Tag: नेपाल प्रेस

  • वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्ज (पर्सा) । चालू आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

    डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा २ अर्ब ९३ करोडले बढी हो ।

    जबकी गत आवको चार महिनाको अवधिमा भने ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए ।

    ‘गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत ९ दशमलव ६० प्रतिशतले बढेको छ,’ उनले भने ।

    कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । जसबाट १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड मूल्य पर्ने डिजेल आयात भएको थियो । सोबाट ९ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो ।

    चालू आवको ४ महिनामा १४ अर्ब २७ करोड मूल्य पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा ९ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा ८ अर्ब ११ करोड राजस्व सङ्कलन भयो ।

    त्यस्तै यो अवधिमा ९ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट १ अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।

    गत आवको सोही अवधिमा भने ११ अर्ब १० करोड मूल्य पर्ने १० करोड तीन लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो । सो आयातबाट २ अर्ब आठ करोड राजस्व सङ्कलन भएको थियो ।

  • स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ

    स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ

    वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको रु १० लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकमा जाँच गर्ने क्रममा मधेस प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साहको साथबाट रु १० लाखसहित पक्राउ गरेको हो ।

    पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

  • गलकोट र ताराखोलाबासीले गराए मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण

    गलकोट र ताराखोलाबासीले गराए मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण

    काठमाडौँ । बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकहरूले समसामयिक विषयमा भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलश्रोत तथा सिँचाइ एवं सहरी विकास मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण गराएका छन् ।

    जेनजी आन्दोलन पछि निर्माण भएको सरकारका मन्त्री घिसिङलाई मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्ड कालोपत्रे लामो समय बितिसक्दा समेत नभएको, अन्तर्राष्ट्रिय गलकोट मूर्तिकला सम्म कालोपत्रे सडक निर्माण, गलकोट ताराखोला सहज यातायात अनि निःशुल्क एम्बुलेन्स सेवाका विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

    स्थानीय तहको बजेटले सम्भव नभएका स्थानमा संघिय सरकार मार्फत खानेपानी योजनामा आवश्यक बजेट, गलकोट नगरपालिका ७ नं वडा कार्यालयको भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन, गल्याङ पचुवा मोटरेवल पुल निर्माणले निरन्तरता नपाएको, यस क्षेत्रको पर्यटन, पर्यावरण र भइरहेको विकास निर्माणका काममा दिगोपन सँगै गुणस्तरीयतालाई मध्यनजर गर्दै कार्यसम्पादन हुनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको समाजसेवी मिलन केसीले जानकारी दिए ।

    मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्डले अपेक्षित सकारात्मक गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको भन्दै ध्यानाकर्षण गराइएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राज बहादुर थापाले बताए ।

    ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री घिसिङले सम्बन्धित कार्यालय र निकायलाई यथाशीघ्र यी विषयमा कार्य सम्पादन गर्न निर्देशन दिएको बताइएको छ । मन्त्री घिसिङले नागरिक सँग आवश्यक सहकार्य गर्दै अघि बढ्ने समेत विश्वास व्यक्त गरे । साथै माग पत्रमा प्रस्तुत विद्यमान समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक पहल र कार्य सम्पादन हुने बताए ।

    कार्यक्रममा गलकोट घुम्टे विकास मञ्च काठमाडौँ, बागलुङ गलकोट महिला समूह काठमाडौँ, गलकोट समाज काठमाडौँ, ताराखोला समाज काठमाडौँ , बागलुङ समाज भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरू सहित जनप्रतिनिधि, समाजसेवी र सरोकारवालाको उपस्थिति रहेको थियो ।

  • पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

    पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

    काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् ।

    पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।

    उनले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले निर्वाह गरेको भूमिका साहसिक र अतुलनीय रहेको बताए ।

    आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने, ‘बन्दुक र कलमको समायोजन, लडाई र पढाइको फ्युजन, बारुद र मसीको घोलको सम्मिश्रण आजको गणतन्त्र हो ।’

    जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको अध्यक्ष दाहालले बताए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको बताइन् ।

    जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतर्फिरुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्, ‘नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्ष गम्भीर बन्नुपर्छ ।’

    प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले त्यस पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।

    लेखक पत्रकार शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकार सामेल भएर युद्ध पत्रकारिता गरेको र त्यस समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताए ।

    पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकले बताए । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक सङ्घर्ष र जनयुद्धका गतिविधिको दस्ताबेज पुस्तकले समेटेको छ ।

  • चितुवाको आक्रमणमा घाँस काट्न गएका एक जनाको मृत्यु, दुई घाइते

    चितुवाको आक्रमणमा घाँस काट्न गएका एक जनाको मृत्यु, दुई घाइते

    रुपन्देही । बर्दियामा चितुवाको आक्रमणमा परेर घाँस काट्न गएका एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।

    बारबर्दिया नगरपालिका–११ मा शुक्रबार दिउँसो घाँस काट्ने क्रममा काला बेलभार सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले बताए ।

    चितुवाले आक्रमणबाट जोगिन भाग्ने क्रममा स्थानीय दुई महिला घाइते भएका छन् ।

    भाग्ने क्रममा घाइते भएका सोही ठाउँकी इन्दिरा र मनिषा दहितको नगर अस्पताल बारबर्दियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • विराटनगरमा दुई पाङ्ग्रे र चार पाङ्‍ग्रेको लाइसेन्स खुल्यो

    विराटनगरमा दुई पाङ्ग्रे र चार पाङ्‍ग्रेको लाइसेन्स खुल्यो

    विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरले सवारीचालक अनुमतिपत्र प्रदान गर्न थालेको छ ।

    गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगेपछि रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो । विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीका अनुसार कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा सुरु गरेको छ ।

    गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन ।

    कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्रही आउने गरेको छन् । कार्यालयले हप्तामा तीनपटक सवारीचालक अनुमतिपत्रका लागि परीक्षा लिँदै आएको छ ।

    कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारीचालक अनुमतिपत्र उपलब्ध गराउँदै आइरहेको छ । विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

     

  • वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    काठमाडौंनेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ ।

    एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्नेगरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो ।

    सरकारले युएई मुलुकका हकमा चार हजार ५०० रुपैयाँबाट दोब्बर बढाएर नौ हजार ५०० रुपैयाँ र अन्य मुलुकको हकमा छ हजार ५०० रुपैयाँबाट नौ हजार ५०० रुपैयाँ पुर्‍याएको छ । शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको एशोसिएसनको बुझाइ रहेको अध्यक्ष दीपक थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, खाडी तथा मलेसिया जाने कामदारका लागि दश हजार रुपैयाँ सेवा शुल्क तोकेको अवस्थामा स्वास्थ्य परीक्षण शुल्क नै नौ हजार ५०० लिनु गम्भीर आपत्तिको विषय भएको अध्यक्ष थापाले उल्लेख गरे ।

    रोजगारीका लागि विशेषगरी मलेसिया र खाडीमुलुक जाने नेपाली अतिविपन्न अवस्थामा रहेकाहरू हुने एशोसिएसनको भनाइ छ । ती मुलुकमा दैनिक एक हजार ५०० युवा रोजगारका लागि जाने गरेका र उक्त निर्णयले विपन्न श्रमिकमाथि आर्थिक भार थप्ने एशोसियसनले जनाएको छ ।

    गन्तव्य मुलुकले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो मुलुकको मापदण्डअनुसार स्वास्थ्यपरीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको जनाइएको छ ।

    नेपालमा हुने स्वास्थ्य परीक्षण केबल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएको एशोसियसनको भनाइ छ । एशोसियसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुनेगरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ ।

    रासस

  • शहीद परिवारका ३२ बालबालिकालाई गोल्याण ग्रुपको शिक्षावृत्ति

    शहीद परिवारका ३२ बालबालिकालाई गोल्याण ग्रुपको शिक्षावृत्ति

    काठमाडौं । शहीद परिवारका बालबालिकाको अध्ययनका लागि गोल्याण ग्रुपले शैक्षिकवृत्ति योजना ल्याएको छ । जेन-जी आन्दोलनका कारण शहीद भएका परिवारका बालबालिकाको अध्ययन र अतिरिक्त क्रियाकलापमा गोल्याण ग्रुपले छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

    ग्रुपले मंगलबार विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता गरेको छ । सम्झौतामा बालबालिकाको कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक खर्च बेहोरिने उल्लेख छ । शैक्षिकवृत्तिका लागि घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर विद्यार्थीको अध्ययनमा खर्च गरिने गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, पब्लिक रिलेसन एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले जानकारी दिइन् । बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक र बालबालिकाका संरक्षक (अभिभावक) सँग त्रीपक्षीय हस्ताक्षर गरेको प्रमुख गैह्रेले बताइन् ।

    पहिलो चरणमा छ जना शहीदका ९ बालबालिकालाई शैक्षिकवृत्ति प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौताअनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च बेहोर्ने छ ।

    ‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ,’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजकबमोजिम गोल्याण ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’

    कर्पोरेट एण्ड कम्युनिकेशन्स प्रमुख गैह्रेले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिकवृत्ति प्रदान गरिने बताइन् । तीमध्ये मंगलबार ९ बालबालिकाको त्रिपक्षीय सम्झौता भएको हो । अन्य बालबालिकाको पनि छात्रवृत्ति सम्झौताको तयारी भइरहेको उनले बताइन् । उनका अनुसार गोल्याण ग्रुपले शैक्षिकवृत्तिको लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

    गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरुको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत बेहोर्ने बताइएको छ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सोवापतको रकम गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ ।

    सम्झौतापछि गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले शहीद परिवारका बालबालिकाहरुको शिक्षाको दायित्व लिने प्रतिबद्धता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको बताए । जेन–जी आन्दोलनका शहीदहरुको योगदानको कदर स्वरुप उनीहरुमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनले बताए ।

  • उद्योग मन्त्रालयको निर्देशन अटेर गर्ने हनुमान इट्टा उद्योग विरुद्ध उच्च अदालतमा रिट

    उद्योग मन्त्रालयको निर्देशन अटेर गर्ने हनुमान इट्टा उद्योग विरुद्ध उच्च अदालतमा रिट

    दाङ । दाङ जिल्लामा रहेको इट्टा उद्योगले पुस मसान्तपछि मात्रै इट्टा पोल्ने कार्य गर्नुपर्नेमा मंसिरकै महिनामा आगो लगाउने कार्य गरेको भन्दै रोक्न माग गर्दै अधिवक्ता अधिवक्ता विकास आचार्यले उच्च अदालत तुलसीपुरमा रिट दर्ता गराएका छन् ।

    उनले नेपाल सरकार उद्योग मन्त्रालयले गरेको पत्राचार विपरीत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योगका सञ्चालक गणेश घर्ती नगर र मनकुमारी घर्तीले फाइरिङ गरेको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका हुन् ।

    उक्त उद्योगले मंसिरको महिनामै फाइरिङ गर्दा दाङ जिल्लाको वातावरणमा गम्भीर असर पर्ने देखिएको छ । यस्तै जैविक विविधता नास हुने, स्वास्थ्यमा असर गर्ने, आसपासको जिल्लाका बासिन्दालाई समेत असर पुर्‍याउने, विद्यालय जाने बालबालिकाहरूलाई असर गर्ने, गर्भवती, वृद्ध, बच्चा, ज्येष्ठ नागरिक लगायतलाई दीर्घकालीन रूपमा असर पर्ने थाहा पाउँदा पनि अटेर गरिरहेको उद्योगलाई आगो लगाउने कार्य रोक्ने आदेशको माग गरिएको छ ।

    हालै दाङ जिल्लाका विभिन्न सात वटा उद्योगमा अनुगमन गर्दा अन्य छ वटा उद्योगले इट्टा पोल्ने कार्य गरेका छैनन् भने तुलसीपुर १८ मा रहेको उक्त उद्योगले मात्रै आगो लगाउने कार्य गरेको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले समेत यसका बारेमा अनुगमन गरेको थियो ।

  • एसीसी यू-१९ प्रिमियर कप : कप्तान धामीको प्रेरणामा हङकङमाथि नेपालको फराकिलो जित

    एसीसी यू-१९ प्रिमियर कप : कप्तान धामीको प्रेरणामा हङकङमाथि नेपालको फराकिलो जित

    काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपअन्तर्गतको खेलमा नेपालले आज हङकङलाई ११९ रनको फराकिलो अन्तरले हराएको छ । नेपालका लागि कप्तान अशोक धामीले प्रेरणादायी अलराउन्ड प्रदर्शन गरे ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट क्षतिमा २७० रनको मजबुत स्कोर खडा गरेको थियो । नेपालका लागि कप्तान धामीले विष्फोटक ब्याटिङ गर्दै ५१ बलमा ७३ रन जोडे ।

    जवाफी ब्याटिङमा हङकङ १४९ रनमा रोकियो । नेपालका अपराजित पौडेलले ४ विकेट र धामीले ३ विकेट लिए । धामी प्लेयर अफ द म्याच चुनिएका छन् । नेपालले पहिलो म्याचमा साउदी अरबलाई हराएको थियो ।

  • जसपा नेतालाई राजेन्द्र श्रेष्ठको प्रश्न- एमालेसँग तालमेल गरेर कस्तो संविधान संशोधन गर्न खोज्नुभएको

    जसपा नेतालाई राजेन्द्र श्रेष्ठको प्रश्न- एमालेसँग तालमेल गरेर कस्तो संविधान संशोधन गर्न खोज्नुभएको

    काठमाडौं । जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राजेन्द्र श्रेष्ठले अब नेकपाको विकल्प अरू पार्टी नभएको बताएका छन्।

    जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै सबै देशभक्त र वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताए। उनले नेकपासँग एकता जायज रहेको जिकिर गरे।

    नेकपासँग एकताको विपक्षमा उभिएका जसपाका नेताहरूलाई भने, ‘कतिपय साथीहरूले जसपालाई जीवित राख्छु भनिराख्नुभएको छ, त्यसका लागि एमालेसँग तालमेल गर्नुपर्छ भनेर हिँडेका छन्। अब आउने निर्वाचनमा संविधान संशोधनको एजेन्डा छ। त्यस्तो हो भने त फेरि पनि दोस्रो संविधान सभाजस्तो प्रतिगामी र यथास्थितिवादीको कब्जामा जान्छ।’

    उनले अग्रगामी शक्तिहरू एक ठाउँमा हुनुपर्छ भन्ने लागेर नेकपा रोजेको बताए।

  • कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

    कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।

    गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

  • मन्त्री कुलमान घिसिङद्वारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

    मन्त्री कुलमान घिसिङद्वारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधवार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएका थिए ।

    आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।

    तर, बुधवार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताए । उनले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए । त्यस्तै, घिसिङले नियमित सुपरिवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताए ।

    संसद भवन निर्माण एकदमै महत्त्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरबाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी दिए ।

    संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौँपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ । आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८०मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ ।

    यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेको भवनहरूमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरेका थिए ।

    धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिँदै उनले निर्माण कार्यको आफैंलेसमेत नियमित अनुगमन गर्ने बताएका थिए ।

     

  • विवादित संघ-संस्थामाथि छानविन गर्न जिप्रकाले बनायो ३ सदस्यीय समिति

    विवादित संघ-संस्थामाथि छानविन गर्न जिप्रकाले बनायो ३ सदस्यीय समिति

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधान विपरीत गतिविधि, कार्यसमितिको मनोमानी, आर्थिक अनियमितता लगायतका विषयमा बारम्बार उजुरी परेपछि केही दर्ता संघ-संस्थामाथि औपचारिक छानबिन सुरु गरेको छ ।

    काठमाडौंमा दर्ता भएका केही संघ-संस्थामा नियम र विधानको परिधि बाहिर रहेर गतिविधि गरिने, कार्यसमितिले स्वेच्छाचारी निर्णय गर्ने तथा आर्थिक पारदर्शितामाथि प्रश्न उठ्ने गरेको विषयमा निरन्तर गुनासो प्राप्त भएपछि प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो ।

    विवादित संस्थाका गतिविधिमाथि अनुसन्धान गरी यथार्थ प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।

    उनका अनुसार छानबिन समितिले विवादित विषयको अनुसन्धान सम्पन्न गरी प्रतिवेदन बुझाएपछि मात्रै ती प्रकृतिका संस्थासम्बन्धी थप आवश्यक निर्णय गरिने छ ।

    प्रशासनले यो सूचना सम्बन्धित संघ-संस्था, पदाधिकारी तथा सरोकारवाला सबैको जानकारीका लागि जारी गरेको जनाएको हो । तर, विवादमा नतानिएका अन्य संघ-संस्थाको हकमा भने संस्था दर्ता, नवीकरण, अद्यावधिक तथा नियमित प्रशासनिक काम निरन्तर सुचारु रूपमा सञ्चालन भइरहेको प्रशासनले स्पष्ट पारेको छ ।

    प्रशासनले संघ-संस्थाको व्यवस्थापनलाई कानूनी दायित्वमा बाँध्न, सार्वजनिक विश्वास कायम गर्न र सुशासन प्रवर्द्धन गर्न छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ ।

    छानबिन प्रक्रिया संस्थागत सुधार र विधि शासन सुदृढीकरणका लागि प्रारम्भ गरिएको बताउँदै आगामी निर्णयलाई समेत प्रतिवेदनमा आधारित र न्यायोचित बनाउने प्रवक्ता रिजालले बताए ।

  • गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

    गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि

    चितवन । आगामी पुस १ गतेदेखि बाघ गणना थालिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । उनका अनुसार सुरुमा चितवन र पर्सालाई एउटा कम्प्लेक्स बनाएर यहाँबाट गणना थालिने छ । यो कम्प्लेक्समा तीन वटा ब्लक रहने छन् ।

    ती ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरीने छ । यसलाई ग्रीड भनिन्छ । यसमा क्यामेरा १५ रात राखेपछि अर्को ग्रीडमा सारिने छ । दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाईएको छ । त्यहाँ भित्र पनि तीन वटा ब्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यो एउटै ब्लक बनाइने उनले जानकारी दिए ।

    निकुञ्ज विभागले सरकारी निकाय र दातृ निकायहरुसँग भएका एक हजार १०० क्यामेरा गणनामा प्रयोग गर्न लागेको आचार्यले जानकारी दिए । क्यामेरा पुरानै प्रयोग गरिने भएकाले गणनामा रु दुई करोड ५० लाख हाराहारी खर्च हुने अनुमान छ । सरकारी र दातृ निकायहरुको सहयोगमा गणना गर्न लागिएको हो ।

    यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए। हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् ।

    बाघ गणना सम्पन्न भए पछि गैँडा गणना गर्ने तयारी छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो । हरेक चार/चार वर्षमा गैँडा गणना गरिँदै आएको थियो । गत वर्ष गर्न नसकीएको गैंडा गणना यस वर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ । रासस

  • देशको पहिलो राष्ट्रिय एआई ह्याकाथन सम्पन्न

    देशको पहिलो राष्ट्रिय एआई ह्याकाथन सम्पन्न

    काठमाडौं । सन्फ्लावर स्पेक्ट्रमद्वारा प्रस्तुत ‘AIDA २०२५’: ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि एआई’ विषयक Technology Hackathon नेपालमा पहिलो पटक आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि देशको पहिलो राष्ट्रिय AI Hachakton, AIDA २०२५ यसै हप्ता सम्पन्न गर्दै नेपालले समावेशी नवप्रवर्तनमा एउटा महत्त्वपूर्ण कदम अगाडि बढाएको छ।

    प्रतीक इनोभेसन्स द्वारा आयोजित तथा सनफ्लावर स्पेक्ट्रम बाइ आरएक्सपिन (Sunflower Spectrum by RxPIN) द्वारा प्रस्तुत उक्त कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सुधार ल्याउने,थप सहभागी र सुसूचित समाज प्रवर्द्धन गर्ने Artificial Intelligence -सञ्चालित समाधानहरूको विकासको साझा उद्देश्यका साथ युवा इन्जिनियरहरू, अपाङ्गता सचेतना कर्मीहरू र शिक्षकहरूलाई एक ठाउँमा भेला गरायो।

    नेपालभरबाट ५८ भन्दा बढी आवेदनहरू प्राप्त भएका थिए। जसमध्ये प्रतिस्पर्धीको रूपमा उत्कृष्ट सात टोलीहरूलाई उनीहरूको विचार, प्राविधिक प्रतिबद्धता र दीर्घकालीन योजनाहरूको आधारमा छनोट गरियो। तीनजना अपाङ्गता भएका व्यक्तिहरू र लगभग ४० प्रतिशत महिलाहरूको सहभागीले वर्षको सबैभन्दा समावेशी प्राविधिक कार्यक्रमहरू मध्ये एक बनाएको थियो।

    सहभागीहरूले Smart Mobility and Communication (स्मार्ट गतिशीलता र सञ्चार), AI for Autism (अटिजम र आर्टिफिशियल इंटेलिजेंस) , Digital Caregiver Systems (डिजिटल हेरचाहकर्ता प्रणाली) र Education Technologies for Hearing and Speech-impaired Learners (श्रवण र वाक्-अशक्त सिकारुहरूका लागि शिक्षा प्रविधि) का चार क्षेत्रमा प्रोटोटाइप विकास गरेका थिए ।

    सहभागीहरू द्वारा प्रस्तुत प्रविधिहरूमा सम्बन्धित क्षेत्रका प्रशिक्षक र सल्लाहकारहरू द्वारा उनीहरूका विचार वास्तविकता र आवश्यकतामा आधारित छन् भन्ने सुनिश्चित गर्दै थप मार्गदर्शन प्रदान गरिएको थियो।

    ७२ घण्टाको आवासीय चरणभन्दा अघि, टोलीहरूले एउटा राष्ट्रिय भर्चुअल आइडियाथनमा भाग लिएका थिए। मोनल टेक, दियो एआई, एनएपीडी नेपाल, काठमाडौं महानगरपालिका र किङ्गस् कलेजका निर्णायकहरूद्वारा समस्याको स्पष्टता, सामाजिक प्रभाव, टोलीको क्षमता र कार्यान्वयनको सम्भाव्यताका आधारमा उनीहरूका प्रविष्टिहरूको मूल्याङ्कन गरिएको थियो।

    त्यसपछि, छानिएका शीर्ष सात टोलीहरूले सनवे कलेजमा ३६ घण्टा बिताई आफ्ना प्रोटोटाइपहरू (नमुना) निर्माण गरेका थिए, जसमध्ये धेरै परियोजनाहरू पछि आईसीटी अवार्ड २०२५ स्टार्टअप र आइडियाफेस्टमा प्रदर्शन गरिएका थिए।

    नोभेम्बर १५ मा सम्पन्न उक्त कार्यक्रमको निर्णायक मण्डलमा KUSOED-MISNE बाट सरिता खड्का, वन पोइन्टबाट विकास नाहटा, काठमाडौं विश्वविद्यालय (AI) बाट मनोज शाक्य, Leapfrog बाट Innovation Director अंकुर शर्मा र RxPIN Spectrum Pathways का संस्थापक ध्रुव अधिकारी लगायतका विविध क्षेत्रका विज्ञहरू थिए।

    समारोहको समापनमा, Think AI ले प्रथम स्थानसहित रु. ५०,००० नगद पुरस्कार जित्यो। Mission Chaurasi र Access Code क्रमशः पहिलो र दोस्रो रनर-अप बने, भने Team Synaptic ले उत्कृष्ट नवप्रवर्तन (Best Innovation) पुरस्कार प्राप्त गर्‍यो।

    RxPIN द्वारा विकसित Sunflower Spectrum, न्यूरोडाइवर्जेन्ट व्यक्तिहरू (विशेष गरी अटिजम भएका) को समावेशिता र जनचेतना बढाउने मञ्च हो। AIDA २०२५ मा उनीहरूको सहभागिता नेपालका भविष्यका आविष्कारकहरूलाई अपाङ्गता समावेशिताको महत्त्वबारे सचेत गराउनु थियो।

    RxPIN का संस्थापक ध्रुव अधिकारीले युवाहरूलाई सचेत बनाउनु मुख्य लक्ष्य रहेको र कार्यक्रमले सकारात्मक परिवर्तन ल्याएकोमा विश्वास व्यक्त गर्दै सचेतना र नवप्रवर्तनको दीर्घकालिक महत्त्वमा जोड दिएका थिए।

    प्रतियोगिताको समापनपछि, शीर्ष १६ टोलीहरूलाई परामर्श र अनुसन्धान सहकार्यको अवसरसहित दिगो सहायक प्राविधिक उद्यमका लागि Incubation प्रक्रियामा सामेल गरिनेछ। Event Director जतिन भुसालले AIDA कार्यक्रम हरेक वर्ष आयोजना हुने जानकारी दिए।

    Sunflower Spectrum ले २०२६ मा अन्तर्राष्ट्रिय सम्मेलन “AI for People with Disabilities” आयोजना गर्ने प्रारम्भिक अवधारणा पनि बताएको छ। AIDA २०२५ ले नेपाललाई समावेशी प्रविधिको मानक स्थापित गर्न जिम्मेवारी, सृजनात्मकता र सहानुभूतिका साथ तयार रहेको देखाउँछ।

  • प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ

    प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण भोलिबाट अवकाशमा जान लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गरेकी छन् ।

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहबीच उनले अर्याललाई बिदा गरेकी हुन्।

    प्रधानमन्त्री कार्कीले मुख्यसचिव अर्यालले सेवा अवधिभरि देखाएको कर्तव्यनिष्ठा र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ ।

    मुख्यसचिव अर्यालले पनि आफ्नो कार्यकालमा पाएको समर्थन र सहकार्यप्रति आभार व्यक्त गर्दै सरकार र देशका लागि योगदान दिन पाएकामा खुसी व्यक्त गरे । विसं २०४६ माघ ४ गते नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएका अर्याल विसं २०८१ भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए ।

    अर्याल अनिवार्य अवकाशमा जाने भएपछि यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।

  • जेनजी आन्दोलनमा झापा र दमकबाट लुटिएको पेस्तोल र गोलीसहित इलाममा ३ जना पक्राउ

    जेनजी आन्दोलनमा झापा र दमकबाट लुटिएको पेस्तोल र गोलीसहित इलाममा ३ जना पक्राउ

    विराटनगर । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउन्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालय अनुसार पक्राउ पर्नेमा झापाको दमक-८ का २५ वर्षीय सरोज पुरी, दमक-६ का २९ वर्षीय विश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा रहेका छन् ।

    भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा काठमाडौँ महानगरीय प्रहरी कार्यालय तोडफोड, आगजनी गरी हात हतियार, गोलीगठ्ठा लुटी फरार भएका सरोज पुरी आफ्नै घर वतनमा आई लुकी छिपी बसेको भन्ने विशेष सूचनाको आधारमा मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पुरीलाई १ थान पेस्तोल र १५ राउन्ड गोली सहित पक्राउ गरेको हो ।

    पक्राउ परेका पुरीले लुटी ल्याएको १ थान पेस्तोल र ५ राउन्ड गोली विश्व लिङ्देनलाई दिएको र विश्व लिङ्देनले उक्त पेस्तोल र गोली चुलाचुली-४ का पवन हाङ्सुरुम्वालाई राख्न दिएको भनी इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी पेल्टीमारी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पवन हाङसुरुम्बालाई उनले बारीमा खाल्डो खनी लुकाई राखेको १ थान पेस्तोल र ५ राउन्ड गोली सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ ।

  • महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

    महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका दमाईं नदीमा बेपत्ता भएका हुन् ।

    बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखीकार्य जारी राखेको भए पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

    “दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,” प्रवक्ता बोहराले भने, “बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ ।”

  • रौतहटमा परिवारकै सदस्यबाट महिलाको बीभत्स हत्या, घटनास्थलमै गाडिएको अवस्थामा शव फेला

    रौतहटमा परिवारकै सदस्यबाट महिलाको बीभत्स हत्या, घटनास्थलमै गाडिएको अवस्थामा शव फेला

    रौतहट । रौतहटको वृन्दावन नगरपालिका-९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले हत्या गरेको घटना बाहिरिएको छ । भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

    मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् ।

    घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार रहेको र उनीहरू खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए ।

    वृन्दावन–९ का वडा अध्यक्ष प्रवेज आलमका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवा पर्दछ । गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुनलाई भेटाएको थियो । तत्पश्चात् दुवैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको थियो । दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए ।

    ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकैबेला सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए । फरार हुँदै उgले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ ।

    प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • होस्टेल सञ्चालकद्वारा बालिका दुर्व्यवहारको आरोप, फरार हुँदै बाचकाँडाबाट पक्राउ

    होस्टेल सञ्चालकद्वारा बालिका दुर्व्यवहारको आरोप, फरार हुँदै बाचकाँडाबाट पक्राउ

    सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-५ मा अवस्थित श्री सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलका होस्टेल सञ्चालक महेन्द्र अर्याल बालिकाप्रति अनैतिक व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।

    कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई मंसिर ३ गते राति होस्टेलमै करणी गरेको आशंकामा बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएपछि प्रहरीले उनीमाथि खोजी थालेको थियो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार फरार बनेका ४० वर्षीय अर्याल गएराति पञ्चपुरी-१ बाचकाँडामा लुकेर बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरीका प्रवक्ता माेहनजंग बुढथापाले जानकारी दिएका छन् ।

    प्रवक्ता बुढथापाका अनुसार अर्यालमाथि थप अनुसन्धान भइरहेको छ ।

  • चौदण्डीगढीका मेयरले वडाध्यक्ष अधिकारीलाई गरे बर्खास्त

    चौदण्डीगढीका मेयरले वडाध्यक्ष अधिकारीलाई गरे बर्खास्त

    विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले वडा नम्बर- ७ का अध्यक्ष केशव अधिकारीलाई बर्खास्त गरेका छन् ।

    लामाले अधिकारीलाई पदमुक्त गरेको पत्र थमाइदिएका हुन् । उनीहरू दुवैजना एमालेबाट निर्वाचित हुन् । अधिकारीलाई जेनजी आन्दोलनको क्रममा पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न आरोपमा एमालेले कारबाही गरेको थियो । उनले केही समयअघि एमाले छाडेको घोषणा गरेका थिए ।

    मेयर लामाले अधिकारीलाई वडा सदस्य बलराम मगरलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।

    मेयर लामाले भने, ‘वडा कार्यालयमा आएर काम नगरेपछि जनतालाई सेवा दिनका लागि कार्यवाहक दिएका हौँ । कार्यवाहक दिएपछि उहाँ फेरि अध्यक्ष भन्दै काममा फर्किनु भएको सुनेको छु ।’

    दल दर्ता सम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थाअनुसार पद मुक्त गरेर निर्वाचन आयोगलाई जानकारी दिएको मेयर लामाले बताए । अधिकारीले पार्टी परित्याग गरेको र सो निर्णय जिल्ला कमिटीले स्वीकृत गरिसकेकाले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम वडाध्यक्षको रूपमा स्वीकार नगर्ने’ निर्णय भएको लामाको भनाइ छ ।

    पद मुक्त गरिएको भनिएका वडाध्यक्ष अधिकारीले आफू बस्ने कुर्सी र नेमप्लेट मेयरले लगेको बताए ।

    उनले भने, ‘मेरो कुर्सी र नेम प्लेट समेत मेयर सा’बले नगर प्रहरी लगाएर उठाएका छन् ।’

    उनले मेयरले पदमुक्त गरेको पत्र दिएर कुर्सी समेत उठाएर लगेको भन्दै ‘चोरी’ सम्बन्धी उजुरी दिएका छन् ।

     

  • पार्किङ अभावले भलबारी डिपोमा जोखिम बढ्यो, आगलागीको जोखिमले स्थानीय त्रसित

    पार्किङ अभावले भलबारी डिपोमा जोखिम बढ्यो, आगलागीको जोखिमले स्थानीय त्रसित

    भलबारी (रुपन्देही) । दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।

    सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले रोक्नसमेत नदिँदा खरेलजस्तै ३०० हाराहारी ट्याङ्कर चालकले हैरानी बेहोर्दै आएका छन् ।

    “डिपोमा पार्किङ नहुँदा सडकमै ट्रक तथा ट्याङ्कर राख्नुपर्ने, ट्राफिक प्रहरीले जरिवाना तिराउने, बुटवल–भैरहवा सडकको सर्भिस लेनबाट निगमको डिपोभित्र प्रवेश गर्नुपर्दा अत्यधिक जामको समस्या आएको छ”, चालक खरेलले भने ।

    पेट्रोलियम पदार्थ लिन निगमकै अन्य तथा इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न डिपो पुग्नुभएका उहाँसँग डिपो सुरक्षाका लागि छुट्टै पार्किङको विशेष व्यवस्था भएको अनुभव छ । “सडकमा रोकी राख्दा कहिलेकाहीँ दुर्घटना हुनसक्छ, त्यसको जिम्मेवार को भन्दा ट्याङ्कर चालक नै हुने गरेका छन्”, ट्याङ्कर एकाइ कमिटी भलबारीका अध्यक्ष खरेलले भन्नुभयो, “निगमले पार्किङको ठाउँ छुट्टाइदिएको भए चालक र स्थानीयलाई पनि ढुक्क हुन्थ्यो ।”

    पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घका कोषाध्यक्ष धनेन्द्र पौडेल ठूल्ठूला ट्याङ्कर आवातजावत गरिरहँदा पार्किङको अभाव भएको बताउछन् । इन्धन लोड गरेर ल्याएको ट्याङ्कर यत्रतत्र राख्नुपर्ने बाध्यता छ । “पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर घरमा लगेर राख्ने होइन, अति प्रज्वलनशील पदार्थ सडकमा राख्न पनि मिलेन”, उनले भने, “पेट्रोलियम पदार्थको माग बढेका दिन लस्करै वल्लो चोकदेखि पल्लो चोकसम्म ट्याङ्कर राख्नुपर्ने बाध्यता छ, यसबाट सडक दुर्घटना मात्र नभई अन्य समस्या पनि बेहोर्नुपरेको छ ।”

    रुपन्देहीकै रोहिणी क्षेत्रमा डिपो सार्ने खबरले ट्याङ्कर व्यवसायी र चालक उत्साहित छन् । “रोहिणी क्षेत्रमा डिपो स्थानान्तरण हुने जानकारी पाएका छौँ, नयाँ ठाउँमा पार्किङको उचित व्यवस्था हुन्छ भन्ने आशा छ”, उनले भने ।

    ट्याङ्कर चालक मात्रै होइन वरपरका नागरिकलाई पनि डिपोले तनाव नै दिएको छ । विसं २०३६ मा डिपो स्थापना भएको हो ।  त्यति बेला भलबारी गाउँ नै थियो । अहिले सो क्षेत्र सहरमा परिणत भएको छ । बुटवल–भैरहवा ६ लेन सडक यही हुँदै गएको छ । चार बिघा १४ कट्ठामा फैलिएको सो डिपो अहिले घनाबस्तीको बीचमा छ ।

    इन्धन बोकेका ट्रक तथा ट्याङ्कर घरै अगाडि सडकमा पार्किङ गरेर राख्दा जोखिम बढेको तिलोत्तमा–७ भलबारीस्थित मनकामना टोल विकास संस्थाका अध्यक्ष विसन शाही बताउन् । केही वर्षअघि भलबारी डिपोमा आगलागी हुँदा त्रास बढेको भन्दै स्थानीयले सङ्घर्ष समिति गठन गरी डिपो तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटक पटक ज्ञापनपत्र बुझाएका छन् ।

    ज्ञापनपत्रमा तत्काल डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउने, त्यसअघि ट्याङ्करको निश्चित स्थानमा पार्किङको व्यवस्था, बुटवल–भैरहवा सडकखण्डको ‘सर्भिस लेन’मा ट्रक ट्याङ्कर पार्किङ गर्ने अवस्था तत्काल हटाउनेलगायत विषय उल्लेख गरिएको सङ्घर्ष समितिका संयोजक गङ्गा शाहीको भनाइ छ ।

    निगमको लुम्बिनी प्रादेशिक डिपो प्रमुख शैलेन्द्र भुसाल भलबारी डिपोमा जग्गा अभावका कारण तत्काल भण्डारण क्षमता र पार्किङ क्षेत्र विस्तार गर्नसक्ने अवस्था नरहेको बताए। “भण्डारण क्षमता अभिवृद्धि गर्नका लागि जग्गा छैन, थप पूर्वाधार निर्माण गर्ने अवस्था छैन”, उनले भने, “डिपोमा पार्किङ क्षेत्र नै छैन, ट्रक तथा ट्याङ्कर सडकमै राख्नुपर्ने बाध्यात्मक अवस्था छ, यिनै कारणले तत्काल डिपो सार्नुपर्नेछ ।”

    रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र रुकुम पूर्वसहित बागलुङका केही पम्पमा इन्धन आपूर्ति गर्दै आइरहेको छ । सो डिपोअन्तर्गत २०० भन्दा बढी डिलर सञ्चालित छन् । डिपोमा इन्धन ल्याउने र डिलरमा पु¥याउन करिब ३०० ट्रक ट्याङ्कर छन् । भलबारी डिपोमा अमलेखगञ्जबाट डिजेल तथा पेट्रोल भारतको बेतालपुर डिपोबाट आयात हुँदै आएको छ । भलबारी डिपोमा हाल पेट्रोलको ५१९ किलोलिटर, डिजेल तीन हजार ५० किलोलिटर र मट्टितेलको भण्डारण क्षमता १४० किलोलिटर रहेको छ ।

    दैनिक ३०० किलोलिटर पेट्रोल, सात सय किलोलिटर डिजेल र १२ किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । सरकारले हरेक प्रदेशमा तीन महिनासम्म पुग्ने भण्डारण क्षमता वृद्धि गर्ने भने पनि बिक्री अवस्थाका आधारमा सो डिपोको मौज्दात न्यून छ । भलबारी डिपोको हालको मौज्दातले पेट्रोल दुई दिन, डिजेल करिब चार दिनको माग धान्ने प्रमुख भुसालले जानकारी दिए ।

    सडक अवरुद्ध भए चार दिनमै डिपो ‘रित्तिने’ डर

    भण्डारण क्षमता न्यून भएपछि सडक अवरुद्ध हुँदा वा इन्धन लोड हुन नसक्दा डिपो ‘रित्तिने’ अवस्था देखिएको प्रमुख भुसालको भनाइ छ । केही कारणले एक/दुई दिन इन्धन लोड हुन नसकेमा डिपो खाली हुने र बिक्री वितरणमा समस्या पर्न सक्ने अवस्था रहेको उनले बताए । “हामीसँग पर्याप्त मौज्दात गर्ने टयाङ्क छैन”, उनले भने, “कहिलेकाहीँ बाटो बिग्रन सक्छ, समयमै ‘लोड’ नहुन सक्छ, यहाँको अवस्था दयनीय छ ।”

    केही महिनाअघि वर्षाका कारण बुटबल–नारायणगढ सडक अवरुद्ध हुँदा अमलेखगन्जबाट इन्धन ल्याउन नसकिएपछि डिपोले पोखराबाट इन्धन आपूर्ति गरेको थियो । भलबारी डिपो स्थानान्तरण गर्न रुपन्देहीकै रोहिणी खोला किनारमा जग्गा व्यवस्थापन गरिएको छ । निगमले बस्तीभन्दा टाढा र पर्याप्त जग्गा रहेका कारण सो क्षेत्रमा आधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने घोषणा गरे पनि अझै प्रक्रिया अघि बढ्न सकेको छैन । रासस

  • वर्षा राउतको भावुक स्टाटस- यस्तो समाजमा बाँच्नु नै किन यति कठिन ?

    वर्षा राउतको भावुक स्टाटस- यस्तो समाजमा बाँच्नु नै किन यति कठिन ?

    काठमाडौं । अभिनेत्री वर्षा राउतले आफूलाई गाली गरिएको एक कमेन्टको स्क्रिनसट राख्दै यो समाजमा बाँच्न धेरै गाह्रो भइसकेको बताएकी छन् । असंवेदनशील मान्छेहरूका कारण धेरै नै एक्लो महसुस गरेको उनले लेखेकी छन् ।

    लामो स्टाटस लेख्दै उनले भनेकी छन्, ‘कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ । किनकि उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ ।’

    वर्षाको थप भनाइ छ, ‘हाम्रो समाजले सदैव सब राम्रो देखिनुपर्छ भन्ने मुखौटा लगाउन बाध्य पार्छ । तर, भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिलै तयार हुँदैन । श्रीमतीलाई ‘लाटी, अलछिनी’ जस्ता अपमानजनक शब्दले बोल्दा समाज मौन बस्छ । श्रीमतीले सहनुपरेको धोका, चोट, बेइज्जतिमा कसैलाई चासो हुँदैन । तर, एउटै महिलाले आफ्नो आवाज उठाइदिँदा समाज ऊमाथि नै औँला उठाउन थाल्छ ।’

    समाजको यस्तै दोहोरो मापदण्ड, बेइन्साफी र यही पक्षपातले धेरै महिलालाई भित्रभित्रै तोडिदिने पनि उल्लेख गरेकी छन् । यस्तो समाजमा बाँच्नु नै किन कठिन छ भनेर कहिलेकाहीँ लाग्ने गरेको उनले बताएकी छन् । परिवर्तन सबैले चाहियो भने पनि बदलिन कोही नचाहेको वर्षाको गुनासो छ ।

    वर्षा र उनका श्रीमान संजोग कोइरालाबीचको सम्बन्ध जटिल मोडमा पुगेको बताइन्छ । इन्स्टाग्राममा एक अर्काले पोस्ट राख्नेदेखि आपसी विवादलाई साम्य बनाउने कोसिस समेत गरेका थिए । वर्षाले इन्स्टाग्रामबाट संजोगका सबै फोटो समेत हटाएकी थिइन् । यही सिलसिलामा वर्षाको भावुक स्टाटस आएको हो । तर, यो स्टाटस श्रीमानसँगको खटपटसँग मात्रै हो कि अरु पनि भन्ने खुलेको छैन ।

  • शिक्षा मन्त्रालयलाई यूएईको उच्च समिति एचसीएफले गर्‍यो सम्मान

    शिक्षा मन्त्रालयलाई यूएईको उच्च समिति एचसीएफले गर्‍यो सम्मान

    अबुधाबी । मानव भ्रातृत्वको लागि उच्च समिति (एचसीएफ) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सम्मानस्वरूप प्रशंसापत्र प्रदान गरेको छ। एक विशेष समारोहमार्फत सो प्रशंसापत्र नेपाली दूतावास आबुधावीलाई हस्तान्तरण गरियो ।

    उच्च समितिका तर्फबाट महासचिव महामहिम डा. खालिद घानम अल घाइथले प्रदान गरेको सो प्रशंसापत्र नेपाली दूतावासकी काउन्सिलर, उप नियोग रञ्जिता दाहालले ग्रहण गरेको नेपाली दूतावास आबुधावीले जनाएको छ ।

    शिक्षा मन्त्रालयले मानव भ्रातृत्वका लागि उच्च समिति एचसीअफ र जापानमा आधारित अन्तर्राष्ट्रिय संस्था अरिगातो इन्टरनेशनल, तथा युनेस्कोसँग संयुक्त रूपमा कार्यान्वयन गर्दै आएको नीति-नैतिकता शिक्षासम्बन्धी कार्यक्रममा गरेको महत्वपूर्ण योगदान र निरन्तर सहकार्यमाथि आधारित भएर नेपाललाई सम्मान गरिएको जनाएको छ।

    यस पटक नेपालसहित बंगलादेश, केन्या, इन्डोनेसिया, मौरिसस र सेसेल्सलाई सम्मान गरिएको हो । साथै संयुक्त अरब इमिरेट्सका विविध मन्त्रालय तथा संस्थाहरूले पनि उक्त कार्यक्रमलाई सहयोग गरेको भन्दै अन्तर्राष्ट्रिय सहिष्णुता दिवसको अवसर पारेर आबुधावीमा सम्मानित गरिएको हो ।

    समारोहमा नेपाली दूतावासका तर्फबाट प्रथम सचिव भूपेन्द्र घिमिरे समेत सहभागी थिए ।

  • सिन्धुपाल्चोकमा थपिए ९ हजार बढी मतदाता

    सिन्धुपाल्चोकमा थपिए ९ हजार बढी मतदाता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा नौ हजार ३ सय १९ मतदाता थपिएका हुन् ।

    असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालय पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी शर्मिला चौलागाईंले जानकारी दिइन् ।

    चौलागाईंका अनुसार कार्यालयमै पुगेर दुई हजार ३ सय ८० जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ९ सय २८ र पुरुषको सङ्ख्या एक हजार ४ सय ५२ छ । यस्तै, राष्ट्रिय परिचयपत्रमार्फत छ हजार ९ सय ३९ जनाले नाम दर्ता गराएका छन् ।

    राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

    यसैगरी, दुई सय ५० जनाले ठाउँसारी र दुई सय ५० जनाले त्रुटि सच्याउन कार्यालयमा निवेदन दिएको चौलागाईंले बताइन् । असोज १० गतेसम्म जिल्लामा दुई लाख ६५ हजार १ सय ९१ मतदाता रहेको कार्यालयले जनाएको छ ।

  • छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    काठमाडौँ । देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

    काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

    कोटेश्वर चोकस्थित सडकमा बा३ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका–१० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स३प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यता, कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु३त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका–३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ । थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सरकारी विद्यालयको सम्पत्ति भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर

    सरकारी विद्यालयको सम्पत्ति भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको सार्वजनिक सम्पत्ति निजी बोर्डिङ स्कुललाई अवैध रूपमा भाडामा दिई दुरुपयोग गरेको आरोपमा आज नौ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

    आयोगका प्रवक्ता राजेद्रकुमार पौडेलका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, समितिका पदेन सदस्य पोखरा महानगरपालिका–१ का वडाअध्यक्ष शाहारा प्रधानसहित पाँच सदस्यले अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई सार्वजनिक सम्पत्ति १२ वर्षका लागि अवैध रूपमा भाडामा दिने निर्णय गरेका आरेप छ । उक्त कार्यमा बोर्डिङ स्कुलका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी पनि संलग्न रहेको आयोगको ठहर छ ।

    विद्यालय व्यवस्थापन समितिले स्थलगत अध्ययन प्रतिवेदनमार्फत पहिलोपटक ३० वर्षका लागि भाडामा दिन सिफारिस गरेको तथा विसं २०८० फागुन २६ गते सदस्यसचिवको अनुपस्थितिमा बसेको बैठकबाट १२ वर्षका लागि भाडामा दिने निर्णय गरिएको आयोगले जनाएको छ । सोही आधारमा त्यही वर्ष फागुन २९ गते दुवै पक्षबीच सम्झौता भई चैत १ गतेदेखि लागू गरिएको थियो ।

    पोखरा महानगरपालिका शिक्षा महाशाखाको प्रतिवेदन र वडा नं १ का वडाध्यक्षले करार खारेज गर्न दिएको निर्देशनले पनि सम्झौता कानुनविपरीत रहेको पुष्टि भएको आयोगले जनाएको छ ।

    सम्झौताअनुरूप विद्यालयको नाम–छाप प्रयोग गरी अञ्जुली आवासीय माध्यमिक विद्यालयबाट रु १५ लाख २९ हजार ४०८ सङ्कलन गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरिएकाले सोही बराबरको बिगोसहित कारबाही माग गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

    आयोगले विद्यालय व्यवस्थापन समितिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा गलत प्रतिवेदन उपलब्ध गराएको अभियोगमा दफा १९(२) बमोजिम सजाय मागदाबी गरेको छ । यस्तै, बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपललाई अवैध लाभ लिएकाले मतियारका रूपमा दफा २२ बमोजिम सजाय माग गरिएको छ ।

    – रासस

  • अमेरिकामा तीन नेपालीको नवप्रवर्तन– मुख र दन्त स्वास्थ्य क्षेत्रमा उदाउँदै ‘युनिक बायोसाइन्सेस’

    अमेरिकामा तीन नेपालीको नवप्रवर्तन– मुख र दन्त स्वास्थ्य क्षेत्रमा उदाउँदै ‘युनिक बायोसाइन्सेस’

    टेक्सास । अमेरिकामा कार्यरत तीन जना नेपाली उद्यमी युवाले नेक्स्ट–जेनेरेशन मौखिक स्वास्थ्य र डायग्नोस्टिक नवप्रवर्तनमा युनिक बायोसाइन्सेस प्रविधिका विकास गरेका छन् । यो कम्पनीले उपभोक्ता मैत्री समाधान र वैज्ञानिक परीक्षणलाई एकसाथ जोड्न मिसन लिएको छ ।

    युनिक बायोसाइन्सेस’ले मौखिक स्वास्थ्य, मोलेकुलर डायग्नोस्टिक्स तथा माइक्रोबायोम केन्द्रित वेलनेसको क्षेत्रमा नवप्रवर्द्धन कम्पनीहरूमध्येमै बलियो उपस्थिति जनाएको छ । डा. प्रविन मल्ल, सुवास पौडेल र प्रमोद शर्माको नेतृत्वमा सञ्चालित यो कम्पनीले छोटो समयमै यस क्षेत्रमा आफूलाई नवप्रवर्तक कम्पनीको रूपमा उभ्याउन सफल भएको हो ।

    युनिक बायोसाइन्सेसले बजारमा ल्याएको प्रमुख उत्पादन लाइन मौखिक स्वास्थ्यमा केन्द्रित छ । कम्पनीले मुखको स्वास्थ्य हेरचाह र सुक्ष्मजीव परीक्षणको भविष्य नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

    युनिक बायोसाइन्सेसको प्रमुख उपभोक्ता उत्पादन लाइन मौखिक स्वास्थ्यका लागि विशेषरुपमा लक्षित प्रोबायोटिक फर्मुलेशनहरुमा केन्द्रित छ । जुन दन्त समुदायले दीर्घकालीन स्वास्थ्यमा मौखिक माइक्रोबायोमको भूमिकालाई स्वीकार गर्न थालेसँगै तीव्ररुपमा बढिरहेको छ ।

    परम्परागत पेट–केन्द्रित प्रोबायोटिक्सभन्दा फरक कम्पनीले दाँत, गिजा र श्वासको स्वास्थ्यका लागि विशेष ‘ब्याक्टेरियल स्ट्रेन’ हरू प्रयोगमा ल्याएको जनाएको छ ।  साधारण पेट–केन्द्रित प्रोबायोटिक्सभन्दा फरक, कम्पनीका मौखिक प्रोबायोटिक्सले दन्त, मसुडा र श्वास स्वास्थ्यलाई समाधान गर्ने उद्देश्यले चयन गरिएको विशेष ब्याक्टेरियालाई प्रयोग गर्छन् ।

    यी उत्पादनहरुमा जस्ता लाभदायी ब्याक्टेरिया समावेश गरिएको भन्दै कम्पनीले यसबाट स्वस्थ मौखिक फ्लोरा कायम राख्न सकिने र दाँत क्षय तथा दुर्गन्धको कारण बन्ने हानिकारक ब्याक्टेरियाको उपस्थिति घटाउन सक्ने क्षमताका लागि अध्ययन गरिएको छ ।

    उपभोक्ताले प्रयोग गर्ने उत्पादनमा मात्र सीमित नभई कम्पनीले वैज्ञानिक समुदायका लागि पनि उच्च गुणस्तरका सामग्री विकास गरेको पौडेलले बताए । युनिक बायोसाइन्सेसले विकास गरेको (qPCR) यसको ज्वलन्त उदाहरण हो ।

    उपभोक्ता उत्पादनहरूभन्दा बाहिर युनिक बायोसाइन्सेसले तयार प्रयोग (qPCR) ले मास्टर मिक्सहरूको विकासमार्फत वैज्ञानिक समुदायमा उल्लेखनीय प्रतिष्ठा बनाउँदै गएको छ । यी मिक्सहरू उच्च संवेदनशीलता, स्थिर एम्प्लिफिकेशन र विभिन्न नमुनाहरूमा विश्वसनीय प्रदर्शनका लागि इन्जिनियर गरिएको छ । यी उत्पादनहरू क्लिनिकल ल्याब, अनुसन्धान संस्थानहरू तथा न्यूक्लिक एसिड पहिचानमा शुद्धता र पुनरुत्पादन क्षमता खोज्ने बायोटेक कम्पनीहरूका लागि उपयुक्त छन् ।

    कम्पनीको मुख्यालय टेक्सासको स्यान मार्कोसमा रहेको छ भने उत्पादन तथा विकास कार्य इन्डियानामा हुने गरेको छ ।  अमेरिकास्थित नेपाली उद्यमीहरूको यही समूहले चितवनको रत्ननगरमा फर्मास्युटिकल कम्पनी स्थापना गरेर काम थालिसकेको छ ।

  • म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

    म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

    गलकोट । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ । दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो । थपेको म्यादसमेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदैछ ।

    सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने द्रुतगतिमा काम अघि बढाएको छ । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेको र कामको प्रगति नभए कारबाहीमा लैजाने भनेपछि कामले गति लिएको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि तीन वर्षमा ६५ प्रतिशत प्रगति भएको र कालोपत्र सकिएमा एकैपटक धेरै प्रगति देखिने आयोजनाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिए ।

    गौतमले बलेवा-हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौताअगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा-मालढुङ्गा सडकको १० किमि सडकको भने थपिएको म्याद सकिनै लाग्दा बल्ल कामले तीव्रता पाएको छ ।

    “सम्झौता नथपे काम सकिने अवस्था देखिँदैन, मङ्सिर मसान्तमा सम्झौता सकिन्छ, हामीले काममा नआए कारबाही हुन्छ भनेका थियौँ, अहिले स्थलगतरुपमा काम धेरै नै भइरहेको छ, बलेवा क्षेत्रबाट कालोपत्रको तयारी भइरहँदा मालढुङ्गा क्षेत्रबाट ढलान भइरहेको छ”, गौतमले भने, “मङ्सिर मसान्तसम्म कामको प्रगति हेरेर मात्रै म्याद थपको प्रक्रिया अघि बढ्छ ।”

    गौतमका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा दुई वर्षमा आधासमेत काम भएको थिएन । पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रका लागि समय नलाग्ने निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिए ।

    अहिले ठूला उपकरण परिचालन गरेर कालोपत्रका लागि तयारी भइरहेको जनाउँदै कामले तीव्रता पाएको बताउनुभयो । सडकमा कालोपत्र गर्न आवश्यक पूर्वाधार सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जालीलगायत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भए पनि सडक कालोपत्रमा भने ढिलाइ नै भएको छ । विसं २०७९ मङ्सिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले भुक्तानी समस्या तथा कच्चा सामग्रीको अभाव देखाउँदै काममा ढिलाइ भएको जनाएको छ ।

  • नेपाल अपाङ्ग संघको साधारण सभा काठमाडौंमा हुने, अध्यक्ष साम्देन लामा निष्कासित  

    नेपाल अपाङ्ग संघको साधारण सभा काठमाडौंमा हुने, अध्यक्ष साम्देन लामा निष्कासित  

    काठमाडौं । अपाङ्गताको क्षेत्रमा सेवारत नेपालको पहिलो सामाजिक संस्था नेपाल अपाङ्ग संघको ३७ औँ साधारण सभा तथा अधिवेशन काठमाडौंमा हुने भएको छ । नेपाल अपाङ्ग संघको विधान अनुसार हरेक तीन वर्षमा नयाँ कार्यसमिति चयन गर्ने भएकाले यस वर्ष नयाँ कार्य समिति पनि चयन गरिने नेपाल अपाङ्ग संघका महासचिव शिवचन्द्र शाहले जानकारी दिए ।

    नेपाल अपाङ्ग संघको अधिवेशन तथा साधारण सभा काठमाडौं शाखाको आतिथ्यमा हुने भएको छ । मंसिर १९ र २० गते काठमाडौं शाखाको आतिथ्यमा साधारण सभा तथा अधिवेशन गरिने महासचिव शाहले जानकारी दिए । २०२६ सालमा स्थापना गरिएको नेपाल अपाङ्ग संघ अपाङ्गताको क्षेत्रमा काम गरिरहेको पुरानो संस्था हो ।

    केन्द्र अन्तरगत छ वटा शाखाहरू रहेका छन् । कोशी प्रदेशको झापामा, मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको काठमाडौंमा, लुम्बिनी प्रदेशको दाङ र बाँकेमा शाखाहरू रहेका छन् भने सुदूर पश्चिमको कैलालीका शाखाहरू रहेका छन् । काठमाडौंमा केन्द्रीय कार्यालय र शाखा कार्यालय रहेका छन् । नेपाल अपाङ्ग संघको इतिहासमा धेरै वर्षपछि मात्रै काठमाडौंमा अधिवेशन हुन थालेको काठमाडौं शाखाका अध्यक्ष नरेन्द्र कुमार लामाले जानकारी दिए । उनका अनुसार काठमाडौं शाखाले अधिवेशनको तयारी गरिरहेको छ ।

    नेपाल अपाङ्ग संघले काठमाडौंमा अपाङ्ग पुनः स्थापना गृह सञ्चालनमा ल्याएको छ । जहाँ करिब एक सय जना अपाङ्गता भएका व्यक्तिहरू आश्रित रहेका छन् । यस्तै सुविधा सम्पन्न अर्थोपेडिक अस्पताल पनि सञ्चालनमा रहेको छ । नेपाल अपाङ्ग संघको स्थापना समाजसेवी खगेन्द्र बहादुर बस्नेतले गरेका थिए ।

    यसैबीच नेपाल अपाङ्ग संघका अध्यक्ष साम्देन लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा कारबाही गरेर निष्कासन गरिएको छ । काठमाडौं शाखाका आजीवन सदस्य रहेका लामाले अपाङ्ग संघमा भ्रष्टाचार गरेको, मनोमानी ढङ्गले काम गरेको, गृहमा अपाङ्गलाई राख्दा कमिसन खाएको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २७ बुँदे निर्देशन दिँदै कारबाही गर्न भनेको थियो । सोही अनुसार काठमाडौं शाखाले लामालाई साधारण सभाबाट कारबाही गरेको जिल्ला अध्यक्ष नरेन्द्र लामाले जानकारी दिए ।

    काठमाडौं शाखाले आजीवन सदस्यबाट निष्कासन गरेपछि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय समितिले उपाध्यक्ष चन्द्र तिमिल्सिनालाई कार्यवाहक तोकेको छ । कार्यवाहक अध्यक्ष तिमिल्सिनाले लामाले गरेको अनियमितताका बारेमा जिल्ला प्रशासनले नै स्पष्ट निर्देशन दिएपछि केन्द्रीय पदाधिकारी र केन्द्रीय समितिले वैकल्पिक व्यवस्था गरेको बताए ।

    नेपाल अपाङ्ग संघको विधान अनुसार जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमिति मात्रै अधिवेशनका सभासद् हुने गर्छ । छ वटा शाखामा १९ जनाका दरले कार्यसमिति रहेको हुन्छ भने जिल्ला समितिमा नरहेका र केन्द्रीय समितिमा रहेकाहरू स्वतः केन्द्रीय अधिवेशनमा सहभागी हुन्छन् । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने तिमिल्सिनाले बताए ।

  • मौलाना अरशदको आरोप– भारतको सत्ताले इस्लाम र मुसलमान समाप्त पार्न खोज्दैछ 

    मौलाना अरशदको आरोप– भारतको सत्ताले इस्लाम र मुसलमान समाप्त पार्न खोज्दैछ 

    काठमाडौं । भारतका एक उच्च मुस्लिम धर्मगुरु मौलाना अरशद मदानीको पछिल्लो एक टिप्पणीले भारतीय सत्ता राजनीतिमा खैलाबैला मच्चाएको छ ।

    जमियत उलेमा ए हिन्दका अध्यक्ष मौलाना अरशदले भारतभित्र मुसलमानको अवस्था नाजुक रहेको भन्दै यहाँ कोही मुस्लिमले पनि टाउको उठाउन नपाउने स्थिति रहेको प्रतिक्रिया दिएका छन् । शनिवार एक कार्यक्रममा उनले भारतमा मुसलमानलाई बिजेपी सत्ताले दमन गरेर राखेको बताएका थिए ।

    उनले भने, ‘एक मुस्लिम ममदानी अमेरिकामा मेयर बन्न सक्छ,लण्डनभित्र एक खान मेयर बन्न सक्छ तर हिन्दुस्तानमा एक मुस्लिम विश्वविद्यालयका कोही मान्छे उपकुलपति समेत बन्न पाउँदैन । यदि बन्यो भने पनि आजम खानको सरी जेल जानुपर्नेछ ।’

    समाजवादी पार्टीका नेता तथा सांसद आजम खानमाथि सरकारले झुटा मुद्दा लगाएर जेलमा कोचेको सन्दर्भ उनले कोट्याएका हुन् । मदानीले भारतमा इस्लाम र मुसलमानलाई खत्तम गर्ने योजना अनुसार मुस्लिमका घरहरूमा बुल्डोजर चलाइएको आरोप समेत लगाएका छन् ।

  • तनहुँमा आठ हजार ३६६ मतदाता थपिए

    तनहुँमा आठ हजार ३६६ मतदाता थपिए

    दमौली । तनहुँमा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा आठ हजार ३ सय ६६ मतदाता थपिएका हुन् ।

    असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

    लम्सालका अनुसार कार्यालयमै पुगेर तीन हजार २ सय जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार ३ सय ८२ र पुरुषको सङ्ख्या एक हजार ८ सय १८ रहेको छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत पाँच हजार १ सय ६६ जनाले नाम दर्ता गराएका छन् ।

    राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

    यसैगरी नौ सय छ जनाले ठाउँसारी र दुई सय ९७ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको लम्सालले बताए । विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता छन् । त्यसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार ९ सय १५ महिला रहेको कार्यालयले जनाएको छ ।

    तनहुँमा दुईवटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक–एक मतदान केन्द्र रहेकामा थप एक–एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोहीबमोजिम आयोगमा पठाइएको जानकारी दिए । जिल्लाका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र छन् ।

  • गोंगबुमा तेस्रो लिंगी मृत फेला, कारण खोज्दै प्रहरी

    गोंगबुमा तेस्रो लिंगी मृत फेला, कारण खोज्दै प्रहरी

    काठमाडौं । गोंगबु, नयाँ बसपार्कमा शनिबार विहान भेटिएको वेवारिसे शव तेस्रो लिंगीको भएको निष्कर्षमा प्रहरी पुगेको छ । मृत्युको कारणबारे खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् ।

    शनिबार विहान पौने ८ बजे तन्नाले बेरिएको अवस्थामा फेला परेको शव ‘तामाङनी’ भनी बोलाइने अन्दाजी वर्ष २४–२५ की एञ्जिला मगरको भएको भट्टराईले बताए ।

    सिन्धुपाल्चोक घर भएकी उनी बसपार्क, सामाखुशी क्षेत्रमा बसोबास गर्ने गरेकी थिइन् । साथीहरुको बीचबाट ८–१० दिनदेखि सम्पर्कमा नरहेकी उनको शनिबार विहान शव फेला परेको हो ।

    प्रहरीलाई प्राप्त प्रारम्भिक जानकारीअनुसार मृतक मगर लागुऔषध दुव्र्यसनी थिइन् । के, कसरी उनको मृत्यु भयो वा कोही, कसैले हत्या गरेको हो वा होइन भन्नेबारे अनुसन्धान जारी रहेको एसपी भट्टराईले बताए ।

  • माछा मार्न जादाँ करेन्ट लागेर मृत्यु

    माछा मार्न जादाँ करेन्ट लागेर मृत्यु

    सुरुङ्गा (झापा) । माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको करेन्ट लागेर ज्यान गएको हो ।

    आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेको पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् ।