Tag: नेपाल प्रहरी अस्पताल

  • कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित

    कोरोनाबाट प्रहरी अस्पतालमा १२० जनाको मृत्यु, साढे १० हजार प्रहरी संक्रमित

    काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ बाट नेपाल प्रहरी अस्पतालमा अहिलेसम्म एक सय २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराएको हो ।

    प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरका अनुसार प्रहरी अस्पतालमा उपचारका क्रममा आठजना प्रहरी, २७ जना पूर्वप्रहरी, २६ जना प्रहरीका परिवार र ५९ जना सर्वसाधारणको ज्यान गएको छ । यद्यपि, कोरोना नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रूपमा खटिएर सफलता प्राप्त गर्न सफल भएको प्रहरी प्रवक्ता कुँवरले दावी गरे ।

    प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० हजार पाँच सय ४१ जना प्रहरी कर्मचारीमा कोभिड-१९ को संक्रमण भएको छ । जसमध्ये १० हजार तीन सय ८ जना कोरोना संक्रमणमुक्त भइसकेका, १७ जनाको मृत्यु भएको र दुई सय १६ जना उपचाररत रहेका छन् । अहिलेसम्म नेपाल प्रहरीका ६० हजार पाँच सय ९७ जना प्रहरी कर्मचारीले पहिलो चरणको र ४८ हजार चार सय ४५ जनाले दोस्रो चरणको खोप लगाइसकेका छन् ।

    नेपाल प्रहरी अस्पतालमा दुई हजार आठ सय ६६ बहालवाला प्रहरी कर्मचारी र सात हजार सात सय १८ जना सर्वसाधारण नागरिक तथा पूर्वप्रहरी कर्मचारी गरेर १० हजार पाँच सय ८४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ ।

    कोरोना महामारी नियन्त्रणका लागि नेपाल प्रहरीका ४१ हजार दुई सय ९२ जना परिचालित भएकामा ११ हजार दुई सय ७२ अहिले पनि खटिएका छन् । कोरोना रोकथामका लागि सीमानाकामा नेपाल प्रहरीका तीन सय ९४ वटा चेकपोष्टमा तीन हजार तीन सय ९४ जना प्रहरी कर्मचारी खटिएका र सात सय ९७ वटा हेल्थ डेस्क स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

    कोभिड-१९ सम्बन्धी ३२ हजार छ सय २४ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट १७ लाख १३ हजार सात सय ९५ जनालाई सचेत गरिएको छ । गैरस्वास्थ्य क्षेत्र र प्रयोजनमा प्रयोग भएका चार हजार ४३ भरेको र छ हजार छ सय ८४ वटा खाली गरेर जम्मा १० हजार सात सय २७ थान अक्सिजन सिलिण्डर संकलन गरेर वितरण गरिएको छ ।

    २०७८ वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा अवज्ञा गर्ने चार लाख ३६ हजार २५ जनालाई होल्ड गरेर छोडिएको र निषेधाज्ञा अवज्ञा गरी सवारी चलाउने एक लाख ९० हजार आठ सय ९६ वटा सवारीसाधनलाई कारवाही गरिएको छ ।

    नेपाल प्रहरी अस्पतालको एक सय ५० बेड क्षमताबाट स्तरोन्नती गरी तीन सय बेड क्षमतापछि दुई सय ६४ बेड कोभिड डेडिकेटेट आईसोलेसन बेड, ८० बेड क्षमताको एचडीयु, २० वटा भेन्टिलेटरसहित ३० बेड क्षमताको आईसीयू तयार गरी सेवा प्रदान गरिएको छ ।

  • प्रहरी अस्पतालबाट ३ हजार भन्दा बढी कोभिड सङक्रमित बिरामीले निःशुल्क उपचार पाए

    प्रहरी अस्पतालबाट ३ हजार भन्दा बढी कोभिड सङक्रमित बिरामीले निःशुल्क उपचार पाए

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पताल सक्रिय रहेको छ । निषेधाज्ञा कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा अहोरात्र ड्यूटीमा खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षा एवम् कोभिड–१९ बाट संक्रमण भएको अवस्थामा उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन, थप बेड तथा आकस्मिक उपचारको व्यवस्था गरी अस्पतालले सक्रियता बढाएको हो ।

    हालसम्म ३ हजार १ सय ४१ जना कोभिड सङक्रमित बिरामीले नेपाल प्रहरी अस्पतालमा निःशुल्क उपचार सेवा लिई डिस्चार्ज भएका नेपाल प्रहरीका प्रवक्ता समेत रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अहिलेसम्म उपचाररतमध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा प्राप्त गरेका छन् । उपचारको क्रममा ७३ जनाको मृत्यु भएको प्रवक्ता कुँवरले बताए । अस्पतालले अहिलेसम्म १७ हजार ३ सय ६४ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । परीक्षण गरिएकामध्ये ४ हजार ३ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।

    अहिले अस्पतालमा कोभिडबाट सङ्क्रमित १ सय ८७ जना भर्ना लिई निःशुल्क उपचार भईरहेको छ । उपचाररतमध्ये ३० जना आईसियुमा, ८० जना एचडियू अर्थात हाई डिपेन्डेन्सी यूनिटमा र ७७ जना सामान्य अवस्थाका रहेका छन् । उपचाररतमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ३३ जना तथा ५४ जना सर्वसाधारण नागरिक रहेका छन् । अस्पतालको साथै महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज, महानगरीय प्रहरी पहरा गण सामाखुशी र विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा समेत आइसोलेशनमा राखी उपचारको व्यवस्था गरिएको छ ।

    नेपाल प्रहरी अस्पतालमा साविक १ सय ५० वेड रहेको थिए । अस्पताललाई लेवल २ मा स्तरोन्नति गरिएपछि १ सय ५० बेड थप गरी जम्मा ३ सय वेड उपलब्ध छन् । ती मध्ये २ सय ६४ कोभिड र ३६ नन कोभिड बिरामीको लागि प्रयोग भएको छ । कोभिडतर्फको २ सय ६४ मध्ये १ सय ५४ साधारण, ८० एचडियू र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् ।

    अस्पतालमा फिभर क्लिनिक स्थापनाको साथै कोभिड–१९ र कोभिड बाहेकका विरामी छुट्याई विरामीको अवस्था अनुसार इमरजेन्सी सेवा, डायलायसिस, शल्यक्रिया आदिको समेत व्यवस्था मिलाई प्रत्यक्ष रुपमा विशेषज्ञ चिकित्सकबाट सेवा उपलव्ध गराईएको छ अस्पतालका मेडिकल डाईरेक्टर एवम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) डा. आशा सिंहले बताइन । उनका अनुसार कर्मचारीको दक्षता अभिवृद्धिका लागि अस्पतालका ८६ जना प्रहरी कर्मचारीले कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट तालिम हासिल गरेका छन् । उनीहरुबाट नेपाल प्रहरी अस्पतालमा कार्यरत सबै चिकित्सक, स्टाफ नर्स र पारामेडिक्सलाई स्वास्थ्य सेवा सम्बन्धि अनुशिक्षण तालिम प्रदान गरिएको एआईजीपी सिंहले बताइन ।

    कोभिड–१९ को रोकथाम, नियन्त्रण र समन्वयका लागि आवश्यक पर्ने जनशक्ति, एम्बुलेन्स, सवारी साधन लगायतका श्रोतसाधनको सम्पूर्ण सहयोग प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको प्रहरी प्रवक्ता कुँवरले बताए । उनका अनुसार अक्सिजन नियमित आपूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट अक्सिजन उद्योगमा ४ बटा गाडी क्यूमा राखी आपूर्ति गर्ने गरिएको छ । हाल समग्र व्यवस्थापन, बिरामीमैत्री वातावरण, गुनासो सम्बोधन समेतका लागि प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)समेत ३० जना र सरसफाई समेतका ५ जना गरी ३५ जना जनशक्ति थप गरी परिचालन गरिएको प्रवक्ता कुँवरले जानकारी दिए ।

    कोभिड–१९ को कारणले एक स्थानबाट अर्को स्थानमा सहज रुपमा आवत जावत गर्न र स्वास्थ्य उपचार गर्नबाट वञ्चित भएका दुरदराजमा रहेका विरामीलाई यस अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य उपचार सेवा उपलव्ध गराउने उद्देश्यले ‘टेलिमेडिसिन सेवा’ थालनी, दातृ निकायबाट सहयोग प्राप्त भएको प्रतिसिलिन्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालन गरिएको छ ।

    उपचाररतलाई रेम्डिसिभिर लगायतका औषधि तथा औषधिजन्य सामानसहित खाना तथा खाजाको व्यवस्था गरि सम्पूर्ण सेवा निःशुल्क उपलव्ध गराउने गरिएको र थप उपचारको लागि आवश्यक पर्ने प्लाजमा थेरापी सेवा उपलव्ध गराइएको मेडिकलन निर्देशक एआईजीपी सिंहले जानकारी दिइन । उनका अनुसारसरकारको निर्देशन बमोजिम नेपाल प्रहरी अस्पतालमा खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्ध खोप अभियान अन्तर्गत २६ हजार ३ सय ५९ जनालाई पहिलो खोप र ५ हजार ९ सय ४ जनालाई दोस्रो खोप प्रदान गरिएको छ । स्थानको अभावलाई सम्बोधन गर्न निर्माणाधिन इमरजेन्सी भवनमा समेत विरामी वेडको व्यवस्था मिलाई अक्सिजन सिलिन्डरको मद्धतद्वारा उपचार सेवा दिनुको साथै सबै विरामीका आफन्तहरुलाई जानकारी गराउनका लागि अस्पतालले हेल्प डेस्क स्थापना गरी सेवा दिइरहेको एआईजीपी सिंहले बताइन ।

    अस्पतालको चाप र सेवा प्रवाहलाई थप प्रभावकारी व्यवस्थापनका लागि ५० जना नर्स नयाँ भर्ना गरिएको छ । आइसियुमा भर्ना भएका विरामीलाई प्रत्येक दिन २ बजेदेखि साढे २ बजेसम्म काउन्सेलिङ गर्ने गरिएको, १८ जना बिशेषज्ञ सहितका चिकित्सकको डेडिकेटेड समूह बनाई प्रत्येक ५–५ दिनको रोटेशनमा परिचालन गरिएको छ । अन्य बिशेषज्ञ चिकित्सकलाई समेत परिस्थिति अनुसार अनकल ड्यूटीमा राखिएको छ ।

    कोरोना संक्रमित बिरामीको उपचारमा सहकार्य र सहजीकरण गर्ने सिलसिलामा अत्यावश्यक परेको समयमा अस्पतालमा मौज्दात रहेको अक्सिजन सिलिन्डरमध्ये नेपाली सेनालाई २० वटा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई १० वटा उपलव्ध गराइएको अस्पतालले जनाएको छ ।

  • प्रहरी अस्पतालमा कोभिड बिरामीलाई निःशुल्क उपचार र खाना : एआईजी डा. आशा सिंह (भिडियो)

    प्रहरी अस्पतालमा कोभिड बिरामीलाई निःशुल्क उपचार र खाना : एआईजी डा. आशा सिंह (भिडियो)

    कोभिड-१९ को दोस्रो लहरले नेपालमा दिनानुदिन संक्रमित संख्या उच्च भइरहेका छन् । निजी तथा सरकारी अस्पतालले बिरामीको चाप थामिननसक्नुको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि संक्रमितहरूको चाप अत्याधिक छ । अन्त भन्दा फरक के छ भने , सर्वसाधारण र प्रहरी लगायत सबैलाई प्राथमिकतामा राखेर कोभिडको उपचार गरिरहेको प्रहरी अस्पतालले बिरलै मात्र बिरामी फर्काउनुपर्ने अवस्था आएको अस्पतालको निर्देशक एआईजी डा. आशा सिंह बताउँछिन् ।

    उनका अनुसार प्रहरी अस्पतालले कोभिडको बिरामीलाई निःशुल्क उपचार गरिरहेको छ र औषधि र खाना पनि निःशुल्क गरेको छ । उनै डा. सिंहसँग कोभिड-१९ को महामारीमा अस्पतालले गरिरहेको उपचार र सेवासुविधाबारे नेपाल प्रेसले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    कोभिड-१९को दोस्रो लहर आएसँगै धेरैजसो सरकारी र निजी अस्पतालको व्यवस्थापन कमजोर भएको गुनासा आइरहेका छन् । नेपाल प्रहरी अस्पतालको हकमा व्यवस्थापकीय पाटो कस्तो छ ?

    हामीले कोरोनाका बिरामी राख्ने व्यवस्था गरेका छौं । कोभिड इमर्जेन्सी व्यवस्थापन गरेका छौं । बेड पनि निकै बढाएका छौं । बेड नपुगेर टेन्टमा बिरामी राखेर र बन्दै गरेको नयाँ भवनमा बेड थपेर सेवा सुरु गरेका छौं ।

    अक्सिजन दिने व्यवस्था गरेका छौं । त्यसबाहेक २ सय ६४ बेड कोभिडका लागि डेडिकेट गरेका छौं । २० वटा आईसीयू छ, ५० वटा एचडीओ छ । बाँकी १ सय ३५ बेड छ । त्यसबाहेक नर्मल अक्सिजन पनि नभएको बेड । त्यसमा पनि अक्सिजन राखेर उपचार दिने व्यवस्था मिलाएका छौं ।

    हाम्रो फिभर क्लिनिक चलिरहेको छ । पीसीआर नियमित गरिरहेका छौं । ननकोभिड इमर्जेन्सी चालू छ । नन कोभिड आईसीयूमा बिरामी हुनुहुन्छ । इमर्जेन्सी अप्रेसन गरिरहेका छौं । नर्मल ओपीडी सेवााचाहिँ बन्द छ । जनशक्तिको व्यवस्थापनमा सम्पूर्ण चिकित्सकलाई टिममा विभाजन गरेका छौं । डीआईजीहरूलाई पनि ड्युटीमा खटाएका छौं । अहोरात्र खटिरहनुभएको छ सबै जना ।

    सर्वसाधारणलाई नेपाल प्रहरी अस्पताल भन्नेबित्तिकै ‘यहाँ प्रहरीको मात्र उपचार हुन्छ’ भन्ने बुझाइ छ । प्रहरीलाई मात्र हो कि सर्वसाधराणलाई प्राथमिकताका साथ उपचार गरिरहनुभएको छ ?

    आजको दिनमा हामीले सर्वसाधारणलाई उपचार सेवा दिइरहेका छौं । २०७४ सालसम्म प्रहरी अस्पताल प्ररहीको लागि मात्र थियो । बहालवाला प्रहरी, भूपू प्रहरी र उनीहरूको परिवार ।

    ०७४ पछि भने सर्वसाधारणहरूको पनि इच्छा देख्यौं । सबै सुविधा हेर्दा प्रहरीको सेवा नभई सिभिललाई पनि दिन सक्छौं भनेर धारणा बनायौं । त्यही अन्तर्गत पहिलो कोभिडको लहर आउँदा प्रहरी अत्यधिक मात्रामा संक्रमित भएका थिए । प्रहरी धेरै संक्रमित भएर उनीहरूलाई उपचार गर्नेमा प्रहरी अस्पताल पर्दछ । त्यतिखेर पनि सिभिललाई उपचार गरेका थियौं, संख्या कम थियो ।

    कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । सकेसम्म गरेको छ । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।

    दोस्रो लहर आउँदा त सिभिल र प्रहरी दुवैलाई उतिकै प्राथमिकतामा राखेर गरिरहेका छौं । व्यवस्थापकीय कठिनाइ अथवा अक्सिजन अभावका कारण समस्या भइरहेको छ । आशा गरौं, अक्सिजनको सप्लाइ नर्मल हुन्छ । अहिले पनि आईसीयूमा २० जना हुनुहुन्छ, त्यसमा १७ जना त सिभिल नै हुनुहुन्छ । इमर्जेन्सीमा पूरैै बेड थपेर अक्सिजन दिइरहेका छौं । कोटाचाहिँ अहिलेसम्म प्रहरी र सिभिललाई भनेर छुट्याएका छैनौं ।

    अहिले नेपालका धेरै अस्पतालमा अक्सिजन र आईसीयू नै नपाएर बिरामीहरूले मृत्युवरण गर्नुपरेको अवस्था छ । यहाँ त्यस्तो अवस्था भोग्नुपरेको छ कि छैन बिरामीले ?

    अहिले अत्यन्तै चुनौतिपूर्ण अवस्था छ । जस्तो बेड छ भनेर सोध्नुहुन्छ । हामी बेड त छ, अक्सिजन छैन भन्छौं । त्यही पनि भर्ना हुनुहुन्छ । उहाँको हालत अलिकति बिग्रन्छ । अक्सिजन बेडमा जानुहुन्छ । झन् बिग्रन्छ अनि आईसीयूमा लानुपर्ने हुन्छ । ती सबै भरिएका छन् । वार्डकै बिरामी त्यहाँ छन् । २२ दिनसम्म पनि आइसियु खाली हुने अवस्था हुन्न । लामो प्रक्रिया जान्छ । त्यो अवस्थामा आईसीयूमा एकदमै गम्भीर बिरामी आए भने हामीले उपचार त दिन्छौं । तर आईसीयू अपुग छ । त्यसकारण ज्यान त गुमेको छ ।

    अहिलेसम्म कतिजना जतिने गुमाउनुपरेको छ त्यसरी ?

    दुई जना । उहाँहरूलाई हामीले तपाईंहरू आईसीयू खोज्नुस् भनेका थियौं । उहाँहरूलाई इमर्जेन्सीमा तीन दिन राख्यौं । खाली भएपछि आईसीयू सिफ्ट त गर्‍यौं । तर ढिलो भइसकेको थियो ।

    प्रहरी अस्पतालले भेन्टिलेटर र आईसीयूमा उपचार गरेर कति बिरामीलाई निको पारेको छ ?

    अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ७५ प्रतिशतलाई निको पारेका छौं । गुमेका बिरामीहरू पनि उहाँहरू ढिलो आउनुभयो । घरमै अक्सिजा लिएर बस्नुभयो । अस्पताल आउँदा निमोनिया फैलिसकेको अवस्थामा आउनुभयो । त्यसरी आउँदा आईसीयूमै राखेर उपचार गर्दा पनि रिजल्ट त्यति राम्रो नआउने रहेछ ।

     बेड भए पनि अक्सिजन अभावको कुरा भन्नु नै भयो । यसर्थ उपचार गर्न ल्याइएका बिरामी फर्काउनुपर्ने अवस्था आयो आएन ?

    आईसीयूका लागि आउनुहुन्छ कतिपय । हामीले छैन भनेका छौं । प्रायः समन्वय गरेर आउनुभएको छ । आइपुग्नु भएकोलाई चाहिँ सकेसम्म फर्काएका छैनौं फर्काउन भन्दा पनि आईसीयू फूल छ बेड छैन भन्छौं । अक्सिजनको एकदमै अभाव भएको बेलामा हामीलाई नर्मल अक्सिजन सिलिण्डर आईसीयू चलाउन चाहियो । नपुगेको अवस्थामा त अक्सिजन छैन भन्ने बाध्य अवस्थामा छौं हामी ।

    बेड नभएपछि बाहिर टेन्टमा राखेर उपचार गर्‍यौं भनेर भन्नुभएको थियो । त्यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?

    टेन्टमा हामीले ६ वटा बेड राखेका छौं । बन्दै गरेको नयाँ भवनलाई पनि बेड नपाउन्जेलसम्म ४० वटा बेड राखेका छौं ।

    यहाँ उपचार गर्न ल्याइएका बिरामीले तिर्नुपर्ने शुल्कबारे पनि बताइदिनुस् न ?

    सबै निःशुल्क छ । नेपाल सरकारले हामीलाई सहयोग गरिरहेको छ । खाना पनि दिन्छौं, औषधि पनि दिन्छौं । कहिलेकाहीँ रेमडिसिभिर थिएन । बाहिरबाट ल्याउनु भन्थ्यौं । त्यो पनि अहिले हामीसँग छ । यहीँबाट उपलब्ध गराउँछौं । नन कोभिडको हकमाचाहिँ सर्वसाधारणलाई साधारण शुल्क तिर्नुपर्छ ।

    अहिले अस्पतालको नेतृत्व गरिरहनुभएको छ । कोभिडको पहिलो चरणदेखि नै तपाईंले कस्ता चुनौति सामना गर्नुपर्‍यो ?

    २०७६ सालको चैत्रमा नै कोभिडको पहिलो वेभको लागि लकडाउन भयो । त्यतिबेला सरकारले कोभिड अस्पताल बलम्बुमा सुरु गर्‍यो । त्यहाँ हाम्रो डाक्टर नर्सले गएर पनि ड्युटी गर्नुभयो ।

    त्यस अवधिमा कालीमाटी वृत्तमा एकैपटक प्रहरीको १७ जना संक्रमित भए । पोजेटिभ भएपछि आइसोलेट गरेर राखियो । एक हप्तासम्म पीसीआर रिपोर्ट आइपुगेन । त्यसपछि लाग्यो, प्रहरी त जहाँ पनि ड्युटी गरिरहेको छ ।

    एउटा प्रहरी संक्रमित हुने बित्तिकै अर्को प्रहरी संक्रमित हुन्छ । हप्तादिनसम्म रिपोर्ट कुर्नुपर्‍यो भने प्रहरीको लागि निकै चुनौती हुन्छ । त्यसकारण मैले हेर्डक्वार्टरसँग समन्वय गरेर पीसीआर ल्याबको स्थापना गराएँ । त्यतिबेला पनि हाम्रो अस्पताल कोभिड अस्पताल थिएन । मेरो मान्यताचाहिँ कोभिडका लागि हामी रेडी हुनुपर्छ भन्ने थियो ।

    हाम्रो एउटा भवन ब्लक बी लाई पूरै खाली गराएर कोभिडका लागि डेडिकेट बनायौं । अचानक साउनको २० गतेतिर हुनुहुपर्छ, १ जना प्रहरी संक्रमित भए । ५ दिनको अवधिमा ५ सय हाराहारीमा प्रहरी संक्रमित थिए । सरकारले पनि एकाएक कोभिड अस्पताल घोषणा गरिदियो । त्यो भन्दा पहिला त हामीलाई लागेकै थिएन, प्रिपिरेसन गर्नुपर्छ । तर १ सय १४ बेड जतिचाहिँ कोभिडका लागि छुट्याएका थियौं । त्यसले नपुगेर दुई नम्बर गनमा पूरै लगभग ४ सय ५० बेड स्थापना गर्‍यौं । सबै प्रहरीलाई भर्ना गर्‍यौं । त्यो बेलामा पनि आईसीयू चलायौं । यो दोस्रो लहरजस्तो थिएन । डेथ पनि कम थियो । लगभग २२ जनाको मृत्यु भएको थियो । त्यो मेरो लागि ठूलो चुनौति थियो । पार पाइयो ।

    दोस्रो लहर वैशाखको दोस्रो हप्तामा बढ्न थाल्यो । यो धेरैमा चुनौती छ । यसको प्रकृति एकदमै फरक छ । युवा उमेरका बिरामी कोभिड भए पनि सुरुमा खासै लक्षण देखिएको हुन्न । ५ दिन जति आइसोलेसनमा बस्नुहुन्छ । आउँदा पूरै निमोनिया भइसकेको हुन्छ । यो समयमा २० वटा आईसीयू, ५० वटा एचडीओ, अक्सिजन प्लान्ट बनायौं । यो सबै काम गर्न चुनौती थियो । सबैको सहयोगले गरिएको छ ।

    प्रहरीहरू अघिल्लो चरणको तुलनामा अहिले कति संक्रमित छन् ?

    अहिले कम छ निकै । केही दिनसम्म ७० जना पुग्नुभएको थियो । निको हुनेको क्रम बढी छ । अहिलेसम्म एक जना बहालवाला प्रहरीको निधन भएको छ । बहालवाला दुई जना आईसीयूमा हुनुहुन्छ ।

    अन्त्यमा,अस्पताल प्रमुखको हैसियतमा अहिलेको यो महामारीमा के भन्न चाहानुहुन्छ ?

    कोभिडका बिरामी आउँदा बेड छैन भन्नुपर्दा निकै मन दुख्छ । थाहा छ त्यो बिरामीले आईसीयू पाएन भने मर्छ । एउटा स्वास्थ्यकर्मीको लागि त्यो जतिको दुःखदायी क्षण अरु हुन्न । आफू पनि संक्रमित हुने खतरा छ । आम नागरिकले उनीहरूलाई सम्मान गर्नुपर्‍याे । कतै कतै तोडफोड भएको सुनियो । सामाजिक सञ्जालमा जथाभावी लेखिदिएको हुन्छ । चुनौती सबैको लागि छ । त्यही भएर यो महामारी हो । विकसिकत मुलुकले त बेड नपुगेर सडकमा टेन्ट हालेर उपचार गरे । हामी यो बेला एकजुट हौं । अवश्य हामी महामारीबाट बाहिर निस्कन्छौं ।

  • नेपाल प्रहरी अस्पतालमा २ सय २४ जना कोरोना संक्रमितको उपचार हुँदै

    नेपाल प्रहरी अस्पतालमा २ सय २४ जना कोरोना संक्रमितको उपचार हुँदै

    काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजमा अहिले २ सय २४ जना कोरोना सङ्क्रमितको निःशुल्क उपचार भईरहेको छ । ती मध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसियुमा, मध्यम अवस्थाका १ सय ५ जना र सामान्य अवस्थाका ८० जना उपचाररत रहेका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

    बिरामीमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ४३ जना तथा ८१ जना सर्वसाधारण नागरिक रहेका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार विरामीमध्ये उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको छ । उपचाररत मध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षका र ६६ वर्षका गरी २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

    नेपाल प्रहरी अस्पतालमा जम्मा २ सय ६४ वेड उपलब्ध छन् । ती मध्ये १ सय ६१ साधारण, ७३ एचडियू अर्थात हाई डिपेन्डेन्सी यूनिट र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् । कारेरोना संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्था समेत गरी अनवरत सेवा प्रदान गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    अहिले कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीको चाप बढ्दै गइरहेको अवस्थालाई मध्येनजर गर्दै ईमर्जेन्सीमा अस्थाई रुपमा २६ बेड थप गरी अक्सिजन सहित उपचार प्रदान गरिएको जनाइएको छ । बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था पनि मिलाइएको छ ।