Tag: धवलागिरि अस्पताल

  • धौलागिरी अस्पतालमा घटे संक्रमित

    धौलागिरी अस्पतालमा घटे संक्रमित

    बागलुङ । महिना दिनअघि धौलागिरी अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना संक्रमितले भरिभराउ आइसोलेशन शय्या, अक्सिजनको चरम अभाव, ‘आइसीयू’ मा गम्भीर बिरामीको चाप, दैनिकजसो सङ्क्रमितको मृत्युले भयावह भएको थियो ।

    अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह छ । अहिले स्थितिमा क्रमिक सुधार आएको देखिन्छ । संक्रमणपछि अस्पताल आउनेको संख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । ‘पछिल्लो एक सातायता अस्पतालमा आधा संक्रमित घटेका छन्’, प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘दैनिक ३५/४० जनासम्मलाई आइसोलेशनमा राखेर उपचार गर्नुपथ्र्यो, अहिलेको संख्या १५/२० को हारीहारी छ ।’

    बुधबार भने जम्मा १३ संक्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये ‘आइसीयू’मा दुई जना छन् । गम्भीर बिरामी घटेपछि उक्त कक्षमा पनि चाप कम छ । तीन ‘आइसीयू’ शय्या अहिले खाली छन् । ‘वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म कठिन अवस्था झेल्यौँ’, प्रमुख चिकित्सक पोखरेलले भने, ‘अहिले केही सहज छ, संक्रमण र मृत्युदर पनि घट्दो क्रममा छ ।’

    रोकथाम तथा नियन्त्रणका उपाय नअपनाउने र जनसाधारणले पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने पुनः संक्रमण बढ्न गई अवस्था बिग्रने उनको भनाइ छ । अस्पतालले सम्भावित तेस्रो संक्रमणलाई ध्यानमा राखेर पूर्वाधार र व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको छ । बालबालिकाका लागि छुट्टै आइसोलेशनकक्ष बनाउन गण्डकी प्रदेश सरकारलगायत सरोकार भएका पक्षसँग समन्वय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । अस्पताललाई थप मानव संशाधन, चिकित्सा उपकरण/सामग्रीसहित भौतिक संरचनाको खाँचो रहेको उनको भनाइ छ ।

    न्यून चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकका भरमा अस्पताल महामारीसँग सङ्घर्षरत छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि स्रोत साधनको कमी छ । कोरोनाको दोस्रो लहरयता अक्सिजनको अभाव व्यहोरेको यस अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्रक्रिया थालिएको छ ।

    सङ्घ सरकारको लगानीमा बन्ने प्लान्टका लागि बोलपत्र टुङ्गिइसकेकाले अब सम्झौता हुन मात्र बाँकी छ । डेढ सय जति अक्सिजन सिलिण्डर पनि जोहो गरिएको अध्यक्ष रानामगरले बताए । आउने जुनसुकै अवस्थाका लागि अस्पताललाई तयारी हालतमा राख्नुपर्ने उनको भनाइ छ ।

    संक्रमणको चक्र तोड्न अहिले गाउँ-गाउँमा एन्टिजेन परीक्षण भइरहेको छ । जसका कारण परीक्षणको दायरा पनि बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै एक हजार छ । ९ सय बढी संक्रमित होम आइसोलेशनमा छन् । लक्षणले च्याप्दै गएर स्वास्थ्यमा समस्या देखिएका संक्रमित मात्र अस्पताल आउने गरेका छन् । अस्पताल आएकामध्ये पनि अधिकांश सामान्य उपचारबाट निको हुन्छन् । श्वासप्रश्वासमा समस्या आइ बिरामीको अवस्था गम्भीर बनेमा ‘आइसीयू’ र भेण्टिलेटरमा राखेर उपचार गरिन्छ । हालसम्म यहाँका चार हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । यहाँ कोरोनाका कारण ४६ जनाले ज्यान गुमाएका छन् ।
    -रासस

  • उपकरण अभावमा खेर जाँदै धौलागिरी अस्पतालको अक्सिजन

    उपकरण अभावमा खेर जाँदै धौलागिरी अस्पतालको अक्सिजन

    बाग्लुङ । कोरोनाको दोस्रो लहरले नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढाएपछि अक्सिजन अभाव खड्किएको समाचार आइरहेका सन्दर्भमा बागलुङको अक्सिजन प्लान्टमा उत्पादित अक्सिजन भने उपकरण अभावमा खेर गइरहेको पाइएको छ ।

    धौलागिरी अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गरेको छ । प्लान्टमा उत्पादित अक्सिजन सोझै अस्पतालमा रहेका बिरामीको शय्यामा पाइपलाइनबाट पुग्ने भए पनि अक्सिजन सिलिण्डरमा भर्न मिल्दैन ।

    पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादित आधाजस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँगाउँका स्वास्थ्यचौकीमा समेत अक्सिजन चाहिने निश्चित छ ।

    अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने भएको र अहिले मुलुकभर अक्सिजनको समस्या भन्दै समयमै आपूर्ति नभएको सन्दर्भमा धवलागिरि अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन सिलिण्डरमा भर्न सके धेरैको जीवनरक्षाका लागि सहज हुने धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।

    ‘अस्पतालमा विसं २०७६ पुसदेखि अक्सिजन प्लान्टबाटै बिरामीको शय्यामा अक्सिजन पुर्‍याइएको छ तर अक्सिजनको क्षमताअनुसार उत्पादन भएको अक्सिजन खपत भएको छैन‘, अध्यक्ष रानामगरले भने, ‘अहिले कोरोनाका बिरामीलाई अक्सिजन अनिवार्य देखिएपछि नेपालमा अक्सिजन अभाव भएको सुनेको छु, हाम्रोमा अक्सिजन भर्ने व्यवस्था गर्न सके अरु स्वास्थ्यचौकी तथा अस्पतालमा वितरण गर्न सकिन्थ्यो ।’

    ५० शय्याको अस्पताललाई अहिले गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने निर्णयसँगै केही कामसमेत अघि बढाएको छ । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्ने भए पनि उपकरण अभावमा अस्पतालका बिरामीलाई मात्रै भएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी पोखरेलले बताए।

    ‘उत्पादित पूरै अक्सिजन अस्पतालले खपत गरेको छैन, अक्सिजन बिरामीको शय्यामै पुर्‍याइएको छ तर सिलिण्डरमा भर्ने व्यवस्था नहुँदा अन्यत्र पुर्‍याउन कठिन छ’, डा. पोखरेलले भने, ‘अस्पतालमा खपत नभएको समयको अक्सिजन सिलिण्डमा भर्न पाए कोरोना महामारीको समयमा अन्यत्रसमेत अक्सिजन दिन सकिन्थ्यो तर फिलिङ सिस्टम नभएकाले अक्सिजनको कम प्रयोग भएको समयमा अस्पतालको प्लान्टद्वारा उत्पादित अक्सिजन खेर गइरहेको छ ।’ अक्सिजन प्लान्ट ९० लाख ४० हजार रुपैयाँकोे लागतमा गण्डकी प्रदेश सरकारले स्थापना गरेपछि अस्पतालमा अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ तर अस्पताललाई अहिले पनि केही मात्रमा सिलिण्डरकै अक्सिजन आवश्यक परिरहेको भने छ । बिरामीलाई शय्याभन्दा बाहिर ल्याउनुपर्दा, सिफारिस गरी बाहिर पठाउनुपर्दा र हवाई उद्धार गर्दा भने आफ्नै अक्सिजन प्लान्ट भएर पनि केही मात्रामा भने अक्सिजनसहितका सिलिण्डर खरिद गर्नुपर्ने बाध्यता अस्पताललाई छ ।

    ‘अक्सिजन प्लान्ट बन्द गर्न मिल्दैन, चलाउँदा पूरै क्षमतामा चल्छ, कहिले अक्सिजन लगाउनुपर्ने बिरामी धेरै हुन्छन् त कहिले थोरै हुन्छन्, थोरै बिरामी हुँदा बचेको अक्सिजन सिलिण्डरमा भर्न नसक्दा खेर गएको छ’, डा. पोखरेलले भने । उनका अनुसार आफ्नै प्लान्टको अक्सिजन भर्न नसक्दा कहिलेकाहीँ सिलिण्डरको अक्सिजन आवश्यकता हुँदा बाहिरबाट खरिद गर्नुपर्ने परिस्थिति छ । उक्त अक्सिजन प्लान्टमा भर्ने उपकरण ‘फिलिङ सिस्टम’ खरिदका लागि गण्डकी प्रदेशसँग माग गरिरहेको डा. पोखरेलले बताए ।

    अक्सिजन भर्ने उपकरणलाई ३० देखि ५० लाख रुपैयाँ पर्ने बुझ्नमा आएको उनको भनाइ छ । अस्पतालमा प्लान्ट हुनुपूर्व अस्पतालमा निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो । धौलागिरी अस्पतालमा अहिले २५ शय्याको कोरोना वार्ड रहेको छ । अस्पतालमा ११ कोराना सङ्क्रमितको उपचार भइरहेको छ ।