काठमाडौं । कोरोनाभाइरस महामारीपछि नेपाली फिल्मले हाइव्रिड मोडेलको वितरण प्रणाली आत्मसात गरेको छ । यसो भन्नुको अर्थ फिल्म हल र डिजिटल प्लेटफर्ममा एकसाथ रिलिज हुनु हो ।
सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) फिल्म ‘म त मर्छु कि क्या हो’ आधादर्जन ओटीटी प्लेटफर्मबाट विश्वब्यापी रिलिज हुने भएको छ । फिल्मको डिजिटल अधिकार खरिद गरेको ए-८ फिल्मले एक महिनाभित्र फिल्मलाई रिलिज गर्न लागेको हो ।
सेन्टी-भाइरसपछि धुर्मुस–सुन्तलीको यो अर्को फिचर फिल्म हो । यसको लेखन एवं निर्देशन र निर्माण पनि धुर्मुस सुन्तली गरेका हुन् । धुर्मुस-सुन्तलीको मुख्य भूमिका रहेको फिल्ममा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोलको अभिनय छ ।
सामाजिक कथावस्तु समेटिएको फिल्मलाई एक महिनाभित्र सुविसी, ओहोमूभिज, वल्र्डलिंक, डिसहोम, नेपाल टेलिकम र एनसेलका प्लेटफर्ममा रिलिज गरिने भएको छ । भाइरस महामारीअघि धुर्मुस–सुन्तलीको सेन्टी भाइरस रिलिज भएको थियो ।
काठमाडौं । कलाकार दम्पत्ति धुर्मुस-सुन्तलीको पहलमा निर्माण भैरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गर्न सरकारले पहल गर्ने भएको छ ।
सोमबार संचारमन्त्री पार्वत गुरुङसँगको भेटपछि नेपाल प्रेससँग कुरा गर्दै धुर्मुसले उक्त जानकारी दिएका हुन् । ‘रंगशालालाई गौरवको परियोजनामा राख्न सरकार सकारात्मक रहेको मन्त्रीज्यूले वचन दिनुभयो’ धुर्मुसले भने, ‘सरकार आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।’
गौरवको परियोजनामा राख्नका लागि मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव लैजाने जानकारी समेत दिएको उनले बताए । साथै नेपाल प्रेससँग कुरा गर्दै मन्त्री गुरुङले धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको रंगशालालाई सहयोग गर्न सरकार तयार रहेको र यसबारे चाँडै केही निर्णय हुने जनाए ।
मन्त्री गुरुङलाई भेट्न अभिनेता समेत रहेका सीताराम कट्टेल ‘धुर्मुस’ सोमबार चितवनबाट काठमाडौं आइपुगेका थिए । अहिले चितवनमा रंगशालाको निर्माण कार्य भैरहेको छ ।
काठमाडौं । सामाजिक अभियानमा सक्रिय जोडी धुर्मुस-सुन्तली अब अभिनयमा पनि कमब्याक गर्ने भएका छन् । धुर्मुसले वेब-सिरिज ‘म त मर्छु कि क्या हो’ मार्फत अभिनयमा फर्कने जनाएका छन् ।
उक्त सिरिजको फस्टलुक पोस्टरसमेत उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सामाजिक कथावस्तुमा निर्माण हुने सिरिजको पहिलो एपिसोड चाहिँ झन्डै २ घन्टा लामो हुने धुर्मुसले जनाए ।
पोस्टरको सुरुमै धुर्मुस–सुन्तली ब्याक अगेन स्लोगन राखिएको छ । सिरिजको लेखन एवं निर्देशन पनि धुर्मुस–सुन्तलीले नै गर्ने भएका छन् । सिरिजमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदीप राई लगायतको अभिनय हुनेछ ।
सिरिजलाई आफ्नै युट्युव च्यानलमार्फत रिलिज गर्ने तयारी धुर्मुसको छ । धुर्मुसले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ लकडाउनअघि रिलिज भएको थियो । अहिले भरतपुरमा गौतमबद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा उनीहरु सक्रिय छन् ।
चितवन । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सक्रिय धुर्मुस-सुन्तली अचेल चुपचाप छन् । यो मौनताका पछाडि आश्वासन,धोखा र आशावादीताका अनेक आयाम होलान् । तर निस्वार्थ एउटा महाअभियानमा लागेको धुर्मुसले मुख नखोले पनि भावभंगीबाट बुझ्न सकिन्छ–सोचे झैं रैनछ ..।
आजसम्म धुर्मुसले मुख खोलेका छैनन् र खोल्न पनि चाहादैनन् तर यो महाअभियानमा फाउण्डेसनलाई ‘गम्भीर धोका’ चाहिँ भएकै छ । रंगशाला निर्माण महाअभियानमा सहयोगको कबोल गरेकाहरुले लामो समयसम्म रकम उपलब्ध नगराउँदा रंगशाला निर्माणको काममा प्रत्यक्ष असर परेको छ ।
गत वर्षको माघमा रंगशाला निर्माणका लागि आयोजना गरिएको धनधान्याचल महायज्ञमा सरकारी र गैरसरकारी क्षेत्रका दाताहरुले ७० करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका थिए । नेपालकै शानका रुपमा रहने सो रंगशाला निर्माणको कामले तीव्रता पाइरहँदा सहयोग घोषणा गर्ने अधिकांश सम्पर्कविहीन छन् । ७० करोडमध्ये हालसम्म ९ करोड रुपैयाँ मात्रै फाउण्डेसनको हातमा परेको छ ।
महायज्ञका बेला सहयोग घोषणा गरेर सम्मान थापेका दाताहरुले बेलैमा सहयोग उपलब्ध नगराएका कारण रंगशाला निर्माण अभियानलाई ‘गम्भीर धोका’ भईरहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले यद्यपी अहिलेसम्म यो कुरा बोलेका छैनन् ।
बजारबाट उधारोमा सामान ल्याएर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने अवस्था छ । हाल फाउण्डेशनले १० करोड जतिको निर्माण सामाग्री उधारोमा ल्याएर रंगशालाको प्याराफिट निर्माण गरिरहेको छ । रंगशाला परिसरमा बनेको नमूना क्रिकेट मैदानमा राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेको छ । तर अन्तर्राष्ट्रिय रंगशाला निर्माण ‘आर्थिक अभाव’ व्यहोर्नुपर्ने अवस्थामा छ ।
फाउण्डेसनका अनुसार हालसम्म अन्तर्राष्ट्रिय मैदानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २२ लाख लिटर पानी अट्ने ड्रेन बनाइएको छ । ३० हजार दर्शक क्षमताको रंगशालाका स्ट्याण्ड ए र बीका पिल्लहरु तयार भइसकेका छन् । अभावले असर गरेन भने डेढ महिनामा प्यारापिट तयार हुनेछ । त्यस्तै नियमित गतिमा काम जारी रहेको अवस्थामा अबको १५ महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पूर्णरुपमा तयार हुनेछ । यद्यपि त्यसका लागि स्रोतको अभाव हुनुहुँदैन । रंगशाला निर्माणका लागि सरकारी क्षेत्रबाट ५१ करोडभन्दा बढी सहयोग रकम घोषणा भएको थियो । त्यसमध्ये २० प्रतिशत रकम पनि फाउण्डेसनले पाएको छैन ।
रंगशालामा हाल दैनिक ३ सय कामदार काम गरिरहेका छन् । खर्च निरन्तर भएपनि सहयोग घोषणा भएको रकम नउठ्दा रंगशाला निर्माणमा असहजता बढेको छ । फाउण्डेसनका अध्यक्ष कट्टेल दाताहरुले छिट्टै सहयोग रकम उपलब्ध गराउने आशामा छन् ।
‘मलाई विश्वास छ महायज्ञमा गरिएको प्रतिबद्धता सबैले पूरा गर्नुहुनेछ । जेजति कारणले नभ्याउनुभएको भएपनि अब रंगशाला निर्माण अन्तिम चरणमा छ । सबैले बचन पूरा गर्यौ भने रंगशाला बेलैमा तयार हुनेछ’, कट्टेलले नेपाल प्रेससंग भने ।
रंगशाला निर्माणलाई अभावका बीच पनि निरन्तरता दिइएको भन्दै उनले झापामा आफ्नो नाममा रहेको जग्गा बेचेर पनि रंगशाला निर्माण सम्पन्न गर्ने बताए । ‘यो सरकारलाई नागरिकस्तरबाट गरिएको सहयोग छ । रंगशाला निर्माण घोषणा भएदेखि आजसम्म इमानदार प्रयास गरेका छौं । अब त झापामा भएको पैतृक सम्पत्ति बेचेर पनि रंगशाला ठड्याउँछु भन्ने लागेको छ’, कट्टेलले भने ।
रंगशाला निर्माणको कामबारे छलफल गरिरहँदा भावुक हुँदै कट्टेलले झापाको जग्गा बेच्ने कुरा गरेका थिए । तर कबोल भएअनुसारको रकम तत्काल उठ्ने हो भने त्यस्तो कष्ट गर्नुपर्ने छैन ।
रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख र गैडाकोट नगरपालिकाले १ करोड नगद सहयोग गर्ने घोषणा गरेका थिए ।
२८ हजार जना दाताले सहयोग गरेको महायज्ञमा निजी क्षेत्र, संघ संस्था र व्यक्तिगत तर्फबाट १७ करोड ४६ लाख रुपैयाँ सहयोगको घोषणा गरिएको थियो । महायज्ञका दौराना दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
‘सहयोग घोषणा भएपछि सम्मान र प्रचार गरियो । अहिले कबोल भएको रकम प्राप्त भएको छैन’, महायज्ञ आयोजक समितिका एक पदाधिकारीले भने । सहयोग रकम उपलब्ध नगराउने संस्था र व्यक्तिको नाम उपलब्ध गराउन भने उनले अस्वीकार गरे । ‘कबोल गरिएको रकम आउन ढिलो भएको हो तर अहिले हामी नाम भन्दैनौ । ६९ करोड कबोल भएकोमा ९ करोड मात्रै उठेको छ । अधिकांशले दिनै बाँकी छ’, उनले भने ।
जनस्तरको सहयोगबाट रंगशाला निर्माणको घोषणा भएपछि देशविदेशमा रहेका नेपालीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेका थिए । रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेका कारण आर्थिक अभाव नहोस् भन्ने फाउण्डेसनको चाहना हो ।
रंगशालालाई प्रदेश र स्थानीय सरकारले सहयोग गरेपनि संघीय सरकारबाट उल्लेख्य सहयोग भएको छैन । संघीय सरकारमा नेकपा नेता विष्णु पौडेल अर्थमन्त्री भएसंगै रुपन्देहीकै सैनामैनामा गौतम बुद्धकै नामबाट अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई सहयोगको आश्वासन दिइएको छ ।
चितवनमा रंगशाला निर्माणको काममा अहोरात्र खटिइरहेका धुर्मुस सरकारले नगरेपनि जनस्तरबाट रंगशाला बनिछाड्ने बताउँछन् । त्यसका लागि ७७ वटै जिल्लाका नागरिकसंग उनले अनुरोध गरेका छौं ।
‘अन्तर्राष्ट्रिय रंगशालामा ७७ वटै जिल्लाको कक्ष हुनेछ जसले सबै जिल्लाको मान र पहिचान पनि कायम गर्नेछ । त्यसैले सबै जिल्लाबाट सहयोग अभियान चल्यो भने अबको केही समयमै रंगशाला पूर्णरुपमा तयार हुन्छ’, उनले भने ।