Tag: नीति तथा कार्यक्रम

  • सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै, संघीय निर्वाचन प्राथमिकतामा

    सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै, संघीय निर्वाचन प्राथमिकतामा

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि आज संसदमा आफ्नो नीति तथा कार्यक्रम पेस गर्दैछ । सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् ।

    दिउँसो ४ बजे बस्ने संसदको बैठकमा सरकारले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक–सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीतिलगायतका विषय समावेश गरेको छ ।

    सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा बजेट प्रस्तुत हुनेछ । सरकारले मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी कार्यक्रम तय गरेको बताइएको छ ।

    संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

  • कांग्रेसको दावी- सुदूरपश्चिम सरकारको नीति कार्यक्रम र बजेट नै असंवैधानिक

    कांग्रेसको दावी- सुदूरपश्चिम सरकारको नीति कार्यक्रम र बजेट नै असंवैधानिक

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असंवैधानिक रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएको आरोप लागेको छ ।

    सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि ऐन २०७४ मा उल्लेख भएको पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने समयसीमा हटाएर सरकारले असंवैधानिक ढंगले बजेट ल्याएको आरोप छ ।

    सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु भन्दा १५ दिन पहिले नीति तथा कार्यक्रम ल्याउनु पर्ने प्रावधान थियो । उक्त ऐनमा त्यो भन्दा अघि पूर्व बजेट छलफल गर्नु पर्ने उल्लेख छ । तर, प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमा उक्त समय सिमा हटाएको थियो ।

    संविधानमा अध्यादेश ल्याउन पाउने सरकारलाई अधिकार दिएको छ । तर, अध्यादेश ल्याएपछि बसेको बैठकमा उक्त अध्यादेश पेस गर्नु पर्ने उल्लेख छ ।

    नेपालको संविधानको धारा २०२ मा अध्यादेश सम्बन्धी व्यवस्था छ । उपधार २ को १ को कममा ‘जारी भएपछि बसेको प्रदेश सभाको बैठकमा पेश गरिनेछ र प्रदेश सभाले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ’ भनिएको छ ।

    प्रदेश सरकारले ल्याएको अध्यादेश अहिलेसम्म प्रदेश सभा बैठकमा पेस गरिएको छैन ।

    सुदूरपश्चिम प्रदेशमा जेठ २१ गते आठौं अधिवेशनको पहिलो बैठक सुरु भएको हो । त्यसको केहि दिनपछि पूर्व बजेट छलफल सुरु गरेको सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याएको थियो । अध्यादेश अनुसार नीति तथा कार्यक्रम ल्याएर असार १ गते सरकारले बजेट प्रस्तुत गरेको थियो ।

    अहिले सम्म आठौं अधिवेशनको १५ औं बैठक बसिसकेको छ । तर पनि संसदमा उक्ता अध्यादेश पेस गरिएको छैन । अध्यादेश पारित नगर्दै पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको हुँदा ती सबै प्रक्रिया असंवैधानिक रहेको नेपाली कांग्रेसले ठहर गरेको छ । सरकारले असंवैधानिक काम गरेको भन्दै कांग्रेसले बुधबारको बैठक अवरुद्धसमेत पारेको थियो ।

    माओवादी नेतृत्वको सरकारलाई मौन समर्थन गरेको कांग्रेस नीति तथा कार्यक्रम पारित हुँदा पनि मौन रहेको थियो । तर, प्रदेश सरकार असंवैधानिक रुपमा अघि बढेको हुँदा विरोध गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए ।

    ‘हामीले यस बिषयमा सरकारलाई पटक-पटक ध्यानाकर्षण गराएका थियौं,’ उनले भने ‘सरकारले असंवैधानिक कामलाई निरन्तरता दियो ।’

    माओवादी/कांग्रेसको केन्द्रीय गठबन्धन भएपनि असंवैधानिक काम गर्ने सरकारलाई समर्थन गर्न नसकिने उनको प्रष्टोक्ति छ । ‘कांग्रेसले संविधान माथिको हस्तक्षेप स्वीकार गर्न सक्दैन,’ उनले थपे

    कांग्रेसका अर्का सांसद भरत बहादुर खड्काले पनि सरकारले संविधान भन्दा बाहिर रहेर नीति तथा कार्यक्रम र बजेट ल्याएको आरोप लगाए । ‘अध्यादेश मार्फत सरकारले आर्थिक कार्यविधि ऐन २०७४ मा एउटा दफा थप गरेको छ । तर, उक्त दफा प्रदेशसभाबाट पारित गराइएको छैन,’ उनले भने ‘यो संविधान अनुसार भएन । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट असंवैधानिक छ ।’

    पूर्व आर्थिक मामिला तथा कानून मन्त्री झपट बोहराले पनि सरकारले संविधान मिचेर नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । ‘अध्यादेश सांसदले पारित गर्नुपर्छ । नत्र त्यो ऐन बन्दैन,’ उनले भने ‘ऐन तयार नहुँदै सरकारले आर्थिक कार्यविधि ऐन २०७४ को ९ को १ र २ भन्दा बाहिर गएर नीति तथा कार्यक्रम र बजेट ल्याउन पाउँदैन । ’

    आर्थिक कार्यविधि ऐन २०७४ को धारा ९ को उपधारा १ र २ मा नीति तथा कार्यक्रम र बजेट ल्याउने समय सीमा १५ दिन तोकिएको छ । सरकारले ३ दिनको समय सीमामा नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।

    पूर्वमन्त्री बोहराले यस बिषयमा कांग्रेसले गरेको विरोधलाई भने बार्गेनिङको संज्ञा दिएका छन् । ‘कांग्रेस कम्मल ओढेर घिउ खान पल्किएको छ’ उनले भने, ‘हिजो नीति तथा कार्यक्रममा समेत मौन समर्थन गरेको कांग्रेसले अहिले बार्गेनिङ गर्न विरोध गरेको हो ।’

    प्रदेश सरकारले भने यस बिषयमा छलफल गरेर अघि बढ्ने जनाएको छ ।

    ‘अहिले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक छ त्यसैमा छलफल हुन्छ,’ सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी भनिन्, ‘प्रतिकुल अवस्थामा समयसीमा नभएपछि अध्यादेश ल्याएका थियौं ।’

    उनले कोरोना महामारीका कारण सांसद ढिलो चलेको हुँदा असार १ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार अध्यादेश ल्याइएको बताए ।

  • बैजनाथमा एकल पुरुषलाई भत्ता, बुटवलमा श्रम बैंक, भैरहवामा कृत्रिम पर्यटकीय क्षेत्र

    बैजनाथमा एकल पुरुषलाई भत्ता, बुटवलमा श्रम बैंक, भैरहवामा कृत्रिम पर्यटकीय क्षेत्र

    रुपन्देही । लुम्बिनी प्रदेशका केही स्थानीय सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही आकर्षक र नमूना योजना समावेश गरिएका छन् ।

    आफ्नो कार्यकालको अन्तिम बजेटमा ती पालिकाले स्वास्थ्य, कृषि, शिक्षालाई विशेष प्राथमिकतामा राख्दै केही नयाँ योजना अगाडि सारेर चर्चामा आएका छन् ।

    बैजनाथमा एकल पुरुषलाई भत्ता

    बाँकेको बैजनाथ गाउँपालिकाले ६० वर्ष उमेर नाघेका एकल पुरुषलाई भत्ता दिने भएको छ ।

    त्यस्ता पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्ष मानबहादुर रुचाल ठकुरीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको हो ।

    यसैगरी उच्च शिक्षा पढ्न चाहने छात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराइनुका साथै शिक्षामा प्रविधि जोड्ने उद्देश्यले प्रधानाध्यापकलाई कम्प्युटर शिक्षा र ल्यापटप उपलब्ध गराउने, नमुना विद्यालय निर्माणको पूर्वाधार तयार गर्ने, शिक्षक अनुदान कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

    कोरोना कहरबाट प्रभावित परिवार जसले कोभिड–१९ बाट ज्यान गुमायो, उनीहरुका परिवारलाई आर्थिक सहयोग गर्ने, प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने, निकुञ्ज परिसरमा हुने मानवीय क्षतिलाई विपदसरह मानेर राहत तथा क्षतिपूर्ति दिनेलगायत कार्यक्रम छन् ।

    प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पशु, पर्यटन घरेलु तथा साना उद्योग, सहकारी, बालबालिका, महिला, अपांगता, दलित आदिवासी जनजाति अल्पसंख्यक, ज्येष्ठ नागरिक युवा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, धर्म संस्कृति, शिक्षा, वन वातावरण तथा विपत् व्यवस्थापन, सार्वजनिक सेवा सुशासन तथा क्षमता विकास, विधायन तथा वित्तीय अनुशासनलगायतका महत्वपूर्ण क्षेत्र समेटेको छ ।

    बुटवलमा रोजगारी सिर्जना गर्न श्रम बैंक

    बुटवल उपमहानगरपालिकाले रोजगार सिर्जनाका लागि उपमहानगरले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिई श्रम बैक र श्रम डेक्स सञ्चालन गर्ने भएको छ ।

    स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर ल्याएको नीति कार्यक्रममा प्रमुख शिवराज सुवेदीले रोजगार सिर्जन ागर्न श्रम बैंक ल्याएको बजानकारी दिए । स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र करिब सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने नीति बुटवलले लिएको छ ।

    त्यस्तै यातायात क्षेत्रका श्रमिक, औद्योगिक क्षेत्रका श्रमिकलाई लक्षित गरी घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ । विगतबाट सञ्चालित मेयर युवा इलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

    त्यस्तै अपांगता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा छुट दिने नीति समेत नगरपालिकाले लिएको छ ।

    धुर्कोटमा कृषि ऋण अनुदान

    गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि अनुदान, प्रविधि एवम् कृषि ऋणको ब्याजमा अनुदान दिने भएको छ ।

    पालिका प्रमुख भुपाल पोखरेलले नीति तथा कार्यक्रममा २५ रोपनी भन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानलाई तीन वर्षसम्म अनुदान दिने व्यवस्था गरेको बताए । उनले व्यवयायिक कृषि खेतीलाई व्यस्थित गर्न यस्तो योजना ल्याएको जानकारी दिए ।

    भैरहवामा कृत्रिम पर्यटकीय गन्तव्य

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पालिका क्षेत्रभित्र कुनै पनि पर्यटकीय गन्तव्य नभएपछि लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै कृत्रिम पर्यटकीय गन्तव्य बनाउने भएको छ । नजिकै रहेको बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग जोडिदै पर्यटन विकासमा जोड दिने गरी आगामी बर्षको लागि नीति तथा कार्यक्रममा यस्तो योजना ल्याइएको हो ।

    पर्यटन, उद्योग, व्यापार र शिक्षा हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा भन्ने थेगोलाई आत्मसात गर्दै आएको सिद्धार्थनगर(भैरहवा)का नगर प्रमुख हरि प्रसाद अधिकारीले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

    प्रकृतिले हामीलाई पर्यटकलाई आकर्षित गर्नसक्ने त्यस्तो कुनै कुरा दिएको छैन तर हामीसंग उपलब्ध श्रोतसाधन, अव्यवस्थित खोलानालाको समेत उचित प्रयोग गर्दै पर्यटकलाई आकर्षित गर्ने गन्तव्यहरु ब्नाउने योजना ल्याएका छौ, नगर प्रमुख अधिकारीले भने । हाम्रो शहर पर्यटकीय शहर होइन तर हामी कृत्रिम वस्तुहरुको माध्यमबाट पनि पर्यटकीय शहर बनाउन लागिपरेका छांै र नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि जोड दिइएको छ– नगर प्रमुख अधिकारीले भने ।

    लुम्बिनी क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता महत्व र अवसरहरुलाई आधार मानी सोही बमोजिम पर्यटकीय कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नगरपालिकामा पर्यटनको प्रवद्र्धधन तथा विकासका लागि पर्यटन गुरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्ने, नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन, प्रचार प्रसारका लागि स्थानीय पर्यटन व्यवसायीसंग सहकार्य गर्दै अघि बढ्ने, सार्वजनिक निजी सहकारीको अवधारणा अनुरुप नगर क्षेत्रमा पर्यटन सूचना केन्द्र सञ्चालन गर्ने, एक वडा एक उद्यान/पार्क निर्माण कार्यलाई अभियानको रुपमा सञ्चालन गरी हरित शहर(ग्रिन सिटी)को अवधारणा बमोजिम सिद्धार्थनगरलाई बाह्रैमहिना फूल फुल्ने शहरको रुपमा विकास गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

     

  • काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक : करमा विशेष छुट (भिडियो)

    काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक : करमा विशेष छुट (भिडियो)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड- १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ ।
    बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

    महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड -१९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो ।
    महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोभिड – १९ प्रभावितलाई करमा छुट दिइने बताएका हुन् ।

    सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ ।

    महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने, करदाताहरू तथा सार्वजनिक नीजि साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

    कोभिड – १९ बाट प्रभावित होटल, पर्यटन जस्ता व्यवसायलाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

    ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न १०० बेडको काठमाडौं महानगर विशेष अस्पताल निर्माण गरिने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिने पनि जनाइएको छ ।

    त्यस्तै विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइने पनि प्रवक्ता डंगोलले बताए । कोभिड – १९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि उनले बताए ।

    महानगरपालिकाले विद्युतिय सवारी करमा शतप्रतिशत छुट, महानगरबासीलाई नागरिक स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक नमुना विद्यालय कार्यक्रम, सम्पदा संरक्षणमा प्राथमिकता, नाकामा भेइकल क्लीनिङ सेन्टर स्थापना लगायतका कार्यक्रमहरु पनि ल्याएको छ ।

     

  • प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    जनकपुरधाम । प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । जेठ २७ मा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रदेश सरकारको नीति तथा कार्यक्रममा साँसद शिवचन्द्र चौधरी, सुन्दर बहादुर विश्वकर्मा, दिलिप साह र सिता गुरुङले संशोधन प्रस्ताव दर्ता गराएका थिए। दुई दिनसम्म चलेको छलफलको अन्त्यमा आज मुख्यमन्त्री लालबाबु राउतले सदनमा उठेको सवालको सम्बोधन गरे ।

    मुख्यमन्त्रीको आश्वासनपछि साँसद विश्वकर्मा, गुरुङ र चौधरीले संशोधन प्रस्ताव फिर्ता लिए । तर साँसद साहले संशोधन प्रस्ताव लिएनन् । उनको संशोधन प्रस्ताव सभामुख सरोज कुमार यादवले ध्वनी मतको आधारमा अस्वीकृत गरे । त्यसपछि सभामुख यादवले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।

    मुख्यमन्त्री राउतले कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा जुटिसकेको, संसद विकास कोष खारेज नगर्ने, पर्सा राष्ट्रिय निकुञ्जलाई चितवन राष्ट्रिय निकुञ्ज जस्तै व्यवस्थापन मिलाएर पर्यटक भित्र्याउने, सरकारी अस्पतालका डाक्टरको तलब बढाएर लगाम कस्ने जस्ता प्रतिवद्धता जनाएका छन् ।

  • सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित, ओलीपक्षले ‘हुन्न’ भन्दा कांग्रेस मौन

    सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित, ओलीपक्षले ‘हुन्न’ भन्दा कांग्रेस मौन

    कैलाली । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठकले आइतबार नीति तथा कार्यक्रम पारित गरेको हो ।

    नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर, ओली पक्षका प्रदेश सभा सदस्यहरू भने विपक्षमा उभिए । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मौन रहे ।

    सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेकका २४ जनामध्ये नेपाल पक्षमा १७ र ओली पक्षमा ७ जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका १२ जना सांसद छन् ।

    गत बिहीबार प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    जसपाका दुई सांसद भने आजको बैठकमा अनुपस्थित रहे । माला मति कुमारी राना थारु केही समयअघि घाइते भएकी थिइन् । अर्का सांसद कृष्णबहादुर चौधरी व्यस्तताले प्रदेश सभा बैठकमा जान नपाएको बताए । बहिस्कार भने नगरेको उनको भनाइ छ ।

    प्रदेश १ र बागमतीमा नीति तथा कार्यक्रम पारित गर्न प्रदेशसभामा एमाले एकढिक्का भएको थियो । तर, सुदूरपश्चिम प्रदेशमा भने एमाले भित्रको विवाद कायमै रहेको देखिएको छ ।

  • कसरी पास होला लुम्बिनीको नीति तथा कार्यक्रम ?

    कसरी पास होला लुम्बिनीको नीति तथा कार्यक्रम ?

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि विपक्षी दलका सांसदले सरकारको वैधानिकतामाथि बारम्बार प्रश्न उठाएपछि कार्यक्रम कसरी पास हुन्छ ? भन्ने चासो बढेको छ ।

    विपक्षी दलले बहुमतसिद्ध नगरी नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै सरकारको आलोचना गर्दै आएका छन्। सरकारले प्रदेश सरकारले जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। सरकारले भने कानूनअनुसार अहिले बनेको सरकारले विश्वासको मत लिन आवश्यक नभएको र प्रदेशसभामा प्रष्ट बहुमत रहेको दावी गर्दै आएको छ ।

    नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल सकिएको छ । सत्तासिन सांसदहरूले सरकारसँग स्पष्ट बहुमत रहेकाले विपक्षीहरूले निहुँ मात्रै खोजेको बताउनु र विपक्षी दलले विश्वासको मत लिनुपर्ने दावी गरेपछि कसरी नीति तथा कार्यक्रम र बजेट अगाडि बढ्छ भन्ने चासो बढेको हो ।

    विपक्षीले भने बारम्बार सरकार संविधानको धारा १६८(१) अनुसार बनेको तर, सरकारमा जसपा (महन्थ) पक्षका चार जना सांसदसमेत सहभागी भएकाले धारा १६८ (२) अनुसारको सरकार भएकाले विश्वासको मत लिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइरहेका छन्। तर, सरकारले भने आफूहरूसँग दलीय आधारमा स्पष्ट बहुमत रहेकाले विश्वासको मत लिनै नपर्ने बताइरहेको छ।

    प्रदेश सरकारले बहुमत आफूसँग रहेकाले नीति तथा कार्यक्रम र बजेट संसदबाट नै पारित गराएर ल्याउने बताइसकेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट आज प्रदेशसभाबाट पारित गर्ने कार्यसूची छ। विपक्षी दलहरूले भने सरकारले आफूलाई बहुमत पुष्टि गरेर नैतिकता देखाउनुपर्ने अडान राखेका छन्। आज दिउँसो १ बजे संसद बैठक बस्दैछ ।

    शनिबार प्रदेशसभामा माओवादी केन्द्रका नेता तथा सांसद सुदर्शन बरालले सरकारसँग नैतिकता भएको भए आफूलाई बहुमतसिद्ध गरेर मात्रै बजेट ल्याउनुपर्ने बताउँछन्। ‘मुख्यमन्त्री शंकर पोखरेल संविधानको धारा १६८ (१) अनुसार नियुुक्त हुनुभयो, यसअघि निलम्बन भएका तर जेठ ३ गते सर्वोच्चको फैसलापछि सांसदका रूपमा पुनर्वहाली भएका चार सांसदसहितको सरकार गठन भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ,’ पूर्वमन्त्री समेत रहेका नेता बरालले भने।

    उनले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री अल्पमतमा रहेको दावी गरेका छन् । तर वैशाख १९ गते मुख्यमन्त्री नियुक्ति हुँदा एमालेका ४१ सांसद रहेको र त्यसैका आधारमा मुख्यमन्त्रीको नियुक्ति भएको एमालेका मुख्य सचेतक भूमिश्वर ढकालले बताए ।

    तर मुख्यमन्त्री नियुक्तिपछि एमालेका दुईजना सांसदले राजीनामा दिएका छन् भने एक जना दाङमा उपनिर्वाचन लडेकी विमला खत्री ओली माओवादी पार्टी प्रवेश गरेकी छन्।

    तीन जना सांसद संख्या घट्दा एमालेका ३८ जना मात्रै सांसद छन्। जसपा महन्थ पक्षका चार जनासहित सरकारको पक्षमा ४२ सांसद संख्या छ।

    यो सरकारको बहुमत संख्या हो। तर, विपक्षीहरूले राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवारका पक्षमा ४० मत मात्रै परेकाले सरकार अल्पमतमा रहेको दावी गरेका छन् ।

    माधवकुमार नेपाल पक्षका दुई जना सांसद समेत विपक्षमा हुँदा सरकार अल्पमतमा पर्ने दावी विपक्षी दलहरूको भएपनि बागमतीमा शनिबार भएको माधव नेपाल पक्षले सहयोग गरेकाले यहाँ पनि त्यसको प्रभाव पर्ने अनुमान गरिएको छ ।

    प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक अंकगणितमा बहुमत नपुगेको बेला एक मिनेट पनि सरकारमा नबस्ने बताउनुभएको छ, राजनीतिक हिसाबले सरकार स्पष्ट बहुमतमा छ तर विपक्षी दलको विरोध के का लागि हो बुझ्न सकिएको छैन, एमाले सचेतक ढकालले भने ।

    केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा परेको र अराजनीतिक गतिविधिले प्रदेशको राजनीति धुमल्याउन खोजिएको मुख्यमन्त्री शंकर पोखरेलको भनाइ छ। सरकार प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले सरकारसँग स्पष्ट बहुमत रहेकाले नीति तथा कार्यक्रम र बजेट दुवै सदनबाट पारित हुने बताएका छन् ।

    कसरी पास हुन्छ नीति तथा कार्यक्रम ?

    विपक्षीले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा अवरोध नगर्ने संकेत गरेका छन् ।

    राजनीतिक हिसाबले नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि बहुमतसिद्ध गर्न दवाव दिए पनि पारित गर्नमा भने अवरोध नगर्ने स्पष्ट संकेत गरेका छन्।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले नीति तथा कार्यक्रम र बजेट जनताको जीवनसँग जोडिएकाले यसमा अवरोध नगर्ने बताए। उनले भने, ‘नियमित प्रक्रियाबाटै नीति तथा कार्यक्रम र बजेट आउँछ।’

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले नीति तथा कार्यक्रम र बजेटमा आफूहरूले अवरोध नगर्ने बताए।

    ‘नीति तथा कार्यक्रम र बजेट फेल पारित नहुँदैमा मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने छैन, यो नैतिकतासँग जोडिने विषय हो, तर सरकारले त्यस्तो नैतिकता देखाउने आधार नै छैन,’ उनले भने।

    संसद् अवरूद्ध गरे अध्यादेशबाट बजेट आउनसक्ने भन्दै संसद् चल्न दिने अवस्थामा विपक्षीहरू पुगेका छन्।

    आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको मुख्यमन्त्री शंकर पोखरेलले जबाफ दिने कार्यसूची छ। त्यसपछि नीति तथा कार्यक्रम पारितका लागि निर्णायार्थ पेश हुनेछ ।

  • कर्णाली सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    कर्णाली सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

    सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा आज प्रस्तुत हुने भएको छ ।

    आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले प्रदेश सभामा आज बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

    ‘आज प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ ।’ सभामुख राजबहादुर शाहीले भने, ‘आज दिउसो दुई बजे बस्ने सभामा उहाँले प्रस्तुत गर्नुहुनेछ । त्यसकालागि आवश्यक तयारी पुरा भएको छ ।’

  • लुुम्बिनी कांग्रेस सचेतकको टिप्पणी- नीति तथा कार्यक्रम बेलुनजस्तो

    लुुम्बिनी कांग्रेस सचेतकको टिप्पणी- नीति तथा कार्यक्रम बेलुनजस्तो

    रुपन्देही । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका सचेतक फकरुद्धिन खानले बैशाख १९ गते मुख्यमन्त्रीको नियुक्तिपछि प्रतिपक्षका सांसदमाथि भएको दुव्र्यवहारको विरोध गर्दैै प्रदेश प्रमुखलाई बहिस्कार गरिएको स्पष्टीकरण दिएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्ष दलले प्रदेश प्रमुखको कार्यक्रमलाई बहिस्कार गरेर संसदीय राजनीतिक व्यवस्थामाथि प्रहार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेपछि खानले प्रदेश प्रमुखलाई सम्मान गर्नुपर्ने नदेखेको भन्दै मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिएका हुन् ।

    ‘बैशाख १९ गते प्रदेश सभाका माननीयमाथि जुन भएको दुव्र्यवहार र धरपकड भएको थिया, त्यो घटनाले गर्दा विपक्षी गठबन्धनका सबै माननीय सदस्य (प्रदेश सभामा) बसेर उहाँ(प्रदेश प्रमुख)लाई सम्मान गर्नुपर्ने देखिएन ।’ उनले भने ।

    गत मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रतिपक्षी दलका सचेतकबाहेक अन्य सांसदहरुले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।

    मुख्यमन्त्री पोखरेलले नीति कार्यक्रम पेश भइरहँदा प्रतिपक्षका सांसद उपस्थित नहुँदा देखिएको सत्तापक्षको उपस्थितिले सरकारसँग बहुमत प्रष्ट भएको बताएका थिए ।

    नीति कार्यक्रमलाई शब्दजालले भरिएको दस्तावेज रहेको आरोप लगाउँदै खानले सरकारले ल्याएको नीति कार्यक्रम ‘सुन्दर र आकर्षक देखिने हावाले भरिएको, रंग विरंगले भरिएको बेलुन जस्तो देखिएको’ बताए ।

    प्रदेश सरकारले बजेट ल्याउँदा प्रदेशको औचित्य स्थापना हुने गरी ल्याउन आग्रह गर्दै भने–‘सरकार देखिने, खोजिने र भेटिने अवस्थामा छैन । त्यसैले अब निर्वाचनमा जाँदा प्रदेशको औचित्य स्थापनाका निमित्त ठोस कदम चाल्नु पर्दछ र हामी पनि प्रतिपक्षीका नाताले सहयोग गर्छौं ।’

  • लुम्बिनीको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

    लुम्बिनीको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल

    रुपन्देही । लुम्बिनी प्रदेश सभामा जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजदेखि छलफल शुरु हुने भएको छ ।

    आज दिउँसो १२ बजेदेखि बस्ने बैठकको शुरुमा मुख्यमन्त्री शंकर पोखरेलले सभामा प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम टेबुल गर्ने, नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेशसभाको तर्फबाट प्रदेश प्रमुखलाई धन्यवाद ज्ञापन गर्ने र त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्ने कार्यसूचि रहेको छ ।

    जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रममा विपक्षी दलहरुका सांसदहरुले बहिस्कार गरेकाले आजको छलफल कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन सत्ता पक्ष र विपक्षी दलहरु अहिले आफ्नो आफ्नो तयारीका लागि जुटेका छन् ।

    आजको छलफलमा सहभागी हुने र आफ्नो धारणा प्रदेशसभामा राख्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताइन् । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले कार्यसूची अनुसार नै आजको प्रदेशसभामा नीति तथा कार्यक्रममा छलफल हुने बताए ।

     

  • वाग्मति सरकारको ६५ पेजको नीति-कार्यक्रमः कोभिडमा केन्द्रित हुने अठोट

    वाग्मति सरकारको ६५ पेजको नीति-कार्यक्रमः कोभिडमा केन्द्रित हुने अठोट

    काठमाडौं । वाग्मति प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाइले ६५ पेज लामो नीति तथा कार्यक्रम वाचन गरे, जसमा १७४ बुँदा छन् ।

    केन्द्रीय सरकारको नक्कल गरिएको नीति तथा कार्यक्रममा कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र खोप व्यवस्थापनमा सरकार केन्द्रित हुन उल्लेख छ । साथै, केही नारामुखी कार्यक्रम पनि समावेश गरिएका छन् ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र केन्द्रीय सरकारले सम्पन्न गरेका पुनर्निमाणका कामहरुको प्रशंसा र धन्यबाद ज्ञापन गर्न शव्द खर्चिइएको छ । कोभिड-१९ विरुद्ध खोप प्रदेशवासीको पहुँचमा पुर्‍याउन ‘प्रदेश प्रमुख कोभिड-१९ खोप कोष’ स्थापना गरी केन्द्रीय सरकारको समन्वयमा अनिवार्य खोपको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

    प्रदेश अन्तर्गतका प्रयोगशाला र अस्पतालमा कोभिड-१९ को पीसीआर परिक्षण निशुल्क गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी कोभिड-१९ बिरुद्धको उपचारलाई प्रभावकारी बनाउन एचडीयु, आइसीयु र भेन्टिलेटरलाई प्रभावकारी बनाइने तथा अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्य भइरहेको उल्लेख छ ।

    कोभिड-१९ विरुद्धको खोपका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई करारमा राख्ने बताइएको छ । त्यस्तै कोभिडका कारण शिक्षण संस्थामा परेको असरलाई कम गर्न ३५९ सामुदायिक माध्यामिक बिद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कोभिड-१९ का कारण बाबुआमा गुमाएका बालवालिकालाई ३ हजारका दरले शैक्षिक तथा सामाजिक भत्ता प्रदान गरिने छ ।

    कोभिड-१९ बाट प्रदेशको अर्थतन्त्र पुनः उत्थानका लागि ‘उत्पादन तथा रोजगारी सृजना गर्न सहुलियत पुर्ण ऋण कर्जा कार्यक्रम’ लाई निरन्तरता दिइने बताइएको छ । त्यस्तै कोभिड-१९ का कारण उत्पादन तथा पर्यटनमा परेको असरलाई न्युनिकरण गर्नका लागि ‘जहाँ प्रविधि, पुँजी र सिप त्यहाँ युवाको हित’ भन्ने नाराका साथ उद्यमशिलता र स्वरोजगार बिकास गर्न प्रविधि हस्तातरण, सहुलितपुर्ण कर्जा, सिपमुलुक तालिम लगायतका व्यवस्था गरिने छ ।

    कोभिड-१९ का कारण रोजगारी गुमाइ गाउँ फर्केका युवालाई ‘मेरो गाउँः उद्यमसहित जित्ने ठाउँ’ भन्ने नाराका साथ भौतिक पुर्वाधार, उद्यमशीलता र रोजगारीका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    त्यस्तै कोभिड प्रभावित पर्यटन तथा उद्योगलाई राहत र विदेशबाट फर्केकाहरुलाई रोजगारीको ग्यारेन्टी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    संघियता कार्यान्वयन भइ प्रदेश सरकार निर्माण भएको ४ वर्ष पुग्दै गर्दा ५८ वटा कानून निर्माण गरिएको सरकारले जनाएको छ । ‘प्रदेश को कानुन सबैले जानुन्’ भन्ने नारासहित प्रदेश कानूनको एकमुष्ट संहिता सहितको अनलाइन पोर्टल निर्माण गरिएको उल्लेख छ ।

    ‘बाग्मती प्रदेश डिजिटल प्रदेश’ भन्ने सोच सहित प्रदेशको योजना अनुमगन, यातायात व्यवस्थापन, सवारी चालक अनुमतिपत्र, बाणिज्य दर्ता लगायका सम्पुर्ण कामलाई डिजिटल प्रणालीमार्फत प्रवाह गरिने उल्लेख छ ।

    प्रदेश प्रहरी ऐन बमोजिम वाग्मती प्रदेश प्रहरी निर्माण गरिने बताइएको छ । प्रदेशका बालवालिका तथा युवालाई ध्यानमा राखेर लागूऔषध दुव्र्यसन, जातीय छूवाछुत, यौनिक तथा घरेलु हिंसा लगायतका सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

    केन्द्रीय सरकारबाट प्राप्त समपुरक र विशेष अनुदानको उचित परिचान गरिने तथा राजस्व चुहावट नियन्त्रण प्रदेश सरकारको प्राथमिकतामा रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

  • प्रदेश २ को नीति तथा कार्यक्रम : प्राथमिकतामा स्वास्थ्य, कृषि तथा रोजगार (पूर्णपाठ)

    प्रदेश २ को नीति तथा कार्यक्रम : प्राथमिकतामा स्वास्थ्य, कृषि तथा रोजगार (पूर्णपाठ)

    जनकपुधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रस्तुत गरे ।

    अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । कोरोनाबाट जोगाउन संघीय सरकारसँग सहकार्य गरी सबै प्रदेशबासीलाई खोपको सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ ।

    कोरोना नियन्त्रण र उपचारका लागि सार्वजनिक नीजि साझेदारीको नीति अबलम्बन गरिनेछ । प्रकोप तथा महामारीबाट हुने मृत्युदर कम गर्न सुविधायुक्त प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रको स्थापना गर्नेछ । प्रादेशिक अस्पताल जनकपुरलाई ५ सय शैयामा सहितको अत्याधुनिक विविशष्टकृत अस्पतालमा स्तरोन्न्ती गरि स्वास्थ्य सेवा उपलब्ध सरकारले घोषणा गरेको छ ।

    महामारी तथा आकस्मिक रोगहरुको उपचारका लागि प्रादेशिक तथा जिल्ला अस्पतालहरुमा विशेष व्यवस्था मिलाइने भनिएको छ । यस्तै प्रदेशको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया तथा सप्तरीको रुपनीमा ट्रमा अस्पताल सञ्चालनमा ल्याउने घोषणा प्रदेश सरकारले गरेको छ ।

    दलित सशक्तिकरण ऐनले व्यवस्था गरेको प्रदेशभित्रका दलित लगायत सीमान्तकृत तथा विपन्न परिवारहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिने घोषणा पनि गरेको छ । गुणस्तरीय प्रयोगशाला सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक भवन, उपकरणसहित आठै जिल्लाका प्रयोगशालाहरुको सुदृढीकरण गरिने भनिएको छ ।

    कोभिड -१९ का कारणले रोजगारी गुमाएका यूवाहरुका लागि ‘मुख्यमन्त्री युवा स्वरोजगार तथा उद्यम विकास’ कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारले घोषणा गरेको छ । गरिबी न्यूनिकरणका लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रदेश अनुकुल परिमार्जन गरी विपन्न परिवारलाई रोजगारीको अवसर सृजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    वैदेशिक रोजगारीबाट फर्केका वा स्वदेशमै उद्यम गर्न उत्साहित यूवाहरुलाई प्रोत्साहन गर्न ‘नवप्रवर्तन कृषि रोजगार तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम’लाई निरन्तरता दिइएको छ । वीरगञ्ज, जनकपुरधाम र राजविराजमा सीप विकास केन्द्र खोल्ने कामलाई अगाडी बढाउनेछ ।

    प्रदेशभित्र रहेका विपन्न दलितहरुलाई लक्षित गरी दलित छात्रवृत्ति र रासन कार्ड योजना कार्यान्वयनमा ल्याइनेछ । यो योजना गत वर्षकै नीति तथा कार्यक्रममा उल्लेख थियो । साथै प्रदेशका डोम, हलखोर, मेस्तर र मुसहर जातिका परिवारलाई जीविकोपार्जनका लागि विशेष प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा पनि गरिएको छ ।

    कृषितर्फ सिँचाई योजनालाई विशेष प्राथमिकता दिइएको छ । कृषि क्षेत्रमा आमधारित साना र मझौला उद्योग तथा सहकारी क्षेत्रका संस्थापनहरुलाई कर र शुल्क छुट, ऋणमा सहुलियतपूर्ण सुविधा तथा साना अनुदान कार्यक्रम संचालन गर्ने भनिएको छ । उखु कृषकहरु र चिनी उद्योगहरुको संरक्षण तथा सम्बद्र्धनका लागि सहजीकरण गर्न विशेष कार्यक्रमको प्याकेज तयार गरी कार्यान्वयण गरिनेछ ।

     

  • प्रदेश-२ मा सरकारले आज सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    प्रदेश-२ मा सरकारले आज सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    जनकपुरधाम । प्रदेश-२ सरकारले आज अगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदैछ । दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    सभामुख सरोज कुमार यादवले आफ्नो पहिचान झल्किने पोशाक लगाएर साढे २ बजे नै प्रदेशसभामा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेका छन् । अगामी वर्षको नीति तथा कार्यक्रम कोभिड-१९ मा केन्द्रित रहने बताइएको छ । अर्थमन्त्री विजय यादवले शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् ।

    जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेर बुधवार राति मात्रै नेपाली कांग्रेसलाई ३ मन्त्री दिएर सकारमा सहभागी गराएको भोलिपल्ट आह्वान गरिएको प्रदेशसभा बैठकमा महन्थ ठाकुर पक्षका सांसदहरु आज सदनमा उपस्थित हुने/नहुने विषयमा अन्योलमा छन् ।

    प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेकाले सदनमा उपस्थित हुने कि नहुने विषयमा छलफल गरिरहेको र केहिबेरमै आवश्यक निर्णय लिने महन्थ ठाकुर पक्षका सांसद परमेश्वर साहले जानकारी दिए ।

    प्रदेशसभामा सत्तारुढ जसपाको ५५ (तत्कालीन समाजवादी पार्टी ३० र तत्कालीन राजपा २५) र नेपाली कांग्रेसका १९ सांसद छन् । तत्कालीन राजपाका ६ सांसद उपेन्द्र पक्षमा लागेका छन् । अहिले महन्थ ठाकुर पक्षमा सभामुखसहित १९ सांसद मात्र छन् ।

    १ सय ७ सदस्यीय प्रदेशसभामा माओवादीका तीन सांसद पदमुक्त हुँदा अब १ सय ४ सदस्य छन् । जसमध्ये माओवादीको ८, नेकपा एमालेका २१ र नेपाल जनता समाजवादी पार्टीका १ सांसद छन् । माओवदी अहिले सरकारमा नआए पनि सहयोग गर्ने बताइएको छ ।

    तत्कालीन राजपाका १९ सांसदले सरकारको नीति तथा कार्यक्रम पास गर्न सहयोग नगरे पनि समस्या हुने छैन । तर नीति तथा कार्यक्रमको विरोध गर्ने आफ्ना सांसदलाई जसपाले कारबाही गर्नसक्नेछ ।

     

  • लुम्बिनीमा नीति तथा कार्यक्रम आज, पारित हुन नदिने विपक्षी गठबन्धनको रणनीति

    लुम्बिनीमा नीति तथा कार्यक्रम आज, पारित हुन नदिने विपक्षी गठबन्धनको रणनीति

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तय छ ।

    प्रदेशसभामा अल्पमतमा रहेको भन्दै सरकारलाई विपक्षीहरूले घेराबन्दी गरिरहेका छन् । प्रदेशसभामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलहरूले नीति तथा कार्यक्रम एवं बजेट पास हुन नदिने रणनीति बनाएका छन् । लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वास प्रस्ताव दर्ता भएलगत्तै संसदको अधिवेशन अन्त्य गरिएको थियो ।

    सरकारका प्रवक्ता वैजनाथ चौधरीले संसदबाटै बहुमतले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने बताए । ‘हामीसँग बहुमत भएकाले हामीले सदनबाटै पारित गर्नेछौँ । संसद छल्ने काम हामीबाट हुँदैन’, उनले भने ।

    विपक्षी गठबन्धन भने सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पास गर्न नदिने रणनीतिमा छन् । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले उनी नेतृत्वको सरकारले ल्याउने बजेट पास गर्न नदिने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खाँनले दावी गरेका छन् ।

    करिब ३८ अर्बको बजेट ल्याउने तयारी

    प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथाममा केन्द्रित रहेर आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने जनाएको छ । त्यसको लागि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षका लागि ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले बजेटको आकारमा केही वृद्धि गरी आगामी वर्षका लागि रकम विनियोजन गर्ने आर्थिक मामिला मन्त्री चौधरीको भनाइ छ ।

    कोरोनाले तहसनहस पारेको आर्थिक क्षेत्र उकास्ने, नयाँ रोजगारी सिर्जना गर्ने दिशामा बजेटको प्राथमिकता रहने उनको भनाइ छ । फजुल खर्च हुन नदिने तर, कृषि, उद्योग एवं पर्यटन क्षेत्रलाई समेटेर आर्थिक विकासमा टेवा पुर्‍याउने खालको बजेट तयार गरेको उनले बताए ।

    गत वर्ष घोषणा गरेका तर कोरोना महामारीका कारण पूरा हुन नसकेको ती आयोजनालाई पूरा गर्ने तथा कृषि क्षेत्रबाट थप रोजगारी सिर्जना गर्न कृषि अनुदानसँगै उपकरण, बजारीकरण आदिका लागि बजेट छुट्याउने उनले बताए ।

  • लुम्बिनी सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउँने

    लुम्बिनी सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउँने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भोलि (मंगलबार) प्रदेशसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

    बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

    चौधरीले लुम्बिनी प्रदेश सरकारको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गर्ने निर्णय भएको बताए । कोरोनाको दोस्रो भेरियन्टपछि १०-१० करोड गरी २० करोड विनियोजन गरिसकिएको उनले जानकारी दिए ।

  • नीति तथा कार्यक्रम यस वर्ष नआउने, बजेट भाषण प्रधानमन्त्री कार्यालयमा

    नीति तथा कार्यक्रम यस वर्ष नआउने, बजेट भाषण प्रधानमन्त्री कार्यालयमा

    काठमाडौं । प्रतिनिधिसभा विघटन भएकाले सरकारले यस वर्ष नीति तथा कार्यक्रम नल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट भने अध्यादेशमार्फत ल्याउने तयारी छ ।

    जेठ १५ गते अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बजेट भाषण गर्ने भएका छन् । दुवै संसदको संयुक्त वैठकमा बजेट भाषण गर्ने परम्परा रहेकोमा यसपाली प्रतिनिधिसभा नरहेकाले वैकल्पिक उपाय अपनाइएको हो । बजेट भाषणभन्दा एक महिना अगाडि नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने प्रचलन पनि यसपाला तोडिएको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो ।

    बजेट भाषणका अन्य प्रक्रियाहरु पनि छाँटिएका छन् । सरकारले संसद विघटन गरी चुनाव घोषणा गरेकाले बजेट निर्माण सम्वन्धी संसदीय प्रकृयाहरु अगाडि बढ्न पाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा रहेकाले पारित नहुने डरका कारण उसले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेन । यसले गर्दा बजेट अगाडी हुनुपर्ने प्रक्रिया तथा छलफलहरु हुन सकेनन् ।

    विपक्षी दलका नेता तथा बिज्ञहरु सरकारले बजेट संसदमा प्रस्तुत नगरेकाले नयाँ कार्यक्रम नसमेट्न दवाव दिइरहेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा संविधानको संघीय आर्थिक प्रणालीका मस्यौदाकार शंकर शर्मा अध्यादेशमार्फत बजेट आउने संविधानमा परिकल्पना नगरिएको बताउँछन् ।

    ‘यसरी संसद विघटन होला र अध्यादेशमार्फत बजेट प्रस्तुत होला भनेर परिकल्पना गरिएन । संविधानसभामा यस बिषयमा खासै प्रश्नहरु पनि उठेका थिएनन्,’ उनले भने,’ सरकारले विगतका नजीर तथा परम्परालाई आधार बनाएर नैतिकता र अनुशासनभित्र रही बजेट प्रस्तुत गर्न सक्छ ।’

    साउनसम्म चालू आर्थिक वर्षको बजेटले खर्च धान्ने भएकाले बजेट प्रस्तुत नगर्दा उचित हुनेमा उनको जोड छ । तर सरकारले बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरिसकेको छ । सरकारले बजेटमार्फत करका दरहरु परिवर्तन नगरे पनि बृद्धभत्ता ५ हजार पुर्‍याउने र सरकारी कर्मचारीको तलवभत्ता बढाउने सम्भावना छ ।

    यस्तो वेलामा सरकारले लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेमा अर्को सरकारले रोक्न नसक्ने शर्माको तर्क छ ।

    ‘सरकारले यो बेला लोकप्रिय कार्यक्रम ल्यायो भने त्यो कार्यान्वयनमा जान्छ, अर्को सरकारले रोक्न सक्दैन । सरकारले सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलव-भत्ता बृद्धि गरिदियो भने त्यो कार्यान्वयनमा जान्छ,’ उनले भने ।

    बर्तमान संविधानमा संसद चाल” रहेको समयमा जारी भएका अध्यादेशले ६० दिनभित्र कानूनी मान्यता नपाएमा स्वत खारेज हुने व्यवस्था भए पनि संसद नरहेको समय अवधि नतोकिएकाले जनुसुकै समयसम्म अध्यादेशले कानूनी मान्यता पाउने कानूनबिद्हरु बताउँछन् ।

    अध्यादेश मार्फत बजेट आएमा त्यसले कानूनी मान्यता पाउन समस्या छैन । देखिन्छ । नयाँ सरकारले भने अध्यादेश मार्फत आएको बजेटलाई निरन्तरता दिन वा नदिने सक्ने अर्थबिद् शर्माको भनाई छ । नयाँ सरकारले पुरक अनुमान पनि प्रस्तुत गर्न सक्ने उनी बताउँछन् ।

    सरकारले संविधानबिपरित बजेट ल्यानलागेको भन्दै सर्वोच्चअदालतमाअन्तिरम आदेशको मागगर्दै रिटहरु दर्ता हुनथालेका छन् ।

    बजेट निर्माण अगाडिका प्रक्रिया

    बजेट प्रस्तुत गर्नभन्दा १ महिना अगाडि नै संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर गत वर्ष प्री बजेट छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।

    नीति तथा कार्यक्रममा सांसदले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि संसदबाट पारित हुने गर्दछ । बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै संसदमा अर्थमन्त्रीले आर्थिक बिनियोजन बिधेयक बजेटको प्राथकिता सिद्धान्त (कर प्रस्तावबाहेक) प्रस्तुत गर्नुपर्ने र यसमा आएका सुझावलाई समावेश गरी विनियोजन बिधेयक पास गर्ने प्रचलन रहेको छ । यसलाई प्री-बजेट छलफल पनि भन्ने गरिन्छ । अर्थमन्त्रीले आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरेपछि मात्रै जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ ।

    बजेट प्रस्तुत गरेपछि लगत्तै बस्ने संसदको बैठकमा आर्थिक बिधेयक प्रस्तुत गर्नुपर्ने कानूनी वाध्यता रहेको छ । आर्थिक बिधेयकमार्फत बजेटले लिएका कार्यदिशा, खर्च तथा आयका स्रोत तथा करका दरमा गरिएका परिवर्तनका विषयमा सदनमा छलफल भएपछि मात्रै बजेट पारित हुने गर्दछ । तर संसद बिघटन गरिएकाले आगामी आर्थिक वर्षको बजेटमा यस्ता कुनै पनि प्रकृयाहरु अपनाइएको छैन ।

    यसै बीचमा सरकारले संसद विघटन गरेर चुनावको घोषणा गरेकाले यो सरकार कामचलाउ बनेको छ । कामचलाउ सरकारले प्रस्तुत गर्ने बजेटमा नयाँ कार्यक्रम समावेश गर्न नमिल्ने जानकारहरुले बताउँदै आएका छन् ।