपपछि पल शाह पनि ‘सत्यम’मा अनुबन्धित

    राजेश र अनुपपछि पल शाह पनि ‘सत्यम’मा अनुबन्धित

    काठमाण्डौ। अभिनेता पल शाह पनि फिल्म ‘सत्यम’मा अनुबन्धित भएका छन् । राजेश हमाल र अनुपविक्रम शाहीपछि पल फिल्ममा जोडिएका हुन् । कथावस्तु र भूमिका मनपरेपछि पलले फिल्म साइन्ड गरेको निर्माता रेशम सापकोटाले जानकारी दिए ।

    पलको प्रवेशसँगै सत्यम लाइनअपले लगभग पूर्णता प्राप्त गरेको छ । हमाललाई आफ्नो आदर्श मान्ने गरेका पलले पहिलो पटक हमालसँग फिल्ममा स्क्रिन सेयर गर्न लागेका हुन् । अनुपसँग पनि उनको पहिलो सहकार्य हो ।

    पहिलोपटक हमालसँग फिल्म खेल्न लागेकोप्रति पल उत्साही सुनिए । पछिल्ला छिमलका तीन लोकप्रिय अभिनेतालाई पहिलोपटक पर्दामा सँगै देख्न लागिएको हो ।

    निर्माताले फिल्ममा पलको भूमिकाबारे खुलाउन चाहेनन् । फिल्मलाई उत्कृष्ट बनाउन कलाकारको टीम बलियो बनाउन लागेको उनको भनाई छ । सहायक निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।

    एक्सन जनरामा निर्माण हुन लागेको फिल्म ‘सत्यम्’ का लागि निर्माण टीमले अडिसनबाट पनि कलाकार छनोट गर्दैछ । यसका लागि काठमाडौं र पोखरामा अडिसन भइसकेको छ, जसमा कूल ५ सय २३ जनाले सहभागिता जनाएका थिए । अब निर्माण टिमले भर्चुअल अडिसन आह्वान गरेको छ । भर्चुअलमा नेपालसँगै विदेशबाट पनि अडिसन दिन सक्ने निर्देशक कार्कीले जानकारी दिए ।