Tag: नेकपा एमाले

  • एमालेको निर्णय सकुर्लरमा थपघट, युवा नेताले पाए रणनीतिक जिम्मेवारी

    एमालेको निर्णय सकुर्लरमा थपघट, युवा नेताले पाए रणनीतिक जिम्मेवारी

    काठमाडौं । चैत १० गते बसेको नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको निर्णय अन्तरपार्टी निर्देशनका रुपमा आउँदा हेरफेर भएको छ । कतिपय नेताका अशन्तुष्टि र कतिपयलाई जिम्मेवारीको भारीलाई सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले केही युवा नेतालाई रणनीति जिम्मेवारी दिएर निर्णयमा हेरफेर गरेका हुन् ।

    एमालेले आसन्न चुनावहरुलाई समेत लक्षित गरेर केही युवा नेतालाई सोही अनुसारका जिम्मेवारी दिएको छ । माधव नेपाल पक्षलाई छाडेर संस्थापन पक्षमा लागेका नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर अध्यक्ष ओलीले गुटगत होइन व्यक्तिगत रुपमा आउनेलाई पुर्वाग्रह नराखिने सन्देश दिएको नेताहरु बताउँछन् ।

    माधव नेपाल पक्ष छाडेका लालबाबु पण्डितले प्रदेश १ को सहइन्चार्ज तथा काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    युवा पुस्ताका चर्चित नेता शेरवहादुर तामाङले केन्द्रीय कार्यालय सचिव, वागमती प्रदेश सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज जस्ता तीन महत्वपूर्ण र एक्सपोजर भूमिका पाएका छन् ।

    त्यस्तै संस्थापन पक्षमा लागेका बिष्णु रिजालले यसअघि साबिक नेकपामा पाइरहेको विदेश विभाग उपप्रमुखको अतिरिक्त दैलेख जिल्ला सह–इन्चार्जको भूमिका समेत पाएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका युवा नेता सूर्य थापालाई पत्रकारसँग सम्बन्धित क्षेत्रको जिम्मेवारी दिइएको छ । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहिसकेका थापालाई प्रेस चौतारी र सोसँग सम्बन्धित क्षेत्रको इन्चार्जको जिम्मेवारी दिइएको हो ।

    गोकुललाई तीन जिम्मेवारी

    पूर्व सञ्चारमन्त्री तथा युवा नेता गोकुल बास्कोटालाई १० गतेको बैठकले काभ्रे जिल्ला इन्चार्जमात्र तोकेको थियो । तर अन्तरपार्टी निर्देशनमा बास्कोटालाई अन्य दुई रणनीतिक जिम्मेवारी समेत थपिएको छ ।

    बास्कोटालाई गाउँपालिका महासंघको इन्चार्ज र नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठनको इन्चार्जको समेत भूमिका एमालेले दिएको छ । बास्कोटालाई दिइएका दुवै जिम्मेवारी रणनीतिक महत्वका छन् ।

    काठमाडौं र भक्तपुर बाहेक ७५ वटै जिल्लामा गाउँपालिकाको सञ्जाल रहेकाले विकास सम्मेलन समेत गर्ने बास्कोटाको योजनालाई उनले पाएको यो जिम्मेवारीले साथ दिएको छ ।

    ‘सम्बृद्धिको आधार, सक्षम र सबल स्थानीय सरकार’ भन्दै बास्कोटाले केही समयअघिनै विकास सम्मेलनको अवधारणा अघि सारेका थिए । गाउँपालिका महासंघको अध्यक्ष पनि नेकपा एमालेकै होमनारायण श्रेष्ठ छन् ।

    त्यस्तै बास्कोटालाई सेवा निवृत्त सेना तथा प्रहरीको संगठन समेत हेर्ने जिम्मेवारी दिएर आगामी चुनावको तयारी एमालेले गरेको छ । भूतपूर्व सैनिक र प्रहरी देशका गाउँ गाउँमा रहेका छन् र उनीहरुको ठूलो सञ्जाल छ ।

    पूर्व सैनिक र प्रहरीको क्षमता तथा सिपलाई पार्टी तथा मुलुक निर्माणको अभियानमा लगाउनेृ भन्दै एमालेले तिनीहरुका अलग संगठन बनाएको छ । त्यस्तै पूर्व माओवादी लडाकुहरु पनि अहिले एमालेमा प्रवेश गरेका छन् । उनीहरुको भने अलग संगठन छ ।

    युवा र विद्यार्थी इन्चार्जमा युवा नेता

    युथफोर्सको संस्थापक कमाण्डर बनेर तत्कालीन माओवादीको लडाकू दस्ता वाईसीएललाई ‘साइज’मा ल्याएका युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले युवा संघकै इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    युवा संघको नेतृत्वबाट बस्नेत बाहिरिएपछि निरु पाल, राजीव पहारी, रमेश पौडेल, रामप्रसाद सापकोटा र बचनवहादुर सिंह अध्यक्ष भइसके पनि अहिलेसम्म बस्नेतकै बर्चश्व रहेको छ ।

    बस्नेतले यसअघि पाएको खेलकुद महासंघ इन्चार्जको जिम्मेवारी भने युवा तथा खेलकुद मन्त्री दावा तामाङले पाएका छन् ।

    त्यस्तै अनेरास्ववियूको इन्चार्ज खिमलाल भट्टराई भएका छन् । भट्टराई अनेरास्ववियूका पूर्व अध्यक्ष हुन् । अनेरास्ववियू देशब्यापी सन्जाल भएको ठूलो संगठन भएकाले उनलाई सो जिम्मेवारी दिइएको एमाले स्रोतले जनाएको छ ।

    अनेरास्ववियूकै पूर्व अध्यक्ष माधव ढुंगेलले विद्यार्थी विशेष जिल्ला कमिटी र पेशागत महासंघ विशेष जिल्ला कमिटी इन्चार्जका जिम्मेवारी पाएका छन् । काठमाडौंमा पेशागत जिल्ला कमिटी भूगोलपछिको महत्वपूर्ण र धेरै सदस्य भएको कमिटी हो ।

    एमालेले युवा नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने सिलसिलामा माओवादी केन्द्र छाडेर प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य पदसमेत गुमाउन तयार भएकी ज्वालाकुमारी साहलाई प्रदेश २ को अध्यक्ष बनाएको छ ।

    यसअघि साबिक नेकपामा प्रदेश अध्यक्ष प्रभु साह थिए । युवा नेता ज्वाला साह सात प्रदेशमध्ये एकमात्र महिला अध्यक्ष हुन् । माओवादीतर्फका युवा नेतालाई एमालेमा महत्वपूर्ण स्थान मिल्ने सन्देश अ‍ोलीले दिन खोजेका छन् ।

  • एमाले कर्णाली प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

    एमाले कर्णाली प्रदेश कमिटीले पायो पूर्णता (नामावलीसहित)

    काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ। पछिल्ला निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा १ सय ४७ सदस्यीय कमिटी बनाइएको उल्लेख छ ।

    एमालेले यसअघि नै पदाधिकारी भने टुंगो लगाइ सकेको थियो । जस अनुसार यामलाल कँडेल प्रदेश कमिटीको इन्चार्ज, सहइञ्चार्ज लक्ष्मी पोखरेल र गुलाबजंग शाह छन् । त्यस्तै, गोरख बोगटीलाई अध्यक्ष र धर्मराज रेग्मीलाई सचिव सचिवको जिम्मेवारी दिइएको थियो ।

    प्रदेश कमिटीको सिफारिसमा नाम अनुमोदन गरिएको हो ।

    हेर्नुस् प्रदेश कमिटीको नामावली :

  • ओलीविरुद्ध प्रचण्ड-माधव ६ महिनादेखि अड्डा/अदालतको चक्करमा

    ओलीविरुद्ध प्रचण्ड-माधव ६ महिनादेखि अड्डा/अदालतको चक्करमा

    काठमाडौं । नेपाली राजनीतिको कमाण्ड कम्युनिष्ट र कांग्रेसकै वरपर छ । यी दुवै पार्टी तत्कालीन राज्यसत्ताको कानून, नियम र अदालतलाई छलेर गठन भएका थिए । २००७ सालको क्रान्ति अगाडि स्थापित यी दुवै पार्टीको आधार भनेको अड्डा अदालत होइन राजनीतिक निर्णय र जनता हुन् ।

    तर पछिल्लो समय कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू भने राजनीति कम मुद्दा मामिलामा बढी नै केन्द्रित भइरहेका छन् । विशेषगरी तत्कालीन नेकपामा प्रचण्ड-माधव नेपाल पक्षले केपी ओलीविरुद्ध शुरू गरेको मुद्दा मामिला अहिले पुनःस्थापित एमालेमा आउँदासम्म निरन्तर छ ।

    प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चरम विवाद भएर आफूलाई हटाउन लागिएपछि २०७७ पुस ५ गते प्रतिनिधिसभा भंग गरेका थिए । त्यसलाई असंवैधानिक भन्दै नेकपाको अर्को पक्ष प्रचण्ड-माधव समूह रिट लिएर सर्वोच्च अदालतमा गयो ।

    सर्वोच्च अदालतमा संवैधानिक इजलासबाट सो मुद्दा हेर्ने कि वृहत पूर्णइजलास भन्नेमा पनि नेकपाका दुई पक्ष अदालतदेखि सडकसम्म विभाजित भए । त्यसपछि अदालतलाई औंला ठड्याउन पनि कसैले बाँकी राखेनन् ।

    प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारी पत्र लिएर संसद सचिवालय पुगेका प्रचण्ड-माधव ।

    नेकपाका नेताहरूले यसबीचमा राजनीति होइन मुद्दा मामिला गरे भनियो भने अतिरन्जित हुँदैन । पुस ५ को कदमपछि पुस ७ गतेदेखि लगातार नेकपाका विवाद सर्वोच्च अदालत र निर्वाचन आयोग वरिपरि डुलिरहेका छन् ।

    आफूहरूमाथि हुन लागेको सम्भावित कारवाही रोक्न भन्दै नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालमा पुग्यो । रिट दर्ताको चार दिनपछि १३ वैशाखमा सर्वोच्च अदालतले नेपाल पक्षले माग गरे अनुसार अन्तिरम आदेश दिन अस्वीकार गर्‍यो ।

    केन्द्रको राजनीतिले प्रदेश सरकारहरू समेत प्रभावित हुन थालेका छन् । कतै अविश्वास प्रस्ताव दर्ता भएका छन् भने कतै मन्त्रिपरिषद परिर्वतन भइरहेका छन् । कोभिड-१९ को महामारीको यो बेलामा पनि सरकार जोगाउने र हटाउने खेलमा राजनीति लिप्त छ ।

    भोलिपल्ट एमाले नेता गोकुल बास्कोटाले नेपालप्रति व्यंग्यमिश्रित तीखो टिप्पणी गरे। धेरै अदालत धाएको भन्दै बास्कोटाले ‘राजनीतिमा रामबहादुर थापा ‘बादल’कै बाटो सही हुने टिप्पणी गरेका छन् ।

    ‘कमरेड नेपाल आधाशताब्दीदेखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोलि अदालत धाएको हेर्दा ‘कानूनका नौ सिङ’ वाला पो लाग्यो,’ सामाजिक संजालमा उनको प्रतिक्रिया छ, ‘कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति । कानूनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही। कठिन छ-तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा ।’

    बास्कोटाले टिप्पणी गरेझैं पछिल्लो समय राजनीतिले अड्डा अदालतको आँगनमा गोलचक्कर मार्न थालेको छ। तत्कालीन नेकपा विवाद अदालतमा प्रवेश गर्‍यो । निर्वाचन आयोगमा पनि यो न्यायिक निरूपणको विष बन्यो । अहिले एमाले भित्रको विवाद पनि अदालमा प्रवेश गरेको छ । यो विषय निर्वाचन आयोगमा पनि पुगेको छ।

    संसद विघटनमा मात्रै सफलता, अन्यमा विफलता

    नेकपामा रहँदा अदातल र निर्वाचन आयोगमा पुगेका धेरै विवादका वादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल हुन् । ती सबै मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवादीका रूपमा जवाफ दिएका छन् ।

    ५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि भोलिपल्टै यसविरुद्ध रिट दायर भयो । नेकपाकै प्रचण्ड-माधव पक्ष लगायतको गरेर ११ वटा रिट दायर भएका थिए । विघटनविरुद्ध सडकमै गएको प्रचण्ड-माधव पक्षको यसमा जित भयो । सर्वोच्च अदालते संसद विघटन गर्ने ओलीको कदमलाई ११ फागुनमा बदर गरियो ।

    त्यसयता भने प्रचण्ड-माधव पक्षले लडेका कानूनी लडाइँमा धेरै सफलता हात पार्न सकेनन् । नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने र एमाले-माओवादी ब्युँताउने गरी २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला प्रचण्ड-माधव पक्षलाई ठूलो झड्का थियो ।

    अर्कोतिर विघटन बदर गर्ने फैसलाले रक्षात्मक बनेका ओलीका लागि ठूलो राहत थियो । फैसला आएको साँझ ओली पक्षले दिपावली गरे भने प्रचण्ड-माधव पक्षले फैसलाको विरोध गरे ।

    २३ फागुनको फैसलाविरुद्ध एमालेको नेपाल पक्षको समेत सहमति लिएर प्रचण्ड पुनरावलोकन गर्न सर्वोच्च पुगे । तर, सर्वोच्चले त्यस सम्बन्धी प्रचण्डको माग अस्वीकार गरिदियो । नाम त्यही नभए पनि तत्कालीन नेकपाको एकता ब्युँताएर शक्ति आर्जन गर्ने प्रचण्ड-माधवको चाहनामा धक्का लाग्यो । अर्कोतिर एमाले ब्युँतदा शक्तिशाली बनेका ओलीलाई यसले शक्ति क्षय हुनबाट रोकिदियो ।

    एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध सर्वोच्च पुगेका प्रचण्ड ।

    नेकपाको आधिकारिकता र ओली विस्थापनको मागसहित निर्वाचन आयोगमा पनि प्रचण्ड-माधव धेरै पटक निर्वाचन आयोगमा पुगे । ७ माघमा ओलीलाई हटाएको दावीलाई ११ माघमा निर्वाचन आयोगले अस्वीकार गर्‍यो ।

    पुस ५ यता दुवै अध्यक्षको हस्ताक्षरबिना दुवै पक्षले गरेका क्रियाकलाप वैध नहुने ठहर निर्वाचन आयोगको थियो । एकता नै खारेज भएपछि निर्वाचन आयोगमा नेकपा सम्बन्धी सबै विचाराधीन अन्य मुद्दा प्रभावहीन भए ।

    नेकपाकालीन विवाद नेकपा एमालेमा समेत विस्तार भइसकेको छ । एमाले ब्युँतिसकेपछि पनि नेपाल पक्ष एक पटक सर्वोच्च अदालमा गयो भने दुईपटक निर्वाचन आयोगमा गएको छ । यी दुवै विषयको अन्तिम निरूपण हुन भने बाँकी छ ।

    हरेक विषयमा अड्डाअदालत धाएको भन्दै ओलीले प्रचण्ड-माधवलाई ‘झगडिया’ भन्ने गरेका छन्। नेपाल प्रेसलाई दिएको अन्तर्वार्तामा ओलीले आफूले फिरादपत्र मात्रै हाल्ने भन्दै आफू झगडिया नभएको बताएका थिए ।

    अन्तर्वातामा ओलीको टिप्पणी थियो– ‘म त फिरादपत्र हाल्छु । फिरादपत्र हाल्ने मान्छे झगडिया हैन । झगडियाहरू त पार्टी पाउँ, चिन्ह पाउँ र गरेका निर्णयहरू बदर गरिपाउँ भनेर निर्वाचन आयोगमा गएका छन् । पार्टीको निर्णयविरुद्ध अदालत जान्छन् । सभामुख, सरकारका विरुद्ध लागेका छन् । यो झगडीयाहरूको काम हो ।’

    नेपाल पक्षका नेता बेदुराम भुसाल भने ओलीको टिप्पणीको प्रतिवाद गर्छन। कानूनी पार्टीहरूले कानूनी लडाइँ पनि लड्ने भन्दै उनी आफूहरूले राजनीतिक लडाइँ पनि लडेको बताउँछन् ।

    ‘राजनीतिक लडाइँ चलेकै छ,’ भुसालले नेपाल प्रेससँग भने, ‘कानूनी पार्टीहरूले कानूनी लडाइँ पनि लड्छन् । देशभरि कमिटी बनिरहेका छन्, त्यो राजनीतिक लडाइँ होइन र ?’

    अदालतका फैसलाहरूबारे टिप्पणी गर्दै भुसाल अदालत राजनीतिबाट प्रभावित भएको आरोप सार्वजनिक रूपमा लागेको बताउँछन् । उनी भन्छन्, ‘सार्वजनिकरूपमै टिप्पणी हुने गरेको छ कि अदालत पनि राजनीतिबाट प्रभावित भयो ।’

    स्थिर हुन नसकेको राजनीति

    ५ पुसयता ठूलै स्केलमा खलबलिएको राजनीति अहिलेसम्म पनि स्थिर हुन सकेको छैन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपनि राजनीतिले लय पकड्ने आसा धेरेले गरेका भए पनि त्यो हुन सकेको छैन ।

    सर्वोच्चको फैसालापछि ओली विस्थापन हुने र आफूहरू शक्तिमा आउने आशा प्रचण्ड-माधवको थियो । तर, राजनीति उनीहरूको अपेक्षा अनुसारको भइदिएन ।

    संसदबाट न यो सरकारको विकल्प निस्कन सकेको छ, न त यो सरकार बदल्ने कुरा रोकिएको छ । ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी नेपाली कांग्रेस र माओवादी केन्द्रले गरिरहेको भनिए पनि संसदको चौथो दल जनता समाजवादी पार्टीको अनिर्णयको विषयले यो विषय पनि टुंगिएको छैन ।

    आफूहरू आधिकारिक भएको दावी लिएर निर्वाचन आयोग पुगेका प्रचण्ड-माधव ।

    केन्द्रको राजनीतिले प्रदेश सरकारहरू समेत प्रभावित हुन थालेका छन् । कतै अविश्वास प्रस्ताव दर्ता भएका छन् भने कतै मन्त्रिपरिषद परिर्वतन भइरहेका छन् । कोभिड-१९ को महामारीको यो बेलामा पनि सरकार जोगाउने र हटाउने खेलमा राजनीति लिप्त छ ।

    संसद पुनःस्थापनापछि पनि यही संसद थप दुई वर्ष निरन्तर चल्छ या देश आम निर्वाचनमा जान्छ भन्ने विषय अझैं प्रष्ट हुन सकेको छैन । राजनीतिक आकाशमा अझैं बाक्लो बादल मडारिरहेको छ।

    केन्द्र र प्रदेशमात्र होइन अड्डा अदालतको चक्कर अब स्थानीय तहमा सरेको छ । माओवादीले एमालेमा प्रवेश गरेका विभिन्न जिल्लाका वडाध्यक्षदेखि नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरूलाई कारवाही गर्दै पद रिक्त गराउन निर्वाचन आयोगमा पत्राचार गरेको छ ।

    अब यो प्रक्रिया आयोग र अदालतमा चल्नेछ ।

  • एमालेले तोक्यो महाधिवेशनको तालिका (अन्तरपार्टी निर्देशनसहित)

    एमालेले तोक्यो महाधिवेशनको तालिका (अन्तरपार्टी निर्देशनसहित)

    काठमाडौं । नेकपा एमालेले आसन्न महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो मंसिर २ देखि ६ गतेसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका बनाएको हो । ​

    ६ , १० र १२ वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशनमा कार्यतालिकाबारे उल्लेख गरिएको छ ।

    जस अनुसार वडा अधिवेशन भदौ ५ मा हुने छ । पालिका अधिवेशन भदौ १५ र जिल्ला अधिवेशन भदौ ३० मा तय गरिएको छ । असोज २३ गते प्रदेश अधिवेशन हुनेछ ।

    सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अद्यावधिक गरिने उल्लेख गरिएको छ ।

  • गण्डकीमा माधव पक्षका एक्ला सांसद भन्छन्- मबाट फ्लोर क्रस हुँदैन

    गण्डकीमा माधव पक्षका एक्ला सांसद भन्छन्- मबाट फ्लोर क्रस हुँदैन

    पोखरा । कर्णाली प्रदेशमा माधव नेपालपक्षीय नेकपा एमालेको साथ पाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद सुरक्षित गरे । यता गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव ‘पेन्डिङ’मा छ । कर्णालीमा जस्तै गण्डकीमा पनि फ्लोर क्रस हुन्छ कि भन्ने संशय दुवै पक्षमा देखिन्छ ।

    गण्डकीमा माधव पक्षका एक मात्र सांसद हुन् ईन्द्रलाल सापकोटा । उनको एक भोट पनि यतिबेला निकै महत्वपूर्ण छ । यदि उनले फ्लोर क्रस गरेको खण्डमा सरकारलाई समस्यामा पर्न सक्छ । जनमोर्चाका तीनमध्ये एक सांसदले मुख्यमन्त्री गुरुङलाई साथ दिए भने इन्द्रलालको एक भोट निर्णायक बन्न सक्छ ।

    नेपाल प्रेससँगको कुराकानीमा भने सांसद सापकोटाले भने आफूले फ्लोर क्रस नगर्ने बताए । आफू नेकपा एमालेको संसदीय दलको सदस्य भएकाले राजनीतिक इमान्दारिता तोडेर अर्को पार्टीलाई साथ नदिनेले उनले प्रष्ट पारेका छन् । प्रस्तुत छ- सापकोटासँग गरिएको कुराकानीः

    प्रदेशमा अहिले जुन राजनीतिक घटनाक्रम विकसित भइरहेको छ यसलाई कसरी हेरिराख्नुभएको छ ?

    यसमा दुईवटा कुरा हुन्छ । यतिबेला संसदमा अविश्वास प्रस्तावमाथि छलफल अगाडि बढिराखेको छ । संसदीय अभ्यासमा यसलाई स्वभाविक ढंगले लिनुपर्‍यो ।

    अस्ति (बुधबार) देखि संसदमा ठीकै पद्धतिमा प्रक्रिया अघि बढिराखेको थियो । त्यसलाई त्यही प्रक्रियामा टुंग्याउन सक्नुपर्थ्यो । त्यहाँ कहीं न कहीं समस्या रहे । कसरी उत्पन्न भए भन्ने कुरा तपाईंहरू आफैं विश्लेषण गर्न सक्नुहुन्छ ।

    फेरि पनि यसले हाम्रो संसदीय मर्यादालाई बढाउने काम भने गर्दैन । यसलाई दलहरूका बीचमा अर्को सहमति, समझदारी गरेर अघि जान सकिन्थ्यो । संसदलाई कन्टिन्यू गरिनुपर्छ ।

    हिजो सभामुखले संसद जसरी स्थगित गरिदिनुभो, उहाँको भूमिकालाई कसरी हेर्नु भएको छ ?

    ठ्याक्कै अहिलेचाहिँ केही नभनौं । हिजो संसदमा केही समस्या आयो । त्यसलाई हामी छलफल र संवाद गर्दै दलहरूको बीचमा एउटा सहमति गरेर, कुराकानी गरेर अगाडि बढ्नुको विकल्प छैन । संसद, मतदान स्थगन गर्ने अधिकार सभामुखलाई होला । तर, पनि दलहरूको बीचमा अन्डरस्ट्यान्डिङ गरेको भए त्यसको ओज अझ बढ्थ्यो । तर, त्यसो हुन सकेन ।

    संसदीय व्यवस्थाभित्र कहिलेकाहीँ पेचिलो अवस्थामा यस्ता निर्णय हुन्छन् । फेरि पनि, यसलाई अगाडि बढ्न दिनुहुँदैन । बसेर सहमतिका साथ संसद सुचारु गर्ने, एउटा टुंगोमा जानका लागि पहलकदमी लिनुपर्छ भन्ने मेरो मान्यता हो ।

    जनमोर्चाका एक सांसदले अविश्वास प्रस्तावलाई ‘धोका’ दिएको खण्डमा तपाईंको एक भोट नै निर्णायक हुने देखियो । तपाईंले फ्लोर क्रस गर्ने सम्भावना के छ ?

    नबुझ्या कुरा, मेरो एक भोट कसरी निर्णायक हुन सक्छ ? आजका मितिसम्म म नेकपा एमालेकै संसदीय दलको सदस्य हो नि !

    उहाँले धोका दिएको भन्दा पनि संसदमा जे गरिन्छ, सबै पारदर्शी हिसाबले गरिनुपर्छ । चाहे त्यो सहमतिका विषय हुन्, या असहमतिका विषय । मलाई पार्टीका निर्णयहरू चित्त बुझेन भने विद्रोह गर्छु भन्न पनि त पाइन्छ नि ? पार्टीको कारबाही सहन्छु, संसद पद गए पनि जावस् भन्नु पर्दैन
    र ?

    अब गलत तरिकाले अस्पतालको आईसीयूमा (जनमोर्चा सांसद खिमविक्रम शाही) जानु भा’छ भन्ने त सुनें, भेट्या छैन । उहाँलाई सीघ्र स्वास्थ्य लाभकै कामना गरें । तर, यो विरामी भन्ने कुराचाहिँ राम्रो हाइन ।

    उहाँले मेरो पार्टी जनमोर्चाको निर्णय चित्त बुझेन भनेर अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्न सक्नुहुन्थ्यो नि त । त्यसो हुँदा दलले कारबाही गर्छ, संसद पद त्याग्नुपर्‍यो नि त । चिचि पनि पापा पनि गर्नुभएन नि ।

    आफ्नै कुरा भनिदिनु न त, तपाईं फ्लोर क्रस गरेर अविश्वास प्रस्तावको पक्षमा भोट हाल्नुहुन्छ कि हाल्नुहुन्न ?

    होइन, अहिले म नयाँ सरकारको पक्षमा छैन । अहिले फ्लोर क्रस गर्दिन । म त्यो ठाउँमा पुग्या पनि छैन । अहिलेलाई फ्लोर क्रस गर्दिनँ । कसको पार्टी कारबाही, गतिविधिभन्दा पनि आजका दिनसम्म म एमाले संसदीय दलको सदस्य हो । संसदीय दलकै सदस्यले फ्लोर क्रस गर्न हुन्छ कि हुँदैन भन्ने त बुझिहाल्नुहुन्छ ।

  • माओवादीबाट निर्वाचित रौतहटका अधिकांश जनप्रतिनिधि एमाले बनेपछि कारवाही

    माओवादीबाट निर्वाचित रौतहटका अधिकांश जनप्रतिनिधि एमाले बनेपछि कारवाही

    काठमाडौं । रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको छ ।

    जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ । तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमाले भएका छन् ।

    माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यसमेत रहेका मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाहलाई एमाले प्रवेश गरेको भन्दै सो पार्टीले निष्कासन गरेको हो ।

    त्यस्तै मौलापुरका उपमेयर गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, देवाही गोनाहीकी परनिया देवी, माधवनारायणपुरकी उपाध्यक्ष सिमलकुमारी साह र यमनुमाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासन गरिएको माओवादीले जनाएको छ ।

    माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेका गतिविधिमा संलग्न रहेकोले पार्टीबाट कारवाही गरी पद रिक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरिएको माओवादी जिल्ला सचिव देवेन्द्र पटेलले बताएका छन् ।

    रौतहटमा माओवादी केन्द्रको ९० प्रतिशत हिस्सा प्रभु साहको व्यक्तिगत प्रभावमा थियो । सो शक्ति प्रभुसँगै एमाले भएको छ ।

  • समानान्तर कमिटीलाई निरन्तरता दिने माधव पक्षको निर्णय

    समानान्तर कमिटीलाई निरन्तरता दिने माधव पक्षको निर्णय

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी विस्तारको अभियान जारी राख्ने भएको छ ।

    बुधबार कलंकीस्थित एक पार्टी प्यालेसमा नेपाल पक्षका स्थायी समिति सदस्यहरूबीच भएको छलफलपछि यस्तो अडान दोहोर्‍याएको हो ।

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिच्ने क्रियाकलाप जारी रहेसम्म अभियान नरोक्ने कुरालाई पुनर्पुष्टि गरेको नेता भीम रावलले जानकारी दिए ।

    ‘जबसम्म केपी ओलीजीका विधान मिच्ने क्रियाकलाप बन्द हुँदैनन्, तबसम्म हामी अगाडि बढ्नुपर्छ भन्ने कुरालाई पुनर्पुष्टि गरेका छौं,’ छलफलबारे जानकारी दिँदै रावलले संवाददाताहरूसँग भने।

    नेपाल पक्षले गत चैत ६ र ७ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर समानान्तर चार महिने अभियान चलाउने निर्णय गरेको थियो ।

    आजको छलफलमा अभियानबारे समीक्षा भएको र सफलताका साथ अगाडि बढेको निष्कर्ष निकालिएको जानकारी रावलले दिए ।

    ‘हामीले देशभर जुन अभियान चलाएका छौं, त्यो सफलताका साथ अगाडि बढिरहेको छ,’ उनले भने, ‘अहिले कोरोना संक्रमणका कारणले गर्दा यसलाई रोक्नु पर्ने भएता पनि हामीले यसलाई जारी गराख्नुपर्द छ ।’

    रावलले कोरोनाका कारण केही गतिविधि बन्द भए पनि अभियान भने नरोकिने बताए । उनले भने, ‘अभियानलाई बन्द गर्नेबारे सोचेका छैनौं तर अहिले यो महामारीका समयमा कतिपय गतिविधिहरू बन्द हुन सक्छन वा कम हुन सक्छन् ।’

    घोषित अभियान अनुसार नेपाल पक्षले समानान्तर कमिटी निर्माण गरिरहेको छ।

    सांसदलाई कारवाही गर्न नमिल्ने

    नेता रावलले आफूपक्षीय सांसदहरूलाई ओलीले कारवाही गर्न निमल्ने जिकिर गरे ।

    नेपालको संविधान अनुसार त्यस्तो कारवाही गर्न नमिल्ने भन्दै तर्साउन मात्रै आफूहरूलाई स्पष्टीकरण सोधिएको दावी गरे।

    ‘हामीलाई कारवाही गर्ने भन्ने कुरा नै गलत हो,’रावलको भनाइ छ, ‘नेपालको कानून बमोजिम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई कारवाही नै गर्न मिल्दैन । त्यो धाक, धम्की दिने, तर्साउने कुरामात्रै हो ।’

    उनले भने, ‘पार्टी खोलेमा, पार्टी परित्याग गरेको सूचना दिएमा र राष्ट्रिय महत्वको विषयमा संसदमा मतदान हुँदा निर्देशन उल्लघंन गरेमा मात्रै त्यो कानूनत: आकर्षित हुन्छ । त्यसको कुनै अर्थ पनि छैन ।’

    पार्टीविरोधी काम गरेको भन्दै एमालेको संस्थापन पक्षले ६ वैशाखमा नेपाल पक्षीय संघका २७ र कर्णाली प्रदेशका ४ सांसदलाई स्पष्टीरण सोधेको थियो ।

    कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई पार्टी र प्रदेशसभा सदस्यबाटै निष्कासन गरिसकिएको छ । बाँकी संघका २७ सांसदमाथि चाहिँ हालसम्म कारवाहीको निर्णय गरिएको छैन ।

  • माधव पक्षका स्थायी कमिटी सदस्यको आकस्मिक बैठक

    माधव पक्षका स्थायी कमिटी सदस्यको आकस्मिक बैठक

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षले आकस्मिक बैठक बोलाएको छ।

    कलंकीको मेघा पार्टी प्यालेसमा नेपाल स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको एक नेताले जानकारी दिए।

    माधव नेपाल र झलनाथ खनाल पुगेपछि बैठक शुरू हुनेछ।

    भोलिदेखि उपत्यकामा निषेधाज्ञा लागू हुने भएकाले त्यसअघि नै समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारविरूद्ध ल्याउने भनिएको अविश्वास प्रस्ताव दर्ता भइहाले आफूहरूको पोजिसन के हुने भन्नेबारेमा पनि नेपाल पक्षले छलफल गर्ने छ ।

  • एमालेका तीन केन्द्रीय नेतामा संक्रमण, प्रधानमन्त्री पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा ?

    एमालेका तीन केन्द्रीय नेतामा संक्रमण, प्रधानमन्त्री पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ मा ?

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन् ।

    स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा संक्रमण पुष्टि भएको छ । रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बसेका थिए ।

    उनलाई उपचारका लागि सैनिक अस्पतालमा राखिएको छ । भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् । वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो ।

    रिजाल र भट्टराईले मंगलवार आफूहरू संक्रमित भएको खुलाएका छन् । रायमाझीलाई भने सोमवारै संक्रमण पुष्टि भएको थियो । यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्र ती नेताहरुमा संक्रमण दखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।

    रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए ।

    संक्रमण पुष्टि भएका तीनै जना नेता धेरै जनसम्पर्क भएका र शीर्ष नेतृत्वसँग बाक्लै भेटघाटमा रहनेमा पर्छन् । एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी र प्रभा कोइरालालाई पनि संक्रमण पुष्टि भएको छ ।

  • माधव नेपाललाई गोकुलको सुझाव- अदालत धाउनुभन्दा बादलको बाटो सही

    माधव नेपाललाई गोकुलको सुझाव- अदालत धाउनुभन्दा बादलको बाटो सही

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माधव नेपालले सिद्धान्तको राजनीति छाडेर अड्डा अदालत धाएको भन्दै कटाक्ष गरेका छन् ।

    मंगलवार सामाजिक सञ्जालमार्फत बास्कोटाले कानूनको भन्दा राजनीतिमा रामवहादुर थापा बादलहरुको बाटो सही रहेको टिप्पणी गरेका छन् । माधव नेपाल पक्ष अदालतमा पटक पटक गएकोतर्फ संकेत गर्दै उनले राजनीतिक निर्णय लिएर एमाले बन्न बादलहरुको लाइनको बचाउ गरेका हुन् ।

    माधव नेपालसहितका नेताहरु एमालेबाट आफूहरुमाथि हुने सम्भावित कारवाही रोक्न माग गर्दै पछिल्लो पटक सर्वोच्च अदालत गएका थिए । अदालतले उनीहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    कुन्ती मोक्तानको गीत ‘कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा’लाई बिम्बका रुपमा प्रयोग गर्दै बास्कोटाले अदालत धाएर राजनीति सफल नहुने, त्यसका लागि राजनीतिक निर्णय लिनुपर्ने बताएका हुन् ।

    बास्कोटाले भनेका छन्, ‘कमरेड नेपाल आधा शताब्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन् तर आजभोलि अदालत धाएको हेर्दा कानूनका नौ सिङ्गवाला पो लाग्यो । कानुनको भन्दा राजनीतिमा रामवहादुरकै बाटो सही । कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा ।’

  • माधवसहितका नेताहरूको माग बमोजिम आदेश दिन सर्वोच्चले किन गर्‍यो अस्वीकार ?

    माधवसहितका नेताहरूको माग बमोजिम आदेश दिन सर्वोच्चले किन गर्‍यो अस्वीकार ?

    काठमाडौं । माधवकुमार नेपालसहित एमालेबाट निलम्बनमा परेका चार नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेको अन्तरिम आदेश दिन सर्वोच्चले अश्वीकार गरेको छ ।

    सर्वोच्चले दुई/तीन कारण अघि सार्दै हाललाई अन्तिम सुनुवाइअघि अन्तरिम आदेश दिनु नपरेको उल्लेख गरेको छ। स्पष्टीकरण सोधिए पनि कारबाही भइनसकेको र विपक्षीबाट जवाफ आइनसकेकाले स्पष्टीकरण कानून सम्मत भए/नभएको निरुपण नगरेको आदेशमा उल्लेख छ । पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्रै पनि प्रारम्भिक अवस्थामै अन्तरिम आदेश जारी गर्नु नपरेको उल्लेख छ ।

    ‘स्पष्टीकरण सोधिएको तर त्यस उपरको जवाफ र कुनै कारवाही भइसकेको अवस्था निवेदनसम्वद्ध मिसिलबाट देखिंदैन,’ आदेशमा भनिएको छ, ‘निवेदकलाई पार्टी अध्यक्षले कारवाही गर्न सक्ने /नसक्ने ? सोधिएको स्पष्टीकरण विधिसम्मत रहे नरहेको ? भन्ने कानूनी प्रश्नको निरोपण विपक्षीहरुबाट लिखित जवाफ प्राप्त भई निर्णय समेतका मिसिल आएपछि नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ र ३२ लगायतका राजनीतिक दल सम्बन्धी समग्र सिद्धान्त र कानूनी व्यवस्था अनुकूल छ छैन ? भन्ने कुरा निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत निर्णय हुनसक्ने प्रकृतिको देखिएकोले पछि ठहरे बमोजिम हुने नै हुँदा हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरे बमोजिमको अन्तरिम आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिंदा अन्तरिम आदेश जारी गर्नु परेन ।’

    कारबाहीका लागि ओलीलाई बाटो खुल्ला ?

    अदालतले बाटोको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ दिन आदेश दिएको छ । यसले एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै सांसदमाथि कारवाही गर्न चाहेमा बाटो भने खुल्लै राखिदिएको छ । लिखित जवाफ दिनुअघि नै ओलीले नेता नेपाललगायतलाई कारवाही गरे मुद्दाको प्रकृतिमै बदलाव आउने छ । र, यसमा नयाँ कोणबाट अदालतमा बहस गर्नुपर्ने छ।

  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सत्ताको लालच : एमाले सांसद मगर

    मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव सत्ताको लालच : एमाले सांसद मगर

    पोखरा । गण्डकी प्रदेशका एमाले सांसद रोशन गाहामगरले सत्ताको निम्ति लालची बनेर यति छिट्टै अविश्वासको कदम चाल्न आवश्यक नरहेको बताएका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेसभएपछि प्रदेशसभामा बोल्दै सांसद मगरले जनताको उन्नति देख्न नसकेर प्रस्ताव दर्ज गरिएको दावी गरे ।

    मगरले आफूहरू जनताको मनबाट आएका जनप्रतिनिधि भएको भन्दै अविश्वास प्रस्तावले जनतालाई भ्रम पार्ने कम भइरहेको बताए ।

    ‘प्रतिगमनको नामबाट जनतालाई भ्रमित बनाउने खेलहरू भइरहेको छ । जनताको कामका निम्ति अग्रसर भएर उभिनुपर्ने जरुरी छ’, उनले भने ।

    अविश्वास प्रस्ताव जनताबाट नआई सत्ताको लालचबाट आएको मगरको भनाइ थियो ।

  • फ्लोर क्रस गरेर मत सच्याएकी देवी वली एमाले संसदीय दलको बैठकमा सहभागी

    फ्लोर क्रस गरेर मत सच्याएकी देवी वली एमाले संसदीय दलको बैठकमा सहभागी

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको वैठकमा सांसद देवी वली पनि सहभागी छन् ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर पछि मत सच्याएकी वलीलाई नेकपा एमालेले दुई पटक स्पष्टीकरण सोधिसकेको छ ।

    नेकपा एमाले संसदीय दलको कार्यालयमा दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बैठक जारी छ । सदनमा आगामी रणनीतिबारे छलफल भइरहेको प्रमुख सचेतक गुलावजंग शाहले बताए ।

    आजै प्रदेशसभाको बैठकमा एमालेका फ्लोर क्रस गरेका चार सांसद निष्कासित भएको एमालेको पत्र सभामुख राजबहादुर शाहीले जानकारी गराउने भएका छन् ।

    २० सदस्य रहेको कर्णाली प्रदेशसभामा अब सभामुखबाहेक १५ जनामात्रै रहने भएका छन् ।

  • नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनलाई किन सम्झिने ?

    नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनलाई किन सम्झिने ?

    काठमाडौं । दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीको आज २३ औं स्मृति दिवस कोभिड महामारीका कारण विशेष कार्यक्रमबिना स्मरण गरिँदैछ ।

    अहिलेको विषम परिस्थितिमा स्मृति दिवसमा सार्वजनिक कार्यक्रम आयोजना नगरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले नेपाल प्रेसलाई बताए ।

    मनमोहन स्मृति दिवसका अवसरमा एमाले महासचिव तथा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले सानेपास्थित मनमोहनको शालिकमा माल्यार्पण गर्नेमात्र कार्यक्रम रहेको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

    विसं १९७७ सालमा जन्मिएका कम्युनिष्ट नेता अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ र ३ नम्बर क्षेत्रबाट उम्मेदवार रहेका अधिकारीको चुनावी कार्यक्रमका शिलशिलामा गोठाटारमा हृदयघात भएको थियो ।

    अधिकारीको उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो । अधिकारीको निधनपछि काठमाडौं-१ बाट प्रदीप नेपाल र ३ बाट ईश्वर पोखरेल एमालेको उम्मेदवार भई निर्वाचित भएका थिए ।

    अधिकारी २०१० सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित महासचिव थिए । नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेता अधिकारी लोकतान्त्रिक आन्दोलनका पनि शिखर व्यक्ति थिए ।

    २०४७ सालमा मदन भण्डारी नेतृत्वको तत्कालीन नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको तत्कालिन नेकपा मार्क्सवादी बीच एकीकरण भएर अहिलेको नेकपा एमाले बनेको थियो ।

    एमालेको पहिलो अध्यक्ष मनमोहन थिए । २०५१ सालको निर्वाचनमा एमाले ८८ सिट सहित सबैभन्दा ठूलो दल बनेपछि मनमोहन अधिकारी नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री भएका थिए ।

    अधिकारी नेतृत्वको ९ महिने एमालेको सरकारले गरेका लोकप्रिय कामका कारण उनलाई सधैं सम्झिने गरिन्छ । कम्युनिस्ट सरकारमा आएमा ६० वर्षमाथिका बुढाबुढीलाई मार्छन् भन्ने प्रचार जनस्तरमा भएका बेला अधिकारी नेतृत्वको सरकारले नेपालको इतिहासमै पहिलो पटक एक सय रुपैयाँबाट बृद्धभत्ता शुरु गरेको थियो ।

    मनमोहन प्रधानमन्त्री र उनका भाइ भरतमोहन अर्थमन्त्री भएको बेला शुरु गरिएको जेष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षा र लोककल्याणकारी कार्यक्रम त्यसयताका कुनै पनि सरकारले हटाउन सकेनन्, बढाउन बाध्य भए ।

    एमालेले १ सय रुपैयाँबाट शुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको छ र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्र ५ हजार पुर्‍याउने घोषणा गरेका छन् ।

    बृद्धभत्ता, ‘आफ्नो गाउँ आफैं बनाउँ’ शीर्षकमा हरेक गाउँमा ३ लाख रुपैयाँ बजेट व्यवस्था लगायतका लोककल्याणकारी कामको शुरुआत मनमोहन प्रधानमन्त्री भएका बेला भएका थिए ।

    अधिकारी नेतृत्वको सरकारविरुद्ध तत्कालीन नेपाली कांग्रेस, राप्रपा र सद्भावना पार्टीले अविश्वास प्रस्ताव ल्याएपछि उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

    तर २०५२ भदौ १२ मा सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । भदौ १२ को फैसला निकै पछिसम्म विवादित बनेको थियो ।

    त्यसबीचमा हेलिकोप्टर दुर्घटनामा परेर अस्पतालको आइसियुमा रहेकै बेला अधिकारीले अविश्वास प्रस्तावको सामना गरेका थिए ।

    अधिकारी नेपालको इतिहासमै सादगी, पारदर्शी र राजनीतिक नैतिकताको अगुवा नेताका रुपमा चिनिन्छन् । अधिकारी नेपालको मजदूर आन्दोलनका पनि संस्थापक हुन् ।अधिकारी नेपालको ट्रेड युनियन आन्दोलनका संस्थापक महासचिव थिए ।

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विपी कोइराला र अधिकारी मामाचेला फुपूचेला हुन् । कोइराला परिवारका तीन र अधिकारीसहित पिताजी कृष्णप्रसाद कोइरालाको पारिवारिक नाताबाट नेपालमा चारजना प्रधानमन्त्री भए ।

    अधिकारी नेपालको पहिलो प्रधानमन्त्री हुन् जसले भारत भ्रमणका क्रममा भारतीय समकक्षी पिवी नरसिंह रावसमक्ष सन् १९५० को असमान सन्धी पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

  • फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदको पद गुम्दै, पुरस्कारबाट मन्त्री बनेकाको दिनगन्ती सुरु

    फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदको पद गुम्दै, पुरस्कारबाट मन्त्री बनेकाको दिनगन्ती सुरु

    सुर्खेत । वैशाख ३ गते कर्णाली प्रदेश सभाको वैठकमा नेकपा एमाले संसदीय दलको ह्वीपका वावजुद फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने एमालेका चार सांसदले आजदेखि पद गुमाउँदैछन् ।

    आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको वैठकमा सभामुख राजबहादुर शाहीले संसद सचिवालयमा दर्ता भएको एमाले संसदीय दलको पत्र पढेर सुनाएपछि उनीहरु सांसद रहनेछैनन् ।

    एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । त्यसको दुई दिनपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ज्वालाबाहेकका तीन सांसदलाई मन्त्री पदबाट पुरस्कृत गरेका थिए ।

    आज औपचारिक रुपमा सांसद पद गुमाउने भएपछि उनीहरु बढीमा ६ महिनामात्र मन्त्री बन्नेछन् । यसबीचमा उनीहरुले सांसदको सदस्यता पाउनुपर्ने हुन्छ ।

    एमाले संसदीय दलमै रहेको समयमा मन्त्री बनेका तीन जना सांसद आजबाट बर्खास्तीमा पर्ने भएकाले सकभर आज साँझ वा भोलिसम्म तीनै जना मन्त्रीहरुको सपथग्रहण गराउने तयारी सरकारले गरेको छ ।

    ‘उहाँहरु प्रदेश सभाबाट निष्काषित भएको जानकारी प्राप्त होला । त्यसपछि उहाँहरुलाई फेरि सपथग्रहण गराउने कार्यक्रम तय हुनेछ,’ सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले भनिन् ।

  • शेरबहादुर तामाङले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको पदभार

    शेरबहादुर तामाङले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको पदभार

    काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण गरेका छन् ।

    तामाङलाई आइतबार पार्टी महासचिव ईश्वर पोखरेलले पदभार ग्रहरण गराएका हुन् । पदभार ग्रहणपछि तामाङले कार्यालय सञ्चलनलाई थप चुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ता बीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।

    तामाङले फेसबुकमा लेखेका छन्, ‘मलाई यो जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद ।’

    १० वैशाखमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकबाट तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो ।

    पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड-माधव समूह छाडेर केपी ओली पक्षमा लागेका थिए । यसअघि कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ थिए ।

    २०४७ सालमा ओली एमालेको युवा संगठन तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष हुँदा त्यही युवा संघका कार्यालय सचिव थिए तामाङ।

    अहिले ओली पार्टी अध्यक्ष भएका बेला तामाङ पुनः कार्यालय सचिव भएका हुन् ।

  • माधव नेपालसहितका चार नेताको रिट हेर्न नभ्याइनेमा

    माधव नेपालसहितका चार नेताको रिट हेर्न नभ्याइनेमा

    काठमाडौं । नेकपा एमालेका निलम्बनमा परेका चार नेताले सर्वोच्चमा दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

    न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा उक्त रिटउपर आइतबार सुनुवाइ तोकिएको थियो ।

    आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट १४ बुँदे मागसहितको संयुक्त रिट दायर गरिएको थियो ।

    रिट निवेदकले आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको भएकोले आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।

  • तत्काल लकडाउन नहुने, कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन (भिडियो)

    तत्काल लकडाउन नहुने, कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देश गरेका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन् ।

    ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड-१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गारउनुभयो’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

    बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए । स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा चर्चा भएको थियो ।

    ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ’, ज्ञवालीले भने ।

  • माधव पक्षले फ्लोर क्रस गर्ने एमालेको आकलन, कारवाहीको जिम्मा स्थायी कमिटीलाई (भिडियो)

    माधव पक्षले फ्लोर क्रस गर्ने एमालेको आकलन, कारवाहीको जिम्मा स्थायी कमिटीलाई (भिडियो)

    काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

    क-कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको महाधिवेशन आयोजक कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबारे जानकारी गराउँदै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए । आजको बैठकले कारवाही सम्बन्धी कुनै निर्णय नलिएको उनले बताए ।

    ‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं’, ज्ञवालीले पत्रकारहरूसँग भने । यसैबीच, बैठकले कोरोनाविरुद्धको लडाइँमा सिंगो पार्टी पंक्तिलाई सक्रिय बनाउने निर्णय समेत गरेको छ ।

     

  • एमाले स्थायी कमिटी बैठक : ७ जनालाई सांसदबाट कारवाहीको तयारी

    एमाले स्थायी कमिटी बैठक : ७ जनालाई सांसदबाट कारवाहीको तयारी

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो ।

    एमाले स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गरिने सम्भावना छ । त्यो संख्या घटीमा सात र बढीमा १० सम्म हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए ।

    झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरि संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

  • माधवपक्षीय एमाले नेताको मुद्दा प्रकाश ढुंगानाको इजलासमा

    माधवपक्षीय एमाले नेताको मुद्दा प्रकाश ढुंगानाको इजलासमा

    काठमाडौं । नेकपा एमालेबाट निलम्वनमा परेका चारजना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिटमाथि आज सुनुवाई हुँदैछ ।

    माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रीटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको हो । एमाले नेताहरुको रिट ढुंगानाको इजलासको अन्तिमतिर परेकाले आज हेर्न नभ्याइनेमा पर्न सक्ने बताइएको छ ।

    रिट निवेदकले आफूहरुमाथि गर्न लागिएको निष्काषनको कारवाही उत्प्रेषण,प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ ।

    ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छ ।

    त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

  • अविश्वास प्रस्तावको सुइँको पाएपछि माधव पक्षका सांसदलाई कारवाही गर्ने तयारी

    अविश्वास प्रस्तावको सुइँको पाएपछि माधव पक्षका सांसदलाई कारवाही गर्ने तयारी

    काठमाडौं । नेकपा (एमाले)ले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ ।

    माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

    सोही बैठकले स्पष्टीकरण सोधिएका सांसदहरुमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ । कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन ।

    एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।

  • एमालेको कार्यविभाजन र राजनीतिभित्र महिला आन्दोलनका आयाम

    एमालेको कार्यविभाजन र राजनीतिभित्र महिला आन्दोलनका आयाम

    नेपालको राजनीतिक आन्दोलनभन्दा नागरिक आन्दोलन पुरानो छ । जुन योगमाया न्यौपानेको नेतृत्वमा राणशासनविरुद्ध धर्मराज्यका नाममा शुरु भएको थियो । त्यसको झण्डै दुई दशकपछि नेपाल प्रजा परिषदको गठनसंगै संगठित रुपमा राजनीतिक आन्दोलन शुरु भयो ।

    त्यसैवेलादेखि परिवारदेखि श्रम क्षेत्रसम्मका महिलाहरु प्रत्यक्ष वा परोक्ष रुपमा राजनीतिक गतिविधिमा संलग्न रहदै आए । यो क्रम समयसँगै विस्तार र विकास हुँदै गयो । राणा विरुद्धको आन्दोलनदेखि पञ्चायत र राजतन्त्र अन्तयको आन्दोलनमा महिलाको सहभागिता संख्यात्मक र गुाणत्मक दुवै रुपमा फैलँदै र गहिरिँदै आएको छ ।

    नेपाली राजनीतिमा महिलालाई संघर्षको सहयोद्धाका रुपमा हेर्ने फराकिलो मन पाइँदैन । यदि थियो भने नेकपाको निरन्तरता ठान्ने दलका नेताहरुले नै मोतीदेवी श्रेष्ठलाई संस्थापक मान्ने वारेमा साघुँरो चित्त बनाउन जरुरी थिएन । न त राणा विरोधी आन्दोलनका क्रममा दिव्या कोइराला र चन्द्रमाया शर्मा जस्ता आमाहरुले आन्दोलनकारीबीच संप्रेषण गरेको आट, साहस र प्रेरणालाई पूँजीकृत गर्न हिच्किचाउनु पर्दथ्यो ।

    संविधान र कानूनले नेपाली राजनीतिमा मात्र होइन, राज्यका सवै निकायमा महिलाको समानुपातिक सहभागिताको लक्ष्यलाई स्थापित गरेको छ । जसका लागि प्रस्थान विन्दु एकतिहाई सहभागितालाई बनाइएकोछ ।

    २०७७ फागुन २३ गतेको सर्वोच्चको फैसलापछि पुनः व्यवस्थित हुँदै गरेको नेकपा एमालेको संरचना र बाँडिएका जिम्मेवारीको वारेमा थप चर्चा हुन थालेको छ । हालै गठित स्थायी कमिटी महिलाविहीन भएपछि यो आम चासोको विषय बनेको छ ।

    यस प्रावधानमा अटेरीपन देखाउने राजनीतिक दल विरुद्ध सर्वोच्चमा परेको मुद्दामा कानून अनुसार सहभागिता गराउनु भनेर २०७७ चैत्र १ गतेको फैसलाले निर्देशन पनि दिइसकेको छ । सुशासनको नेतृत्व गर्नुपर्ने राजनीतिक दलहरुमध्ये कसैले पनि यो कानून र निर्देशनको पालना नगर्नु विडम्वना हो । निर्वाचन आयोग जस्ले यो कानुन कार्यान्वयन गर्नुपर्दथ्यो, आवश्यक कडाइ गर्न नसक्नु उसको पनि कमजोरी हो ।

    अझ अहिले २०७७ फागुन २३ गतेको सर्वोच्चको फैसलापछि पुनः व्यवस्थित हुँदै गरेको नेकपा एमालेको संरचना र बाँडिएका जिम्मेवारीको वारेमा थप चर्चा हुन थालेको छ । हालै गठित स्थायी कमिटी महिलाविहीन भएपछि यो आम चासोको विषय बनेको छ । सार्वजनिक रुपमा प्रश्नहरु उठेका छन् ।

    एमालेमाथि प्रश्न

    सिद्धान्तत: सामाजिक न्याय र किनारामा पारिएका वर्ग र समुदायको पक्षमा सवैभन्दा वढी वकालत गर्ने र जनताको वहुदलीय जनवाद (जबज) ले तीन पक्ष (राज्य, दल र समाज) को लोकतान्त्रीकरणमा जोड दिन्छ भन्ने सिद्धान्त वोकेको दलको निर्णायक तह स्थायी समिति महिलाविहीन छ ।

    कम्युनिष्ट पार्टी समानताको नारा बोकेर मैदानमा आएको सात दशक वितेको छ । नेकपा एमाले त्यसैको निरन्तरताका रुपमा जवजको कार्यदिशासहित अगाडी बढेको पनि झण्डै तीन दशक हुन लागेको छ । पुनर्गठित अखिल नेपाल महिला संघ (अनेमसंघ) ले देशव्यापी रुपमा महिला शशक्तीकरणमा काम गरेको चार दशक पूरा भएको छ ।

    यसले जे जति श्रम र लगानी गर्‍याे, त्यो एमालेलाई आजको अवस्थामा पुर्‍याउन कै लागि थियो भन्ने कुरा जगजाहेर छ । जबजको अंगको रुपमा समाजवादी महिलावादी नीति बनाएर कार्यान्वयनमा ल्याएको तीन दशक र अनेमसंघको निरन्तर अभिायनको चार दशकको उपलव्धी के हो ?

    आज नेकपा एमालेको स्थायी समिति महिलाविहीन, प्रदेश कमिटिको ४५ जना इन्चार्ज/सहइन्चार्जमा एकजना, ७७ वटा जिल्ला अध्यक्ष र सचिवमा एक/एकजना महिलाले जिम्मेवारी पाएका छन् ।

    २०४९ को पाँचौ महाधिवेशनपछि नेकपा एमालेको केन्द्रमा रहन अष्ठलक्ष्मीले विद्रोह नै वोल्न परेको थियो । २०६३ मा महिलाविहीन रुपमा गठित अन्तरिम संविधान मस्यौदा आयोगमा, महिलाले साझा रुपमा हप्ता दिनसम्म सडकमा प्रहरी दमनको सामना गरेपछि मात्रै चारजना महिला थपिएको थियो ।

    यस तहको सहभागिता र जिम्मेवारी त वहुदल आउनु पुर्वको व्यवस्थामा पनि थिएन र ? यत्तिका लागि अनेमसंघको चार दशक र जवजको महिला नीतिको तीन दशकको अभियान आवश्यक थियो र ? प्रश्न उठेको छ ।

    तर, कतिपयको प्रश्न ठीक ठाउँमा परेका छैनन । प्रश्न ती व्यक्ति/संस्थामाथि उठ्नुपर्छ, जस्ले महिलालाई अझै पनि समान हैसियतको अभियन्ता देख्न सकेनन । आजको अवस्थासम्म आइपुग्दा उनीहरुले परिवर्तनका सहयोद्धाका रुपमा गरेको योगदान र भुमिकालाई स्वीकार गरिएन । बरु, उपलव्धीका उपभोक्ता मात्रै ठान्ने प्रवृत्ती देखियो ।

    राजनीतिक परिवर्तनको उपलव्धीको दिगोपन र समृद्धीको यात्रामा सामाजिक सांस्कृतिक परिवर्तन अनिवार्य छ भन्ने वास्तविकतालाई आत्मसात गरिएन । यसर्थ, माथिका प्रश्न र खवरदारी बञ्चितिमा परेका वा पारिएका वर्ग र समुहप्रति होइन, शक्ति र स्रोतमाथि नियन्त्रणमा रहेका वर्ग र समूहप्रति लक्ष्यित गर्दा मात्र दिलो चाँडो सही जवाफ आउन सक्छ ।

    आन्दोलनपछिको आन्दोलन

    इतिहासमा दर्ज छ, जहानियाँ राणा शासनको अन्त्यमा सबैको सहभागिता थियो । तर व्यवस्था परिवर्तनसँगै २००९ सालमा गठित सल्लाहकार समितिमा रहन समेत महिलाहरुले फेरि एकपटक एकतावद्ध थप आन्दोलन गर्न पर्‍याे । परिणाममा चारजना महिला थपिए ।

    यो प्रवृति २०४६ सालको आन्दोलनबाट स्थापित वहुदलीय व्यवस्थामा पनि कायम रह्यो । २०४९ को पाँचौ महाधिवेशनपछि नेकपा एमालेको केन्द्रमा रहन अष्ठलक्ष्मीले विद्रोह नै वोल्न परेको थियो ।

    महिलाको सहभागिता बिना राज्यसत्तामाथिको विजय असम्भव रहेको वास्तविकतालाई आत्मसात गरी संघर्षको समयमा महिला समानता र सामाजिक न्यायका विषयले उच्च महत्व पनि पाउँछ ।  परिवर्तनको लागि साझा आन्दोलन अपरिहार्य हुन्छ ।

    २०६३ मा महिलाविहीन रुपमा गठित अन्तरिम संविधान मस्यौदा आयोगमा, महिलाले साझा रुपमा हप्ता दिनसम्म सडकमा प्रहरी दमनको सामना गरेपछि मात्रै चारजना महिला थपिएको थियो ।

    कानून मै लेखेपछि त कसो थप कसरत गर्न नपर्ला भन्ने थियो । तर, २०७३ को दल दर्ता सम्बन्धी ऐनमा भएको प्रावधानको वेवास्ता गरियो । सर्वाेच्चमा परेको रिटमाथि वहस भएर निर्देशन दिइसक्दा समेत अटेरीपन कायम राख्दै दलहरु सुशासनको कुरा गर्न थाकेका छैनन ।

    दलभित्र र वाहिर सवैतिर यस वारेमा प्रश्न उठिरहेका छन । यो हाम्रो वर्तमान हो ।

    राजनीतिक महिला आन्दोलनको तीन आयाम

    अलि फराकिलो क्षितिजमा हेर्ने हो भने राजनीतिक वृत्तमा महिला सहभागिता र संघर्षलाई तीन आयाममा वुझ्न सकिन्छ । एक, राजनीतिक प्रणाली परिवर्तनको संघर्ष, दुई अन्तरपार्टी संघर्ष र तीन आन्तरिक संघर्ष ।

    पहिलो भनेको राजनीतिक प्रणाली परिवर्तनको संघर्ष राज्यसत्तासँगको लडाई हो । जहा महिला र पुरुष आन्दोनलको मैदानमा सबै सँगसँगै हुन्छन् । त्यसैले पनि यो तुलनात्मक रुपमा सहज हुन्छ । जित्दा सवैले जित्ने र गुमाउँदा सवैले गुमाउने हुँदा यस चरणमा महिलाहरुले पुरुष सहयोद्धाहरुवाट पुर्ण सहयोग मात्र होइन, थप प्रेरणा पनि पाउँछन् ।

    समाजको आधा हिस्सा र श्रमशक्तिका रुपमा रहेका महिलाको सहभागिता बिना राज्यसत्तामाथिको विजय असम्भव रहेको वास्तविकतालाई आत्मसात गरी संघर्षको समयमा महिला समानता र सामाजिक न्यायका विषयले उच्च महत्व पनि पाउँछ । कारण त्यतिखेर वहुसंख्यक पुरुष पनि राज्यसत्ता वाहिरै हुन्छन् । परिवर्तनको लागि साझा आन्दोलन अपरिहार्य हुन्छ ।

    परम्पराको आडमा महिलाका विषय र आवाजको सहज सुनुवाइ हुँदैन । अनि कुरा उठ्न थाल्छ, योग्यता, क्षमता, प्रतिष्पर्धा, अनुभव, वरिष्ठता आदिको । तर, अदृष्य रुपमा भूमिकामा रहन्छ यौनिकता । जसले शताव्दिऔंदेखि सीमान्तकृत बनाइएका महिलालाई योग्य ठान्दैन ।

    दोस्रो, अन्तरपार्टी संघर्ष । जव राज्यसत्तासंगको लडाइमा परिवर्तनकारी पक्षको विजय हुन्छ, आन्दोलनका पक्षधर पुरुष राज्यसत्ताको नेतृत्वमा पुग्छन । त्यसपछिको प्रमुख मुद्दा सामाजिक संरचना परिवर्तनको हुन्छ । जुन मुलत: पितृसत्तात्मक हुन्छ ।

    पुरुषप्रधान सामाजिक मुल्यू, मान्यता र संस्कार संस्कृतिविरुद्धको अभियानलाई कतिपय नेतृत्वमा रहेकै पुरुषले समेत आफ्नो विरुद्धको ठान्न थाल्दछन् । त्यसैले हरेक परिवर्तनपछि महिलाहरुकोे संघर्ष पार्टीभित्रको पितृसत्तात्मक सोच र व्यवहार परिवर्तनमा केन्द्रीत हुन थाल्दछ ।

    यो संघर्ष आफैंले आदर र सम्मान गर्दै आएका नेतृत्व र राज्यसत्ता परिवर्तनको संघर्षका सहयोद्धासँग हुने हुदा पहिलो भन्दा अप्ठेरो र कठिन हुन्छ ।

    जो पितृसत्ता विरुद्ध उठे/उठाइएका मुद्दाका पक्षमा उभिन्छन्, उनीहरुलाई क्रमशः किनारा लगाउने प्रयत्न हुन थाल्छ ।  मौन रहन्छन् र पार्टीको मूल नेतृत्वको पक्षमा उभिन्छन्, उनिहरु पार्टीप्रति वफादार कहलाइन्छन् ।

    परम्पराको आडमा महिलाका विषय र आवाजको सहज सुनुवाइ हुँदैन । अनि कुरा उठ्न थाल्छ, योग्यता, क्षमता, प्रतिष्पर्धा, अनुभव, वरिष्ठता आदिको । तर, अदृष्य रुपमा भूमिकामा रहन्छ यौनिकता । जसले शताव्दिऔंदेखि सीमान्तकृत बनाइएका महिलालाई योग्य ठान्दैन । दलभित्रै महिलाको नेतृत्व स्वीकार हुँदैन । सवै किसिमको साधन र स्रोतमाथि पुरुषवादी चिन्तनको नियन्त्रण हावी हुन थाल्छ ।

    तेस्रो, आन्तरिक संघर्ष । अन्तरपार्टी संघर्ष चल्ने क्रममा सवै महिला पनि एक हुन सक्दैनन वा दिइँदैन वा पाउँदैनन् । महिला आफैभित्र सुसुप्त रुपमा फरक धारमा विभक्त हुन्छन । जो पितृसत्ता विरुद्ध उठे/उठाइएका मुद्दाका पक्षमा उभिन्छन्, उनीहरुलाई क्रमशः किनारा लगाउने प्रयत्न हुन थाल्छ ।

    जो पितृसत्ताको वारेमा मौन रहन्छन् र पार्टीको मूल नेतृत्वको पक्षमा उभिन्छन, उनिहरु पार्टीप्रति वफादार कहलाइन्छन् । अवसर र प्रशंसामा प्रसन्न हुन्छन । मुद्दा किनारा लाग्दै गरेको आभाष हुँदैन । यो संघर्षमा पितृसत्ता विरुद्धको धार पार्टीभित्र प्रायः अल्पमतमा पर्ने हुँदा कहिलेकाहीँ शिथिलता, निरासा, हैरानी, वैराग्य जस्ता कुरा उत्पन्न हुनसक्छ । कतिपय किनारा लाग्दै बाटो बदल्न पनि सक्छन् ।

    अहिले नेकपा एमालेभित्रको जिम्मेवारी बाँडफाँड त्यसैको श्रृंखला हो । पहिला यो सार्वजनिक चासोको विषय बन्दैन थियो । दलभित्रै गुपचुप र थामथुम हुन्थ्यो । अहिले आन्दोलनले स्थापित गरेको समावेशी सहभागिताको विषय राज्यको कानुनमा लिपिवद्ध गरिएको र संचार माध्यमको पहुँच बढेका कारण यो सार्वजनिक चासो र वहसको विषय बन्न पुगेकोछ ।

    यो दुनियाँको परिवर्तनकारी र क्रान्तिकारी आन्दोलनको क्रममा सोभियत संघ मात्र होइन, दोस्रो अन्तर्राष्ट्रियको समयदेखि नै प्रस्फुटित हुँदै आएको प्रवृति हो । जहाँ समाजवादी दलकै नेता ‘महिलाको स्थान भान्सा हो‘ भन्ने वहसमा एक डेढ दशक बिताउन परेको थियो ।

    यो प्रवृत्ति क्रान्तिपछिको सोभियत रुपमा पनि देखा पर्‍याे । जहाँ दलभित्र कडाइकासाथ कुरा उठाउन थालेपछि कोलोन्ताइलाई राजदुत बनाएर विदेश पठाइयो । यो प्रवृत्ति हाम्रै विगतलाई अलि गहिराइमा नियाल्ने हो भने थुप्रै घटनालाई लिपिवद्ध गर्न सकिन्छ । त्यो काम गर्ने कस्ले र कसरी भन्ने मात्र प्रश्न हो ।

    अहिले नेकपा एमालेभित्रको जिम्मेवारी बाँडफाँड त्यसैको श्रृंखला हो । पहिला यो सार्वजनिक चासोको विषय बन्दैन थियो । दलभित्रै गुपचुप र थामथुम हुन्थ्यो । अहिले आन्दोलनले स्थापित गरेको समावेशी सहभागिताको विषय राज्यको कानुनमा लिपिवद्ध गरिएको र संचार माध्यमको पहुँच बढेका कारण यो सार्वजनिक चासो र वहसको विषय बन्न पुगेकोछ ।

    यस्तो बेलामा विभेदपूर्ण सामाजिक संरचनाको अन्त्यका लागि सामाजिक न्यायको पक्षमा उभिने भित्र वा वाहिरका सवै सचेत र सजग नागरिकबीचको समन्वय र सहकार्य नै निर्णायक र महत्वपूर्ण हुन्छ ।

    आजको दुनियाँमा लोकतान्त्रिक भनिने राज्यले अन्तररािष्ट्रय तहमा समेत कैयौं प्रतिवद्धताहरु गरेका हुन्छन् । ती प्रतिवद्धताहरु समेत परिवर्तनको पक्षमा सहयोगी बनेका घटनाहरु विश्वमा थुप्रै छन् । यी सवै पक्षको विश्लेषणसहितका कदम सामाजिक सांस्कृतिक परिवर्तनको चरणमा महत्वपूर्ण हुन्छन् ।

    नेत्रलाल अभागीको कविता ‘सतीसाल मात्र ठिंग उभिन सक्छ‘ भन्ने विम्व संघर्षका यी चरणहरुमा प्रेरणा बन्न सक्दछन् ।

    अहिले नेकपा एमालेभित्रको सहभागिताको कुरा जसरी उठेको छ, यो बहसले केही नतिजा दिन सक्ने तहमा पुग्नु भनेको गणतान्त्रिक आन्दोलनको भावना र संविधान/कानूनको कार्यान्वयनमा एक पाइला अगाडी बढ्नु हुनेछ ।

    सामाजिक परिवर्तनको पक्षमा उठेको सार्वजनिक आवाजको सुनुवाइ र सम्वोधनको मापन हुनेछ । प्रतीक्षा गरौं, कानूनी मान्यतासमेतमा उभिएर सार्वजनिक चासोको विषय बनेको यो प्रश्नको अवतरण कसरी हुन्छ ।

    पाण्डे नेकपा एमाले केन्द्रीय महाधिवेशन आयाेजक समिति सदस्य हुन् ।

  • एमालेको महाधिवेशन आयोजक समिति बैठक बस्दै

    एमालेको महाधिवेशन आयोजक समिति बैठक बस्दै

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएकाको छ। बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा १० बजेदेखि सुरु हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

    यो बैठक बैशाख ६ र १० गतेकै निरन्तरता हो । कार्यालय सचिव तामाङका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल हुने र माधव नेपाल पक्षका सांसदहरुलाई सोधिएको स्पष्टीकरणबारे निर्णय हुनसक्ने उनले बताए ।

    ६ गतेको बैठकले संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना माधव नेपाल पक्षीय नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । सबैले गएको विहीबार नै जवाफ पठाइसकेका छन् । १० गतेको बैठकले यसबारे केहि निर्णय गरेको थिएन ।

    १० गते बसेको बैठकले स्थायी कमिटी बनाउने निर्णय गरेको थियो। १९ सदस्यीय स्थायी कमिटीमा नेपाल पक्षका कसैलाई पनि राखिएको छैन।

  • यस्तो छ एमाले नेताहरूको कार्यविभाजन, वामदेव पनि जिम्मेवारीविहीन (सूचीसहित)

    यस्तो छ एमाले नेताहरूको कार्यविभाजन, वामदेव पनि जिम्मेवारीविहीन (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।

    उनीहरू पार्टीको मूलधारमा फर्किएपछि उपयुक्त जिम्मेवारी दिइने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा शुक्रबारको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

    अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । त्यस्तै विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।

    स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको हो ।

    एमाले नेताहरुको जिम्मेवारी यसप्रकार छ:

  • यी हुन् आजको एमाले बैठकले गरेका १० निर्णय (पूर्णपाठ)

    यी हुन् आजको एमाले बैठकले गरेका १० निर्णय (पूर्णपाठ)

    काठमाडौं। दुई दिनसम्म चलेको नेकपा (एमाले)को १० औं महाधिवेशन आयोजक कमिटीको बैठक शुक्रबार सकिएको छ।

    बैठकले १९ जनाको स्थायी कमिटी समेत बनाएको छ। त्यस्तै बैठकले विभिन्न १० प्रस्ताव समेत पारित गरेको छ ।

    यी हुन् बैठकबाट पारित प्रस्ताव :

  • ‘ओलीजी ! बहुमत पुर्‍याएर फेरि हटाउँछन् कि भन्ने डर मान्नु पर्दैन ’(भिडियो)

    ‘ओलीजी ! बहुमत पुर्‍याएर फेरि हटाउँछन् कि भन्ने डर मान्नु पर्दैन ’(भिडियो)

    केपी ओलीले फेरि अस्ति मलाई फोन गर्नुभयो- भेटौं भनेर । ल हुन्छ भनेँ । फेरि बालुवाटार आउनुहोस् भन्नुभयो । हुन्न भनेँ । उहाँले निजी निवास बालकोटामा आनुहोस् भन्नुभयो, जान्न भनेँ । त्यसपछि मैले तुलसीलाल प्रतिष्ठानमा आउनुहोस् भनेँ । त्यहाँ त नगरौं भन्नुभयो । मैले होटेल एभरेष्टमा आनुहोस् भनेँ, उहाँले होइन मेरियटमा आउनुहोस् भन्नुभयो । मैले ल हुन्छ भनेँ ।

    मैले भनेँ- कूटनीतिले के भन्छ ? तपाईं त परराष्ट्र मन्त्री भइसकेको मान्छे हो । अनि उहाँले भन्नुभयो- तपाईं पनि त म भन्दा सिनियर परराष्ट्र मन्त्री हो । हो, म नेकपा (एमाले)को पहिलो परराष्ट्र मन्त्री हुँ । परराष्ट्रबारे राम्रो ज्ञान छ। त्यसले के भन्छ- द्वन्द्व व्यवस्थापन गनुपर्‍यो भने दुवैलाई उपयुक्त ठाउँको व्यवस्था गर्नुपर्छ । जनतामा के प्रभाव पर्छ भन्ने कुरा सोच्नुपर्छ । म अहिले बालुवाटार गयो भने माधव नेपाल लुरु-लुरु बालुवाटार गयो भन्ने पर्छ ।

    त्यसो हुनाले यो सबै मन मिल्दा खेरीको अवस्थामा हो । ‘मन चङ्गा त कठौती मे गङ्गा’। मनै चङ्गा छैन भने के हुन्छ ?

    मैले अरु पनि नेताहरुलाई बोलाउँछु भनेपछि हुँदैन तपाईं एक्लै आउनुहोस् भन्नुभयो । सबै स्थायी कमिटीका साथीहरूले भन्नु भयो- तपाईं जानुहोस् । केही फरक पर्दैन कमरेड । हाम्रो तर्फबाट जानुहुन्छ भने एक्ला-एक्लै गएर कुरा गर्दा फरक पर्दैन ।

    कुरा एउटा होला प्रचार अर्को भइदेला फेरि- माधव नेपालले टाइम मागेर रोइरहेको थियो (हाँसो) । अनि आफ्नै पदको निम्ति याचना गर्दै थियो भने के भन्नु मैलेँ । मैले त पहिले नै भनेको थिएँ-बालुवा पेलेर तेल निस्कनेवाला छैन । बालुवाटारको बालुवामा तेल छँदै छैन । मैले वामदेव कमरेडलाई पनि धेरै पटक भन्ने गरेको छु- बालुवा पेलेर तेल निस्कनेवाला छैन ।

    तैपनि होइन, अझै पनि कोसिस गरौं भन्ने कुरा आयो । म गएँ । कुराकानी भए । कुराकानी भइसकेपछि अलिकति मलाई आशा चाहिँ जागेको थियो । मैले भनेँ- तपाईंको अध्यक्ष पदलाई पनि खोस्न खोजेको होइन । प्रधानमन्त्रीबाट पनि हट्नुहोस् भनेर भनेको पनि छैन अहिले । बस्नुहोस् प्रधानमन्त्री । तर, पार्टी चाहिँ स्टिमको आधारमा चलाउनुहोस् । यो पद, सद चाहिएन । माधव नेपाललाई पद चाहिएको छैन । तर्सिनु पर्दैन । बहुमत पु-याएर प्रधानमन्त्री भएर निकालिदिन्छ कि भनेर डराउनुपर्दैन ।

    त्यसो भए केही उपाय छ त भनेर भन्नुभयो । मैले भनेँ- म उपाय खोज्छु । ल ठीक छ, तपाईंको सरकारलाई स्थायित्व दिनलाई म आफ्नो भूमिका खेल्न तयार छु । आशा जाग्या थियो- मिल्छ कि भने ।

    फेरि हिजो बसियो । बस्नुभन्दा पहिले बिहानै उहाँको प्रवचन सुनियो । भाषण प्रवचन, पार्टी स्थापना दिवसको अवसरमा । उहाँले धुरन्धार गाली गरेर यिनीहरूलाई तह लगाइदिन्छु भन्नुभयो । के ठानेको छ भनेर बल्खुमा गएर भाषण ठोक्नु भए छ उहाँले । लक्षण उहाँको देखियो बिहानदेखि । हुर्मत लिने सोच छ उहाँको । माधव नेपालको हुर्मत उहाँले लिन सक्नुहुन्न ।

    अनि त्यसपछि बस्दाखेरी उहाँले आफ्नो चरित्र देखाउनुभयो । मैले भनेँ-अब जेठ २ गते फर्कौं कमरेड । पार्टीलाई एकतावद्ध बनाउँ र मिलेर जाऊँ । को कसलाई थप्नुपर्छ त्यही ठाउँमा छलफल गरौं । त्यही बसेर छलफल गरौं । केही फरक पर्दैन । रामबहादुर थापाहरू थपिएर केही फरक पर्दैन । हामी पनि दुई/चार जना मान्छे थपिदिउँला भनेर मैले भनेँ ।

    उहाँले भन्नुभयो- हुँदैन । तपाईंहरू बैठकमा किन आउनु भएन ? मैले भनेँ- तपाईंले बोलाउनु भयो कसैलाई ? बोलाएको हो, तपाईंको मोबाइल विग्रिएको थियो रे । (हाँस्दै) अब यस्तो पनि हुन्छ ? सबैको मोबाइल विग्रन्छ ? (हाँस्दै) सबैको मोबाइल । हामी नब्बे, पन्चानब्बे जनाको मोबाइल विग्रेको रहेछ । (फेरि हाँस्दै ) यो एनटीसीले बिगारिदिएको होला । यस्तो जाली कुरा ।

    ७ गते उहाँले टेलिभिजनबाट आह्वान गर्नुभयो आउनुहोस् भनेर । हामी जान्छौं लत्तारिएर ? हुँदैन । त्यो निर्णय फिर्ता लिनुहोस्, अनि बल्ल हुन्छ । यो भनिसकेपछि फेरि कुरा आयो । मैले भनेँ- जिल्ला अध्यक्षहरू जो पहिले अधिवेशनबाट जितेर आएका छन्, त्यो अध्यक्षलाई तपाईंले निकाल्नुभयो । आरोप के हो भने त्यो माधव नेपालको पक्षमा भएकाले ।

    महाधिवेशनमा भोट दिएको हुनाले । तपाईंले हटाउन मिल्छ ? एकीकृत पार्टीको पनि अध्यक्ष । पहिले एमालेको पनि अध्यक्ष । अहिले तपाईंले हटाउन मिल्छ ? उहाँले भन्नुभयो-मिल्छ । उसले राम्रो भूमिका खेलेन हटादिइम । अनि तपाईंले हटाइदियो भनेर हामी मानेर जान सक्छौं ?

    मनु सिगदेल, लोकबहादुर वाइवा, गोविन्द न्यौपाने । यी सबै माधव नेपाल नजिकका अध्यक्ष । प्रमोद यादव । यी सबैलाई हटाइदिने तपाईंले एकलौटी ? कुन विधानबाट ? कुन तरिकाबाट ? उहाँले भन्नुभयो- हैन, उनीहरूले भूमिका खेलेनन्, राम्रो भएन । चेन्ज गरिदिएँ ।

    हिजो उहाँले सुन्न तयार हुनुभएन । र, के बुझियो भने केपी ओली कुनै हालतमा एकताको पक्षमा हुनुहुन्न । एउटा भनाइ छ- खाए खा, नखाए घिच । माने मान, नभए बाटो खुला छ जा । यो ढंगको अहंकार, दम्भ छ ।

    अनि तपाईंहरूले एउटा समाचार पनि खुब सुन्नु भएको छ हिजो राति- वामदेव कमरेडसहितको डिनर मिटिङ भयो बालुवाटारमा । आज बिहान मलाई वामदेव कमरेडले फोन गर्नु भयो र मलाई म्यासेज पठाउनुभयो- हिजो राति आठ बजे डिनरमा मलाई बोलाएका थिए । म पनि अन्तिम कोसिस गरौं न त भनेर त्यहाँ गएँ । मेलै भने, पार्टी मिलाउने कुरामा तपाईंले भूमिका खेल्नुहोस् । फागुन २८ का निर्णय तपाईंले फिर्ता लिनुहोस् । उहाँले फिर्ता लिन्न भनेपछि डिनरै नखाएर त्यहाँबाट हिँडे भनेर मलाई म्यासेज पठाउनुभयो मोबाइलमा । अनि फोन गर्नुभयो- यो केपी ओली दम्भी छ । आज तपाईं र म बसेर निर्णय गर्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । यसले पार्टी सबै सिध्याउनुभयो । आन्दोलन समाप्त गर्ने भए भनेर उहाँले भन्नुभयो । त्यसो हुनाले वामदेव कमरेडबारे पनि भ्रम नरहोस् ।

    अनि उहाँले २७ जना मान्छेमाथि फेरि कारवाहीको नयाँ प्रक्रिया । पहिले हामी चारजनालाई कारवाही गर्नुभयो । ६ महिनामा निम्ति सस्पेन्ड । केपी ओलीले माधव नेपाललाई सस्पेन्ड गर्ने ? २०३१ सालमा कोअर्डिनेसन केन्द्र शुरू गर्ने म माधव नेपाल । २०३२ सालमा को के बनाउने नेता, पोलिटब्यूरो सदस्य म माधव नेपाल । २०३५ सालमा नेकपा (एमाले) बनाउने माधव नेपाल।

    हिजो उहाँले भन्नुभयो- तपाईंको त्यो ६ महिनाको कारवाहीको निर्णयमा सोच्न सकिन्छ । मैले भनेँ-तपाईंले मलाई पार्टीबाट निकाल्ने ? जो माधव नेपालले संगठन र आन्दोलन दुईटै संचालन गर्दै आएको छ, कसैले निकालेर निक्लनेवाला छैन । आन्दोलनबाट भाग्ने मान्छे होइन, माधव नेपाल । संगठन छोडेर हिँड्नेवाला छैन ।

    त्यसपछि के देखियो भने- केपी ओलीका दम्भ अहिले धरहराभन्दा माथि चढेको छ । त्यसकारण हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनु भएको थियो । त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौं । पार्टी छोड्दैनौं । लोकतन्त्र छोड्दैनौं । संघीयता त्याग्दैनौं । यो संविधानको मर्म र भावना अनुसार देशलाई, जनतालाई अगाडि बढाउने बाटोमा । समाजलाई परिवर्तन गर्ने बाटोमा लाग्छौं । एउटा व्यक्तिको मुख हेरेर हामी आन्दोलनमा जुटेका छैनौं । हामी जनतालाई हेरिरहेका छौं । नेपाल राष्ट्रलाई हेरिरहेका छौं । हामी नेपाली भएको हुनाले नेपाली स्वाभिमानलाई, नेपाली जनताको समस्या समाधान गर्नका लागि सहि विचारलाई हेरिरहेका छौं ।

    (नेता नेपालले जनकपुरिस्थत एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राखेका धारणाको सम्पादित अंश ।)

  • महेश बस्नेत बने एमालेको युवा र खेलकुद महासंघ इन्चार्ज

    महेश बस्नेत बने एमालेको युवा र खेलकुद महासंघ इन्चार्ज

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका दुई महत्वपूर्ण संगठनहरूको इन्चार्जको जिम्मेवारी पाएका छन् । शुक्रबार तोकिएको जिम्मेवारी अनुसार बस्नेत युवा संघ नेपाल र नेपाल खेलकुद महासंघआवद्ध संगठनहरूको इन्चार्ज बनेका छन् ।

    युवा संघको पूर्व अध्यक्षसमेत रहेका बस्नेत पार्टी एकताकै बेला पनि युवा इन्चार्ज रहेका थिए । युथ फोर्सको संस्थापक संयोजकसमेत रहेका बस्नेत पूर्वउद्योगमन्त्री समेत हुन् । बस्नेतनिकट युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल हालै नेपाल खेलकुद महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । एमाले केन्द्रीय सदस्य बस्नेत भक्तपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

  • एमालेका थप दुई सांसदले स्पष्टिकरण बुझाए

    एमालेका थप दुई सांसदले स्पष्टिकरण बुझाए

    काठमाडौं । नेकपा एमालेका सांसदद्वय निरादेवी जैरु र दिपकप्रकाश भट्टले स्पष्टीकरण बुझाएका छन् ।

    सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगी उनीहरूले स्पष्टीकरण बुझाएका हुन् । नेकपा एमालेले २७ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले यसअघि नै स्पष्टीकरण बुझाइसकेकोमा संसदीय दलको कार्यालयबाट अध्यक्ष ओलीकोमा नपुगेको स्रोतले बताएको छ ।

    अब स्पष्टीकरण पेस गर्न बाँकीमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी छन् ।

     

  • स्पष्टीकरण सोधिएका एमाले सांसदको आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

    स्पष्टीकरण सोधिएका एमाले सांसदको आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

    केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको एक केन्द्रीय सदस्यले बताए । अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्पेस दिने बताएका छन् ।

    ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, निहुँ खोजेर उद्ण्डता देखाउने र एमाले समाप्त गर्न लाग्छु भन्नेलाई कारवाही गरिने छ। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय हुनेछ ।’

    एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीका ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासनको निर्णय भएको छ । योगेश भट्टराईसहित ५जनाले स्पष्टीकरण पेस गरेका छैनन् ।

  • स्पष्टीकरण सोधिएका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता, योगेशसहित ५ को स्पष्टीकरण बाँकी

    स्पष्टीकरण सोधिएका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता, योगेशसहित ५ को स्पष्टीकरण बाँकी

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण सोधेका संघीय संसदका २७ सांसदमध्ये पाँचजनाले दुई दिनको अवधिमा स्पष्टीकरण पेस नगरेको केन्द्रीय कमिटी बैठकमा जानकारी दिइएको छ ।

    स्पष्टीकरण पेस नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट छन् । अधिकांस सांसदले सकारात्मक ढंगले नै स्पष्टीकरण पेस गरेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

    बैठकमा अध्यक्ष ओलीले सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको र सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम र सुझावसहितको स्पष्टीकरण दिएको बताएका छन् ।

  • कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

    कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।

    माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा,नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो ।

    निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।

    त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । देवी ओलीलाई पनि कारवाही गर्न बैठकमा कर्णबहादुर थापा, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी लगायतका नेताले माग गरेका थिए ।

  • एमालेको स्थायी कमिटी घोषणा- वामदेव समेटिए, माधव पक्ष बाहिर (सूचीसहित)

    एमालेको स्थायी कमिटी घोषणा- वामदेव समेटिए, माधव पक्ष बाहिर (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।

    बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् ।

    एमाले स्थायी कमिटी

    १. केपी शर्मा ओली

    २. वामदेव गौतम

    ३. ईश्वर पोखरेल

    ४. रामबहादुर थापा बादल

    ५. विष्णु पौडेल

    ६. सुवास नेम्वाङ

    ७. शंकर पोखरेल

    ८. प्रदीप ज्ञवली

    ९. लेखराज भट्ट

    १०. टोपबहादुर रायमाझी

    ११. सत्यनारायण मण्डल

    १२. विष्णु रिमाल

    १३. छविलाल विश्वकर्मा

    १४. पृथ्वीसुब्बा गुरुङ्ग,

    १५. रघुबीर महासेठ

    १६. किरण गुरुङ

    १७. केशव बडाल

    १८. पुष्पराज कडेंल

    १९. मणि थापा

  • एमाले बैठकमा ओलीको ब्रिफिङ- मैले लेनिनको शैली अपनाएँ, तर अर्को पक्षले एकता चाहेन

    एमाले बैठकमा ओलीको ब्रिफिङ- मैले लेनिनको शैली अपनाएँ, तर अर्को पक्षले एकता चाहेन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालमा जस्तै पार्टी कब्जा गर्ने ढंगले माधव नेपालहरु आएको हो भने त्यो सम्भव नहुने प्रष्ट पारेका छन् ।

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि पार्टीमा माधव पक्षलाई समेटेर लैजान आफू लचिलो बनेर प्रस्तुत भएको जानकारी बैठकलाई गराएका छन् ।

    एक केन्द्रीय सदस्यका अनुसार ओलीले माधव नेपाल र योगेश भट्टराईसँगको कुराकानीमा नेपाल एकताप्रति इमान्दार नदेखिएको बताएका छन् ।

    ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधब नेपाल, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर, साथीहरूको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन । पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन ।’

    ओलीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको भन्दै आफूलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको बताएका थिए । बैठकमा ओलीले अहिले पनि केही व्यक्ति एमाले कब्जा गर्न सकिन्छ कि भनेर आएको टिप्पणी गरेका छन् ।

    ओलीले बैठकमा भने, ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लाग्ने । पार्टीकै नेताहरूविरुद्ध विषबमन गर्ने । सरकारको आलोचना गर्ने । आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन । एमाले खोस्ने हिसाबले कोही आएको छ भने त्यो सम्भव छैन, अब यो पार्टीले हिजोबाट नयाँ उचाइ लिएको छ ।’

    आजको बैठकमा स्थायी कमिटी गठन, अनुशासनको कारवाही, कार्य विभाजन र समसामयिक प्रस्तावमाथि छलफलको एजेण्डा राखिएको छ ।

  • बालुवाटारमा एमालेको बैठक जारी, नेताहरूको कार्य विभाजन हुने

    बालुवाटारमा एमालेको बैठक जारी, नेताहरूको कार्य विभाजन हुने

    काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

    वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

    त्यस्तै वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ बिहीबार सबैले दिएका छन् ।

    आजको बैठकमा यसबारेमा पनि थप छलफल हुँदैछ । बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।

    यो बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत बताइएको छ ।