Tag: दसैँ

  • आयो दसैं ढोल बजाइ, गयाे दसैं ऋण बोकाइ !

    आयो दसैं ढोल बजाइ, गयाे दसैं ऋण बोकाइ !

    काठमाडौं । यस वर्षको बडा दसैं सकिएको छ । नेपालीहरुको सबैभन्दा ठूलो यो चाडका अनेक आयामहरु छन् । जसमध्ये अर्थतन्त्रमा पार्ने प्रभाव पनि एक हो ।

    दसैं, तिहार र छडपर्व लगायतका चाडपर्वहरुमा नेपालीले अत्यधिक वस्तु तथा सेवाको उपभोग गर्छन् । वर्षभरी रकम जोहो गरेर, त्यसबाट नपुग्नेले ऋण गरेर भए पनि खुशीयालीपूर्वक दसैं मनाइन्छ । तर, जब दसैं सकिन्छ, त्यसको हिसाबकिताब सल्टाउन धेरै समय लाग्छ । त्यसैले त उखानै बनेको छ- ‘आयो दसैं ढोल बजाइ, गयौं दसैं ऋण बोकाइ ।’

    हरेक परिवारलाई दसैंले आर्थिक दवाव थोपर्छ नै । परिवारलाई मात्र होइन, सिंगै देशकै अर्थतन्त्रलाई हल्लाउँछ दसैंले । दसैंमा प्रयोग हुने अधिकांस वस्तुहरु विदेशबाट आउँछन् । अत्यधिक सामानको आयातले नेपालको यसै पनि असन्तुलित नेपालको वैदेशिक व्यापारलाई थप असन्तुलित बनाइदिन्छ । आयात र निर्यातको अन्तराल झन् बढाइदिन्छ ।

    दसैंमा मुलतः मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा र राँगा, नयाँ लत्ता कपडा र दक्षिणाका लागि नयाँ नोट उपभोग हुने गरेको छ । नेपाल राष्ट्र बैंकले दसैंमा मात्रै १ खर्ब हाराहारीमा नयाँ नोट वितरण गर्ने गरेको छ ।

    हुनेखानेहरुले दसैंको समयमा सम्पति तथा विलासी वस्तुहरुको खरिद बढी गर्छन् । दसैंमा आउने विभिन्न स्किमको उपयोग गर्दै कार, मोटरसाइकल र सुन, चाँदीका गरगहना जोड्ने होड चल्छ । यसैगरी विभिन्न ब्राण्डका मोबाइल लगायतका ग्याजेटहरु पनि दसैंमा बढी विक्री हुन्छन् ।

    पछिल्लो समय दसैको मौंका छोपेर विदेश घुम्न जानेको संख्या बढ्दै गएको छ । विश्वव्यापी महामारी कोभिड–१९ का कारण गत वर्ष नेपालीहरु विदेश भ्रमणमा जान पाएनन् । यसैगरी देशको अर्थतन्त्र कोभिडका कारण ठप्प हुँदा चाडपर्वलक्षित अर्थतन्त्र खासै चलायमान हुन सकेन । कोभिड १९ को सतर्कताका लागि भन्दै ६ महिना लामो लकडाउन तथा निषेधज्ञाका कारण मानिसहरुको आवतजावत ठप्प रह्यो ।

    पछिल्लो समय कोभिडको प्रभाव कम हुँदै गएपछि दसैंमा गत वर्षको भन्दा बढी व्यापार भयो । मानिसहरु विदेशबाट फर्कने क्रम बढ्यो भने काठमाडौंबाट धेरै संख्यामा मानिसहरु गाउँघर फर्किए । दशैलक्षित विभिन्न अफर सहितका दसैं बजार तथा सेल्सहरु लागे । काठमाडौं उपत्यकामा मासुका लागि भेडाच्यांग्रा, राँगा तथा खसीवोकाहरु धेरै भित्रिए ।

    विगतका वर्षहरुमा पनि दसैं तिहार तथा छड लगायतका चाडपर्वको समयमा सबैभन्दा धेरै व्यापार हुने गरेको तथ्याङ्कहरुमा देखिन्छ । यही समयमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिन्छ भने रोजगारीमा संलग्नहरुले पनि दसैभत्ता प्राप्त सहित दोब्बर तलबभत्ता पाउने गरेका छन् ।

    मध्यम आय भएका रोजगारीमा संलग्न व्यक्तिहरुले दसैंको समयमा बढी तलबभत्ता प्राप्त गर्ने भएकाले उपभोग क्षमता पनि बढ्छ र बढी खर्च गर्दछन् । सरकारले पनि दसैंमा तलब भत्ताबापत दोब्बर खर्च गर्दछ । यसले उपभोक्ताको क्रयशक्ति बढाउने भएकाले दसैंमा बढी बस्तु तथा सेवाको ब्यापार दोब्बर हुने गर्दछ । यसले उद्योगी व्यवसायीको आम्दानी बढाउँछ र सरकारलाई यही समयमा राजस्व पनि बढी प्राप्त हुन्छ ।

    यसैगरी लगानीकर्ताले पनि सेयर विक्री गरेरै भए पनि दसैंका लागि रकम जोहो गर्ने गर्दछन् ।

    करिब ८ खर्बको दसैं

    नेपालमा दसैंमा ठ्याक्कै कति खर्च हुन्छ भन्ने सरकारले यकिन तथ्यांक राखेको पाइँदैन । यद्यपी नेपाल कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश र आर्थिक वर्षको पहिलो चार महिनामा हुने खर्च आयात र उपभोगको प्रवृत्तिलाई हेरर विष्लेषण गरेको पाइन्छ ।

    आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ४२ खर्ब ६६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण तथा केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत उपभोगमा खर्च हुने गरेको छ ।

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अर्थशास्त्री डा.गुणाकर भट्ट आर्थिक वर्षको पहिलो ४ महिनामा ४० प्रतिशत खर्च हुने गरेको बताउँछन् । त्यसमा पनि साउन र भदौको तुलनामा असोज र कात्तिकमा दसैं तिहार लगायतका चाडवर्ष पर्ने भएकाले सबैभन्दा बढी खर्च उक्त दुई महिनामा हुने उनको भनाई छ ।

    ‘दसैंमा खर्च अंकमा भन्न नसकिए पनि सबैभन्दा धेरै खर्च दसैं तिहार लगायतका समयमा हुन्छ भन्न चाहीँ सकिन्छ,’ उनले भने, ‘नेपालको कुल गार्हस्थ्य उत्पादनमध्ये ९० प्रतिशत उपभोगमा खर्च हुने गरेकोमा ४० प्रतिशत खर्च पहिलो ४ महिनामा हुने गरेको देखिन्छ ।’

    कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब ६६ अर्ब ९० खर्बको ९० प्रतिशत अर्थात ३८ खर्ब ३९ अर्ब ४० करोड रुपैयाँ उपभोगमा खर्च हुने गरेको छ । कुल उपभोगको ४० प्रतिशत करिब १५ खर्ब ४५ अर्ब रुपैयाँ आर्थिक वर्षको पहिलो चारमा महिनामा खर्च हुने डा.भट्टले बताए । उक्त खर्चको पनि ६० देखि ७० प्रतिशत अर्थात ८ देखि १० खर्वको हाराहारीमा दसैं तिहार लगायतका चाडवर्षमा खर्च हुने उनको भनाई छ ।

    रेमिट्यान्सको भरथेग

    नेपालमा असोज कात्तिक महिनाको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । उक्त दुई महिनामा चाडवर्ष पर्ने भएकाले आफन्तजनले अरु समयमा भन्दा बढी विप्रेषण वापत रकम आउने गरेको देखिन्छ ।

    गत वर्ष नेपाल राष्ट्र बैंक तथ्यांक हेर्ने हो उक्त दुई महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ बिप्रेषण भित्रिएको देखिन्छ । यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ यसै समयमा रेमिट्यान्स भित्रिएको थियो ।

    चालू आर्थिक वर्ष पनि गत वर्षको भन्दा बढी रेमिटान्स दसैं तिहारकै समयमा बढेको देखिन्छ । गत वर्षको साउन महिनामा विश्वव्यापी लकडाउनका कारण रेमिटान्स घटेकाले उक्त तथ्यांकसँग तुलना गर्दा रेमिटान्स घटेको देखिएको छ । तर अंकमा हेर्ने हो भने गत वर्ष भन्दा बढी रेमिट्यान्स आएको छ । गत आर्थिक वर्षको साउन महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ ।

    यसैले यो वर्षको दसैं पनि खर्चको अधिकांश रकम रेमिट्यान्सबाटै भरथेक भएको छ ।

    आयातमा आधारित दसैं

    दसैं लगायतका चाडवर्षमा माग तथा खरिद हुने अधिकांश बस्तुहरु भारत, चीन र तेस्रो मुलुकबाट आयात हुने गरेको छ । खसी बोका समेत यो समयमा स्थानीय उत्पादनले नपुगेर भारतबाट आयात हुने गरेका छन् ।

    दसैं तिहारमा उपभोग हुने भान्साजन्य सामग्री, इलेक्ट्रिक बस्तुहरु, लत्ताकपडा, चामल, दाल, लसुन ब्याज अदुवा जिरादेखि सवारी साधन, मोबाइलसम्मका वस्तुहरु विदेशबाटै आयात हुने गरेका छन् । गत आर्थिक वर्ष असोज र कात्तिक लगायतका दुई महिनामा मात्रै २ खर्ब २४ अर्ब रुपैयाँको वस्तुको आयात भएको छ । उक्त आयात आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकको ५६ प्रतिशत हो । आर्थिक वर्ष २०७६/७७ मा पनि उक्त अवधिको दुई महिनामा मात्रै २ खर्ब २१ अर्बको वस्तु आयात भएको थियो ।

    दुई महिनामा नै करिब ३ खर्ब १४ अर्ब रुपैयाँको बस्तु आयात भइसकेको छ । उक्त तथ्यांकमा आधारमा हेर्ने हो भने यो वर्षको दसैं तिहार लागायतका चाडपर्वमा गत वर्षको भन्दा बढी वस्तु तथा सेवाको माग हुने भएकाले बढी आयात हुने गरेको छ ।

  • दसैं मनाउन गएकाहरु धमाधम फर्किँदै, काठमाडौंमा बढ्यो चहलपहल (तस्वीरहरु)

    दसैं मनाउन गएकाहरु धमाधम फर्किँदै, काठमाडौंमा बढ्यो चहलपहल (तस्वीरहरु)

    काठमाडौं । दसैंको सार्वजनिक विदा सकिएसँगै विभिन्न जिल्लाबाट मानिसहरु काठमाडौं फर्किने क्रम तीव्र भएको छ । हिजो र आज लाखौंको संख्यामा मानिसहरु काठमाडौं भित्रिए ।

    सरकारले फुलपातीदेखि ५ दिन दसैंको सार्वजनिक विदा दिएको थियो । प्राय निजी उद्योग व्यवसायले पनि पाँच दिनकै विदा दिएका छन् । हिजोबाट विदा सकिएर कार्यालयहरु खुलेसँगै दसैं मनाउन गएकाहरु फर्किन थालेका हुन् । आजबाट काठमाडौंमा मानिस र सवारीसाधनको चहलपहल बाक्लिएको छ ।

    उपत्यकाबाहिरबाट सुमो लगायतका साना सवारीसाधन भित्रिने स्थान बल्खुमा आज दिउँसो पुग्दा अस्तव्यत थियो । गाडी झरेर कोही ट्याक्सी त कोही सार्वजनिक यातायातको खोजी गरिरहेका थिए । हेर्नुस केही तस्वीरः

  • दसैं मानेर कर्मथलो फर्कने चटारो

    दसैं मानेर कर्मथलो फर्कने चटारो

    रुपन्देही । दसैं मान्न जन्मथलो फर्किएपछि केही दिनबाट सुनसान बनेका रुपन्देहीका मुख्य बजारहरुमा आइतबारदेखि भने चहलपहल शुरु भएको छ ।

    दसैंअघि गाउँ गाउँ जाने सवारी साधनमा बढेको भीड अहिले बजार फर्कने सवारी साधनमा देख्न सकिन्छ । विभिन्न पेशा व्यवसाय तथा रोजगारीका लागि बजारमा बसेकाहरु दसैंको टीका लगाउन आफ्नो पुख्र्यौली थलो, आफन्त तथा मान्यजनकहाँ गएपछि विगत ४÷५ दिनयता मुख्य बजार सुनसान बनेको थिए । तर आइतबारदेखि भने दसैंको लागि बिदा गरिएका सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु खुलेपछि मानिसहरुको आवतजावत बाक्लो बनेको छ ।

    दसैंका ३/४ दिन खाली बनेका सडकमा पनि आज सवारीसाधनको आवतजावत बाक्लोगरी संचालन भएका छन् । गाउंघर गएका सर्वसाधारण बुटवल फर्किएपछि औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसलहरु पनि खुलेका छन् ।

    बसपार्क तथा बजारका चोकहरुमा दसैं मनाउन गाउँघर गएर फर्किएका सर्वसाधारणको भिडभाड देखिन्थ्यो । दसैं अगाडि बुटवलबाट बाहिरिने यात्रुहरुले बसपार्क खचाखच भरिने गरेकोमा अबका केही दिन भने बुटवल फर्किनेहरुले बसपार्क र सडक भरिने गर्छ ।

    बुटवलमा पेशा व्यवसाय तथा जागिरको लागि बस्नेहरु अधिकांश यसक्षेत्रका पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखांची, प्युठान, बाग्लुङ, स्याङजालगायतका जिल्लाबाट आई बसोबास गरेकाहरु रहेकोले उनीहरु आफ्नो जन्मथलो फर्किएपछि चाडपर्वको समयमा बुटवल सुनसान बन्ने गर्छ । तर चाडपर्व मनाएर सर्वसाधारण फर्किन थालेपछि भने सुनसान बनेको बुटवल पुरानै लयमा फर्किन थालेको छ ।

    यस क्षेत्रको मुख्यबजार भएको र पहाडी जिल्लाबाट बुटवल आएपछि अन्य गन्तव्य स्थानमा पुग्न सजिलो हुने भएकाले पनि यहाँबाट सवारी साधन बढी चल्ने गरेका हुन्छन् ।

    गतवर्ष कोरोना महामारीको त्रास बढी भएका कारण धेरैले दसैं नमनाएका कारण यसपटक कोरोना अगाडिकै जसर्री नै दसैंमा चहलपहल देखिएको थियो ।

    सरकारी कार्यालय खुलेपनि आएनन् सेवाग्राही

    दसैं मनाउन बन्द गरिएका सरकारी कार्यालय आजदेखि संचालनमा आएपनि लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवललगायत रुपन्देहीका अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको कम उपस्थिति रहेको थियो ।

    पहिले घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन सरकारी कार्यालय बन्द हुने गरेकोमा गणतन्त्र स्थापनापछि भने फूलपातीको दिन सप्तमीदेखि एकादशीसम्म ५ दिन मात्र दसैंको विदा दिन शुरु गरिएको थियो ।

    सोहीअनुसार आइतवारदेखि सरकारी कार्यालयहरु संचालनमा आएका हुन् । आज सरकारी कार्यालय खुल्ला भएपनि कार्यालयमा कर्मचारी र सेवाग्राहीको उपस्थिति भने शून्यजस्तै थियो । बुटवलका अधिकांश सरकारी कार्यालयहरु आज खुल्ला गरिएको भएपनि सुनसान देखिन्थे । कार्यालय सहयोगीले कार्यालय खुल्ला गरेपनि न त माथिल्लो तहका कर्मचारी कार्यालयमा उपस्थित भएका थिए, न त सेवाग्राही नै सेवा लिन कार्यालय पुगेका देखिन्थे ।

    सेवाग्राहीको उपस्थिति शून्य भएपछि कर्मचारीहरु पनि कार्यालय खोलेर दसैंका गफमा व्यस्त देखिन्थे । कतिपय क्षेत्रमा पूर्णिमासम्म नै दसैंको टीका लगाउने प्रचलन रहेको कारण आफ्नो जन्मथलो गएकाहरु कार्यक्षेत्रमा अझै फर्किएका छैनन् । जसले गर्दा आजदेखि सरकारी कार्यालय खुलेपनि अझै केही दिन कार्यालयमा कर्मचारी र सेवाग्राहीको उपस्थिति भने न्यून हुनेछ ।

    बुटवलमा लुम्बिनी प्रदेशको मुकाम रहेको कारण सरकारी कार्यालयका सवारी साधनको संचालन भने केही बाक्लो देखिन्थ्यो । सेवामूलक कार्यालयहरु नेपाल विद्युत् प्राधिकरण, खानेपानी संस्थान, नेपाल टेलिकमलगायतका फाट्टफुट्ट सेवाग्राही पुग्ने गरेको भएपनि बुटवल उपमहानगरपालिका, नापी कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालय तथा प्रदेश सरकारका मन्त्रालय र मन्त्रालय मातहतका निकायहरु सुनसान देखिन्थे ।

     

  • दसैँको सर्वस्वीकार्यताः तीन तस्वीरले दिएको सन्देश

    दसैँको सर्वस्वीकार्यताः तीन तस्वीरले दिएको सन्देश

    काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड हो बडा दसैँ । मुलरुपमा हिन्दु धर्मावलम्बिले मनाउने यो पर्वलाई पनि विवादित बनाउन प्रयास पछिल्ला दिनमा एउटा अतिवादी समूहबाट हुन थालेको छ । तर, ठिक उल्टो, दसैँको सर्वस्वीकार्यता भने बढ्दो क्रममा छ ।

    माथिका तीन तस्वीरमा तपाईं गैरहिन्दु धर्म मान्ने गर्ने तीन व्यक्तिहरुलाई देख्नुसक्नु हुन्छ । उनीहरु तीनैजना नेपाली पनि होइनन् । तर, उल्लासपूर्वक दसैँ मनाइरहेका छन् ।

    अमेरिकी राजदूत र्‍यान्डी बेरी नेपालमा आएदेखि नै नेपाली कला–संस्कृतिसँग एकाकार भएर बसेका छन् । नेपालका ठूला चाडपर्व र दिवसमा उनी शुभकामना मात्रै दिने होइन, सक्रियरुपमा भाग लिने गर्दछन् । यसपालीको दसैँको आगमनसँगै उनले चंगा उडाएर शुभकामना दिएका थिए ।

    हिजो टिकाको दिन उनले दूतावासका कर्मचारी र उनीहरुका परिवारलाई विधिपूर्वक टिका र जमरा लगाइदिएका थिए । अमेरिकी दूतावासले ट्विटरमा राखेको तस्वीरमा राजदूत बेरी नेपाली ढाकाको टोपीमा ठाँटिएको देखिन्छ ।

    उक्त तस्वीरमा क्याप्सन लेखिएको छ, ‘तपाईंको दसैँवाला पारिवारिक फोटो एल्बम कस्तो छ ? राजदूत बेरी, यूएसएड मिसनका निर्देशक र परिवारका सदस्यहरुको भने यस्तो छ ।’

    राजदूत बेरीले दसैँको अवसरमा भिडियो सन्देशसमेत दिएका छन् । सन्देशमा उनले भनेका छन्, ‘आफ्नो नेपाल बसाइका क्रममा धेरैवटा दसैँ यहाँहरुकै बीचमा मनाउन पाएकोमा म अत्यन्तै हर्षित छु । वर्षभरिमा यो मेरो मन पर्ने समय हो, जतिखेर हामीसबै मिली असत्यमाथि सत्यको जितको उत्सव मनाउँछौं ।’

    चाडबाडको खुशीयाली साट्ने क्रममा एक–अर्काको स्वास्थ्य सुरक्षा एवं भनाइको बारेमा ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिएका छन्  ।त्यसअघि अष्टमीका दिनमा उनले आफ्नो परिवारका लागि खसीको मासु बनाउने प्रयास गरेको भन्दै भिडियो पोष्ट गरेका थिए ।

    नेपालको छिमेकी देश चीनकी राजदूत होउ यान्छीको शैली पनि अमेरिकी राजदूतको जस्तै नै छ । बेरीजस्तै सामाजिक सञ्जालमा सक्रिय रहेर उनी पनि नेपाली कला–संस्कृतिप्रति आफ्नो प्रेम दर्शाइरहन्छिन् ।

    यान्छीले पनि हिजो दसैँको चिनीया दूतावासमा दसैं मनाइन् । उनले दूतावासमा नेपालीहरुलाई टिका र जमरा लगाइदिएकी थिइन् । यान्छीले लेखेकी छन, ‘मैले नेपाली सहकर्मीहरुसँग दसैंं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरुलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

    नेपालकी राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अहिले अत्यधिक चर्चामा छन् । नेपाललाई पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुर्याउने सफलता कमाएका अल्मुताइरी पनि नेपाली संस्कृतिसँग भिज्ने क्रममा छन् । उनले माल्दिभ्समा नेपाली फुटबल टिमसँगै दसैँको खुशीयाली साटे ।

    अल्मुताइरीले ढाका टोपीमा सजिएर टिका र जमरा लगाइरहेको तस्वीर एन्फाले सार्वजनिक गरेको थियो । तस्वीरमा उनी निकै प्रफुल्लित मुद्रामा देखिएका छन् । मुस्लिम धर्म मान्ने अल्मुताइरीले दसैँको टिका र जमरा लगाउन कुनै संकोच मानेनन् । नेपालमा रहेका मुस्लिमहरुले पनि पछिल्ला दिनमा हिन्दु धर्माबलम्बिका चाडपर्वमा साथ दिँदै आएका छन् । साथै हिन्दुहरुले पनि उनीहरुका धर्ममा शुभकामना साट्ने गरेका छन् । यसले देशमा धार्मिक सहिष्णुताको भावनालाई बलियो बनाइरहेको छ ।

    एकथरि अतिवादीहरुले नेपालको कला–संस्कृति र रितिरिवाजसँग जोडिएका प्रत्येक चिजरुमाथि प्रश्न उठाइरहँदा यी तीन पात्रहरुले दिएको सन्देश निकै गहकिलो छ । त्यो सन्देश हो– कुनै पनि धर्मले अर्को धर्मका रितिरिवाजलाई सकारात्मकरुपमा आत्मसात गर्न रोक्दैन ।

     

  • तस्बिरमा कलाकारहरूको दसैँ

    तस्बिरमा कलाकारहरूको दसैँ

    काठमाडौं । अरुले जस्तै कलाकारले पनि हर्षोल्लासका साथ दसैँ मनाए । मान्यजन तथा अग्रजबाट टीका र जमरा थाप्दै रमाइलोसँग दसैँ मनाएको तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।

    कोरोना महामारीका कारण २ वर्षयता अन्य क्षेत्रजस्तै चलचित्र क्षेत्रलाई पनि नराम्ररी धक्का लागेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको दर घट्न थालेपछि फिल्मी क्षेत्रले पनि पुनर्जिवन पाउने आशा छ । तर, अपेक्षित नतिजा हात पर्ने देखिएको छैन ।

    चाडबाडको बेला विभिन्न महोत्सव र सांगितिक कार्यक्रममा रम्ने कलाकारहरू महामारीका कारण फुर्सदिला छन् ।

    तस्बिरमा हेर्नुस् केही कलाकारहरूको  दसैँको टीका :-

  • दलित बस्तीमा पुगेर सांसद सुदन किरातीले मनाए दसैँ

    दलित बस्तीमा पुगेर सांसद सुदन किरातीले मनाए दसैँ

    भोजपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् ।

    गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका-१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका छन् ।

    ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै मीठोमसिनो दसैँ मनाए ।

    ‘दसैँमा आफूले वर्षभरी गरेको कामको ज्याला उठाउन सुँगुरको पुच्छर र एकमाना चामल लिन घरघर आउने र आफूले खाएको भाँडा आफैँ धोएर जाने परम्परा थियो’, किराँतीले भने, ‘आज उहाँहरू वृद्ध हुनुभो मेरा बा-आमा जस्तै देखिने उहाँहरूको घर पुगेँ उहाँहरुसँगै सुख दु:खका कुराहरु गर्दै दसैँ मनाएँ ।’

    किरातीले गणतन्त्र स्थापना भए पनि गणतान्त्रिक संस्कृति निर्माण हुन नसकेकोमा आफू राजनितिककर्मी भएको नाताले आत्मालोचित भएको बताए । ‘ दलित समुदाय अझै पनि मानिसको दर्जामा समाजमा स्थापित हुन सकेका छैनन् तर संविधानले भने जातीय विभेद र छुवाछुत प्रथा अन्त्य गरेको छ । यो प्रगतिशील संविधानलाई रक्षा गर्न र व्यवहारत: कार्यान्वयन गर्नको निम्ति पुर्खाहरूले जानअञ्जानमा गरेको छुवाछुतजस्तो जघन्य गल्तीप्रति आत्मपश्चाताप गर्दै माफी मागेको छु’, किरातीले नेपाल प्रेससँग भने ।

    आफूले चुनेर पठाएको सांसद घरगाउँमै आएर दसैँ मनाएपछि भावविव्हल हुँदै दलित वृद्धवृद्धाले भने, ‘आफैँले कमाएको विष्टको छोरा आज सांसद भए हामीलाई सम्झेर दसैँ मनाउन आउनुभो हामी खुसी छौँ ।’

  • चङ्गा चेट… (तस्बिरहरू)

    चङ्गा चेट… (तस्बिरहरू)

    काठमाडौं । पछिल्ला वर्ष सहरबजारमा दसैँमा चङ्गाको संस्कृति बढ्न थालेको छ । केही महिनाअघिबाटै चङ्गा उडाएर दसैँलाई निम्तो दिइन्छ । घरका छत तथा खुल्ला चौरमा चङ्गा उडाउनेहरू यो बेला निकै भेटिन्छन् ।

    आकाशतिर हेर्दा उड्दै गरेका रङ्गीविरङ्गी चङ्गा र एकअर्कामा जुधाएर ‘जङ्गा चेट’ को प्रतिस्पर्धाले त झन् मन नै प्रफुल्ल बनाउँछ ।

    हामीले धरहरा आसपास चङ्गा उडाउँदै गरेकाहरूको केही तस्बिर कैद गरेका छौं ।

  • गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

    गृहजिल्लामा दसैँको शुभकामना साट्दै ओलीको ‘शाकाहारी’ भाषण

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको अवसरमा गृहजिल्ला झापा पुगेर दसैँको शुभकामना साटेका छन् । पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अघिल्ला भाषणहरूमा जस्तो अरु दल र नेतालाई गालीगलौज गरेनन् ।

    भाषणको सुरूआतमा नै ओलीले आफू आज शुभकामनामात्र दिन उपस्थित भएको भन्दै कसैलाई कटाक्ष नगर्ने बताएका थिए ।

    ‘करिब तीन हप्तादेखि रुघाखोकीका कारण बाहिर निस्कन सकेको थिइनँ,’ ओलीले भाषण सुरू गर्दै भनेका थिए, ‘महाधिवेशनमा दुई दिन देखा परेँ, त्यसपछि कतै गएको छैन । आज म दसैँको शुभकामना साट्न आएको हुँ । कसैलाई कटाक्ष र आलोचना गर्न उचित ठान्दिनँ ।’

    नभन्दै उनले अदालत र सरकारबीच ‘बार्टर’ को आशंकाबाहेक अरु कुनै आलोचनात्मक टिप्पणी गरेनन् । न त सहभागीलाई हँसाए नै । उनको भाषण पूर्णरूपमा ‘शाकाहारी’ थियो ।

    ओलीले भने, ‘केही वर्ष अघिसम्म नेपालीलाई लाग्ने गरेको थियो देश विकास गर्न सकिँदैन कि क्याहो ? तर, अहिले वितेका केही वर्षमा हामीले जे उपलब्धी हाँसिल गरेका छौं, त्यसले विश्वास उत्पन्न गरेको छ कि हामी सक्छौं । हामीले निराश हुनुपर्ने अवस्था छैन अहिले ।’

    ओलीको भाषण उनको शैलीविपरीत निकै छोटो पनि थियो । प्राय एक-डेढ घन्टा भाषण गर्ने ओली आज २० मिनटमै भाषण टुंग्यायाए ।

    भाषण सकेर ओली आजै काठमाडौं फर्किँदैछन् ।

  • सुनसान बन्दै सहर, सडकमा सवारीसाधन न्यून

    सुनसान बन्दै सहर, सडकमा सवारीसाधन न्यून

    काठमाडौं । दसैँ लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ । सवारी चापले सधैँ कोलाहलपूर्ण हुने सडक-गल्लीहरूले हिजोबाट राहतको सास फेरेका छन् । सहरको वायू र ध्वनी प्रदूषणमा कमी आएको छ ।

    गत वर्ष कोरोनाको महामारी उत्कर्षमा रहेका कारण नेपालीहरूको दसैँ खल्लो बनेको थियो । धेरैले आफ्नै घरपरिवारमा मात्रै दसैँ मनाएका थिए । यसपाली भने कोरोना धेरै हदसम्म मत्थर भएकोले मानिसहरू उल्लासपूर्वक दसैँ मनाउने मुडमा छन् । काठमाडौंबाट ठूलै जनसंख्या दसैँ मनाउन मोफसलतर्फ लागेको छ ।

    सडकमात्रै नभएर बजारहरू पनि सुनसान नै छन् । अत्यावश्यबाहेकका धेरै पसल तथा व्यवसायहरू बन्द रहेका छन् । ट्राफिक प्रहरीका अनुसार हिजो फूलपातीको दिनमात्रै ८ लाख काठमाडौंबाट बाहिरिएका थिए । यो क्रम भोलि नवमीसम्म चल्नेछ ।

    विजयादशमीको भोलिपल्टदेखि भने मानिसहरू काठमाडौं भित्रिने क्रम सुरू हुनेछ । पूर्णिमापछि सडकको चाप फेरि पूर्ववत भइसक्छ ।

    हेर्नुस् सुनसान काठमाडौंका केही दृष्य :-

  • लमजुङका कैदीबन्दीलाई खसी उपहार

    लमजुङका कैदीबन्दीलाई खसी उपहार

    लमजुङ । लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दसैँ हर्षोल्लासका साथ मनाउन खसी सहयोग गरेको हो ।

    नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तरण गरे ।

    नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए ।

    लमजुङ कारागारमा अहिले २ नाबालकबाहेक १ सय ४ जना कैदीबन्दी छन् ।

  • राष्ट्रपतिले उपत्यकाको शक्तिपीठहरू दर्शन गर्ने

    राष्ट्रपतिले उपत्यकाको शक्तिपीठहरू दर्शन गर्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन् ।

    बडादसैँअन्तर्गत महाअष्टमीको दिन पारेर उनले शक्तिपीठहरूको दर्शन गर्न लागेकी हुन् । राष्ट्रपतिले बुधबार अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको छ ।

    उनले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लागेकी हुन् ।

  • जनकपुरधामको शक्तिपीठमा खोँइछ भर्नेको भीड (तस्बिर र भिडिओ)

    जनकपुरधामको शक्तिपीठमा खोँइछ भर्नेको भीड (तस्बिर र भिडिओ)

    जनकपुरधाम । राजा जनकको कुल देवीको रूपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्नेको भीड लागेको छ ।

    विवाहिता महिलाहरुले सप्तमीदेखि नै खोँइछ भरिरहेका छन् । खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरू राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थानलगायत पुग्छन् । त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै लाम छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ ।

    मिथिलामा छोरीको बिदाईभन्दा पहिले खोँइछ दिने परम्परा छ । जनकपुरमा आज रातिदेखि बलि दिइने भएको छ । त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरू बोकाबलीको लागि आएका छन् ।

  • फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)

    फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)

    काठमाडौँ । नवरात्रको सातौँ दिन आज फूलपाती । आज हर्ष उल्लासका साथ सबैले आफ्नो घर-घरमा फूलापती भित्र्याएका छन् । फूलपातीको अवसरमा सदा झैं गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारमा पनि विधिपूर्वक भित्र्याइएको छ ।

    नवरात्रको नौ दिन हरेक देवीको मन्दिरमा बिहान र साँझ विशेष पूजाअर्चना हुन्छ । विभिन्न मनोकामना पूरा गर्न देशैभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ ।

    सोहीक्रममा आज साँझ मैतीदेवी मन्दिरमा देखिएको मनोरम दृष्य र भक्तजनको जमघटका केही तस्बिरहरू

  • कोरोनासँग जोगिएर कसरी मनाउने दसैँ ? विज्ञ् भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

    कोरोनासँग जोगिएर कसरी मनाउने दसैँ ? विज्ञ् भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

    काठमाडौं । ‘जो जहाँ छ त्यही बसेर दसैँ मनाउनुस्, फोनबाटै भएपनि आर्शिवाद थापौँ, बाचिए अर्को साल दसैं मनाउन सकिन्छ’ गतवर्ष स्वास्थ्य मन्त्रालयले सर्वसाधरणको लागि गरेको अनुरोध हो यो ।

    यस वर्ष पनि कोरोना महामारीको जोखिम समाप्त भइसकेको छैन । अहिले दैनिक १ हजारको संख्यामा नयाँ संक्रमित थपिने गरेका छन् भने दर्जन हाराहारीमा मृतक थपिने गरेका छन् ।

    चाडबाडको समयमा किनमेल गर्नेदेखि गाउँमा दशैँ मनाउन घर जानेहरुको लर्कोले कतै कोरोना भाइरसको ‘तेस्रो लहर’ फैलन सहयोग त पुग्ने होइन ? भन्ने चिन्ता थपिएको छ । बजारबाट पनि कोरोना संक्रमण फैलनसक्ने र दसंै मनाउन गाउँ जानेहरुबाट गाउँगाउँमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।

    गत साल पनि जोखिमकै बीचमा दसैं मनाइएको थियो । गाउँमा भएका वृद्धवृद्धामा संक्रमण फैलन सक्ने भन्दै मन्त्रालयको आग्रहलाई स्वीकारेर जहाँ छ त्यही दसैं मनाउनुपरेको थियो । दसैं मनाउन घर पुगेकाहरुले पनि वृद्धवृद्धा भएका घरमा सामाजिक दुरी कायम गर्दै मास्क लगाएरै टिका लगाएका थिए । त्यतिमात्रै होइन आफन्तको घरमा समेत टिका र आशीर्वाद थाप्न जाने क्रम घटेको थियो । आफू अरुको घरमा पनि टिका थाप्न नजाने अरु पनि टिका थाप्न नआउन सार्वजनिक रुपमा आग्रह गरेका थिए । बढी भीडभाड हुने क्षेत्रहरु सार्वजनिक पीङ, शक्तिपीठहरुमा पनि सर्वसाधरणलाई रोक लगाइएको थियो ।

    गाउँमा दसैं मनाउन जानेहरुको चहलपहल शुरु भइसकेको छ ।  यसपटक पनि दसैं अघि कोरोना संक्रमणको ‘तेस्रो लहर’ आउनसक्ने मन्त्रालयले बताएको छ ।

    तर यस वर्ष ज्येष्ठ नागरिक देखि युवाहरुले समेत कोरोना भाइरसविरुद्धको खोप पाइसकेकाले पनि गतवर्ष भन्दा केही सुरक्षित महसुस गरिएको छ । त्यसो भन्दैमा कोरोना महामारीको जोखिम भने कायमै रहेकाले सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    महामारीकैबीच कोरोनासँग जोगिएर दसैं कसरी मनाउने त ? के पोहोर जस्तै घरभित्र मात्रै दसैं सीमित राख्ने हो त ? यस विषयमा हामीले जनस्वास्थ्य विज्ञहरुसँग कुराकानी गरेका छौ ।

    सर्तकता अपनाएर दसैं मनाउँदा आत्तिहाल्नुपर्ने अवस्था नभएको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा भाइरोलोजिस्ट डा. शेर बहादुर पुन बताउँछन् । उनी भन्छन्,‘अहिले जोखिम हुने भनेको खोप नलगाएका र कोरोना संक्रमण नभएकालाई जोखिम नै रहेकाले उनीहरु उच्च जोखिममा छन् ।’

    ट्रपिकल तथा सरूवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा भाइरोलोजिस्ट डा. शेर बहादुर पुन यसो भन्छन् ः

    कोरोनाको जोखिम अहिले पनि छ त्यसकारण सर्तकता अपनाऔं । हुन त अहिले धेरै मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । लगाउने क्रम जारी छ । भेरियन्ट पनि फेरिएको छैन, त्यही भेरियन्ट छ ।

    डेल्टा भेरियन्टले नै निरन्तरता पाइरहेको छ । त्यो भनेको धेरै मानिसहरु संक्रमित पनि भइसकेको अवस्था हुन सक्छ । अहिले पनि संक्रमित हुन बाँकी भएका वा खोप लगाउन बाँकी रहेकाहरुको तथ्थाङ हेर्दापनि थाहा हुन्छ ।

    हामी दसैं मनाउँदै छौं । दसैंलाई सबैजना जमघट हुने रमाइलो गर्ने पर्वको रुपमा लिइन्छ । कोरोना भाइरस पनि जहाँ धेरै भीडभाड छ त्यो ठाउँमा फैलन सक्ने सम्भावना बढी हुन्छ । गएको वर्ष भन्दा यसवर्ष अवस्था फरक भएतापनि हामीले सतर्कता अपनाउन पर्ने हुन्छ । सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने हुन्छ । अब गाउँसम्म गाडीबाट जानुपर्ने हुन्छ । आफन्तबीच भेटघाट, छलफल,कुराकानी हुन्छ । त्यस्तो बेलामा स्वास्थ्य सतर्कताको पनि ख्याल चै राख्नुपर्छ । कतिपय व्यक्ति लक्षणबिनै संक्रमित भएका हुनसक्छन् । त्यस्ता व्यक्तिबाट पनि कोरोना सर्नसक्र्छ । त्यसैले ख्याल गर्नुपर्छ ।

    मास्क नियमित लगाउने , साबुन पानीले हात धोइरहने , स्यानिटाइजर प्रयोग गर्ने लगायतका कामलाई दसैंमा बिर्सनु हुँदैन । घरभित्र हुँदा होस वा बाहिर हरेकपल स्वास्थ्यबारे सजगता हुनुपर्छ । दसैंको रमाइलोमा भुलेर रोग निम्त्याउनु राम्रो हुँन्दैन । त्यसैले यो दसैं पनि सतर्कतासाथ मनाउनुपर्छ ।

    कतिपयले खोप लगाउनुभएको छैन । खोप नलगाएका व्यक्तिले अझ बढी सचेत हुनुपर्छ । अहिलेसम्म संक्रमण नभएपनि उहाँहरु उच्च जोखिममा हुनुहुन्छ । त्यस्ता व्यक्तिहरुलाई जतिसक्दो चाडो खोप लगाउन मेरो सुझाव छ । रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु वेश हो । त्यसलाई विशेष ध्यान दिनुपर्यो हामीले ।

    टीका लगाउने बेलामा पनि आत्तिने भन्दा होसियार हुने गर्नुपर्छ । सकेसम्म खुल्ला स्थानमा टीका लगाउने स्थान बनाउनुपर्छ । घरको छत, आँगन वा बगैंचा पनि त्यसका लागि उपयुक्त हुनसक्छ । एउटै कोठामा धेरैजना गुम्सिएर टीका लगाउनु हुँदैन । टीका लगाउने र लाइदिने दुवैले बारम्बार हात धुने, स्यानिटाइजर प्रयोग गर्नेजस्ता काम गर्नुपर्छ । दसैं रमाइलो पर्व हो, रमाउनैपर्छ । तर स्वास्थ्य रमाइलोभन्दा महत्वपूर्ण हो । स्वास्थ्य सर्तकर्ता अनुपाउनुमै हाम्रो बुद्धिमता हुनेछ । घरमा हुनुहुने ज्येष्ठ नागरिक, बालबालिका र अस्वस्थ व्यक्तिलाई अझ बढी हेरचार माया दिनुपर्ने । कोरोनाका कारण गतवर्ष देखि नै हाम्रो जीवनशैली परिवर्तन भएको छ । यो परिवर्तनलाई आत्मसात गरेर यसवर्षको दसैं स्वस्थ र उत्साहका साथ मनाउनुपर्छ ।

     

  • हौसिएर फजुल खर्च नगर्न आग्रह गर्दै ओलीको दसैँ शुभकामना

    हौसिएर फजुल खर्च नगर्न आग्रह गर्दै ओलीको दसैँ शुभकामना

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको अवसरमा शुभकामना दिएका छन् । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा उनको जोड छ ।

    ओलीले शुभकामना सन्देशमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा नकारात्मक प्रवृत्तिहरू देखिएको भन्दै एकताबद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न आव्हान गरेका छन् ।

    ‘यी चाडपर्वहरू केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधार पनि हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरू यिनै सामाजिक प्रवन्धहरूका आधारमा विकसित भएका छन्’, ओलीले शुभकामनामा भनेका छन्’, यी चाडपर्वहरूका सकारात्मक अन्तर्यहरु, जो महान् र जीवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता पर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोगहीन जस्तो बनाउँछ ।’

    चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्षलाई हटाउँदै जानुपर्ने भन्दै ओलीले औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नहुने बताएका छन् ।

    यस्ता अभ्यासलाई सच्याएर चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनु आवश्यक रहेको उनको जोड छ । कोरोना महामारी कायमै रहेकोले भौतिक घुलमिलमा सजगता अपनाउन आग्रह गर्दै ओलीले स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसरण गर्न अनुरोध गरेका छन् ।

  • अमेरिकी राजदूतले चंगा उडाएर साटे दसैँको खुसी

    अमेरिकी राजदूतले चंगा उडाएर साटे दसैँको खुसी

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सहकर्मीमाझ दसैँको शुभकामना साटासाट गरेका छन् ।

    आज फूलपातीको दिन उनले नेपालस्थित अमेरिकी दूतावासमा चंगा उडाए । बेरीले चंगा उडाएर दसैँ मनाएको तस्बिरहरू ट्वीटरमार्फत सेयर गरेका छन् ।

    नेपाली तथा अमेरिकी सहकर्मी र बालबालिकाको साथमा उनले रमाइलो गरेका छन् । सबैलाई दसैँको शुभकामना दिँदै राजदूत बेरीले आफूहरूले धेरै रमाइलो गरेको बताएका छन् ।

     

  • सात वर्षदेखि त्रिपालमुनि टरेको सुर्खेत बाढीपहिरो पीडितको दसैँ

    सात वर्षदेखि त्रिपालमुनि टरेको सुर्खेत बाढीपहिरो पीडितको दसैँ

    सुर्खेत । सुर्खेतमा २०७१ साउनको बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको तथ्यांकअनुसार सुर्खेतका विभिन्न ठाउँमा आएको त्यो बाढीपहिरोबाट २४ जनाको मृत्यु भएको थियो । भने ९१ जना बेपत्ता भए । विपद्‍मा परेर १ हजार १ सय ५९ घरमा पूर्णक्षति पुग्यो । दुई सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको थियो ।

    बाढीपहिरोको सात वर्ष वित्दासम्म पनि पीडितहरूको बास त्रिपालमुनि नै छ । स्थानीयदेखि केन्द्रसम्मका जनप्रतिनिधिले राहत तथा क्षतिपूर्तिका लागि धेरै आश्वासन दिए तर समस्या ज्यूँ का त्यूँ रहेको बाढीपीडित व्यवस्थापन समितिका सचिव बलबहादुर थापाको गुनासो छ । ‘त्रिपाल झुत्रो भएर पानी चुहिन्छ । नेताहरू चुनावको समयमा अनेकन सपना बाँडछन् । अनेक आश्वासन देखाउँछन् । जितेर गएपछि फर्केर हेर्दैनन्’, थापाले भने ।

    वीरेन्द्रनगर नगरपालिका- ७ मा बस्दै आएका अर्का पीडित नरबहादुर रोका आफूहरूका लागि दशा बनेर आउने दसैँ बरु नआइदिएकै राम्रो भन्छन् । दुवै खुट्टा गुमाएका उनको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले उपचार गरिदिएका थिए । अहिले उनी पालमुनि बसिरहेका छन् । ‘काम गरी खान पनि सकिन्न । यस्तो अवस्था छ । कसैले दिएमात्रै खान सक्ने अवस्थामा कसरी मान्नु चाड ?’, रोकाले भने ।

    त्यही बस्तीकी डिलसरा खत्रीले सरकारले ३ लाख राहत दिन खोजे पनि त्यतिमा सुर्खेतमा जग्गा नै नपाइने बताउँछिन् । उनी भन्छिन्, ‘आफ्नो घर भइदिएको भए कम्तीमा रुखो-सुखो खाएर भए पनि घरमै बसेर दसैँ मनाइँन्थ्यो होला ।’छिमेकीका छोराछोरीले नयाँ लुगा लाको, मीठो-मसिनो खाएको देख्दा आफ्ना बालबालिका टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था रहेको उनको गुनासो छ ।

    अरुले आफन्त र परिवारजनको जमघटमा धुमधामसँग चाड मनाइरहँदा विपद्ले दिएको चोटको आलो घाउ बोकेर त्रिपालमुनि मन ‘अमिलो’ बनाएर दसैँ टार्नुपरेकोमा उनीहरूको गुनासो छ ।

  • काठमाडौं छाेड्नेकाे लर्काे, हेर्नुस् काेटेश्वरका ६ तस्बिर

    काठमाडौं छाेड्नेकाे लर्काे, हेर्नुस् काेटेश्वरका ६ तस्बिर

    काठमाडौं । दसैँको टीका आउन तीन दिन बाँकी हुँदा उपत्यका छाड्नेको संख्या पनि बढिरहेको छ । शिक्षा, रोजगार, व्यवसायको सिलसिलामा काठमाडौं छिरेकाहरू दसैँ मनाउन थातथलो गइरहेका छन् ।

    उपत्यकाबाट बाहिरिने नाकाहरूमा यात्रुको भीड लागेको छ । कलंकी, बल्खु, कोटेश्वरलगायतका नाकामा उपत्यकाबाट विभिन्न जिल्ला बाहिरिने गाडीको चाप बढेको छ ।

    हेर्नुस् कोटेश्वरमा उपत्यकाबाट चाड मनाउन घर फर्कनेको लर्को :-

     

     

  • दशैंमा घुमघाम गर्ने कि ? यस्ता छन् १ देखि ९ दिनसम्मका प्याकेज

    दशैंमा घुमघाम गर्ने कि ? यस्ता छन् १ देखि ९ दिनसम्मका प्याकेज

    काठमाडौं । न जाडो न गर्मी । दशैंको लामो विदा । खुलेको आकासमा वरिपरीको हरियाली डाँडा तथा हिमश्रृखला हेर्दै घुम्ने रहर कसको नहोला ?

    गत वर्ष कोभिडका कारण दशैं निकै खल्लो रह्यो । कयौं घरमा त कोभिडका बिरामी नै थिए । त्यसैले सिमित घरपरिवारका सदस्यका बीच दशैंको औपचारिकता निभाइयो । टाढाका आफन्तहरू भेट हुन पाएनन् । घुमघाम त झन् कल्पनामै सीमित भयो ।

    यसपाली पनि कोभिडको महामारी निमिट्यान्न त भइसकेको छैन, तर धेरै मत्थर भएको छ । त्यसैले उल्लासपूर्वक दशैं मनाउने मुडमा छन् धेरै नेपालीहरु । पछिल्ला वर्षहरुमा दशैंको अवसरमा घुमघाम गर्ने प्रचलन पनि बढेको छ । लामो समयदेखि आ–आफ्ना शहरमा कैद भएर बसेकाहरु यसपाली घुमघामको योजना पनि बनाइरहेका छन् ।

    दशैंमा कर्मचारीहरुले लामो विदा पाउने र मौसम पनि अनुकुल हुने भएकाले यसबेला घुमघामका निम्ति अनुकुलता मिल्छ । तर धेरैको मनमा उब्जिने प्रश्न हो, आफ्नो बजेट र समयले भ्याउने गरी घुम्ने ठाउँ कुन होला ?

    हामीसँग कति घुम्नका लागि कति दिन समय छ, त्यसैअनुसारको प्याकेज बनाउनुपर्ने हुन्छ । जस्तो, १ वा २ दिनका लागि घुम्न निस्कदै हुनुहुन्छ भने तपाईंले छोटो दुरीका पर्यटकीय स्थल रोज्न सक्नुहुन्छ । २/४ दिनका लागि निस्कदै हुनुहुन्छ भने त्यसै अनुसारको प्याकेज बनाउनु पर्छ ।

    यसै सन्दर्भमा हामीलाई एरोलिना ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक याम खड्काले विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यका प्याकेज सुझाएका छन्:

    एक रात वा दुई दिन

    नगरकोट

    काठमाडौं उपत्यकाबाट छोटो दूरीमा पुग्न सकिने प्रसिद्ध र रमणीय स्थल हो नगरकोट । काठमाडौंबाट ३२ किलोमिटर र भक्तपुरबाट २० किलोमिटर पूर्वमा पर्दछ नगरकोट । नागवेली घुम्ती पार गर्दै पुगिने नगरकोटबाट सूर्योदयको भूल्को दृष्यवलोकनका लागि यो स्थान प्रसिद्ध छ ।

    छिनमै मौसम परिवर्तन हुने नगरकोटबाट विभिन्न हिमाल श्रखलाको मनोरम दृष्य देख्न सकिन्छ । धौलागिरी, कञ्चनजंघा हिमश्रृखला, मनास्लु, गणेश हिमाल, लाङटाङ गौरीशंकरलगायतका हिमाल चुचुरा देख्न सकिन्छ ।

    सानो वा ठूलो समूहमा नगरकोट जान सकिन्छ । समुहमा गएको खण्डमा होटल, रेष्टुरेन्टमा राम्रो छुट पाउने सम्भावना हुन्छ । नगरकोट जानका लागि रत्नपार्कबाट भक्तपुरसम्मको बस लाग्छ । निजी सवारीसाधनमा पनि जाँदा हुन्छ ।

    दामन

    मकवानपुरको दामन पनि पछिल्लो समय पर्यटकलाई लोभ्याउने गन्तव्यका रुपमा विकसित भइरहेको छ । कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृष्यावलोकनका लागि प्रसिद्ध छ । थानकोट नौबिसेबाट ७५ किलोमिटर दूरीमा दामन रहेको छ । हेटौडाबाट ३३ किलोमिटर पार गरेपछि दामन पुगिन्छ ।

    २ हजार ६ सय ८८ मिटर उचाईमा रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, लाङटाङ, दोर्जे, लाक्पा, गौरीशंकर लगायतका हिमाल हेर्न सकिन्छ । दामन साइकलयात्रीका लागि पनि राम्रो गन्तव्यस्थल हो ।

    दुई रात, तीन दिनको प्याकेज

    हलेसी

    प्राकृतिकरुपमै बनेको गुफाका कारण हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीका लागि हलेसी प्रसिद्ध छ । हलेसी गुफाको प्राकृतिक भू–बनोटको संरचना विश्मै अनौठो मानिन्छ । हलेसी धाम अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले घेरिएको छ ।

    कालिञ्चोक

    हिमालको काखमा उभिएको कालिञ्चोक पनि सुन्दर पर्यटकीय र धार्मिक स्थल हो । काठमाडौंबाट केहीं घण्टाको दूरीमा कालिञ्चोक भगवती मन्दिर रहेको छ । २ हजार ७ सय मिटरको उचाइमा रहेको कालिञ्चोकमा भगवतीको पनि दर्शन गर्न पाइने र हिमाल नजिकै भएकाले आनन्दले प्राकृतिक मनोरम दृष्य अवलोक गर्न सकिन्छ ।

    पोखरा

    हरेक नेपालीको चाहना नै हुन्छ, एकपटक पोखरा घुम्ने । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा युवा, बुढाबुढी, केटाकेटी सबैका लागि प्रमुख पर्यटकीय स्थल हो । यहाँ फेवातालमा डुंगा चढ्ने, प्याराग्लाइडिङ, जिप फ्लाई, बञ्जिजम्प, गुफा भ्रमण, हिमालको मनोरम दृष्यलगायतले पनि पोखरा घुम्नका लागि अति उपयुक्त ठाउँ हो ।

    चितवन

    चितवनलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ । सौराहा, मेघौलीलगायतका ठाउँ घुम्न सकिन्छ । चितवनको राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटेबाघ, विभिन्न चराचुरुङ्गी, जङ्गल सफारीको आनन्द लिन सकिन्छ ।

    लुम्बिनी

    गौतम बुद्ध जन्मिएको स्थान लुम्बिनी पनि घुम्नका लागि प्रसिद्ध छ । परिवार तथा समुहमा लुुम्बिनी घुम्न जान सकिन्छ । आध्यात्मिक भूमिका रुपमा रहेको लुम्बिनीमा मायादेवी मन्दिर तथा एक दर्जन गुम्बा रहेका छन् । यहाँ ध्यान, बोटिङ, रिक्सा, किनमेल गर्न सकिन्छ ।

    चार रात, पाँच दिनको प्याकेज

    पोखरा–मुक्तिनाथ

    धार्मिक आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथको मन्दिर पनि आन्तरिक तथा भारतीय पर्यटकको रोजाइ बन्दै गएको छ । धार्मिक स्थलका लागि मात्र नभएर प्राकृतिक छटाले भरिएका दृष्य हेर्दै मुक्तिनाथ पुग्न सकिन्छ ।

    मुक्तिनाथ जाँदा बाटोमा पर्ने मार्फा गाउँ, त्यहाँका स्यायु, जोमसोम, कालिगण्डकीको मुहान कागबेनीलगायतका ठाउँका दृष्यले पनि जो–कोहींको मन लोभ्याउँछ । मुक्तिनाथ जानका लागि पहिलाको जसरी जहाज नै पर्खनु पर्दैन । यहाँ गाडीमा पनि जान सकिन्छ ।

    पाँच रात, ६ दिनको प्याकेज

    पाथिभरा

    नेपालको पूर्वी भागको ताप्लेजुङ जिल्लमा रहेको पाथिभरा देवीको दर्शन तथा पर्यटकीय रमणीय ठाउँ घुम्न सकिन्छ । पाथीभरा जाँदा बाटोमा पर्ने इलामबाट नेपालका लागि पहिलो घामको झुल्को देख्न पाइन्छ ।

    आन्तरिक र भारतीय पर्यटकका लागि प्रसिद्ध पाथिभरा ३ हजार ७ सय मिटरको उचाइमा रहेको छ । पाथिभरा मन्दिरबाट कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, ल्होत्से हिमालको दृष्यावलोकन गर्न सकिन्छ । पाथिभरा जाँदा तल्लो फेदीबाट विस्तारै हिँड्दै पाँच घण्टा उकालो हिँडेपछि माथि मन्दिर पुगिन्छ । हिँड्दा जसरी थाकिएको हुन्छ, मन्दिर पुगेपछि देखिने प्राकृतिक दृष्यले थकानलाई एकैपटकमा बिर्साउँछ ।

    यहाँ जानका लागि काठमाडौंबाट सिधै ताप्लेजुङका लागि गाडी लाग्छ । अथवा, काठमाडौं एयरपोर्टबाट ताप्लेजुङमा रहेको सुकेटार एयरर्पोट ओर्लिएर पनि जान सकिन्छ ।

    सात रात, आठ दिनका लागि

    रारा

    चारैतिर पहाडै पाहडले घेरिएको रारा तालमा जीवनमा एकपटक पुग्न जोकोहीं नेपाली चाहन्छन् । ‘स्वर्गकी अप्सरा’ नामले पनि चिनिने रारा नेपालको सबैभन्दा ठूलो ताल हो ।

    रारा ताल नेपालगञ्जबाट हवाईमार्ग हुँदै पनि जान सकिन्छ र सडकमार्गबाट पनि । रारा तालबाट २ घण्टा उकालो हिँडेपछि मुर्मामा पुगिन्छ । मुर्माबाट विशाल रारालाई अवलोकन गर्न सकिन्छ । रारा जाँदा नेपालगञ्जबाट ताल्चा एयरपोर्टसम्म जान सकिन्छ । पहिला पहिला १० दिन हिँडेर रारा पुगिने भए पनि अहिले सवारी साधनको पहुँचका कारण त्यत्रो हिँड्नु पर्दैन । काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घण्टामा जुम्ला पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट गाडी रिजर्व गरेर पनि रारा जान सकिन्छ ।

    आठ रात, नौं दिनको प्याकेज

    खप्तड

    नेपालको सुदुरपश्चिममा रहेको खप्तड चारवटा जिल्लाहरु बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा छ । समुन्द्र सतहदेखि २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तडमा २२ वटा पाटन रहेका छन् ।

    खप्तडलाई ‘स्वर्गको टुक्रा’ भन्दा फरक पर्दैन । खप्तडमा जेठ÷असारमा जंगली सानासाना सेता र हल्का गुलावी तथा राता फूलले ढपक्कै ढाकेको हुन्छ । असोज–कार्तिकमा खप्तडबाट सेता हिमालका चुचुरा देखिन्छ । चैत र वैशाखमा गुराँसले ढाकिएको हुन्छ ।

    काठमाडौंबाट धनगढीसम्म जहाजमा गएर त्यहाँबाट खप्तड जान सकिन्छ । सडकको बाटो जाँदा डोटीको झिग्राना, बजाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगरबाट पनि जान सकिन्छ । डोटीको सदरमुकाम लिवढीमा बास बसेर झिग्राना हुुँदै ८ घण्टाको पदयात्राबाट खप्तड पुगिन्छ । खप्तड जानलाई बाटो धेरै अफ्ठ्यारो पनि छैन ।

    कुनै पनि यात्रामा निस्कदा समुहमा जाँदा राम्रो हुन्छ । यसबाट खर्च पनि कम हुन सक्छ । समहु बनाउँदा सकभर यातायात साधनलाई ध्यानमा राखेर बनाउनुपर्छ । कारमा चारजना, जिपमा ६ जना, माइक्रोमा १४ जना र मिनिबसमा २४ जनासम्मले यात्रा गर्नु सुविधाजनक हुन्छ ।

  • देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला

    देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला

    बर्दिबास । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज नवनिर्मित देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा शारदीय नवरात्र (दशहारा, बडादसैँ) को अवसरमा निर्मित दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (पूmलपाती)का दिन बेलको भेट्नुले खोस्रेर आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । बेलको भेट्नोले आँखा खोस्रेर उघारेपछि शास्त्रोक्त विधिले प्रतिमाको प्राणप्रतिष्ठा गरेपछि देवी साक्षात अवतरित हुने विश्वास गरिन्छ ।

    पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन बेलफलको भेट्नुले खोस्रेर उघारेसँगै पुरोहितले वैदिक मन्त्रोच्चारणबीच प्राणप्रतिष्ठा गराएपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ । आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फूलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गर्ने गरिएको कर्मकाण्डका ज्ञाता महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का बासिन्दा चन्द्रकान्त झा बताउँछन् । यसअघि हिजो षष्टी तिथिका दिन देवी प्रतिमाको आँखा उघार्ने प्रयोजनका लागि बस्तीमा रहेको बेलवृक्ष पुगेर एउटा बेलफललाई रातो रुमालले छोपेर बाँधी ‘बेलनौत’ विधि सम्पन्न गरिएको थियो । षष्टी तिथिमा बेलफल रोज्ने विधिलाई ‘बेलनौत’ र सप्तमीका दिन बिहानै बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिने मैथिल चलन छ ।

    ‘बेलनौत’ र ‘बेलतोडी’ विधि खासमा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमास्थलमा आयोजित हुन्छन् । यसबाहेक पहिलेदेखि नै रहेका काठ वा धातुबाट बनेका प्रतिमाको प्राणप्रतिष्ठा पहिले नै भइसकेको हुनाले यस्ता मन्दिरमा यी विधि अनिवार्य मानिदैनन् । देवी प्रतिमास्थल खुला गरिनुअघि आज एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि सोमबार (षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन) निम्ता गरिएको बेल टिपेर ल्याई त्यही बेलको भेट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको थियो ।

    फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि दिन थालिएको छ । पर्वका अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा पञ्चमीकै दिनदेखि भूतमेला सुरु भएको छ । अघि सत्ययुगमा दुर्गाभवानीले दमन गरेकी राक्षसी दुष्ट आत्मा र तिनका अनुयायीले दुःख दिएकाहरुको दुःख निवारणका लागि धामीझाँक्रीले ती दुष्टआत्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो । यस्तो बेला साधकको साधनाबाट दुष्टआत्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झा बताउँछन् ।

    महोत्तरीका देवी शक्तिपीठ सोनामाई, बर्दिबास नगरपालिका–४ माईस्थानस्थित पञ्चधुरा माई, जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका–५ स्थित गढीमाई, दुर्गा मन्दिर र पिपरा गाउँपालिकाको बनौलीमोडस्थित बौकीमाई मन्दिरमा फूलपाती विशेष पूजासँगै पशुबलि दिन थालिएको छ । महोत्तरीका यी देवी शक्तिपीठ र मन्दिरबाहेक बस्ती–बस्तीमा देवी प्रतिमा निर्माण गरिएका छन् । यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ । मिथिलामा पर्वविशेषमा बनाइएका माटाका देवी प्रतिमा विजयादशमीका दिन जलाशयमा विसर्जन गरेसँगै दुर्गा मेला सम्पन्न हुने परम्परा छ ।

    रासस

  • पुराना संस्कृति लोप भएर भड्किलो बन्दैछ दसैँ

    पुराना संस्कृति लोप भएर भड्किलो बन्दैछ दसैँ

    सुशिला रेग्मी/पाल्पा । दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसैँको रौनक छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुखसुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् ।

    गाउँमा सबै जुटेर पिङ राख्ने चलन रहेको बूढापाका बताउँछन् । हिजोआज परम्परादेखि नै पाल्पामा चलनचल्तीमा आएको चर्खे, लिङ्गेजस्ता पिङ लोप हुँदै गएको छ । यद्यपि चर्खे पिङको चुलनामा लिङ्गे पिङ भने पूर्णरूपमा विस्थापित भइसकेको छैन । लिङ्गे पिङ पहिलेजसो बाक्लो मात्रामा भने भेटिँदैन । झण्डै दुई दशकअघि गाउँगाउँमा अनिवार्यजसो चर्खे पिङ बनाइने गरे तापनि अहिले पिङको नाम मात्र लिनुपरेको रामपुरका मित्रलाल ढकाल बताउँछन् ।

    उनी भन्छन्, ‘खरबारी र जङ्गलबाट बाबियो, काठ काटेर ल्याइन्थ्यो, वल्लाघर पल्लाघरका सबै जम्मा भएर डहर, खुला चौरमा पिङ राखिन्थ्यो, पिङ खेल्नेको ठूलै भीड लाग्थ्यो, अहिले त पिङप्रति खासै चासो दिएको पाइँदैन’, उनले थपे, ‘काठैकाठले बनेको चर्खे पिङ खेल्दै रमाउनेको भीड हुन्थ्यो ।’ चारदेखि आठ जनासम्म बस्न मिल्ने खालको काठैकाठले बनेको यस पिङ खेल्दा निकै आनन्द लाग्ने गरेको उनले सम्झिए ।

    दिलबहादुर थापा आफूले जानेबुझेदेखि नै गाउँका साथीभाइ जम्मा भएर जङ्गलमा काठ काटेर चर्खे पिङ बनाउँदा निकै रमाइलो भएको आफ्नो अनुभव सुनाउँदै अहिले भने गाउँघर कतैपनि देख्न पनि नपाएकामा गुनासो गर्छन् । चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिइन्थ्यो ।

    पिङ राख्न थालेपछि दसैँको माहोल सुरु हुन्थ्यो । चर्खे पिङ नराखेसम्म गाउँघरमा चाडपर्वको रौनक नै नहुने गरेको सरस्वती सोमै बताउनुहुन्छ । ‘गाउँघरमा पिङ राखेपछि बल्ल दसैँ लाग्यो भन्ने आभाष हुन्थ्यो, दसैँका दिन एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिन्थ्यो, हिजोआज त पुरानो संस्कृति नै हराउँदै जान थालेकामा चिन्ता लागेको छ’, उहाँले भन्नुभयो ।

    कतिपय स्थानमा भने काठका अभावमा चर्खे पिङ राख्न छाडिएको स्थानीयवासीको भनाइ छ । हिजोआज वनमा काठ दाउरा काट्न नपाइने नियम लगाएपछि काठको अभावले गर्दा चर्खे पिङ राख्न छाडेको उनीहरूले बताए । पूर्वी पाल्पाका अर्चले, मित्याल, सहलकोट, झिरुवास, बाकामलाङ, गल्धालगायतका स्थानमा टाढा-टाढाबाट दसैँका बेला चर्खे पिङ खेल्न आउनेको घुइँचो रहने गर्‍थ्यो, तर अहिले पिङ राख्ने चलन हट्दै जाँदा गाउँ नै सुनसान बनेको छ ।

    केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गे पिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको यसपटक भने त्यति रौनक छैन । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैँ पर्वले ढपक्कै छोए पनि पिङ राख्ने र खेल्नेको उत्साह देखिँदैन । अर्कोतर्फ कोरोनाको माहामारीले पिङ राख्ने र खेल्ने कार्यमा गत वर्ष र यस वर्ष पनि स्थानीयवासीको सहभागिता देखिँदैन ।

    आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिँदैनन् । साना-साना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घरघरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ । बाबियो काटेर पिङ बाट्ने चलन पछिल्लो समय पाल्पामा कमै छ । गाउँघरमा चनचल्तीमा आएको चर्खे पिङ, लिङे पिङ र घुमाउने पिङ खेलेर मज्जा लिँदै आफन्त, साथीभाइ भेटघाट हुने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको थियो ।

    कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने खालका संस्कृति लोप हुँदै गएका छन् । दसैँ पर्व भनेपछि पिङ खेल्ने, घर लिपपोत गर्ने, रातो टीका, पहेँलो जमरा लगाउने, राम्रा-राम्रा पहिरन लगाउने, मीठो-मसिनो खाने, आफन्त साथीभाइसँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने कुरालाई जनाउँछ ।

    घर लिपपोत गर्न प्रयोग गरिने सेतो, रातो माटोको तुलनामा बजारमा आएका विभिन्न रङरोगनलगायतका वस्तुको प्रयोग बढ्न थालेको छ । बजारमा तयारी अवस्थामा आएका विभिन्न वस्तुप्रति स्थानीयवासीको आकर्षण बढ्न थालेपछि ग्रामीण वस्तुको उपयोग कम छ । गाउँघरमा पाइने वस्तुलाई उपभोग गर्न छाडेर महङ्गा मूल्यका वस्तु खरिद गरी घर सिङ्गारपटार गरेर घर सजाउने गरिन्छ । कृत्रिम वस्तुको प्रयोग बढ्दै जाँदा हाम्रा पुराना मौलिक संस्कार, संस्कृति हराउन पुगेका छन् । यसले चाडपर्व खर्चिलो र भड्किलो पनि बन्दै गएका छन् ।

    रासस

  • जुत्तादेखि मासुसम्म : यी हुन् दसैंमा सर्वाधिक खपत हुने १० वस्तु

    जुत्तादेखि मासुसम्म : यी हुन् दसैंमा सर्वाधिक खपत हुने १० वस्तु

    काठमाडौं । दसैंतिहार चाडपर्वसँगै यो बेला घरघरमा खाद्यान्न, लत्ताकपडा, घरायसी सामानलगायतको बढी खपत हुन्छ । मीठो खाने र राम्रो लगाउने पर्व पनि भनेर चिनिने दसैंमा रकमको अनेक जोहो गरेर भएपनि हामी धुमधाम र रमाइलोसँग दसैं मनाउँछौं । यो बेला वस्तु तथा सेवाको उपभोग बढ्ने भएकोले ती सामाग्रीको खपत पनि धेरै हुन्छ ।

    जागिरेले दसैंमा अतिरिक्त भत्ता पाउने, रेमिटान्सको फ्लो यो बेला बढ्ने भएकोले पनि उपभोक्ताले खुलेर खर्च गर्छन् । त्यसैले दसैँलगायतका चाडबाडमा अर्थतन्त्र चलायमान हुन्छ ।

    नेपाल कृषिप्रधान देशको रूपमा परिचित छ । तर, यहाँ उत्पादन हुने कृषि तथा पशुपालनले चाडबाडको बेला मात्र नभइ  अरु बेला पनि नधानेपछि सधैंजसो बाहिरी देशकै भर पर्नुपर्छ ।

    तर, मासु, खाद्यान्न तथा लत्ताकपडाको बढी माग हुने यो बेला मुलुकले भने परनिर्भरता भोग्नुपरेको छ । आवश्यक वस्तुहरू आन्तरिक उत्पादनले नपुगेर भारत, चीनलगायतका मुलुकबाट आयात हुने गरेको छ । दसैँमा विशेष गरी मासुका लागि खसी, बोका, च्याङ्ग्रा र राँगाको बढी खपत हुन्छ । यसको साथै धेरै माग हुने लत्ताकपडा, मोवाइल फोन तथा ग्याजेट्स, सवारीसाधन, अबिर र गरगहनाजस्ता वस्तुमा पनि बाहिरी मुलुककै भर पर्नुपर्ने बाध्यता छ ।

    मासु

    दसैँको समयमा सबैभन्दा बढी मासुको खपत हुने गरेको छ । मासुका विभिन्न परिकार बनाएर खान प्रचलन रहेकाले खसी, बोका, भेडा, च्याङग्रा, रांगा, कुखुराको मासु सबैभन्दा बढी उपभोग हुने गरेको छ । दसैँमा काठमाडौं उपत्यकामा करिब ३५ लाख मानिस बसोबास गर्छन् । यो बेला २५ लाखभन्दा बढी उपत्यका छाड्ने गरेका छन् ।

    काठमाडौं उपत्यकाभन्दा बाहिर ३० लाख हराहारीमा खसीबोकाको खपत हुने गरेको छ । काठमाडौं उपत्यकामा करिब ३५ लाख हाराहारीमा खसी-बोका काटिने गरेको छ । खसीबोकाबाहेक उपत्यकामा कुखुरा नौ लाख, राँगा १५ लाख केजी आवश्यक पर्छ । उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिकटन मासु आवश्यक पर्ने सकारी तथ्यांक रहेको छ ।

    व्यापारीले उपत्यकामा तराईका जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका र मनाङ, मुस्ताङ, रसुवा तथा तिब्बतबाट भेडा, च्याङ्ग्रा बिक्रीका लागि ल्याउँने गर्छन् ।

    लत्ताकपडा तथा जुत्ता

    टीकाको दिन नयाँ लुगा लगाई मान्यजनबाट टीका जमरा तथा आशीर्वाद ग्रहण गर्ने लागि नयाँ लुगा लगाउने प्रचलन छ । बजारमा उपलब्ध नयाँ फेसन तथा व्यक्तिका रुचिअनुसारका नयाँ कपडाहरु खरिद गर्ने प्रचलन रहेको छ । नेपालमा करिब ५ खर्बको बराबरको कपडा आयात हुने गरेको भन्सारको तथ्यांकले देखाउँछ । त्यसमध्ये दसैँमामात्रै १ खर्बभन्दा बढी खपत हुन्छ । नेपालमा खपत हुने अधिकांश लत्ताकपडा चीन, भारत, बंगलादेशलगायतका तेस्रो मुलुकबाट आयात हुने गरेको छ । त्यस्तै जुत्ताचप्पलमा पनि विदेशी डिजाइनको आकर्षण बढ्दो छ ।

    मोबाइल तथा ग्याजेट

    दसैँमा नयाँ सामान जोड्ने लहरका बीच विभिन्न ब्राण्डका मोबाइलको माग पनि उत्तिकै हुने गरेको छ । गत आर्थिक वर्षमा करिब ३६ अर्ब ९० करोड रुपैयाँको मोबाइल आयात भएको थियो । दसैँमामात्र १५ अर्बको मोबाइल बिक्री भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सामसुङ, एप्पल, हुवावे, ओप्पो, साउमी, रेडमी, नोकिया ब्राण्डका फरक मोडलका स्मार्ट फोनहरू यो बेला बढी बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।

    सवारीसाधन

    दुई तथा चार पाङ्ग्रे सवारीसाधन जोड्नेलाई पनि दसैँ उपयुक्त अवसर हो । यो बेला छुटलगायतका केही स्किमहरूसमेत हुने भएकाले पछिल्लो समय सवारीसाधनप्रतिको आवश्यकता र आकर्षणसँगै यसको माग बढेको छ ।

    ३० लाखदेखि १ करोडसम्म मूल्य भएका विभिन्न कम्पनीका कारहरूको माग बढी हुने गरेको छ । पछिल्लो समयमा विद्युतीय सवारीसाधनको माग पनि बढ्दोछ । टाटा, हुण्डाइ, सुजुकी, टोयोटालगायतका कम्पनीको कारहरू दसैँमा बढी बिक्री हुन्छन् ।

    मोटरबाइक तथा स्कुटरहरू खरिद पनि यो बेला बढ्ने गरेको छ । हिरो, होण्डा, यमाहा, बजाजको पल्सर, आपची, भेष्पा, केटीएम डुकलगायतका बाइक ग्राहकको रोजाइमा छन् ।

    दसैँमा सवारीसाधानको माग ७० प्रतिशतले बढेको छ । वार्षिकरूपमा अटोपार्टसहित करिब ३ खर्बको सवारीसधान आयात हुने गरेको अटोमोवाइल एसोसियनका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् । जसमध्ये करिब १ खर्बको कारोबार भने दसैँमा हुन्छ ।

    त्यसमध्ये पनि करिब ८० प्रतिशत मोटरबाइक बिक्री हुने गरेको छ ।

    गरगहना

    लगानीमा तुलनात्मरूपमा सुरक्षित र भरपर्दो मानिएको सुनचाँदी पनि चाडपर्वको बेला खरिद गर्नेको संख्या बढेको छ । यतिखेर सहर तथा ग्रामीण बजारका गरगहना पसहरूमा भीडभाड हुने गर्छ ।

    सरकारले सुनलाई विलासीको वस्तुको रूपमा राखी आयातको लागि दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा निर्धारण गरेको छ । दसैँको समयमा भने २०-३० केजी सुन खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार दसैँको समयमा २७/२८ करोडको सुनचाँदी कारोबार हुने गरेको छ ।

    पेयपदार्थ

    दसैँमा कोक, फेण्टा, स्प्राइटलागायतका चिसो पेय पदार्थको वार्षिक खपतमध्ये करिब ४० प्रतिशत दसैँमा बिक्री हुने गरेको छ । यसैगरी नेपालमा दसैँको समयमा विभिन्न ब्राण्डका रक्सी तथा वियरको खपत पनि बढी नै हुने गरेको छ । विभिन्न ब्राण्ड ह्विस्की, वाइन, भोट्का, बियरलगायतका मदिराजन्य पदार्थको बिक्री पनि यो बेला बढी हुन्छ ।

    मिठाई तथा फलफूल

    दसैँको समयमा मिठाई तथा फलफूलको माग पनि उच्च छ । विषेशगरी साकाहारीको रोजाइमा बढी पर्छन् यी चिज । विभिन्न प्रकारका लड्डु, मिठाई, रसबरी, दूधमलाईलगायतका मिठाईजन्य परिकारको बिक्री दसैँमा बढी हुने गरेको छ । मिठाई पसलमा ग्राहकको भीडभाड बढेको पाइन्छ । यसैगरी दसैँको समयमा स्याउ, सुन्तला, मौसम, किबि, स्टार फ्रुटलगायतका फलफूलहरू उपभोग बढी हुन्छ ।

    अबिर

    दसैँको टीकामा अबिरको प्रयोग हुने भएकोले यसको माग पनि ह्वात्तै बढ्छ । नेपालमा हिन्दू धर्मावलम्वीको बाहुल्यता भएकोले वर्षैभरी अबिरको माग भइ नै रहन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मै टीका/अक्षतामा रातो रंगको बढी प्रयोग हुने भएकाले अबिरको खपत बढी हुन्छ । नेपालमा प्रयोग हुने अबिरमध्ये भारतबाट आयात हुन्छ ।

    चामल, खानेतेल तथा चिनी

    दसैँको समयमा खानेतेलको खपत पनि बढ्दो हुन्छ । पछिल्लो समय खानेतेलको मूल्य करिब ७० प्रतिशतले बढेको छ । यसैगरी चिनीको खपत पनि दसैँको समयमा अन्य समय भन्दा बढी हुने गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यपार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रमार्फत ग्राहकका लागि सुपथ मूल्यमा यी सामग्री पुर्‍याउने व्यवस्थासमेत मिलाएको छ ।

    यसैगरी लङ्ग ग्रेन तथा वास्मती धानको चामलको खपत समेत बढ्ने गरेको छ । कच्चा पदार्थ आयात गरेर खानेतेल नेपालमा नै उत्पादन गरिन्छ । तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, वनस्पति घ्यूलगायत तेलजन्य पदार्थको उपयोग बढी हुने गरेको छ । नेपाल तेलजन्य पदार्थहरु कञ्चा पदार्थ आयात गरेर उत्पादन गर्ने गरिन्छ । साथै तेलमै पनि नेपाल परनिर्भर छ ।

    भारतबाट वार्षिक ५० अर्बको चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार दसैँमामात्र करिब ५ अर्बको चामल आयात हुन्छ । त्यस्तै वार्षिकरूपमा २५० मेट्रिकटन चिनी खपत हुने गरेकोमा दसैँतिहारलगायतका चाडमा ५० मेट्रिकटन चिनी खपत हुने गरेको छ ।

    मर-मसला

    मासु, पनिर लगायतका परिकारलाई मिठो र बास्नादार बनाउन मरमसलाको प्रयोग पनि उत्तिकै हुन्छ । अदुवा, लसुन, प्याज, जीरा, मरिच, खुर्सानी, बाह्र मसला, सुकुमेल, मिटमसलालगायतका मरमसला दसैँमा धेरै खपत हुने गरेको छ । अदुवा नेपालको आन्तरिक उत्पादनले नै धान्ने भए पनि अन्य वस्तु भारतलगायतका मुलुकबाट आयात हुँदै आएको छ ।

  • दसैँमा रातोमाटो खोज्न ज्यानकै जोखिम, ढिस्कोले पुरिएर वर्सेनि मृत्यु

    दसैँमा रातोमाटो खोज्न ज्यानकै जोखिम, ढिस्कोले पुरिएर वर्सेनि मृत्यु

    काठमाडौं । दसैँ नजिकिँदै गएपछि गाउँघरमा रातोमाटो र सेतो कमेरोको चर्चा सुरु हुन्छ । रातोमाटो र कमेरोले लिपेर घर चिटिक्क पारिएपछि बल्ल लाग्छ- दसैँ आयो ।

    सेतोमा रातो धर्का लगाएको घर टाढाबाटै उज्यालो देखिन्छ । वर्षभरि चिसो हिलोले विगारेको घरलाई मर्मत गर्ने अवसरको रुपमा पनि लिइन्छ रातोमाटो र कमेरोले घर चम्काउनुलाई । अरुबेला माकुराको जालोले घेरिएको घरको सफाई गर्ने फुर्सद नहुनेहरु दसैँमा जसरी पनि फुर्सद निकाल्छन् ।

    तर यसरी घर चिटिक्क बनाउनका लागि माटोको जोगाड गर्ने काम भने सजिलो छैन । माटो खन्न जाँदा ढिस्कोले पुरिएर कतिले ज्यान गुमाएका छन् भने कति अपाङ्ग भएर बस्नुपरेको छ । रातोमाटो र कमेरो लिन खन्न जाँदा ढिस्कोमा पुरिएर घाइते हुने र मृत्यु हुनेमा बढी बालबालिका रहेको प्रहरीको तथ्थाङले देखाएको छ ।

    घर पोत्न रातोमाटो कमेरो लिन जाँदा वर्षेनी दुर्घटना हुने गरेको छ । राम्रो र मलिलो माटोको खोजीमा धेरै सुरुङ बनाएको ठाउँमा माटो निकाल्न खोज्दा माथिबाट ढिस्को खस्दा ज्यानै गइरहेको छ ।

    आइतबार कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा डुङ्गा पल्टिँदा सुर्खेतको चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भइन् । डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टामा जाने क्रममा डुङ्गा पल्टिएको थियो ।

    गत भदौ २६ गते कालिकोट पलाता गाउँपालिका ८ पारोटीका सहकुरे विकको १८ वर्षीया छोरी सुनिता विक घर लिप्ने माटो लिन रिठ्ठा गएकी थिइन् । माटो खन्ने क्रममा माटोको ढिस्को सहित आएको पहिरोमा परि घाइते भइन् । उनको अहिले कम्मरभन्दा मुनीको भाग चल्दैन । त्यतिमात्र होइन बोल्न समेत नसक्ने भएकी छन् ।

    गत भदौ १६ गते हुम्लाको ताजाकोट गाउँपालिका ३की ४५ वर्षीया खिउली शाही घरनजिकै घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्कोले पुरिएर गम्भिर घाइते भइन् ।

    यस्तै गत बैशाख पहिलो साता कञ्चनपुरको शुक्लाफाट नगरपालिका ८ बेलडाडीमा घर पोत्ने माटो खन्दै गर्दा ढिस्कोले पुरिएर ५ जना घाइते भए । १९ वर्षीया विपना साउदको खुट्टा भाँचियो, १६ वर्षीया जानकी साउदको शरीरमा चोट लागेको थियो भने १८ वर्षीया आरती टमटा, १३ कविता धामी, १३ वर्षीया लक्ष्मी साउदलाई सामान्य चोट लागेको थियो ।

    गत वैशाखमै बागलुङको निसिखोला गाउँपालिका -२ कान्लेचौरकी ३३ भवी कुँवर र उनको १२ वर्षीय सुरेश कुँबर घर पोत्ने माटो खन्दै गर्दा माथिबाट ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो ।

    यसरी माटोको डिस्कोले पुरेर यस वर्ष मात्रै २ जनाले ज्यान गुमाइसकेका छन् भने २१ जना घाइते भइसकेका छन् ।

    गत वर्ष काभ्रेको खानीखोला गाउँपालिका ४ फुलडाडाकी २४ वर्षीया अनिता गोले लगायत ४ जना महिला रातोमाटो ल्याउने क्रममा ढिस्कोले पुरिएर १ जनाले ज्यान गुमाए भने ३ जना घाइते भएका थिए ।

    बाजुरामा माटोको ढिस्कोमा पुरिएर ३ जना, कैलालीमा ३ जना, हुम्लामा २ जना घाइते भएका थिए ।

    यसैगरी दाङमा माटो लिन जाँदा एक जना र बर्दियामा ११ बालकको पनि माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको थियो । गत वर्ष माटो लिन जाँदा ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । ढिस्कोमा पुरिएर घाइते हुने र मृत्यु हुनेमा अधिकाशं बालबालिका रहेका छन् ।

    बालबालिकालाई माटो खन्न नपठाउन प्राधिकरणको आग्रह

    दसैँको बेला घर छ्याप्न रातोमाटो कमेरो लिन जाँदा बालबालिकालाई नपठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन् ।

    माटो खन्न जाँदा दुर्घटना हुन नदिन माटो खानीको ओडारमा नपस्न, ठूला खाल्डामा नछिर्न पहिरो गएको ठाउँमा माटो खन्न नजान, माटो खन्न बालबालिकालाई माटो खन्न नपठाउन र नलैजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोख्रेलले आग्रह गरेका छन् ।

    खानीमा दुलो वा ओडार बन्ने वितिकै भत्काउन सुझाव दिएका छन् ।

  • दसैँ मनाउन घर फर्कनेको भीड (तस्बिरहरू)

    दसैँ मनाउन घर फर्कनेको भीड (तस्बिरहरू)

    काठमाडौं । बडादसैँ भित्रिएसँगै उपत्यका छाड्नेहरूको संख्या पनि बढेको छ । उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर थातथलोमा फर्किनेहरूको लर्को लागेको छ ।

    पढाइ, रोजगारी तथा व्यवसायको सिलसिलामा सहरबजार छिरेकाहरू दसैँमा घर फर्कने परम्परा छ । मीठो खाने र राम्रो लाउने चाडका रूपमा पनि परिचित दसैँमा परिवार, आफन्तजनसँग जमघटको खुसी टीका थापेर आशीर्वाद लिने हुनाले यो चाडको महत्व झन् बढ्दो छ ।

    पछिल्ला दिनमा उपत्यका भित्रिनेको तुलनामा बाहिरिने यात्रुको चाप बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हिजोसम्म एक लाखभन्दा बढी यात्रुले उपत्यका छाडेको अभिलेख छ ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भोलिदेखि बल्ल दसैँ बिदा सुरू हुने भएकोले यो संख्या झन् बढ्ने बताएका छन् ।

     
     
     

     
     
     
     
     
     
     
     
     
     
  • दसैंमा लामो यात्रा गर्दै हुनुहुन्छ ? यी हुन् ध्यान दिनुपर्ने १० कुरा

    दसैंमा लामो यात्रा गर्दै हुनुहुन्छ ? यी हुन् ध्यान दिनुपर्ने १० कुरा

    काठमाडौं । दसैंका लागि सहरबजारबाट गाउँघर जानेक्रम बढेको छ । कोहीकोहीले दसैंलाई घुम्ने अवसरका रुपमा पनि लिन्छन् ।

    यदि घरगाउँ जान वा कतै घुम्नका लागि लामो दूरीको यात्रामा निस्कँदै हुनुहुन्छ भने केही कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ ।

    यात्रामा सावधानी नअपनाउँदा बिरामी हुने, दुर्घटना हुने जस्ता जोखिम हुन्छन् । जसले आफूसँगै परिवार र आफन्तलाई खल्लो बनाउँछ ।

    के–कस्ता कुरामा ध्यान पुर्याउनु पर्छ त ?

    १. सवारीसाधनको झ्यालबाट टाउको ननिकाल्ने । यात्रुले टाउको वा हात निकाल्दा अरु गाडीले हान्दिन सक्छ ।

    २. औषधि सेवा गर्ने । लामो यात्र गर्दा बान्ता आउने समस्या भएका यात्रुलहरुले यात्रा गर्नुभन्दा पहिले नै बान्ता रोक्ने औषधि खानु पर्दछ ।

    ३. आवश्यक परेको स्थानमा गडी रोक्न लगाउने । लामो यात्रा गर्दा चलाकले सेकेसम्म आफूले सधैं रोक्ने स्थानमा रोक्न खोज्ज्छन् । तर यात्राको समयमा दिसा–पिसाब लागे सहचालकलाई भनेर रोक्न लगाउनु पर्छ ।

    ४. टिकट काउन्टरमा नै गएर काट्ने । लामो दूरीको यात्रा गर्दा यात्रुले टिकट काउन्टरमा नै गएर काटेको राम्रो हुन्छ । अनलाइनबाट टिकटको व्यवस्था भएपनि धेरैजसो अन्तिमको सिटका लागि मात्रै कम्पनीले दिने गरेको छ । बिचौलियबाट टिकट काट्दा समस्या हुनसक्छ ।

    ५. टिकट साथमा नै राख्ने । सहचालकले यात्रा गरिरहेको बेला बसको टिकट हेर्नसक्छ । मागेको बेला देखाउन र बसेको सिटबाट उठाउन खोजेमा देखाउनका लागि आफ्नो टिकट साथमा नै राख्नु पर्छ ।

    ६. बस स्टेसनमा समयमा नै पुग्ने । यात्रुलो टिकट काटेको बस कति समयमा छुट्ने हो भनेर राम्रोसँग ख्याल गर्नुपर्छ । बस नछुटोस् भनेर आफ्नो बस छुट्ने स्टेसनमा समयमा नै पुग्नु पर्दछ ।

    ७. बस नम्बर याद गर्ने । आफुले टिकट काटेको बस नम्बर पनि याद गर्नु पर्दछ । बस स्टेसनमा गएर बस कुर्दा आफूले कुरेको बसको नम्बर याद हुँदा सहज हुन्छ । खाजा र खाना खान रोकेको बेला पनि बस नम्बर याद हुँदा यात्रा गरिहेको बस सजिलै चिन्न सकिन्छ ।

    ८. मापासे नगर्ने । यात्रुले यात्रा गर्दा मापासे गर्नु हुँदैन । एकजनाले यात्रामा मापासे गर्दा सबै यात्रुलाई असर पर्नसक्छ । मापासे गर्दा यात्रु अनियन्त्रित भएर बीचैमा छुट्न पनि सक्छ । धेरै मापासे गरेको अवस्थामा सवारी ाधनले पनि बीचबाटोमा नै झारिदिन सक्छ ।

    ९. थोरै खाना खाएर यात्रा गर्ने । यात्राको बेला थोरै खाना खानु पर्छ । यात्राको समयमा खाना नपच्ने भएकाले थोरै खानु पर्दछ । खाना पचेन भने पेट दुखेर यात्रा सुखद नहुन सक्छ ।

    १०. सकेसम्म एक्लै यात्रा नगर्ने । लामो यात्रा गर्दा सकेसम्म परिवार वा साथीभाइसँग गर्दा राम्रो हुन्छ । बोल्न र असजिलो भएको बेला सहयोग लिन सजिलो हुन्छ । परिवार वा साथी हुँदा यात्रा रमाइलो र यादगर पनि हुन्छ ।

    ट्राफिक प्रहरीका असई राजकुमार गोले लामो यात्रा गर्दा यात्रुसँगै चालक तथा सहचालक पनि सजग हुनपर्ने बताउँछन् ।

    ‘चालकले लाइसेन्स र ब्युबुक साथमा राखेर गाडि चलाउनु पर्दछ । चालकले मापासे पनि गर्नु हुँदैन’ गोले भन्छन्, ‘यात्रुले भने सरकारले तोकेकोभन्दा धेरै भाडा मागेमा ट्राफिक प्रहरीलाई खबर गर्ने र आफ्नो सामानको सुरक्षा गर्नु पर्दछ ।’
    यात्रु पनि यात्रा गर्दा सुरक्षित र सजक हुन आवश्यक रहेको गोलेले बताए ।

    यातायात व्यवसायी राम कार्कीले सार्वजनिक बसमा यात्रा गर्दा अन्य आवश्यक सामग्रीसँगै सामान्य खालका औषधि पनि बोक्नुपर्ने सुझाव दिए ।

    ‘सकेसम्म काउन्टरमा नै गएर टिकट काट्नु पर्छ । आफ्नो गाउँ जाँदा लाग्ने भाडाको बारेमा जानकारी राख्नुपर्छ । बस रोक्दा रोकेको ठाउँमा नै बस्ने र राजमार्गमा खाना खाँदा ध्यान दिनुपर्छ’, उनले भने, ‘बसमा यात्रा गर्दा असहज भए सहचालकलाई जानकारी गराउनु पर्छ ।’

  • दसैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्छौं: स्वास्थ्य राज्यमन्त्री

    दसैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्छौं: स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

    आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।

    यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने
    उनले जानकारी दिए । फागुनसम्ममा क्रमश ः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनको भनाइ छ ।

    उनले भने,‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुन सम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । र क्रमिक रुपमा देशभरी खोप लगाइने जानकारी गराउन चाहान्छु ।’

    राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।

    सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाई छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए ।

    एक कार्यक्रमकाबीच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिदैँ पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताए ।

    फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको छ ।

     

  • दसैँलक्षित टिकट बुकिङ खुल्दा काउन्टर सुनसान ! (तस्बिरहरू)

    दसैँलक्षित टिकट बुकिङ खुल्दा काउन्टर सुनसान ! (तस्बिरहरू)

    काठमाडौं । आजदेखि दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको छ । चाडपर्वमा एकैपटक काडमाडौं छाड्नेको भीड बढ्ने भएकोले केही वर्षदेखि दसैँअघि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

    बुकिङ खुल्नासाथ चापाचाप हुने काउन्टर आज पहिलो दिन भने सुनसान देखिएको छ । कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौं छाड्नेको संख्या कम हुने आँकलन गरिएको छ । गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनलाइन र काउन्टरमा नै आएर टिकट काट्ने यात्रु नभएकोमा आश्चर्य लागेको बताए ।

    सिटौलाले भने, ‘पहिले अग्रिम टिकट खुलाएको दिन दसैँमा गाउँ जानका लागि टिकट काट्नेको भीड हुने गरेको थियो । तर, यस वर्ष अग्रिम टिकट खुला गरेको पहिलो दिन प्रत्यक्ष र अनलाइनबाट टिकट काट्ने यात्रु खासै छैन्न । हामीले के कारणले यात्रु भएन भन्ने विषयमा अध्ययन सुरू गरेका छौं । पहिले दसैंमा २२ देखि २५ लाख यात्रुको चाप हुन्थ्यो । तर यस वर्ष सुनसान छ ।’

    कोरोनाको कारण पहिले नै मान्छे गाउँ गएर बसेकाले पनि यस वर्ष खासै यात्रु नदेखिएको हुनसक्ने सिटौलाले बताए ।

    दसैँमा गाउँ जान अग्रिम टिकट खुलेको बेला बसपर्कमा यात्रु र टिकट काट्नेहरूको भीडभाड नै हुने गरेको थियो । तर, यस वर्ष भने काउन्टर सुनसान नै देखिएको छ ।

    तस्बिरहरू : सरोज बैजु । 

  • दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ)

    दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ)

    काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दसैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट सटही थालेका छन् ।

    नयाँ नोट खुलेसँगै बैंकहरूमा पैसा साट्नेको भीड लागेको छ । मीठो खाने र राम्रो लाउने पर्वको रूपमा लिइने दसैँमा नयाँ नोटको विशेष महत्व मानिन्छ । बिहान १० बज्न नपाउँदै बैंकहरूमा सर्वसाधारण टोकन लिएर लाइन बसेका छन् ।

    केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

    काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

    नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

    राष्ट्र बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

    साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

    गत वर्ष भने कोरोनाको जोखिमका कारण भन्दै नयाँ नोट सटही गरिएको थिएन ।