Tag: नेकपा समाजवादी

  • विप्लवलाई छोडेका कार्कीको नेतृत्वमा नेकपा समाजवादी दर्ता

    विप्लवलाई छोडेका कार्कीको नेतृत्वमा नेकपा समाजवादी दर्ता

    काठमाडौं । निर्वाचन अयोगमा नेकपा (समाजवादी) दर्ता भएको छ । सो पार्टीले दर्ता प्रमाणपत्रसमेत पाइसकेको छ ।

    नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच एकीकरण गरेर समाजवादी केन्द्र बनाउने चर्चा चलिरहका बेला आयोगमा उक्त नामको पार्टी दर्ता भएको हो ।

    बूढानीलकण्ठमा कार्यालय रहेको पार्टीको संयोजक राजु कार्की छन् । चुनाव चिन्ह कार राखिएको छ। संयोजकबाहेक प्रवक्ता रहने ५१ जनाको केन्द्रीय कमिटी रहने कार्कीले जानकारी दिए ।

    कार्की नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मा किसान महासंघको अध्यक्ष थिए । विप्लवसँग विचार नमिलनेपछि आफूले दुई वर्षअघि नै उनलाई छोडेर नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया चालेको कार्कीले बताए ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एकता नहुने तर कार्यगत एकता भने हुन सक्ने उनको भनाइ छ । एकताका लागि एमाले र माओवादी केन्द्रबाट प्रस्तावसमेत आएको कार्कीले दावी गरे ।

    माधव नेपालले नेकपा (समाजवादी) का नाममा नयाँ दल दर्ता गर्न खोजेका थिए । तर, कार्कीले पहिल्यै निवदेन दिएकाले आयोगले त्यो नाम दिएको थिएन ।

  • नेकपा समाजवादीले ६ मन्त्री पाउने, अहिले नपाउनेलाई अर्कोपटक मौका

    नेकपा समाजवादीले ६ मन्त्री पाउने, अहिले नपाउनेलाई अर्कोपटक मौका

    काठमाडौं । नेकपा एमालेबाट विभाजित माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ ।

    स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको स्रोतले जनाएको छ ।

    दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले इच्छा व्यक्त गरेका छन् । तर सो पार्टीभित्रै गौतमलाई कुनै हालतमा दिन नहुने र उनकै कारण नेकपा हुँदै एमालेसम्म विभाजन भएको मत बलियो छ ।

    माधव नेपालनिकट एक नेताले भने– तत्कालीन नेकपामा वामदेवले ओली वा प्रचण्डमध्ये एकजनाको पक्षमा उभिएका भए सचिवालयमा बहुमत हुन्थ्यो र पार्टी नफुट्न सक्थ्यो । उनको चरित्र अहिले पनि त्यस्तै हो र उनीसँग कोही मान्छे पनि छैनन् । हामीले जोखिम मोलेर स्थापित गरेको सरकारमा भाग खोज्न लाज हुनुपर्ने हो ।

    माधव नेपालको पार्टीबाट सरकारमा जान पाउने सम्भावना नदेखिएपछि गौतम एमालेमै रहेको विज्ञप्ति आएको छ ।

    गौतमबाहेक साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।

    नेपालनिकट स्रोतका अनुसार उनी बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।

    जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।

    माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ ।

    नेपालको पार्टीले उपसभामुख पनि पाउने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ । उपसभामुख एकीकृत समाजवादीले पाएमा सरला यादवलाई बनाउने सम्भावना छ ।