Tag: नेपालको संविधान

  • संविधान जारी भएको वर्षौसम्म पनि कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको संख्या बढ्दै

    संविधान जारी भएको वर्षौसम्म पनि कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको संख्या बढ्दै

    काठमाडौं । नेपालको संविधान जारी भएको वर्षौ वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको संख्या बढ्न थालेको छ । नेपालको संविधानसँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३ सय ४ मा व्यवस्था भए पनि त्यो कार्यान्वयन हुन नसक्दा राज्यविहिन हुने नागरिकको संख्या बढ्दै गएको हो ।

    २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । त्यसको एक वर्षमा नेपाल नागरिकता ऐन संशोधन विधेयक पारित नहुँदा हजारौँ नेपालीले स्वदेशमै राज्यविहीन भई बाँच्न बाध्य हुनुपरेको महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको राज्य विहीनतासम्बन्धी संयुक्त महासन्धिको अनुमोदनको आवश्यकता विषयक छलफल कार्यक्रमका बाेल्ने वक्ताले बताएका हुन् ।

    नागरिकता सम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने सुनिश्चित गरिए पनि ऐन संशोधन नहुँदा कार्यान्वयन हुन नसकेको बताए। गर्भमा नौ महिना राखेर बच्चा जन्माउने आमाले नै आफ्ना नाममा सन्तानलाई नागरिकता दिन नसक्ने व्यवस्था कानुन संशोधन नभएकैले संस्थागत बनिरहेको उनले सुनाए ।

    ‘आमाका नाममा छोराछोरीलाई नागरिकता दिँदा भाञ्जाभाञ्जीले पनि नागरिकता पाउँछन् भन्ने डरले यस्तो व्यवस्था गरिनु न्यायोचित छैन, जन्मदर्ता र कोरोनाको खोप लगाउनसमेत नागरिकता चाहिने व्यवस्था छ, तर नागरिकता पाउन नसक्दा धेरैले राज्यविहीन भएर बाँच्नु परेको छ’, उनले भने । देवानी र फौजदारी संहितामा केही विभेदकारी प्रावधान रहेकाले संशोधनको तयारीमा समिति लागेको जानकारी सभापति पोखरेलले गराए ।

    राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यालयमा नागरिकता पाउन नसकेको सम्बन्धमा दैनिक पाँचवटा मुद्दा आउने गरेको बताए । राज्यविहीनताको समस्या जटिल बन्दै गएकाले संसदीय समितिले समाधानका लागि छिटो पहल गर्नुपर्नेमा उनले बताए।

    राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले बाबु नभएकै कारण लाखौँ बालबालिकाको जन्मदर्ता हुन नसकेको बताए । आयोगले प्रकाशन गर्न लागेको बाल अधिकारसम्बन्धी प्रतिवेदनमा यस्तो रहस्य खुलेको उनको भनाइ छ । महिलालगायतलाई विभेद् गरिएको देवानीसंहिता छिटोभन्दा छिटो संशोधन गर्ने गरी पहल गर्न उनले मानव अधिकार समितिका सभापति पोखरेलसँग माग गरे ।

    मञ्चका अध्यक्ष गीता अर्याल, कार्यकारी निर्देशक सविन श्रेष्ठ, अधिवक्ता नवीनकुमार श्रेष्ठलगायतले विभिन्न कारण नागरिकता नपाई राज्यविहीन भएकामा आत्महत्याका घटना बढेकाले छिटो समस्या समाधानको पहल गरिदिन माग गरेको थियो। नेपालगञ्ज र काठमाडौँमा एक-एक जनाले नागरिकता नपाएकै कारण आत्महत्या गरेको मञ्चले जनाएको छ ।

    नागरिकता नहुँदा बैंक खाता खोल्न नपाउने, सिमकार्ड नपाउने, रोजगारी नपाउने भएकाले युवामा तनाव भई आत्महत्या गर्ने दुस्साहस गर्ने क्रम बढेकाले पनि समस्या समाधानमा छिटो पहल गरिनुपर्नेमा उनहरुको जोड थियो । मोरङको कानेपोखरीमा रहेका ३१ हजार सन्थाल जातिमध्ये ११ हजारसँग मात्र नागरिकता भेटिएको तथ्य अध्ययनका क्रममा फेला परेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

    आमाका नाममा नागरिकता पाउने संवैधानिक व्यवस्था भए पनि ऐन संशोधन नभएकाले कार्यान्वयनमा असहजता आएको छ । सर्वोच्च अदालतमा मुद्दा दायर गरेर फैसला भएकाले मात्र आमाको नाममा नागरिकता पाएका छन् । यसरी पाइएको नागरिकताको तल नोट भन्ने उल्लेख गरी अदालतको निर्णय अनुसार नागरिकता दिइएको वाक्यांश मितिसहित लेखिनुले पनि नागरिकको अपमान भएको भन्दै उनहरुले आपत्ति जनाए ।

    नागरिकता ऐन संशोधन विधेयकलाई प्राथमिकता दिएर अघि बढाइनुपर्नेमा सरोकार भएकाले माग गर्दै आएका छन् । नागरिकता नपाएर राज्यविहीन हुने आधिकारिक तथ्याङ्क भने कुनै पनि निकायसँग छैन । गैरसरकारी क्षेत्रबाट भएको अध्ययनका आधारमा हजारौँले यो समस्या भोगिरहेका छन् ।

  • संविधान निर्माणका ‘निर्णायक’ सात पात्र

    संविधान निर्माणका ‘निर्णायक’ सात पात्र

    काठमाडौं । २०७२ साल असोज ३ गते आइतबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संविधानसभाको बैठकबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको नयाँ संविधान जारी गरे । संविधानसभाबाट संविधान निर्माणका लागि नेपालले निकै ठूलो राजनीतिक तथा आर्थिक लगानी गरेको थियो ।

    नेपालको संवैधानिक विकासक्रममा यो सातौ संविधान हो । सात दशक लामो राजनीतिक आन्दोलनको उपलब्धीका रूपमा यसको विशेष महत्व छ । यद्यपि, यो संविधानले समाजका सबै तह र तप्कालाई सन्तुष्ट बनाउन भने सकेको छैन ।

    जहाँनिया राणाशासनको अन्त्य र जनताबाट निर्वाचित सभाद्वारा गणतन्त्रात्मक संविधान बनाउने उद्घोष २००७ सालको जनक्रान्ति अगाडि नै गरिएको थियो । प्रजातन्त्र प्राप्तिलगत्तै तत्कालीन राजा त्रिभुवनले ‘हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो र निर्णय भएको’ घोषणा गरेका थिए ।

    यद्यपि तत्काल लागि अन्तरिम मन्त्रिपरिषद्सँगै अन्तरिम शासन विधान जारी गरेर संविधानसभाको निर्वाचन टारियो । त्यसयता कहिले मूर्त र कहिले अमूर्तरूपमा जननिर्वाचित प्रतिनिधिद्वारा जनताको संविधान लेखिनुपर्ने राजनीतिक माग राखिँदै आएको पाइन्छ । २०५२ साल फागुनदेखि नेकपा माओवादीले थालेको सशस्त्र आन्दोलनको प्रमुख मागमध्ये एक थियो संविधानसभाको निर्वाचन । उक्त मागको सम्बोधनका लागि २०६२ साल मंसिर ७ गते भएको १२ बुँदे सहमतिमार्फत नेपाली कांग्रेस र नेकपा एमालेलगायतका मूलधारका दलहरू सहमत भएका थिए । त्यही सहमतिको जगमा सम्पन्न २०६२/६३ को आन्दोलनले संविधानसभाको सुनिश्चितता गर्‍यो ।

    २०६३ साल मंसिर ५ गते बृहद् शान्ति सम्झौतामार्फत एकातिर १ दशक लामो सशस्त्र आन्दोलन समाप्त भयो भने अर्कोतिर संविधानसभाको निर्वाचनमार्फत जनताका प्रतिनिधिले संविधान लेख्ने प्रक्रियाको पनि थालनी भयो ।

    २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । २ वर्षभित्र संविधान निर्माण गर्ने वाचा ४ वर्ष बित्दासम्म पहिलो संविधानसभाले पूरा गर्न सकेन । ४ वर्षको अवधिमा ४ सरकार फेरिए पनि संविधान निर्माणलाई सार्थकता दिन सकेनन् । यद्यपि पहिलो संविधानसभाको ४ वर्षे कार्यकालमा भएका राजनीतिक छलफल, अध्ययन र टुंगो लागेका विषयहरू संविधान निर्माणका लागि उपयोगी थिए । त्यसैले २०७० साल मंसिरमा भएको निर्वाचनबाट गठित दोस्रो संविधानसभाले पहिलो संविधानसभाले गरेका कामहरूको स्वामित्व लिएको थियो ।

    ७ दशक लामो राजनीतिक अभियानमा संविधानसभाबाट संविधान लेख्ने मुद्दाको नेतृत्व धेरै राजनीतिक दल र धेरै नेताहरूले लिए । यद्यपि ६ वर्षअघि आजैका दिन संविधान जारी हुँदाको बखत नेपाली राजनीतिका खास पात्रहरूले संविधान निर्माणका लागि खेलेको भूमिका योगदान स्मरणीय छ । यहाँ संविधान निर्माणको सफल नेतृत्व गरेका सात पात्रबारे चर्चा गरिएको छ ।

    १. डा.रामवरण यादव

    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव नेपालको संविधान जारी गर्ने व्यक्ति र प्रथम संरक्षकसमेत हुन् । सेरेमोनियल भूमिकामा भए पनि यादवकै हातबाट जारी भएको हुँदा उनी यो संविधानसँग अनवरत जोडिनेछन् ।

    डा. यादवले राजनीतिक दलहरूलाई सधै सहमति, सहकार्य र एकताका लागि प्रेरित गर्दै सन्तुलनकारी भूमिका निभाउने प्रयास गरे । संविधान निर्माण प्रक्रिया नै बहिष्कार गरेर असन्तुष्ट बनेका राजनीति दल र समुदायलाई पनि सहमतिमा ल्याउन उनले बारम्बार राजनीतिक दलहरूलाई सुझाएका थिए ।

    यादवको भूमिकाबाट त्यसबेला सबै पक्ष भने सन्तुष्ट भएनन् । उनले मधेसवादी दलहरूको पनि माग सम्वोधन गर्नका लागि तत्काल संविधान जारी गरिनहाल्ने अनौपचारिक अडान लिएपछि मुख्य दलहरूभित्र असन्तोष पैदा भएको थियो । यद्यपि दलहरूको दबाब र जनआकांक्षासमेत बुझेर उनी असोज ३ गते संविधान जारी गर्न तयार भए । संविधान डा. यादवले नेपालको संविधानको पुस्तकलाई शीरले ढोगेको तस्बिर ‘आइकनिक’बनेको छ ।

    अधिकतम सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरेका तत्कालीन राष्ट्रपति यादव अहिले पनि संविधानको स्वीकार्यता बढाउनुपर्ने पक्षमा छन् । यदाकदा विवादमा परेपनि उनले गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिका रूपमा आफ्नो नाम लेखाए । संविधानसभाबाट जारी संविधानको विगत, वर्तमान र भविष्यसँग पूर्वराष्ट्रपति यादव सधैँ जोडिइरहनेछन् ।

    २. सुशील कोइराला

    नेपाली कांग्रेस पंक्तिले सुशील कोइरालालाई संविधान निर्माणको मुख्य पात्रका रूपमा प्रचारित गर्दै आएको छ । उनकै प्रधानमन्त्रीकालमा संविधान जारी भएको थियो ।

    दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बनेपछि संविधान निर्माण प्रक्रियाको राजनीतिक नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाले पाए । प्रधानमन्त्रीका रूपमा सिंहदरबारसँगै संविधान निर्माणको अगुवाइ पनि कोइरालाले गरे ।

    पहिलो संविधानसभाको कार्यकालमा बनेका चारवटा कम्युनिष्ट सरकारबाट संविधान निर्माणले सार्थकता नपाएको पृष्ठभूमीमा कोइराला आफ्नै कार्यकालमा संविधान जारी गराउन चाहन्थे । सत्ता साझेदार नेकपा एमाले र प्रतिपक्षमा रहेको नेकपा माओवादी दुवैलाई समेटेर संविधान निर्माणको राजनीतिक अगुवाइ उनले गरेका थिए ।

    संविधान जारी गर्ने अन्तिम क्षणमा नेपालले चर्को भारतीय दबाबको सामना गर्नुपरेको थियो । तत्कालीन भारतीय विदेश सचिव एस जयशंकरले नेपाल आएर दलका नेताहरूलाई संविधान जारी नगर्न खुल्ला चेतावनी दिएका थिए । उक्त दवावको सामना गर्दै कोइरालाले घोषित मितिमा संविधान जारी गर्ने पक्षमा आफूलाई उभ्याए ।

    जनताका प्रतिनिधिले लेखेको संविधान जारी गराउन भूमिका खेलेका कोइरालाले संविधानप्रति असन्तुष्ट रहेका दलको माग पूरा गराउन संविधान संशोधनको पहल समेत गरे ।

    ३. सुवासचन्द्र नेम्वाङ

    नेपालको संविधान निर्माणका दौरान संविधानसभा अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङले निर्वाह गरेको भूमिका स्मरणीय नै छ । राजनीतिक दलहरूबीच विवाद चुलिएका बेला सहमतिका लागि नेम्वाङले सक्रियता देखाएका थिए ।

    संविधानसभा अध्यक्षका रूपमा नियमितबाहेक संविधान निर्माण प्रक्रियाको राजनीतिक सहजीकरण पनि नेम्वाङले गरेका थिए । आ-आफ्नो विचार र वादअनुसार संविधानका धारा लेख्न उद्दत राजनीतिक दलबीच अधिकतम सहमति गराइ संविधान जारी गराउँदासम्म नेम्वाङले नेतृत्वदायी भूमिका खेलेका थिए ।

    ४. केपी शर्मा ओली

    पहिलो संविधानसभामा सदस्य नरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओली दोस्रो संविधानसभाको प्रारम्भदेखि नै संविधान निर्माणमा सक्रिय थिए । संविधान जारी हुनुअघि र भएपछि लिएको राजनीतिक अडानका लागि ओली स्मरणीय बनेका छन् ।

    त्यसबेला नेपाली कांग्रेससँग एमालेले सत्ता साझेदारी गरेको थियो । संविधान निर्माणपछि घोषणाका लागि विलम्व गराउन भएका देशी-विदेशी प्रयासलाई निस्तेज पार्न उनले तत्कालीन प्रधानमन्त्री र सभाध्यक्षलाई दरिलो साथ दिएका थिए । अन्तिम समयमा ओलीकै अडानले गर्दा संविधान जारी गर्न सम्भव भएको विश्वास एमाले पंक्तिमा छ ।

    नेकपा माओवादी, नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकसंगको सहमतिका आधारमा यथाशीघ्र संविधान जारी गराउन भूमिका खेलेका ओली संविधान जारी भएलगत्तै प्रधानमन्त्री भएका थिए । संविधानकै विषयमा असन्तुष्ट बनेर भारतले नेपालमाथि कडा नाकाबन्दी लगाएको थियो । सुशील कोइरालाको पालामा शुरू भएको नाकबन्दीकै बीच ओली प्रधानमन्त्रीको कुर्सीमा आए । भारतीय दवावसँग नझुकी ओलीले नाकाबन्दीको सामना गरेका थिए ।

    ५. पुष्पकमल दाहाल ‘प्रचण्ड’

    आफूलाई संविधानसभाको सूत्रधार भन्न रुचाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको निर्णायक घडीमा कठोर निर्णय लिएकै हुन् । कुनैबेला जनवादी संविधान बनाउन सशस्त्र संघर्षको नेतृत्व गरेका प्रचण्डले दोस्रो संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गराउन आफ्नै पार्टी विभाजनसम्मको तनाव खेपेका थिए ।

    प्रतिपक्षमा रहेर आन्दोलनको मोर्चा हाँकिरहेका प्रचण्ड २०७२ सालको भूकम्पलगत्तै संविधान निर्माणमा सहमति जुटाउन सक्रिय भएका थिए । संविधानमा परिवर्तनका एजेण्डा समावेश गराउन प्रचण्डको भूमिका उल्लेख्य रहेको मानिन्छ । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता संविधानका मुख्य अन्तरवस्तु नै प्रचण्डले नेतृत्व गरेको माओवादी आन्दोलनका प्रमुख एजेन्डा थिए ।

    ६. डा. बाबुराम भट्टराई

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक संवाद समितिको कुशलतापूर्वक नेतृत्व गरे । संविधानका मूलभूत विषयमा दलहरूबीच भएका विवादहरूको निरुपण भट्टराई नेतृत्वको संवाद समितिले नै गरेका थियो । सो समितिमा संविधानसभामा रहेका सबै दलका शीर्ष नेताहरूको सहभागिता थियो ।

    संविधान निर्माणका लागि सहमति जुटाएका भट्टराईले संविधान जारी भएपछि भने आफ्नो राजनीतिक कोर्स नै फेरे । संविधानसभाबाट संविधान जारी गराउने उद्देश्य पूरा भएपनि सीमान्तकृतलाई अधिकार दिलाउने र राष्ट्रलाई समृद्ध बनाउने एजेण्डा बाँकी नै रहेको भन्दै उनले रुपान्तरित संसदबाट राजीनामा दिएर वैकल्पिक राजनीतिको अभ्यास थाले । माओवादीभित्रको ‘जडसूत्रवादी’ विचारलाई ‘लोकतान्त्रिक’ धारमा रुपान्तरण गर्न बाबुरामले भूमिका खेलेको विश्लेषण गरिन्छ ।

    ७. कृष्णप्रसाद सिटौला

    शुरूआतदेखि नै शान्तिप्रक्रिया सफल पार्न सक्रिय नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संविधान मस्यौदा समितिका सभापति थिए । संविधानसभाका समितिले टुंग्याएका विषयको मस्यौदा लेखनको अगुवाइ गर्नु सामान्य काम थिएन ।

    दलहरूबीच शब्द वा कमाका विषयमा पनि विवाद हुने त्यस कालखण्डमा समन्वयकारी भूमिका खेलेर सिटौलाले संविधान मस्यौदाको काम टुंग्याएका थिए । दलहरूबीच संवाद र सहमति कायम गरी संविधान जारी गराउन तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको विश्वासपात्र र सहयोगीका रूपमा पनि सिटौलाले भूमिका निर्वाह गरे ।

  • धारा ७६ (२) को संवैधानिक बहस : प्रतिनिधिसभाको बहुमत भनेको कति हो ?

    धारा ७६ (२) को संवैधानिक बहस : प्रतिनिधिसभाको बहुमत भनेको कति हो ?

    काठमाडौं । संविधानको धारा ७६ को २ अनुसार बहुदलीय बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय बिहीबार बेलुकी ९ बजे सकिदैछ । समय घर्किदै जाँदा प्रतिनिधिसभाको बहुमतबारे भिन्न विचार व्यक्त हुन थालेका छन् ।

    प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पुनः नियुक्ति हुन नदिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरू बहुमत जुटाउने तयारीमा छन् । विपक्षी गठबन्धनले प्रतिनिधिसभामा तत्काल कायम रहने सदस्य संख्याको बहुमत जुटाएर सरकारको नेतृत्व दावी गरिरहेको छ । यद्यपि कतिपय कानूनविद्ले प्रतिनिधिसभाको बहुमत भन्नाले २ सय ७५ को बहुमत अर्थात १ सय ३८ हुनुपर्ने बताएका छन् । जबकी हाल प्रतिनिधिसभामा २ सय ६७ सदस्य मात्रै कायम छन् ।

    बहुमत भनेको १ सय ३८ : अग्नि खरेल, पूर्वमहान्यायाधिवक्ता

    नेकपा एमालेको नेतासमेत रहेका पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल संविधानको धारा ७६ ले प्रतिनिधिसभाको पूर्ण बहुमतको अपेक्षा गरेको बताउँछन् । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय हुने संवैधानिक व्यवस्था भएकोले बहुमत भन्नाले १ सय ३८ जना बुझ्नुपर्ने खरेलको भनाइ छ । ‘धारा ७६ को २ अनुसार सरकारको नेतृत्व दावी गर्ने दलहरूले कम्तीमा १ सय ३८ जना सांसदहरुको समर्थन जुटाउनुपर्छ किनकी सो धारामा प्रतिनिधिसभाको बहुमत भनिएको छ, तत्काल कायम रहेको होइन’ खरेलले नेपाल प्रेससँग भने ।

    प्रधानमन्त्रीले विश्वासको मत लिदाँ वा अविश्वासको प्रस्तावको सामना गर्दा संसदमा तत्काल कायम रहेको बहुमत निर्णायक हुने भएपनि प्रधानमन्त्री पदमै दावी गर्न भने प्रतिनिधिसभाको कुल संख्याको बहुमत पुर्‍याउनुपर्ने खरेलको तर्क छ ।

    जति कायम छ त्यो नै प्रतिनिधिसभा हो : यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता

    डेमोक्रेटिक लयर्स एशोसियसनका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भने प्रतिनिधिसभामा सदस्यहरू रिक्त रहने प्रावधान समेत संविधानमै उल्लेख भएकोले रिक्त सदस्यको गणना गर्न आवश्यक नरहेको बताउँछन् । संविधानमा भएका प्रावधानबारे जेसुकै तर्क गर्न सकिएपनि विधायकी मनाशय र परम्परागत अभ्यास महत्वपूर्ण हुने खनालको भनाइ छ ।

    ‘प्रतिनिधिसभा २ सय ७५ कै हो तर संवैधानिक कारणहरूले प्रतिनिधिसभाका केही दिन रिक्त रहन सक्छन् । त्यसरी रिक्त रहेर जति बाँकी हुन्छ त्यो नै पूर्ण प्रतिनिधिसभा हो’, खनालले भने । संसदमा नरहेका सदस्यहरूको संख्या जोड्नु भनेको मृत्यु भइसकेका मतदाताको भोट खसाल्नुजस्तै हुने खनालको तर्क छ ।

    ‘संविधान निर्माणकर्ताहरूको आशय प्रतिनिधिसभा भनेकै तत्काल कायम रहेका सदस्यहरूको संख्या हो । यसमा विवाद होला तर कायम रहेको संख्याको बहुमतले नै नयाँ सरकार गठन हुनसक्छ’, खनालले भने ।