Tag: द्वारिका नेपाल

  • पत्रकार द्वारिका नेपालको स्मृतिमा प्रेस चौतारी चितवनद्वारा पुरस्कार स्थापना

    पत्रकार द्वारिका नेपालको स्मृतिमा प्रेस चौतारी चितवनद्वारा पुरस्कार स्थापना

    चितवन । प्रेस चौतारी नेपाल चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारीको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भइ निधन भएका प्रेस चौतारी वागमती प्रदेश कमिटी सदस्य नेपालको स्मृतिमा १० हजार राशीको पुरस्कार स्थापना गरेको हो ।

    प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकार तथा योगदान दिने व्यक्तिहरुलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने जानकारी दिए । हाललाई १० हजारबाट सुरू गरिएको पुरस्कार कोष कार्यविधि बनाएर बढाउँदै लैजाने उनले बताए ।

    प्रेस चौतारी चितवनको बैठकले आगामी मंसिर १०, ११ र १२ गते नेकपा (एमाले) को चितवनका हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी चौतारी बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट आउने प्रतिनिधीहरुलाई चितवनको शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, विकास, आदिवासी जनजातीको अवस्था, विभिन्न राजनीतिक महत्वपूर्ण घटनाक्रम, चितवनको पत्रकारिता लगायतका विषय जानकारी गराउने उद्देश्यले चौतारी बुलेटिन निकाल्न लागिएको हो ।

    बुलेटिन प्रकाशनका लागि पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेल, महासंघका पूर्वअध्यक्ष राधेश्याम खतिवडा, पूर्वसचिव नारायणप्रसाद सापकोटा तथा वागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको सम्पादक मण्डल चयन गरिएको छ ।

  • चितवनका पत्रकार नेपालको उपचारको क्रममा निधन

    चितवनका पत्रकार नेपालको उपचारको क्रममा निधन

    चितवन । चितवनका पुराना पत्रकार द्वारिका नेपालको निधन भएको छ । आज विहान काठमाडौंँस्थित ग्राण्डी इन्टरनेशन हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको हो ।

    नेपाल चितवनस्थित कालिका एफएमको बरिष्ठ समाचारबाचक थिए । असोज २५ गते दसैं मनाउन रौतहटको चन्द्रनिगाहपुर जानेक्रममा बाराको निजगढ नजिकै तामागढी जङ्गलमा पुग्दा बिहान ९ः३० बजे अचानक बेहोस भएका थिए ।

    तत्कालै उपचारका लागि एम्बुलेन्सबाट चितवन मेडिकल कलेजमा ल्याएर उपचार थालिएको थियो । चितवनमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौ लगिएको थियो ।

    उनको मष्तिष्कघात भएर निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीका सदस्य समेत हुन् ।

    सन्चारकर्म, साहित्य तथा शिक्षण पेशमा सक्रिय थिए ।  साथै उनी नेपाल गजल मञ्च चितवनका अध्यक्ष थिए । भरतपुर–१० रमाइलो चोकस्थित निवासमा श्रद्धाञ्जली दिएपछि आजै देवघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।