Tag: टप न्यूज

  • मन्त्रालयमै सुत्न थाले महावीर, अरु मन्त्रीहरु आफ्नै घरमा

    मन्त्रालयमै सुत्न थाले महावीर, अरु मन्त्रीहरु आफ्नै घरमा

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा भैंसेपाटीस्थित मन्त्रीहरुको आवासमा पनि आगजनी भयो । फलतः सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरु कसैले पनि सरकारी आवास पाएका छैनन् ।

    प्रधानमन्त्री सुशिला कार्कीबाहेक बाँकी सबै मन्त्री आफ्नै घरमा बस्दै आएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथग्रहण गरेको भोलिपल्ट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेकी थिइन् ।

    कार्कीले आफ्नै निवासमा बस्ने बताए पनि मुख्यसचिव एकनारायण अर्यालसहितका उच्च पदस्थ कर्मचारीले सुरक्षा लगायतको व्यवस्थापनमा समस्या हुने भनेर सरकारी निवासमै बस्नुपर्नेमा जोड दिएका थिए ।

    प्रधानमन्त्री बस्ने बालुवाटारको सरकारी निवासमा पनि आगजनी भएको थियो । आगजनीबाट कम क्षति पुगेको भवनमा प्रधानमन्त्रीका लागि बसाइको व्यवस्थापन गरिएको हो । अन्य मन्त्रीहरु भने आआफ्नै घरमा बसेर मन्त्रालय धाइरहेका छन् ।

    अर्थ एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल भक्तपुरस्थित आफ्नै निजी निवासमा बस्दै आएका छन् ।

    उनले सरकारी सवारी साधन पनि लिएका छैनन् । उर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ काठमाडौंको बौद्ध महांकालस्थित आफ्नै निजी निवासमा बसिरहेका छन् । उनले सरकारी सवारीसाधन भने प्रयोग गरेका छन् ।

    गृहमन्त्री ओमप्रकाश अर्याल ललितपुरको सानेपास्थित आफ्नै घरमा बसिरहेका छन् । नवनियुक्त उद्योग तथा कानूनमन्त्री अनिलकुमार सिंन्हा काठमाडौंको नारायणहिटी दरबार सग्रहालय नजिकै रहेको आफ्नो निजी निवासमा बस्छन् ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियार काठमाडौंको कलंकी स्युचाटारमा रहेको आफ्नै निवासमा छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल पनि आफ्नै घर इमाडोलमा बस्छन् ।

    शिक्षामन्त्री पुनको बास मन्त्रालयमै

    नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई बस्नका लागि सरकारी निवास नचाहिने बताएका थिए ।

    उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन समेत दिएका थिए । अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिएका थिए ।

    उनले भने, ‘मेरो त जहाँ काम ग¥यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’

    नभदै उनी मंगलबार (आज)देखि मन्त्रालयमै बस्न थालेका छन् । उनले नेपाल प्रेससँग भने, ‘सुत्ने बेड र भान्छा कोठाको व्यवस्था भयो । आजदेखि केशरमहलस्थित शिक्षा मन्त्रालयमै सुत्ने र खाने गर्छु ।’

  • महावीर पुनको निर्देशन-हरेक विद्यालयमा एउटा कम्प्युटर शिक्षकको दरबन्दी थप्नु

    महावीर पुनको निर्देशन-हरेक विद्यालयमा एउटा कम्प्युटर शिक्षकको दरबन्दी थप्नु

    काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरेको जनाएका छन् ।

    सामाजिक सञ्जालमार्फत कम्प्युटर शिक्षकको दरबन्दी थपलगायत तीनवटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

    मन्त्रालयमा आज उठेका र काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्ः

    १) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।

    २) केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा

    ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।

    ३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।

  • अर्थ मन्त्रालयको एउटा पत्रले सेबोनमा हलचल, कानूनविपरीत कार्यविधिबाट लिएको पैसा फिर्ता गर्नुपर्ने

    अर्थ मन्त्रालयको एउटा पत्रले सेबोनमा हलचल, कानूनविपरीत कार्यविधिबाट लिएको पैसा फिर्ता गर्नुपर्ने

    काठमाडौं । अर्थ मन्त्रालयबाट पठाइएको एउटा पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हलचल भएको छ । मन्त्रालयले अवैध तरिकाबाट लिएको सबै पैसा फिर्ता गर्न भनेपछि त्यहाँ काम गर्ने कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

    आज सेबोनमा कर्मचारीहरुले नै ताला लगाए । प्रचलित कानूनविपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु निर्देशन अर्थ मन्त्रालयले दिएको थियो ।

    अर्थ मन्त्रालयले असाेन २ गते पठाएको पत्रका कारण कर्मचारी आन्दोलित भएका हुन् । त्यो पत्रमा बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष सम्बन्धमा राजस्व सचिवस्तरीय निर्णय कार्यान्वयन गराउन भनिएको थियो ।

    ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२. दफा ११६, विधायन ऐन, २०६१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितो पत्र बोर्ड कर्मचारी सेवा सर्त सम्बन्धी नियमावली २०६८ को नियम १६७ विपरीत जारी भएका नेपाल धितो पत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितो पत्र बोर्ड कर्मचारी सुरक्षण कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ तत्काल खारेज गर्नु । प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु । कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नु पूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्नु पर्ने छ’, अर्थले बोर्डलाई पठाएको पत्रमा उल्लेख छ ।

    धिताेपत्र बाेर्ड
  • तत्काल चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

    तत्काल चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो ।

    छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने जानकारी गराइन् । उनले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन सरोकारवालासँग निरन्तर परामर्श र सहकार्य गरिने बताउँदै आयोगलाई तयारीका सम्पूर्ण कार्य तत्काल अघि बढाउन आग्रह गरिन् ।

    त्यस क्रममा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपेटिकासहितका सामग्री मौज्दातमा रहेको जानकारी दिँदै अभाव हुने सामग्री स्वदेशमै उत्पादित वस्तुलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक ढंगले खरिद गरिने बताए । उनले राजनीतिक दल, नागरिक समाज तथा सञ्चारजगतसहित सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । साथै निर्वाचन सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइदिन सरकारसँग आग्रह गर्दै आयोगलाई नेपाल सरकार, राजनीतिक दल र आम नागरिकको सहयोगका अपेक्षा रहने विश्वास व्यक्त गरे ।

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो । आयोगको तर्फबाट आयुक्त डा।जानकी तुलाधर र सगुन शमशेर जबरा तथा सचिव महादेव पन्थ सहभागी थिए ।

  • राजनीतिक नियुक्तिको अर्थ थाहा छ, अर्को सरकार आएको भोलिपल्ट छाड्छुः मनोज सिलवाल

    राजनीतिक नियुक्तिको अर्थ थाहा छ, अर्को सरकार आएको भोलिपल्ट छाड्छुः मनोज सिलवाल

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले राजनीतिक नियुक्तको अर्थ आफूले बुझेको बताएका छन् । अर्को सरकार आएको भोलिपल्टै छोड्न तयार रहेको उनको भनाइ छ ।

    आज आफ्नो पदभार ग्रहण कार्यक्रममा बोल्दै सिलवालले अहिले विद्युत प्राधिकरण सबैभन्दा सहज र अनुकूल अवस्थामा रहेको बताए ।

    उनले भने, ‘प्राधिकरणमा ८ वर्ष कार्यकारी निर्देशक रहनुभएका कुलमान घिसिङ मन्त्री हुनुहुन्छ । त्यसैले नेपाल सरकारबाट पनि पर्याप्त सहयोग हुन्छ । यस्तो सहज परिस्थिति सायद भविष्यमा नहोला । काम गर्नका लागि एकदम सहज छ । यो परिस्थितिको फाइदा उठाउनुपर्छ ।’

    आफू सधैँ प्राधिकरणमा रहन्छु भनेर नआएको सिलवालले बताए । राजनीतिक नियुक्तिको कुनै पनि निश्चित अवधि नहुने उनको भनाइ छ ।

    ‘म सधैँ बस्छु भनेर आएको होइन । राजनीतिक नियुक्तिको अर्थ बुझेको छु । यसको अवधि हुँदैन । लोकसेवा दिएर ४ वर्ष बस्छु भनेर आएको होइन । जति दिन बस्छु, काम गर्छु । काम गर्न नसकेको दिन साथी हो, मैले सकिनँ भनेर छोडेर हिँड्छु । तर, त्यो अवस्था आउँदैन । यदि अर्को सरकार आयो भने निरन्तरता दिउँ कि छोडौं भन्ने सोध्छु र भोलिपल्टै म छोड्छु । म फोटो टाँस्न आएको होइन । आफैँ मूल्यांकन गर्नुस् । बस्दा राम्रो काम गरेँ भने फोटो टास्नुस्, नत्र टाँस्नु पर्दैन ।’

  • बालेन लक्षित ओलीको टिप्पणी- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए

    बालेन लक्षित ओलीको टिप्पणी- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमै अडिएको बताएका छन् । भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसासमेत नदिने बदनाम स्थितिमा पुगिसकेको बताए ।

    उनले भने, ‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’

    उनले नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनुपर्ने बताए । युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।

    ‘यो देश हाम्रो हो हामीले बनाउनुपर्छ । अहिले कसले जलायो थाहा छैन । देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्त्वहरूले जलाएका हुन्’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो । यस्तो कुरा हामीले बुझ्नुपर्छ ।’

    कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न र बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिन उनको निर्देशन थियो ।

  • जेनजी भन्दै वडाध्यक्षले युवालाई ढुंगाले हाने, प्रहरीले गर्‍यो पक्राउ

    जेनजी भन्दै वडाध्यक्षले युवालाई ढुंगाले हाने, प्रहरीले गर्‍यो पक्राउ

    कैलाली । कैलालीमा एक युवालाई वडाध्यक्षले भौतिक आक्रमण गरेका छन् । घोडाघोडी नगरपालिका- ८ का वडाध्यक्ष वीरबहादुर साउदले विकाससम्बन्धी प्रश्न गरेपछि आफूमाथि आक्रमण भएको स्थानीय सुनिल खड्काले बताए ।

    ‘वडाध्यक्षलाई मैले तपाईँको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ ? भनेर प्रश्न गरेको थिएँ, उहाँले केहीबेरपछि तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हान्नुभयो’ उनले भने ।

    आफूलाई जेनजी आन्दोलनमा संलग्न भएको र वडा कार्यालय जलेको भन्दै आक्रमण गर्न लगाएको उनले आरोप लगाएका छन् ।

    ‘यो जेनजीको आन्दोलन गर्ने मान्छे हो यसले गर्दा हाम्रो वडा पनि जल्यो यसलाई मार्नुपर्छ भनेर २ जनालाई मेरो पछाडि लगाइयो ’ घाइतेले इलाका प्रहरी कार्यालयमा सुखडमा प्रहरीसमक्ष भने ।

    घाइतेका दाजु हिक्मत खड्काले पनि भाइमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाही हुनुपर्ने माग गरे ।

    ‘विकासको लागि मेरो भाइले कुरा उठाएको थियो । त्यही विषयमा कुटपिट भयो । दोषीलाई कारबाही हुनुपर्छ हुनुपर्छ ’, उनले भने, ‘यस्तो गुण्डागर्दी अब चल्दैन । ’

    वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी परेको छ । वडाध्यक्ष साउद पक्राउ परिसकेको डीएसपी रमेशदत्त अवस्थीले जानकारी दिए । ‘वडाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी आएको छ । हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ ’, उनले नेपाल प्रेससँग भने ।

    सामान्य विवादपछि आक्रमण

    सोमबार लठुवा खोलामा तीन समूह पिकनिक खान पुगेका थिए । वडाध्यक्षसहितको एउटा समूह, सुनिल खड्काको एउटा समूह र अर्को एउटा समूह पिकनिकमा थिए ।

    एकजना प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्ष साउदले खड्का समूहसँगै बसेर मासु र मदिरा खाएका थिए ।

    ‘उहाँ (वडाध्यक्ष ) आउनु भयो । त्यहाँ राम्रै सम्मान भएको थियो । मासु र मदिरा पनि सेवन भयो ’ ती प्रत्यक्षदर्शीले भने, ‘केहीबेर राम्रै कुरा भएको थियो पछि सुनिलले प्रश्न गरेपछि वडाध्यक्षले आक्रमण गर्नुभएको हो । ’

    ती प्रत्यक्षदर्शीका अनुसार तीन वर्षसम्म पनि विकास नभएको भन्दै सुनिलले वडाध्यक्षलाई प्रश्न गरेका थिए । त्यो बेला वडाध्यक्ष मौन रहे र निस्किए ।

    केहीबेरपछि केही युवा लिएर वडाध्यक्ष त्यो समूहमा गएको र आक्रमण गरेको ती युवाले बताएका छन् । सुनिलको टाउकोमा ८ टाका लगाइएको छ ।

  • नख्खु कारागारको भाइरल भिडिओबारे मनिष भन्छन्– आगो लगाउन रोकेको हुँ, छानबिन होस् 

    नख्खु कारागारको भाइरल भिडिओबारे मनिष भन्छन्– आगो लगाउन रोकेको हुँ, छानबिन होस् 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नख्खु कारागारमा आन्दोलनकारीले आगजनी गर्दा आफूले रोक्ने प्रयास गरेको बताएका छन्। आगजनीमा प्रवक्ता झाको संलग्नता भएको भन्दै भिडिओ भाइरल भएपछि केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्यसबारे प्रष्टीकरण दिएका हुन्।

    उनले भने, ‘आगलागी हुँदै गर्दा एउटा राजनीतिज्ञले रोक्न जाने धर्म हो। मेरो पार्टी सभापति २ सय मिटर टाढा हुनुहुन्छ। त्यो अभियोग हामीलाई लाग्छ भन्ने डर पनि छ। त्यसैले रोक्न गएको हुँ। त्यहाँ मलाई पनि आक्रमण हुनसक्ने भएपछि म फर्किएँ।’

    उनले आफूले आजगजी गर्न रोकेको भिडिओ हालेर आफ्नो मानमर्दन गरेको बताए। उनले थपे, ‘अब दाहसंस्कारमा नजाने ? तिमिले नै मारेको भन्देला । छिमेकीमा आगो लाग्दा नजाने ? तिमिले नै लगाएको भन्देला। सडकमा दुर्घटना हुँदा बचाउन नजाने ? तिमिले नै लडाएको भन्देला। किनकि आगो निभाउन जाँदा तैँले लगाइस् भन्ने समाज छ यहाँ।’

    उनले आफूबारे लागेको आरोपको छानबिन गर्न पनि आयोगसँग माग गरे। आफूको त्यो भिडिओ जापान बस्ने मानिस (रविन)लाई अपलोड गर्न लगाइएको जिकिर गरे। उनले त्यो भिडिओबारे छानबिन गर्नको लागि आफैँले प्रहरीकोमा निवेदन समेत दिइसकेको बताए।

  • मनोज सिलवालले गरे २ निर्णय, डेडिकेटेड ट्रंक लाइन बक्यौताबारे के भने ?

    मनोज सिलवालले गरे २ निर्णय, डेडिकेटेड ट्रंक लाइन बक्यौताबारे के भने ?

    काठमाडौं । विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आजदेखि जिम्मेवारी सम्हालेका छन् ।

    पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर गरे । जसमा आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।

    त्यस्तै १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ ।

    पदभारको क्रममा सिलवाललाई तत्कालको चुनौती के छ ? भनी सोधिएकोमा दसैँ-तिहारका लागि नियमित विद्युत् प्रवाह गर्नु रहेको बताए ।

    उनले भने, ‘उद्योगबाट उठाउन बाँकी रहेको विद्युत् बक्यौता उठाउने काम गर्नेछौँ । डेलिकेडेट र ट्रंक लाइनको पहिले पैसा उठाउन भएको निर्णयको अध्ययन हुनेछ । चाडपर्वपछि आन्तरिक सुधार गर्ने र आर्थिक रूपमा प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्ने काम गर्छौं ।’

  • रास्वपाको प्रष्टीकरण–जेनजी आन्दोलनको अगुवाइ हामीले गरेको होइन

    रास्वपाको प्रष्टीकरण–जेनजी आन्दोलनको अगुवाइ हामीले गरेको होइन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन भएपनि अगुवाइ नगरेको प्रष्टीकरण दिएको छ।

    केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनिष झाले आन्दोलनको क्रममा २४ गतेको घटना सोचेको भन्दा फरक भएको बताए।

    उनले भने, ‘२४ गतेको घटनामा सहभागीताका लागि हाम्रो कुनै आह्वान थिएन। आगजनी र लुटपाट हाम्रो पार्टीको सिद्धान्त पनि होइन। अरू पार्टी नेता कार्यकर्ताले आगजनी र तोडफोडमा संलग्न भएको पुष्टि हुँदा समेत चुइँक्क बोलेको छैन। तर हाम्रो पार्टीकाहरूले स्वतः राजीनामा दिनुभयो।’

    अरू पार्टीले अपराधीहरूको संरक्षण गरेपछि आफूहरूले अनुसन्धानमा सघाउन पुर्‍याइरहेको दाबी गरे।

  • महाराजगञ्जमा प्रहरीकाे हत्या आराेपमा काभ्रेका एक युवक पक्राउ

    महाराजगञ्जमा प्रहरीकाे हत्या आराेपमा काभ्रेका एक युवक पक्राउ

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरी हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापफाकी पक्राउ परेका हुन् ।

    जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो । सामाजिक सञ्जालका विभिन्न फुटेजको अध्ययनका आधारमा पहिचान भएका विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा क्यापफाकी नै प्रहरी हत्यामा संलग्न रहेको ठहर भएको हो ।

    जिल्ला प्रहरी परिसर, भद्रकालीकी निमित्त प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार उक्त घटनाको थप अनुसन्धान जारी छ ।

  • प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण

    प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् ।

    जेन–जी आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका हुन् ।

    सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए । उनी १२ औ तह (एमडी) भएपछि २०८१ माघमा प्राधिकरणबाट अवकाश भएका थिए । प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर काम गरेका सिलवाल इन्जिनियर हुन् ।

    घिसिङ प्राधिकरणको प्रमुख हुँदा सिलवालले उनी निकट भएर घिसिङलाई सफल बनाउने काम गरेका थिए ।

  • सुनकोसी मरिण र भेरी बबईका ठेक्का यथास्थितिमा राख्न सकिँदैन: मन्त्री घिसिङ

    सुनकोसी मरिण र भेरी बबईका ठेक्का यथास्थितिमा राख्न सकिँदैन: मन्त्री घिसिङ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोसी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छलफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

    दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्‍याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने आयोजनाहरूको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे ।

    ‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौँ रुपैयाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बौँ हुन्छ, यस्तो अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?’ उनले चेतावनी दिँदै भने ।

    ‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युत् गृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन्, तराई/मधेसमा सिँचाइका लागि पानीको हाहाकार छ तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिँदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौँ ।’

    भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत् गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोसी मरिण बाँध, विद्युत् गृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभीले गरेको हो ।

     

  • परराष्ट्रमन्त्रीमा राजेश हमालको चर्चा, कुरा अघि बढे अष्ट्रेलियाबाट तत्काल फर्किने

    परराष्ट्रमन्त्रीमा राजेश हमालको चर्चा, कुरा अघि बढे अष्ट्रेलियाबाट तत्काल फर्किने

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाललाई सुशीला कार्की सरकारमा लैजानका लागि पहल सुरू भएको छ । सरकारनिकट पात्रहरूले उनलाई अनौपचारिकरूपमा प्रस्ताव समेत गरिसकेको स्रोतले बतायो ।

    हमाल अहिले अष्ट्रेलियामा छन् । नेपालमा जेनजी आन्दोलन भएकै दिन गत भदौ २३ मा उनी प्रस्थान गरेका थिए । ‘यो नेपाली शिर उचाली’ नामक टेलिभिजन कार्यक्रमको छायांकनका लागि उनी गएका हुन् । जाँदै गर्दा उनले फेसबुकमा स्टाटस लेखेर आन्दोलनमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका थिए ।

    हमालले लेखेका थिए, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं । नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइनँ । आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको छ ।’

    उनी त्यता गएपछि देशको राजनीतिक सन्तुलनमा उलटफेर आएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भएको छ ।

    कार्कीले हिजो आफ्नो मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरिन् । तर, अझै पनि केही महत्वपूर्ण मन्त्रालयहरू खाली नै छन् । त्यसमध्ये परराष्ट्र मन्त्रालयको नेतृत्वमा राजेश हमालको चर्चा गरिएको हो । हाल सिड्नीमा रहेका हमाललाई अनौपचारिक रूपमा कुरा पुगेको भए पनि उनी ठोस र औपचारिक प्रस्तावको प्रर्खाइमा रहेको निकट स्रोतले बतायो ।

    ‘उहाँ अहिले मन्त्री बन्न आफ्नो तर्फबाट प्रयास गर्ने पक्षमा त हुनुहुन्न, तर सिरियस प्रस्ताव आयो भने सकारात्मकरुपमा सोच्न सक्ने बताउनुभएको छ,’ उनी निकट स्रोतले भन्यो ।

    राजेशसँग कूटनीतिक अनुभव नभए पनि परराष्ट्र मामला उनको रूचिको क्षेत्र हो । उनका पिता चुडाबहादुर हमाल पूर्वराजदूत हुन् । बुवाले राजेशलाई पनि आफ्नै पदचिन्हमा हिँडाउन चाहेका थिए । तर, राजेशले कलाकारिता रोजेपछि उनी रुष्ट बने । यही मनमुटावका कारण लामो समय बाबुछोराबीच बोलचालसमेत भएको थिएन ।

    ६१ वर्षीय हमालले भारतको पञ्जाव विश्वविद्यालयबाट अंग्रजी साहित्यमा एमए (गोल्ड मेडलिस्ट) उत्तीर्ण गरेका छन् । चलचित्र क्षेत्रमा उनी बौद्धिक कलाकारका रुपमा समेत परिचित छन् ।

    हमाल केही दिनपछि अष्ट्रेलियाबाट फर्किने सेड्यूल भए पनि परराष्ट्रमन्त्रीमा गम्भीर प्रस्ताव आएरु कुरा अघि बढेको खण्डमा तत्काल फर्किने तयारीमा रहेको स्रोतको भनाइ छ ।

  • रातभर किन सलबलाए ज्ञानेन्द्र ? के थियो भित्री खेलो ?

    रातभर किन सलबलाए ज्ञानेन्द्र ? के थियो भित्री खेलो ?

    ०८२ भदौ २३ र २४ गते नेपालको राजनीतिमा एउटा फरक पृष्ठभूमिको इतिहास कोरिएको छ । कोत पर्व, भण्डारखाल पर्व, २००७ सालको राणा विरोधी आन्दोलन, २०१७ सालको ‘कू’ र त्यसपछिको पञ्चायती व्यवस्था, २०४६ को जनआन्दोलन, २०६२/०६३  को लोकतान्त्रिक आन्दोलन र २०७२ सालमा जारी भएको संघीय गणतान्त्रिक संविधानपछि राजसंस्थाले विधिवत् रूपमा बिदा लिएको क्षण भन्दा फरक रह्यो भदौ २३ र २४ गतेको जेनजी आन्दोलन ।

    जेनजी पुस्ता र जेनजी आन्दोलनलाई धेरैले एउटा उमेर समूहको लहडको रूपमा मात्र बुझेको देखिन्छ । खासमा यो एउटा निश्चित उमेर समूहको लहडमात्र पक्कै हैन । यो त एउटा विचार पनि हो । दृष्टिकोण, सोच र सक्रियता पनि हो ।

    ‘जेनेरेसन जेड’, अर्थात् जेनजी सन् १९९७ देखी २०१५ को बीचमा जन्मिएका पुस्ता हुन् । यो हिसाबले जेनजी समूहमा १० देखि २८ वर्ष उमेर समूहका किशोर र युवा पर्दछन् ।

    यो नै पहिलो पुस्ता हो, जो सानैदेखि इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किए । जेनजी अभियान स्मार्ट, इन्टरनेट, रचनात्मकता, बोल्ड, रंगीन र सहभागितामूलक हुने गर्छ । जेनजी समूह सामाजिक न्याय, वातावरण, लैङ्गिक समानता र विविधताको विषयमा बढी नै सचेत रहने विश्वास गरिन्छ । त्यसैले पनि जेनजी पुस्ता उमेर समूहसँग मात्र सम्बन्धित छैन, यो विचार, दृष्टिकोण, सोच र सक्रियतासँग पनि सम्बन्धित छ ।

    एउटा निश्चित उमेर समूह र विचारको गठजोडले अघि बढेको जेनजी आन्दोलनको कारण भदौ २३ र २४ गते र त्यसपछि धेरैले धेरै चिज गुमाए । कसैले आफ्ना बालबच्चा गुमाए, कसैले अभिभावक गुमाए, कसैले पद, प्रतिष्ठान गुमाए, राष्ट्रले ऐतिहासिक धरोहरहरू गुमायो र मैले दुई रातको निन्द्रा गुमाएँ ।

    यो कुरा धेरै कमलाई थाहा होला, भदौ २३ र २४ गते जेनजी आन्दोलनले उत्पन्न गरेको विषम परिस्थिति लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि केही समय मुलुक सरकारविहीन अवस्थामा पुग्यो । भलै, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गरी उनैलाई कामचलाउ सरकारको प्रधानमन्त्री तोकेका थिए ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजनीतिक दलको समर्थनबेगर राजगद्दीमा फर्कन्न भनेर नागरिक शक्तिलाई आत्मसात् गरे जसरी नै राजनीतिक दल र त्यसका नेतृत्वकर्ताले पनि अधिकतम नैतिकता देखाउँदै नागरिक शक्तिलाई आत्मसात् गर्छन् भन्ने विश्वास गरौँ ।

    यसबीचमा सत्ता प्रयोगको लागि धेरै ठाउँबाट, धेरै खालका प्रयत्न भए । आन्दोलनरत जेनजी अगुवासँग प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २५ गतेबाट नयाँ सरकार र प्रधानमन्त्रीको विषयमा छलफल सुरु गरेका थिए ।

    दुर्गा प्रसाईँ र धरानका मेयर हर्क साम्पाङ प्रधानमन्त्री चलाउने दाबीका साथ सैनिक मुख्यालय पुगे । काठमाडौंका मेयर बालेन शाहले फेसबुकमार्फत सेनासँग वार्ताको लागि तयार रहन जेनजी अगुवालाई अनुरोध गरे । प्रधानमन्त्री को भन्ने विषयमा एकमत हुन नसकेपछि नेपाली सेनाले माइकिङ गरेरै भदौ २६ गते बिहानसम्म साझा नाम सुझाउन जेनजी अगुवालाई उर्दी नै जारी गर्‍यो ।

    प्रधानमन्त्रीको साझा नाम आउन नसकिरहेको अवस्थामा जेनजी आन्दोलनको विषयमा सामाजिक सञ्जालमा विभिन्न कोणबाट चर्चा, बहस र आशंका सुरु भएका थिए । आन्दोलनमा भारतको संलग्नता, काठमाडौँका मेयर बालेन शाह पश्चिमाहरूको चाहनाअनुसार अघि बढेको जस्ता हल्लाले परिस्थिति थप जटिल बन्दै गएको थियो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आन्दोलनमा घुसपैठ भएको आशंका गरिरहेको खबर मिडियाहरूले प्रचार गरिरहे ।

    जेनजी आन्दोलनको क्रममा उत्पन्न विषम परिस्थितिपछि म भदौ २३ गते रातिदेखि नै राम्रोसँग निदाउन सकिरहेको थिइनँ । राति ११/१२ बजेसम्म मेरा आँखा सामाजिक सञ्जालका वालहरू र विभिन्न अनलाइनका खबर हेर्न चनाखो भइरहेका थिए ।

    प्रधानमन्त्री को हुन्छ भन्ने रस्साकस्सीका बीच भदौ २६ गते (बिहीबार) राति ९/१० बजेतिर भने एउटा अर्को हल्ला फैलियो- राजा फर्काउनेबारे । नारायणहिटी दरबार सरसफाइ सुरु भयो । अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा ल्याएर राजा घोषणा गरिँदैछ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पूर्वयुवराज पारस शाहले बिहीबार राति नै फेसबुकमा ‘वार्तामा हुनुपर्ने अनिवार्य सर्तहरू’ भन्दै १२ बुँदाको एउटा नोट सार्वजनिक गरे । जसको अन्तिममा ‘बरु यही संविधानमा राष्ट्र प्रमुखको रूपमा राजा वा बेबी किङ स्वीकार गरौँ, तर वैदेशिक हस्तक्षेप स्वीकार नगरौँ है’ भन्दै राजाको पक्षमा जनमत बुझ्ने काम गरे ।

    लगत्तै उनकी छोरी पूर्णिका शाहले ‘आज मध्यरातसम्म ठूलै निर्णय आउन सक्ला’ भन्दै फेसबुकमा स्ट्याटस लेखिन् । उनले बिहीबार राति नै एउटा ग्रुपमा राजा फर्कने भन्दै तयारी अवस्थामा रहन साथीहरूलाई सन्देश छोडेकी थिइन् । तर, अहिले त्यो सन्देश ग्रुपबाट हटाइएको उनी निकटस्थले बताएका छन् ।

    केही राजावादी नेता-कार्यकर्ताले फेसबुकमा यो हल्लालाई बल मिल्ने गरी राजा ज्ञानेन्द्र शाह फर्कने आशयको स्ट्याटससमेत लेख्न भ्याए ।

    भदौ २६ गते बिहीबार राति ९ः५० बजे मैले पनि फेसबुकमा एउटा स्ट्याटस लेखेँ, ‘नेताहरूलाई नजरबन्दमा राखेको कुरा आयो । रातिसम्ममा केही नतिजा निस्कन्छ कि के हो ? !’

    यसरी नयाँ प्रधानमन्त्री को ? भन्ने रस्साकस्सीकै बीचमा कहीँ, कतैबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरेर नारायणहिटी प्रवेश गराउने तयारी गरिएको कुरा पुष्टि हुने धेरै आधार भेटिएका छन् । नेपाली सेनाले विदेशी हस्तक्षेपभन्दा राजा फर्काउनु ठिक हुने आशय व्यक्त गरेको र नारायणहिटीमा सरसफाइ गर्न बिहीबार राति सेनालाई खटाइएको चर्चा पनि चलेकै हो ।

    तर, पूर्वराजा ज्ञानेन्द्र शाहले कहीँ, कतैबाट आएको राजा बन्ने प्रस्तावलाई अस्वीकार गरेका थिए रे ! उनले नेपाली जनताले नभनी सुटुक्क राजा नबन्ने जवाफ फर्काएका थिए रे !

    पूर्वराजा ज्ञानेन्द्र शाहको बारेमा म अरु धेरै कुरा लेख्न चाहन्नँ, तर उनले २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन तथा २०७२ सालको गणतान्त्रिक संविधानपछि राजगद्दी छोड्दा अपनाएको शान्तिको बाटो र अहिले पुनः राजगद्दी सम्हाल्न आएको प्रस्तावलाई अस्वीकार गर्दै सार्वभौम नेपाली जनतालाई भरोसा गरेको विषय प्रशंसनीय छ ।

    राजनीतिक दलका कुरा

    जेनजी आन्दोलनपछि राजनीतिक दल पुनर्गठनको बहस चर्को ढङ्गले उठिरहेका छन् । मुख्य दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षले राजीनामा गरेर नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने दबाब बढ्दै गएको देखिन्छ ।

    विशेषतः पार्टीभित्रकै प्रतिपक्ष (विभिन्न कारणले मुख्य नेतृत्वसँग असन्तुष्ट रहेका) ले नेतृत्व परिवर्तनको मुद्दालाई मुख्य रूपमा उठाइरहेका छन् । यसमा केही ठूला मिडियाले पनि साथ दिइरहेको देखिन्छ ।

    तर, के जेनजी आन्दोलनको उद्देश्य ठूला दलको नेतृत्व परिर्वतनमात्र हो त ? दलमा नेतृत्व परिवर्तनपछि भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम हुने र प्रत्यक्ष निर्वाचित कार्यकारीमार्फत सरकारको स्थायित्व सम्भव छ ? यसको लागि पार्टीले अवलम्बन गरेको नीति परिवर्तन गर्नुपर्दैन ?

    जेनजी अभियन्ताले आफ्नो आन्दोलनको मुख्य मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी (प्रधानमन्त्री वा राष्ट्रपति) र सरकारको स्थायित्वलाई बनाएका हुन् । उनीहरूको मान्यताअनुसार यी दुई कुरा सम्भव भएपछि सुशासन, दिगो शान्ति, भ्रष्टाचारको अन्त्यजस्ता कुरा सम्भव हुन्छ भन्ने नै हो । र, यो अहिलेको आवश्यकता पनि हो ।

    तर, मुलुकले यति ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्दासम्म पनि राजनीतिक दलहरूको ध्यान भने नेता परिवर्तन तर्फ मात्र केन्द्रित देखिन्छ । नीति परिवर्तनमार्फत जेनजी आन्दोलनका माग सम्बोधन हुनुपर्छ भन्ने तर्फ कुनै पनि नेताको ध्यान पुगेको देखिएको छैन । बरु, नेताहरू त आन्दोलनको रापमा आफ्नो स्वार्थको रोटी सेक्न मात्र उद्धत देखिएका छन् ।

    जेनजी आन्दोलनको क्रममा उत्पन्न विषम परिस्थितिपछि म भदौ २३ गते रातिदेखि नै राम्रोसँग निदाउन सकिरहेको थिइनँ । राति ११/१२ बजेसम्म मेरा आँखा सामाजिक सञ्जालका वालहरू र विभिन्न अनलाइनका खबर हेर्न चनाखो भइरहेका थिए ।

    नेताको यस्तो मानसिकताले अझै पनि मुलुकमा राजनीतिक परिवर्तन सम्भव देखिँदैन । दलका युवा नेताले नीति परिवर्तनमा जोड दिँदै जनसमर्थन जुटाउन सके अहिले नेतृत्व गरिरहेका नेताहरू आफैँले आत्मालोचनासहित पद हस्तान्तरणको घोषण गर्छन् भन्ने लाग्छ ।

    अहिलेको परिस्थिति आउनमा दलका नेताहरूको कमी-कमजोरी पनि मुख्य हो भन्ने विषयमा द्विविधा छैन । तर, मुलुकमा राजनीतिक परिवर्तनका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतको भूमिकालाई कम आँक्न सकिँदैन । त्यसैले यो विषम परिस्थितिमा दलका युवा नेताहरूले पनि आगोमा घ्यू थप्ने हैन, नेतृत्वमा रहेका नेताको आत्मसम्मान जोगाउँदै नीति परिवर्तनमार्फत् नेतृत्व हस्तान्तरणको वातावरण बनाउने कुरामा जोड दिनुपर्छ ।

    लगभग ४८ घण्टाको अवधिमा मुलुकमा आमूल परिवर्तन गर्न सकेको जेनजी आन्दोलनलाई दलका नेतृत्वकर्ता र युवा नेताले नजिकबाट नियालेका छन् । जनताको शक्ति आँकलन गरेका छन् । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजनीतिक दलको समर्थनबेगर राजगद्दीमा फर्कन्न भनेर नागरिक शक्तिलाई आत्मसात् गरे जसरी नै राजनीतिक दल र त्यसका नेतृत्वकर्ताले पनि अधिकतम नैतिकता देखाउँदै नागरिक शक्तिलाई आत्मसात् गर्छन् भन्ने विश्वास गरौँ ।

  • सेन्ट्रल जेलबाट भागेका टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

    सेन्ट्रल जेलबाट भागेका टोपबहादुर लुगाफाटोसहित डिल्लीबजार कारागार फर्किए

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सुन्धारास्थित सेन्ट्रल जेल (केन्द्रीय कारागार, जगन्नाथदेवल) बाट भागेका टोपबहादुर रायमाझी मंगलबार डिल्लीबजार कारागार कार्यालयमा हाजिर भएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझी विघठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद पनि हुन् । कारागार व्यवस्थापन विभागले विभिन्न कारागारबाट निस्किएका कैदी, बन्दीलाई अनुकूल हुने कारागारमा आफैँ उपस्थित हुन सूचना निकालेको थियो ।

    उनले आफू काठमाडौंभित्रै रहेको, तर सेन्ट्रल जेलमा बस्ने वातावरण नभएका कारण उक्त कारागारमा बस्न इच्छा गरेको कारागार प्रशासनका एक कर्मचारीले बताए ।

    ‘उहाँले यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर सोध्नुभयो’, ती कर्मचारीले भने, ‘पहिला पहिला भए मिल्दैन थियो, अहिले जुनसुकै कारागारमा सम्पर्कमा आए पनि राख्नु भन्ने निर्देशन भएकोले यतै बस्नुस् भन्यौँ ।’

    उनले भदौ २४ को तोडफोड र आगजनीका कारण सेन्ट्रल जेलमा रहेका आफ्ना सम्पूर्ण बन्दोबस्तीका सामान नष्ट भएको कारागार प्रशासनलाई बताउँदै लुगाफाटो पनि लिएर आएको जानकारी दिएका थिए ।

  • विश्वप्रकाशले भने- अब कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न हुँदैन, चुनावमा जानुपर्छ

    विश्वप्रकाशले भने- अब कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न हुँदैन, चुनावमा जानुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद् पुनर्स्थापन माग पार्टीले राख्न नहुने बताएका छन्। एक कार्यक्रममा बोल्दै संसद् विघटनबारे पार्टीभित्र दुई मत रहेको बताए।

    उनले भने, ‘संसद् पुनर्स्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन्। चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौ। तर मेरो धारणा चाहिँ अब निर्वाचनको मिति घोषणा भइसकेको छ। अफ्ठेरोको बीचमा राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको बेलामा अब पुनर्स्थापन माग राख्न हुँदैन।’

    उनले जेनजीले उठाएको मागप्रति समर्थन रहेको पनि बताए। जेनजीले रूपान्तरण ल्याएर गठन गरेको सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको प्रतिनिधि सहभागी नभएकोप्रति प्रश्न उठाए।

    उनले भने, ‘यो सरकारमा एउटा मात्रै पनि जेनजीको प्रतिनिधित्व हुन पर्दैन। बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी, सरकार बनाउन पहल गर्ने जेनजी, जो आउनुभएको छ। एक सय एक आउनुभएको छ। तर, जेनजीको प्रतिनिधित्वबिना सरकारलाई पूर्णता दिने कुरालाई हामीले गम्भीरतापूर्वक राख्नुपर्छ।’

  • ३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई

    ३ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी दंगाललाई

    काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको छ ।

    दुवाडीले तत्कालिन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए । दुवाडी करिव २ महिनापछि आागमी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जादैँछन्।

    यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

  • जलेको घर हेरेर मन दुखाउँदै रेनुले भनिन्- रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ

    जलेको घर हेरेर मन दुखाउँदै रेनुले भनिन्- रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ

    चितवन । भरतपुर महानगरापलिकाकी मेयर रेनु दाहाल जेनजी आन्दोलनकारीले जलाएको घरमा पुगेर बिरक्तिएकी छन् । उनले चित्त दुखाउँदै जनताको रातदिन सेवा गरेको ‘पुरस्कार पाएको’ बताइन् ।

    २४ गतेको जेनजी आन्दोलनका क्रममा रेनु दाहाल र उनका श्रीमान् बस्दै आएको भरतपुर २१, शिवनगरस्थित घरमा आगजनी गरेर ध्वस्त पारिएको थियो । आन्दोलनकारीहरूले घरभित्र थुप्रै सिलिन्डर हालेर विस्फोट गराएका भिडिओहरू सार्वजनिक भएका छन् । यो घर खासमा माओवादी अध्यक्ष प्रचण्डले नै बनाएका हुन् । रेनु बस्न थालेको ५ महिना जति मात्रै भएको थियो ।

    रेनुको आफ्नो घर काठमाडौंमा रहेको छ । उक्त घरमा पनि तोडफोड भएको थियो । तर, आगजनीबाट भने जोगियो । शिवनगरको घर भने बस्नै नमिल्ने गरी ध्वस्त भएको छ । घर निरीक्षणका क्रममा उनलाई कार्यकर्ताहरूले आन्दोलनकारीहरू सिलिन्डर बोकेरै आएको र भित्र रहेका सिलिन्डर पनि विस्फोट गराएको बताएका थिए ।

    रेनुका अनुसार घरमा आगजनी हुँदा उनी भरतपुर उपमहानगरमा थिइन् । कार्यालय पुगेर एउटा विज्ञप्ति जारी गरिन् । तर, महानगरभित्रै आक्रमण भयो र उनीसहित सबै भाग्नुपर्‍यो । त्यसपछि केही दिन भूमिगत भएर उनी अहिले फेरि काममा फर्केकी छिन् ।

    घर निरीक्षणपछि रेनुको अभिव्यक्ति यस्तो थियो:

    राम्रै पुरस्कार पाएँ । नेपाली मन हुने, भरतपुरलाई माया गर्ने, नेपाली नागरिकले यस्तो गर्ने कुरा सोच्न पनि सक्दिनँ । दिनरात नभनेर आफ्नो छोराछोरीभन्दा प्यारो ठानेर भरतपुरवासीको सेवा गरिरहेको नगरप्रमुखलाई राम्रै पुरस्कार दिनुभयो ।

    यो योजना कसले बनायो भन्ने अदृश्य छ । अहिले पनि आँकलन गर्न सक्छौँ । स्वदेशी-विदेशी ग्रान्ड डिजाइनमा भएको लागिरहेकै छ । तर रिमोट कन्ट्रोल अन्त भए पनि कार्यान्वयन गर्ने त भरतपुरवासी नै भए ।

    म त ढुक्क थिएँ केही हुँदैन भनेर । भरतपुरवासीको माया अगाध पाएको थिएँ । काम पनि गरिएको थियो । भ्रष्टाचार, अनियमितता, बेथिति केही पनि थिएन । मलाई त केही पनि हुँदैन भन्ने लागेको थियो ।

    म त्यो दिन घरमा लगाएकै कपडा लगाएर निस्किएको हो । अघिल्लो दिन पनि म दिनभरि अफिसमै थिएँ । गेटमा पनि आन्दोलनकारीहरू उग्र रूपमा बढ्दै गर्दा सीसीटिभीबाट हेरिरहेको थिएँ । २३ गते पनि रेनु दाहाल मुर्दावाद भन्ने खालको नाराहरू सुनिएको थिएन । ढुक्क भएर बसिरहेको थिएँ ।

    २४ गते पनि केही हुँदैन भनेर ढुक्क भएर ९ बजे नै अफिस गएँ । वक्तव्य जारी गर्नुपर्छ भन्ने भयो । दुईवटा विषय समेटेर वक्तव्य लेखियो । एउटा, विद्यमान परिस्थितिका कारण विद्यालयहरू दुई दिनलाई बन्द गर्न भनिएको थियो । अर्को चाहिँ आन्दोलनकारीलाई संयमित हुन अपिल गरिएको थियो । त्यो वक्तव्य जारी भयो । बिस्तारै देशभरि अशान्ति बढ्न थाल्यो । मलाई पनि असुरक्षित हुन्छ कि भनेर साथीहरूले भन्दा के हुन्छ र भन्ने सामान्य ढंगले लिएको थिएँ । तर, हाम्रो कार्यालयमा पनि आक्रमण भयो ।

    सम्पूर्ण कार्यालय जलेर खरानी छ । निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ । रेनु दाहाल मुर्दावादको नारा त सुनिनँ । त्यसरी सखाप पार्नुपर्ने आखिर के थियो रु यत्रो वर्षदेखि थातथलो छोडेर परिवर्तनको आन्दोलनमा होमिँदै गर्दा अन्ततः आफ्नै ठाउँमा आइयो । यहाँ बसेर काम गर्दा मुर्दावादको नारा कहिल्यै सुन्नुपरेन । आजसम्म सञ्चारमाध्यममा पनि केही नराम्रो आएको छैन ।

    म एउटा राजनीतिक परिवारको व्यक्ति हुँ । विभिन्न रिसइबी होला । राम्रो काम गरेकोमा पनि रिसइबी छ र इर्स्या हुँदो रहेछ । त्यही फिल भइरहेको छ । राम्रो गर्ने, नराम्रो गर्ने सबैलाई सोलोडोलो एउटै घानमा हालियो । वर्षौंदेखि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनेलाई केही पनि नहुने, एउटा घुनपुत्लो केही नलाग्ने, अनि हामी रातदिन समर्पित भएर जनताका लागि काम गर्दा राम्रै पुरस्कार दिनुभएको छ । भोलि गम्भीर समीक्षा होला । सत्यतथ्य आउला ।

  • जेन जी आन्दोलनले अर्थतन्त्रमा नयाँ संकट निम्त्याउने निजी क्षेत्रको निष्कर्ष

    जेन जी आन्दोलनले अर्थतन्त्रमा नयाँ संकट निम्त्याउने निजी क्षेत्रको निष्कर्ष

    काठमाडौं । नेपालको निजी क्षेत्र आर्थिक वृद्धिको मेरुदण्ड मानिँदै आएको छ । नेपालको त्यही मेरुदण्ड मानिएको निजी क्षेत्र माथि जेन जी आन्दोलनका क्रममा छानाछानी आक्रमण भयो । जेन जी आन्दोलनका क्रममा ठूला व्यापारिक घराना, उद्योगधन्दा र निजी सम्पत्तिमाथि आक्रमण भयो ।

    निजी क्षेत्रमा भएको आक्रमणपछि हिंसाले उद्योग, पर्यटन, व्यापार र उत्पादन क्षेत्रलाई झन् ठप्प पार्ने खतरा बढेको निजी क्षेत्रले बताएका छन् । मुलुकको अर्थतन्त्र पहिले नै दबाबमा रहेको बेला जेन जी आन्दोलनमा भएको यस्तो गतिविधिले निजी क्षेत्रको मनोबल गिरेको छ । सरकारले निजी क्षेत्रलाई सुरक्षित गर्ने ग्यारेन्टी नदिएसम्म लगानीको वातावरण नबन्ने उनीहरूको भनाई छ ।

    जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे बताउँछन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनले बताएका हुन् ।

    पाण्डेले  कुल ग्राहस्थ उत्पादन (जिडिपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए । ‘उद्योगहरूमा कुल जिडिपीको ५ प्रतिशत असर पुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्त्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ नाफिजको कार्यक्रममा बोल्दै उनले भने ।

    उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिन सक्नुपर्ने सुझाव उनको छ । ‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ,  छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उनले भने ।

    उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । ‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ  । के कस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बन्नु पर्ने उनको तर्क छ ।

    केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकिएको उनले जानकारी दिए । उनले केही महत्त्वपूर्ण प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको सुनाए । उनले ऊर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको उनको भनाई छ ।

    नेपाल  उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रूपमा ठूलो क्षति पुगेको बताउँछन् ।  ढकालले सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताएका हुन् ।

    ‘जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ, आन्दोलनपछि हामीले सरकारसँग पनि संवाद गरेका छौँ । सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता गरेको छ । अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंस नहोला भन्ने के ग्यारेन्टी छ,’ उनले भने, ‘फेरि यस्तै विध्वंस भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ ।’

    केही समयअघि अर्थतन्त्रको वृद्धिदर पनि राम्रै भएपनि त्यसलाई निरन्तरता दिन नसकेको ढकालले बताए । ‘हामीले संस्थागत सामाजिक उत्तरदायित्व पनि खर्च गरेका हुन्छौँ । हामीलाई सरकारले विश्वास दिलाउन सक्नुपर्छ । हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरू ल्याउनुपर्छ’, उनले भने ।

    जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको माग छ । सरकारले पुनरुत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक रहेको उनको भनाई छ ।

    अहिलेको समस्या समाधान गर्नको लागि राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको उनले बताए । ‘मैले देखेको अहिलेको समस्या दुई प्रकारको छ । एउटा देशमा भएको पैसा विदेश पलायन भइरहेको छ’ उनी भन्छन्, ‘दोस्रोमा हाम्रो काम गर्न दक्ष युवा विदेश पलायन भइरहेका छन् । यसलाई सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक छ ।’

    ११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएको भन्दै उनले नेपालको जनशक्ति  घट्दो अवस्थामा रहेको बताए  । यसलाई रोक्न सरकारले कदम चाल्न आवश्यक रहेको तर्क गरे ।

    ‘उपेन्द्र महतोको घरमा तोडफोड गर्ने आन्दोलनकारीले यत्रो सम्पत्ति कहाँबाट आयो ? तोडफोड गरे,’ उनले थपे ‘व्यवसायीले सरकारलाई कर तिरेर कमाएको सम्पत्तिमा यसरी नकारात्मक टिप्पणीले नेपालमा व्यवसायी सुरक्षित छैन भन्ने देखाउँछ ।’

    मल्होत्राले उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै  सरकारले  पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए ।

    नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताए । मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् ।

    ‘अहिलेको अवस्थामा सरकारले व्यवसायीहरूलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेछ,’ मल्लले भने ।

    ‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरू स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुपर्यो,’ उनले भने ।

    निवर्तमान अध्यक्ष मल्ले  वार्षिक ३ लाख जनसङ्ख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रूपमा स्टार्टअपलाई अगाडि बढाउनु पर्ने धारणा राखे ।

    ‘अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया रहेको बताउँदै अब यसलाई  सुधार गर्न आवश्यक रहेको सुनाए । उनले अहिले आइटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै हामीले गाउँको दुर दराजमा आइटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए ।

    उनले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    ‘सबैभन्दा ठूलो समस्या भनेको औपचारिकभन्दा अनौपचारिक कारोबार चलिरहेको छ । सानो करको दायरामा राखेर अघि बढ्नुपर्छ । हामीसँग खर्बौँ रेमिट्यान्स भित्रिएको छ । अनावश्यक रूपमा खर्च भइरहेको छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने ।

    उनले निजी क्षेत्रको धनजनको क्षति हुँदा देश ५/६ वर्ष पछाडि धकेलिएको बताए ।

    ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए ।

    अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरूका लागि भिसा फ्री गर्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्योभन्दा बढी क्षति नभएको संरचनाहरू समेत पीडामा रहेको बताए ।

    नेपालमा गुणस्तरीय रोजगारीका अवसर नहुँदा युवाहरू विदेशिने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्था रहेको बताउँदै त्यही भएर युवाहरू विदेशीने गरेको उनको भनाई थियो ।

    ‘नेपालमा जब भएन भन्छौँ, क्वालिटी जब भएन । बीएचएम गरेको भाइ बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौँ । यस्तो अवस्थामा युवाहरू नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाइबहिनीहरू कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’

    राज्यका संयन्त्रहरूले प्रभावकारी ढङ्गबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाई छ । राज्यका संयन्त्रमा जबाफदेहिता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जबाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे ।

    बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा वृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको बताए ।

    उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै वृद्धि भइरहेको बताए । नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरूमा समेत नेपालको तुलनामा निकै बढी पर्यटक आउने गरेको उनले बताए ।

    पर्यटक बढाउनका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पूर्वाधारको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

    नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् ।  अध्यक्ष चौधरीले दसैं, तिहार लगायत  चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरेका हुन् ।

    राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरे ।

    राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल तथा डिजेलजन्य इन्धनबाट चल्ने  गाडीमा ५० प्रतिशत ऋण लिन सक्ने व्यवस्था रहेको थियो । अटो व्यवसायीहरूले ८० प्रतिशत पुर्याउन माग गर्दै आएका छन् ।

    ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठुलो चुनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्छन्  ‘अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिँदै आएको थियो । दसैंको समयमा कुल अटो बजारको ६० प्रतिशत विक्री  हुने गरेकोमा आन्दोलनले  घट्दा राजस्व पनि घट्छ ।’

    चौधरीले नेपालमा विद्युतीय गाडी(इभी)को सङ्ख्या बढेको बताउँदै व्यवसायीले चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर दिन माग गरे ।

    चौधरीले थपे ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’

    आन्दोलनका कारण अटो हब रहेको थापाथली  पूर्ण रूपमा  क्षति भएको भन्दै  उत्तरी नाकाबाट आउने केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन नसकिने अवस्था रहेको बताए । ‘कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्ने वित्तिकै रोकिन्छ । सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ’, उनले भने ।

    चौधरीका अनुसार नेपालमा अटो उद्योगको दुईपांग्रे र चार पाङ्ग्रेमा लगानी भइरहेको छ । नेपालमा ब्याट्री, टायर, केही स्पेयर पार्टस् समेत उत्पादन हुन थालेका छन् । एसेम्बल उद्योगले केही रोजगारी दिएका छन्।   नेपालमै उत्पादन हुने ब्याट्री टायर लगायतका उद्योगलाई एसेम्बलसंग जोड्ने नीति बनाउन उनले आग्रह गरे ।

    बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । उनले सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा गर्न आवश्यक रहेको बताएका हुन ।

    ‘नेपालमा धेरै पटक नसोचेका घटनाहरू हुने गरेका छन् । जसको कारण सरकारी सम्पत्तिको पनि ठुलो क्षति हुने गरेको छ । भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन,’ उनी भन्छन्, ‘अहिले भएको सरकारी सम्पत्तिको पनि क्षतिको पनि बीमा गरिएको छैन । सरकारी सम्पदा तथा सम्पत्तिको पनि बीमा गर्न आवश्यक छ ।’

    यसैगरी, अहिले नेपालमा बैंक इन्सोरेन्स अनिवार्य आवश्यकता भएको उनले बताए  । ‘यो पनि आवश्यक छ । यसले सम्पूर्ण क्षेत्रको कभर गर्छ । अहिलेको आन्दोलने ठुलो क्षति गर्छ भनेर बीमा कम्पनीहरूले सोचेको थिएनन् । नसोचेको घटना भयो । अहिलेको घटनाको ६५ प्रतिशत क्षतिको कभर गर्ने योजना छ,’ उनी भन्छन् ।

    जेन जी आन्दोलनबाट भएको क्षतिको ६५ प्रतिशत बीमाले कभर गर्ने उनले जानकारी दिए ।

    बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । जेनजी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् ।

    ‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०/२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तिवटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२/१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ,’ उनले भने ।

    वैद्यवारका अनुसार अहिलेसम्म आन्दोलनका कारण २४७८ वटा बीमा दाबी आवेदन परेको छ । यो दाबी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दाबी परेको थियो । गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोसीको बाढीका कारण करिब १३ अर्बको दाबी परेको उनले बताए ।

    ‘अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दाबी आउँछ भन्ने लागेको थियो । नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढ पहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडै नै रिकभरिका लागि सहयोग गथ्र्यौं,’ वैद्यवारले सुनाए । १ हजार ७ सय दाबी साना प्रकृतिका छन् । यी ४०–५० लाखदेखि २ करोडसम्मका होलान् । अरू ठूलो प्रकृतिका रहेको उनले बताए ।

    ‘साना दाबी हामी दीपावलीसम्ममा भुक्तानी गर्छौँ । हामी सरल ढंगले दाबी भुक्तानी गर्छौ । हामीले यसको ड्राफ्ट  प्राधिकरणमा पठाइसकेका छौँ । गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, विलबुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ । ठूला प्रकृतिका भुक्तानीलाई हामीले एडभान्स दिन्छौँ,’ उनले भने ।

    बीमा कम्पनीले २२ अर्ब भनेको स्पेसल रिजर्भमार्फत कभर गर्ने वैद्यवारले जानकारी दिए । ‘यो रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो  पछाडि  रिइन्योस्योरेन्सको साथ छ,’ वैद्यवारले भने ।

  • शेरबहादुर राजनीतिका अविस्मरणीय सार, Gen-Z देखाएर अनावश्यक प्रहार

    शेरबहादुर राजनीतिका अविस्मरणीय सार, Gen-Z देखाएर अनावश्यक प्रहार

    शेरबहादुर देउवा, जसले पञ्चायत, माओवादी र निरंकूश राजतन्त्रविरुद्ध निरन्तर लडिरहनुभयो । ती लडाइँ प्रजातन्त्र प्राप्ति, मानवअधिकारको सुनिश्चितताहुँदै जनजीविका, विकास, समृद्धिदेखि गणतन्त्र र संघीयताका लागि थिए । र, उहाँ नै नाति पुस्ता Gen-Z को आन्दोलनसम्म सामना गर्ने एकमात्र नेपाली नेता हुनुहुन्छ ।

    सकारात्मक विषय के हो भने, Gen-Z का प्रदर्शनकारीका नाममा हातपात भयो । त्यसरी रक्ताम्मे भइरहँदा पनि कुनै प्रतिकार नगरी उहाँले नयाँ पुस्ताका मागलाई सम्मानपूर्वक आत्मसात गरेको देखिन्छ ।

    प्रतिकार गर्न खोजेको भए जस्तो पनि दुर्घटना हुने थियो होला । तर, कुनै समय आफू पनि त्यही वयबाट आन्दोलनमा होमिएको र त्यो क्रान्तिको यादगारले पनि अब नाति पुस्ता जागेको हो भन्ने अनुभूति गरेको देखिन्छ ।

    घाइते सभापति देउवा र कांग्रेस नेता डाक्टर आरजु राणा देउवा अस्पताल भर्ना हुनुभएको र उपचार चलिरहेको छ । घाइते देउवा दम्पतिले आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको समाचार आइरहेको छ ।

    Gen-Z को आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र उनीहरूले चाहेको युगानुसारको विकास र प्रगति हुनुपर्छ भन्ने नै देखिन्छ सभापति देउवामा ।

    प्रधानमन्त्री केपी ओली, गोली ठोक्ने सुरक्षाकर्मी अनि पिटाई खाने देउवा दम्पती । नयाँ पुस्ताको आन्दोल अनि को हुन ती, जसले मास्क, हेल्मेट लगाएर रड र खुकुरी नचाइरहेका थिए ? हाम्रो वर्तमानले सोधेको सबैभन्दा पेचिलो प्रश्न हो यो ।

    उमेर जति भएपनि जहिल्यै युवा जोशमा हिँड्नु भएको छ, सभापति देउवा ।

    ‘केटाकेटीलाई राम्रो शिक्षा, नि:शुल्क स्वास्थ्य, समृद्धि र विकास दिनुपर्ने थियो । सकिएन । तर, स्थिरता भए सकिएला, लौ न के गर्ने होला ?’ सदैव यहि हुटहुटी देखिन्थ्यो उहाँमा ।

    कर्णाली पारीका २२ वटा पुल बनाएर सुदूरपश्चिममा मन मनमा बसेका देउवाले हली प्रथा, कमैया आन्दोलनमा सक्रिय सहभागिता अनि कर्णाली, दलित, जनजाति, महिला र मधेसीका हितमा पार्टी अनि संविधानमा‌ ऐन कानून लागु गराएका विषय बिर्सन मिल्दैन ।

    ब्रिटिश गोर्खाले पाउने पेन्सन र सुविधा समान गराउन उहाँको भूमिका के कस्तो रह्यो ? त्यो त गोरखा सैनिकलाई सोधे पुग्छ ।

    संवैधानिक राजा र प्रजातन्त्र सँगसँगै लान खोजेको कांग्रेसले बुझेको हुनुपर्छ । बीपी कोइरालापछि उनै देउवालाई अपदस्थ गरेर जेलमा हालिएको धेरै भएको छैन ।

    Gen-Z लाई यथार्थ कुरा नबुझाएर युवा पुस्ताका कांग्रेसले पुस्तान्तरणको मात्र नारा लगाएको देखिन्छ ।

    घाइते सभापति देउवालाई विकृतिको जामा पहिराएर पानीमाथिको ओभानो बनेको पनि Gen-Z ले बुझ्न थाल्नेछन् ।

    नयाँ बानेश्वरमा ‘देउवा वृद्ध भयौ, राजीनामा देऊ’ भनेर नाराबाजी भएजस्तो लाग्दैन । अनि, कांग्रेसको विधि विधानले तय गर्ने आन्तरिक विषयमा Gen-Z को चासोको विषय हो र ?

    महाधिवेशन बाट दुई दुई पटक सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई अपदस्त गर्न यो बेल यस्तो अपराधको सहारा लिइएको पनि Gen-Z ले बुझ्दैछन् ।

    विश्वभरि सरकार पार्टी चलाउने नेताहरू कतिकति वर्ष र उमेरका छन् सायद Chat Gpt हेर्न पनि सकिन्छ ।

    अहिले सभापति देउवालाई हटाउन विशेष महाधिवेशन वा साविक महाधिवेशन गर्नुपर्ने आवाज पनि उठाइएको छ ।

    ‘पार्टी एकता, बलियो कांग्रेस र बहुमतको सरकार बनाउने मेरो लक्ष्य हो, अब म सभापति बन्न मिल्दैन’ भनेर अस्ति भर्खरै देउवाले बोल्नुभएको सम्झना छ कि बिर्सनु भयो कांग्रेसजनले ?

    महाधिवेशन गरेर युवालाई नेतृत्व सुम्पिने उद्घोष गरेको केही दिनमै रक्तमुछेल हुनेगरी कुटिएर थिलोथिलो भएका देउवालाई हटाउन खोज्नेहरुलाई Gen-Z र आम कांग्रेसले चिनिरहेका छन् । अस्तिसम्म पद र नेतृत्वका लागि देउवा निवास धाउने युवा नेताले काचुली फेरेको पनि Gen-Z ले हेरिरहेका छन् ।

    समाज बदल्न बाल्यकालमै बीपी कोइरालालो पदचाप पछ्याउँदै सुदूरपश्चिमको डडेल्धुराबाट काठमाडौं आउनुभएका देउवालाई गरिएको अपमान पनि Gen-Z नजिरमा रहने निश्चित छ ।

    अन्त्यमा, सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डाक्टर आरजु राणा देउवा दुवैको शीघ्र स्वास्थ्यलाभको कामना ।

    पुनः जनताको सेवामा समर्पित हुने अपेक्षा गरिएको छ ।

    (सिग्देल प्रेस युनियनका पूर्वअध्यक्ष र आईएफजे एसिया प्रशान्तका कार्यकारी सदस्य हुन् ।)

  • नख्खु र झुम्काको जेलबाट भागेर घरमा बसेका ३ कैदी संखुवासभामा पक्राउ

    नख्खु र झुम्काको जेलबाट भागेर घरमा बसेका ३ कैदी संखुवासभामा पक्राउ

    संखुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी संखुवासभामा पक्राउ परेका छन् ।

    प्रहरीले सोमबार चैनपुर नगरपालिका-१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर-१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

    त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका-९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका-२ का ५७ वर्षीय गोम्बु शेर्पालाई पनि पक्राउ गरिएको छ ।

    तामाङ र शेर्पा झुम्का कारागारबाट भागेका हुन् भने राई नख्खु कारागारबाट भागेका थिए । पक्राउ परेका तीनै कैदीलाई बुधबार क्षेत्रीय कारागार झुम्कामा बुझाउने तयारी भइरहेको जिल्ला कारागारका प्रमुख जेलर राजन घिमिरेले बताए ।

    जिल्ला कारागार खाँदबारीमा भने हाल एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका छन् ।

  • सभापतिले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा रास्वपाका ४ प्रदेश समिति, नख्खु प्रकरणको छानबिन माग

    सभापतिले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा रास्वपाका ४ प्रदेश समिति, नख्खु प्रकरणको छानबिन माग

    काठमाडौं । जेनजी आन्दोलनबाट उत्पन्न नयाँ परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति वैठक अहिले बसिरहेको छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा मौनधारण गरेर सुरू भएको बैठकमा समसामयिक राजनीति र रास्वपाको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।

    सभापति रवि लामिछानेको कारागार रिहाइ प्रकरणले गर्दा रास्वपा नेतृत्वमाथि विभिन्न प्रश्नहरू उठिरहेका छन् । यो बैठकमा कम्तीमा ४ जना प्रदेश सभापतिहरूले रास्वपा सभापति रवि लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव राख्ने तयारी गरेको स्रोतले बतायो । रास्वपामा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ । आजको केन्द्रीय समिति बैठकमा प्रदेशहरुबो राजनीतिक प्रस्ताव पेश गर्न भनिएको थियो । त्यसमा चारवटाले सभापतिले आफ्नो मुद्दाको कानूनी निरुपण नहुञ्जेलका लागि पद त्याग गर्न वा संरक्षणको भूमिकामा बस्न प्रस्ताव गर्न लागेका हुन् ।

    स्रोतका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेश समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा छन् । कोशीका सभापति सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले केन्द्रीय समिति बैठकमा यो प्रस्ताव गर्ने बुझिएको छ । बाँकी तीन सभापतिको भने लाइन क्लियर भएको छैन ।

    रास्वपा बैठकमा सभापति लामिछानेको कारागार रिहाइ प्रकरणबारे पनि घनिभूत छलफल हुँदैछ । यो प्रकरणलाई लिएर पार्टीले आन्तरिकरुपमा छानबिन गर्नुपर्ने माग केही नेताहरूले उठाएका छन् । प्रवक्ता मनिष झाले बैठकअघि नै केन्द्रीय सदस्यहरूको ह्वाट्सएप ग्रुपमा छानबिनको माग गरेका थिए । मनिष स्वयं त्यस दिन नख्खु कारागारमा आगजनी भएको भिडिओमा देखिएपछि विवादमा मुछिएका छन् ।

    स्रोतका अनुसार सभापति लामिछाने स्वयं छानबिनका लागि सकारात्मक छन् । भदौ २४ गते नख्खु पुगेका केही नेता भने छानबिनको विपक्षमा रहेको बताइन्छ । यो प्रकरणले पार्टी र सभापतिलाई क्षति पुर्‍याएकोमा रास्वपाभित्र सबैजसो सहमत छन् ।

    बैठकमा पार्टी पुनर्गठनका लागि महाधिवेशनको मिति अघि सार्न वा विस्तारित बैठक आह्वान माग गर्ने तयारीसमेत छ । नेताहरूले तिहारपछि विस्तारित बैठक हुनसक्ने औंल्याएका छन् ।

    रास्वपाले फागुन ७, ८, ९ मा महाधिवेशन तोकेको थियो । तर, फागुन २१ मा चुनावको मिति तोकिएकाले महाधिवेशन प्रभावित हुने भएपछि मंसिरमा सार्न वा बिस्तारित बैठक गर्न माग हुन लागेको हो ।

  • रास्वपाको केन्द्रीय समिति बैठक सुरु

    रास्वपाको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ।

    बैठकको सुरुवातमा जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरू प्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको छ।

    छलफलका विषयवस्तुहरु

    १. समसामयिक अवस्था र बैठक बारे ।

    २. प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट) ।

    ३. परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा ।

    ४. पार्टी संगठन एवं विभाग सम्बन्धमा ।

    ५. आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा ।

    ६. पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा ।

    ७. विविध ।

    पत्रकारहरूसँग अन्तर्क्रियाका लागि अपराह्न १ बजे र बैठक सकिए पश्चात् ४ बजेको लागि समय तोकिएको छ।

  • विशेष महाधिवेशन माग्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरू

    विशेष महाधिवेशन माग्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरू

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे लगायत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

    अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ ।

    पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।

  • दलतन्त्र निर्विकल्प हो, सुधार जरुरी छ

    दलतन्त्र निर्विकल्प हो, सुधार जरुरी छ

    नेपालको राजनीतिक यात्रा कहिल्यै सरल र सीधा रहेन। कहिले निरङ्कुश राजतन्त्र, कहिले पञ्चायती दलविहीन व्यवस्था, कहिले बहुदलीय अभ्यास, कहिले आन्दोलन-यी सबै उतार-चढावले हाम्रो मुलुकलाई लोकतन्त्रसम्म पुर्‍याएको हो। आज हामी गणतान्त्रिक लोकतन्त्रको प्रणालीमा छौँ। तर यो प्रणाली बलियो वा कमजोर हुनु, स्थिर वा अस्थिर हुनु, जनताको विश्वास जित्नु वा गुमाउनु-सबै कुरा अन्ततः राजनीतिक दलसँग गाँसिएको छ।

    दलहरूलाई लोकतन्त्रको मुटु भन्नुको कारण यही हो। शरीरलाई जस्तै लोकतन्त्रलाई पनि धड्कन आवश्यक हुन्छ। त्यो धड्कन दलहरूले जनतासँग निर्माण गर्ने संगठन, प्रतिनिधित्व र प्रतिस्पर्धाबाट आउँछ। तर मुटुमा समस्या आयो भने शरीर नै ढल्छ, त्यसरी नै दलहरू भ्रष्ट, निष्क्रिय वा अक्षम भए लोकतन्त्रको आत्मा कमजोर हुन्छ।

    नेपालले पञ्चायतकालमा ‘दलविहीन प्रणाली’ अनुभव गरिसकेको छ। राजाले भनेका थिए- दलविहीन प्रजातन्त्र, तर वास्तविकता भने निरङ्कुश शासन थियो। जनताको आवाज दबाइयो, असहमति अपराध ठहरियो। त्यो व्यवस्था लामो समय टिकेन, किनकि लोकतन्त्र बिना दल जीवित रहँदैन। अन्ततः २०४६ सालको जनआन्दोलनमार्फत दलहरू पुनः स्थापित भए। त्यसपछि पनि लोकतन्त्रलाई बारम्बार संकट आयो- २०५१ मा संसद् विघटन, २०५९ मा प्रतिगमन, २०६२/६३ मा अर्को ठूलो आन्दोलन, मधेस केन्द्रित आन्दोलन , थारु समुदायको आन्दोलन। हरेक पटक दलहरूको कमजोरी र गुटबन्दीले संकट निम्त्यायो, तर दलकै एकता र संघर्षले लोकतन्त्रलाई पुनर्जीवित गर्‍यो। यसैले भन्न सकिन्छ- दल नै लोकतन्त्रका समस्या पनि हुन्, दल नै समाधान पनि।

    तर आजको प्रश्न हो- हामीले विगतका गल्तीबाट केही सिक्यौँ तरु दलहरू अझै नेतामुखी छन्। कांग्रेस देउवामुखीस एमाले ओलीमात्रकै वरिपरिस माओवादी केन्द्र प्रचण्डकै छायामा, नयाँ भनिएकाको झन कुरै छोडौ, देवत्वकरण। दशकौँदेखि एउटै नेताले पार्टीलाई नेतृत्व गर्दै आएका छन्, तर तिनलाई चुनौती दिने आन्तरिक संरचना छैन। दलभित्र निर्वाचन हुन्छन्, तर प्रायः औपचारिकतामा सीमित। असहमतिहरूलाई ठाउँ छैन, आलोचकलाई विद्रोही भनिन्छ। यसरी दलभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा बाहिर नागरिकले महसुस गर्ने गरि लोकतन्त्र पनि जरो गाड्न सकिरहेको छैन।

    जनताको निराशा बढ्नु स्वाभाविक हो। दशकौँ संघर्ष गरेर ल्याएको गणतन्त्र र लोकतन्त्रले अपेक्षित सुधार ल्याउन सकेको छैन। विकासको गतिको सट्टा राजनीतिक अस्थिरता, भ्रष्टाचार र सत्ता-संघर्षले जनतामा विश्वास हराउँदै गएको छ।

    नेपालमा फेरि दलविहीन विकल्प खोज्नुपर्ने हो कि भन्ने प्रश्नहरू उठ्न थालेका छन्। तर इतिहासले स्पष्ट देखाएको छ- दलविहीन विकल्प भनेको प्रजातन्त्रको हत्या हो। २०१७ सालदेखि २०४६ सालसम्मको अनुभवले प्रष्ट्याउँछ, दलविहीन व्यवस्थाले जनताको अधिकार खोस्छ, अधिनायकवादलाई जन्म दिन्छ र अन्ततः मुलुकलाई अन्धकारमा धकेल्छ।

    अहिले जेन-जी आन्दोलनले उठाएको असन्तुष्टि दलविहीनतामार्फत समाधान हुने होइन। किनकि समस्या दल प्रणालीमा होइन, दलभित्रको नेतृत्व संस्कृति, भ्रष्टाचार र उत्तरदायित्वको कमीमा छ। त्यसैले विकल्प दलविहीन होइन, जिम्मेवार र जवाफदेही दलहरूको निर्माण हो।

    मध्यावधि निर्वाचनलाई जनताले नयाँ पुस्ता, नयाँ सोच र नयाँ अभ्यासलाई अगाडि ल्याउने अवसरका रूपमा लिनुपर्छ। जेन-जी पुस्ताले देखाएको ऊर्जा र परिवर्तनको चाहना संसद् र दलहरूलाई सुधारतर्फ धकेल्न सक्ने वास्तविक शक्ति हो। यसलाई दलविहीनताको बहानामा दबाउने होइन, संस्थागत बाटोमार्फत सम्बोधन गर्नुपर्छ।

    त्यसैले आजको आवश्यकता दलविहीन विकल्प होइन, बरु लोकतान्त्रिक दलभित्रको आमूल सुधार, नयाँ पुस्ताको नेतृत्व उदय, र निर्वाचनमार्फत जनताले आफ्नो विकल्प छान्ने सुनिश्चितता हो।

    त्यसैले मार्ग स्पष्ट छ- दललाई नकार्ने होइन, दलभित्र सुधार गर्ने। तर सुधार कसरी सम्भव हुन्छरु पहिलो कुरा, आन्तरिक लोकतन्त्र। दलभित्र नेतृत्व परिवर्तनको स्पष्ट र नियमित प्रक्रिया हुनुपर्छ। गुटगत शक्ति वा नेताको इच्छा होइन, निर्वाचनले नेतृत्व चयन गर्नुपर्छ। दोस्रो, फरक मतलाई सम्मान गर्नुपर्छ। असहमतिलाई दबाउने होइन, छलफलमार्फत सम्बोधन गर्ने संस्कार विकास गर्नुपर्छ। तेस्रो, नेताहरूलाई जवाफदेही बनाउन कार्यकर्ताले साहस गर्नुपर्छ। नेताको प्रत्येक निर्णयमाथि प्रश्न उठ्न सक्ने वातावरण हुनुपर्छ। यसले मात्र नेतालाई जनताप्रति पनि जवाफदेही बनाउँछ।

    नेपालको राजनीतिक यात्रामा नेताहरूको असफलता सजिलै देखिन्छ। केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानको आत्मामै प्रहार गरे, आफूलाई मात्र केन्द्रमा राखेर पार्टीभित्रको सहमति संस्कृतिलाई कमजोर बनाए। शेरबहादुर देउवाले बारम्बार पद सुरक्षित गर्नमा प्राथमिकता दिए, जसका कारण विकास, दीर्घकालीन सुधार र संस्थागत नवीनीकरणमा ध्यान केन्द्रित गर्न सकेनन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दशकौँ लामो सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण लोकतान्त्रिक मार्गमा रूपान्तरण गर्न सक्ने अवसर पाउँदा पनि आदर्शलाई सम्झौतामा सीमित गरे, जसले जनतामाझ गहिरो निराशा सिर्जना गर्‍यो।

    तर यतिमात्रै होइन। यिनै नेताहरूले केही महत्वपूर्ण उपलब्धि पनि हासिल गरेका छन्। ओलीको नेतृत्वमा बनेका केही पूर्वाधार आयोजना र राष्ट्रियता विषयक कठोर उभिनेमार्फत उनले समर्थक जनसमूहलाई विश्वास दिलाउन खोजे। देउवाले कठिन परिस्थितिमा सत्ता सम्हाल्दा संविधान कार्यान्वयनदेखि शान्ति प्रक्रियालाई निरन्तरता दिन योगदान दिए। प्रचण्डले विद्रोहलाई शान्तिपूर्ण मार्गमा ल्याई संविधानसभामार्फत नयाँ संविधान निर्माणमा भूमिका खेले, जुन ऐतिहासिक उपलब्धि हो।

    यद्यपि, यी योगदानले असफलताको छायालाई पूर्ण रूपमा ढाक्न सकेको छैन। असफलता देखिन्छ, किनकि नेताहरू दलभित्र जवाफदेही भएनन्। कार्यकर्ताले प्रश्न सोध्न सकेनन्। फरक मतलाई स्वीकार्ने संस्कृतिको अभावले प्रजातन्त्रलाई मजबुत बनाउनभन्दा कमजोर बनायो।

    यसैले आजको आवश्यकता के हो भने- दलहरूलाई लोकतन्त्रको मुटुका रूपमा स्वीकार गर्दै पनि, त्यसभित्र गहिरो आन्तरिक प्रजातन्त्र, जवाफदेही नेतृत्व र सशक्त कार्यकर्ताको भूमिका स्थापित गर्नुपर्छ। जब नेताले गल्ती गर्दा सजाय भोग्छन्, अनि मात्र प्रजातन्त्रको शक्ति जीवन्त हुन्छ।

    अन्तर्राष्ट्रिय अनुभवले पनि यही देखाउँछ। अमेरिकामा राष्ट्रपति दुई कार्यकालभन्दा बढी रहन सक्दैनन्। जर्मनीमा अङ्गेला मर्केलजस्ता लोकप्रिय नेताले पनि पार्टीभित्र उत्तराधिकारीलाई स्थान दिए। भारतमा कांग्रेस पार्टी नेहरू- गान्धी परिवारसँग जोडिएको भए पनि त्यहाँ असन्तुष्ट पक्षले नयाँ दल बनाउने वा आन्तरिक चुनौती दिने संस्कृतिले प्रजातन्त्रलाई जोगाइराखेको छ। यी अभ्यासहरूले देखाउँछन्- दलभित्र लोकतान्त्रिक प्रणाली बलियो भए मात्र देशको लोकतन्त्र बलियो हुन्छ।

    अब नेपालको प्रश्न फेरि त्यहीँ आइपुग्छ- के दलहरूले आफैलाई सुधार्न सक्नेछन्रु के पुराना नेताहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सक्नेछन्रु के कार्यकर्ताले अन्ध समर्थन होइन, प्रश्न गर्ने साहस गर्नेछन्रु

    यसको उत्तर सजिलो छैन। तर मार्ग स्पष्ट छ। दलभित्र आन्तरिक लोकतन्त्र संस्थागत नगरी लोकतन्त्र बलियो हुँदैन। कार्यकर्ताले प्रश्न नगरी नेताहरू जवाफदेही हुँदैनन्। असफलतालाई दण्डित नगरी, सफलतालाई पुरस्कृत नगरी सुधार सम्भव हुँदैन।

    नेपालको लोकतन्त्रको भविष्य नेताको इच्छा वा अन्तर्राष्ट्रिय शक्तिको समर्थनमा होइन, दलभित्रका सुधार र कार्यकर्ताको सचेततामा निर्भर रहन्छ भन्नेमा नागरिकले बिश्वास गर्न सके साच्चिकै दलिय प्रणालीको विकल्प सोच्न पनि हुदैन ।

    अन्ततः, राजनीतिक दलहरू नै लोकतन्त्रको मुटु हुन्। मुटु स्वस्थ रह्यो भने शरीर ९लोकतन्त्र० सबल हुन्छ। मुटु रोगी भयो भने शरीर ढल्छ। नेपालमा दलहरूलाई स्वस्थ बनाउने काम अब ढिलाइ गर्न मिल्दैन। नेताहरूलाई जवाफदेही, कार्यकर्तालाई सचेत र संस्थागत सुधारलाई अनिवार्य बनाउन सके मात्रै नेपालको लोकतन्त्र दीर्घकालीन र सबल बन्नेछ।

  • जेनजी प्रदर्शन- २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

    जेनजी प्रदर्शन- २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

    काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ ।

    नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

    माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बिमा दाबी भएको स्पष्ट पारेको छ ।

    ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ ।

    सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्यमा १९ वटा आवेदन प्राप्त भएका छन् ।

    प्रदेशगत आधारमा कोशी तीन सय २२, मधेश दुई सय ४६, बागमती एक हजार ३४३, गण्डकी एक सय ८४, लुम्बिनी दुई सय दुई, कर्णाली २२ र सुदूरपश्चिम प्रदेश एक सय ५९ वटा बिमा दाबी परेका प्राधिकरणले जनाएको छ ।

  • घर जलाइएकोमा डा. महतको दुखेसो- लुटेर कमाएको छैन, ७ कक्षादेखि जेल जान थालेको हुँ

    घर जलाइएकोमा डा. महतको दुखेसो- लुटेर कमाएको छैन, ७ कक्षादेखि जेल जान थालेको हुँ

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनमा आफ्नो पनि घर जलाइएकोप्रति दु:ख र आक्रोश प्रकट गरेका छन् । आफूले अमेरिकामा कमाएको पैसाले घर जोडेको र भ्रष्टाचार नगरेको उनको भनाइ छ ।

    अमेरिकामा आफूले छात्रवृत्तिमा पढेको र सँगै गएकी पत्नीले काम गरेर पैसा कमाएको महतले सम्झिए । यसकै लगानीबाट भएको आम्दानीले अरु चिज थपेको बताए । डा. महतले भने, ‘लुटेर, ठगेर, बदमासी गरेर पैसा कमाएको होइन । जहिले जहिले पदमा पुगेँ । देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरेको छु ।’

    महतको भनाइ उनकै शब्दमाः

    मैले प्रतिस्पर्धामा नाम निकालेर अमेरिकाको छात्रवृत्ति पाएँ, कसैले निगाह गरेर होइन । ०४६ सालको आन्दोलनको ७ जना सञ्चालक समितिको सदस्य हुँ । यो देशको लोकतन्त्रलाई स्थापित गर्ने प्रक्रिया हामीले अगाडि बढायौं । लोकतन्त्र आउनुभन्दा अगाडि नै मैले प्रतिस्पर्धाबाट छात्रवृत्ति प्राप्त गरेको थिएँ । त्यसबेला लोकतन्त्र चाहनेले पासपोर्ट पनि पाईंदैनथ्यो । त्यो अवस्थामा म जान नपाउने भएँ । लोकतन्त्र आयो र पढ्न गएको हो ।

    श्रीमती पनि सँगै गएकी थिइन् । मेरो छात्रवृत्ति र उनले काम गरेर यो घरजग्गा जोडेको हो । यसकै लगानीबाट आर्जेको आम्दानीबाट अरु चिज थपेको हो । म जहिले–जहिले पदमा पुगेँ । देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरेको छु । लुटेर, ठगेर, बदमासी गरेर कमाएको होइन ।

    अहिले हाम्रो समाजमा यस्तो खाले मानसिकता देखिएको छ कि कसैले मिहिनेत गरेर प्रगति गर्यो भने पनि बदमासै हुने । राजनीतिमा पनि असल नियतले इमान्दारिताका साथ काम गर्नेहरु पनि सबै बदमास हुने ? त्यो खाले बहस, निस्कर्षले हामीलाई कहाँ पुर्याउँछ ? त्यतातर्फ हामी समाजले सोच्न जरुरी छ ।

    म सात कक्षादेखि जेल जान थालेको । यत्तिकै ल्याएर कसैले ठ्याक्क राखेको मान्छे होइन । म पनि नवयुवा थिएँ । अधिकारका लागि लडेको हुँ । हामीले पनि धेरै आन्दोलनको नेतृत्व गर्यौं । कति अनुशासनका साथ आइयो । अनुशासनको विकल्प छैन । पार्टीभन्दा व्यक्तिभन्दा माथि उठेर देश र जनतालाई मात्र केन्द्रविन्दू बनाएर काम गर्नुको विकल्प छैन । मैले सत्तामा हुँदा पनि नेतृत्वसँग जुधेर बसेको हो ।

    यो धमिलो पानीमा खेलेर आफ्नो रोटी सेकाउने प्रवृत्तिसँग होसियार होउँ । विभिन्न पार्टी पंतिका मानिसहरु आन्दोलनमा प्रवेश भएको सुनेको छु । के नियतले गरे ? किन त्यो गरे ? यसको सबै पार्टीले मूल्यांकन गर्नुपर्छ । जो जो त्यस्तो प्रवृत्तिमा संलग्न छन्, नेतृत्वले त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

    जुन पार्टीले ०७ सा अघिदेखि लड्या लड्यै गर्यो, त्यसमाथि नै आक्रमण भएको छ । विपी कोइरालाको पुस्तैनी घर पनि छोडेनन् । कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध काम गरेर गल्ति गर्यो भन्न खोज्या हो ? वीपीले गल्ति गरे ? गणेशमान सिंह, जसको चाक्सीबारीबाट ४६ सालको आन्दोलन अघि बढ्यो, गणेशमानले गल्ति गर्यो ? हामी लोकतन्त्रका लागि बर्षौंवर्ष आफ्नो रगत पसिना सम्पूर्ण समय बगायौं । तिमीहरुले गल्ति गर्यौ भन्या हो ?

  • थप उपचारका लागि झलनाथ पत्नी चित्रकारलाई भारत लगिँदै

    थप उपचारका लागि झलनाथ पत्नी चित्रकारलाई भारत लगिँदै

    काठमाडौं । नेकपा एसका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

    जेनजी आन्दोलनका क्रममा आगोमा जलेर घाइते भएकी चित्रकारको थप उपचारका लागि सोमबार श्री एयरलाइन्सलाई एयर एम्बुलेन्सबाट भारत लगिएको पारिवारिक स्रोत जानकारी दिएको छ ।

    उनको फोक्सोको संक्रमण बढेको कारण दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिने छ ।

  • महानगरका संस्थागत विद्यालयहरुमा यस वर्ष २० हजार विद्यार्थीहरुले पाए सवा २ अर्बको छात्रवृत्ति

    महानगरका संस्थागत विद्यालयहरुमा यस वर्ष २० हजार विद्यार्थीहरुले पाए सवा २ अर्बको छात्रवृत्ति

    काठमाडौं । काठमाडौं महानगरपालिकामा रहेका संस्थागत विद्यालयहरुमा यस वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौंका मेयर बालेन्द्र साहका अनुसार छात्रवृत्ति पाउनेहरुको यो संख्या अहिलेसम्मकै उच्च हो ।

    महानगरअन्तर्गतका संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने कानूनलाई लागू गर्दा  २० हजारभन्दा धेरै विद्यार्थीले सवा दुई अर्बकाे छात्रवृत्ति पाएका हुन् ।

    कार्यान्वयनको पहिलो वर्ष १३०००, दोश्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरि जम्मा २०,२८२ ले छात्रवृति पाएकाे बालेनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विद्यालयहरुले छात्रवृत्तिको विवरण सार्वजनिक नगरे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताएका छन् ।

    यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ, जसअनुसार १६,९८० जनाले छात्रवृत्ति पाएका हुन्।केही बिद्यालयले हालसम्म विवरण बुझाएका छैनन् ।

    ‘उहाँहरुलाई यथाशिघ्र विवरण बुझाउन अनुरोध गर्छौ, विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ बालेनले लेखेका छन् ।

    प्राप्त भएको विवरणको पनि महानगरले अनुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही हुने उनले बताएका छन्।

    ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं,’ उनले भनेका छन् ।

  • विश्वप्रकाशको प्रष्टोक्ति- सभापतिसँगको समन्वयमा नै गतिविधि गरिरहेका छौं

    विश्वप्रकाशको प्रष्टोक्ति- सभापतिसँगको समन्वयमा नै गतिविधि गरिरहेका छौं

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र चलेको बहसलाई लिएर कसैले तिक्तता राख्नु नपर्ने बताएका छन् ।

    पार्टीमा रूपान्तरणको बहस चलाइरहेका महामन्त्री शर्माले विराटनगरस्थित कोइराला निवासमा पुगेर सबैको मतलाई समन्वय गरेर जानुपर्ने बताए ।

    उनले भने, ‘अहिले प्रश्न गगन–विश्वप्रकाशको मात्रै होइन, यो भन्दा पछिल्लो पुस्ता पार्टीमा आइसकेको छ। यो अवस्था आउनुको पछाडि हाम्रो पनि कमजोरी रह्यो। हामीले पनि आत्म समीक्षा गर्नुपर्छ। कांग्रेसले गरेका राम्रा कामहरू जनतामा जाँदा हामीले क्षमायाचना पनि गर्नुपर्छ ।’

    उनले पार्टी सभापति देउवासँगको समन्वयमा नै पार्टीका प्रदेश र जिल्ला सभापतिहरूसँग छलफल गरेको बताए ।

    उनले सभापतिसँग सल्लाह गरेर मात्रै आफूहरूले गतिविधि अघि बढाएको भन्दै नयाँ परिस्थितिमा पार्टीलाई नयाँ ढङ्गले लैजान मंसिरसम्ममा महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ।
    ;

  • चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

    चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

    काठमाडाैं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु सहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङज्यू, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे टोलीले जानकारी लिएको छ।

    अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो।

    चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो। त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरुलाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजिकरण गरिदीन आग्रह गर्नुभएको थियो।

    सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौंको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन्।

  • पदभार ग्रहणपछि सञ्चारमन्त्री खरेलले भने- २५ वर्ष प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु

    पदभार ग्रहणपछि सञ्चारमन्त्री खरेलले भने- २५ वर्ष प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु

    काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले आफूले विगत २५ वर्षमा प्रश्न सोधेको भएपनि अहिले जवाफ दिने ठाउँमा पुगेको बताएका छन्।

    पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मेरो जिन्दगीको २५ वर्ष सधैँ प्रश्न सोधेर बिताएँ, आज जवाफ दिने ठाउँमा छु। यो जवाफ दिने ठाउँमा रहँदा २५ वर्ष आफूले हेरिरहनुभएको मेरो काम सत्य त्यही नै हो। त्यो भन्दा नयाँ सत्य पनि छैन, त्यो भन्दा लुकेको सत्य पनि छैन। तपाईँले जगदीश खरेललाई हेर्दा धेरैले आफ्नो अनुहार पाउनुहुन्छ। तपाईँका सङ्घर्ष, सफलता र सन्तुष्टि पाउनुहुन्छ।’

    उनले सरकार एक्लैले देश बनाउन नसक्दै भन्दै एकजुट भएर लाग्न आग्रह गरे।

    उनले थपे, ‘अहिले हामीले देश बनाउने बेला आएको छ। देश सरकार एक्लैले बनाउन सक्दैन। राज्यका निकायहरूले मात्रै बनाउन सक्दैन, हाम्रा संयन्त्रबाट मात्रै होइन। त्यसैले विगतमा जस्तै तपाईँहरू सबैको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने अपेक्षा राखेको छु।’

    उनले आफूले ६ महिना मन्त्रालयको नेतृत्व गर्दा मन्त्रालयका कर्मचारीहरूलाई कुनै हस्तक्षेप नगर्ने बताए।  उनले भने, ‘सचिवज्यू तपाईँको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ काम अघि बढाउनुस् मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन म तपाईँबाट सिक्छु म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु।’

  • मल अभावको समस्या समाधान गर्ने कृषिमन्त्री परियारको प्रतिबद्धता

    मल अभावको समस्या समाधान गर्ने कृषिमन्त्री परियारको प्रतिबद्धता

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् ।

    शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सोमबार मन्त्रालय पुगेर मन्त्री परियारले पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहण गर्दै मन्त्री परियारले हरेक वर्ष  मलको अभाव हुने समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले फागुन २१ गते निर्वाचन गर्ने सरकारको अठोट रहेकाले त्यसलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताए ।

    उनले बिभिन्न क्षेत्रमा देखिएका बेतिथीलाई समेत अन्त्य गर्न मन्त्रालयका कर्मचारी टीमसंग मिलेर अघि बढ्ने उल्लेख गरे ।

  • ५ महिनाभित्र महत्वपूर्ण शहरमा नि:शुल्क इन्टरनेट हुनेछ: नवनियुक्त सञ्चारमन्त्री खरेल

    ५ महिनाभित्र महत्वपूर्ण शहरमा नि:शुल्क इन्टरनेट हुनेछ: नवनियुक्त सञ्चारमन्त्री खरेल

    काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र  देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

    पदभार गर्ने क्रममा मन्त्री खरेलले पहिलो निर्णय सुनाउँदै यस्तो निर्णय गरेका हुन् । उनले काठमाडाैं बाहिर सार्वजनिक स्थलमा इन्टरनेटकाे आवश्यक रहेकाले नि:शुल्क इन्टनेट हुनुपर्ने बताए ।