Tag: जिल्ला प्रशासन कार्यालय

  • जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट बिहीबारदेखि अत्यावश्यक सेवा वाहेकका सबै सेवा बन्द

    जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट बिहीबारदेखि अत्यावश्यक सेवा वाहेकका सबै सेवा बन्द

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै कार्यालयको शान्ति सुरक्षा, मुद्दा सम्बन्धी अत्यावश्यक सेवा वाहेक सबै सेवा बन्द गरिएको जानकारी गराएको हो ।

    ‘कार्यालयको शान्ति सुरक्षा, मुद्दा सम्बन्धी अत्यावश्यक सेवा वाहेक कर्मचारी तथा सेवाग्राहीको नियमीत र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपी, नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म मिति २०७८-१०-०६ गते देखी लागू हुने गरी हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

    अत्यावश्यक सेवा लिन चाहाने सेवाग्राहीलाई अनिर्वाय रुपमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी साथमा खोप कार्ड (मोवाइलमा फोटो भए पनि हुने) लिई आउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेकाे विज्ञप्तीमा अनुरोध गरिएकाे छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन संक्रमण बढ्दै गएको अवस्थामा कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट संक्रमित भई उपचार तथा आइसोलेसनमा रहेका पनि प्रशासनले जनाएको छ ।

  • जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पनि ई–पासपोर्ट वितरण शुरू

    जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पनि ई–पासपोर्ट वितरण शुरू

    भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण शुरू भएको छ । ई–पासपोर्ट वितरण कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बुधवार एक कार्यक्रमका विच सुभारम्भ गरेकी हुन् ।

    राहदानी विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मात्रै वितरण भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि शुरू भएको प्रमख जिल्ला अधिकारी शर्माले नेपाल प्रेसलाई जानकारी दिईन । उनका अनुसार मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपीको नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्नेगरी सेवा शुरू भएको छ ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि पाँच हजार शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ । विभागले ६६ पृष्ठको राहदानी १० हजार शुल्क तिरेर लिन सकिन व्यवस्था गरे पनि भक्तपुरका हकमा भने तत्काललाई ३४ पृष्ठको मात्रै वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी परियारले नेपाल प्रेससँग बताईन ।

    भक्तपुरका हकमा दैनिक २० जनाको मात्रै राहदानी बनाउने गरी कोटा निर्धारण भएकाले अहिलेलाई स्थायी बासिन्दाले मात्रै राहदानीका लागि आवेदन दिन पाउने छन् । जिल्ला बाहिरका बासिन्दाका हकमा सरकारी कर्मचारी र अन्यका हकमा बसाइँसराइको कागज अनिवार्य पेश गर्नुपर्नेछ ।

    विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक पर्ने जानकारी दिँदै प्रजिअ शर्माले यो राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुनेगरी तयार पारिएको छ । एमआरपीको समय सीमा भएकाले भने विद्युतीय राहदानी बनाउन आवश्यक छैन् ।

    यही मङ्सिर एक गतेदेखि ई–पासपोर्ट लागू भएसँगै राहदानी विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । यसका लागि विभागले मङ्सिर १५ गतेदेखि एमआरपीका लागि टोकन वितरणसमेत बन्द गरिसकेको छ भने मङ्सिर २८ गतेदेखि पूर्णरूपमा एमआरपी वितरण बन्द गर्ने भएको छ । एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले ई–पासपोर्ट प्रचलनमा ल्याएको हो । यसलाई देशभरि विस्तार गर्ने योजनामा राहदानी विभाग रहेको छ ।

  • भक्तपुरमा अखाद्य बस्तु बिक्री गर्ने मिठाई पसललाई जरिवाना

    भक्तपुरमा अखाद्य बस्तु बिक्री गर्ने मिठाई पसललाई जरिवाना

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अखाद्य बस्तु विक्रिवितरण गर्ने मिठाई पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । तिहार भित्रिएसँगै भक्तपुरमा अखाद्य बस्तु विक्रिवितरण बढिरहेका बेला सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा रहेको जिल्ला स्तरीय बजार अनुगमन समितिले मंगलबार बजार अनुगमनमा क्रममा अखाद्य बस्तु वित्रिवितरण गर्ने मिठाई पसललाई जरिवाना तिराएको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वको टोलीले मंगलबार जिल्लाको सुर्यविनायक र पाण्डु मार्गमालगायतका बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा दुइ वटा खाद्यान्न पसल, दुई वटा मिठाई पसल, एउटा फलफल पसलको अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा मिठाई पसलबाट २ हजार ६ सय रुपैयाँ बरावरको मिठाई बरामद गरेको छ भने दुइ हजार चार सय बराबरको अखाद्य दही पनि नष्ट गरेको अनुगमन समितिका संयोजकसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी परियारले नेपाल प्रेसलाई जानकारी दिईन । क्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहारलाई लक्षित गर्दै कालोबजारी र अखाद्य सामग्री विक्रिवितरण रोक्नका लागि दैनीक रुपमाा अनुगमन गर्दै आएको छ ।

    अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत प्रेमकृष्ण खरबुजा, महानगरीय प्रहरी परिसर ललितपुरका प्रतिनिधि, उपभोक्ता मन्चका प्रतिनिधी र सुर्यविनायक नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • महिलामय भक्तपुर जिप्रका, सीडीओसहित ‘टप फाइभ’ वरीयतामा महिला

    महिलामय भक्तपुर जिप्रका, सीडीओसहित ‘टप फाइभ’ वरीयतामा महिला

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा नायव सुब्बादेखि सीडीओसम्म गरी पाँचजना महिलाले जिम्मेवारी सम्हालिरहेका छन् । आफूमातहत चारजना महिला नै भएका कारण काम गर्न सहज भएको सीडीओ रुद्रादेवी शर्मा बताउँछिन् ।

    २०७८ भदौ ३० गते सहसचिव शर्माले भक्तपुर सीडीओको नियुक्ति पाएकी थिइन् । शर्मा त्यसअघि गुल्मीको सीडीओ थिइन् । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये महिलाले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने उनी एक्लो महिला हुन् ।

    यस्तै गृह मन्त्रालयले असोज २० गतेबाट सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि महिलालाई नै दिएको छ । यसअघि मन्त्रालयमा काजमा रहेकी उपसचिव सीता परियारलाई मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । उनी नेपालकै पहिलो दलित महिला सहायक प्रमुख जिल्ला अधिकारीसमेत हुन् ।

    गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीपछिको तेस्रो वरीयतामा पनि महिलालाई नै जिम्मेवारी दिएको छ । कात्तिक एक गतेदेखि तेस्रो वरीयतामा  प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत उर्मिला खतिवडाले सम्हाल्दै आएकी छन् । उनी जिल्ला प्रशासन कार्यालयमा नागरिकता शाखा प्रमुखको जिम्मेवारीमा पनि छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ की स्थायी बासिन्दा खतिवडा यसअघि सोलुखुम्बु जिल्लाको सहायक प्रमख जिल्ला अधिकारी थिइन् ।

    यस्तै कार्यालयको चौथो वरीयता अर्थात् प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीमा पनि महिला नै छन् । राहदानी तथा मुद्धा शाखाको प्रमुखसमेत रहेकी प्रशासकीय अधिकृत लुमा श्रेष्ठ ६ वर्षदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत छन् । उनी २०७२ चैत एक गतेबाट कार्यरत छन् ।

    यस्तै कार्यालयको पाँचौ वरीयतामा पनि महिला नै रहेकी छन् । प्रशासन शाखाको प्रमुख जिम्मेवारीमा रहेकी नायव सुब्बा कमलादेवी कार्की एक वर्षभन्दा पहिले अर्थात् २०७७ साउन २२ गतेदेखि यस कार्यालयमा कार्यरत छन् ।

    जिल्ला प्रशासनमा मात्र हाेइन भक्तपुरमा जिल्ला अदालत पनि महिलाकाे नेतृत्वमा छ । न्यायाधीश कमला पौडेलले जिल्ला अदालतकाे नेतृत्व लिएकी छन् । उनले एकै दिन २४३ मुद्दा फैसला गरी रेकर्ड राखेकी थिइन् ।

    महिला नेतृत्वसँग काम गर्न सहज भएको छः सीडीओ शर्मा

    जिल्ला प्रशासन कार्यालयका प्रमुख पाँच ओहोदामै महिला भएका कारण काम गर्न सहज भएको बताउँछिन्, प्रमुख जिल्ला अधिकारी शर्मा । शर्माले भनिन्, ‘काम गर्ने र र गराउने भनेको पदले हो । महिला र पुरुषले गर्ने गराउने भन्ने होइन । तर पनि तुलनात्मक रुपमा सहज अनुभूत भएको छ ।’

    ललितपुरमा प्रमुख जिल्ला अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्म पाँच जनामध्ये कृष्णाकुमारी गौली मात्रै महिला छिन् । गौली प्रमुख प्रशासकीय अधिकृत हुन् । त्यस्तै काठमाडौंमा तीन जना सहायक प्रमुख जिल्ला अधिकारीमध्ये सुप्रभा खनाल मात्रै महिला छिन् ।

  • घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध मुद्दा दायर

    घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध मुद्दा दायर

    काठमाडौं । नागरिकता प्रतिलिपि दिँदा घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेशकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

    गत भदौ २२ गते साढे ८ हजार घुससहित पक्राउ परेका चौधरीलाई अनुसन्धानको क्रममा भ्रष्टाचार भएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

    नासु चौधरीले जन्ममिति सच्याइ नागरिकता प्रतिलिपि बनाउने गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

  • सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

    सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन काठमाडौंबासीलाई आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार एक आदेश जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाड पर्व मनाउन आग्रह गरेका हुन् ।

    ‘शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठन पाठन गर्न र गराउन नपाउने । गर्नैपर्ने भएमा स्थानीय तहले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालक समितिका पदाधिकारी सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ ।’ प्रमुख जिल्ला अधिकारी रिजालले जारी गरेको आदेशमा भनिएको छ ।

    कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन, जम्मान नहुन, भीडभाड नगर्न, सभा जुलुस नगर्न, जात्रा महोत्सव, भोज आदि नगर्न आदेशमार्फत आग्रह गरिएको छ । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजे र अपरान्ह ४ देखि ७ बजेसम्म गर्न नपाइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भनिएको छ ।

    यस्तै अभिभावक तथा सरोकारवालाको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सक्ने आदेशमा भनिएको छ ।

  • रुपन्देहीमा निषेधाज्ञा थप, सार्वजनिक सवारीमा जोरबिजोर

    रुपन्देहीमा निषेधाज्ञा थप, सार्वजनिक सवारीमा जोरबिजोर

    रुपन्देही । केही क्षेत्र खोल्दै रुपन्देहीमा एक साता निषेधाज्ञा थपिएको छ ।

    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले संक्रमण दर घट्न थालेको निष्कर्षसहित केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    निषेधाज्ञाको नयाँ व्यवस्था अनुसार सार्वजनिक सवारीसाधन सञ्चालनमा जोरबिजोर बनाइने भएको छ । महोत्सव, जात्रा,सभा जुलुसलगायतका भीडभाड हुने क्रियाकलापमा भने बन्देज गरिएको छ ।

    त्यस्तै सबै प्रकारका सभा, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, व्युटिपार्लर र स्विमिङपुल स्पा, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पाइने छैन ।

    आन्तरिक नित्य पुजाबाहेकका सबै धार्मिक साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटलाई पनि रोक लगाएको छ । त्यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु संचालन गर्न पनि निषेध गरेको छ ।

  • सुर्खेत प्रशासनले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिने

    सुर्खेत प्रशासनले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तिव्रता दिने

    सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गरेको निर्णय अनुसार जिल्लामा निषेधाज्ञा जारी भएपछि उपभोग्य बस्तु, मास्क सेनिटाइजर तथा अक्सिमिटर जस्ता बस्तुको मूल्य बढेको जनगुनासो बढेपछि अनुगमनलाई तिव्रता दिने निर्णय भएको हो ।

    पत्रकार महासंघ, उद्योग वाणिज्य संघ तथा सरोकारवाला निकायसँग समन्वय गरेर बजार अनुगमनलाई तिव्रता दिइने प्रमुख जिल्ला अधिकारी छवी रिजालले बताए । डीसीसीएमसीको बैठकले कोभिड संक्रमित विरामीको मृत्यु प्रमाणपत्र र मृतकका परिवारजनको मन्जुरीनामाको आधारमा सरोकारवाला निकायको मौखिक अनुरोधमा समेत शव व्यवस्थापन सम्वन्धी कार्य नेपाली सेनाले गर्ने निर्णय गरेको छ । कोभिड संक्रमित बिरामीको फरक–फरक समयमा मृत्यू हुने र हरेक पटक शव व्यवस्थापनका लागि सेनालाई पत्राचार गर्न व्यावहारिक नदेखिएको यस्तो निर्णय गरिएको प्रजिअ रिजालले बताए ।

    उनले भने, ‘अक्सिजन आपूर्तिमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, सुर्खेतका सबै स्थानीय तहलाई एन्टिजेन तथा पिसिआर किट खरिद गर्ने र त्यसलाई प्रदेश अस्पताललाई हस्तान्तरण गर्ने, वडा र पालिका स्तरमा रहेका कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिलाई थप क्रिायाशील गराउने निर्णय पनि भएको छ ।’

    प्रजिअ रिजालका अनुसार बैठकले हाल संक्रमित र तीनका परिवारका सदस्य नराम्रोसँग आहत भएको ठहर पनि गरेको छ । उनीहरु बेसहारा भएका, अभिभावक गुमाएका टुहुरा भएका सन्दर्भमा स्थानीय तहका स्वास्थ्य संयोजकको नेतृत्वमा एक समूह बनाई संक्रमित भई होम आइसोलेसनमा रहेकालाई प्रत्येक दिन सम्पर्क गर्ने, उनीहरुको स्वास्थ्य स्थिति बुझ्ने, स्वास्थ्य सम्वन्धी सूचना दिने, संक्रमित तथा उनका परिवारलाई सहानुभुती प्रकट गर्ने, ढाडस दिने जस्ता विषयमा केन्द्रित भई मनोपरामर्श सेवा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको छ ।

    यस्तै वैठकले प्रत्येक टोलमा कोरोना निगरानी समूह गठन गर्ने निर्णय पनि गरेको छ । ‘घरका कुनै पनि सदस्य अत्यावश्यक काम नपरी घर बाहिर निस्कन नदिने, निस्कनै पर्ने भएमा स्वास्थ्य मापदण्ड पालना गराउने, पिसिआर परीक्षणका लागि स्वाव दिइसकेपछि त्यस्तो व्यक्तिको परिक्षण नतिजा नआएसम्म घर बाहिर जान नहुने कुरा सबैलाई त्यो समूहले जानकारी दिने निर्णय भएको छ ।’ प्रजिअ रिजालले भने, ‘कोरोना परीक्षण र उपचारका लागि अत्यावश्यक पर्ने औषधीलगायत स्वास्थ्य उपकरण वर्षायाम सुरु हुन अघि नै खरिद गरेर मौज्दात राख्ने निर्णय समेत भएको छ ।’

  • अनुगमनको नाममा झारो टारेको भन्दै सुर्खेत प्रशासनप्रति गुनासो

    अनुगमनको नाममा झारो टारेको भन्दै सुर्खेत प्रशासनप्रति गुनासो

    सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमनको नाममा झारा टार्ने गरेको गुनासो बढेको छ । दशैंपछि बढेको खाद्यान्न सामाग्रीको भाउले गरिब र निमुखाहरुको घरमा चुला बल्ने अवस्था बन्द हुने स्थितिमा पुगिसकेको भएपनि जिल्ला प्रशासन कार्यालयले भने म्याद नाघेका बस्तुहरु खोज्ने र नष्ट गर्ने काममा मात्रै ध्यान दिने गरेको गुनासो बढेको हो ।

    ‘पहिले हामीले खाने चामल १५ सय पथ्र्यो । अहिले १८ सय भन्दा बढि पुगेको छ । तेलको मुल्य छोइ सक्नु छैन । कोरोना महामारीमा हामीलाई रोजगारी त छैन नै खाद्यान्न किन्न जाँदा अत्याधिक बढेको महँगीले हाम्रो ढाड नै सेकिएको छ । लाग्छ अब त केहि दिनमा खाने तेलको साटो पानी नै प्रयोग गर्नुपर्ने अवस्था आउला ।’

    झुप्राखोलामा गिट्टी कुटेर गुजारा गर्दै आइरहेकी सिता वादी भन्छिन्, ‘१६ सय मा पाउने तेलको मूल्य अहिले २५ सय भन्दा बढि पुगिसकेको छ । यो मूल्य कम गराउने तिर कसैको पनि ध्यान गएको छैन ।’

    वीरेन्द्रनगर वडा नं. चार भैरवस्थानमा बस्ने जगत कार्कीको गुनासो पनि राज्यप्रति बढिरहेको छ । ‘महँगी नियन्त्रण गर्नेतिर कुनै पनि साइनो राख्दैन ।’ कार्की भन्छन्, ‘व्यापारीहरुले यहि समयमा हरेक वस्तुको मूल्य बढाएका छन् । महँगी नियन्त्रणमा राज्यको ध्यान छैन । राज्यको निकायमा बस्नेहरुको ध्यान सत्ता तिर मात्रै छ । जनता पिल्सिएका छन् ।’

    यी त उदाहरण मात्रै हुन । सात सय रुपैंया प्रतिकिलो पाईने जिउँदो लोकल कुखुराको मूल्य आठ सय प्रतिकिलो पुगेको छ । बोइलर कुखुराको मासु चार सयमा प्रतिकिलो पाइने गरेपनि अहिले पाँच सय पुगेकोछ । अण्डा, फलफूलको मूल्यमा भारी मात्रामा बढोत्तरी भएको छ ।

    बुद्धपथमा बस्दै आइरहेकी कमला विश्वकर्मा भन्छिन्, ‘हामी गरिबले खाने गाँस महँगो भएको छ । गाँस नै खान नपाएपछि सासको के अर्थ होला र ?’

    जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी श्रीसम्सेर रानालाई यसबारेमा कुरा गर्न खोज्दा फोन उठेन । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत घरमा विरामी भएको बताउँद जवाफ दिनबाट पन्छिए ।

  • ललितपुरमा पाँचजना भन्दा बढी भेला हुन नपाइने, निषेधित क्षेत्र तोकियो

    ललितपुरमा पाँचजना भन्दा बढी भेला हुन नपाइने, निषेधित क्षेत्र तोकियो

    ललितपुर । ललितपुर प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । ललितपुर प्रशासनले एक सूचना जारी गरी ललितपुर महानगरपालिका क्षेत्रमा ५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकिएको हो ।

    ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट शुक्रबार जारी भएको आदेशमा ललितपुर महानगरपालिका केही क्षेत्रमा जेठ १ गते बिहान ६ बजे देखि राति १० बजे सम्म ५ जना भन्दा बढी भेला हुन पाईने छैन ।

    प्रशासनको आदेशमा ‘हुलदंगा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा भेला भए कानून बमोजिम कारवाही हुने भनिएको छ ।

    निमित्त प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतद्वारा जारी आदेशमा रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र पूर्व- मदन स्मारक स्कुल अगाडीको चोक, पश्चिम- श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान, दक्षिण-सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तर-लविम मल पश्चिमपट्टीको सडकमा भेला नहुन भनेको छ ।

    त्यसैगरी मिन नाथको रथ रहेको आसपास क्षेत्रपूर्व- गणेशस्थान मन्दिर, पश्चिम-टवहाल चोक, दक्षिण-ईति चोक र उत्तर-टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।्

  • रुपन्देहीमा जारी रहेकाे निषेधाज्ञामा थप कडाई

    रुपन्देहीमा जारी रहेकाे निषेधाज्ञामा थप कडाई

    रूपन्देही । काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञालाई थप कडाई गरेको छ । नयाँ भेरियन्टको संक्रमण तीब्र भर्ई धेरै नागरिक मृत्यु भइहेको र कोरोना संक्रमित थपिने दर वृद्धि भएपछि निषेधाज्ञालाई प्रशासनले थप कडाइ गरेकाे हाे ।

    बिहीबार बसेको जिल्ला स्तरीय काेभिड-१९ स‌कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र जिल्ला सुरक्षा समितिको बैठकले बैशाख ३० गते बिहान ६ बजेसम्म जारी भएको निषेधाज्ञामा अत्यावश्यक र मानवीय सेवा प्रवाहका लागि हरेक बैंक, बित्तीय संस्थाले एक एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैक र वित्तिय संस्था बन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै पूर्वाधार एवम् विकास निर्माण सम्बन्धमा निर्माणस्थलमा क्वारेन्टाइनमा रहेका बाहेक सबै विकास निर्माण बन्द गर्ने, खाद्यान्न लगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योग बाहेकका सबै उद्योग अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने, हरियो तरकारी एवं कृषि उपज उत्पादक र उपभोक्ता बीच कृषि एम्बुलेन्समार्फत स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरिएकाे छ ।

    बिहिबार  पनि रूपन्देहीमा ७ सय ४५ जना संक्रमित थपिएका छन् भने ९ जनाकाे मृत्यु भएकाे छ ।

  • विहे र व्रतबन्धजस्ता संस्कारमा अन्तर जिल्ला आवतजावत गर्न पाइने

    विहे र व्रतबन्धजस्ता संस्कारमा अन्तर जिल्ला आवतजावत गर्न पाइने

    काठमाडौं । उपत्यकामा लागु गरिएको निषेधाज्ञा अवधीमा विहे र ब्रतबन्धजस्ता संस्कारको हकमा बढीमा १५ जना सहभागि हुने पाउने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै विहे र व्रतबन्धजस्ता संस्कारको हकमा २ वटा सवारी साधन प्रयोग गर्न पाइने र जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्न पाइने निर्णय गरेको हो ।

    मृत्यु संस्कारको लागि जानुपर्ने वा फर्कनुपर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेश गर्नुपर्ने भएको छ ।

    काठमाडौं जिल्लाभित्रका बिरामी वा कुरुवाहरुले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने भएका छन् । परिवारका सदस्य वा आफन्त बिरामी भई काठमाडौं बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्टकार्ड र परिचय खुल्ने कागजात पेश गर्नुपर्ने भएको छ ।

    सुरक्षा गार्डको हकमा परिचय खुल्ने कागजपत्र र पोशाक लगाएर ड्युटीमा आवतजावत गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि एकसाता थप गर्दै २९ गते मध्यरातसम्म निषेधाज्ञा लम्बाएको छ ।

  • भोलिदेखि बेलुका पसल खोल्न नपाइने, निषेधाज्ञालाई थप कडाइ गरिने

    भोलिदेखि बेलुका पसल खोल्न नपाइने, निषेधाज्ञालाई थप कडाइ गरिने

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

    सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

    ‘बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नेपाल प्रेससँग भने, ‘मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय समेत भएको छ ।’

    साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले जानकारी दिए । ‘अब प्रेस पास को–कोलाई दिने भन्ने कुरा सम्बन्धित मिडियाले उपलब्ध गराएको सूची हेरेर हामीले निर्णय गर्छौं’ उनले भने ।

    आजै बेलुका भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसँग बसेर थप निर्णय गर्ने जानकारी काठमाडौं सीडीओ पराजुलीले दिए ।

  • कोरोनाबाट मृत्यु हुनेको शव जलाउने ठाउँको व्यवस्थापन गर्न काठमाडौं प्रशासनको निर्देशन

    कोरोनाबाट मृत्यु हुनेको शव जलाउने ठाउँको व्यवस्थापन गर्न काठमाडौं प्रशासनको निर्देशन

    काठमाडौं । कोभिड-१९ संक्रमणको स्थिती भयावह बन्दै गैरहेको अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृतकको शव र जलाउने स्थानको व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

    काठमाडौंमा अक्सिजनसहितको कम्तीमा १००० बेडको आइसोलेसन संचालन गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

    साथै, गम्भिर बिरामीहरुको लागि अस्पतालमा बेड व्यवस्थापनका लागि अस्पतालहरुलाई निर्देशन जारी गर्न अनुरोध गर्ने निर्णय पनि प्रशासनको छ ।

    निषेधाज्ञाहरुको प्रभावकारीरुपमा कार्यान्वयनका लागि संयुक्तरुपमा अनुगमन गरी अत्यावश्यक बाहेकका सेवाको हकमा अझ कडाइ गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।

    अन्तर्राष्ट्रिय हवाइ उडानबाट नेपाल आउने यात्रुहरुलाई कम्तीमा १० दिन क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने व्यवस्था पनि गर्ने निर्णय प्रशासनले गरेको छ । काठमाडौं जिल्ला प्रशासनको यसैसाता बसेको बैठकले उक्त निर्णय गरेको हो ।

  • भोलिदेखि मृत्यु संस्कार र जरुरी काम बाहेकलाई पास जारी नहुने

    भोलिदेखि मृत्यु संस्कार र जरुरी काम बाहेकलाई पास जारी नहुने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी काम बाहेकलाई सवारी पास जारी नहुने जनाएको छ ।

    विहिबार विज्ञप्ती प्रकाशित गर्दै प्रशासनले निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, बिरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिक संस्था, बिमा लगायत राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिक कारोबार गर्ने संस्थाका कर्मचारी र एयरपोर्टमा जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने समेत जनाएको छ ।

  • ‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’

    ‘जनतालाई लकडाउनमा राखेर हामी आरामले सुतिरहेको स्थिति होइन’

    काठमाडौ । कोरोना संक्रमण रोक्न भन्दै काठमाडौंका तीन सीडीओले आजबाट उपत्यकाव्यापी निषेधाज्ञा जारी गरेका छन् । आज बिहानैदेखि शुरू भएको निषेधाज्ञाका कारण उपत्यकाको जनजीवन पूर्णरूपमा प्रभावित बनेको छ ।

    सङ्क्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम प्रत्येक जिल्लाको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न पाउँछन् । त्यसै अनुसार आज बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि १६ गतेदेखि २२ गतेसम्म एक साता निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो । तर, मन्त्रिपरिषदको बैठकले त्यसलाई संशोधन गरी दुई साता लम्ब्याएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली जनजीवन ठप्प पार्ने निर्णय आफूहरूको रहर नभई वाध्यता भएको बताउँछन् । सरकारले लागू गर्ने प्रावधानहरूबाट मात्रै कोरोना नियन्त्रण नहुने र व्यक्ति आफैं सचेत बन्नुपर्ने उनको भनाइ छ ।

    यसको कार्यान्वयनका विषयमा नेपाल प्रेस डटकमका लागि केशव भुलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग कुराकानी गरेका छन् । पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश नेपाल प्रेसको नेपाल टकमा ।

    निषेधाज्ञा त जारी भयो, यसको कार्यान्वयन कसरी गरिरहनुभएको छ ?

    यसमा कार्यान्वयन गर्ने जिम्मेवारी प्रशासनको मात्र होइन, सबैको हो । त्यसैले हामीले निषेधाज्ञालाई कार्यान्वयन गर्नका लागि सबै पक्षलाई अनुरोध गरेका छौं । किनभने यो स्वयम् व्यक्ति नै सचेत हुने विषय हो ।

    अब अहिले किन निषेधाज्ञा भन्ने कुरा आम नागरिकले र सरोकारवालाले पहिले बुझ्नुपर्छ । कोरोना संक्रमण दर घटाउनका लागि, रोग नियन्त्रणका लागि र भीडभाड कम गर्नका लागि हामीले यो निषेधाज्ञा जारी गरेको हो । त्यसैले स्वयम् व्यक्ति सचेत भएर अनावश्यक भीडभाडमा नजाने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किने, अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड पालना गर्ने, मास्क अनिवार्य रूपमा लगाउने, भौतिक दूरी कायम गर्ने गर्नुपर्छ ।

    बिहान अत्यावश्यक सामग्री खरिद गर्न जाँदा भौतिक दूरी कायम गर्ने लगायतका मापदण्डको पूर्ण पालना गर्नुपर्‍यो । अन्य अनावश्यक गतिविधि नगर्न र अनावश्यक भीडभाडमा नजानका लागि पनि हामी आग्रह गर्दछौं । यो हामीले भनेर मात्र होइन कि स्वयम् नागरिकले नै पालना गर्नुपर्ने विषय हो ।

    हामीले निषेधाज्ञा पालना भएको छ कि छैन भनेर अनुगमन गर्ने मात्र हो । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि परिचालनको व्यवस्था मिलाएका छौं । माइकिङको पनि व्यवस्था गरेका छौं । सबै नगरपालिका तथा गाउँपालिकालाई पनि हामीले निशेधाज्ञा कार्यान्वयनका लागि अनुरोध गरेका छौं । प्रहरीको पनि व्यापक रूपमा गस्ती गर्ने गरी परिचालन गरेका छौ । त्यसमार्फत सचेतना अभियान फैलाउने, अनुगमन गर्ने काम पनि हुन्छ ।

    अब आन्तरिक र बाह्य उडान के गर्ने र त्यहाँका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गृहकार्य आवश्यक छ । सार्वजनिक यातायातका साधनलाई रोक लगाएको अवस्थामा आन्तरिक उडान सुचारु राख्दा त्यसका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छ । यी सबै कुरालाई हामीले सुझावका रूपमा लिएका छौं र सम्बन्धित निकायमा जानकारी पनि गराइसकेका छौं ।

    भीडभाड गर्नेलाई, मास्क नलगाउनेलाई पनि होल्ड गर्ने, नियन्त्रणमा लिने, जरिवाना गर्ने लगायतका काम पनि गर्छौं । यसमा सबै पक्ष जिम्मेवार भइसक्नुभएको छ । मलाई नै हिजो अस्ति तपाईंहरूले निशेधाज्ञा जारी गर्न किन ढिलो गर्नुभयो ? कोरोनाको संक्रमणदर एकदमै उच्च भइसकेको छ भनेर फोनमार्फत पनि सुझाव आइरहेको छ । त्यसो भएको हुनाले अहिलेको निषेधाज्ञा पूर्णरूपमा कार्यान्वयन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।

    विगतमा कडा लकडाउन गर्दा पनि कोरोना फैलिन रोकिएन । अहिले फेरि त्यही असफल प्रयोग किन दोहोर्‍याउनुभएको ?

    यो हाम्रो रहर त होइन नि । यो त हामी सबैको बाध्यता हो । अहिले कोरोनाको संक्रमण दर नबढेको भए, अवस्था सामान्य भएको भए त निषेधाज्ञा जारी गर्नुपर्ने नै थिएन नि ।

    अब अहिले स्वास्थ्य अवस्था एकदमै भयावह भएको, अस्पतालमा बेडको अभाव र बिरामीको संख्या दैनिक वृद्धि, तथा औषधीउपचार गर्न नसकिने अवस्था आइरहेको छ । त्यसैले यो महामारीले ठूलो रूप नलियोस् भनेर सबैको सल्लाह, सुझावअनुसार नै निषेधाज्ञा जारी गरेको हो नि त ।

    यसअघि भएको लकडाउन र अहिलेको निषेधाज्ञामा फरक चाहीँ के हुन्छ ?

    अहिले आन्तरिक उडान र बाह्य उडान स्थगित गरिएको छैन । गत वर्ष भने सबै बन्द गरिएको थियो । फेरि गत वर्ष एकैपटक मुलुकभर नै लकडाउन गरिएको अवस्था थियो ।

    जस्तो अहिले काठमाडौं, भक्तपुर र ललितपुरले एकसाथ निषेधाज्ञा जारी गर्‍यौं तर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोकमा त्यो अवस्था छैन । त्यसैले गत वर्षभन्दा यस वर्ष धेरै फरक छ । जहाँ कोरोनाको संक्रमणदर तीव्ररूपमा बढेको छ, त्यहाँ मात्र निषेधाज्ञा जारी गरिएको छ ।

    उपत्यकाको सीमा नाकासम्म मात्र निषेधाज्ञा जारी मात्र भएकाले नाकासम्म सजिलै आउन सक्ने भए । त्यसपछि पैदलबाटै प्रवेश गर्ने बाटो त खुला रह्यो नि ?

    यो विषयमा मैले गृह मन्त्रालय र विशेषगरी गृह सचिवलाई पनि अनुरोध गरिसकेको छु । थानकोटमा आएका यात्रुलाई अथवा जगातीमा आएका यात्रुलाई उताबाट आउनबाट रोक्न सक्ने अवस्था हुँदैन ।

    त्यसो भएको हुनाले हामीले बाहिरबाट यात्रु भित्रिने सीमादेखै नै कडाई गर्न खोजेका छौ । काठमाडौं उपत्यकामा अहिले भीडभाड गर्न, आवतजावत गर्न र सवारीसाधन उपत्यका प्रवेश गर्न रोक लगाएका छौं । यात्रु र सवारीको शुरूआती विन्दु जस्तै विराटनगर, वीरगञ्जबाट लामो दूरीका यात्रुवाहक सवारीसाधन र यात्रु आउनुभएन । यस्तै चितवन, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली सबैले काठमाडौं उपत्यका प्रवेश गर्न नदिनका लागि त्यहीँबाट पहल गर्नुपर्ने हुन्छ । त्यो हामीले अनुरोध गरेका छौं ।

    मैले ७ वटै प्रदेशका मुख्यमन्त्री र अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग पनि त्यही अनुरोध गरेको छु । अहिले उपत्यका प्रवेशमा रोक लगाएको हुँदा त्यहाँबाट गाडी नछोड्न भनेका छौ । त्यसै अनुसार कार्यान्वयन हुन्छ ।

    बाहिरबाट काठमाडौं उपत्यकामा भित्रिनेले अनिवार्य आउनेलाई क्वारेन्टाइन बस्नुपर्ने भनिएको छ । यसको अनुगमन कसरी हुन्छ ?

    सबै क्वारेन्टाइनमा नै बस्नुपर्ने भन्ने पनि छैन । अहिले त होम आइसोलेसनमा पनि बस्न पाउने भनिएको छ । त्यसैले व्यक्ति आफै बढी सचेत हुनुपर्‍यो । अब कसैलाई रुघाखोकी लागेको छ, कोरोना संक्रमणको लक्षण देखिएको छ भने अरुलाई सार्नु भएन, आफै सचेत हुनुपर्‍यो । त्यस्तो सम्भावित व्यक्तिले लामो यात्रा पनि गर्नुभएन नि । यदि यात्रा गर्दागर्दै पनि बीच बाटोमा नै कुनै समस्या देखियो भने रोग नलुकाएरै आफैंले घोषणा गर्नुपर्‍यो र आइसोलेसनमा बस्नुपर्‍यो ।

    निषेधाज्ञा गरेर सरकार आरामले सुत्ने अनि नागरिकले दुःख पाउने प्रवृत्ति विगतमा देखिएको छ । यसपालि पनि त्यही त होला नि ?

    होइन, त्यस्तो हुँदैन । हो अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवा प्रभाव गर्न बन्द गरिएको छ । तर, तपाईंले हाम्रो कार्यालयमा छिर्दा (बुधबार) भीडभाड त उत्तिकै देख्नुभयो । हामीले आराम गरेर बसेका छौं त ? छैन नि ।

    आपूर्ति व्यवस्था पनि ठीक छ कि छैन, अरु के समस्या आउँछ भनेर र्‍यापिड रेस्पोन्स टिम बनाइएको छ । उद्योग मन्त्रालयमा पनि विभिन्न क्षेत्रका सहसचिवको एउटा टिम गठन भएको छ । गृह मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, वाणिज्य विभागको महानिर्देशक रहेको टिमले वाणिज्य-आपूर्ति लगायतको व्यवस्थापन हेर्नेछ । अन्य सरकारी संयन्त्रले पनि आ-आफ्नो क्षेत्रको अनुगमन गर्नेछन् । त्यसैले सरकारी संयन्त्र सुत्ने र नागरिकले दुःख पाउने भन्ने हुँदैन ।

    यसपटक निषेधाज्ञा गर्नु दुई दिन समय दिइयो । यो दुई दिन चाहिँ कोरोना सर्दैन भन्ने हो कि ? फेरि काठमाडौंबाट मानिसलाई गाउँ-गाउँ जान दिँदा कोरोना झन् देशव्यापी बन्दैन ?

    त्यस्तो पनि होइन । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफ्नो गन्तव्यमा जान दिनुपर्छ भन्ने मान्यता हो । फेरि १० दिन १५ दिन निषेधाज्ञा भयो भने मान्छेको रोजीरोटी गुम्ने, दैनिक ज्यालादारी गर्नेले के खाने के भन्ने चिन्ताको कुरा पनि हुन्छ । लामो समय निषेधाज्ञा भयो भने समस्यामा परेका सबैलाई सहयोग गर्न सक्ने अवस्था पनि नहुन सक्छ ।

    यदि कोही कसैलाई विदेश जानुपर्ने भयो तर राहदानी नवीकरण भएको छैन भने त्यो पनि गरिदिन्छौं, त्यो त्यति ठूलो कुरा पनि भएन । तर, अब अहिले विदेश जान सबै रोकिएको हुनाले नागरिकताको त्यति जरुरी पर्छ जस्तो लाग्दैन । यदि त्यस्तो केही समस्या पर्‍यो भने त्यो समस्याको सम्बोधन हामी गर्छौं ।

    त्यसैले आफ्नो घरबाट टाढा रहेर काम गर्नेलाई घरसम्म पुग्ने मौका पनि त दिनुपर्यो नि । अघिल्लोपटक एकाएक लकडाउन घोषणा गर्दा नागरिकले विभिन्न समस्या भोग्नु परेको तपाईं-हामीलाई थाहा नै छ नि । त्यसैले जानेले पक्कै पनि आफ्नो र घर/परिवारको ख्याल गरेर, जनस्वास्थ्यका मापदण्ड पालना गरेरै जानुभएको होला ।

    घर-घरमा गएर पक्कै पनि क्वारेन्टाइन र आइसोलेसनमा उहाँहरू बस्नुहुनेछ भन्ने आशा छ । बस्नका लागि म अनुरोध गर्दछु । त्यसैले गन्तव्यमा जान दियो भन्दैमा कोरोना फैलाएको भन्ने होइन, बरु कसरी फैलन नदिने भन्नेतिर सबैले ध्यान दिनुपर्छ र सबै सचेत हुनुपर्छ ।

    हवाई यातायात सञ्चालन छ, सडक यातायातमात्र बन्द गरिएको छ । हुनेखाने नागरिक यताउता जान सक्ने तर सामान्य नागरिक जान नपाउने देखियो । यस्तो विभेद किन ?

    तपाईंको कुरा एक हिसावले ठीकै हो । तपाईंले दिएको जस्तो सुझावलाई हामी ग्रहण गर्छौं र यो कुरा सम्बन्धित निकायसम्म जानकारी पनि गराएका छौ ।

    अब आन्तरिक र बाह्य उडान के गर्ने र त्यहाँका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गृहकार्य आवश्यक छ । सार्वजनिक यातायातका साधनलाई रोक लगाएको अवस्थामा आन्तरिक उडान सुचारु राख्दा त्यसका यात्रुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि छ । यी सबै कुरालाई हामीले सुझावका रूपमा लिएका छौं र सम्बन्धित निकायमा जानकारी पनि गराइसकेका छौं ।

    निषेधाज्ञाका कारण दैनिक ज्यालादारी मजदुरले रोजगारी गुमाउनेछन् । उनीहरूलाई कसले हेर्ने ? रोगले भन्दा भोकले मर्ने अवस्था त नआउला ?

    हामीले समस्यामा परेका नागरिकलाई निःशुल्क खाना खुवाउने व्यवस्थाका लागि तयारी गर्न सबै स्थानीय तहलाई भनिसकेका छौं । अघिल्लो वर्ष विभिन्न सामाजिक संघ-संस्थाले खाना खुवाएको अवस्था थियो ।

    अहिले सबैभन्दा ठूलो कुरा रोग नै हो । भोग मेट्नका लागि त मानिसले चामल पनि खान सक्छ, दाल पनि खान सक्छ । तर, रोगको उपचार भएन भने मृत्युवरण नै गर्नुपर्छ । त्यसैले भोकभन्दा पनि रोगबाट कसरी बच्ने र बचाउने भन्ने नै मुख्य कुरा हो ।

    निषेधाज्ञा जारी भएको दिनदेखि जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनेको घुइँचो छ । यसमा पनि पहुँचवालाले अनुमति लिएर हिँडडुल गर्ने र पहुँच नहुने मात्रै घरमा थन्किने अवस्था विगतमा देखियो । यसपाली पनि त्यस्तै त होला नि ?

    होइन, अहिले हामीले सबैको निवेदन लिइरहेका छौ । तर, अब अहिले अनुमतिलाई सकेसम्म निरुत्साहित नै गरेका छौ । जस्तै अब तपाई एउटा सञ्चारकर्मी हुनुहुन्छ, तपाईंलाई आफ्नै परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेका छौ । कर्मचारीलाई आफ्नै परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेका छौ । त्यसैले सबैलाई अनुमति दिएर हुँदैन ।

    हामीले अनुमति दिने विषयमा पनि सीमा तोकेका छौ । त्यसमा अब अत्यावश्यक परेको व्यक्ति सानो होस् वा ठूलो होस्, त्यसलाई हामीले समान रूपमा नै अनुमति दिन्छौं र दिइरहेका पनि छौं । त्यस्तो भेदभाव भएको पनि छैन र हुन पनि दिँदैनौ हामी ।

    आदेशको पहिलो बुदाँमा विवाह गर्नका लागि अनुमति जरुरी छैन भनिएको छ । यही बुदाँको पनि दुरूपयोग नहोला भन्ने के छ र ?

    होइन, अब कोही व्यक्तिले हिँडडुल गर्नकै लागि नक्कली बिहे त के गर्ला र ?

    नक्कली बिहे नगरे पनि बिहेको बहाना त गर्न सक्ला नि ?

    नक्कली विवाह गरेर, गाडी रिजर्व गरेर जान त्यति सजिलो छैन । जस्तै दुलाहा-दुलही बनाउन पर्‍यो, उनीहरूको ड्रेस र गरगहना बनाउन पर्‍यो । दुलहा र दुलही हो/होइन भन्ने कुरा प्रष्ट चिनिन्छ पनि । नक्कली र सक्कली के हो भनेर प्रहरीले चेकजाँच गरिहाल्छ नि । त्यसैले नक्कली भेटियो भने कारवाही हुन्छ ।

    सार्वजनिक सवारीसाधन बन्द भएपछि मान्छेले पैदल यात्रा गर्न पाउने कि नपाउने ?

    पैदल यात्रा त गर्न पाउने भए । तर, काम नै नभइ यत्तिकै पैदल यात्रा गर्न पाउने कुरा भएन । काम विशेषले मात्र गर्न पाइन्छ । जस्तो बिहानको समयमा हामीले अत्यावश्यक सामग्री तरकारी, फलफूल, खाद्यान्न खरिद गर्नका लागि ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय छुट्याइदिएका छौं । त्यो बीचमा हामी हिँडडुल गर्न दिन्छौं ।

    अन्य अवस्थामा प्रहरीले अनुगमन गरिदेला । प्रहरीले अनुगमन नगरेको ठाउँमा रोग त फैलिन्छ नि । अरु जेसुकै भए पनि व्यक्ति नै सचेत हुनुपर्‍यो । अनावश्यक भीडभाडमा जानु भएन । यदि गयो भने प्रहरीले होल्ड गर्ने, जरिवाना गर्ने र नियन्त्रण गरेर कारवाही गर्ने काम गर्छ ।

    छोटो समयका लागि मात्रै पसल खोल्दा भीडभाड भएर झन् कोरोना फैलिने डर हुँदैन ?

    होइन, बिहान हामीले ६ बजेदेखि १० बजेसम्म भनेपछि ४ घण्टाको समय दिएका छौं । यो पनि किनमेल गर्नका लागि पर्याप्त समय हो नि । ४ घण्टा पसल खुल्छ भने खाली भएको समयमा पनि आउन सकियो नि । त्यसैले किन बिहान ६ बजे नै भीड लाग्न पर्‍यो र ? बिहान भीडभाड नै भयो भने पनि साँझ ५ बजेदेखि ७ बजेसम्म जाँदा भयो ।

    अत्यावश्यक सामग्री बोक्ने बहानमा वा प्रेस पासको दुरूपयोग हुने सम्भावना कति देख्नुभएको छ ?

    यसमा पनि अनुगमन हुन्छ । हामीले प्रहरीलाई भनेका छौं । मलाई मिडियाको नक्कली परिचय पत्र जारी भएको खबर आएको छ । अब हामी सबै मिडियालाई तपाईंका कति जना कर्मचारी छन् भनेर विवरण माग्छौं । र त्यसलाई प्रमाणित गर्छौं । अनि त्यो विवरण प्रहरीलाई उपलब्ध गराउँछौं । यदि नक्कली भेटियो भने किर्तेमा कारवाही गर्छौं ।

    प्रहरीले सडकमा नै नक्कली र सक्कली कसरी छुट्याउँछ ?

    जस्तै तपाईंले नै काम गर्ने नेपाल प्रेस छ नि । तपाईंको परिचय पत्र आधिकारिक संस्था नेपाल प्रेसबाट नै जारी भएको हो कि होइन भनेर हामी प्रमाणित गछौ । अनि हामी मिडियामा पनि बुझ्छौ तपाइको कर्मचारी हो कि होइन भनेर । त्यो व्यक्तिको हाजिरी जेकजाँच गर्छौं । यदि वास्तविक कर्मचारी हो भने नियमित हाजिर भएको होला । उसको विवरण होला । उसले नियुक्ति पत्र प्राप्त गरेको होला । यति सबै कुरा बुझ्दा भेटिएन भने त्यो नक्कली परिचय पत्र जारी गर्ने व्यक्ति को हो, उसको खोजी गरेर किर्ते र अन्य प्रचलित कानूनअनुसार कारवाही गर्छौं ।

    निषेधाज्ञाका बीच जिल्ला प्रशासन लगायत अन्य कार्यालयबाट के-कस्ता सेवा प्रवाह हुन्छन् ?

    शान्ति सुरक्षा, मुद्दा-मामला तथा अत्यावश्यक सिफारिस हामी अहिले पनि गरिरहेका छौं । अरु हामीले जारी गर्ने भनेको त्यही राहदानी हो, नागरिकता हो । यदि कोही कसैलाई विदेश जानुपर्ने भयो तर राहदानी नवीकरण भएको छैन भने त्यो पनि गरिदिन्छौं, त्यो त्यति ठूलो कुरा पनि भएन । तर, अब अहिले विदेश जान सबै रोकिएको हुनाले नागरिकताको त्यति जरुरी पर्छ जस्तो लाग्दैन । यदि त्यस्तो केही समस्या पर्‍यो भने त्यो समस्याको सम्बोधन हामी गर्छौं ।

    निषेधाज्ञाको पालना नगर्नेलाई के-कस्तो कारवाही हुन्छ ?

    स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन २०२० अनुसार नै कारवाही हुन्छ । त्यसमा जरिवानाको व्यवस्था छ, कैदको व्यवस्था छ, सचेत गराउने व्यवस्था छ । त्यही नै हो ।

    अत्यावश्यक अवस्थामा सवारीसाधन चलाउनुपर्दा जिप्रकाले कसरी सहयोग गर्छ ?

    त्यस्तो व्यक्तिको हकमा हामी यातायात व्यवसायी संघसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउने सोचमा छौं । त्यसको व्यवस्थापन पनि हामी गर्छौं ।

  • कैलालीमा बिहीबारदेखि एक साता निषेधाज्ञा

    कैलालीमा बिहीबारदेखि एक साता निषेधाज्ञा

    कैलाली । तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि कैलालीमा बिहीबारदेखि एक साता निषेधाज्ञा हुने भएको छ ।

    मंगलबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेअनुसार जिल्ला प्रशासन कार्यालयले कैलालीले १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय कैलालीलाई तत्काल कडा रूपमा लकडाउन गर्न सरोकारवालाहरूले सुझाव दिएका थिए । उनीहरूले सीमा व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् ।

    सोमबार कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’ गर्ने सहमति भएको थियो । संक्रमण तीव्र भएपछि निषेधाज्ञा गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको उनले बताए ।

  • सहायक सीडीओलाई कोरोना देखिएपछि पाल्पा प्रशासनको काम प्रभावित

    सहायक सीडीओलाई कोरोना देखिएपछि पाल्पा प्रशासनको काम प्रभावित

    रूपन्देही । सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको दैनिक काम प्रभावित भएको छ।

    आइतबार संक्रमण पुष्टिपछि सहायक सीडीओ घिमिरे होम आइसोलेसनमा छन् । उनीसँग सम्पर्कमा आएका अन्य पाँच कर्मचारी पनि होम आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । कर्मचारी आइसोलेसनमा बस्नु परेकाले कार्यालयको काम प्रभावित भएको हो । अन्य कर्मचारीको मंगलबार कोरोना परीक्षणको तयारी भइरहेको छ ।

    यस्तै‚ राष्ट्रिय अनुसन्धान कार्यालय पाल्पाका प्रमुख र एक हवल्दारलाई पनि कोरोना संक्रमण भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा संक्रमितको संख्या २ हजार १६० जना पुगेको छ । तीमध्ये १५२ जना सक्रिय संक्रमित छन् । ३९ जनाको मृत्यु भएको छ ।

  • यी कामका लागि अब एकसाता राजधानीका सीडीओ कार्यालय नजानुस्

    यी कामका लागि अब एकसाता राजधानीका सीडीओ कार्यालय नजानुस्

    काठमाडौं । राजधानीका तीनवटै सीडीओ कार्यालयले सोमबारदेखि नागरिकता, पासपोर्टलगायत सबै सेवा एक साताका लागि बन्द गरेका छन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सूचना टाँसेर सर्वसाधारणलाई कार्यालय नआउन भनेका हुन् ।

    कोरोनाको दोस्रो लहर बढ्दै जाँदा कर्मचारीहरू समेत संक्रमित भएको र सेवाग्राहीमा समेत जोखिम बढ्ने भएपछि बैशाख २० गतेसम्म सबै सेवा स्थगित गरेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

    जिल्ला प्रशासनबाट स्थगित भएका नागरिकता वितरण,प्रतिलिपि,नबालक परिचयपत्र,राहदानी वितरण तथा सिफारिस,हातहतियार दर्ता नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता लगायतका काम छन् ।

    अत्यावश्यक सेवाअन्तर्गत शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य र अत्यावश्यक सिफारिसमात्र जिल्ला प्रशासनबाट प्रवाह हुनेछन् ।

  • काठमाडौंका होटल आजदेखि ८ बजेसम्म मात्र खोल्न पाइने, भीडभाड हुने क्षेत्रमा यी हुन् प्रशासनका मापदण्ड

    काठमाडौंका होटल आजदेखि ८ बजेसम्म मात्र खोल्न पाइने, भीडभाड हुने क्षेत्रमा यी हुन् प्रशासनका मापदण्ड

    काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट फैलिएको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख मसान्तसम्म जिल्लास्थित सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

    मंगलबार सूचना जारी गर्दै जिल्ला प्रशासनले सोमबारको मन्त्रिपरिषद् बैठकले तोकेका कोभिड सम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैशाख मसान्तसम्म भौतिकरुपमा नभई भर्चुअलरुपमा पठनपाठन संचालन गर्नपनि प्रशासनले निर्देशन दिएको छ ।

    सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने गतिविधि बैशाख मसान्तसम्म रोक्न पनि आदेश दिइएको छ ।

    एक पटकमा २५ जनाभन्दा बढी भेला नहुने साथै सपिङ मल, डिपार्टमेन्टल स्टोरका संचालक र व्यवस्थापकले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न पनि प्रशासनले आदेश दिएको छ ।

    २५ जनाभन्दा बढी सहभागि नभई विहे र ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने नियम ल्याइएको छ ।

    सार्वजनिक स्थान र यातायातमा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, चालक तथा सहचालकले मास्क एवं भाइजर लगाउनुपर्ने नियम छ । काठमाडौं उपत्यकाका होटल तथा रेष्टुरेन्टहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै संचालन गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

    आदेशको अवज्ञा गर्ने वा आदेशमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कार्वाही गर्ने प्रशासनले जानकारी दिएको छ ।

  • लोकपाल गठन गर्न सुर्खेतका यूवाकाे माग

    लोकपाल गठन गर्न सुर्खेतका यूवाकाे माग

    सुर्खेत । सुर्खेतका यूवाले लोकपाल गठन गर्न माग गरेका छन् । विकास निर्माणमा भैरहेको ढिलासुस्ती, गुणस्तरहिनता र नितिगत भ्रष्टाचारलाई नियमन गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी छवि रिजालमार्फत जिल्ला भित्र प्रशासनको अगुवाइमा नागरिक अगुवा, राजनैतिक दलका अगुवा तथा पत्रकारसहितको लोकपाल गठन गर्न उनिहरुले माग गरेका हुन् ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका भित्र लागूपदार्थ दुर्व्यसन, तस्करी र अशान्ति बढ्नु चिन्ताजनक रहेको उनीहरुले बताएका छन् । मालपोत, यातायात कार्यालयमा समेत सेवाग्राहीले सास्ती पाएका कारण जनशक्ति थप्न र प्रविधिमैत्री बनाउन समेत यूवाले माग गरेका छन् ।

    यूवा अगुवा राजिभजंग शाही र कमल कटवालले वीरेन्द्रनगर नगरपालिका वडा न तीन र १० मा अस्थायी प्रहरी बिट राख्न समेत माग गरेका छन् । उनिहरुले शान्ति र सुशासनको अभियानमा साथ दिन तयार रहेको समेत प्रतिवद्धता जनाएका छन् । शुक्रबार राजिभ जंग शाही, कमल कटवाल, राज रावत, माधव सिजाली र कमल शाही लगायतका यूवा जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए ।

  • राहदानी नवीकरण नगर्न ७७ वटै जिल्लालाई राहदानी विभागको परिपत्र

    राहदानी नवीकरण नगर्न ७७ वटै जिल्लालाई राहदानी विभागको परिपत्र

    काठमाडौं । राहदानी विभागले राहदानीको म्याद सकिन लागेको भए पनि तत्काल नवीकरण नगर्न नगराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय र राहदानी विभाग धाइरहेका बेला विभागले यस्ताे परिपत्र गरेको हो ।

    चालक अनुमति पत्र जस्तै म्याद नसकिदै राहदानी नवीकरण गर्नु नपर्ने, रादानी नवीकरण नभइ नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको जुनसुकै बखत बनाउने सकिने भएकाले तत्काल नविकरण गर्न जरुरी नभएको विभागका महानिर्देशक डोरनाथ अर्यालले नेपाल प्रेससँग बताए ।

    उनले भने, ‘निकट भविष्यमा गुणस्तरी, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी इ–पासपोर्ट जारी हुदैँछ । त्यसैले अत्यावश्यक भएको अवस्था बाहेक राजानी बनाएर घरमा राख्नका लागि मात्र अहिलेको मेशिन रिडेबल राहदानी (एमआरपी) बनाउन जरुरी छैन ।’

    विभागले यस्तो परिपत्र गरेलगत्तै कतिपय जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै राहदानी नवीकरण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो जानकारी गराइसकेकाे छ ।