Tag: परीक्षा सञ्चालन

  • स्नातक प्रवेश परीक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगलाई अनुमति

    स्नातक प्रवेश परीक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगलाई अनुमति

    काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिम भएकाले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएको छ ।

    स्वास्थ्य मापदण्ड पालना गर्दै प्रवेश परीक्षा संचालनको लागि उपत्यका बाहिर र भित्रका केन्द्रमा गर्ने गरी राय दिएको सीसीएमसीका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।

    चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले प्रवेश परीक्षासम्बन्धी थप निर्णय भने आज बैठक बसेर सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।

    कोरोना महामारीको जोखिमका कारण चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन हुन नसक्दा २५ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।

  • रुकुममा परीक्षा सञ्चालन

    रुकुममा परीक्षा सञ्चालन

    रुकुम । कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए।

    सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनले बताए । यस्तै गाउँपालिकाका अन्य विद्यालयमा भने कक्षा १ देखि ९ सम्मको परीक्षा यही वैशाखको २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख बुढाले बताए ।

    यस्तै भूमे गाउँपलिकाले पनि वैशाखको १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा १९ गतेदेखि शुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख कौशलकुमार तिवारीले जानकारी दिए। गाउँ शिक्षा समितिका संयोजक एवम् भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरूको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यस्तै भूमे गाउँपालिका भित्रका विद्यालयमा कक्षा ८ को परीक्षा भने वैशाख २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख तिवारीले बताए। यसअघि गाउँपालिकाले वार्षिक परीक्षा वैशाख २६ गतेदेखि शुरु गर्ने निर्णय गरेको तर पछिल्लो समय कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै छिटोछरितो सक्ने भनेर परीक्षाको मिति अघि सारिएको उनले बताए ।

    यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाले यही वैशाखको २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले कक्षा १ देखि १० सम्मको परीक्षा शुरु गर्ने तयारी गरेको गाउँपालिकाका १२ नम्बर वडाध्यक्ष गङ्गाबहादुर पुनले जानकारी दिए। जिल्लामा अहिलेसम्म कोरोनाका बिरामी खासै नदेखिएको र शैक्षिक सत्र पनि सकिएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नु भनेर गाउँपालिकाहरूले गरेको निर्णयमा रोकतोक नलगाएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतमले बताए ।

    यता जिल्ला कोभिड सङ्कट व्यस्थापन केन्द्र (डीसीसीएमसी) रुकुमले भने विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले आक्रान्त पारिरहेको बेलामा यसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रूपमा उपस्थित भएर गरिने पठनपाठन पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ ।

    सरकारले अहिले कोभिड सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरू बन्द गर्न निर्देशन गर्नुका साथै पूर्व निर्धारीत सबै परीक्षाहरू स्थगन गरिसकेको छ । यहाँका विद्यालयहरूमा पनि पठनपाठन स्थगन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले सरकारी कर्मचारीहरूलाई अन्तरजिल्ला आवतजावतमा कडाई गर्ने, साँझको ७ बजेभन्दा पछाडी बिहान ६ बजेसम्म यात्रुबाहक गाडीलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय पनि गरेको उहाँले बताए ।