Tag: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

  • त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी, दिनभर उडान प्रभावित हुने

    त्रिभुवन विमानस्थलको सञ्चार प्रणालीमा खराबी, दिनभर उडान प्रभावित हुने

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार प्रणालीमा खराबी आएका कारण आज दिनभरका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।

    सञ्चार प्रणालीको खराबीका कारण आन्तरिक तथा बाह्य उडान तालिका हेरफेर हुनसक्ने जनाइएको छ । उडानहरु निर्धारित समयभन्दा ढिलो हुनसक्ने बताइएको छ ।

    विमानस्थल कार्यालयद्वारा जारी सूचनामा भनिएको छ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा खराबी आएका कारण आजका सम्पूर्ण उडानहरु प्रभावित हुने र उडानहरु ढिला हुन जाने छ ।

  • विमानस्थलमा मन्त्री आलेको छड्के, भन्छन्- अनियमितता अन्त्य गर्छु

    विमानस्थलमा मन्त्री आलेको छड्के, भन्छन्- अनियमितता अन्त्य गर्छु

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् ।

    आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए । अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताएका हुन् ।

    यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताए ।

    उनले भने, ‘भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो ।’ आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा आज गन्तव्यमा पु¥याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए ।

    मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अवका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताए ।

    उनले भने, ‘जहाज पार्किङका लागि समस्या भएको छ, जहाज बिहानको समयमा अन्य ठाउँबाट पनि उडान गर्न सक्ने गरी पहल भइरहेको छ ।’ नेपाल वायुसेवा निगमका कर्मचारीले यात्रुसँग रुखो व्यवहार गर्ने यात्रुले मन्त्री आलेसमक्ष गुनासो गरेका थिए ।

  • आफन्त बिदाईका लागि त्रिभुवन विमानस्थल नआउन अनुरोध

    आफन्त बिदाईका लागि त्रिभुवन विमानस्थल नआउन अनुरोध

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र बनेकोले जोखिमलाई ध्यान दिँदै विमानस्थल नागरिक उड्डयन कार्यालयले स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाई र स्वागतमा समेत निरुत्साहित गर्न भनेको छ ।

    प्राधिकरणले संक्रमणको जोखिम नियन्त्रणका लागि विमानस्थलमा भीडभाड नगर्न, यात्रुहरूलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न, शरीरको तापक्रमको मापन गराएर टर्मिनल भवनभित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्नलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ ।

  • यती एअरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती

    यती एअरलाइन्सको सहयोगमा एयरपोर्ट गेटमा ट्राफिक बत्ती

    काठमाडौं । यती एअरलाइन्सले महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथसँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट) चक्रपथ रोडमा ट्राफिक लाइट जडान गरेको छ ।

    एअरलाइन्सले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मूल प्रवेशद्वारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो । एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले उक्त ट्राफिकबत्तीको संयुक्त उद्घाटन गरे।

    यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विगतमा यस क्षेत्रमा हुने लामो ट्राफिक जामका कारण हवाई यात्रुहरू समयमै विमानस्थल पुग्न कठिन भएकाले महाशाखासँगको सहकार्यमा ट्राफिक लाईट जडान गरेको जानकारी दिए ।

    एअरलाइन्सले यसअघि पनि ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आयल्याण्ड निर्माण, उक्त क्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुका साथै ट्राफिक सूचना बोर्ड निर्माण गरी हस्तान्तरण गरेको थियो । त्यसैगरी, ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट ज्याकेट समेत वितरण गरेको बर्तौलाले बताए ।

  • उडान बन्द हुँदा अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक एक करोड घाटा

    उडान बन्द हुँदा अन्तर्राष्ट्रिय विमानस्थललाई दैनिक एक करोड घाटा

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले आन्तरिक तथा बाह्यक हवाई सेवा बन्दको निर्णय गरेको छ ।

    आन्तरिक उडान सोमबार रातिबाट बन्द भइसकेको छ भने अन्तर्राष्ट्रिय उडान आज रातिबाट बन्द हुँदैछ । नियमित उडान बन्द हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) लाई दैनिक एक करोड रूपैयाँ घाटा हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् ।

    सरकारको निर्णय अनुसार टीआईएबाट उद्धार तथा अत्यावश्यक सेवाबाहेक केही समय राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान हुने छैनन् । हेलिकप्टर पनि अति आवश्यक अवस्थामा मात्र प्रयोग हुनेछ ।

    गत वर्ष महामारी फैलनुअघि टीआईएबाट दैनिक तीन करोड राजश्व उठ्दै आएको थियो । लकडाउनमा आम्दानी शून्य प्रायः भयो । पछि संक्रमण दर कम भएसँगै राजश्व संकलन पुरानै लयमा फर्कन थालेकोमा कोभिड-१९ को दोस्रो वेभले पुन: प्रभावित बनाएको प्रवक्ता क्षेत्रीले बताए ।

    ‘गत वर्ष कोरोना महामारीअघि टीआईएको आम्दानी प्रति महिना ९० करोड थियो । लकडाउनपछि विमानस्थल खुल्ला भएसँगै बल्लतल्ल ३० करोड पुगेको थियो । अब फेरि शून्यमा झर्‍यो,’उनले भने ।

    टीआईए आम्दानीको मुख्य स्रोत सेड्यूल फ्लाइट, आन्तरिक/ अन्तर्राष्ट्रिय उडान, हेलिकप्टर चार्टरलगायत हो ।

    उडान रोक्ने निर्णयअघिसम्म दैनिक करिब १५ हजार यात्रुले आन्तरिक र अन्तराष्ट्रिय उडानको यात्रा गरेका थिए । निषेधाज्ञासँगै दुवै उडान रोक्न सरकारले निर्णय गरेपछि यो चाप बढेर १६ हजारसम्म पुगेको प्राधिकरणको भनाइ छ ।

    अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णयले मात्र पहिलेको २४ सयबाट बढेर यात्रुकको संख्या ३ हजार पुगेको छ । यो समयमा विशेष गरी वैदेशिक रोजगारीमा जाने नेपाली, कूटनीति नियोगका कर्मचारी र नेपाल घुम्न आएका पर्यटक छन् ।

  • काठमाडौंको आकासमा प्रदुषण फैलिदाँ हवाई उडान बन्द

    काठमाडौंको आकासमा प्रदुषण फैलिदाँ हवाई उडान बन्द

    काठमाडौं । काठमाडौं उपत्यकाको आकास फैलिएको प्रदुषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पुर्ण उडान बन्द भएकाे छ ।

    आकासमा फैलिएको तुवालोका कारण भिजिविलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगति गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको हाे ।

  • हुस्सुले तराई तथा  पहाडकाे उडान प्रभावित, ४० उडान रद्द

    हुस्सुले तराई तथा पहाडकाे उडान प्रभावित, ४० उडान रद्द

    काठमाडौं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो ।

    बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताए।

    उनका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ ।

    बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन ।

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए ।

    यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ ।

    बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन ।

    यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ ।