Tag: पद्माकुमारी अर्याल

  • ‘भूमिहीनको सरकार होइन भन्ने प्रमाणित भयो’

    ‘भूमिहीनको सरकार होइन भन्ने प्रमाणित भयो’

    काठमाडौं । ओली सरकारले १५ महिनाअघि गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग शेरबहादुर देउवाको वर्तमान सरकारले विघटन गरिदियो । तत्कालीन सरकारको नेतृत्व गरेको तथा हाल प्रमुख प्रतिपक्षीका रूपमा रहेको दल एमालेले सरकारको कदमको विरोध गरेको छ ।

    आयोग निर्माण गर्न भूमिका खेलेकी तत्कालीन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सरकारको निर्णयबाट दु:खी छन् । यद्यपि, यो अनपेक्षित भने नभएको उनको भनाइ छ । देउवा नेतृत्वको सरकारको सरकार गठन हुनासाथ आयोगमाथि आक्रमण हुन सक्ने आँकलन गरिएको उनले बताइन् ।

    ‘प्रधानमन्त्रीले सपथ खाएको दोस्रो दिनमा नै हामीले संकेत पाइसकेका थियौं । संकेत पाएपछि मलगायत एमालेका सांसदले संसदमा आयोग विघटन नगर्न सचेत पनि गराएका हौं,’ अर्यालले भनिन् ।

    आयोग विघटनको प्रस्ताव मन्त्रिपरिषद्मा जाँदैछ भन्ने खबर पाएपछि अधिकांश विपक्षी दलका सांसदले विघटन नगर्न सुझाव दिएको उनको भनाइ छ । तर, संसदमा ध्यानाकर्षण गर्दा र भेटेरै सुझाव दिँदा पनि सरकारले नसुनेको उनले गुनासो गरिन् ।

    अर्यालले भनिन्, ‘यसअघि यो कानून संसदबाट पारित गर्दा पनि तत्कालीन प्रमुख प्रतिपक्षी दलले बहिष्कार गरेकै हो । अहिले शुरूमा नै आयोग विघटन गर्ने निर्णय गरेपछि त भूमिहीनको सरकार होइन भन्ने प्रमाणित भयो ।’

    संविधानको मौलिक हकअन्तर्गत धारा ४० को उपधारा ५ मा दलितलाई एकपटकका लागि जग्गा उपलब्ध गराउन भनेको तथा राज्यका निर्देशक र सिद्धान्तले पनि भूमिहीनको समस्या समाधान गर्ने भनेर उल्लेख गरेको पूर्वमन्त्री अर्यालले स्मरण गराइन ।

    ‘त्यसैमाथि टेकेर केपी ओली नेतृत्वको सरकारले कानूनी व्यवस्थासहित आयोग गठन गरेको हो । संविधानको मौलिक हक कार्यान्वयन गर्नका लागि बनाइएको आयोग खारेज गर्नु संविधानको उल्लंघन र बर्खिलाफ हो’, अर्यालको भनाइ थियो ।

    अर्यालले यो सामान्य घटना नभएको भन्दै सात दशक लामो संघर्ष गरेका भूमिहीनको अवस्था नियाल्न देउवा नेतृत्वको सरकारलाई चुनौती दिएकी छन् ।

    उनले भनिन्, ‘सात दशक लामो संघर्ष गरेका भूमिहीनको ठाउँमा टेकेर हेर्नुपर्दैन ? भूमिहीनका समस्या समाधान गर्ने कि अघिल्लो सरकारले शुरू गरेको कामलाई भताभुङ्ग पारेर आयोग नै विघटन गर्ने ?’

    आफुहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नका लागि प्रमुख प्रतिपक्षको तर्फबाट निरन्तर आवाज उठाउने उनले बताइन् । असोजमा पुर्जा दिनेगरी आफूहरूले काम अघि बढाएको दावी गर्दै अर्यालले सरकारले गरेका गलत क्रियाकलापको निरन्तर भण्डाफोर गर्दै जाने चेतावनी दिइन् ।

    उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘पुर्जा बाँड्ने बेलामा विघटन गर्दा सबै काम अलपत्र पर्ने भयो । छिटोभन्दा छिटो यो आयोग व्युँताइनुपर्छ र सुकुम्बासीको पक्षमा सरकारले काम गर्नुपर्छ । यदि सरकारले आयोग व्युँताएर काम गरेन भने हामी प्रतिपक्षबाट भए पनि यसका विरुद्धमा सडकदेखि सदनसम्म कडा रूपमा प्रस्तुत हुन्छौं ।’

    भूमिहीन सुकुम्बासीमाथी कुठाराघात भयो : डा. तुम्बाहाम्फे

    पूर्व भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमि आयोग विघटनको विरोध गरेकी छन् । देउवा सरकारले आयोग विघटन गरी संविधान कार्यान्वयनमा अवरोध सृजना गर्नुका साथै भूमिहीन दलितको मौलिक हक हनन् गरेको र भूमिहीन सुकुम्बासीमाथि कुठाराघात गरेको उनको प्रतिक्रिया छ ।

    उनले लेखेकी छन्, ‘अव्यवस्थित बसोबासको समस्याले पिल्सिरहेका तराई क्षेत्रका जनताको समस्यालाई सरकारले उपेक्षा गरेको छ । यो सरकारलाई संवैधानिक तथा कानूनी प्रावधान मिच्ने कुनै अधिकार छैन । जनताको मौलिक हक हनन् गर्ने सरकारको क्षेत्राधिकारभित्र पर्दैन । देउवा सरकार होसियार । बेमौसमी, कथित गठबन्धनको सरकार खबरदार ।’

    डा. तुम्बाहाम्फेले भूमिहीन सुकुम्बासीले कानूनी समयसीमाभित्र नै लालपूर्जा पाउनुपर्नेमा जोड दिएकी छन् । यसका लागि सबै एकताबद्ध हुन आह्वान गरेकी छन् ।

  • रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु पर्दैन: मन्त्री अर्याल(भिडियो)

    रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु पर्दैन: मन्त्री अर्याल(भिडियो)

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताएकी छन् ।

    शुक्रबार कृषिसम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरुसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु नपर्ने बताएकी हुन् ।

    मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि बताइन् । मन्त्री अर्यालले भारतको खुल्ला सिमानाबाट अवैध रुपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनको निम्ति प्रयत्न गर्ने जानकारी दिइन् ।

    उनले भनिन्,‘तपाईहरुलाई ढुक्कको साथ भन्छौँ अब कृषि मन्त्रालयमा रासायनिक मलको अभावमा किसानहरु छट्पटाउनु पर्दैन । त्यसको आवश्यकता पूर्ति गर्नेगरी हाम्रो क्षमतालाई विकास गरेर हामी अगाडी बढ्याछौँ । खुल्ला सिमानालाई अहिले बन्द गर्न सकिदैन । ठ्याक्कै बन्दै गर्छौ भनेर जान सक्दैनौँ तर सिस्टममा ल्याउनको निम्ति हामी प्रयत्न गर्छौ । खुल्ला सिमानाको कारणबाट मल भित्रिने र त्यसबाट हुने जे विकृतिहरु छन् त्यसलाई ब्यवस्थित गर्नको निम्ति हाम्रो ध्यान पुग्छ र हामी गर्छौ ।’

    मन्त्री अर्यालले आफ्नो कार्यक्षेत्रभित्र नभएपनि उखु किसानको समस्या समाधान गर्न पहलकदमी लिएको पत्रकार भेटघाटमा जानकारी दिइन् । हालसम्म ४३ करोड रुपैयाँ रकम भुक्तानी समेत भइसकेको छ ।

    मन्त्रालयले नेपाल राष्ट्रिय एकद्धार प्रणाली कार्यान्वयनमा ल्याएको, डिजिटल माटोको नक्सा शुरु गरेको, नेपाली कृषिमा इजरायलको प्रविधि प्रयोग गर्ने गरी नेपाल र इजरायलबीच समझदारी भएर काम शुरु गर्न लागेको तथा खाद्य भण्डार स्थापना गर्ने लगायतका कार्यक्रमहरु शुरु गरेको उनले बताइन् ।

    यस्तै ७ वटै प्रदेशमा रासायनिक मल भण्डार स्थापना गर्ने तयारी रहेको पनि उनले बताइन् । किसानलाई सूचीकृत गर्ने काम सकिएको र छिट्टै सातै प्रदेशबाट एकैचोटी शुभारम्भ गर्ने तयारी भइरहेको छ ।

    किसानलाई अनुदान दिने निर्देशिका ठिक ढंगले बनाउने प्रतिवद्धता समेत व्यक्त गरिन् । भनिन्,‘किसान सूचीकृत गर्नको निम्ति तपाईहरुलाई छिट्टै बोलाउँछौँ । हामी काम सकेर बसेका छौँ ।  किसानका नाममा अहिले यतिधेरै सुविधा अरुले लगे, मिसयुज भए धेरै प्रश्न उठेको छ ।  ठेकेदारी प्रथा छ त्यसलाई तोड्नुपर्छ । अनुदानमा बेथिति छ त्यसलाई ब्यवस्थित गर्नुपर्छ । अनुदानको निर्देशिका ठिक ढंगले बनाउँछौँ । अनि यति पैसा लगेवापत् मलाई यति ले भन्ने जुनखालको चलन हो त्यसलाई तोडेरै छाड्छौँ ।’

     

  • मन्त्री अर्यालको दावी–नक्सा रोक्न पुस्तौलाई पुग्ने प्रलोभन आए

    मन्त्री अर्यालको दावी–नक्सा रोक्न पुस्तौलाई पुग्ने प्रलोभन आए

    काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुदैन भन्नेहरुलाई व्यवहारबाट कार्यान्वयन गरेर देखाउनुपर्ने बताएकी छन् ।

    काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितीमा ललितपुरमा आयोजना गरिएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री अर्यालले आफूलाई लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्नबाट रोक्न आर्थिक प्रलोभन आएको समेत खुलासा गरिन् ।

    आफु मन्त्रीको जिम्मेवारीमा आइसकेपछि राज्यबाट दिने सुबिधा श्रीमान र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्नेगरी भूमी नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको जानकारी दिइन् ।

    मन्त्री अर्यालको भनाइ थियो–सबै ठाउँमा अनिवार्य हुनेगरी लागु गर्न सकियो भने, सम्पत्तिमाथी महिलाको अधिकार सुनिश्चित हुनेछ । यसले महिलामाथी हुने विभेदलाई न्यूनीकरण गर्न सकिन्छ ।

    मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफुले निकै ठूलो चुनौतीका पहाडहरु समेत झेल्नुपरेको बताइन् । तर, राष्ट्रका लागि गर्ने महत्वपूर्ण तथा ऐतिहासिक कार्य भएकाले त्यो काम गरेरै छाड्ने हिसाबले अगाडी बढेकाले नेपालले अद्यावधिक नक्सा जारी गर्न सम्भव भएको उनको भनाइ थियो ।

    नक्सा जारी गर्ने सन्दर्भमा काम गर्दा आफुले निकै ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको भएपनी त्यसबाट नडराएर अगाडी बढ्दा आज मुलुकले नक्सा प्राप्त गरेको र अब जमिन पनि प्राप्त गर्ने मन्त्री अर्यालको भनाइ छ ।

    मन्त्री अर्यालले भनिन्–नेपालको भुगोल समेटिएको नक्सा हामीसँग थिएन र यो निकै चुनौतीपूर्ण थियो । मेरो जीवनको त कुरा छोडौ मेरा पुस्ता पूस्ताका निम्ती पुग्ने प्रस्ताव आएका थिए । तर म डगमगाईन, कुनैपनि लोभलालच, डरधम्कीबाट नडराएर अगाडी बढेँ । नडगमगाइकन खुट्टा टेकेर यो आट हामीले गर्नुपर्छ ।’

    भूमी व्यवस्था मन्त्रालयलाई विगतमा ‘लो क्वालिटि’को मन्त्रालयका रुपमा बुझिदै आएको भन्दै उउनले त्यहीँबाट सबैभन्दा महत्वपूर्ण र राष्ट्रिय महत्वको काम गर्नूपर्छ भन्ने संकल्प गरेर काम खोजेर आफु अगाडी बढेको बताइन् ।