Tag: नरोत्तम वैद्य

  • नरोत्तम वैद्यलाई मुद्दा चलाइएकोमा वागमती कांग्रेस संसदीय दलको आपत्ति (भिडियो)

    नरोत्तम वैद्यलाई मुद्दा चलाइएकोमा वागमती कांग्रेस संसदीय दलको आपत्ति (भिडियो)

    काठमाडौं । वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएकोमा भन्दै नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।

    वागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलिपल्ट जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन अनुरोध गरेका थिए ।

    वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरेको भन्दै नेकपा (एमाले) मकवानपुरको भ्रातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेका छन् । कांग्रेस वागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरीत भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको जनाएको छ ।

    प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्दा दर्ता भएको प्रति आपत्ति जनाए । उनले भने, ‘युवा संघको एउटा व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरी, जायरीको आधारमा दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति हाम्रो घोर आपत्ति छ । संविधान, कानुन, मुलुकको संसदीय मर्यादाको बर्खिलापमा गरिएको दर्ताप्रति हाम्रो घोर आपत्ति छ । यस्तो किसिमले दर्ता गरेर कानुनी कारबाही अगाडी बढाउन नमिल्ने कुरालाई जुन ढंगले बढाइयो यसप्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको छ । यसलाई तत्काल फिर्ता लिने काम भएन, यसलाई अगाडी बढाइयो भने नेपाली कांग्रेस संसदीय दल प्रदेशसभामा यसको डटेर प्रतिवाद गर्नेछ र जुनसुकै मुल्य चुकाउन पनि तयार छ ।’

    कांग्रेसले नरोत्तम वैद्यमाथि मुद्धा चलाउनु गैर संवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनैपनि निकायलाई अधिकार नभएको बताएको छ । मुद्दा तत्काल फिर्ता लिन भन्दै कांग्रेसले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

     

  • नरोत्तमको क्षमायाचना विज्ञप्तिमा कसरी मिसिइन् सांसद जीवन डंगोल ?

    नरोत्तमको क्षमायाचना विज्ञप्तिमा कसरी मिसिइन् सांसद जीवन डंगोल ?

    काठमाडौं । प्रदेशसभामा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका प्रदेश सांसद नरोत्तम वैद्यले आज क्षमायाचना विज्ञप्ति जारी गरे । सामाजिक सञ्जालमा भने विज्ञप्तिको लेटरहेड चर्चामा छ ।

    लेटरहेडमा नरोत्तम वैद्यसँगै अर्को नाम पनि भएकाले धेरै व्यक्तिहरु अल्मलिएका छन् । वायाँपट्टि नेपालीमा नरोत्तम वैद्य भनेर लेखिएको छ भने दायाँपट्टि अंग्रेजीमा जीवन डंगोल लेखिएको छ । नाममुनिका विवरणहरु भने एउटै छन् ।

    दुवैको नाममुनि बाग्मती क्षेत्र नं. ४ ९१० का प्रदेशसभा सदस्य लेखिएको छ । कतिपयले ठाने, नरोत्तम वैद्यको नेपाली र अंग्रेजी नाम फरक-फरक रहेछन् । तर, यथार्थमा जीवन डंगोल अर्कै व्यक्तिको नाम हो । उनी बाग्मती प्रदेशकी समानुपातिक सांसद हुन् । 

    यस विषयमा वैद्यलाई प्रश्न गर्दा उनले हतारमा विज्ञप्ति जारी गर्दा गल्ति भएको बताए । वैद्यका अनुसार जीवन डंगोलको लेटरप्याड प्रयोग गरेर उनले विज्ञप्ति जारी गरेका थिए ।

    तपाईंको चैं आफ्नो लेटरप्याड छैन ? भन्ने प्रश्नमा उनले भने, ‘मेरो लेटरप्याड ब्यागमा थियो । त्यही भएर जीवन डंगोलजीको अस्थाइ लेटरप्याड प्रयोग गर्दा उहाँको नाम हटाउन बिर्सिएछ । हतारको काम लतरपतार भनेको यस्तै हो ।’

    क्षमायाचना विज्ञप्तिमा नाम आएकोमा डंगोलको आपत्ति नरहेको वैद्यले बताए । ‘डंगोलजी मसितै हुनुहुन्छ । उहाँले केही गुनासो गर्नुभएको छैन,’ वैद्यले भने ।