Tag: दधिराम न्यौपाने

  • माओवादीले पदमुक्त गरेका लुम्बिनीका दुई सांसदद्वारा सर्वोच्चमा रिट, आज सुनुवाइ

    माओवादीले पदमुक्त गरेका लुम्बिनीका दुई सांसदद्वारा सर्वोच्चमा रिट, आज सुनुवाइ

    रुपन्देही । एमाले प्रवेश गरेका कारण पार्टी कारबाहीमा परी लुम्बिनी प्रदेश सांसद पद गुमाएका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीले पद थमौतीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    यो मुद्दाको सुनुवाई आज बिहीबारदेखि सुरु हुनेछ ।

    लुम्बिनी प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए ।

    तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषण पत्रका आधारमा निर्वाचनमा लडेको उनीहरुको जिकिर छ ।

    गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवैजनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो ।

    निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई निवेदन पेश गरेको र आज अन्तरिम आदेश हुने नहुने टुंगो लाग्ने निवेदकहरुका तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता ईश्वरी भट्टराईले जानकारी दिए ।

    माओवादी केन्द्रमै रहेको दावीसहित नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका नेताले अदालतमा रिट दिएको सार्वजनिक भएसँगै न्यौपाने र पन्थी पनि अदालत गएका हुन् ।

  • एमाले बनेपछि सांसद पद गुमाएका न्यौपानेले फिर्ता गरे संसदको गाडी

    एमाले बनेपछि सांसद पद गुमाएका न्यौपानेले फिर्ता गरे संसदको गाडी

    रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् ।

    सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो ।

    कारवाहीपछि प्रदेश सभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा स्ट्यान्ड पंखा संसद सचिवालयलाई फिर्ता गरेका हुन् । सांसद पदबाट हटेको भोलिपल्टै उनले गाडी फिर्ता गरेका हुन् ।

    सांसदबाट हटेपछि सरकारी सुविधा लिनु आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका हुन् । न्यौपाने अब एमालेको केन्द्रीय सदस्यमात्र रहनेछन् ।

  • प्रदेश सांसद न्यौपानेले भने- पद गए फेरि आउँछ, तर माओवादीमा फर्किन्न

    प्रदेश सांसद न्यौपानेले भने- पद गए फेरि आउँछ, तर माओवादीमा फर्किन्न

    रूपन्देही । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएर ओली पक्षमा लागेका नेता दधिराम न्यौपानेले अब एमालेमा रहने घोषणा गरेका छन् । आफ्नो पद गएपनि माओवादी केन्द्रमा नफर्किने उनले बताएका छन् ।

    लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति रहेका न्यौपानेले आफू वैचारिक रूपमै ओलीको पक्षमा लागेको भन्दै अब सांसद पद गए पनि माओवादीमा नजाने स्पष्ट पारे ।

    ‘म पद जोगाउन गुट चेन्ज गरेको होइन’ न्यौपानेले भने, ‘हिजो यहीँ मुखले प्रचण्ड-नेपाल समूहको कदम गलत छ भनेर भाषण गर्दै हिँडने फेरि, पद जोगाउनका लागि उनैतिर फर्किने कुरा यो हुन सक्दैन । पद गए पनि म अब माओवादीमा फर्किन्न । पद पाउनको लागि अर्को निर्वाचन पनि आउँछ ।’

    न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भूमिगतकालमा सोही क्षेत्रबाट आन्दोलनमा लागेका प्रभावशाली नेता हुन् ।