Tag: जानकीदेवी

  • जानकीदेवीको संघर्षशील जीवन : ५ वर्षको उमेरमा बिहे, ६५ वर्षमा संयोगले सांसद

    जानकीदेवीको संघर्षशील जीवन : ५ वर्षको उमेरमा बिहे, ६५ वर्षमा संयोगले सांसद

    जनकपुरधाम । प्रतिनिधिसभा एकपटक विघटन भएर पुनःस्थापित भएसँगै सिरहा गोलबजारको दलित वस्तीमा पनि खुसी छायो । यसको अर्थ त्यो वस्ती प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमको विपक्षमा थियो भन्ने चाहिँ होइन ।

    खुसीको कारण हो,पुनःस्थापित प्रतिनिधिसभामा यो वस्तिको प्रतिनिधित्व हुने भएको छ । प्रतिनिधिसभाको ढिलोमा दुई वर्षमात्र कार्यकाल बाँकी रहँदा नेकपा एमालेले गोलबजार नगरपालिका-१ सिरहाकी जानकीदेवी रामलाई सांसद बनाएको छ ।

    ६५ वर्षीया उनी सांसद बनेपछि घरमा खुसीको माहोल छ । नहोस पनि किन,उनी सांसद बन्ने सम्भावना थिएन । एमालेको दलित महिलाको सूचीमा ८८ नम्बरमा रहेकी जानकीदेवी राम भन्दा माथि ८७ नम्बरमा धनकुमारी सुनार थिइन् ।

    ८६ नम्बरकी सानु शिवाले त्यसबेला चुनाव जितेकी थिइन् । सानु शिवाको निधनको एक वर्षसम्म सो पद रिक्त थियो । संयोग मान्नुपर्छ, धनकुमारी सुनार सांसद बन्न नपाएपछि रिसले एमाले छाडेर अर्कै पार्टीमा लागिन् । जानकीदेवी भने एमालेमै थिइन् । त्यसैले उनले मौका पाइन् ।

    उनी मधेसी दलित महिला हुन् । २०११ सालमा सिरहाको बल्हीमा जन्मेकी उनको विवाह ५ वर्षकै उमेरमा बद्रिनारायण रामसँग भयो । त्यतिबेला बालविवाह हुन्थ्यो ।

    ५ वर्षको उमेरमा बिहे भएको धमिलो सम्झना सुनाउँदै उनी भन्छिन्, ‘लाठीले नापेर विवाह गर्ने चलन थियो । मलाई पनि नापेरै विवाह गरेको हुनुपर्छ । तर खासै केही सम्झना छैन ।’

    अहिले उनी बालविवाहलाई अपराध मान्छिन् ।

    दुवै मिर्गौला बिग्रेका कारण उनका श्रीमान्को‌ निधन भएको पनि ११ वर्ष वितिसकेको छ । श्रीमान्‌ बद्रिनारायण पनि कट्टर कम्युनिष्ट थिए । उनी विद्यार्थी हुँदा नै तत्कालीन नेकपा मालेको अनेरास्ववियुमा आवद्ध भएका थिए । उनका दुई छोरा (जेठो कौशल र सानो विजय) छन् । उनी दुवैजना व्यवसाय गरिरहेका छन् ।

    तत्कालीन नेकपा माले भूमिगत रहेकै बेला पार्टीको सदस्यता लिएको उनी बताउँछिन् । उनी पार्टीमा आवद्ध भएका बेला महिला घरबाट निस्कने कुरा कल्पना बाहिरको थियो । झन दलित महिला त घरबाट निस्केर कुनै कार्यक्रममा जाने कुराको कसैले कल्पना पनि गर्न सक्दैन थियो । त्यतिबेलादेखि उनी पार्टीमा आवद्ध भएकी हुन् । पार्टीको लागि उनले कडा परिश्रम गरेकी छन् ।

    नेकपा माले सबै जनताको बराबरीको अधिकार दिलाउने पार्टी हो भनेर सदस्यता लिएर राजनीतिक सुरु गरेको उनी बताउँछिन् । ‘नेकपा एमाले त पछि बन्यो,’ उनले थपिन् ।

    प्रजातन्त्रका लागि काठमाडौं आन्दोलन गर्न जाँदा कुटाई पनि खाएको उनले सम्झेकी छन् । अहिलेसम्म भएका सबै निर्वाचनमा उनी सक्रिय भुमिकामा देखिने गरेकी छन् ।

    उनले भनिन्, ‘चुनावमा रातदिन मेहनत गरेकी थिएँ । पार्टीको कुनै यस्ताकार्यक्रम छैन जहाँ म नपुगेको होस । हरेक कार्यक्रममा सहभागी हुन्छु । बुढेसकाल लागेका कारण चुनावमा खट्न गाहे हुन्थ्यो, तर पनि पार्टीको झण्डा बोकेर छोराको सहयोगमा मोटरसाइकलमा गल्ली गल्ली प्रचार प्रसार गरेँ ।

    यहाँका कैयौं व्यक्तिलाई पार्टीमा आवद्ध गराएकी उनी भन्छिन्, ‘पार्टीका लागि काम गरेपछि एकदिन अवश्य फल मिल्छ भन्ने लागेको थियो । पार्टीले विश्वास गरेर समानुपातिक उम्मेदवार बनायो । आज साँसद बन्ने मौका पाएँ । पार्टी अध्यक्ष कमरेड केपीशर्मा ओली ज्यूलाई विशेष धन्यवाद भन्छु ।’

    ०६३/०६४ मा मधेस आन्दोलन सुरु भएपछि एमालेका धेरै नेता मधेसी दलमा लागे । उनलाई पनि कैयौं नेताले पार्टीमा आउन भने । तर उनी डगमगाइनन् । पार्टीप्रति वफादार उनी मरेपछि एमालेकै झण्डा ओढेर यो संशारबाट विदा लिने बताउँछिन् ।

    ‘छोराभन्दा कम माया पार्टीलाई गरेको छैन,’ उनले सुनाइन् ।

    अध्यक्ष ओलीलाई मधेस विरोधी भन्छन् नी भन्ने जिज्ञासामा उनले भनिन, ‘होइन्, उहाँ मधेस विरोधी हुनुहुन्न । उहाँ मधेसी, दलित, जनजाती, मुस्लिम सबैका लागि लड्नुहुन्छ । कसैप्रति भेदभाव गर्नुहुन्न । स्वार्थ पूर्ति नभएका व्यक्ति मात्र उहाँलाई मधेस विरोधी भन्छन् ।’

    अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मात्र देश समृद्ध बनाउन सक्ने उनको दावी छ ।

    ‘दलितमाथि अहिले पनि विभेद कायम रहेको छ’, उनले भनिन्, ‘दलितमाथि मात्र नभएर विभेदमा परेका हरेक समुदायको आवाज उठाउँछु । पहिले पनि विभेदविरुद्ध आन्दोलन गरेको छु । विभेद अन्त्य नभएपछि निरन्तर गरिरहनेछु ।’

    पार्टीको नीति सिद्धान्त र जनताको आकांक्षा बमोजिम काम गर्ने उनको भनाइ छ ।

  • जानकीदेवी एमालेको सांसद निर्वाचित, संसद सचिवालयलाई जानकारी गराउने आयोगको निर्णय

    जानकीदेवी एमालेको सांसद निर्वाचित, संसद सचिवालयलाई जानकारी गराउने आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित भएको जनाएको छ ।

    एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी राम निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई गराउने निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    नेकपा एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

    दलित महिलातर्फको सो कोटामा बन्दसूचीमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेकाले उनीपछिको सूचीमा रहेकी जानकीलाई निर्वाचित गरिएको हो । जानकीदेवी राम निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १२१ सांसद भएका छन् ।