Tag: तालाबन्दी

  • विद्यार्थीबाट बढी रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

    विद्यार्थीबाट बढी रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको आरोपमा नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालाबन्दी गरेको छ ।

    संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको वताए ।

    विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आइतबार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमबारदेखि कलेजको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।

  • बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी

    बाँके कांग्रेसको विवाद बढ्दो, केन्द्रबाटै क्रियाशील सदस्य थपिएपछि पार्टी कार्यालयमा तालाबन्दी

    रुपन्देही । जिल्ला पार्टी सभापतिकै योजनामा नेपाली कांग्रेस बाँकेको कार्यालयमा तालाबन्दी भएको छ । सभापति किरण कोइराला समूहलाई संस्थापन पक्षले कमजोर बनाउन आफूखुसी सदस्यता थपेका भन्दै ताला लगाइएको हो । किरण कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुुशील कोइरालाकी भाइबुहारी हुन् ।

    जिल्ला पार्टी सभापति किरण कोइराला, नेता ज्ञानु केसी, हुर्मत न्यौपाने, पोषण केसी, नेतृ उमा थापामगर लगायतको उपस्थितिमा तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । यिनीहरु सबै कोइराला समूहका हुन् ।

    ‘सभापति शेरबहादुर देउवाले जिल्लामा आफ्नो पक्ष बलियो बनाउन यसो गरेको प्रष्ट छ, नियम विपरीत सदस्यता बाँडेर अगाडि बढ्न दिदैनांै’, ताला लगाउने समूहका एक सदस्यले नेपाल प्रेससँग भने ।

    क्रियाशील सदस्यता विवादले रोकिएको नेपाली कांग्रेस बाँकेको अधिवेशनको दुई दिनअघि पुनः ताला लागेको हो । ढिलो गरी तोकिएको अधिवेशनका मुखमा केन्द्रबाट अनाधिकृत रुपमा सदस्यता थपिएकाले तालाबन्दी गरिएको जनाइएको छ ।

    ‘सदस्यता नवीकरणका नाममा २३९ जना अनाधिकृत पार्टी सदस्य थपिएको पाइयो,’ युवा नेता पोषण केसीले भने, ‘यही अवस्थामा निर्वाचन हुन सक्दैन, यी सदस्यको छिनोफानो गरेरमात्रै प्रक्रियामा जानुपर्छ भन्ने माग हो ।’

    शुरुदेखि नै विवादमा रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद बल्झिएपछि असन्तुष्ट पक्षले पार्टी कार्यालयमा ताला लगाएको हो ।

    कांग्रेस महाधिवेशन अन्तर्गत कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन गरिसक्नुपर्ने गरी निर्वाचन अधिकृत बुधवारमात्रै नेपालगन्ज आइपुगेका छन् । यस्तै कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन गरिसक्नुपर्ने कार्यतालिका छ ।

    जिल्ला पार्टी सचिवालयमा निर्वाचन तयारीमा सक्रिय निर्वाचन समितिका पदाधिकारीहरुलाई बाहिर निकालेर युवा नेता पूर्ण आचार्यसहितका नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

    लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ । बाँकेमा नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला अहिले जिल्ला सभापति छन् भने सभापति शेरबहादुर पक्षले जसरी पनि आफ्नो समूह बलियो बनाउन लागिपरेको छ ।

  • अनलाइन कक्षाको पुरै शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

    अनलाइन कक्षाको पुरै शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

    रूपन्देही । एमाले निकट अनेरास्ववियुले कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिहीबार तालाबन्दी गरेको छ।

    विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तालाबन्दी गरेको हो ।

    क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरी आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पुरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइएको छ ।

    ‘लकडाउन अवधि भरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गरी विद्यार्थीहरुबाट शैक्षिक शुल्क वापत लिएको रकम सम्बन्धित विद्यार्थीहरुलाई अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटी जोडदार माग गरेको थियो । तर हाम्रो मागलाई बेवास्ता गरी उल्टो विद्यार्थीहरुलाई धम्काउने कार्य क्याम्पस प्रशासनबाट भएको हुँदा हाम्रो माग पुरा नहुँदासम्मको लागि ताला लगाउन बाध्य भएको कुरा जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

  • पुरानो विद्यालयको अस्तित्व मेटाउने प्रयास गरेको भन्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

    पुरानो विद्यालयको अस्तित्व मेटाउने प्रयास गरेको भन्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मा स्थानीयले वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

    आफूहरूसँग समन्वयनै नगरी पुरानो विद्यालयको अस्तित्व मेटाउने प्रयास गरेको भन्दै स्थानीयले वडाध्यक्ष दानसिंह जोगीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

    उनीहरुले नाराबाजी समेत गरेका थिए । स्थानीयले ‘वडाध्यक्ष मुर्दावाद’, ‘जनतामाथि हस्तक्षेप गर्न पाइँदैन’ , ‘हाम्रो सर्त पुरा गर’ लगायतका नारा लगाएका थिए ।

    दशरथ प्राथमिक विद्यालयमा स्थानीयको समन्वय बिना प्राविधिक बिद्यालय ल्याएको भन्दै उनीहरुले विरोध जनाउँदै आएका थिए । उक्त बिषयमा वडाध्यक्षले चासो नदिएपछि तालाबन्दी गरिएको हो ।

    घोडाघोडी नगरपालिकाको समायोजन प्रक्रियामा परेपछि उक्त बिद्यालय भवन खाली भएको थियो । त्यहाँ रहेका बिद्यार्थि तथा शिक्षकहरूलाई वडा नम्बर १० मा रहेको अमर सहिद माविमा समायोजन गरिएको थियो ।

    वडाध्यक्षले स्थानीयको समन्वयमा बिना नै वडा नम्बर १० वडा पहलमानपुरमा रहेको पहलमानसिंह मेमोरियल प्राविधिक बिद्यालय ल्याएको भन्दै विरोध गरेको पहिचान युवा क्लबका अध्यक्ष ठागुराम कठरियाले बताए । उनले माग पुरा नहुँदा सम्म तालाबन्दी कायमै रहने बताए ।

  • नेवानीका प्रबन्ध निर्देशकको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खुलायो

    नेवानीका प्रबन्ध निर्देशकको कार्यकक्षमा लगाइएको ताला प्रहरीले खुलायो

    काठमाडौं । नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खुलाएको छ ।

    संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो ।
    असार १८ गतेदेखि निगमका कर्मचारीले निगमलाई पव्लिक लिमिटेड कम्पनीमा लैजान लागिएको विरोधमा तालाबन्दी गरेका थिए । प्रहरीले ताला खुलाए पनि प्रबन्धन निर्देशक पौडेल भने कार्यालयमा गएका छैनन् ।

    पौडेलले निगमलाई निजीकरण गर्न खोजिएको भनेर अनावश्यक भ्रम फिँजाइएको बताउँदै आएका छन् ।

  • सदस्यता विवाद टुंग्याउन माग गर्दै पत्रकार महासंघ बाँकेमा ताला

    सदस्यता विवाद टुंग्याउन माग गर्दै पत्रकार महासंघ बाँकेमा ताला

    रुपन्देही । शाखाले सिफारिस गरेर पठाएका नयाँ सदस्यको नामावली केन्द्रीय समितिले हटाएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी गरिएको छ ।

    जिल्ला कार्यसमितिले ६३ जना नयाँ सदस्य सर्वसम्मत सिफारिस गरी प्रदेशमा पठाएको र प्रदेश सोही सिफारिस अनुसारका सदस्यहरूलाई नयाँ सदस्यका लागि अनुमोदन गर्दै केन्द्रमा पठाएपनि केन्द्रीय समितिले राजनीतिक आस्थाका आधारमा आफूखुशी हटाएर पठाएको भन्दै प्रेस चौतारीसम्वद्ध पत्रकारहरूले तालाबन्दी गरेका हुन् ।

    तालाबन्दीमा माधव नेपाल पक्षधर चौतारीका पत्रकार भने सहभागी छैनन् ।

    ‘जिल्ला समितिले सिफारिस गरेअनुसारका नामावली परिवर्तन भएर आएकाले साथीहरूले विरोधरुवरुप तालाबन्दी गर्नुभएको छ, केन्द्रीय समितिलाई जानकारी गराइसकिएको छ’, अध्यक्ष ठाकुरसिंह थारुले बताए ।

    निर्णय गरी पठाइएका नामावली हटाएर कांग्रेससम्वछ प्रेस युनियनको अगुवाइमा कार्यदल बनाइ आफ्ना पक्षका सदस्य थपेर आएपछि त्यसको विरोध भएको महासंघ लुमिबनी प्रदेशका महासचिव भेषराज बस्नेतले नेपाल प्रेसलाई बताए ।

    ‘जिल्ला समितिको सिफारिस गर्ने निर्णय तथा प्रदेश समितिको अनुमोदन गर्ने निर्णयलाई केन्द्रीय समितिले आस्थाका आधारमा कानून मिचेर आफू अनुकलका सदस्य थपेको छ । यसले सहज रुपमा निर्वाचन गराउन सम्भव छैन’, बस्नेतले भने ।

    प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका संयोजक शोभाखर पन्थीले महासंघ केन्द्रीय समितिले आस्थाका आधारमा पत्रकारमाथि गरिएको अन्यायपूर्ण विभेदलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए ।

    उनले केन्द्रीय समितिको यो कदमविरुद्ध कठोर कदम चाल्न बाध्य बनाएको बताउँदै बहुमतको दम्भका आधारमा निर्वाचन हुन नसक्ने बताए ।