Tag: ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट

  • नेपालका लागि उपकप्तान सीताको अर्धशतक

    नेपालका लागि उपकप्तान सीताको अर्धशतक

    काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत कतारविरुद्धको अन्तिम खेलमा नेपालका लागि उपकप्तान सीता राना मगरले अर्धशतक बनाएकी छन् । बिहीबार जारी तेस्रो तथा अन्तिम नेपालका लागि ओपनिङमा आएकी सीताले ४७ बलमा ५० रन पूरा गरेकी हुन् ।

    टस जितेर ब्याटिङ रोजेको नेपालका लागि काजल श्रेष्ठ ७ तथा ज्योति पाण्डे २४ रन बनाएर पेभेलियन फर्केका छन् । अहिले सीता ५४ बलमा ५ चौकासहित ६१ रन तथा डोली भट्ट १२ रन बनाएर खेलिरहेका छन् । अहिले नेपालले १५ ओभरमा दुई विकेट गुमाएर १ सय २२ रन बनाएर खेलिरहेको छ ।

    कतारका लागि एन्जेलिन मेर र साची डडुवालले १/१ विकेट लिएका छन् । यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

    आईसीसी विश्वपको एसियाली छनोटको तयारीका लागि मिडिल इस्ट भ्रमणमा रहेको नेपाल भोलि उतैबाट युएई जानेछ ।

  • सुरुवाती दुई खेलमा हामीले सशक्त प्रदर्शन गर्‍यौं : प्रशिक्षक वाट्मोर

    सुरुवाती दुई खेलमा हामीले सशक्त प्रदर्शन गर्‍यौं : प्रशिक्षक वाट्मोर

    काठमाडौं । नेपाललाई ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात दिलाएका मुख्य प्रशिक्षक डेभ वाट्मोरले सुरुवाती दुई खेलमा बलियो प्रदर्शन गरेको बताएका छन् । शनिबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलमा सोमबार मलेसियालाई अल आउट गर्दै ९ विकेटले नै पराजित गरेको थियो ।

    यसै शृंखलामार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशल भूर्तेल र आशिफ शेखको शानदार ब्याटिङमा नेपालले प्रतियोगिताका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । ‘हामीले हुनेसम्म राम्रो तयारी गरेका थियौं र राम्रो प्रदर्शन गर्ने लक्ष्य थियो,’ प्रशिक्षक वाटमोरले भने, ‘हामीले सुरुआती दुई खेलमा सशक्त प्रदर्शन गरेका छौं ।’

    आशिफ र कुशलको प्रदर्शनबाट सन्तुष्ट देखिएका वाटमोरले दुई खेलाडी एउटै स्थानका लागि आपसमा प्रतिस्पर्धा गरिरहेको र केही हप्तापछि दुवै खेलाडी खेल्ने अवस्था सिर्जना भएको बताए । ‘उनीहरू एउटै स्थानका लागि फाइट गरिरहेको मलाई भान भएको थियो र केही हप्ता बितेसँगै उनीहरू दुवैले प्लेइङ इलेभेनमा स्थान बनाए,’ वाट्मोर भन्छन्, ‘उनीहरूको जादुमय प्रदर्शन देखेर म आफैं आश्चर्यचकित छु, यसमा ‘जस्ट गो एन्ड प्ले द गेम’को सेन्स देखिन्छ ।’

    नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरिरहेका कुशल लगातार दुई खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनिसकेका छन् । दुई खेलमै कीर्तिमान बनाइसकेका कुशल नेपालको जितमा राम्रो प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताउँछन् । ‘म धेरै खुशी छु । पहिलो कुरा आफ्नो टिम जितेको छ । दोस्रो टिमको जितमा मेरो प्रदर्शन राम्रो रह्यो,’ कुशलले भने, ‘नेदरल्यान्ड्सविरुद्धको खेल पनि डेब्यू थियो । त्यसैले मलाई दबाब थिएन ।’

    यस्तो प्रदर्शनका लागि आफूलाई धेरै समयदेखि तयार गरिरहेको कुशल सुनाउँछन् । उनी भन्छन्, ‘किनभने मैले यसकै लागि भनेर धेरै मेहनत गरेको थिए । यो मेरा लागि सुनौलो अवसर थियो । मैले यसलाई गुमाउनु हुन्न भन्ने छ । म त्यही सोचमा खेलिरहेको छु ।’

    टोलीमा आफूले पाएको भूमिका निर्बाह गरिरहेकोमा खुशी व्यक्त गर्दै कुशल भन्छन्, ‘मलाई टिममा एउटा भूमिका दिइएको छ । म त्यही भूमिका निर्बाह गरिरहेको छु । पछिल्लो दुई तीन वर्षदेखि घरेलु प्रतियोगितामा ओपनिङ गरिहेको थिए । एमर्जिङ कपबाट नै मैले ओपनिङ गरेको थिए । ओपनिङमा म युज टु नै छु ।’