Tag: निजगढ विमानस्थल

  • खर्च भएको एक अर्ब ११ करोड ‘स्वाहा’, फास्ट ट्रयाकलाई पनि ‘साइड इफेक्ट’

    खर्च भएको एक अर्ब ११ करोड ‘स्वाहा’, फास्ट ट्रयाकलाई पनि ‘साइड इफेक्ट’

    काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश दिएसँगै अहिलेसम्म खर्च भएको एक अर्ब ११ करोड रुपैयाँको क्षतिपूर्ती कसले व्यहोर्छ भन्ने बहस पनि सुरु भएको छ ।

    न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्णइजलासले हिजो उक्त फैसला गरेसँगै यो बहस सुरु भएको हो । अदालतले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र ठाउँ खोज्नसमेत आदेश दिएको छ ।

    वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले उक्त फैसला गरेको हो ।

    निजगढ विमानस्थल परियोजनाका निर्देशक बाबुराम पौडेलले हालसम्म करिब एक अर्ब ११ करोड खर्च भहिसको बताए । हालसम्म यो खर्च सरकारले नै गरेको हो । सरकारले गरेको लगनी खेर गएको छ ।

    हालसम्म विमानस्थलसम्म सडक बनाउने र घेरा लगाउने लगायतको कम भएको थियो । विमानस्थल १९ सय हेक्टर क्षेत्रफलमा बन्ने भनिएको थियो ।

    केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला निजगढ विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाकै रुपमा कम सुरु गरिएको थियो ।

    निजगढ विमानस्थलमा करिब २४ लाख काट्नुपर्ने उल्लेख थियो । सो विमानस्थलको इन्भारोमेन्ट इम्प्याक्ट एसिसमेन्टसमेत सम्पन्न भएको थियो ।

    के होला फास्ट ट्रयाक ?

    निजगढ विमानस्थलसँगै काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) पनि निर्माण भहिरहेको छ । विमानस्थल र फास्ट ट्रयाकसँगै भएकाले एक योजनाले अर्काेलाई सहयोग गर्दै आएका थिए । तर अब निजगढ विमानस्थल भने नबन्ने भएको छ ।

    विमानस्थलका यात्रुलाई सहजा होस् भनेर ट्रयाकको परिकल्पना गरिएको थियो । काठमाडौंमा रहेको विमानस्थलको चापलाई कम गर्न पनि निजगढ विमानस्थल निर्माणको कुरा उठेको थियो । २४ लाख रुख काटेर जंगल मास्दा वातावरण र जनावारलाई समस्या हुने भरेर वातावरणविद्हरुले विरोध गर्दै आएका थिए ।

  • शीर्ष नेतासहित मन्त्री आले निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नरोकिने

    शीर्ष नेतासहित मन्त्री आले निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम नरोकिने

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा नरोकिने बताएका छन्।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित निजगढ पुगेका मन्त्री आलेले हालसम्म भएका कामका प्रगति बुझ्नुको साथै जति सक्दो चाँडो परियोजनाको काम टुंग्याउने गरि योजना बनाइने बताएका हुन् ।

    आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताए ।

    उनले भने, ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउनेछौँ ।’ निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि विभिन्न दलका शीर्ष नेता, मन्त्रीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए ।

    मन्त्री आलेले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरु हुनेसमेत जिकिर गरे । पत्रकारले सोधेका प्रश्नको जवाफमा मन्त्री आलेले भने, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै सुरुआत गर्नेछौँ ।’

    यसैगरी मन्त्री आलेले सरकारले जिटुजीलगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताए । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलको पनि सहमति भएकाले यहाँ जसरी भए पनि विमानस्थल निर्माणको काम सुरु हुने मन्त्री आलेले विश्वास व्यक्त गरे।

    काठमाडौँ पछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले गुरुयोजना तयार भएको र अब चाँडै काम सुरु हुने मन्त्री आलेको दाबी छ ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुनःस्थापना गर्नुपर्ने मुख्य काम रहेकाले बस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ ।

     

  • निजगढ विमानस्थलका लागि टाँगिया बस्ती हटाउन १० अर्ब मुआब्जा लाग्ने

    निजगढ विमानस्थलका लागि टाँगिया बस्ती हटाउन १० अर्ब मुआब्जा लाग्ने

    काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन सरकारले छलफल थालेको छ । विहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीहरूसहितलाई राखेर हालसम्म भएका काम र अबको प्रक्रियाबारे बालुवाटारमा प्रस्तुतिकरणसमेत भएको छ ।

    बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालसमेत सहभागी थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निजगढ विमानस्थल बनाउने प्रक्रियालाई अब अघि बढाइने बताए ।

    उनले सबैभन्दा पहिले टाँगिया बस्ती हटाउन मुआब्जाको प्रक्रिया अघि बढ्ने जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणले टाँगिया बस्ती हटाउन करिब १० अर्ब मुआब्जा दिनुपर्ने प्रतिवेदन पेस गरेको छ ।

    बस्ती हटाइसकेपछिमात्र रुख कटानको प्रक्रिया अघि बढ्ने मन्त्री आलेले बताए । विमानस्थल निर्माणका लागि बजेटको व्यवस्था विशेषगरी मुआब्जाका लागि यसैपटक गरिने र लगानीको मोडालिटीबारे छलफल हुने उनले जानकारी दिए ।

  • निजगढ विमानस्थलको नियतिः मुआब्जामा सकियो ४६ करोड, लगानीकर्ता भेटिएन

    निजगढ विमानस्थलको नियतिः मुआब्जामा सकियो ४६ करोड, लगानीकर्ता भेटिएन

    काठमाडौं । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पदभार सम्हालेलगत्तै सन् २०१९ भित्र निजगढ विमानस्थलको शिलान्यास गर्ने घोषणा गरेका थिए । तर, न विमानस्थलको शिलान्यास भयो, न भट्टराई नै मन्त्री पदमा लामो समय टिके ।

    लामो समयदेखि चर्चाको विषय बन्दै आएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई यो बजेटमा सरकारले पूर्वतयारीका लागि ५० करोड रुपैयाँ छुट्याएको छ । तर, अहिलेसम्म परियोजनामा मुख्य लगानीको स्रोत नै जुटेको छैन । एक खर्ब २४ अर्ब लागत अनुमान गरिएको आयोजनामा सरकारले छुट्याएको ५० करोड भनेको चारो बराबर हो, जुन फुटकर काममै सकिन्छ ।

    सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सुचीकृत गरेको निजगढ विमानस्थलको लागत १ खर्ब २४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । सरकार आफैंले यत्रो पैसा खर्च गर्ने मनसायमा नभएको र विदेशी लगानीकर्ताले शर्त राख्ने गरेकाले पनि समस्या निम्तिएको बताउँछन् नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल ।

    पोखरेलका अनुसार विदेशी लगानीकर्ताले निजगढ विमानस्थल बनाउने हो भने उनीहरुको शर्त नेपाल सरकारले मान्नै पर्ने हुन्छ ।

    ‘विदेशी लगानीकर्ताको एउटै शर्त भनेको उनीहरुले निजगढ विमानस्थल बनाइसकेपछि अहिले त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडान निजगढलाई दिनुपर्ने हुन्छ, त्यो अहिले सम्भव हुने कुरै छैन,’ उनले भने ।

    सरकारले तीन महिनाअगाडि भारतीय कम्पनी ‘सीजी इन्फ्राटावर बीडीए जेबी’लाई बिमानस्थलको गुरुयोजना बनाउन अनुमति दिएको छ । सो कम्पनीले १३ महिनाभित्र गुरुयोजना बनाएर बुझाउने सम्झौता भएको थियो । गुरुयोजना निर्माणको लागत मात्रै २९ करोड ८९ लाख ९० हजार ९ सय रुपैयाँ छ । गुरुयोजना बनाउनका लागि आह्वान भएको बोलपत्रमा १३ कम्पनी सहभागी थिए ।

    निजगढ बिमानस्थलको परिकल्पना सन् १९९५ बाट भएको हो । त्रिभुवन विमानस्थलको विकल्पका रुपमा अघि सारिएको यो अवधारणा अहिलेसम्म कागजमै सिमित छ । सरकारले २०७५ सालको लगानी सम्मेलनमा विमानस्थल निर्माणका लागि सात कम्पनीले इच्छा देखाएका थिए । त्यसमध्ये लगानी बोर्डले ६ वटालाई अयोग्य करार दिइ स्विस कम्पनी जुरिच इन्टरनेसनललाई छनोट गर्यो । तर, जुरिचले एक वर्षसम्म प्रस्ताव नै पेश गरेन । उक्त कम्पनीलाई दिइएको म्याद गत असोजमा सकिएको थियो । त्यसयता कुनै पनि कम्पनीसँग सम्झौता प्रक्रिया अघि बढेको छैन ।

    लगानी स्वदेशी कि विदेशी ?

    आर्थिक बर्ष २०७८/८९ को बजेटमा ‘निजगढ अन्तर्राष्ट्रिय विमनस्थलको विस्तृत परियोजना प्रतिवेदन निर्माण, लगानीको ढाँचा निर्धारण र तदनुरुपको पूर्वाधार विकास एंव सञ्चालनका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता छनोट गरिने’ भनिएको छ । साथै आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण, साइट क्लियरेन्सलगायत विमानस्थल निर्माणको पूर्व तयारीका कार्य सम्पन्न गरिने बजेटमा उल्लेख छ ।

    अहिले विभिन्न सरोकारवाला निकायले यो विमानस्थल स्वदेशी लगानीमै निर्माण हुनुपर्ने माग गरिरहेका छन् । नागरिक उड्डयन प्राधिकरण अन्तर्गत बनिरहेका राष्ट्रिय गौरवको आयोजनाका निर्देशक प्रदिप अधिकारीले साँच्चिकै विमानस्थल निर्माण गर्ने हो भने नेपाल सरकारले नै बनाउनु पर्ने बताए ।

    प्राधिकरणले पर्यटन मन्त्रालय तथा अर्थमन्त्रालयमा नेपालले नै निजगढ विमानस्थल बनाउनु पर्ने प्रस्ताव गरेको निर्देशक अधिकारीको भनाइ छ ।

    ‘हामीले त पटक-पटक नेपाल सरकारलाई भनिसकेका छौं । निजगढ विमानस्थल साँच्चै बनाउने हो भने आफ्नै पूँजीले बनाऔं । अर्काको भर नपरौं । भर पर्दापर्दै २५ वर्ष विते,’ उनले भने ।

    अर्थ मन्त्रालय एक अधिकारी भने बजेटमा जे लेखिएको छ मन्त्रालयको धारणा त्यही हो भनेर पन्छिए ।

    पूर्वतयारीका काम तीब्र

    विमानस्थल निर्माणमै अन्योल भए पनि पूर्वतयारीका काम भने तीब्र गतिमा भइरहेको विमानस्थलका निमित्त आयोजना प्रमुख विजय यादवले बताए । उनका अनुसार अहिले मुआब्जा वितरणको भइरहेको छ ।

    बिमानस्थलभित्र पर्ने स्थानीयको ११० विगाह जमीनमा ६८ विगाह जमीनको मुआब्जा वितरण गरिसकेको यादवले जानकारी दिए । मुआब्जामा मात्रै सरकारले अहिलेसम्म ४६ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

    बिमानस्थलको पूर्व-पश्चिममा रहेको खोलाहरुको तटबन्धनको काम पनि भइरहेको छ । पूर्वमा रहेको बकैया खोला नियन्त्रणका लागि तटबन्धन निर्माणाधिन छ । पश्चिमतर्फ रहेको पसाह खोलाको तटबन्धन भने अहिले विमानस्थलाई चाहिने जति सम्पन्न भएको छ । साथै विमानस्थल वरीपरिका सडक क्लियर गर्ने काम पनि भइरहेको आयोजनाले बताएको छ ।

    अन्य पूर्व तयारीका काम धमाधम भइरहे पनि त्यस स्थानमा रहेका १४ सय ७६ घरधुरी रहेको टाँगिया वस्तीलाई भने आयोजले हटाउन सकेको छैन । आयोजना प्रमुख यादवका अनुसार त्यो वस्तीलाई कहाँ पुनस्थापना गर्ने भनेर पटक-पटक छलफल भए पनि अन्तिम निणर्यमा भने पुग्न नसकेको हो ।

    ‘वस्ती पुनस्थापनाका लागि धेरै मोडालिटीमा कुरा भएका छन् । तर, कुन मोडालिटीमा काम अघि बढ्छ त्यो माथिबाटै निर्णय भएर आउँछ,’ उनले भने ।

    मुद्दाले रुख कटान रोकियो

    विमानस्थल निर्माणका लागि १९ सय हेक्टरमा रहेको जंगलका रुख काट्नु पर्ने हुन्छ । रुख काट्ने काम अहिले रोकिएको छ । २०७५ सालमा नै पर्यटन मन्त्रालयले धावनमार्ग, टर्मिनल भवन बनाउनका लागि पहिलो चरणमा ५ लाख ७५ हजार रुख कटान गर्नुपर्ने भन्दै तत्कालीन मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । सोही वर्षको वातावरणीय मूल्यांकन प्रतिवेदनअनुसार उक्त आयोजनाका लागि कूल २४ लाख रुख काट्नुपर्ने बताइएको थियो ।

    वातावरणविद्हरुले सर्वोच्चमा मुद्दा दायर गरेकाले त्यो मुद्धा किनारा नलागुञ्जेलसम्म रुख कटानको काम भने अघि नबढ्ने यादव बताउँछन् । आयोजनाले त्यहाँ रहेका रुख कटानका लागि नम्बरिङ गर्ने काम गरिरहेको यादवको भनाइ छ । १९ सय हेक्टरमध्ये १९१ हेक्टर जमीनमा रहेका रुख कटानका लागि नम्बरिङको काम सकिएको उनले जानकारी दिए । अन्य रुख कटान गर्नका लागि नम्बरिङ गर्ने कार्यका लागि नयाँ निर्माण खरिद सम्झौता प्रक्रियाद्वारा अघि बढ्ने छ ।

    निजगढ विमानस्थल निर्माणका विषयमा अरु पनि धेरै विवाद छन् । यहाँ विमानस्थल नै बनाउनुहुँदैन भन्ने पनि एकथरि छन् । अर्कोतिर टाँगिया वस्ती स्थान्तरणका लागि कयौ बैठक भए पनि स्थान्तरण भने हुन सकेको छैन् ।

  • निजगढ विमानस्थलको मुआब्जा वितरण

    निजगढ विमानस्थलको मुआब्जा वितरण

    बारा । बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई ४४ करोड मुआब्जा वितरण गरिएको छ ।

    निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले ४४ करोड मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाउँमा फिर्ता लिइसकिएको छ ।

    देशमा कोरोना सङ्क्रमणका कारण नापी तथा मालपोत कार्यालय लामो समयदेखि बन्द रहेकाले मुआब्जा वितरण प्रभावित भए पनि अहिले सो मुआब्जा वितरण भइरहेको दोस्रो विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ ।

    मुआब्जा लिन बाँकी रहेका जग्गाधनीसँग निवेदन लिने कार्य भइरहेको विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताए ।

    मुआब्जा वितरण कार्यअन्तर्गत मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा चार लाख ६० हजार, भित्री सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा दुई लाख ४९ हजार २५० र बाटो नभएको जग्गाको प्रतिकट्ठा दुई लाख चार हजार १५० रुपैयाँका दरले जग्गा धनीलाई मुआब्जा दिने गरेको बताइएको छ ।

    तटबन्ध, मुआब्जा, नदी नियन्त्रण कार्य, विमानस्थल क्षेत्रमा जग्गाको तारबार पसहा तथा दशैया खोलामा तटबन्धलगायतका काममा हालसम्म ८० करोड रुपैयाँ खर्च भइसकेको छ ।

    पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजनाले हालसम्म पूर्व तयारीको काम मात्र गर्न सकेको भए पनि मुख्य काम भने शुरु गर्न नसकिएको बताइएको छ ।

    सङ्घीय सरकारको प्राथमिकतामा रहेको सो आयोजनाको धावनमार्ग निर्माण हुने मध्य भागमा टाँगिया बस्ती रहेकाले सो बस्तीलाई अन्य ठाउँमा हस्तान्तरणका लागि सरकारले वैकल्पिक स्थानको पहिचान र अध्ययन गरिरहेको छ ।

    यसैबीच सो विमानस्थल निर्माणका क्रममा एक हजार ९०० हेक्टर क्षेत्रफललाई १२ वटा कार्य क्षेत्रमा विभाजन गरी वन क्षेत्रभित्र रहेको रुख र विद्युतीय खम्बाको गणना शुरु गरेको छ ।

    पहिलो चरणमा डिभिजन वन कार्यालय बाराले २०० हेक्टर क्षेत्रफलमा रहेको ५७ हजार ३५० वटा खम्बा र रुख काट्नुपर्ने बताइएको छ । वन क्षेत्रभित्र ६० प्रतिशत विद्युतीय खम्बा र ४० प्रतिशत रुख काट्नुपर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।

    सोसम्बन्धी कार्य तीव्र गतिमा भइरहेको विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ ।