Tag: जिल्ला समन्वय समिति

  • जिल्ला समन्वय समितिको खाता फुकुवा गर्ने विवरण उपलब्ध गराउन महालेखा नियन्त्रण कार्यालयको परिपत्र

    जिल्ला समन्वय समितिको खाता फुकुवा गर्ने विवरण उपलब्ध गराउन महालेखा नियन्त्रण कार्यालयको परिपत्र

    काठमाडौं । महालेखा नियन्त्रणको कार्यालयले सबै जिल्ला समन्वय समितिलाई राेक्का गरिएकाे बैंक खाता फुकुवा गर्ने विवरण उपलब्ध गराउन आग्रह गरेको छ । कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै आग्रह गरेको हो ।

    साविक कर्मचारी कल्याणका लागि स्थापना गरिएको कोषमा रकम जम्मा गर्न जिल्ला विकास समितिको तर्फबाट नियुक्त कर्मचारी अहिले उक्त जिल्लाको जिल्ला समन्वय समितिमा कार्यरत रही निजको अवकाशित दायित्व भुक्तानी गर्ने प्रयोजनका लागि खर्च लेख्ने बाहेक अन्य अवस्थामा उक्त खातामा रहेको रकम रोक्का राख्न पनि भनेको छ ।

    यस्तै साविक जिल्ला विकास समितिमा रहेको विभिन्न कोषको रकममध्ये अहिले रोक्का राखिएका सबै खाता रोक्का फुकुवा गर्न भनेको छ । जिल्ला समन्वय समितिमा रहेका कर्मचारी कल्याण कोषको रकम एकिन गरी त्यसको जिल्लागत विवरण १५ दिन भित्र कार्यालयमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।

  • नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न  स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव

    नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई नदीजन्य तथा साधारण निर्माणमुखी खानीजन्य पदार्थ व्यवस्थापनका लागि ६ बुदेँ सुझाव दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्दै ७ सय ५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई सुझाव दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा १ को ख र ग बमोजिम कार्यान्वयनका लागि नदी तथा नदीजन्य पदार्थ र खानीबाट ढुंगा, माटो, रोडा, गिट्टी, ग्राभेल तथा वालुवा लगायत प्राकृतिक श्रोतको उत्खनन्, संकलन, प्रशोधन तथा बिक्रीवितरण सम्बन्धि सुझाव दिइएको आयोगका प्रवक्ता नारायण रिसालले नेपाल प्रेसलाई जानकारी दिए ।

    जसमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् प्रशोधन गर्ने उद्योग दर्ता गर्न अनुमति प्रदान गर्ने निकायले दर्ता गर्दा उल्लेख गरिएका शर्त पालना गरे नगरेको सम्बन्धमा उद्योग मन्त्रालय, उद्योग विभाग र प्रदेश सरकारको उद्योग हेर्ने विभाग वा कार्यालयले अनुगमन तथा निरीक्षण गरी मापदण्ड विपरित सञ्चालन भएको पाईएमा कानूनी कारवाही गर्न सुझाव दिएको छ ।

    खनिज उत्खनन् गर्न अनुमति लिएका योजनाले उत्खनन् गर्दा तोकिएको कार्यविधि, प्रक्रिया र वातावरणीय लगायतका शर्तको पालना गरे नगरेको बारेमा अनुमति दिने निकायले नै शर्त पालना गरे नगरेको बारे निरीक्षण गरी कारवाही गर्न आयोगले सुझाव दिएको छ ।

    आयोगले ढुंगा, गिट्टी, बालुवा उत्खननमा बिभिन्न थ्रेसहोल्ड र सीमाका आधारमा जुन तह वा निकायले वातावरणीय अध्ययनको प्रतिवेदन स्वीकृत गर्ने जिम्मेवारी रहेको तह वा निकायले प्रतिवेदन बमोजिम शर्त पालना गरे नगरेको अध्ययन गरी नगरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्न सुुझाव दिएको छ ।

    साथै उत्खनन्, संकलन, प्रशोधन तथा बिक्री वितरण गर्न ठेक्का सम्झौता गर्ने निकायले सम्झौता बमोजिम गरे नगरेको अनुगमन गर्ने र त्यसमा कैफियत देखिएमा कानून बमोजिम कारवाही सम्बन्धित स्थानीय तह आफैले गर्ने वा कानूनबाट तोकिएको निकायमा पठाउन भनेको छ । यसरी कारवाहीको लागि लेखी आएमा त्यस्ता निकायले समेत यथाशिघ्र कारवाही गरी अिघलेख समेत राख्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

    नदीजन्य पदार्थको ठेक्का, राजस्व संकलन तथा त्यसको उपयोगमा अपारदर्शी रुपमा मिलेमतोमा ठेक्का दिएको तथा अवैधानिक रुपमा सञ्चालित क्रसर उद्योगको दर्ता तथा सञ्चालन गरेको भन्ने विषयमा पारदर्शी ठेक्का सम्झौता तथा दर्ता फर्मको नियमित अनुगमन निरीक्षण गर्न पनि भनेको छ । साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सार्वजनिक खरिद ऐन तथा नियमावली एवम मन्त्रिपरिषद्बाट स्वीकृत ‘ढुंगा, विट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ का प्रावधान बमोजिम गराउन सुझाव पनि दिएको छ ।

    ढुंगा, गिट्टी, वालुवा सम्बन्धी नदीजन्य पदार्थको स्थानीय तहबाटै सरकारले तोकेको र प्रचलित कानूनमा उल्लेख भएको मापदण्ड बमोजिम सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन समिति रहेको हुदाँ उक्त अनुगमन समितिले प्रभावकारी रुपमा अनुगमन गरी नियमन गर्न मन्त्रालयमार्फत सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्न पनि भनेको छ ।

    ढुंगा, गिट्टी, बालुवा, लगायतका विषयमा इजाजत वा अनुमति दिने, ठेक्का पट्टा लगाउने र अनुगमन गर्ने जिम्मेवारी जवाफदेही गर्ने निकायले आ–आफ्नो जिम्मेवारी र जवाफदेही निर्वाह नगरेको कारण राज्यको प्राकृतिक स्रोत साधनको दुरुपयोग, सरकारी सम्पत्तिको हानी नोक्सानी, राजस्व हिनामिना लगायतका विषयमा आयोगमा उजरी गर्न गई अनुसन्धानको क्रममा कैफियत देखिएमा त्यसरी जिम्मेवारी र जवाफदेही लिएका निकायका पदाधिकारीमाथि कानून बमोजिम कारवाही गर्न पनि भनेको छ ।

  • साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याण कोष बाहेकको रकम रोक्का

    साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याण कोष बाहेकको रकम रोक्का

    काठमाडौँ । सरकारले साबिकमा जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा भएको रकममध्ये कर्मचारी कल्याण कोष बाहेक अन्य कोषको रकम रोक्का गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयबाट मन्त्रिस्तरीय निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि रोक्का राख्ने निर्णय गरेको हो ।

    कार्यालयले पत्रचार गरेपछि मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै यस्तो जानकारी गराएको हो ।

     

  • मुस्लिम समुदायका कर्मचारीको विवरण तत्काल पठाउन मुस्लिम आयोगको निर्देशन

    मुस्लिम समुदायका कर्मचारीको विवरण तत्काल पठाउन मुस्लिम आयोगको निर्देशन

    काठमाडौं । मुस्लिम आयोगले सबै जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा कार्यरत मुस्लिम समुदायका कर्मचारीको विवरण तत्काल पठाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । आयोगले मन्त्रालयलाई यस्तो निर्देशन दिएसँगै मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पनि तत्काल विवरण उपलब्ध गराउन भनिसकेको छ ।

    आयोगले सरकारी सेवामा मुस्लिम समुदायको सहभागिता सम्बन्धी अध्ययन गर्ने काम गरिरहेको भन्दै यस्तो विवरण मागेको हो । आयोगले मागेको विवरणमा कर्मचारीको नामथर, पदपूर्तिको किसिम, लिंग, हालको पद, श्रणी र तह, सेवा, समूह, उपसमूह, नियुक्ति भएको मिति, नियुक्ति हुदाँको पद, जन्म मिति, स्थायी ठेगाना, कर्मचारीको किसिम लगायतका छन् । यि सबै उल्लेख गरेर आयोगले ढाँचासहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्र गरिसकिएको छ ।