Tag: धुर्मुस-सुन्तली फाउण्डेसन

  • धुर्मुसलाई अर्थमन्त्रीको आश्वासन- निराश नहुनू, रंगशालालाई बजेट आउँछ (भिडिओ)

    धुर्मुसलाई अर्थमन्त्रीको आश्वासन- निराश नहुनू, रंगशालालाई बजेट आउँछ (भिडिओ)

    चितवन । अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सक्रिय सिताराम कट्टेल ‘धुर्मुस’ लाई निराश नहुन आग्रह गरेका छन् । धुर्मुसले रंगशाला निर्माणमा बजेट अभाव भएको र १७ करोड ऋण लागेको सामाजिक सञ्जालबाट बताएका थिए ।

    ‘सरकार नकारात्मक छैन, बजेट बनाउने अवधिमा बजेट आउँछ, निराश नहुनू ‘, धुर्मुसलाई निराश नबनी अगाडि बढ्न आग्रह गर्दै भरतपुर विमानस्थलमा पत्रकारसँग अर्थमन्त्रीले भने, ‘रंगशाला निर्माणको अभियान चल्यो, धुर्मुस-सुन्तली फाउन्डेसनले साहसिक काम अगाडि बढाएकोमा प्रशंसा गर्न चाहन्छु ।’

    कलाकारहरूले महत्वपूर्ण योजना सार्नु राज्यका लागि चुनौती भन्दै अर्थमन्त्री शर्माले रंगशाला निर्माणलाई पूर्णता दिइने दाबी गरे । २०७५ माघदेखि निर्माण सुरु भएको रंगशाला २ वर्षमा निर्माण सक्ने भनिए पनि बजेट अभावले रोकिएको छ ।

    भरतपुर-१६ स्थित रामपुर क्याम्पसको २० विघा ६ कट्ठामा रंगशाला निर्माणाधीन छ । जनस्तरबाट करिब ३ अर्ब ५५ करोड संकलन गर्ने गरी रंगशाला निर्माणको घोषणा गरिएको थियो ।

     

  • मेची-महाकाली अभियानमा निस्कियो धुर्मुसको टोली

    मेची-महाकाली अभियानमा निस्कियो धुर्मुसको टोली

    काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमजनतालाई भावनात्मकरुपमा जोड्ने उद्देश्यले यसका मुख्य अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’सहितको टोली मेची–महाकाली अभियानमा निस्केको छ ।

    रंगशाला निर्माणकोे अवस्थाबारे घर-घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने यस अभियानको उद्देश्य रहेको धुर्मुसले बताएका छन् ।

    आज बिहान निर्माणाधीन रंगशाला परिषरबाट टोली कञ्चनपुरतर्फ प्रस्थान गरेको हो । मेचीदेखि महाकालीसम्मका ७७ वटै जिल्लामा पुग्ने टोलीको लक्ष्य छ । जसअनुसार पहिलो चरणको यात्रा कञ्चनपुरबाट सुरु हुने छ । १० र ११ गते कञ्चनपुरमा बिताएपछि १२ र १३ गते कैलाली, १४ र १५ गते बर्दिया, १६ र १७ गते बाँके, १८ र १९ गते दाङ, २० र २१ गते सुर्खेत, २२ र २३ गते कपिलवस्तु जाने कार्यक्रम छ । यसैगरी २६ र २७ गते परासी र नवलपुरमा बिताएर पहिलो चरणको यात्रा अन्त्य गरिने छ ।

    मेची–महाकाली यात्राका क्रममा सम्वन्धित जिल्लामा रहेका स्थानीय तहहरुका साथै जनताको घरदैलोमा पनि पुग्ने धुर्मुसले बताए । स्थानीय तहहरुलाई यसबारे पहिल्यै पत्राचार गरिसकिएको उनले जानकारी दिए ।

    ‘धेरै दिदीबहिनी दाजुभाइहरु रंगशालाको विषयमा जिज्ञासा भएर पनि टाढा भएकाले स्पटमा पुग्न सक्नुभएको हुँदैन, उहाँहरुलाई यो रंगशालासँग जोड्नका लागि पनि यो अभियान थालेका हौ,’ धुर्मुसले भने ।

    धुर्मुसका अनुसार पहिलो चरणको यात्रा समाप्त भएपछि टोली रंगशालामा फर्किने छ । केही दिन रंगशालामा विश्राम गरेपछि दोस्रो चरणको यात्रा आरम्भ गरिने उनले जानकारी दिए । भ्रमण टोलीमा धुर्मुसका साथमा अर्जुन घिमिरे ‘पाँडे’, निगम हुमागाईं, अर्जुन भुषाल लगायत छन् ।

    ‘यो यात्राका क्रममा हामी पश्चिम महाकाली नदी, पूर्व मेची नदी तथा लुम्बिनीको माटो ल्याएर वैशाखमा रंगशालाको मैदानको पीचमा त्यसलाई समाहित गर्नेछौं,’ फेसबुक लाइभमा आएका धुर्मुसले बताए ।

    धुर्मुस मेची–काली अभियानमा रहँदा पनि रंगशाला निर्माणको काम भने रोकिने छैन । धुर्मुसको अनुपस्थितिमा कुञ्जना घिमिरे सुन्तलीले त्यहाँको जिम्मेवारी सम्हाल्नेछिन् ।

    अहिले रंगशालामा २ सय ८६ वटा पिल्लरहरु उठिसकेका छन् । नयाँ वर्षको अवसरमा पहिलो चरणको प्याराफिट तयार हुने अपेक्षा लिइएको धुर्मुसले बताए ।

  • ललितपुर महानगरपालिकाले गौतमबुद्ध रंगशालालाई दियो २० लाख

    ललितपुर महानगरपालिकाले गौतमबुद्ध रंगशालालाई दियो २० लाख

    काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

    महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

    प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकाेमा धुर्मुस-सुन्तलीको प्रशंसा गर्दै सो रंगशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले भने, ‘आउँदो १४ महिनामा रंगशाला निर्माणको काम पूर्ण रूपमा सम्पन्न गर्ने विश्वास लिएका छौं । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ ।’

    सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रंगशालामा ७७ जिल्लाका नाममा फरक-फरक कक्ष निर्माण हुनेछन् ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रंगशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पुर्‍याएको जनाए ।

    रासस

  • रंगशाला निर्माण सहयोगार्थ खेलाडी र कलाकारबीचको च्यारिटी क्रिकेट आज

    रंगशाला निर्माण सहयोगार्थ खेलाडी र कलाकारबीचको च्यारिटी क्रिकेट आज

    काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको रामपूरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोगका लागि खेलाडी र कलाकारबीचको च्यारिटी क्रिकेट खेल आज हुँदैछ ।

    भरतपुर महानगरपालिका–१४ स्थित निर्माणस्थलमा रहेको नमूना मैदानमा हुने खेल बिहान १० बजेदेखि सुरु हुनेछ । च्यारिटी खेलको आयोजना कृष्मा ब्रोडकास्टिङले गरेको हो ।

    खेलका लागि ४५ जना कलाकार तथा खेलाडीको टोली हिजै चितवन पुगिसकेको छ । हरि खड्का, दीपक विष्ट, संगीना बैद्य, विनोद भण्डारी, रेश्मा भण्डारी, मण्डेकाजी श्रेष्ठ, सदिना श्रेष्ठ लगायतका फरक फरक खेलका स्टार खेलाडीहरु चितवन पुगेका छन् ।

    कलाकारहरुका तर्फबाट सन्दीप क्षेत्री, दयाहाङ राई, रामकृष्ण ढकाल, बद्री पंगेनी, प्रकाश सपुत, प्रमोद खरेल, मिस नेपाल श्रृंखला खतिवडा लगायतको सहभागिता रहनेछ ।

    धुर्मुस ए र बी तथा सुन्तली ए र बी गरी चार टोली बनाएर १० ओभरको खेल खेलाडइनेछ । दुइ खेलको विजेता टोलीबीच आजै फाइनल खेल पनि हुने कार्यक्रम तय भएको धुर्मुस सुन्तली फउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

    कार्यक्रम स्थलमा आर्थिक सहयोग संकलन कार्यक्रम पनि छ ।