Tag: त्रिलोचन भट्ट

  • निर्जीव र सजीवको गणित बुझाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले सर्वाेच्चमा पठाए जवाफ

    निर्जीव र सजीवको गणित बुझाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले सर्वाेच्चमा पठाए जवाफ

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा मुख्यमन्त्री त्रिलोचन भट्टसहित १३ जनाले जवाफ पेस गरेका छन् ।

    २७ जेठमा कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए ।

    १४ जेठमा मुख्यमन्त्री भट्टले सरकार पुनर्गठन गरेका थिए । ७ सदस्यीय मन्त्रिमण्डलमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल तयार गरिएको थियो ।

    ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन् । नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट वाेहरा कारवाहीमा परेपछि सांसद पदमुक्त भएका थिए ।  संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कुल सदस्यको २० प्रतिशत मान्दा १०.४ हुन्छ । ५३ सांसद संख्या गणना गर्दा १०.६ जना हुन्छ ।

    संविधानको धारा १६८ को उपधारा (९) मा कुल सदस्य संख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै रिट निवेदन गर्दा गरिएको थियो ।

    प्रदेश सरकार गठनबारे संविधानमा भएकाे व्यवस्था ।

    सर्वाेच्च अदालतले जेठ ३० गते निवेदकको मागबमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित १५ दिनभित्र सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयबाट लिखित जवाफ पेस गर्न भनिएको थियो ।

    मन्त्री र राज्यमन्त्रीसहित दुई कर्मचारीले पनि फरक-फरक मितिमा जवाफ पेस गरेका छन् । जवाफमा उनीहरू सबैले संविधानअनुसार सरकार पुनर्गठन गरिएको जिकिर गरेका छन् ।

    मुख्यमन्त्री भट्टसहित आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीका साथै भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यान्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मानबहादुर सुनारले सर्वाेच्च अदालतलाई जवाफ पेस गरेका छन् ।

    जवाफ पेस गर्नेमा मन्त्री र राज्यमन्त्रीसहित केही कर्मचारी पनि छन् । प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्का र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामकृष्ण सुवेदीले जवाफ पेस गरेका छन् ।

    यस्तो छ मुख्यमन्त्रीको जवाफ

    मुख्यमन्त्री त्रिलोचन भट्टले असार २० मा सर्वाेच्च अदालतलाई ६ बुँदे जवाफ पत्र पेस गरेका छन् । उनले जवाफमा सजीव र निर्जीव वस्तुसँग सुदूरपश्चिम प्रदेश सरकारलाई तुलना गरेका छन् ।

    ‘वस्तुको हिसाव गर्दा निर्जीव वस्तु विभाजन गरी जस्तो परिणाम आउँछ त्यही परिणामलाई निश्चितरूपमा मापन गरी कारोबार गर्ने प्रचलन छ । तर, सजीव वस्तुको परिणाम मापन गर्दा सर्वमान्य अंकगणितीय विधि र मान्यतालाई अंगीकार गरी गणना गर्ने गरिएको छ,’ मुख्यमन्त्रीले पत्रमा लेखेका छन्, ‘यसरी सजीव वस्तु तथा व्यक्तिको गणना गर्दा १०.६ अंक भन्नाले ११ जना व्यक्तिलाई नै जनाउँछ ।’

    मुख्यमन्त्री भट्टकाे लिखित जवाफ ।

    मुख्यमन्त्री भट्टले मुद्दा खारेजीको समेत माग गरेका छन् । मुख्यमन्त्रीले भनेका छन्, ‘रिट निवेदकहरुबाट भ्रमपूर्ण जिकीरसहित यस कार्यालयको विरुद्धमा दायर गरिएको प्रस्तुत रिट निवेदन खारेज गरी फुर्सद दिलाइ न्याय निरुपण गरी पाउँ ।’

    मन्त्रीहरुको जवाफ पनि उस्तै

    सुदूरपश्चिम प्रदेशका मन्त्री तथा राज्यमन्त्रीहरुले सर्वेच्च अदालतलाई पठाएको जवाफको व्यहोरा पनि मुख्यमन्त्रीको जस्तै छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामकृष्ण सुवेदीको पनि उस्तै-उस्तै छ ।

    सबैको जवाफ ६ बुँदामा छ । आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराजले भने मन्त्रीको रुपमा जवाफ पेस गरेकी छन् । उनले निवेदन जवाफ प्रस्तुतकर्तामा (अर्चना गहतराज) मन्त्री लेखेकी छन् ।

    सामाजिक विकासमन्त्री लालबहादुर खड्का र राज्यमन्त्री मनाकुमारी साउदले संयुक्त रूपमा जवाफ पठाएका छन् ।

    १८ गते पेसी

    असार ६ गते दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको यो मुद्दाको पेसी आगामी सोमबारलाई तोकिएको छ ।

    उक्त आदेशमा संविधानको धारा १६८ को उपधारा (९) व्याख्याको विषय भएको हुँदा अहिले नै सो सम्बन्धमा व्यख्या गरी अन्तरीम आदेश गर्न नमिल्ने उल्लेख गरिएको थियो ।

    विषयको गम्भीरतालाई हेर्दा शीघ्र निरुपण गर्नुपर्ने भएकाले विपक्षीहरुको लिखित जवाफ परेको मितिले सात लिन भित्र पूर्णसुनुवाइको लागि नियमानुसार पेस गर्नु भनिएको छ ।

    याे रिटमा सर्वाेच्चले असार ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेकाे थियाे ।

     

  • विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने- गणतन्त्रको जित भयो

    विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने- गणतन्त्रको जित भयो

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मत प्राप्त गरेलगत्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसको थप संस्थागत विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्रको जित भएको छ र थप संस्थागत विकास गर्न यो विश्वासको मत प्राप्त भएको हो’ उनले भने । आगामी दिनमा समग्र विकास निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो ।

    ‘समग्र विकासको लागि अझै सशक्त रूपबाट काम गर्नेछु’, उनले भने, ‘संविधान, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र संसदीय प्रणालीलाई बचाउने र विकास गर्ने गरी मैले काम गर्नेछु ।’

    नयाँ संरचनासहितको पहिलो अनुभव भएकोले ३ वर्ष गरेका कामको परिणाम आउन बेला भएको भन्दै मुख्यमन्त्री भट्टले अझै थप परिणाममुखी काम गर्ने बताए ।

    सरकार प्रमुखले आवश्यक ठानेमा विश्वास मत दिन सक्ने व्यवस्था अनुसार आफूले विश्वासको मत मागेको बताए ।
    उनको पक्षमा पक्षमा ३० मत र विपक्षमा ९ भोट परेको थियो ।

    एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।

  • मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेको ओली पक्ष र जसपामात्र विपक्षमा

    मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, एमालेको ओली पक्ष र जसपामात्र विपक्षमा

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ ।

    मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले मतदानमा भाग लिएन ।

    बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

    सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो । माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हालेका छन् ।

  • सुदूरपश्चिम मुख्यमन्त्रीले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरू

    सुदूरपश्चिम मुख्यमन्त्रीले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरू

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन सांसदसँग आह्वान गरेका छन् । यससँगै अहिले मतदानको तयारी भइरहेको छ ।

    बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

    ‘सुदूरपश्चिममा ठूला-ठूला काम गर्नुपर्ने छ, यसका लागि संघीय सरकारसँग साझा संकल्पसहित सदनलाई एकतावद्ध गरेर अघि लिएर जान प्रतिवद्ध छु’ उनले भने ।

    आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको उनको भनाइ छ ।

    ‘म सभामुखमार्फत आग्रह गर्छु, सबैले मलाई विश्वासको मत दिनुस्,’ उनले भने, ‘म सबै माननीयहरूको सुझावका आधारमा साझा एजेन्डा बनाएर काम गर्नेछु ।’

    मुख्यमन्त्रीको सम्बोधनपछि मतदान प्रक्रिया सुरू भएको छ । एमाले संसदीय दलले सरकारलाई विश्वासको मत दिने निर्णय लिइसकेकाले सरकार ढल्ने सम्भावना छैन ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनालई संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

  • सरकारबाट बाहिरिने एमालेको २ महिनाअघिको निर्णय किन भएन पूरा ?

    सरकारबाट बाहिरिने एमालेको २ महिनाअघिको निर्णय किन भएन पूरा ?

    कैलाली । गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको खुलेको छ ।
    एमाले प्रदेश अध्यक्ष कर्ण थापाको अध्यक्षतामा बसेको बैठकले माओवादी र एमालेले संयुक्त रूपमा सञ्चालन गरेको सरकारबाट एमाले बाहिरिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको खुलेको हो ।

    सर्वोच्च अदालतले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्काएपछि बसेको पहिलो बैठकले नै प्रदेश सरकार असफल भएको ठहर गर्दै एमालेको समर्थन फिर्ता लिने र एमालेका तर्फबाट मन्त्री रहेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    त्यो बेला एमालेले कुन दलसँग गठबन्धन गरेर सरकार बनाउने भन्नका लागि ३ सदस्यीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा एमाले प्रदेशमा सह-इन्चार्ज महेश्वर पाठक, एमाले केन्द्रीय सदस्य झपट बोहरा र कैलाली जिल्ला अध्यक्ष रतन थापा छन् ।

    चैत्र १६ गते प्रदेश अध्यक्ष कर्ण थापाले संसदीय दलको बैठक समेत बताएका थिए । उक्त दिन तराईमा होलीको बिदा थियो । अन्तिम समयमा बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

    एमाले स्रोतले भन्यो ‘त्यही दिन संसदीय दलको बैठकले सरकारबाट फिर्ता हुने निर्णय हुने थियो तर, बैठक बस्नै सकेन ।’ एमाले संसदीय दलका नेता प्रकाश शाह हुन् । उनी नेपाल समूहका हुन् ।

    प्रदेशमा ओली पक्ष कमजोर हुँदा प्रदेश सरकारबाट फिर्ता हुन गरेको निर्णय २ महिनासम्म अलपत्र परेको धेरैको बुझाइ छ । त्यो बेलासम्म ओली पक्षमा देखिएका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरिसकेका थिए भने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिए थिए । बोहरा माओवादीबाट निर्वाचित भए पनि ओली पक्षतर्फ लागेपछि उनले राजीनामा दिएका हुन् ।

    त्यसपछि अहिले प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छिन् । उनी तीनै जना नेपाल समूहका भएका कारण एमाले प्रदेश कमिटीले गरेको निर्णय लागू नभएको धेरैकोको बुझाइ छ ।

    सरकारबाट समर्थन फिर्ता लिने विषयमा गरेको निर्णय केन्द्रीय पार्टीलाई पनि पठाइएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए । उनले अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको हुँदा समर्थन फिर्ता लिने निर्णय गरिएको बताए । उनले यस विषयमा अब केन्द्र सरकार लेनै निर्णय गर्ने समेत उनले बताए ।

    ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र हाम्रा पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेका छौँ । तर त्यो कोरोना कहरले गर्दा त्यो काम सुस्त छ’ उनले भने ‘अब केन्द्रबाटै यस विषयमा निर्देशन जारी हुन्छ ।’

    पार्टी गर्दा भागबन्डाको आधारमा मुख्यमन्त्री छनोट गरिएको भन्दै उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई आफूहरूको समर्थन नरहेको समेत स्पष्ट पारे ।

    ‘हामी सबैभन्दा ठूलो दल छौँ ठूलो दल सानो दलको नेतृत्वमा रहेको सरकारमा सहभागी हुने कुरो हुँदैन,’ उनले भने ‘हिजोको परिस्थिति आज छैन ।’

    विगतमा एमालेभित्रै तीव्र विवाद रहेको हुँदा पनि निर्णय कार्यान्वयन हुन नसकेको संकेत गर्दै उनले भने, ‘अब एमाले एक भएको छ २ महिना अघि हामीले गरेको निर्णय अब कार्यान्वयन हुन्छ ।’

    ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। माओवादीका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृ शोक

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृ शोक

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ ।

    ८४ वर्षको उमेरमा मुख्यमन्त्री भट्टकी आमा शारदाको विहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

    उनको डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ फलेडीस्थित घरमै निधन भएको हो । उनी केही समयदेखि दम रोगले ग्रसित रहेको ओलीले बताए ।

  • कोरोना नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्रीको भट्टको आग्रह

    कोरोना नियन्त्रणमा सहयोग गर्न मुख्यमन्त्रीको भट्टको आग्रह

    कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्न संघीय स्वास्थ्य सेवा विभागको टोलीसँग आग्रह गरेका छन् ।

    बुधवार स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण श्रेष्ठको नेतृत्वमा स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न धनगढी पुगेको संघीय स्वास्थ्य सेवा विभागको टोलीलाई मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि प्रदेशमा सहयोग गर्न आग्रह गरेका हुन् ।

    भारतबाट आउने नेपालीको व्यवस्थापन, उनीहरूको परीक्षणको लागि किट र उपचार, उपकरण र दक्ष जनशक्ति तथा पर्याप्त अक्सिजनका लागि मुख्यमन्त्री भट्टले टोलीलाई आग्रह गरेका थिए ।

    टोलीमा बाल स्वास्थ्य महाशाखा निर्देशक, जनस्वास्थ्य प्रमुख लगायतको सहभागिता रहेको थियो ।

    यसअघि सोही टोलीले सामाजिक विकास मन्त्रालयमा कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने सम्बन्धी निजी अस्पताल सञ्चालकहरूसँग पनि छलफल गरेको थियो ।

  • कोरोना महामारी रोक्न तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

    कोरोना महामारी रोक्न तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

    सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

    सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

    मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण दर कम गर्न स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्न जरुरी रहेको बताए। भारतका विभिन्न स्थानबाट स्वदेश फर्किरहेका नेपालीमा कोरोना भाइरस सङ्क्रमण बढेको पाइए पनि पर्याप्त मात्रामा परीक्षण हुन नसक्दा जोखिम बढ्ने खतरा देखिएको उनको भनाइ छ ।

    बढ्दै गएको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै उनले ती स्वास्थ्य केन्द्रका अवस्था बुझ्न आज स्थलगत निरीक्षण गरे जनाइएको छ ।

  • सुदूरपश्चिममा नयाँ सरकार : एमाले र जसपा नै निर्णायक

    सुदूरपश्चिममा नयाँ सरकार : एमाले र जसपा नै निर्णायक

    कैलाली । संघदेखि प्रदेशसम्म नयाँ सरकार गठनको राजनीतिक चर्चा चुलिदाँ सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सत्ता समीकरणको प्रयास थालिएको छ ।

    हाल सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा माओवादी नेता त्रिलोचन भट्ट नेतृत्वको सरकार छ । मुख्यमन्त्री भट्टलाई हटाउन एमाले केन्द्रीय नेताहरू प्रयासरत छन् । यद्यपि सुदूरपश्चिम प्रदेशसभामा एमाले संसदीय दलमा माधव नेपाल पक्षका सांसदहरू धेरै छन् । यहीकारण प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनाका बावजुद मुख्यमन्त्री भट्टविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन सकेको छैन । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिएपनि सुदूरपश्चिममा एमालेको समर्थन कायम छ ।

    ५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । अहिले एमालेका २५, माओवादीका १३ कांग्रेसका १२ र जसपाका २ सांसद छन् । नयाँ सरकार गठनका लागि एमालेलाई जसपामात्रैको समर्थन भएपनि पुग्छ । त्यसका लागि एमाले संसदीय दल एकढिक्का हुन भने जरुरी छ । एमालेका २५ मध्ये ओली पक्षका सांसद ६ जनामात्रै छन् । केन्द्रको राजनीतिमा माधव नेपाल र पुष्पकमल दाहालबीच समझदारी कायम रहेमा यहाँ सरकारको विकल्प तत्काल खोज्ने अवस्था बन्दैन ।

    माओवादी केन्द्रका सुदूरपश्चिम सचिव नेपबहादुर चौधरी तत्काल नयाँ सरकारको सम्भावना नरहेको बताउँछन् । ‘एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको छैन । त्यसैले प्रदेश सरकार निरन्तर रहन्छ । भोलि एमालेले फिर्ता लियो भने नयाँ समीकरणका लागि पहल गर्छौ’, चौधरीले नेपाल प्रेससँग भने ।

    एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेपाली कांग्रेस पनि सत्ताको दौडमा उभिनेछ । सरकार गठनमा निर्णायक हुने अवस्थामा कांग्रेसले नेतृत्वमा दावी गर्नेछ । कांग्रेस नेतृत्वमा सरकार बन्न एमालेको मात्रै समर्थन भए पुग्छ । अथवा माओवादी र जसपा दुवैको समर्थन चाहिन्छ । यसबारेमा पनि छलफल जारी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

    ‘नयाँ सरकार बनाउने विषयमा कांग्रेस सकरात्मक छ तर हामीले कसलाई साथ दिने भन्नेमा छलफल भएको छैन । कांग्रेसकै नेतृत्वमा पो सहमति जुट्छ कि भनेर छलफल भइरहेको छ’, कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने ।

    प्रदेससभामा २ सांसद रहेको जसपा पनि नयाँ सरकार निर्माणमा एक प्रकारले निर्णायक नै छ । केन्द्रमा पनि एमाले-जसपा गठबन्धनको सम्भावना बढ्दो छ । जसपाले समर्थन गरेमा सुदुरपश्चिममा एमाले नेतृत्वमा सरकार बन्न सम्भव छ । यद्यपि सरकारमा जानेबारे पार्टीमा छलफल नभएको जसपाको भनाइ छ ।

    ‘हाम्रो मुख्य माग रेशम चौधरीको रिहाई हो । उहाँको रिहाई नभएसम्म हामी सरकारमा जाँदैनौ । माग पूरा भएपछि सरकारबारे सोच्ने हो’, जसपा मुख्य सचेतक मालामति रानाले नेपाल प्रेससँग भनिन् । एमाले बाहेकको सरकार गठनका लागि पनि जसपा निर्णायक रहेको छ ।

    पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको अवस्थमा सुदूरपश्चिममा एमाले सहज अवस्थामा छ । केन्द्रको विवाद अनुसार नेताहरु विभाजित नभएमा एमालेले थप २ सांसदको समर्थन जुटाए नयाँ सरकारको नेतृत्व पाउन सक्छ । ‘एमालेलाई एकताबद्ध राख्ने र जसपासँग मिलेर सरकार बनाउनेबारे हामी छलफलमा छौं । पार्टी केन्द्रको पनि निर्णय पर्खिरहेका छौ’, एमालेका एक नेताले भने ।

  • नारी दिवस औपचारिकतामा सीमित भयो: मुख्यमन्त्री भट्ट

    नारी दिवस औपचारिकतामा सीमित भयो: मुख्यमन्त्री भट्ट

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नारी दिवस औपचारिकतामा सीमित हुन थालेको बताएका छन् । ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले दिवसलाई औपचारिकतामा सीमित पार्न नहुने बताएका हुन् ।

    ‘दिवसहरू औपचारिकतामा सीमित हुन थोलेका छन्’ मुख्यमन्त्री भट्टले भने, ‘समग्र रूपमा महिलालाई अधिकार दिन आवश्यक छ ।’
    प्राप्त अधिकारको रक्षा गर्नु अहिलेको सबै भन्दा ठुलो चुनौती रहेको मुख्यमन्त्री भट्टले बताए ।

    सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले महिलाले पनि जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्न सक्ने बताए ।
    सभामुख थापाले कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष फितलो रहेको आरोप लगाए । महिलालाई रोजगारीमा जोड्न आवश्यक रहेको सभामुख थापाको भनाइ थियो ।

    सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले सुदूरपश्चिम प्रदेशमा लामो समय देखि महिला नेतृत्वमा रहेको बताएका थिए ।
    नेपालकै पहिलो महिला मन्त्री समेत प्रदेशमै रहेको बताउँदै मन्त्री सुबेदीले अहिले पनि महिला अधिकारका लागि प्रदेश सरकार लागिपरेको बताए ।

    कार्यक्रममा प्रदेश सभा सदस्यहरूले महिलाको अधिकार स्थापित गर्न सबै निकायको सहयोग आवश्यक रहेको बताएका थिए ।
    सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न झाँकि समेत देखाइएको थियो ।