Tag: दार्चुला

  • दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव

    दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव

    कैलाली । भदौ १३ गते आएको बाढीले प्रभावित भएका दार्चुला दुहुका नागरिकहरूलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ ।

    निजाङ खोलामा आएको बाढीले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । घटनाबाट करिब एक सय बढी नागरिक विस्थापित भएका छन् ।

    उनीहरूलाई अहिले प्रदेश सरकारको पहलमा स्थानीय तह र जिल्ला प्रशासनले हेलिकप्टरबाट खाद्यान्न पुर्‍याइरहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

    ‘पहिलो चरणमा दुहूमा खाद्य संकट नहोस् भन्नको लागि ८० क्वीन्टल बढी चामल पठाएको छ,’ मन्त्री जोशीले नेपाल प्रेसलाई भनिन्, ‘अहिले नेपाली सेनाको हेलिकप्टरले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न पुराइरहेको छ । प्रदेश सरकारले यस अघि नै विपद् व्यवस्थापनको लागि रकम दार्चुला पठाइसेको थियो ।’

    प्रदेश सरकारले पठाएको रकमबाट अहिले स्थानीय तहले खाद्यान्न खरिद गरेर बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ ।

    बाढीबाट दूहू वडा नम्बर १ र ५ का ठूलो क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार अहिले ३० घर पूर्ण रुपमा क्षति भएको छ भने ७० घर बस्न नमिल्ने अवस्थामा छ ।

    बाढीले ५ वटा झोलुंगे पुल र एउटा मोटरेवल पुल बगाएको छ । ५ वटा लघु जलविद्युत आयोजना, दुई बिद्यालय र वडा नम्बर १ को कार्यालयमा पनि बाढीले क्षति पुराएको छ ।

    घटना पछि विस्थापित भएका एक सय परिवारलाई सुरक्षित स्थलमा राख्ने बिषयमा पनि छलफल सुरु भएको मन्त्री जोशीले बताइन् ।

    ‘प्रमुख जिल्ला अधिकारीले सय परिवार त्यहाँ बस्न नसक्ने भन्दै प्रतिवेदन तयार गर्दै हुनुहुन्छ’ मन्त्री जोशीले भनिन् ‘हामी उहाँलाई व्यवस्थापन गर्ने विषयमा छलफल सुरु गरेका छौँ । ’

    अहिले बन्थली, नरुली, गुना, सतखोला र सिमारका एक सय परिवार आफन्त तथा विद्यालयमा बसिरहेका छन् । उनीहरुको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेन्ट लगायतका बन्दोबस्तका सामाग्रीहरू समेत पठाइएकोमन्त्री जोशीले बताइन् ।

    ‘पहिलो चरणमा अनुगमनको नाममा हेलिकोप्टरमा पुग्नु भन्दा उहाँहरूलाई आवश्यक पर्ने समाग्रीहरु पुराउन हामीले ध्यान दिएका थियौं,’ उनले भनिन्, ‘अब उहाँहरूलाई दिगो व्यवस्थापन गर्न पहल गर्छौं । ’

    भूमिसम्बन्धी अधिकार प्रदेश सरकारसँग नभएको हुँदा यस बिषयमा संघीय सरकारसँग समन्वय गर्ने उनले बताइन् ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि एक सय परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताए ।

    ‘उहाँहरू आफ्ना घरमा फर्किन सक्ने अवस्था छैन कतिको त घर पनि बाढीले बगायो’ उनले भने ‘विस्थापित सबैको लागि अन्यत्र जग्गा उपलब्ध गराउनु पर्ने देखिएको छ ।’

  • संसदमा एमालेको माग- दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाइयोस्

    संसदमा एमालेको माग- दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाइयोस्

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

    दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठक शुरू हुनासाथ तुइन प्रकरणबारे सरकारले भारतसामू विरोध जनाउनुपर्ने बताएका हुन् ।

    एमाले संसदीय दलको तर्फबाट बोलेका ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।

    तुइन काटिँदा जयसिंह धामी बेपत्ता भएका छन् ।

  • पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानविन गरियोस्

    पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र: दार्चुला घटनाको तत्काल छानविन गरियोस्

    काठमाडौं । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

    दार्चुलाको व्यास गाउँपालिका वडा नं.२ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सीमा बलले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्सर्ना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।

    यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकूलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको उल्लेख गर्दै विद्यार्थीहरूका जायज मागहरू सम्बोधन गरी परीक्षा सूचारु गर्न संगठले माग गरेको छ ।

    यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन् ।

    प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्याइरहेकाले पढाई, बिरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको संगठनले बताएको छ । त्यसैले  उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन् ।

  • दार्चुलामा नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु

    कैलाली । दार्चुलामा नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको अपि हिमाल गाउँपालिकामा मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधीन पर्खाल भत्किएको हो ।

    पर्खाल भत्किँदा मार्मा गाउँपालिका १ पाकुका ४५ वर्षीय बल्देव महरा र अपि हिमाल गाउँपालिका–६ मज्जेकी ४० बर्षिया गोमती धामीको मृत्यु भएको हो । उनीहरु कामदार रहेको प्रहरीले जनाएको छ ।

    घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    ‘प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुग्दै छ’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले भने, ‘कसरी घटना भयो भन्नेबारे त्यसपछि बाहिर आउँछ ।’

  • दार्चुलामा पहिरो जाँदा महाकाली नदी थुनियो, सचेत रहन प्रशासनको आग्रह

    दार्चुलामा पहिरो जाँदा महाकाली नदी थुनियो, सचेत रहन प्रशासनको आग्रह

    काठमाडौं । दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण महाकाली नदी थुनिएको छ । नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय जनतालाई सचेत गराएको छ ।

    जिप्रका कञ्चनपुरले सूचना प्रकाशित गरी महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । जिप्रकाले स्थानीयवासीलाई सतर्क रहन माइकिङ पनि गरिरहेको छ ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले स्थानीय तहलाई पनि यस विषयमा जानकारी गराइएको बताए । वर्षायाममा जस्तो धेरै ठूलो जोखिम नरहेको उनको भनाइ छ ।