Tag: धनगढी

  • स्थानीय चुनावः धनगढीमा कांग्रेस विरासत भत्काउने रणनीतिमा एमाले

    स्थानीय चुनावः धनगढीमा कांग्रेस विरासत भत्काउने रणनीतिमा एमाले

    कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । आउँदो ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचनका लागि अहिले विभिन्न दलहरूमा सम्भावित उम्मेदवारहरूले टिकटका लागि दौडधुप सुरु गरेका छन् । यसअघि धनगढीमा प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

    मेयरमा नृप वड र उपमेयरमा सुशीला भट्ट विजयी भएका थिए । मेयरमा विजयी वडले १४३२४ मत प्राप्त गरेका थिए । मतगणनाको सुरुवातमा अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल २७९७ मतले पराजित भएका थिए । उपमेयरमा विजयी भट्टले १७४०८ मत पाएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारले १२७६३ मत ल्याइन् ।

    अहिले नेपाली काँग्रेसले पुनः जित्ने दाबीसहित सम्भावित उम्मेदवारहरू दौडधुपमा छन् । झिनो मतान्तरले पराजित भएका हमाल यसपटक त्यो अवस्था हुन नदिने दाबी गर्दै चुनावमा होमिएका छन् ।

    मेयरमा विजयी भए कुनै पनि सेवा सुविधा नलिने घोषणासहित हमालले फागुन १९ गते नै उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीमा पनि सम्भावित उम्मेदवारको खोजी भइरहेको छ ।

    एमालेमा जोशी र चन्दको चर्चा

    नेकपा एमालेबाट कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी र नेता रणबहादुर चन्दलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । दुर्गा जोशी २०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमै पराजित भएका थिए । सो निर्वाचनमा जोशी करिब नौ हजार मत ल्याउँदै चौथो स्थानमा खुम्चिएका थिए । मेयरमा पराजित जोशीलाई सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । उनै जोशी धनगढीको मेयरमा पुनः उम्मेदवार बन्ने दौडधुप गरिरहेका एमाले निकट नेता बताउँछन् ।

    एमालेबाट मेयरका अर्का सम्भावित उम्मेदवार रणबहादुर चन्द हुन् । एमाले कैलालीका सचिव हुँदै उपाध्यक्ष भएका चन्द पौष २७ गते अध्यक्षमा रतन थापासँग ४ मतले पराजित भएका थिए । पार्टीमा लामो समय सम्म योगदान दिएर पनि कुनै अवसर नपाएका कारण उनलाई यस पटक मेयरको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ ।

    कांग्रेसमा वडकै सम्भावना बढी

    नेपाली कांग्रेसबाट मेयरका लागि वर्तमान मेयर नृपबहादुर वडको सम्भावना बढी रहेको छ । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई दुई हजार ७०० मतले पराजित गर्दै नृपबहादुर वड मेयरमा विजयी भएका थिए ।

    धनगढीमा मेयर दोहोरिन चाहे उनी नै सबैभन्दा बलियो उम्मेदवार रहेको काँग्रेस नेताहरू बताउँछन् । त्यसका अलवा उपमेयर सुशीला मिश्र भट्ट र नेता कृष्णबहादुर महराको चर्चा छ ।

    माओवादीमा अधिकारी र ऐरको चर्चा

    नेकपा माओवादी केन्द्रबाट शान्ति अधिकारी र बलबहादुर ऐरलाई मेयरको आकांक्षीका रूपमा चर्चा हुन थालेको छ ।
    शान्ति अधिकारी गत स्थानीय निर्वाचनमा माओवादीबाट उपमेयर पदमा चुनाव लडेकी थिइन् । उनी पराजित भएकी थिइन् । यसै गरी ऐर धनगढी–३ का वडा अध्यक्ष हुन् ।

    नेकपा एसभित्र रेग्मी र भण्डारीको दौडधुप

    नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर पदमा धनगढी नगर अध्यक्ष मदन रेग्मी र व्यवसायी राजेश भण्डारीको नाम समेत चर्चामा छ । लामो समय नेकपा एमालेमा राजनीति गरेका रेग्मी सामाजिक क्षेत्रमा परिचित व्यक्ति हुन् । उनी नेकपा एमाले निकट युवा संघको केन्द्रीय सचिव समेत भएका थिए ।

    अहिले उनी नेकपा एसको नगर अध्यक्ष छन् । केही समय अघि मात्रै एमालेबाट नेकपा एसमा भित्रिएका भण्डारी पनि अहिले आन्तरिक तयारीमा रहेको बुझिएको छ । उनी एमालेमा हुँदा पनि मेयरको आकांक्षीको रूपमा बुझिएको थियो ।

  • मन्त्री प्रेम आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरू

    मन्त्री प्रेम आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल एयरलाइन्सको उडान सुरू

    काठमाडौं । नेपाल वायुसेवा निगमले धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरू गरेको छ ।

    आजदेखि धनगढी विमानस्थलबाट डोटीको दिपायल र बझाङमा उडान सुरू गरेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निगमलाई उडान नियमति गर्न निर्देशन दिएका थिए ।

    मन्त्री प्रेम आलेले बाढी पहिरोले सडक अवरुद्ध भएका पहाडी जिल्लाका जनताको माग र आवश्यकता अनुसार नेपाल एयरलाईन्सले तत्काल डोटी र बझाङमा हवाई सेवा शुरु गर्न लागेको बताए ।

    प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बाढी पहिरो प्रभावित पहाडी जिल्लामा भ्रमणमा भ्रमणमा उच्चस्तरीय टोलीलाई डोटी र बझाङका जनताले हवाई सेवा तत्काल सञ्चालन गर्न आग्रह गरेका थिए । सरकारका तर्फबाट मन्त्री आलेले तत्काल पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता आफूले पुरा गरेको मन्त्री आलेले बताए ।

    दुवै रुटमा नियमित उडान हुने उनले बताए । उनका अनुसार धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडा दर कायम भएको छ ।

    त्यस्तै धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउँदा ३ हजार ८९५ भाडा दर कायम गरिएको भट्टले बताए ।

    बेमौसमी वर्षात्‌सँगैको बाढीपहिरोले पहाडी जिल्लाका राजमार्गहरू अवरुद्ध भएका बेला नेपाल एयरलाइन्सले सुरू गरेको उडानले सहज हुने भन्दै स्थानीय उत्साही भएका छन् ।

  • धनगढीमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

    धनगढीमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

    कैलाली । सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा धनगढीमा एमाले निकट अनेरास्ववियु र युवा संघले राके जुलुस प्रदर्शन गरेको छ ।

    प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि धनगढीमा बिरोध प्रदर्शन गरिएको हो ।

    उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्लासमेत जलाएका छन् । मुख्यमन्त्री कार्यालय अघि उनिहरुले नाराबाजी समेत गरेका थिए ।

  • धनगढीको फर्निचर उद्योगमा आगलागी

    धनगढीको फर्निचर उद्योगमा आगलागी

    कैलाली । कैलालीको धनगढीमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर-४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो ।

    आगलागीबाट उद्योगमा ठूलो क्षति पुगेको अनुमान छ । घटनास्थलमा दमकल आइसकेपनि अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । घटनास्थल आयल निगमको डिपो नजिकै रहेको छ । 

  • थारुलाई ओलीको आश्वासन–प्रचण्डले जात जात भिडाए, म समाधान दिन्छु

    थारुलाई ओलीको आश्वासन–प्रचण्डले जात जात भिडाए, म समाधान दिन्छु

    काठमाडौं । पार्टी विभाजनपछि पहिलो पटक काठमाडौं बाहिर कार्यक्रममा निस्केका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले धनगढी पुगेर प्रचण्ड–माधव नेपाल र भीम रावलको आलोचनामात्र गरेनन्, थारु समुदायका असन्तुष्टि सम्बोधन गर्ने प्रयास पनि गरे ।

    धनगढीको खुलामन्चमा शुक्रवार आयोजित नेकपाको जनसभामा भाग लिन टीकापुरदेखिका थारुहरु पनि ठूलो संख्यामा पुगेका थिए । उनीहरुका कतिपय आफन्त टीकापुर घटनाको घानमा परेर अहिले पनि जेलमा छन् भने कोही भारततिर भागेर बसेका छन् ।

    प्रचण्डहरुको जातीय पहिचानको नाराकै कारण जातजातबीच भिडन्त निम्त्याउन खोजिएको र आफूले जातीय संघीयताको विरोध गरेर संविधान बनाएको अ‍ोलीले बताए । प्रधानमन्त्रीले प्रचण्डलगायतका केही नेता र दलले देशलाई जात जातबीच भिडाएर रुवाण्डा बनाउन खोजेका थिए भने ।

    ओलीले थारु समुदायमाथि सोही क्रममा ज्यादती भएको भन्दै आफूले यो विषयलाई समाधान गर्ने बताए । कन्चनपुरदेखि झापासम्मको भूभाग थारुको भएको भन्दै उनले थारुमाथि अन्याय हुन नदिने बताए ।

    ओलीले भने–पहिले नै अदालती प्रक्रियामा गएकाहरुलाई मुद्दाको किनारा नपुगी अहिले हामीले केही गर्न सक्दैनौं । कतिपय थारु साथीहरु जेलमा छन् । त्यो प्रक्रिया सकिएपछि हामी समाधान दिन्छौं । यो भूमि हामी सबैको साझा हो । थारु यो देशमा मात्रै छन् ।