Tag: नेकपा एकीकर्त समाजवादी

  • निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

    निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

    काठमाडौं । नेकपा एमालेभन्दा ठूलो पार्टी बन्ने उद्घोषसहित नेकपा (एस) निर्माण गरेका माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रमा निकै कमजोर देखिएका छन् । नेपालले जितेको काठमाडौं क्षेत्र नम्बर २ मा उनको पक्षमा लाग्ने जनप्रतिनिधि र कार्यकर्ताको संख्या अत्यन्तै न्यून रहेको छ ।

    नेकपा एमालेले मंगलबार आयोजना गरेको २ नम्बर क्षेत्रको भेलामा वडा सदस्यदेखि प्रदेशसभा सम्मका अधिकांस जनप्रतिनिधि सहभागी भएपछि नेपालको प्रभाव कमजोर देखिएको हो । नेपाल मतदाता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीसहित पाँचैजना निर्वाचित सदस्यहरू एमालेमै रहने भएका छन् ।

    नेपालको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ पर्छन् भने कागेश्वरी मनहरा तथा शंखरापुर नगरपालिका पर्छन् । वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठसहित निर्वाचित सबै सदस्यले एमालेमै रहने घोषणा गरेका छन् ।

    नेपालको पक्षमा कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा र शंखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ खुलेका छन् । शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरीकी उपमेयर विन्दु पुडासैनीसहित अधिकांस वडाध्यक्ष एमालेमै रहने भएका छन् ।

    नेपालको क्षेत्रबाट एमालेले दुवै प्रदेशसभा सदस्य जितेको थियो । हाल वागमती प्रदेशको सभामुख रहेका सानुकुमार श्रेष्ठ र अर्का प्रदेशसभा सदस्य मणिराम फुयाल पनि एमालेमै रहने भएका छन् ।

    जिल्ला कमिटी र नगर तथा वडा कमिटीका अध्यक्षसहित पदाधिकारी र अधिकांस सदस्य पनि एमालेमै रहेको फुयालले बताए । उनले माधव नेपालको पक्षमा बढीमा १० प्रतिशत कार्यकर्ता जान सक्ने आँकलन गरेर उनीहरूलाई रोक्न आफूहरू लागेको बताए ।

    कागेश्वरीको मेयर थापाले भने अहिले अधिकांस मान्छे एमालेमै रहने भने पनि चुनावको बेलासम्म माधव नेपाल उम्मेदवार हुँदा ठूला नेताकै पक्षमा लाग्ने दावी गरे ।

  • माधव नेपालको प्रष्टोक्ति- अरुको कार्यकर्ता बन्न जाँदैछन् भनिएको छ, हामी तत्काल कसैसँग एकता गर्दैनौं (भिडियो)

    माधव नेपालको प्रष्टोक्ति- अरुको कार्यकर्ता बन्न जाँदैछन् भनिएको छ, हामी तत्काल कसैसँग एकता गर्दैनौं (भिडियो)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल आफुहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।

    आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डको मामुली कार्यकर्ता बन्न बाहिरी उक्साहटमा एमाले फुटाएर गएको ओलीको भनाइप्रति उनले प्रष्टीकरण दिएका हुन् । तल्लो तहसम्म आफ्नो पार्टी कमिटी विद्यमान रहेको दावी गर्दै नेपालले भने, ‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । कसैकसैले अरुको टाङमुनि छिर्न गइरहेका छन्, अरुको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन् भनेर भनिरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । हाम्रो संगठनको संरचना विद्यमान छ तलतल, अलरेडि विद्यमान छ गाउँ-गाउँमा, टोलटोलमा, बस्तीबस्तीमा, जिल्ला जिल्लामा, जनसंगठनहरूमा । समानान्तररूपका सबै कमिटीहरू विद्यमान छन् ।’

    अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउन र जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरूको ध्यान केन्द्रित हुने बताए ।