Tag: नेकपा एकता

  • ओलीले भने- केही नेताका विभाजनकारी र अवसरवादी सोचले नेकपा एकता निष्कर्षमा पुर्‍याउन सकिएन

    ओलीले भने- केही नेताका विभाजनकारी र अवसरवादी सोचले नेकपा एकता निष्कर्षमा पुर्‍याउन सकिएन

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि जेठ ३ गते एकीकृत भएको नेकपा एकीकरणलाई कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको प्रष्ट पारेका छन् ।

    २९ औं मदन-आश्रित स्मृति दिवसका अवसरमा ओलीले लामो वक्तव्य जारी गर्दै एमाले आज पनि उक्त एकीकरणको विरासतलाई अघि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको बताएका छन् ।

    ओलीले आफूहरु कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प समेत गरेका छन् । उनले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको मान्यतामा आफूले पार्टीलाई अघि बढाउने बताएका छन् ।

    ओलीको वक्तव्यमा भनिएको छ, ‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा पार्टी एकीकरण गरेका थियौं । समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’

    ओलीले वक्तव्यमा जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमै कम्युनिस्ट आन्दोलन सफलतामा पुगेको बताएका छन् ।

  • माधव पक्षको समेत हस्ताक्षर लिएर पुनरावलोकनमा जाने प्रचण्डको तयारी !

    माधव पक्षको समेत हस्ताक्षर लिएर पुनरावलोकनमा जाने प्रचण्डको तयारी !

    काठमाडौं। पेरिसडाँडामा नेकपाको नाममा अन्तिम बैठक बसेर प्रचण्ड-माधव विदाइ हुँदा २३ फागुनको सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरालोकनमा जाने समझदारी भएको थियो ।

    त्यस लगत्तै डाकिएका माओवादी केन्द्रका स्थायी कमिटी र दुई दिनसम्म चलेर २ चैतमा सकिएको केन्द्रीय कमिटीका बैठकले पनि नेकपाको एकीकरण खारेज गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरालोकनमा जाने निर्णय भएको थियो ।

    १० चैतमा माओवादी स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा पनि चाँडै पुनारालोकनमा गइहाल्ने निचोड निकालिएको थियो ।

    यसका बाबजुत पनि सर्वोच्चको निर्णयविरुद्ध पुनरालोकनमा जाने जिम्मेवारी पाएको नेकपा माओवादी केन्द्र र अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ एक्सनमा जान सकेका छैनन् ।

    यसअघि १३ गते पुनरालोकनमा जाने भनिएकोमा त्यसलाई सोमबार सारियो। र, सोमबार पनि त्यो निर्णय हुन सकेन ।

    पार्टीले गरेका निर्णय कार्यान्वयन नहुँदा स्वयं माओवादी केन्द्रमै पनि असन्तुष्टि बढेको छ । एक स्थायी कमिटी सदस्य भन्छन्, ‘मैले त तपाईंले यी निर्णय कार्यान्वयन गर्नु भएन भने तपाईंमाथि पनि प्रश्न चिन्ह उठ्छ भनेर प्रचण्ड जीलाई भन्दिएको छु । गर्न सकिने काममा त यस्तो अलमल नहुनु पर्ने हो ।’

    ढिलाई किन ?

    माओवादी केन्द्रबाट सांसद बनेका अधिवक्ता रामनारायण बिडारी निवेदनको काम आफूहरुले रिट पहिल्यै तयार पारेको भए पनि नेताहरुले ढिला गरेको बताउँछन् । ‘यो कुरा शीर्ष नेताहरुको हातमा छ, उहाँहरुले किन लानु भएन ?’ बिडारी प्रतिप्रश्न गर्छन्, ‘हामीले दिएको सर्वोच्चको फैसला हुने बित्तिकै पुनरालोकनको निवदेन दिनुपर्छ भनेका थियौं । २६ गते नै पुनरालोकनको खाका बनाएर दिएका थियौं । त्यसलाई अलिकति परिमार्जन गर्ने भन्ने भएर फेरि एक/दुई दिन ढिला भयो । उहाँहरुले के गरिरहनु भएको छ थाहा भएन ।’

    सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । पुनरालोकनमा जान नेकपामा सँगै रहेको माधव समूहको पनि साथ लिनुपर्छ । माधव समूह एमाले भित्रै ‘केपी प्रवृति’विरुद्ध संघर्ष गर्ने भनेर फर्किएपछि त्यसमा अलिकित जटिलता थपिएको नेताहरु बताउँछन्।

    माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङ पनि त्यसतर्फ संकेत गर्दै सबैको सहमति लिएर जाँदा केही ढिला भएको बताउँछन्। ‘सबैको सहमति, आपसी समझदारी चाहिएकाले केही ढिला भएको हो,’ गुरुङ भन्छन्, ‘हिजो भएन आज जाने सम्भावना छ ।’

    पुनरालोकनमा जान साविक नेकपामा रहेका माधव पक्षका सबै केन्द्रीय सदस्यहरुको हस्ताक्षर आवश्यक हुन्छ । त्यसका लागि प्रचण्ड र माधव नेपालबीच तारान्तर छलफल समेत भइरहेको स्रोत बताउँछ ।

    पछिल्लो पटक कोटेश्वरस्थित व्यापारीको घरमा भइरहेको भेटघाटमा पनि यो विषयमा कुरा छलफल भएको बताइएको छ । सोमबार कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा करिब दुई घण्टा छलफल भएको थियो ।

    छलफलमा भीम रावल, नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। यसअघि चैत १३ मा पनि प्रचण्ड-माधवले त्यही घरमा छलफल गरेका थिए । १२ चैतमा उनीहरूले कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए ।

    एमाले भित्रै २८ फागुनका निर्णय फिर्ता गराउन संघर्षरत माधव पक्षको अनिर्णयका कारण पनि पुनरालोकनमा जान ढिलाई भएको स्रोत बताउँछ । माधव पक्ष २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय बैधानिक नभएको भन्दै त्यसविरुद्ध अदालतमा जाने मनस्थितिमा छ । यसबारे नेपाल पक्षले निर्वाचन आयोगमा समेत निवेदन दिइसकेको छ ।

    एकातिर नेकपाको नाममा पुनरालोकनमा जानुपर्ने र अर्कोतिर एमाले भित्रकै निर्णयलाई लिएर अदालत जानुपर्ने बाध्यताले माधव समूह बिखलबन्दमा परेको स्रोत बताउँछ ।

    पुनरालोकनका लागि कानून व्यवसायीका सुझाव

    माओवादी केन्द्रका राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुले १० चैतमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विभिन्न कानुन व्यवसायीसँग छलफल गरेका थिए । छलफलमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमन श्रेष्ठ, मुक्ति प्रधान लगायत सहभागि थिए । उनीहरुले पुनरालोकनमा जान माओवादी केन्द्रलाई सुझाव दिएका थिए।

    कानून व्यवसायीका सुझाव 

    –४४१ नेकपाका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले अनुमोदन गरेको थियो, ती ४ सय ४१ जना सर्वोच्च अदालतले पनि खारेज गरेको छैन् ।

    –सर्वोच्चले दुईटा पार्टीबीच एकताका लागि भएको सम्झौता बदर गरेको छैन् । पार्टीको विधान पनि छ, दस्तावेजहरु पनि पेश भएको छ । त्यसको नाममा मात्रै प्रश्न उठेकाले ४ सय ४१ को बहुमत आफ्नो पक्षमा लिएर प्रचण्डले पुनरालोकनको मुद्दा हाले हुन्छ ।

    –सर्वोच्चले फैसलापछि पनि नेकपाका ती कमिटी कायम भएको हुनाले ती कमिटीको बहुमतको निर्णय अनुसार फैसला सच्याउन निवेदन दिने

  • नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र

    नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र

    काठमाडौं । संसद अधिवेशनको पूर्वसन्ध्यामा नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकताको लागि संवादमा जुटिरहेका छन् भने दुवै पक्षका विशेषगरि पूर्व एमालेका सांसदहरु कांग्रेसलाई प्रधानमन्त्री बनाउन नदिन नेकपाबाटै सरकारको नेतृत्वको पक्षमा लबिङ गरिरहेका छन् ।

    विहीवार दिनभर सिंहदरवारभित्र बाहिर नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेता तथा सांसदहरु नेकपाकै नेतृत्वको सरकारको लबिङमा जुटिरहेका बेला दोस्रो तहका प्रभावशाली नेता योगेश भट्टराई भने गृहजिल्ला ताप्लेजुङमा थिए ।

    दोभानबजारको आगलागी पीडितलाई राहत तथा उद्दारमा जुटेका भट्टराईले पार्टी एकताको पक्षमा निर्णायक पहल लिन नेताहरुलाई आग्रह गरिरहेका छन् । भट्टराईले पार्टीलाई औपचारिक विभाजनबाट रोक्ने सूत्र समेत नेतृत्वलाई सुझाएका छन् ।

    नेकपा विभाजन रोक्ने के हो त योगेशको सूत्र ? नेपालप्रेससँग उनले बुँदागत रुपमा आफ्नो सूत्र सुनाए । भट्टराईले मुख्य नेतृत्वले इगो नराख्ने हो भने अझै पनि पार्टी एकता सम्भव रहेको र नेकपा बाहिरबाट प्रधानमन्त्री खोज्नुपर्ने अवस्था नरहेको बताए ।

    भट्टराईले भने–केही पहल नभएका होइनन् तर प्रधानमन्त्रीसँग नजिक रहेका निर्णायक तहका नेताहरुले गम्भीर पहल गर्नुभयो भने यो सफल हुनसक्छ । विप्लवसँगको वार्ता सफलतासँगै प्रधानमन्त्रीले नेकपाकै नेतृत्वमा सरकार बन्ने र पार्टी पनि जोगिनेगरि ‘स्टेटम्यानशीप’ देखाउनुभयो भने मुलुक,जनता र पार्टी सबैको हितमा हुन्छ ।

    के हुन् त योगेशले देखेका नेकपा विभाजन रोक्ने सूत्र ?

    १. प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर,नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
    २. इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने
    ३. केपी ओली,प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने । (यसअघि ओलीकै प्रस्ताव थियो माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने)
    ४. नत्र, झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालन बाहेक नीतिगत नेतृत्व गर्ने ।
    ५. महासचिवको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने,अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।
    ६. महासचिव नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।
    ७. प्रदेश सरकारहरुको पुनर्गठन गर्ने,संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व हुने ।
    ८. स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने ।

    योगेशको सूत्र प्रचण्ड-माधव पक्ष र ओली पक्षले ग्रहण गर्ला ? यदि नेकपाको कानुनी विभाजन रोक्ने हो भने यो सूत्रबाट अघि बढ्नुको विकल्प नरहेको उनी बताउछन् । त्यसका लागि उनले महासचिव बिष्णु पौडेलको भूमिका निर्णायक हुने देखेका छन् ।

    नेकपाको बहुमतको सरकार ढालेर कांग्रेस वा अन्य दलका नेतलाई प्रधानमन्त्री बनाउँदा भोलि जनतामा कुन मुख लिएर जाने ? नेकपाका सांसदहरुबीच यहि कोणबाट छलफल चलिरहेको छ । दुई दिनअघि जनार्दन शर्माले पनि सचिवालय भन्दा बाहिर रहेका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलका लागि आह्वान गरेका थिए ।

    एकता बचाउन सकिने विकल्पमा छलफल भइरहेको छ । महासचिव पौडेल बुटवलबाट फर्केपछि एकपटक निर्णायक पहल हुनसक्ने नेताहरु बताउछन् ।

  • नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

    नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी फेरि एक हुनुपर्ने आवाज बाक्लिएसँगै दुवैतर्फबाट एकताको कसरत हुन थालेको छ । दोस्रो तहका नेताहरू अनौपचारिक छलफल र संवादमा जुटेका छन् ।

    प्रतिनिधिसभाको बैठक शुरू हुने दिन नजिकिएसँगै एकता प्रयासमा दोस्रो तहका नेताहरूको चहलपहल बढेको हो । यसै सिलसिलामा बिहीबार ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-माधव पक्षका नेता घनश्याम भुसालबीच छलफल भएको छ ।

    सिंहदरबारमा भएको छलफल पार्टी एकतामै केन्द्रित थियो । भुसालले पार्टी एकता जोगाउने सिलसिलामा पहिलेदेखि आफूहरूबीच छलफल चलिरहेको र आज पनि त्यसकै निरन्तरता भएको बताए ।

    एकताको पक्षमा पोखरेल र भुसालबाहेक वामदेव गौतम, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराईलगायतका नेताहरूसमेत निरन्तर रूपमा लागिरहेका छन् । गौतमले दुवै पक्षका दोस्रो तहका नेतालाई साथमा लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाध्य पार्ने बताएका छन् ।

    ओलीपक्षीय नेता महेश बस्नेत पार्टी एकता टुट्न हुँदैन भन्ने भावना दुवै पक्षको ठूलो पङ्क्तिमा भएको बताउँछन् । पहिले गुप्त ढंगले भइरहेका छलफल अहिले खुलारूपमा शुरू भएको उनको भनाइ छ ।

    ‘त्यही कुरामा हामी तीन/चार दिनदेखि गोप्य ढंगले बसिरहेका थियौं’ उनले भने, ‘अब आज-भोलिदेखि चाहिं एक्सपोज भएर बस्ने खालको वातावरण बनिरहेको छ ।’ बस्नेतले अहिले नै पार्टी एक भइहाल्ने अवस्था नआए पनि प्रधानमन्त्री कम्युनिष्टभन्दा बाहिर जान दिन नहुने कोणबाट भने कुरा मिलाउने प्रयत्न भइरहेको बताए ।

    बिहीबार कोरोनाभाइरसविरुद्धको खोप लगाउन बानेश्वरस्थित निजामती अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षलाई एकताको निम्ति दबाब दिने बताए ।

    ‘एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा’छैन’ गौतमले भने, ‘मेरो प्रयत्न चाहिं दुवैतिर रहेका दोस्रो पुस्ताका कमरेडहरूलाई एकताबद्ध गर्ने हो । एकताका पक्षमा नरहेका नेतालाई चारैतिरबाट घेराबन्दी गरेर बाध्य पार्नुपर्छ ।’