Tag: जुवातास

  • २० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेको एक सय जना पक्राउ

    २० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेको एक सय जना पक्राउ

    काठमाडौं । तिहार सकिनै लाग्दा मुलुकभरका विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २० लाख ५९ हजार ९५ रुपैयाँसहित जुवातास खेलिरहेका एक सय जना जुवाडे पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका छ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५१ वर्षीय माधब आर्चायसहित १८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

    उक्त कोठामा कौडा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद छ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी कार्य जारी राखेको छ ।

    कपिलबस्तुको बाणगंगा नगरपालिका–दुइ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक स्थानीय ३३ वर्षका रमेश भट्टराईसहित १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार सात सय ४५ रुपैयाँ र दुइ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी कपिलबस्तुकै बाणगंगा नगरपालिका एकस्थित किशोरजंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा स्थानीय ४५ वर्षका उदय अधिकारीसहित १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद पाँच लाख ४२ हजार तीन सय ८० रुपैयाँ र तीन थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

    यस्तै रुकुम पश्चिम, मुसिकोट नगरपालिका एक मठका ४३ वर्षका उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उत्तम लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख आठ हजार दुइ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आठ कबडहलका ६३ वर्षका गोबिन्दबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोबिन्दसहित छ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद एक लाख ७२ हजार चार सय ५० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

    यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका छ तेलकोट वेसीटोलका ४० वर्षका दिपककुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा दिपकसहित १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त बारमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद दुई लाख ६८ हजार तीन सय ९० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

    लमजुङको बेसिशहर नगरपालिका तीन गाउँशहरका २९ वर्षका सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा सन्तोषसहित १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद एक लाख ५६ हजार पाँच सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    गोरखाको गोरखा नगरपालिका आठ चाईनिजधाराका २९ वर्षका मन्दिप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा मन्दिप लगायत नौ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अव्स्थामा नगद एक लाख एक हजार आठ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।

    सबै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी गराएकाे छ ।

  • तास खेल्दा पक्राउ परेका वडाध्यक्ष र शिक्षकसहित १५ जना ५ सय जरिवाना तिरेर छुटे

    तास खेल्दा पक्राउ परेका वडाध्यक्ष र शिक्षकसहित १५ जना ५ सय जरिवाना तिरेर छुटे

    सुर्खेत । तास खेलेको आरोपमा हुम्लाको अदानचुली गाउँपालिकामा प्रहरीले पक्राउ गरेका दुई वडाध्यक्ष, एक शिक्षकसहित १५ जनालाई मुद्दा नचलाई छाडिएको छ । गाउँ कार्यपालिकाको निर्णय भन्दै प्रहरीले उनीहरूलाई पाँच सय जरिवाना गराउँदै छोडेको हो ।

    बुधबार प्रहरीले गाउँपालिकाको केन्द्रमा अदानचुली गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष रज्ञा थापा, वडा नं. ४ का वडाध्यक्ष विष्णु थापा, स्थानीय शिक्षक राजबहादुर डाँगीसहित १५ जनालाई तास खेलिरहेको अवस्थामा रंगेहात समातेर स्थानीय गल्फगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पहिलोपटक कसुर गरेको भन्दै प्रहरी असई कृष्णबहादुर बुढाले नरम कारवाही गरेका हुन् ।

    ‘गाउँपालिकाले नै जुवातास र मदिरा सेवन गर्नेलाई पाँच सय जरिवाना गरेर छोडने निर्णय गरेको रहेछ । सोहीअनुसार हामीले पालिकाकै रसिदमा पाँच सय जरिवाना गरेर छोडिदिएका हौं,’ असई बुढाले नेपाल प्रेससँग भने, ‘गाउँठाउँको प्रहरी चौकी र जिल्लामा पनि भनेको समयमा फोन नलागेका कारण त्यस्तो गरेका हौं ।’

    स्थानीय जनप्रतिनिधिहरूकै सुझावमा निर्णय गरेको उनले बताए । उनीहरुको साथमा दुई-चार सय मात्र रहेको पाइएकोले पनि धेरै जरिवाना नतोकिएको उनको भनाइ छ ।

    गाउँपालिका अध्यक्ष दल फडेराले पक्राउ परेकाहरू पेशेवर जुवाडे नभएकाले मिलाइएको हुनसक्ने बताए ।

    ‘म कोल्टीमा छु । हिजो समातिएका १५ जनालाई प्रहरीले सम्झाई बुझाई छोडेको हो,’ उनले भने, ‘फौजदारी कानूनलाई प्रभावित पार्ने गरी हामीले त्यस्तो कानून बनाएका छैनौं । मदिरा सेवन गर्नेको हकमा भने जरिवाना गर्ने निर्णय गरेका छौं ।’

    जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक दानसिंह भण्डारीले भने फौजदारी अभियोगमा समातिएकालाई त्यसरी छोड्न कानूनले नमिल्ने बताए ।

    ‘कार्यपालिकाको निर्णयअनुसार छोडेको भन्ने सुनेको छु । त्यो गलत हो,’ उनले भने, ‘अरु के भएको हो म त्यसबारेमा बुझ्छु । उहाँहरुसँग पैसा बरामद नभएका कारण पनि छोडिएको हुनसक्छ ।’

    प्रहरीका अनुसार पक्राउ पर्नेमा वडा नं. १का अध्यक्ष रज्ञा थापा, ४ का अध्यक्ष विष्णु थापा, शिक्षक राजबहादुर डाँगी, सोही पालिकाका स्थानीयहरू भीम फडेरा, विरबहादुर नेपाली, भक्त बुढा, खड्क सुनार, मोहन फडेरा, विष्णु फडेरा, विमल बुढा, गोरख फडेरा, रमेश ऐडी, प्रेम बुढा, बखत रोकाया र दिपक फडेरा रहेका छन् ।