Tag: डा.बाबुराम भट्टराई

  • बाह्य शक्तिको चलखेलमा सचेत रहनुपर्छ, तर हिनतावोध राख्नुहुन्न: डा बाबुराम भट्टराई (भिडियो)

    बाह्य शक्तिको चलखेलमा सचेत रहनुपर्छ, तर हिनतावोध राख्नुहुन्न: डा बाबुराम भट्टराई (भिडियो)

    प्रखर र बौद्धिक नेताका रुपमा सुपरिचित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद अध्यक्ष छन् । हालै विभाजित बनेको उनको पार्टी शेरबहादुर देउवा नेतृत्वको गठवन्धनमा सहभागी हुने तयारीमा छ ।

    हरेकजसो राष्ट्रिय मुद्दाहरुमा सामाजिक सञ्जालमार्फत आफ्नो विचार अभिव्यक्त गरिरहेका हुन्छन् डा. भट्टराई । आलोचनासँग नडराउने र आफ्नो विचारमा अडिक रहने स्वभावले उनलाई अन्य नेताभन्दा पृथक बनाएको छ । उनका अभिव्यक्तिहरुलाई चासोका साथ पछ्याउने ठूलो जनसमूह छ देशमा । यद्यपि, उनका आलोचकहरु पनि त्यत्तिकै छन् ।

    विगतमा केपी शर्मा ओली सरकारको कटु आलोचकका रुपमा देखा परेका थिए डा. भट्टराई । अहिले देउवा नेतृत्वको सरकार गठन भएपछि पनि उनले सरकारका गलत क्रियाकलपप्रति असहमति राख्न चुकेका छैनन् ।

    हालै पार्टी कामको सिलसिलामा कैलाली आएका डा. भट्टराईसँग विभिन्न समसामयिक विषयमा गरिएको संवाद प्रस्तुत छ, नेपाल टकमाः

    भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आएर अरु सबैलाई भेटे, तर तपाई र उपेन्द्र यादवलाई नभेटी फर्किए । यसलाई दिल्लीको कस्तो सन्देशका रुपमा बुझ्न सकिन्छ ?

    यसलाई त्यसरी हेर्न हुँदैन । नेपाल खुल्ला सीमा भएको मुलुक हो । भारतबाट मान्छेहरू आउँछन्, जान्छन् । कोही तीर्थ–व्रत गर्न आउँछन् । कोही कैलाश पर्वत जान आउँछन् । त्यो बेला तिनको चिनजानको, मन लागेको मान्छे भेटेर जान्छन् । त्यसलाई ठूलो रुपमा लिनु हुँदैन । हामीले चर्चा गर्नुपर्ने विषय नै होइन यो ।

    भनेपछि यो विषयलाई तपाईं महत्व नै दिन चाहनुहुन्न ?

    हो ।

    तर, तपाईंहरूलाई पो चौथाईवालले महत्व नदिएको चर्चा छ ?

    होइन । उहाँ एउटा सामान्य जुनियर राजनीतिज्ञ हो । इन्डियामा पनि त्यति चिनिएको मान्छे उहाँ होइन । उहाँ जस्ता सबै मान्छेहरू यहाँ आइरहेका हुन्छन् । आउनु भयो होला ।

    हिन्दु धर्म र मोदीप्रति तपाईं आलोचक भएको र राहुल गान्धीको समर्थन गरेको हुँदा पो तपाईंहरुलाई वेवास्ता गरेका हुन् कि ?

    त्यो गलत हो । यस्तो गलत कुरा गर्न हुन्छ ? मैले राहुल गान्धीलाई कहिल्यै भेटेको पनि छैन । देखेको पनि छैन । बरु मोदीजीलाई धेरै पहिले भेटेको छु ।

    त्यो भेटमार्फत वर्तमान सरकारबाट तपाईंहरूलाई बाहिर राखेर महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउन शेरबहादुर देउवालाई दबाब आएको पनि सुनिएको छ नि ?

    हामी नेपालीहरूले यस्तो हिनताबोध पाल्नु हुँदैन । कुन पार्टी सरकारमा जाने र कस्तो सरकार बनाउने भन्ने नेपालीहरुको इच्छा र निर्णयको कुरा हो । अरू कसैको प्रभावमा सबै चिज हुन्छ भनेर सोच्नु हुँदैन ।

    त्यसोभए बैशाख १३ गते तपाईंले पाएको सूचना के थियो ?

    देशभित्र कलह भयो भने त्यहाँ बाहिरी शक्तिहरूले आफ्नो स्वार्थको निम्ति हात हाल्छन् र सतर्क हुनुपर्छ भन्ने हो । म आफै प्रधानमन्त्रीको हैसियतमा पुगको हुँदा मलाई पनि यी सबै कुराहरू थाहा छ । अरू जनताले पनि बुझ्छन् ।

    त्यसैले त्यति बेला केपी शर्मा ओलीले नेपालको व्यवस्था र संविधान नै धरापमा पार्नेगरी संविधानविपरीत गएर दुईपटक संसद् विघटन गर्ने र अन्ततः व्यवस्था नै विघटन गर्ने स्थिति सृजना गरे । त्यसले देशमा लोकतन्त्र नै धरापमा पर्ने थियो । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने अवस्था थियो । त्यो बेला बिभिन्न बाह्य शक्तिले खेल्न खोज्नु स्वाभाविक हो । र त्यहाँ खेले पनि ।

    तपाईंको आशय बाह्य शक्तिले खेलेर प्रतिनिधीसभा विघटन भएको हो कि प्रतिनिधिसभा विघटनपछि शक्तिकेन्द्र खेल्न थालेका हुन् ?

    त्यो दुबै कुरा हो । मुख्यरुपमा केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर व्यवस्था धरापमा पार्न खोजे । त्यसमा बाह्य शक्ति खेले ।

    तपाईँसँग १३ गते आएको महत्वपूर्ण सूचना त्यही नै हो ?

    थुप्रै सूचनाहरू छन् । मैले ती सबैमा सतर्क गराएको थिएँ । सतर्क भएनौं भने गम्भीर स्थिति आउँछ भनेको थिए ।

    नेपालको भू–राजनीति तिब्र गतिले बढिरहेको छ । चीन एउटा विश्व शक्ति बन्दै गइरहेको छ । भारत पनि एउटा प्रतिस्पर्धी शक्तिको रुपमा आइरहेको छ । अमेरिका पनि विश्वशक्ति हुनुको नाताले चासो राख्छ । यस्ता ठुला शक्तिहरूसँगको नयाँ शीतयुद्ध नेपालमा सुरु हुँदै छ ।

    हामीले बेलैमा ध्यान पुर्याएनौं भने जुन अफगानिस्तानको अवस्था भइरहेको छ, त्यस्तै त नहोला, हुबहु त दोहोरिँदैन । तर, त्यसरी नै देश र जनताले दुख पाउने स्थिति आउन सक्छ भनेर मैले सतर्क गराएकै हो ।

    त्यो बेला भित्र–बाहिरबाट देशमाथि षडयन्त्र भइरहेको छ भन्नुभएको थियो । त्यो षडयन्त्र केपी ओलीको बहिर्गमनसँगै सकिएको हो कि अझै जारी छ ?

    यस्तो षडयन्त्र कहिल्यै पनि सकिँदैन । मुख्य कुरा त हामी आफै सचेत हुने कुरा हो । राज्य रहँदासम्म यस्ता बाह्य र भित्री शक्तिहरूको चलखेल भइनै रहन्छ । अग्रगामी शक्तिहरूले यो कुरालाई बुझेर पहिले आफ्नो देशको समस्या आफै हल गर्ने अनि बाह्य शक्तिको चलखेलप्रति सतर्क भएर त्यसको निवारण गर्नु पर्छ ।

    त्यो बेला तपाईंले सर्वदलीय सरकार बनाएपछि व्यवस्था जोगिन सक्छ भन्नु भएको थियो …

    (प्रश्न पुरा नहुँदै )

    त्यो बेला केपी शर्मा ओलीले अत्यन्त मुखर्तापूर्ण हर्कत गरिरहेका थिए । उनलाई ‘व्यवस्थासहित यो देश नै किन बर्बाद पार्छौ, बरु बेलैमा चेत, तिमीले मार्गप्रशस्त गर, छोड्दैउ’ भनिएको हो । हामी पूर्वप्रधानमन्त्रीहरु सबैले कसैले आकांक्षा नराखौँ र एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर आउँ’ भनेर मैले प्रस्ताव गरेकै हो । तर, उनले त्यो सुनेनन् ।

    उनको त्यो अहंकार थियो । अहिले पछारिएपछि उनले बुझेका होलान् । मैले जे भनेको थिए त्यो सत्य साबित त भयो ।

    त्यो बेला राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव ओलीले नमानेकैले यो सरकार बनेको हो ?

    त्यो त च्याप्टर क्लोज भइहाल्यो । उनले छोडेनन् । सबै जनता सडकमा आएर, सर्वोच्च अदालत मिलेर उनलाई गलहत्याउनुपर्ने स्थिति आयो । उनको आफ्नै मुखर्ताले गर्दा उनी गलहत्तिएका हुन् । हामीले त राम्रो सुझाव दिएका थियौँ । उनले सुनेनन् ।

    तपाईंले भन्नुभएको राष्ट्रिय सहमतिको सरकार यो चाहिँ होइन ?

    होइन । यो त बहुमतीय सरकार हो । केपी ओलीको बहिर्गमनपछि सत्ता त भ्याकुममा बस्दैन । त्यसैले वैकल्पिक बहुमतीय सरकार बनेको हो । केपी ओलीकै मूर्खताले यस्तो अवस्था आएको हो । नत्र त हामी प्रतिपक्षमै बस्न तयार थियौँ नि । काँग्रेस पनि तयार थियो ।

    उनले आफ्नै पार्टी बर्बाद पारे, सरकार बर्बाद पारे र झण्डै देशलाई समेत बर्बाद गरेका थिए । त्यसबाट बचाएर, प्रतिगमनलाई रोकेर यो एउटा प्रकारको अन्तरिम सरकार बनाइएको हो । यो निर्वाचनसम्मको लागि निर्वाचन तयारीको सरकार हो ।

    तपाईंहरूले बनाउनु भएको गठबन्धन सरकारको आयु कति लामो होला त अब ?

    यसको आयु त संविधानले किटान गरेको छ । अधिकतम आयु अझै १६/१७ महिना होला । न्यूनतम आयु त चुनावमा जान्छु भनेपछि जतिबेला पनि जान पाइहालिन्छ नि ।

    तत्काल निर्वाचन घोषणा हुन सक्ला त ?

    चाहेको अवस्थामा हुन्छ । अब घोषणा हुने निर्वाचनको वैधानिकता पनि हुन्छ ।

    धारा ७६ (५) को सरकार चुनावमा जान सक्छ कुनै पनि बेला । त्यो भन्दा अघिको सरकार जान सक्दैन । केपी ओलीले मूर्खता गरेर जान्छु भने तर, उनको जाने मनसाय थिएन । त्यहाँ बुझ्दा भित्री–बाहिरी शक्तिको ठुलो खेल भइरहेको थियो ।

    तपाई कैलाली आउनु भएको छ । रेशम चौधरी यहीँको हुनुहुन्छ । तपाईंले विगतदेखि उहाँको रिहाइका लागि लविङ गर्दै आउनुभयो । अब सत्ता साझेदार हुनुभएको छ । के अब रिहाइको बाटो खुल्छ ?

    थारुहरूको जुन विद्रोह हो, त्यो पनि संविधान निर्माण गर्ने क्रममा विष्फोट भएको असन्तुष्टि नै थियो । ती घटनाका बन्दीलाई आममाफी दिएर त्यो राजनीतिक मुद्दालाई अन्त्य गरिनु पर्छ र रेशम चौधरीलाई रिहाइ गरिनु पर्छ भन्ने कुरामा हाम्रो स्पष्ट धारणा छ ।

    चर्चाको अर्को प्रसंग एमसीसीका बारेमा तपाईंको धारणा के हो ? न्यूनतम साझा कार्यक्रममा तपाईंहरूले यसलाई किन उल्लेख नगर्नुभएको ?

    न्यूनतम साझा कार्यक्रममा सबै त उल्लेख हुँदैन नि । एमसीसीलाई हामीले एउटा वार्ता र संवादबाट राष्ट्रिय सहमतिबाट हल गर्छौं ।

    त्यसो भए ढिलो–चाँडो पास हुन्छ ? परिमार्जित भएर कि हुबहु ?

    केमा सहमति हुन्छ त्यही अनुसार हुन्छ । जे हुन्छ सहमतिको आधारमा हुन्छ ।

    तपाईंको दलका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने वा रद्द गरिनु पर्ने बताउनुभएको छ । दुई दल विभाजन भएपछि उद्देश्य पुरा भएको ठानेर हो कि फेरी आफ्नो दल विभाजित हुने डरले हो ?

    यसमा त आइनै हाल्यो, ल्याइहालियो । सांसदलाई छलेर अध्यादेश ल्याउनु राम्रो कुरा होइन सैद्धान्तिकरुपमा । तर, जे हुनु त्यो त भइसक्यो ।

    अध्यादेश ल्याउँदा किन विरोध जनाउनु भएन ? गठबन्धन धरापमा पर्छ भनेर हो ?

    किन विरोध नगर्नु । ओलीले गरेको गल्ती हामीले पनि गर्नुहुँदैन भनेर मैले ट्विट नै गरेको छु नि ।

    अब फरक प्रसंग । तपाईंकी धर्मपत्नीले हालै ‘हिसिला: फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ पुस्तक ल्याउनुभएको छ, जसमा प्रचण्डलाई भिलेन र तपाईंलाई हिरो देखाउन खोजिएको भनिन्छ । के त्यस्तै नै हो त ?

    शब्द नै तपाईंले बेठीक भन्दै हुनुहुन्छ ।

    प्रचण्डले लडाकुका हतियार बेच्न खोज्दा तपाईंले रोक्नुभएको लेख्नुभएको छ, त्यो सत्य हो ?

    त्यो एउटा घटना हो । त्यो सत्य घटना हो । त्यो एउटा घटनाको कारणले पुस्तकलाई समग्र मूल्याङ्कन गर्न मिल्दैन ।

    तपाईं प्रधानमन्त्री भएकै बेला ०६८ चैत्र २८ गते माओवादीका लडाकुहरूको सेना समायोजन प्रक्रिया टुंगिएको थियो । त्यसबेला अर्बाैको घोटाला भएको विषय तपाईंले नै बाहिर ल्याउनुभएको थियो नि ?

    त्यो गलत कुरा हो । मैले भनिनँ । अरूले भनेको कुरा मलाई नहाल्नुस् न । मैले प्रचण्डको अरू कुराको आलोचना गरेको छु ।

    त्यसो भए शिविरमा घोटाला भएको होइन ?

    मैले बुझेसम्म त्यो छैन । छ भने पनि सबै छानबिन गरौँ मैले भनिरहेको छु नि ।

    अब सत्ता साझेदार बन्नु भएको छ । हुन्छ त छानबिन ?

    अहिले त यो अन्तरिम खालको सरकारले के गर्ला । चुनावपछि जुन स्थिर सरकार हुन्छ, त्यसले गर्ला । यो त कामचलाउ सरकार हो । चुनावी सरकार हो । यसले धेरै गर्न चाहेर पनि गर्न सक्दैन ।

    जनयुद्धमा तपाईंहरूले ४ सय हतियार लुकाएको आरोप पनि लागेको थियो । किन लुकाउनु भएको थियो हतियार ?

    त्यो त गिरिजाप्रसाद कोइरालालाई भनेरै हामीले राखेका थियौँ । प्रचण्ड, म र गिरिजाप्रसाद थियौँ । त्यो बेला नै भनिएको हो ।

    देशमा राजतन्त्र बाँकी नै थियो । सेनाको स्थिति पनि टुङ्गो लागिसकेको थिएन । त्यस्तो अवस्थामा सबै हतियार बुझाएर राजाले भोली कु गरे भने के गर्ने भनेर सल्लाहै गरेर राखेका थियौँ । पछि सबै बुझायौँ ।

  • जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    काठमाडौं । राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आज विहान पूर्व सहयोद्धा तथा जसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

    अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराई निवास पुगेका विप्लवले हिसिला यमीसहितको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका थिए ।

    अघिल्लाे सरकारसँग भएका तीन बूँदे सहमति कार्यान्वयनका लागि विप्लवले सत्ता साझेदार दलका नेताहरुसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

     

  • बाबुरामको प्रस्ताव- लौरो उभ्याएर भए पनि धारा ७६ (५)को वैकल्पिक सरकार दिउँ

    बाबुरामको प्रस्ताव- लौरो उभ्याएर भए पनि धारा ७६ (५)को वैकल्पिक सरकार दिउँ

    काठमाडौं । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षाका लागि लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिन दलहरुलाई आग्रह गरेका छन् ।

    जसपाकै महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका बेला डा. भट्टराईले ढिला नगरी वैकल्पिक सरकारको दावी पेश गर्न सुझाव दिएका छन् ।

    डा. भट्टराईले भनेका छन्, ‘सबैले त्याग,बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५)को वैकल्पिक सरकार दिउँ । आजै गरौं,अहिल्यैं गरौं । विपी कोइराला पुष्पलालदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ।’

  • बाबुरामको प्रष्टिकरण- प्रधानमन्त्रीलाई भेटेको हुँ, केपी ओलीलाई होइन

    बाबुरामको प्रष्टिकरण- प्रधानमन्त्रीलाई भेटेको हुँ, केपी ओलीलाई होइन

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार अझै बनाउन सकिने भएकाले विचार गर्न दलहरुलाई आग्रह गरेका छन् ।

    पार्टी विभाजनको संघारमा रहेका बेला उनले केपी ओली नेतृत्वको सरकारको विकल्पमा सो प्रस्ताव अघि सारेका हुन् । केही दिनअघि आफूले प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सहमतिको सरकार गठनका लागि राखेको प्रस्ताव विवादमा परेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

    एमाले नेता महेश बस्नेतले बाबुराम आफैंले केपी ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन सहयोग मागेको र गत वर्ष संघीय समाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भनेर महेश बस्नेतहरुमाथि आरोप लगाउनु राजनीतिक स्टन्टमात्र थियो भनेको कुरा खुलासा गरेपछि उनको यस्तो प्रष्टिकरण आएको हो ।

    डा. भट्टराईले आइतवार विहान ट्वीट गर्दै वर्तमान र भूतपूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको आग्रह गरेको बताएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम अझै पनि सरकार नाउन सकिने बताएका छन् ।

    भट्टराईले भनेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओलीलाई होइन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो । उहाँले नमानेपछि अरुलाई नभनेको हुँ ।’

    संविधानको उक्त धारामा यदि उपधारा ३ बमोजिम नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिन नसकेको अवसथामा उपधारा २ बमोजिमको कुनै पनि सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    त्यो भनेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको भन्दा पनि सांसदको वहुमत देखाउने अर्थमा लिइएको छ । जसपाको एउटा पक्षले ओलीलाई साथ दिएकोले बाबुरामले उपधारा ५ बाट सरकार बनाउँ भन्नुको अर्थ फेरि पनि एमालेको माधव नेपाल पक्षको सहयोग नै हो ।

  • बाबुरामको प्रस्ताव- सबै दलको सहभागितमा राष्ट्रिय सरकार, एक वर्षभित्र चुनाव

    बाबुरामको प्रस्ताव- सबै दलको सहभागितमा राष्ट्रिय सरकार, एक वर्षभित्र चुनाव

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधाको धारा ७६ को उपधारा २ बमोजिम नै सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेका छन् ।

    विभिन्न नेताहरुसँगको भेट र छलफलपछि डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

    भट्टराईले बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै देशको संकट हल गर्न यस्तो प्रस्ताव राखेका हुन् । उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति,साझा न्युनतम कार्यक्रमसहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।

    राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला जसपा एकजुट हुन सकेको छैन । भट्टराई ओलीको विस्थापनको पक्षमा रहे पनि महन्थ ठाकुर पक्ष मानेको छैन ।

  • बाबुरामको आशंका- वैकल्पिक सरकार बन्न नदिन राष्ट्रपति संस्था दुरुपयोग हुनसक्छ

    बाबुरामको आशंका- वैकल्पिक सरकार बन्न नदिन राष्ट्रपति संस्था दुरुपयोग हुनसक्छ

    काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बन्न नदिने, फेरि संसद विघटन गर्ने र प्रायोजित चुनाव गराउने चलखेल भइरहेको भन्दै पार्टीले एकताबद्ध भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    डा. भट्टराईले अब दल दलहरुको कोर्टमा आएकाले एक थान सरकारको मात्र नभएर लोकन्त्रको रक्षाका लागि वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् ।

    डा। भट्टराई भन्छन्, ‘सतर्क रहौं,चलखेल नहोस । वैकल्पिक सरकार बन्न नदिने,संसद विघटन गर्ने,प्रायोजित चुनाव गर्ने,यस निम्ति राष्ट्रपति संस्था दुरुपयोग गर्ने,राजपा फुटाउने । ख्याल रहोस मधेशी जनता/नेता भेडाबाख्रा होइनन्,जसलाई हरियो घाँस देखाएर वली चलढाउन सकियोस्,वा उनीहरु यताका शासकबाट उम्केर उताका खोरमा परुन् ।’

    ठाकुरले जसपाको आधिकारिक धारणा राष्ट्रपतिलाई लिखित रुपमा गराउने तयारी भइरहेका बेला डा. भट्टराईले राष्ट्रपति संस्थाको दुरुपयोग हुने र राजपा फुट्ने आशंका गरेका हुन् ।

  • बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

    बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा आज पुनः पेशीमा चढेको छ ।

    अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियाे । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा परेको छ ।

    बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

    २०७६ माघ २८ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले दायर गरेको रिटमाथिको सुनुवाई भने विभिन्न कारणले स्थगित हुँदै आएको छ ।

    नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला जग्गा व्यक्तिको नाममा लगिएको थियो । अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ।

    ‘ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा सम्बन्धमा विभिन्न मन्त्रालय र कार्यालयबाट विभिन्न मितिमा भएका गैरकानुनी कार्यहरूलाई वैधानिकता दिलाउने र सरकारी जग्गा अनधिकृत व्यक्तिका हक र स्वामित्व स्थापित गराउने गरी सम्बन्धित मन्त्रालयको प्रस्तावअनुरूप मन्त्रिपरिषदबाट २०६६–१२–२९, ०६७–०१–३१, ०६७–०४–२८ र ०६९–०६–१८ मा भएका निर्णय मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र पर्ने देखिएन,’ अख्तियारले दायर गरेको अभियोगपत्रमा लेखिएको थियो ।

    अख्तियारले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो

  • भारतबाट फर्किनासाथ बाबुरामले भने– चुनावी सरकार बनाउँ

    भारतबाट फर्किनासाथ बाबुरामले भने– चुनावी सरकार बनाउँ

    काठमाडौं । नयाँ दिल्लीमा शंकास्पद क्यान्सरको निक्र्योल गरी फर्किएको भोलिपल्टै जनता समाजबादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ राजनीतिक सहमतिसहितको चुनावी सरकार बनाउन अपील गरेका छन् ।

    सामाजिक सन्जाल ट्वीटरमार्फत उनले १० दिन प्रवासमा स्वास्थ्य उपचारपछि स्वदेश फर्कँदा आफ्नो भन्दा देशको अवस्थाले गम्भीर बनाएको भन्दै लेखेका छन्, ‘अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्केको राजनीतिक सहमति हो । बातो विराए पुरानै ठाउँमा फर्कनू भनेझैं एक पटक ‘फर्गिभ एण्ड फर्गेट’ को स्पिरिटमा राजनीतिक सहमती गरेर चुनाबी सरकार निर्माण गरौं ।’

    लगत्तै अर्को ट्वीट गरी उनाले सहमतीको चुनावी सरकारसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतीमा संविधान संशोधन गर्ने, सैवैधानिक अंगहरुलाई निश्पक्ष बनाउने, समावेशी समृद्धिको बृहत गुरुोजना बनाएर कार्यान्वयन गगर्ने र बदलिँदो भूराजनीतिलाई ध्यानमा राखेर मित्रराष्ट्रहरुसँग असल सम्बन्ध बनाउनुपर्ने पनि बताएका छन् ।

    ट्वीटमा जवाफ दिँदै राप्रपा अध्यक्ष कमल थापाले भट्टराईंलाई नै सहमतीको चुनावी सरकार प्रमुख बनाउन आफ्नो प्रस्ताव रहने जनाएका छन् ।

    ‘दिल्लीमा स्वास्थ्य परीक्षण÷उपचार गरेर फर्कने वित्तिकै यस्तो मौलिक सोच आउनु मित्रको उर्वर मस्तिष्कको प्रशंशा गर्नैपर्छ । बरु यो सबै कामका लागि भर्खरै दिल्लीबाट स्वस्थ भएर फर्कनुभएको तपाईंलाई नै प्रधानमन्त्री बनाऔं भन्ने मेरो प्रस्ताव छ । यसो गरे कसो होला ? सहपाठी मित्र ।’

  • बाबुराम भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर आशंका, उपचारका लागि आज दिल्ली जाँदै

    बाबुराम भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर आशंका, उपचारका लागि आज दिल्ली जाँदै

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाने भएका छन् । उनी नेपाल वायुसेवाको विमानमार्फत नयाँ दिल्ली जान लागेका हुन् ।

    पेटमा समस्या देखिएपछि लामो समयदेखि डा. भट्टराईले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

    चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी चिकित्सककै सल्लाहअनुसार भट्टराई दिल्ली जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

    उपचारका लागि दिल्लीमा रहँदा उनी नेपाली दूतावासमा बस्नेछन् । उनीसँग पत्नी तथा जसपा नेतृ हिसिला यमी र प्रेस सल्लाहकार विश्वद्वीप पाण्डे पनि दिल्ली जाँदैछन् ।

  • गुमनाम आमाहरुको कथा- ‘जनयुद्ध’ दिवसमा प्रचण्ड र लालध्वज एकै मञ्चमा

    गुमनाम आमाहरुको कथा- ‘जनयुद्ध’ दिवसमा प्रचण्ड र लालध्वज एकै मञ्चमा

    काठमाडौं । दश वर्षे माओवादी ‘जनयुद्ध’का दुई प्रमुख कमाण्डर पुष्पकमल दाहाल (प्रचण्ड) र डा.बाबुराम भट्टराई (लालध्वज) ‘जनयुद्ध’को २५ औं वर्षगाँठका अवसरमा एउटै मञ्चमा उभिने भएका छन् ।

    बाबुरामले माओवादी पार्टी छाडेपछि भक्ति पाण्डेको स्मृति दिवस बाहेक विरलै एकै मञ्चमा देखिने दुई नेता शनिवार फागुन १ गते ‘जनयुद्ध’लाई स्मरण गर्न एकै मन्चमा देखिनेछन् ।

    यो मौका जुराएका हुन् डा.भट्टराईले । डा.भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ युद्ध दिवसकै अवसर पारेर सार्वजनिक हुँदैछ ।

    युद्धकालमा बाबुरामले विभिन्न पत्रिकामा लेखेका र कतिपय अप्रकाशित कथाहरु समेत समेटेर फाइन प्रिन्टले सो पुस्तक प्रकाशन गरेको हो ।

    सो पुस्तक विमोचन कार्यक्रममा विभाजित नेकपाका अध्यक्ष प्रचण्ड,नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल,जनता समाजवादी पार्टीका नेता अशोक राई र डा. मीना पौडेल तथा अरुण गुप्तो प्रमुख वक्ता रहेको जसपाका नेता विश्वदीप पाण्डेले बताए ।

  • विदेशी चलखेलले राजनीतिक अस्थिरता बढेको बाबुरामको निष्कर्ष

    विदेशी चलखेलले राजनीतिक अस्थिरता बढेको बाबुरामको निष्कर्ष

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक अस्थिरता बढ्नुमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल निर्णायक रहेको बताएका छन् ।

    संविधानसभा सदस्य मञ्चले आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन र अबको निकास विषयक’ कार्यक्रममा बोल्दै भट्टराईले प्रतिनिधिसभा विघटनको अन्तर्यमा अमेरिकन, चीन र भारतको स्वार्थ मिसिएको बताएका हुन् ।

    ‘कति कुरा भन्ने कति नभन्ने ? राजनीतिक अस्थिरता बढाउन हाम्रा मित्र राष्ट्रहरुको भूमिका छैन भन्न सकिँदैन । संसद विघटनको अन्तर्यमा पनि केही न केही छ’, भट्टराईले भने ।

    उनले गलत व्यक्तिको हातमा शासन पुगेका कारण संविधान असुरक्षित भएको आरोप समेत लगाए । ‘राजनीतिक परिवर्तन ल्याउने शक्तिहरुले फाँसीवादी, लोकतन्त्र विरोधी र भष्मासुर प्रवृत्तिका केपी ओलीलाई सत्ता सुम्पनु ठूलो भुल थियो । ओलीको धुन्दुकारी प्रवृत्तिले मुलुकलाई गम्भीर दुर्घटनामा लैजान्छ’, भट्टराईले भने ।

    उनले राजनीतिक कोर्स सच्याउन ओलीको विपक्षमा रहेका सबै दल र नागरिक समाजले संयुक्त प्रतिवाद गर्नुपर्ने बताए।

  • बाबुरामले भने– अदालतले संसद पुनःस्थापना गर्छ भनेर ढुक्क नबनौं

    बाबुरामले भने– अदालतले संसद पुनःस्थापना गर्छ भनेर ढुक्क नबनौं

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताएका छन् ।

    राजधानीमा आज आयोजित विरोध प्रदर्शनलाई शान्तिवाटिकामा सम्बोधन गर्दै डा. भट्टराईले सभामुखले नै प्रतिनिधिसभा बैठक बोलाएर विघटनलाई अमान्य घोषणा गर्नु राजनीतिक निर्णय हुने बताए ।

    भट्टराईले भने– अदालतबाट आशा त गरौं तर भर नपरौं । अदालत सार तत्वमा जाँदैन, उसले विधि र प्रमाण खोज्छ । त्यसैले म कांग्रेसलगायतका साथीहरुलाई आग्रह गर्न चाहन्छु न्यायालयबाट आशा गरौं तर ढुक्क नबनौं ।

    डा. भट्टराईले सभामुखले संसद बैठक राख्ने र अत्यधिक बहुमत सांसद सहभागी भएर जनतामा निहित सार्वभौमसत्ता प्रयोग गर्नुपर्ने बताए । उनले सांसदले नै यसको फैसला गर्नुपर्ने धारणा राखे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमाा प्रस्तुत भएका भट्टराईले प्रधानमन्त्री ओलीलाई फाल्न सबै पार्टीको संयुक्त जनआन्दोलन गर्नसमेत प्रस्ताव राखेका छन् । उनले ओलीले चुनाव गराउने भ्रममा नबस्न समेत आग्रह गरे ।