Tag: नर्थ मेसिडोनिया

  • नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल

    नेदरल्यान्ड्सको जितमा विनाल्डमको दुई गोल

    काठमाडौं । एक खेल अगावै नक आउटमा स्थान बनाएको नेदरल्यान्ड्सले सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ मेसिडोनियालाई ३-० ले पराजित गर्दै युरो २०२० को पहिलो चरणमा सतप्रतिशत नतिजा निकालेको छ ।

    आम्सटरड्याममा भएको खेलको २४औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले अगाडि रहेको डच टोलीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । नेदरल्यान्ड्सका लागि ५१औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका विनाल्डमले ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

    उनको दोस्रो गोलसँगै बनाएको ३-० को अग्रताको बचाऊ गर्दै नेदरल्यान्ड्सले सहज जित दर्ता गर्‍यो । जितसँगै पहिलो चरणबाट नेदरल्यान्ड्स समूह विजेता बन्दै नक आउटमा पुगेको छ ।

  • नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    काठमाडौं । नर्थ मेसिडोनियाका भेटेरान कप्तान गोरान पान्डेभले युरो २०२० पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पहिलो पटक युरो २०२० मा छनोट भएको नर्थ मेसिडोनियाले युरो २०२० को अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

    ‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल हुनेछ । मलाई लाग्छ- गुडबाइ भन्नका लागि यो उचित समय हो,’ ३७ वर्षीय पान्डेभले नेदरल्यान्ड्सविरुद्धको खेलको अघिल्लो रात भनेका छन् ।

    ‘यो पुस्ता विश्वकपका लागि छनोट हुनेमा म विश्वस्त छु,’ उनले भने, ‘उनीहरूले नर्थ मेसिडोनियाली नागरिकका मुहारमा धेरै खुशी ल्याएका छन् । र, उनीहरू राम्रा क्लबहरूमा खेलिरहेका सक्षम खेलाडी छन् । र, मलाई लाग्छ उनीहरू विश्वकप फुटलब खेल्न हकदार छन् ।’

    इटालियन फुटबलमा आफ्नो करियरको सबैभन्दा धेरै समय बिताएका पान्डेभले २००१ मा नर्थ मेसिडोनियाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । दुई दशक अन्तर्राष्ट्रिय फुटबलमा नर्थ मेसिडोनियाको प्रतिनिधित्व गरेका उनले आफ्नै नेतृत्वमा पहिलो पटक देशलाई ठूला प्रतियोगितामा छनोट गराएका हुन् ।

    गत नोभेम्बरमा जर्जियाविरुद्ध पान्डेभले गरेको गोलले नै नर्थ मेसिडोनियालाई युरो २०२० मा छनोट गराएको थियो । र, यो नै नर्थ मेसिडोनियाले खेलेको पहिलो प्रतियोगिता हो ।

    इटालियन साइड गेनोआका फरवार्ड पान्डेभले विश्वकप छनोटअन्तर्गत जर्मनीविरुद्धको अप्रत्याशित २-१ को जितमा पनि गोल गरेका थिए ।

    पान्डेभले युरो २०२० को पहिलो खेलमा अस्ट्रियाविरुद्ध ३-१ को पराजय बेहोर्दा नर्थ मेसिडोनियाका लागि ठूला प्रतियोगितामा पहिलो गोल गर्ने खेलाडी पनि बनेका थिए । उनी युरोपियन च्याम्पियनसिपको इतिहासमै गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरको खेलाडी पनि बने ।

    युरो २०२० को दोस्रो खेलमा युक्रेनसँग २-१ गोलको नतिजामा पराजित भएसँगै नर्थ मेसिडोनियाले समूह सी पार गरेर नकआउटमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । सोमबार राति नेपाली समयअनुसार ९:४५ बजे सुरु हुने नेदरल्यान्ड्सविरुद्धको खेल पान्डेभका लागि अन्तिम खेल हुनेछ ।

  • नर्थ मेसिडोनियाविरुद्ध डच युवा खेलाडी रायन ग्राभेनबर्चले मौका पाउने

    नर्थ मेसिडोनियाविरुद्ध डच युवा खेलाडी रायन ग्राभेनबर्चले मौका पाउने

    काठमाडौं । युरो २०२० को समूह सीअन्तर्गत सोमबार हुने नर्थ मेसिडोनियाविरुद्धको खेलमा रायन ग्राभेनबर्चले नेदरल्यान्ड्सको सुरुआती-११ मा स्थान बनाउने सम्भावना देखिएको छ । गत सिजन आयाक्सबाट एर्डिभिजीमा २३ खेल खेलेका सेन्ट्रल मिडफिल्डर रायनले तीन गोल र पाँच असिस्ट गरेका थिए ।

    उदीयमान खेलाडीको रूपमा हेरिएका रायनले युरो २०२० मा नेदरल्यान्ड्सले खेलेका सुरआती दुई खेलमा मौका पाएका छैनन । डच सिनियर टोलीमा पहिलो पटक गत मार्चमा बोलाइएका १९ वर्षीय रायनले युरो २०२० को टोलीमा पनि स्थान सुरक्षित गरेका थिए ।

    यद्यपि, युरो २०२० समूह चरणको पहिलो खेलमा युक्रेनविरुद्ध बेन्चमै सीमित भएका रायनले अस्ट्रियाविरुद्धको दोस्रो खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा १६ मिनेट मौका पाए ।

    सुरुआती दुई खेलमा जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गरिसकेको डच टोलीबाट आजको खेलमा उनले मौका पाउने लगभग निश्चित छ । एनओएसको रिपोर्टअनुसार रायनले आजको खेलमा मौका पाउने छन् ।

    आजको खेलमा मौका पाएर प्रशिक्षकको अपेक्षाअनुसार प्रदर्शन गर्नसके उनले प्रि-क्वार्टरफाइनलमा पनि स्थान बनाउन सक्नेछन् । नेदरल्यान्ड्सले अन्तिम-१६ मा समूह डी, ई वा एफमध्ये एक समूहको तेस्रो हुने टोलीसँग खेल्नेछ ।

    नेदरल्यान्ड्सले मेसिडोनियासँग सोमबार राति ९:४५ बजे खेल्दै छ ।

  • युक्रेनसँग नर्थ मेसिडोनिया २-१ ले पराजित

    युक्रेनसँग नर्थ मेसिडोनिया २-१ ले पराजित

    काठमाडौं । युरो २०२० को समूह ‘सी’ अन्तर्गत बिहीबार भएको खेलमा युक्रेनले नर्थ मेसिडोनियामाथि २-१ गोलको नतिजामा जित हासिल गरेको छ । रोमानियामा भएको खेलमा युक्रेनलाई प्रतियोगिताको पहिलो जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल गरे ।

    पहिलो पटक युरो खेलिरहेको नर्थ मेसिडोनियामाथि हाबी बनेको युक्रेनले २९औं मिनेटमा यार्मोलेन्कोले गरेको गोलसँगै अग्रता लिएको थियो । पाँच मिनेटको फरकमा युक्रेनको अग्रता दोब्बर पार्न यारेमचुकले ३४औं मिनेटमा पुन: गोल गरेका थिए ।

    नर्थ मेसिडोनियाका लागि एग्जान एलिवस्कीले ५७औं मिनेटमा एक गोल फर्काएका थिए ।

    निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा पाएको पेनाल्टीमा युक्रेनका रुस्लान मालिनोभ्स्की गोल गर्न असफल भएका थिए ।

    पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको युक्रेनको यो पहिलो जित हो । यस्तै पहिलो खेलमा अस्ट्रियासँग २-० ले पराजित भएको नर्थ मेसिडोनियाले समूह चरण पार गर्न सम्भावना न्युन भएको छ ।

  • युरो २०२०: अस्ट्रियासँग नर्थ मेसिडोनिया ३-१ ले पराजित

    युरो २०२०: अस्ट्रियासँग नर्थ मेसिडोनिया ३-१ ले पराजित

    काठमाडौं । युरो २०२० अन्तर्गत समूह ‘सी’को पहिलो खेलमा अस्ट्रियाले नर्थ मेसिडोनियालाई ३-१ गोलको नतिजामा पराजित गरेको छ ।

    रोमानियाको बुकरेस्टमा भएको खेलको १८औं मिनेटमा स्टेफन लाइनरले गोल गर्दै असेट्रियालाई अग्रता दिलाएका थिए । पहिलो पटक युरोमा छनोट भएको नर्थ मेसिडोनियाका लागि गोरान पान्डेभले ऐतिहासिक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    तर, प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा अस्ट्रियाले दुई गोल थप्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका मिकेल ग्रेगोरिट्स्चले ७८औं मिनेटमा गोल गर्दै पुन: अस्ट्रियालाई अग्रता दिलाएका थिए ।

    निर्धारित समयको अन्तिम मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै अस्ट्रियाका लागि ३-१ को जित सुनिश्चित गरे ।

    जितसँगै प्रतियोगिताको सुखद् सुरुआत गरेको अस्ट्रियाले शुक्रबार नेदरल्यान्ड्ससँग खेल्नेछ भने नर्थ मेसिडोनियाले बिहीबार युक्रेनको सामना गर्नेछ ।

  • युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    युरो २०२० मा आज तीन खेल: ६:४५ मा इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

    काठमाडौं । युइएफए युरो २०२० अन्तर्गत आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ ६:४५ बजे हुने खेलमा इङ्ल्यान्डले विश्वकप २०१८ को उपविजेता क्रोएसियाको सामना गर्दैछ ।

    त्यस्तै, राति ९:४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत अस्ट्रिया र नर्थ मेसिडोनिया भिड्दैछन् । नर्थ मेसिडोनिया पहिलो पटक युरोमा छनोट भएको हो । यसअघि १९६० देखि १९९२ सम्म मेसिडोनिया युगोस्लाभियामै गाभिएको थियो । तर, स्वतन्त्र भइसकेपछि भने पहिलो पटक ठूलो प्रतियोगितामा छनोट भएको हो ।

    राति १२:४५ बजे हुने समूह ‘सी’ कै दोस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेन भिड्दैछन् । १९८८ मा च्याम्पियन बनेको नेदरल्यान्ड्सले त्यसपछि सेमिफाइनल पार गर्न सकेको छैन । २०१६ मा फ्रान्समा भएको पछिल्लो संस्करणमा नेदरल्यान्ड्स छनोट हुन सकेन ।

    गत संस्करणको समूह चरणबाटै बाहिरिएको युक्रेन आजको यसपटक नेदरल्यान्ड्सविरुद्ध सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिँदैछ ।